Skip to main content

नलेखिएका कविता र नदेखिएका जून


नलेखिएका कविता र नदेखिएका जून


–एकु घिमिरे


सधैंँ दौरासुरुवाल, कोट र नेपाली टोपी लगाएर हिँड्ने , राता–राता आँखा भएको, लामो जुँगा पाल्ने अनि नजिकबाट हेर्दा अनुहारमा विफर घाउका डामहरू भएको एउटा मान्छे मैले कखरा सिकेको श्री जनक माद्यमिक विद्यालयको हरेक कार्यक्रममा देखिन्थे । हामी सानै थियौँ । राजारानीको जन्म दिवस अनि बाल दिवसका दिन उनी आएपछि भब्य कार्यक्रम हुन्थ्यो । अरु त के के हुन्थ्यो याद छैन तर हामी केटाकेटीहरूलाई चक्लेट बाँडिन्थ्यो । त्यसैकारण ती ब्यक्ति अघिपछि स्कुलको प्राङ्गडमा आउँदा हामीलाई आज पनि चक्लेट बाँड्छन् कि भन्ने आश लाग्थ्यो । साथी–साथीमा त्यसबारे गफगाफ पनि हुन्थ्यो । तर सधैँ चक्लेट बाँडिदैनथ्यो । हामी कोटको गोजीमा बोकेर पो ल्याएका होलान्, बिर्सिएर नदिइकन पो जान्छन् कि भनेर कार्यालयको झ्यालमा बराम लाग्थ्यौँ अनि कुनै झ्वाँकी शिक्षकको हातबाट लबटे चिउरा खाएर कक्षामा फर्किन्थ्यौँ ।
आफ्नै आँगनमा स्व . जगतबहादुर लेप्चा ( काजी बुढा ), फोटो - बुद्धकाजी लेप्चा ।  
अलिक बुझ्ने हुँँदा थाहा भयो ती मान्छे त हाम्रै सहपाठी बुद्धकाजी र रमेशकाजीका बुबा पो रहेछन् । तर म कक्षा दुईमा पढ्दा खुट्टो स्याप्टिक भई परीक्षा लेख्न नसकेर फेल भएँ अनि उनीहरूले पढाइमा मलाई छोडे । उनीहरूकी दिदी शुस्मिता काजी अलिक माथिल्लो कक्षामा पढ्थिनन् । लगत्तै देसमा प्रजातन्त्र आयो । प्रजातन्त्रले गाउँमा अनौठो फुट ल्यायो । हाम्रो परिवार मात्र होइन पुरै टोल नै कम्नुनिष्ट, काजीहरू अनि छिरुवाका चल्तापूर्जा ठकुरीहरू काँग्रेस । समयले विनाकारण हामीलाई शत्रु बनायो । उल्लेखित काजी बुडा र ठकुरीहरूका विरुद्ध लाग्न हामीलाई समले उसै उक्सायो । हामी तिनै चक्लेट बाँड्नेका विरुद्ध निम्नलिखित प्यारोडी लोक गीत गाउँदै हिँड्न थाल्यौँ :

