Skip to main content

शहिद शब्दहरू

शहिद शब्दहरू

                                                             –एकु घिमिरे 

भाषा फूल हुन्
शब्दहरू बोट
अक्षर जरा ।


फूल्न पाए पूल फल्ने हो फल
बन्ने हो बीउ र उम्रनेहुन् बंशीय बोटहरू ।
तर यतिबेला
साम्राज्यवादी शस्त्रले शब्दहरू शहिद बन्दैछन्
विकाशको घोडाले विनाश गर्दैछ हाम्रो भाषिक फूलबारी ।


घुमलाई हटाउन कतैबाट आयो छाता
फाइबरका डोरीले लखेट्यो चोया र बाता
यतिबेला नाम्लो र दाम्लो हरायो
काम्रो अनि काम्लो हरायो
कोल हरायो, ढोल हरायो
नेपालेली भाषाको भूगोल हरायो ।


सर्वत खेद्नलाई कोल्ड–ड्रिङ्क्स आयो
दही, मोही हरायो लस्सी आयो ।
काका र मामा मरे, अङ्कल अघि सरे
क्यपसिकम बनिसक्यो हाम्रो अकबरे ।
मम्मीहरू धेरै छन् आमाहरू भन्दा
स्कर्टहरू लगाइन्छन् जामाहरू भन्दा
हेल्लो भनिन्छ, हजुर भनिदैन
पिकक् भनिन्छ मयुर भनिदैन ।


पिरा, गुन्द्री र सुकुल हरायो
आग्लो अनि चुकुल हरायो ।
सेवारो भन्दा गुडमर्निङ पियारो
आयातित शब्दले पहिचान विगार्‍यो ।
फ्याप्लो हरायो नान आएपछि
केहीपछि हराउनेछ सेलरोटी र किनेमा
खीर, ढकने र कुराउनी हराउँछ
खुवा अनि पुवा हराउँछ ।


म:म पकाउनेछन् हाम्रा शब्दहरूको
साम्रज्यवादी फर्नेसमा तताएर नेपालेली भाषा
सेकुवा बनाउनेछन्
हाम्रै साम्पिचाको तीनपानेलाई ब्राण्डी भन्दै
निलिनेछ हाम्रो पहिचान
भाषासँगै सकिनेछ हाम्रो स्वभिमान ।


विकाशको घोडाले विनाश गर्दैछ हाम्रो भाषिक फूलबारी
साम्राज्यवादी शस्त्रले शब्दहरू शहिद बन्दैछन् ।

Comments