Skip to main content

गजल उत्सवमा धौलागिरी यात्रा

                     गजल उत्सवमा धौलागिरी यात्रा

    आधुनिक नेपाली साहित्यिक जगतमा एउटा अत्यान्तै सशक्त विधाको रूपमा देखा परेको छ गजल । राजा महाराजाका दरबारमा गाइने/सुनाइने गजल यतिबेला नेपालका घर–झुप्राहरूमा गुञ्जिन थालेका छन्, पहाड–पर्वत र पाखाहरूमा सुनाइन थालेका छन् । स्त्री–पुरुषको प्रणयको कुरामात्र लेख्ने उहिलेको गजल यतिबेला मसाल बोकेर सडकमा आन्दोलन गर्न थालेको छ । देश दुख्दा यही गजल मलम बनेको छ अनि वैरीसामू फलाम बनेको छ । अब गजल गाजल मात्र हैन, बादल र मादल बनेको छ । यतिबेला गजल आगो र खागो बनिसकेको छ । गजल लेख्न र देख्न नचाहनेलाई यो दुविधा  भएको छ अनि बाँकीका लागि साहित्यको एउटा अलग विधा भएको छ । यसै प्रसङ्गमा गजललाई अझ सशक्त पार्ने र देशभरका गजलकारलाई एउटै मालामा गाँसी गजलसम्बन्धि एउटै धारणा बनाउने उद्देश्यले धौलागिरी अञ्चलको बागलुङमा भानु जयन्तीको अवसर पारी बि.सं. २०६४ सालमा राष्ट्रिय गजल उत्सवको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागी हुन पूर्वाञ्चलको प्रतिनिधित्व गर्दै हिँडेको टोलीको यो गजलमय यात्रा संस्मरण प्रस्तुत गर्दैछु ।
    असारको महिना भए पनि पानी परेकोले खासै गर्मी गर्मी थिएन । बादलले आकाश ढाकेको हुनाले दिन अलिक रिसाएको भान हुन्थ्यो । पूर्वबाट आएका मित्रहरूले फोन गरेपछि म सप्तकोशी एफ. एम. बाट हिँडे र इटहरी बसपार्क पुगेँ । त्यहाँ पुगेपछि भेटेँ मैले आदरणीय दिदी सुमित्रा वाङ्देल चेली, पूर्वाञ्चल गजल मञ्चका संयोजक  मित्र प्रकाश आङ्देम्बे, भूटान गजल मञ्चका अध्यक्ष खल्तीपिडित, पूर्वाञ्चल गजल मञ्चका  सचिव एवम् इलाम जिल्लामा प्रथम पटक गजल सङ्ग्रह प्रकाशित गर्ने चुलाचुली इलामका मित्र विवश बलिभद्र कोइराला, भूटानी गजलकार इट्टाघरे, इलाम मङ्गलबारेका गजलकार आर. के. एलोन, नेपाल गजल प्रतिष्ठानका जी. बी. गजल, भूटान गजल मञ्चका सचिव याम थुलुङ लगायतका गजल मनहरूसँग । चिया पिउने कार्यक्रमपश्चात विराटनगर गएका साथी एकादेसको गगनराज पनि इटहरी नै आइपुगँे भनी फोनबाट जानकारी दिए । हामी मकालु यातायातको बागलुङ जाने बस चढेर लाग्यौँ पश्चिमतर्फ । हामीलाई विदाइ गर्न सबैसँग परिचित मित्र शान्तिराम आएका थिए । इटहरीको पचरूखी चौकबाट गगनराज पनि एक झोला पुस्तक बोकेर बसभित्र प्रवेश गरे । त्यो नेपाल गजल प्रतिष्ठानले भर्खरै प्रकाशित गरेको ‘गजल पराग’ नामक कृतिको झोला थियो ।
    बसको सीटमा मिलेर बस्दा म विवश बलिभद्रसँग परेँ । ‘ पैसाले पैसा तान्छ ’ भने झैँ इलामेली शरीर तानिएछन् भन्ने ठानेँ । हामीभन्दा पछाडिको सीटमा आर. के. एलोन; अगाडि गगनराज र जी.बी.; दायाँपट्टि खल्तीपिडीत र इट्टाघरे; प्रकाश, याम र चेली चाहिँ क्याबिनमा थिए । इनरुवा नपुगी हाम्रो दोहोरी शुरु भइहाल्यो :
डम्फुको ढ्यापढ्याप खोले ल्यापल्याप
मान्छे त सानो जुँगा झ्यापझ्याप ।
माथि माथि लेकमा मो जाँदा , भोटे कुकुर साङ्लोमा
कान्छीलाई लैजाने मुन भोए गाहाना थुपार नाङ्लोमा........................लासो ।

    संभवत: यात्राका सभैभन्दा कान्छा थिए जी.बी. गजल तर गाउन र हँसाउन चाहिँ जेठा साबित भए । चेली दिदी अगाडि बसेपछि गाउन कसैले धक मानेनन् अर्थात मानिएन ।
गाडी कोशी ब्यारेजमा पुगेर करिब आधा घण्टा रोकेर छतमा कोला लोड गर्न थाले । हामीले यही मौकामा माछा र मुरै मुर्‍यायौँ । सस्तो र स्वादिलो भएको एकमतले निर्णय गरौँ भन्ने मेरो प्रस्ताबमा गगनराजले बिमती राखेपछि पो उनी साहाकारी रहेछन् भन्ने याद भयो । उनी पीरो चटपटे खाएर छटपटाउँदै थिए । मैलै गगनलाई जिस्क्याउँदै भनेँ :
‘ लाम्चे खोर्सानीको पिरो :  खाँदा पनि पोल्छ– जाँदा पनि पोल्छ ।’ सबैजना हाँसियो । हामीले माछा बेच्ने दिदीसँग अन्तर्वार्ता गर्‍यौँ :
‘श्रीमान् माछा मारेर ल्याउने अनि तपाईं फ्राई गरेर बेच्ने गर्नुहुन्छ हो ?’