शुस्मिता काजी, त्यस्को बाउ पाजी, के गर्छ मुलेले
झ्याउरे गीत गायो त्यो चाउरे बुढो ठकुरी ठुलेले !
समयक्रमसँगै अस्वस्थ्य राजनीति निस्क्रीय बन्यो । समग्र अन्तुको विकासमा सबै एक भए । गाउँको विकास गर्न कति कठिन रहेछ भन्ने कुरा सबैले बुझे । स्कुल खोल्नु र सञ्चालन गर्नु , अनेक सरकारी कार्यालयहरू गाउँमा स्थापना गर्नु अनि टिकाउनु कतिसम्म जटिल रहेछ भनेर धेरैले कुरा बुझे । यसपछि अन्तुमा माध्यमिक विद्यालय खोलेर दिगो रुपमा सञ्चालन गराउने, बाटो खनेर गाडी ल्याउन योगदान गर्ने , हरेक सामाजिक समस्यामा स्थानीय जनतालाई फाइदा पुग्नेगरी काम र निर्णय गर्ने–गराउनेमा उनै काजी बुडाको नाम सम्मानपूर्वक लिन थालियो ।
राजनीति भन्ने एउटा विचार मात्र रहेछ, फरक पार्टी भएकै कारण त्यो सँग रीस राखिहल्नुपर्ने अनि एउटै पार्टी हुनसाथ उसले गरेका सबै कर्म ठीक हुने हैन रहेछ भन्ने बुझेपछि हामीले वि.सं. २०५१–५२ तिर ‘एकता परिवार श्रीअन्तु’ नामक सामाजिक संस्था गठन गरी राजनीतिक रूपमा फुट समाजलाई एकढिक्का पार्ने प्रयासमा जुट्यौँ । सो संस्था वि.सं. २०५५ मा औपचरिक रूपमा दर्ता समेत गरी एक शिवालय मन्दिर बनाउने कार्यमा जुट्यो । शिवालय निर्माण गर्नका लागि चन्दा सङ्कलन गर्न माथिको प्यारोडी गीतमा लेखिएका पात्र ठकुरी ठुलेसँग म गायक कुबेर राईको गाउँ सल्लेरी जानुपर्ने भयो । त्यो बेला बुढामान्छेलाई हामीले गाएको गीत सुनाएँ । उनी बम्बजन डाँडाको चौतारामा बसेर धेरैबेर हाँसे । समाजमा काम गर्नेको विरोध हुने कुरा उनले मलाई बुझाए । आफू र काजी बुडाले राम्रा सामाजिक कामहरू गरेकैले त्यो गीत बनेको उनको निष्कर्ष थियो । ठुले बुडाले त्यो दिन काजी बुडाले गरेका योगदानको निक्कै चर्चा गरे । एउटा सानो शिवालय निर्माण गर्न हामीले गर्नुपरेको यो दौडधुपलाई उदाहरण दिँदै गाउँमा स्कुल, प्रहरी चौकी, बाटो आदि निर्माण गर्न काजी सहित आफूहरूले भोगेका दुःख र प्रयासका कथा सुनाए । सामाजिक कार्यमा समय नदिएर आफ्नोलागि मात्र काम गरेका भए काजी बुढाले कति सम्पत्ति कमाउँथे भन्ने पनि ठुले बुढाले त्यो दिन मलाई बुझाए । त्यो दिनदेखि काजी बुढाप्रति मेरो दृष्किोण फर्लक्कै फेरियो । उनका योगदानको मनमनै हिसाब गर्न थालेँ ।

शिवालय मन्दिरकै चन्दा उठाउने क्रममा अर्को दिन म बस्नेत फुपासँग मेची गोदाम र सानो श्रीबुङ् पठाइएँ । बस्नेत फुपा पनि काजी र ठकुरीहरूका आफन्त अनि सामाजिक विकाशमा केही योगदान दिएकै व्यक्ति हुन्। उनले काजी बुडाले गरेका अनौठा लाग्ने निर्णयहरू कथा सुनाएजस्तै सुनाए । वि.सं. २०४१ सालमा मेरा जेठा बढिबा तारानिधीका छोरा पुण्यप्रसाद अहिले अन्तु पोखरी भनेर चिनिएको त्यो बेलाको लामपोखरीमा पौडी खेल्ने क्रममा डुवेर मरेपछि इलामबाट आएका प्रहरी प्रमुखले लासलाई पोष्टमार्टमका लागि सदरमुकाम नै लैजानुपर्छ भन्ने निर्णय सुनाएछन् । प्रधान पञ्चको हैसियतले आफ्ना क्षेत्रका मान्छेले अनावश्यक दुःख पाउन लागेको बुझेपछि काजी कड्केर भनेछन्:
‘ लास बोकाउने काम चहिँ तेरै कुकुरहरूलाई गराउनु । हामी यो दुःखको घडीमा इलाम जान भ्याउँदैनौ, लास जलाउने काम पनि उतै गराउनू ।’
पञ्चायतकालीन समयमा प्रहरीको जिम्मेवार ब्यक्तिलाई तँ र उसका सहयोगीलाई कुकुर भनी अनादर गरेको सुनेर हाम्रा बढबालाई दुःखमाथि डर लाग्यो रे । तर काजी रिसाएकै कारण लास त्यहीँ जिम्मा लगाएर प्रहरी टोली बाटो लाग्यो रे ।
उल्लिखित स्कुलको माथि पखामा लकान्द्री कान्छाको घर अनि आरन थियो । अहिले लकान्द्री कान्छा बढा खसेपनि उनका परिवार त्यहीँ छन् । उनीहरू स्कुलको जमिनमा कहाँबाट र कसरी आएर बसेछन् भन्ने लागेर कान्छाकी श्रीमती फुलमाया लकान्द्रीसँग जिज्ञासा राखियो । फुलमायाका अनुसार उनीहरू पहिला गोरख भन्ने ठाउँमा बस्थे अरे । एकदिन काजी बुडा, ठुले ठकुरी र बस्नेत फुपा गएर लकान्द्री परिवारलाई अन्तु स्कुलको माथि ल्याएर राखेका रहेछन् । फुलमायालाई काजीले कस्तो ब्यवहार गर्थे भनेर पनि सोधियो । आँखाभरि प्रेमको आँसु छल्काउँदै काजीले उनीहरूलाई आफ्नै परिवारजस्तै माया गर्ने गरेको बताइन् । काजीकामा मासु काट्दा सधैँ लकान्द्रीका घरमा पठाइदिन्थे रे । लकान्द्रीकामा पनि मासु काटेका बेला घरमै पुर्‍याइदिने अनि काजी परिवारले छोइछिटो पनि नगर्ने उनले बताइन् । यसरी कृषिमा आधारित समाजलाई चाहिने अनेक औजार निर्माण गर्न र अरजाप्नका लागि गाउँलेलाई दुःख भएको देखी काजीले लकान्द्री परिवालाई त्यहाँ ल्याएका रहेछन्। सुन्दा सामान्य लागे पनि काजीको यो कदम निक्कै राम्रो र समाजको भलाई हुने किसिमको लाग्यो । अहिलेका कतिपय नेताको जस्तो चरित्र भएको भए काजीले आफ्नो घर नजिक लगेर राख्नेथिए होला । तर स्कुलको नजिक राख्दा बिद्यार्थीले पनि औजार सजिलै लग्न सक्ने अनि घरका काम गर्नेको दिन त्यसै नजाने भन्ने ठानेर लकान्द्री परिवारलाई त्यहाँ राखेका रहेछन् । स्कुलको जग्गा जमिनको हेरबिचार पनि हुने , एउटा कर्मशिल परिवारको आम्दानीको स्रोत पनि बढ्ने । यसरी काजी बुडाको 'काम एक , फाइदा अनेक' नीति रहेको देखिन्छ ।

