Skip to main content

   लकान्द्री कान्छा

          लकान्द्री कान्छा                    
                                                                          –एकु घिमिरे              


भूइँ कुहिरोको बरखी कोट फालेपछि
उत्तरवाट कनचनजंघाले जिस्कायो अन्तुलाई
पूर्ववाट उदायो बालक सूर्य
तव तमाससँग चम्किए गुम्बा र शिवालयको गजुर
गजुरभन्दा चम्किलो देखियो उनको अनुहार
किनकी ती दुवै उनको कालो आरनका उत्पादन हुन् ।

बिहानै उनलाई देख्दा अपसकुन पर्छ भन्ने पंण्डित
उनैले बनाएको आचमनीले पानी सुरुप्प पार्छन्
अनि मात्र भन्छन् ‘ माधवाय: नम:’
तव मात्र जप्छन् गायत्री मन्त्र ।
जस्को पूजाकोठासम्म जान उनलाई उनलाई वर्जित छ
त्यहाँभित्रको दियो उनैले बनाएका
तामाको कलश उनकै हातले खिपेका
पञ्चपचारको थाली,
धुप हाल्न कोइला झिक्ने चिम्टा
सबै–सबै उनकै हस्तकला ।
क्रमश: छोपियो कुहिरोले कलिलो घाम
उनको मनमा मडारियो कुहिरो
बेकारको लाग्यो अन्तुको सुन्दरता
चिया र अम्लिासाको पातमा
उनले आफ्नो आँशु देखे ।

उनैले लगाइदिएको सुनको दाँतले हाँस्दै मुखियाले फैसला गरे
‘लकान्द्री परिवारले ट्याङ्कीको पानी छुनु हुँदैन’
उनैले बनाइदिएको मूर्ति पूजा गर्ने लामा काइँला
उनैले बनाइदिएको कर्दले कुस काट्ने पुरेत
उनकै सामानको भरमा जीविका चलाउने
शेर्पा, तामाङ, मगर, राई, लिम्वू, लेप्चा
सवैले बजाए ताली
अनि भयो मुखियाको फैसला पारित ।
तर त्यो ट्याङ्कीको मुहानमा
उनै अशुद्धले बनाएको हलुङ्गेको जालीले
हरपल पानी शुद्धीकरण गरिरहेछ ।
यतिबेला कुहिरो धुप्पीमा ठोकिएर
गरिहेछ अन्तुलाई अभिशेक
लकान्द्री कान्छाको जीवन कुरीतिमा ठोकिएर
बनिरहेछ आँखा जलधारी ।
बिष्टका घरको दूध उनले खान हुँदैन
तर दुधेरोमा पाड्की उनैले ठोकिदिएका
दारको ठेकी उनकै ज्वाइँले कुँदिदिएका
मदानीको पोरा करुवा ठोकेर जोडिदिने उनै हुन्
तर धूप हाल्ने नौनी अछूत भएकाले किन्नसम्म पाएन् उनले
त्यसैले फूटेको छ मन यतिखेर
बिचरा लकान्द्री कान्छा, न त जोड्न सक्छन् आफ्नै मन करुवाले
न त टाल्न सक्छन् रसाइरहने आँखा पाड्की ठोकेर ।
कुरीति विरुद्धको झिल्को सल्बलायो उनीभित्र
जसरी चम्कदैंछ बिजुली वरपर ।

उनैकै मेहनतले बनेको ओदानमाथि
उनैले बुट्टा भरेको खड्कौंलो बसालिन्छ
अनि चलाइन्छ उनैले बनाएको ठूलो पुन्युले
तर त्यही भान्सा उनले छुन हुँदैन
उनले त्यसलाई बाँड्न हुँदैन
सृष्टि गर्नेलाई ब्रम्हा भन्छ ग्रन्थले
फेरि किन छोइछिटो गर्दैछ लकान्द्री कान्छालाई ?
किन मान्दैन ब्रम्हा र गर्दैन सम्मान ??
दिक्दारी र आक्रोसको श्वास फेर्छन् उनी
जसरी वहँदैछ वेजोडको फूइँकी
र वर्षदैछ उडुवा पानी ।

‘तरल मात्र छोइन्छ ’ उपाध्यायको तर्क
‘झुक्किएर छोइएमा सुनपानी छर्क ’
तर त्यही सुनलाई तरल वनाइसकेका हुन् उनले
तिनीहरूले कन्यादान दिने तामे लोटा पनि उनले तरलै छोएका
किन चल्यो त त्यो तरल ?
झोँकको आँधी चल्छ उनको दिमागमा
रिसले कड्कडाउँछन् दाँत
जसरी गर्जदैछ मेघ एकतमासले ।

यसै बेला देखियो एउटा जुलुस
निहालेर हेरे उनले र सुने निक्कैबेर
रङ्गिचङ्गी बोकिएका थिए झण्डाहरू
तर थिएन परिचित र प्यारो त्रिभूजाकार झण्डा
चर्को स्वरले भन्दैथियो ‘पहिचान.................पहिचान...........’
तर मात्र मान्छेको पहिचानसम्म नपाएका लकान्द्री कान्छा
र उनीजस्तै थुप्रै जेठा, माइला अनि साँइलाहरूले
कहिले पाउलान् मान्छेको पहिचान र दर्जा ??
जुलुसको झण्डामा आफैँले बनाएको हतियारको आकृति देखेपछि
डाको छोडेर रोए लकान्द्री कान्छा
तव दर्कियो अन्तुमा मुसलधारे पानी ।



Comments

  1. धेरै राम्रो लाग्यो हजुर

    ReplyDelete
    Replies
    1. धन्यवाद हजुर , तपाईंले राम्रो भन्नुभएकोले मेरो सिर्जनामा मल थपिएको छ ।

      Delete

Post a Comment