‘हैन, मेरो बुढो त काठमाडौँमा लेबर काम गरिलिन्छ ।’
‘अनि चटपटे बेच्ने दिदीको श्रीमान् चाहिँ के गर्नुहुन्छ ?’
‘खानमात्र जान्दछ !’ उनले झर्किएर उत्तर दिइन् । विवशजीले खुसुक्क भने
‘रक्सिया हुनुपर्छ यिनको बुढा ’ ।
‘छोराछोरी छैनन् ?’
‘पाँच जना छ नि’
‘आम्ममा पाँच–पाँच जना छोराछोरी जन्माउनेले खान मात्र जान्दछ भन्न मिल्छ ? अरूथोक पनि जान्दो रहेछ नि !' मैले ख्यालख्यालमै अलिक बढी बोलेँछु । मेरो अनुहारमा खोर्सानी पाक्यो होला तर हाम्रो टोली कोशी थर्काएर हाँस्यो । ती महिलाले छोरालाई चाहिँ स्कूल पढाउँदै गरेको तर छोरीलाई चाहिँ नसकेर नपढाएको खुलासा गरिन् । त्यस्तै एघार वर्षकी जस्ती देखिने एउटी वालिका मैला र लाज ढाक्न पनि धौ धौ हुने पुराना लुगा लगाएर महिलालाई चटपटेको सोली बनाउन, प्याज टुक्रा पार्न सगाइरहेकी थिइन् । वालिकाको ढाडमा सानो बच्चो सलमा बाँधिएर निदाइरहेको थियो । यस्ता विसङ्गत र दु:खले भरिएका कुरा सुनेर हामीलाई भित्र कतै दुखेजस्तै भयो । पेट पूजा भइसक्दा पनि बस कुद्ने तरखर गरेन । हामी साहित्यिक गफमा प्रवेश गर्‍यौँ ।
‘‘ पश्चिममा त छन्द र बहरमा मात्र गजल लेख्छन्, हामी त शैलीमा लेख्छौ, के भन्ने ?’’ प्रशङ्ग उठ्यो । गगनराजजीले हामी बहरमा पनि लेख्न सक्छौँ भन्ने कुरा उठाए । मैले भने ‘अबको समय क्लिष्टता र जटिलतालाई छोडेर सरलता अनि सहजतातिर जाँदैछ । यसकारण बहरको गजल भन्दा बाछी (बिना बहरको भन्ने अर्थमा ) को गजल राम्रो, किनकी त्यो ब्याउँछ र थुप्रै सन्तान जन्माउँछ ।’’ मेरो कुराले एकछिन् हाँसो भयो । प्रकाश, विवश र चेलीले पनि मेरो कुरामा सही थपे । हाम्रो एकमत निस्कियो : अब लघु र गुरु गनेर लेख्नेमात्र जमना छैन, लेख्नेलाई बधाइ छ तर नलेख्नेलाई गजलकार नमान्ने प्रवृत्तिको सक्दो विरोध गर्ने हो । हाम्रो मत मिल्यो । सहचालक कराउन थालेपछि हामी गडिभित्र छिर्‍यौँ र आ–आफ्नो सीटमा बस्यौँ । गाडी कुदेपछि गीत गाउने क्रम शुरु भइहाल्यो :
‘‘ ए आमा टुटुल्को उठेको,
  तिम्रो बाउले डाडुले कुटेको................................ !’’
        गाडीका अन्य यात्रीहरू आ–आफ्नै धुनमा थिए । हामी नजिकै बसेका एक यात्रीले हाम्रो गीत रोक्न ठूलो स्वरमा आदेश दिए । आग्रह भए विचार गरिने थियो । आदेशको उल्लङ्घन मात्र भएन, एउटा गजलको मत्ला (शुरुको शेर) लेखेर सुनाइदिएँ मैले :
विचार राखेर खतरा मोल्दै–मोल्दै आइएको हो
शाही साशनकालमा त हजुर बोल्दै–बोल्दै आइएको हो ।
    यो मत्ला साथीहरूले पटक पटक फलाके । हामी लेखक–साहित्यकार रहेछौँ भन्ने बुझेपछि ती मुखिया शैलीका मानिस लाजले पानी–पानी भए, चुपचाप निदाएको नाटक गरी बसिरहे । अब गाडीको मधुरो प्रकाशमा कोही ‘गजल पराग’ हेर्दैथिए त कोही इट्टाघरेको ‘वियोग’ गजलसङ्ग्रह पढ्न थालेका थिए । ‘गजल पराग’ नेपाल गजल प्रतिष्ठानले आफ्नो पहिले कृतिका रूपमा प्रकाशित गरेको थियो जस्को घुम्टो खोल्नै बाँकि थियो । तत्काल देखिएका केही कमिकमजोरीलाई व्यङ्ग्य गर्दै विवश यसका सम्पादक गगनराजसँग गफ गर्दैथिए । गाडिको गतिसँगै सबै निद्राले लोलाउँदै गए । हामी पनि गफ र गीत बन्द गरेर उङ्घ्न थाल्यौँ । गाडी वेगसँग पश्चिमतर्फ हुँइकिरहेको थियो । स–साना बजारहरू धरतीमा आकाशका तारा झारेर बालेजस्तै गरी बसेका देखिन्थे अनि तत्कालै छेलिन्थे/ छोडिन्थे । यत्तिकैमा बस रोकियो । खाना खाने–खान लगाउने उद्देश्यले लालगढ भन्ने ठाउँमा हामी ओरालिएका रहेछौँ । सबैलाई निक्कै भोक लागेको थियो । कोशीका माछाले अघि नै छोडेको थियो ।
    लालगढमा लाइनमा बसेर बल्ल पालो आएपछि शौचालय छिर्न पाइयो । होटल भनिएको गोठजस्तो ठूलो छानो भएको घरभित्र गाउँघरमा विहे भोज झैँ अटाइ–नअटाइ मानिसहरू खानपिन गर्दै थिए । यहाँएउटा मात्र होटल देखिन्थ्यो जहाँ खानपिन गराउन चार बसहरू रोकिएका देखिन्थे । मैले होटलमा रातो भेष्ट लगाएर भकाभक भात खाइरहेका अर्को बसका यात्रुसँग मैले प्रश्न गरेँ :
‘खाना कस्तो छ हजुर ?’
