Skip to main content

असफल कविता

       
  असफल कविता

घामको पहिलो किरणले
मकालुलाई म्वाईं खाँदाको रङ्ग
ठिक त्यहि वेला
चौरमा टल्किरहेको शीतको चम-चम
अनि यी दुवैलाई हेरेर मुस्कुराइरहेकी युवतीको तस्विर
देखाउन खोजें कवितामा
तर खिच्न सकेन शाव्दिक क्यामेराले!

अन्तुको सिरेटोमा कामले थकित लेप्चा दाइ
उनले ता-त्तातो चिया पिउँदाको सुरुप् सुरुप्
स्वाद लिंदाको सिउ-सीउ
बाहिर परेको सिम्-सिमे झरिको आवाज
नजिकै किसानको सपना पेलिरहेको फ्याक्ट्रीको कर्कस स्वर
र लेप्चा दाइको पेटमा कराएको भोक
एकसाथ सुनाउन खोजें कवितामा
तर रेकर्ड गर्न सकेन शाब्दिक रेकर्डरले ।

पूल भत्काउँदै गरेको खहरे
जून टल्काउँदै गरेको नदी
लाज नछोप्ने गरी लुगा लगाएका युवतिहरु
लाज छोप्ने लुगा नपाएका परीहरु
कितावको भारी बोक्ने नानिहरु
साहुको भारी बोक्ने बच्चाको हूल
वारी डिलको सयपत्री फूल
अनि त्यसैको छेउमा टोलाइरहेकी चेली
जस्ताको तस्तै देखाउन खोजें कवितामा
तर उतार्न सकेन मेरो शब्दिक पर्दाले!

यतिवेला म आत्मसमर्पणको कलमले लेख्छु
कति लेखौ यस्ता असफल कविता??

Comments