Skip to main content

वर्षातको गाउँ

                           

                    - एकु घिमिरे 

बाटो ढाकिन्छ हरियो कर्पेटले
घरभित्रै भरिन्छन् गग्रा
बाटमा पहाड आइपुग्छ
पहिरामा घर अनि घरमा पहिरो खस्छ ।
कर्कलाको पात ओडेर स्कुल जान्छन् नानीहरु
जुरेलीको गुँड रुख छोडेर उड्छ
दस डाँडापारिको पानी हाम्रो टाउकामा बर्सन्छ
नासपातिका चिचिलाहरुले काण्ड छोड्छन
बाँसले हज्जरौं पटक ढोग्छ पृथिबिलाई
चिया-फ्याक्ट्री र मेची खोलाको नबुझिने दोहोरी चलिरहन्छ ।
घरको कमेरो र रातो माटो बगाएर लान्छ छड्के झरीले
धुँवाको मुस्लोले निस्सासिन्छ भन्सा कोठा
ढिकीमा फेरिन्छ साँबी नभएको मुस्ली
भुटिन्छ धान मिठो बस्ना छरेर
अनि मनाइन्छ रमाइलो असार पन्ध्र ।
त्यसको ठीक चौध दिनपछि
रेडियोमा सुनिन्छ रामायाणको श्लोक
बेंसीहरुमा सुनिन्छ रसिया र असारे भाका
मुखियाको मैजारोमा थर्कन्छन् पन्चे बाजा
अनि मर्कन्छन् तन्नेरी कम्मरहरु
'साउने खोला उर्लेर ................'
केटाकेटीहरु डाँडा-डाँडा च्याउ खोज्न दौडन्छन्
खुट्टाका कापहरु रङ्गाइन्छ बेसारले
नङ्हरु सिँगारिन्छ तिउरीले
भ्यागुत्ताहरुको रागात्मक गीत सुनेर
माचमा स्कुसले जिब्रो निकाल्छ ।
बारीभरी राताम्ये हुन्छ अकबरे
ढुङ्ग्रेभूत लागेको बाछो मोटाउँछ
ठेकीको मोही अमिलिन्छ
पँधेरीको पानी धमिलिन्छ ।
गट्टाको सब्जीमा माउ अदुवाको मसला हालेर
मकैको चामलको माम्री खाइन्छ सोल्लरसँग
तामाको मेसुमा मासको मसेप्रा मिसाएर
धान गोड्ने खेतालालाई खाजा बाँडिन्छ
जताततै कुलकुलाउँछ मूलको पानी
दूध पोख्छन् झरनाहरु
टिलपिलाउँछन तालहरु
उत्ताउलिन्छन छालहरु
केही दु:ख ,केही सुख
जीवनजस्तै वर्षातको  गाउँ
वर्षातको गाउँजस्तै हाम्रो जीवन ।

Comments

  1. मजा आयो पढेर ।कति राम्रो कविता ।

    ReplyDelete

Post a Comment