‘ठीकै छ ।’
‘मासु त बकुल्लाको हैन नि ?’ अर्का कुनै यात्रीले उनलाई प्रश्न तेर्साए । रिसाएर उनले उत्तर दिए :
‘ खै आजसम्म बकुल्लाको मासु चाखेको भए पो भन्नु, आफैँ चाखेर हेर्नु ∕’
उनी रिसाएका भए पनि पूर्व–पश्चिम राजमार्गका होटलहरूमाकुखुरा भनेर बकुल्लाको मासु खुवाएर ठग्ने प्रचलन रहेको प्रश्नकर्ताले आफूसँग भएका केही प्रमाण सहित पुष्टि गर्न खोजे । गाडीले जहाँ लग्यो त्यहीँ, जस्तो खाना दिन्छ त्यस्तै खानुपर्छ । स्टाफलाई ताल, पसलेलाई मालामाल अनि यात्रुलाई सङ्कटकाल ∕ तर यो ठाउँमा खाना ठीकै रहेछ । रमाइलो गफ गर्दै खानपिन गर्न थालियो । भीडभाडमा सब्जी थप्नेले ढिलो गरेपछि जी.बी. कराए :
‘ए भाइ विविध प्रकारका सब्जी थप त !
अरूले ‘सागको सब्जी’, ‘आलुको सब्जी’ भनेर कराइरहेका बेला उनले ‘विविध प्रकारका सब्जी’ मागेर होटलमा खाना खाइरहेका सबैलाई मजाले हँसाए । हत्तपत्त खाना खाएर हामी गाडीमा चडेर फेरि पश्चिमतर्फ बेगियौँ ।
    खाना खाएपछि गाडीभित्र झन् चकमन्न भयो । सबै भाते निद्राले लठ्ठिए । जुत्ताले खुट्टा दुखाएपछि खल्तिपीडितले खोलेर निदाएछन् । जङ्गलको बिचमा लगेर पिसाव फेर्न पाँच मिनेट बस रोकियो । उनी भने जुत्ता नभेटेर बाहिर निस्कनै भ्याएनन् । एकठाउँ गाडी रोकेर एक प्रहरीले सोधे :
‘हुटको केरा कस्को हो ?’
जी.बी गजलले तत्कालै उत्तर दिए :
‘हुटका केरा, तेरा न मेरा ∕’
गाडीका सबै हाँसे । प्रहरी रिसाएर आँखा फुकाल्दै अर्कोतर्फ लागे । सङ्कटकालका बेला भए गाडीका सबैले धुलाइ पाइने बाक्य बोलेको भन्ने निश्कर्ष निस्किसक्दा पनि मानिसहरू हाँसिरहेका देखिन्थे । सहचालकले कुराको बिट मादै भने :
‘ सङ्कटकालको बेला यति भन्नु हो भने त भोलि समाचारमा बस रिजर्व गरी हिँडेका आतङ्कारीको जत्था दोहोरो भिडन्तमा मारिए भन्ने आउने थियो । यो दाइ त कस्तो खालके रै’छ, जाउँ–जाउँ गुरु.........।’’
बिहान रिमरिम उज्यालो हुँदा निद्राले छोडेछ । तल मर्स्याङ्दी नदी सुसाउँदै बगिरहेको देखिन्थ्यो । मैले माधव घिमिरेले लेखेको नारायण गोपालको स्वरमा रहेको गीत उठान गरेँ । ब्युँझिएका साथीहरूले पनि स्वरमा स्वर थपे :
‘‘ मर्स्याङ्दी  नदी नरमाइलो सुसाइरहेको
  आजै र राती के देखेँ सपना.............................’’
   बसले हुँक्याएर हामीलाई एकैछिनमा एउटा सुन्दर नगरमा पुर्‍यायो । मित्र विवशलाई मैले यो कुन ठाउँ हो भन्ने प्रश्न गर्नसाथ एउटा लोक भाका उठाएर उत्तर दिए :
‘‘ घर त बन्दिपुर
  सुन्तला टिपेर खाउँला भन्ने सुर......................’’