काजीको बारेमा स्थानीय लेखकको हैसियतले मलाई पनि एउटा लेख लेख्न मित्र बुद्धकाजीले अनुरोध गरेपछि मैले केही आफन्त र गाउँलेलाई उनका बारेमा सोधेँ । गाउँभन्दा टाढा जागिरे जालोमा जेलिएको मैले कतिपयलाई फोनबाट अनि कतिलाई अरु कसैमार्फत सोध्न लगाएँ । धेरैको कुरा दोहोरिने भएकाले राख्न उचित लागेन तर केही महत्वपूर्ण लागेका भनाइहरू जस्ताको तस्तै यहाँ राख्ने बिचार गरेको छु । यी भनाइहरू सङ्कलनमा सघाउने मेरा भाइहरू रुद्र र धरणी अनि मित्र डम्बर दर्लामीप्रति सुरुमै आभार व्यक्त गर्दछु ।
मैले स्कुल नजिकै घर भएका लीलानाथ अर्याल बढालाई पनि काजी बुढाका राम्रा र नराम्रा गुण बताइदिन अनुरोध गरेँ । अर्याल बढा युवा अवस्थामा अत्याधिक दह्रो, परिश्रमी र धेरै काम गर्न सक्ने भएकाले मोटर बाटो खन्ने कार्यमा जसरी पनि उपस्थित हुन काजीले खबर पठाएका थिए रे । बाटो खन्नेलाई चिउराको खाजा दिइन्थ्यो अरे । अर्जेल बढाले धेरै खाजा खाए भनेर काजीसम्म पोल बोकेर जानेलाई काजीले उल्टै झाँको झार्दै भनिदिएछन् ‘ अर्जेल काँइलाले दुई जनाको भाग खाएर केही घाटा छैन, तिमीहरू जस्ता आठ जना पोल्याहा र ठगहरूको जति काम उस्ले एक्लै गर्छ ।’ त्यो दिन पोल्याहाहरू किच्च पारेर फर्काएकोमा अर्जेल बढा आजसम्म काजीसँग खुशी छन् । काजीले श्रमको सम्मान गर्ने उनको ठहर छ । तर जग्गा जमिनको विवाद भएका बेला अमिनले भनेकै जस्तो मान्नुपर्छ भनेर काजीले भनिदिँदा अर्याल बढाको केही जग्गा अर्काकोमा परेछ । त्यो बेला खुब रिस उठे पनि यतिबेला कानुनको कारण त्यस्तो गरेको रहेछ भन्ने लागेको उनको कथन छ ।