    भानुभक्त आचार्य जन्मिएको जिल्ला तनहुँ साँच्चै रमणीय रहेछ । उनले प्रेरणा पाएको भनिएको घाँसीले खनाएको कुवा ‘‘ घाँसीकुवा’’ भन्ने ठाउँमा कविको सालिकलाई सलाम चढाउँदै अघि हुँइक्याइयौँ । गाडीमा रहेका लमजुङका सहयात्री राजु रानाभाटले हामीलाई देखिएका ठाउँहरूको जानकारी गराइदिए । राजुजी दमौली पुगेर गाडीबाट ओर्लिए । हामी पृथ्वी राजमार्गमा गुड्याइ रह्यौँ । त्यहाँका बोटविरूवा निहाल्न थालियो । ठूला ठूला पात भएकाले टपरी गाँस्न र गाई चोख्याएका दिन सातपोके बाँध्न इलाममा हाम्री आमाले प्रयोग गर्ने निभारो मलाई जिस्क्याएको जस्तै गरी हात हल्लाइरहेको देखेँ । परालका माचहरू थिए प्रत्येक करेसामा । नयाँ पराल पनि देखिन्थ्यो यत्रतत्र । यसबाट स्पष्ट हुन्थ्यो कि तनहुँको बेँसीमा दुईबाली धान फल्दो रहेछ । मानिसहरू चोयाले बनेका ठूला–ठूला छत्रेटोपी लगाएर सिमसिमे झरीमा वीउ काढ्दै देखिन्थे । कोही जोत्दै त कोही आली लगाउँन व्यस्त देखिन्थे ।
    जामुनी, थर्पु बजार हुँदै हामी कुदाइयौँ । सम्म उपत्यका भित्र अवस्थित थर्पु सुन्दर रहेछ । थर्पु त पाँचथरमा पनि छ भन्थे म सँग आई.एस्सी पढेका युवराज कार्की । करिव एघार वर्षपछि थर्पुले मलाई युवराजको सम्झना गरायो, हात्तिसार क्याम्पस पढ्दाको अतितमा पुर्‍यायो । सम्झन्छु धेरै ठाउँका नाम किन मिल्दा हुन् ? मनोहरी भन्ने सानो बजार निहाल्नै नपाई बसले गैह्री खेतहरूका सुन्दर दृश्यहरूसँग लुकामारी खेलाउँदै अघि सार्दै गऱ्यो । भोक, तीर्खा र अल्छिले गर्दा टोली चुपचाप थियो । हामी अब खैरेनीटार पुगेका थियौँ । बाहिर सिमसिम पानी परिरहेको देखेपछि यात्रामा सहभागी साथी याम थुलुङ्को गजलको एक शेर कसैले उठाए गगनराजले । मैलै लगत्तै अर्को नयाँ शेर थपिदिएँ र थोरै भएपनि अल्छि विस्र्याउने प्रयास गरेँ :
याम : सिमसिम पानी पर्दै थियो
      बुढो खोला तर्दै थियो ।
एकु : ‘खल्ति’ ‘इँटा’ निदाए नि’
ग्गन हल्ला गर्दै थियो ∕
    हासेर नसक्दैमा गाडीले दुलेगौँडा भन्ने ठाउँमा पुर्‍यायो । तनहुँको सुन्दरताको वर्णन त म गर्न नसक्ने रहेँछु तैपनि गाडीमै मैले एक मत्ला लेखेँ :
‘‘ आँखाभरि तनहुँको चित्रै–चित्र छ
  सुन्दरता भन्नु कहाँ? मनभित्र छ  ।’’
    अब चाहिँ गाडीले पनि राम्रै गीत बजायो । साथीहरूले ताली बजाएर गीतका अंशहरू फलाके । यो यात्राको संस्मरण लेख्ने उद्देश्य भएकाले मैले त्यहाँ बजेका केही गीत टिपेँ :
‘‘ मन भए पो माया प्रिति..................’’
यो गीतसँगै हामीले मादीखोला तऱ्यौँ । निक्कै लोकगीतहरूमा मादीको प्रसङ्ग आउँछन् । आज पहिलो पटक मैले पनि मादीसँग साक्षत्कार गरेँ । हामीलाई गाडीले लेखनाथ नगरपालिकाभित्र छिरायो ।एउटा फुच्चेबस (माइक्रो) ले कुनै बालकलाई किचेर मृत्यु भएको कारण आक्रोशित भीडले तोडफोड गर्दा धेरै क्षति भएको भनी यातायात व्यवसायीले नै यातायात बन्द गरेको भनेर बसलाई अघि बड्नबाट रोकियो । हामी पनि यसो ओर्लिएर हावा खान थाल्यौँ । घरतिर फोन गर्ने अनि चिया खाने समय पाइयो । हामीले एकजना गुरुङ्सेनी दिदीकामा चिया पकाउँन लगाएर यसो पिउँन मात्र खोजेका के थियौँ गाडी खुल्यो भनेर बस हामीलाई छोडेरै हुँइकिहालेछ ∕ हामी जिल्ल पऱ्यौँ । पहिलोपटक पोखरा पुगेका हामीलाई गाडीले अलपत्र पार्‍यो । हामीले अर्को गाडी समातेर छोड्ने गाडीलाई पिछा गर्‍यौँ । धन्न जाम पुरै खुलेको चाहिँ होइन रहेछ । पोखरा नजिकै विजयपुर भन्ने ठाउँमा भेटियो अघिकै गाडी । करिब तीन किलोमिटर छोडेछ गाडीले । ‘मौकामा चौका’ भन्ने ठानेर होला दोब्बर भाडा असुल्यो नयाँ गाडीले ।
    विजयपुरमा एउटा आर्मी क्याम्प पनि रहेछ । लोकतन्त्र आइसक्दा पनि त्यस क्याम्पको गेटमा राजा रानीको भजन मेटिएकै रहेनछ । गेटमा उही ज्यानमाराको फोटो सजाइएको रहेछ । हामीले गेटको अगाडि उभिएर बद्री पँगेनीको लोक गीत गायौँ :
‘‘ अझै नि’ लोकतन्त्र आ’को छैन है
  जनताले भनेको भा’ को छैन है ∕’’
यत्तिकैमा गगनराजजीले त्यो गेटको फोटो पनि मोवायलमा खिचे तर आर्मीले फोटो नखिच्नु भन्दै निक्कै थर्कायो पनि । त्यहाँ अझै शाहवंशीय साशन चलिरहेको रहेछ ।
   गाडीहरूको भीड छिछोल्दै हामी विजयपुर खोलासम्म गयौँ । आन्दोलनकर्ताले गाडी त्यहीँ तेस्र्याएर बाटो अवरुद्ध गरेका रहेछन् । हाम्रो टोलीले फेरि विजयपुर खोलासँग भेट भएपछि एउटा लोक गीत फलाक्यौँ :
‘‘ उकाली ओराली गरेर
  विजयपुुर खोला तरेर
  सानीलाई बोलाउँदा बोल्दिन
  पर्नै पीर पर्‍यो ज्यानलाई ...................’’
    हाम्रो गीतले मन पगालेर हो कि किन हो हिजो राती गाडीमा गीत नगाउन आदेश गर्ने भलाद्मी पनि हामीसँगै रमाइलो मान्दै पो हिँड्न थालेछन् । तिनले हाम्रो फोटो पनि खिचिदिए । गाडीहरूको लाम नै थियौ । एउटा माडवारी परिवार पनि कारमा रोकिएका रहेछन् । तिनले एक मिनेट फोन गर्न मोवायल मागे । विवशजीको पोष्टपेडबाट तिनीहरूले फोन गरे । फोनपछि तिनले पैसा तिर्न खोजे तर विवशजीले लिन इन्कार गरे । उनी सहयोगलाई पैसा लिएर कमजोर वनाउने पक्षमा थिएनन् । गाडी बन्द नखुलेपछि हामीले विजयपुरकै एउटा होटलमा खानाभूजा गर्‍यौँ । ‘विजयपर भान्सा घर’ नामक उक्त होटलले त्यो दिन खुब राम्रो व्यपार गर्‍यो । हाम्रो यात्रा अन्यौलमा परेपछि बसका स्टाफसँग हामीले तिरेको बाँकी भाडा फिर्ता माग्यौँ । निक्कै विवादपछि पोखरा लगेर बागलुङ जाने गाडी चढाइदिने सहमती भयो । विजयपुर खोलापारी चाहिँ अलिअलि भए पनि गडी चलिरहेका थिए । हामीलाई ट्याक्सी चढाएर पोखरातर्फ लगिँदै गर्दा साथीहरू गीत गाइरहेका थिए :
‘‘ फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाँया..................’’
अब हाम्रो यात्रा बागलुङ जाने बसमा चढेर शुरु भयो । अब भने हामी लहरै बस्न पाएका थियौँ । गाडी शुरु नभई गीत गाउने क्रम चलिहाल्यो :
‘‘ पोखरा त साँच्चिकैको पोखरा पो रै’छ............................’’
    मैले यस अघि पोखराको वर्णन मात्र सुनेको थिएँ । पोखरा निक्कै राम्रो होला भन्ने ठानेको थिएँ । जत्तिको सुन्दर होला भन्ने काल्पनिक आकृति बनाएको थिएँ तर पोखरा त त्यो भन्दा पनि पो सुन्दर रहेछ । गाडीले हामीलाई लुम्ले डाँडातिर उकालेर पोखराको सुन्दरता अझ एकै नजरमा देखाइदियो । हेम्जा उपत्यकाको दम्स्याइलो बाटोबाट पोखरा हामीसँग लुकामारी पो खेल्न थाल्यो । यता–उताबाट झरेका सेता झर्नाहरू, कलकल बगेको घट्टेफिरी खोला, अहा ∕ त्यो अनुपम सुन्दरताको वर्णन गर्न कहाँ सकिने रहेछ र?? त्यो हरियाली, त्यो सुन्दरता, त्यो देखिएको प्रकृतिक छटा र त्ी सबैले मनमा आएको आनन्द । यो मनमा यी सबले उत्पन्न गराएको भाव याद याद छ तर ओकल्ने क्षमता म सँग पुगेन । विवशजी चाहिँ गाडीमा भेटिएकी एक अपरिचित केटीसँग गफमा मस्त भए । हामीलाई जिस्काउने मसला भइहाल्यो । सबैले सक्दो छेडछाड गरे । मैले रमाइलोमा मजा थप्न गजल लेखेँ :
‘‘पोखरामा विवशजीले कोही पट्याएछन्
पूर्वेली शैलीद्वारा उनलाई लट्याएछन् ।

हाँसी–हासी ती सुन्दरी कुरा सुनिदिन्थिन्
इलामको सुन्दरताको कथा भट्याएछन् ।

आर.के. एलोन नबोलेरै थिए एक्लै–एक्लै
बोलक्कडले छिनको छिनमै केटी लठ्याएछन् ।’’
    साँच्चै राम्रो हेम्जा उपत्यका छोड्न मन नहुँदा नहुँदै गाडीले छोड्न बाध्य बनायो । अब हामी उत्तिस, मलातो, दूधिलो, पैयुँ जस्ता बोटविरूवा भएको चिसो ठाउँमा चिप्लिन थालेछौँ । तल पोखरामा फेवाताल टल्किरहेको थियो । त्यहाँ एक ठाउँ जडिबुटी संरक्षण क्षेत्र पनि रहेछ । हामी अब नागडाँडाको टुप्पामा पुगेका थियौँ । कास्की यो टाकुरो निक्कै मनोरम लाग्यो । विवशजीसँग गफ गर्ने केटी गुरुङ्सेनी होलिन् भन्ने हाम्रो ठहर मिलेन । पछि उनले म सँग पनि परिचय साटिन् । उनी त स्वस्थ्यकर्मी कोपिला थापा रहिछिन् । उनीसँगै अर्का स्वस्थ्यकर्मी भरत आचार्य पनि थिए । उनीहरूले बागलुङको धाइरिङ भन्ने ठाउँमा एउटा पुस्तकालय सञ्चालन गरेका रहेछन् । ‘धाइरिङ प्रगतीशिल पुस्तकालय’ लाई हामीसँग भएका केही पूर्वेली पुस्तक उपहार दियौँ । हाम्रो समूहले प्रगतीशिल शब्दको खुलेर प्रशंशा गऱ्यो । उनीहरू चाहिँ त्यही शब्द सुनाउन लजाएका जस्तो देखिन्थे । प्राकृतिक सोलिङ भएका बाटाहरू भएको ढुकुरपोखरीको हावामा रम्दै हामीलाई बसले पर्वतको कुस्मा बजारतिर दौडाइरहेको थियो । कृषि अनुसन्धान केन्द्र , लुम्लेको वोर्ड देखेपछि साथीहरूले गीत गाए :