यस्तै प्रश्न मैले मेरा ठुला बढिबा तारानिधिलाई पनि सोधेँ । छोराको पोखरीमा डुबेको लास सदरमुकाम लाने झन्झटबाट मुक्ति दिएकामा काजीप्रति आफ्नो सधैँ सम्मान रहने अनि त्यो भन्दा पहिला मोटर बाटो खन्ने क्रममा आएको एक सरकारी अमिनको अत्याचार सहन नसकेर बढिबाले भक्कुमार कुटपिट गरेपछि सरकारी त्यसमाथि बाटोको मान्छे कुटेकामा काजीले कडा कार्यवाही गर्लान् भन्ने डरले लुकेको बेला पनि आफ्नै पक्षमा कुरा गरी अन्यायी अमिन गोदेकोमा कार्यवाही नगरेको रमाइलो प्रसङ्ग तारानिधीका मुखबाट सुनेपछि काजी न्याय प्रकृयामा पनि विश्लेषण गरेर मात्र निर्णय दिने स्वभावका रहेछन् भन्ने मेरो निष्कर्ष रहेको छ। नत्र पञ्चायतकालीन समयमा जसले पहिला प्रधान पञ्चकहाँ उजुरी गर्‍यो उसैको पक्षमा फैसला हुन्थ्यो भन्ने हँस्यौली आजसम्म उखानजस्तो चलेको छ।
काजीको बारेमा सोध्ने क्रममा मैले छिमेकी बढा रण बहादुर दर्लामीसँग पनि कुरा गरे । आफूहरू त्यो बेला काजीको खेताला जाने गरेको सम्झना गर्दै उनले काजीले सबैको भलाइको लागि मात्र काम गरेको बताए । उनले धेरैको भलाइ गर्दा कता कता कसैको नोक्सानी पनि भएको हुनसक्ने बताउँदै बाटो खन्दा जमिन जानेहरू काजिको विरोधमा बोलेको स्मरण गरे । आफू गाउँको प्रधानपञ्च भएर पनि आफ्नामा आउने खेतालालाई सम्मान गर्ने, सँगै काम गरेर अरुले जे खाजा खान्छन् आफू पनि त्यही खाने गरेको उनले सुनाउँदा मलाई काजीप्रति अझ श्रद्धा जागेर आयो ।
मैले हाम्रा साइँला बढिबा प्रेमप्रसादसँग पनि काजीका बारेमा सोधेँ । गाउँलेहरूलाई मेची राजमार्ग खन्न कोल्बुङ, भालढुङ्गासम्म लगेर विकासमा सरिक गराएको अनि यसो आय आर्जनको बाटो पनि देखाइदिएको जस्ता राम्रा कामको स्मरण गर्दै त्यो बेला नापी छुटेको सबै जमिन स्कूलको नाममा हालेको हो कि भन्ने शङ्का राख्दै यदि त्यसो हो भने त्यो काजी बुढाको एक गम्भिर त्रुटि गरेको बढिबाको ठहर सुन्न पाएँ ।
यसरी सानामा सबैलाई चक्लेट दिने मान्छे भनेर आदर गरेको मान्छेलाई पछि राजनीतिक परिवर्तनको कारण लहैलहैमा लागेर खराब सूचिमा राख्नु ठुलो भूल भएछ । यतिबेला लाग्छ जगत बहादुर लेप्चा ( उनै काजी बुढा ) अहिलेसम्म जीवित भए म पक्कै उनीसँग अन्तर्वाता गरेर पञ्चायतकालीन विकास आन्दोलनको एउटा महवपूर्ण पुस्तक लेख्न सक्थेँ । तर यतिबेला उनी छैनन्, ढिलो भएपछि मात्र यो सोच आयो । जगतबहादुर लेप्चाका परिवारले स्मृति ग्रन्थ निकाल्ने निर्णय गरेर थोरै भएपनि काजी र उनका योगदान बारे भविष्यका अन्तु पर्यटन क्षेत्रमा बसोवास गर्ने मनिसले जान्ने मौका पाएका छन्, त्यो खुशीको कुरा हो । तर काजीको जीवन छँदै उनका अनुभवको सङ्गालो निकाल्न सकेको भए पक्कै पनि अन्तुको माटोले धन्यवाद दिनेथियो, त्यो विकेक नआएकामा म अहिले पछुतो गरिरहेको छु । जगतबहादुर एउटा सिङ्गो पुस्तक थिए जस्लाई छाप्न नपाई पाण्डुलिपी हरायो । अन्तुको हरेक विकासमा जगतबहादुरको अदृश्य छाँया छ । मेरो विचारमा जगतबहादुर नलेखिएका कविता हुन्, नदेखिएका जून ।

Comments