‘‘ मुटु छुने लुम्लेको हावाले......
  मनै छुने लजालु मायाले.............’’
   हाम्रो गन्तव्य बागलुङ पुग्न अझै बयालीस किलोमिटर बाँकी रहेको सडक छेउको ढिम्कुरोले जनायो । काँडे भन्ने ठाउँभन्दा अलिक तल झरेपछि एउटा फरक गाउँ भेटियो । त्यहाँ स्व. प्रवीण गुरुङ स्मृति प्रतिक्षलय भेटियो । कथित युवराज समेत घोषित भएको फटाहाले रक्सीर ड्रक्सको मातले झुम्म भई गाडी चलाएका बखत यी सङ्गीतकार उक्त गाडीले किच्याएर मरेका थिए । ती कलाकारको नाममा हामीले पनि श्रद्धाञ्जली चढायौँ । फटाहाको फाँसीवादको धज्जी उडायौँ । कला र कलाकारको सम्मान गर्ने गाउँलाई उच्च आदर गर्दै हामी चिप्लिरह्यौँ कालोपत्रे सडकमा ।
    गाडीमा चडेर कुदाइएको तेइस घण्टा भइसकेको थियो । सबैजना लथिचूर्ण गलेका थियौँ तैपनि उत्साहमा कमी थिएन । मोदी खोलाको किनारमा अवस्थित नयाँपुल भन्ने ठाउँमा बस रोकियो । शरीरमा पानी हाल्न र अघि पिएको फाल्न उत्तिकै हत्तार भएको थियो । सडकको भित्तामा अविरल धारो भएकाले लोडिङलाई समस्या थिएन, सबै अनलोडिङ गर्न नै प्राथमिकता दिइरहेका थिए । सार्वजनिक शौचालय रहेनछ । यसो छलिए झैँ गरेर पिसाव फेर्नुपर्ने । पिसाव गरिनसकी एकजना महिला आवाजले हामी सबैको झाँको झार्‍यो । सक्नेले त दु:ख पाएनन् , नसक्नेले त्यस्तो तीव्र गतिमा अकस्मत ब्रेक लगाउँदा अनेक सास्ती बेहोरे । पोखरामा खाना नखाएकाहरूले त्यहाँ खाजा खाए । अलि सानै उमेरमा विवाह गर्ने चलन रहेछ त्यहाँ । विवशले भने :
‘‘ बच्चैमा बच्चाको आमा हुने चलन रहेछ ।’’
अब हामी धौलागिरी प्रवेश द्वारबाट पर्वत जिल्ला छिराइएका थियौँ । पाँच मेगावाटको मोदी खोला जलविद्युत आयोजना हेर्दै हामी अघि बड्यौँ । मोदी तर्नसाथ पर्वतको सदरमुकाम कुस्मा शुरु भयो । कुस्माबाट घरतिर फोन गरेँ । कुस्मा बजारमा घोडाको भीड देखियो । त्यहाँबाट गाउँ–गाउँसम्म तिनै घोडाले सामग्री लैजाने र गाउँको उत्पादन त्यहाँसम्म ल्याउने गर्दा रहेछन् । ती घोडाले मलाई आफ्नै क्षेत्रको फिक्कल बजारको याद गराए ।
    अब हामी कालीगण्डकी नदी तर्ने तर्खरमा थियौँ । मनाङ–मुस्ताङतर्फबाट अएको कालीगण्डकी जोडले बग्दै देखिन्थ्यो । सालिम्बो र बुच्चे खरुकीले पाखा हरिया देखिन्थे । अब बागलुङ सत्र किलोमिटर मात्र बाँकी थियो । साथीभाइ गलेर लोलाएका थिए । बाहिर चर्को घाम लागेको थियो । यतिबेला दिनको चार बजिसकेको थियो । बल्लतल्ल कालीगण्डकीको १३.४२ मिटर लामो पुल तार्‍यो बसले । म्याग्दीको बेनी जानेहरू त्यहीँ ओर्लिए । स्वास्थ्यकर्मी भरत आचार्य पनि बसबाट उत्रिए । भरत झरेपछि त्यो ठाउँमा विवश गएर कोपिलासँग बसेछन् । नयाँ ठाउँमा नयाँ मान्छेसँग गफिन मन पराउने विवश हाउभाउका साथ गफ गरिरहेका थिए । गगनराजले मलाई अर्को पनि केही लेखेर विवशलाई जिस्क्याउन उकासे । मैेले हत्तपत्त यस्तो लेखिदिएँ :
‘‘ विवशले गर्नु गर्‍यो
  केटो गए’छि ठाउँ सर्‍यो ।

  गण्डकी तरेको के पत्तो ?
  दुवो बारीमा चर्नु चर्‍यो ।

  घरमा पनि छ, यता पनि
  एक्ले गगन रिसले मर्‍यो ।’’
    एकजना लेखन बहादुर रायमाझी भन्ने भलादमी यात्रुसँग गफ शुरु गरियो । उनले देश सङ्घमा जानैपर्ने आफ्नो धारणा राखे । म्याग्दीको बेनी, पर्वतको कुस्मा र बागलुङको सदरमुकाम एक घण्टाभित्रै हिँडेर भ्याउन सकिने दुरीमा भएकोमा उनले आक्रोस पोखे । बागलुङको सदरमुकाम पहिले हरिचौरमा रहेछ । पछि मण्डलेहरूले आफ्नो केन्द्रिकृत राज्यसत्ता टिकाइराख्न एक छेउमा सारेर सर्वसाधारणलाई दु:ख दिएको उनको कथन थियो । हाम्रो देश नेपालसँग मिल्दोजुल्दो आकृति भएको झोलुङ्गे पुलहरूको जिल्ला बागलुङ पुग्दा पाँच बजेर पनि बीस मिनेट गइसकेको थियो । उपत्यका जस्तो लाग्ने नगरमा पुग्दा हामी गलेर लखतरान भएका थियौँ । धुलो लुगामा लाग्छ भन्ने पनि विर्सिएर सबैजना बसबाट ओर्लिएर यत्रतत्र थ्याच्च थच्चियौँ र आयोजकहरूलाई पर्खिन थाल्यौँ ।
टोली त्यहाँ आइपुगेको कुरा गगनराजीले फोनबाट जानकारी गराएको एकैछिन पछि कार्यक्रम संयोजक सम्भु कणेल हामीलाई लिन आइपुगे । हामीलाई उनले सोझै ‘भ्यू हिल’ भन्ने होटलमा लगेर आराम गर्ने समय दिए । न्वाइध्वाइ गरियो सबैले । अन्य ठाउँबाट आएका गजलकारहरू पनि त्यही होटलमा राखिएका रहेछन् । चिनापर्ची र गजल बहसहरू भए । साँझमा केहीबेर नगर डुल्न निस्कियौँ । बजारबाट फर्किएर आएपछि चितवनका गजलकार गोर्खे साहिँलासँग गजल संरचनाबारे तातो छलफल भयो । रातमा हामी केही पिस सुन्ने–सुनाउने गरी नौ जना एउटै कोठामा सुत्यौँ । सुमित्रा वाङ्देल ‘चेली’ अर्को कोठामा र गगनराज बागलुङकै कुनै सर्जकसँग सुत्न गए । कार्यक्रममा सहभागी हुन ज्ञानुवाकर पौडेल, ललिजन रावल, घनश्याम न्यौपाने ‘परिश्रमी’, नविन दाहाल आदि पनि बागलुङ आइसकेका थिए ।
    बिहान चियानास्ता गरेपश्चात शुरु भयो गजल महोत्सव । कार्यक्रम प्रकट कुमार शिशिरले सञ्चलन गरे भने ढोरपाटन राष्ट्रिय दैनिकका सम्पादक हरिनारायण गौतम सभापतिको आसनमा बसे ।प्रमुख अतिथि गजलकार ज्ञानुवाकर पौडेल अनि विशिष्ट अतिथिद्वय ललिजन रावल र डा.घनश्याम न्यौपाने ‘ परिश्रमी’ राखिएको उत्त गजल महोत्सवमा निम्नानुसारको नारा थियो :
‘‘ मोफसलमा सरीवरी मिल्यौ हामी जब
  गजलको उत्थान जसै हुन्छ अब ।’’
    १९४ औँ भानुजयान्तीको अवसरमा उद्योग वाणिज्य संघ, बागलुङको भवनमा भएको सो गजल उत्सवको आयोजक ढोरपाटन राष्ट्रिय दैनिक थियो । सञ्चार गृहहरूले प्रकाशन मात्र हैन यस्ता कार्यक्रम समेत गरेर साहित्यको सेवा र संरक्षणमा भूमिका खेल्न सक्ने रहेछन् भन्ने उदाहरण देखियो, भोगियो र लेखियो । सो कार्यक्रममा उपस्थित सबै गजलकार अनि साहित्यकारहरूको नाम टिप्न मैले सकिनँ । पोखराका तीर्थ श्रेष्ठ, काजी रोशन, प्रेम छोटा आदि टिप्न भ्याएँ । कार्यक्रममा धौलागिरीको तर्फबाट गजलकार दामोदर रिजाल ‘घताने’ ले कार्यपत्र प्रस्तुत गरे भने डा. घनश्याम न्यौपानेले गजलको राष्ट्रिय सन्दर्भको कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा शान्तिनारायण श्रेष्ठको ‘अजम्मरी माया’, कविता शर्माको ‘नशाा’, सूर्य पूर्जा ‘जहर’ को ‘सम्झिएर रोइएछ’, शम्भु कंडेलको ‘मिनार’, नेपाल गजल प्रतिष्ठानद्वारा प्रकाशित ‘गजल पराग’, रञ्जित भण्डारीको ‘शोक धुन’ लगायतका गजल कृतिहरू सार्वजनिक गरिए ।कार्यक्रम चलिरहँदा त्यहाँका साथीहरूसँग पनि चिनजान गरौँ भन्ने सोचले म एक सर्जक चेलीसँग बसेँ । स्टेजबाट मलाई नियालिरहेका विवशले हिजो मैले उनलाई जिस्क्याएर लेखेको पैँचो समेत तिर्ने उद्देश्यले यस्तो गजल लेखेर मलाई दिए :
‘‘ सबै थिए वरिपरी तर काली पर थिई
  दोमनमा थिए एकु एउटी परी घर थिई ।

  हामीसँगै थिए पैले, भरे सरे अलि पर
  एकु थिए आफू मख्ख काली अञ्जान तर थिई ।

  एकु पिपल बुढो भा’ नि ढलपल ढलपल गर्न खोज्यो
  कालु भने वैंशालु थी’ तर एक्लो बर थिई ।

    उक्त गजल उत्सवमा गरिएको प्रतियोगितात्मक गजल बाचन कार्यक्रममा राजकुमार कुँवर प्रथम, शान्तिनारायण श्रेष्ठ द्वितिय, धुवलाल शर्मा तृतिय अनि हरिप्रसाद शर्मा र हेमा कार्कीले सान्त्वना पुरस्कार पाए । पूर्वबाट जानेहरूले पनि आ–आफ्ना गजल बाचन गरियो । प्रकाश, खल्तिपिडित, चेली र विवशजीले चाहिँ मनतव्य समेत राख्नुभयो । रातको नौ बजेसम्म उद्योग वाणिज्य संघको भवन गजलकार र गजलअनुरागीहरूले भरिभराउ थियो । बागलुङबासीको गजल अनुराग कार्यक्रममा देखियो र हामी छक्क पनि परियो । यत्रो लामो समयसम्म पनि श्रोताहरू बसिरहनु र गजल श्रवण गरिरहनु चानचुने कुरा थिएन ।
    औपचारिक कार्यक्रमको समापन पश्चात ‘भ्यू हिल’ होटलमा आएर फेरि अर्काे अनौपचारिक गजल वाचन र छलफल कार्यक्रम गरियो । त्यहाँ मूल कार्यक्रमको समीक्षा समेत गरियो । करिब साडे बाह्रबजे मात्र सुतियो त्यो दिन । विहान सात बजेदेखि राती बाह्र बजेसम्म निरन्तर गजल सुन्ने, सुनाउने र गजलकै बारेमा घनिभूत छलफल गर्ने कार्यमा सामेल गराएर यो कार्यक्रमले आफ्नो नाम ‘ राष्ट्रिय गजल उत्सव–२०६४’ लाई सार्थक मात्र बनाएन गजलको विकासका लागि महत्वपूर्ण योगदान गर्नुका साथै गजलकारहरूलाई एकताको मालामा उन्न गतिलो कार्य गर्‍यो । कार्यक्रममा प्रस्तुत कार्यपत्रहरूको ऐतिहासिक दस्तावेज बन्यो र नेपाली गजल सम्बन्धि अध्ययन गर्न चाहनेहरूका लागि गहकिलो सामग्री पनि तयार भयो ।
    भोलिपल्ट म्याग्दीका साथीहरूले वेनी बजार जाऊँ भन्ने आग्रह गर्नुभयो तर हाम्रो टोली अर्थअभावका कारण त्यता नगई पोखरा फिर्‍यो । हामी बाटाभरी दोहोरी खेल्दै पोखरा आयौँ । दोहोरी अल्छि लागेपछि अन्ताक्षरी पनि खेलियो । पोखरामा आएपछि फेवातालमा नौका विहार गर्ने कि खाना खाएर पूर्व लाग्ने भन्ने कुरामा छलफल गरियो । हामीसँग कुनै एक काम गर्नेमात्र बजेट बाँकी थियो । लोभ चाहिँ दुबै काम गर्ने थियो । खाना नखाइ बस चढ्दा पूर्व पुगुञ्जेल हुने ब्रत थेग्न गाह्रो, पोखरा आएर फेवातालमा तैरेको अनुभव गर्न नपाउनु जीवनभरलाई खल्लो, फेवालाई नि’ हेपेको जस्तो, तलबाराहीलाई पनि नपत्याएको जस्तो हुने भयो । अन्त्यमा खानाको पैसा चेलीले तिरिदिएपछि सबै खुशी भए । फेवातालमा सररररररर.......डुङ्गा सयर गरी तालबाराहीको दर्शन गरियो । सुमित्रा दिदी, प्रकाश, खल्ति र ईंट्टाघरे काठमाडौँ जाने भएकाले  पोखरामै छोडिए । रमाइलो पोखरालाई सिन्दुरे घामले सिँगार्दै गर्दा हामी सुटुक्क पूर्वको बस चढेर चुपचाप हुइँकियौँ । यतिबेला छोरी अन्माएका बाबुआमाको जस्तै भएको थियो मन ।

Comments