Skip to main content

ब्रह्मपुत्रमा ब्राह्मणपुत्र


     मस्तिष्क घात भएको करिव डेढ महिनापछि आमालाई घर ल्याइयो । बुबाको वार्षिक कार्यक्रममा आमालाई पनि सहभागी गराइयो । तर उहाँको बोली हराएको थियो । दाहिने पाटो पनि कम चल्थ्यो । सबै शुभेच्छुक र आफन्तहरूले आमालाई कामक्ष देवीको दर्शन गराएमा समस्याबाट मुक्ति मिल्ने सुझाव दिए । तत्कालै आसम जानसक्ने हाम्रो आर्थिक अवस्था थिएन । तर बल्ल बल्ल निको हुनुभएकी आमाको बोली घाँटीमा आएर अड्किँदा  हाम्रो परिवारले हज्जारौँ  पटक कामक्ष देवीलाई सम्झियो । आमाको स्वस्थ्यमा क्रमिक सुधार भयो । बिस्तार–बिस्तार आमा थोरै बोल्न र नचल्ने पाटो पनि  अलिक चलाउन सक्ने हुनुभयो । आमासँग कामक्ष मन्दिर जाने रहर उब्जिएको करिव दश बर्षपछि सफलता मिल्यो । वि.सं. २०७४ चैत्र २६ गते सोमबार हाम्रो परिवार आमाका साथमा उक्त मन्दिरको दर्शन गर्न सफल भयो ।
    आफ्नो जागिर पूर्वी हिमाली जिल्ला सङ्खुवासभाको चैनपुरमा भएकाले सपरिवारको बसाइ त्यहीँ  थियो । छोरो सुयोगको वार्षिक परीक्षा सकिने मिति टुङ्गो लागेपछि आसाम जाइआइ गरिरहने जेठा बडिबाका ठूला ज्वाइँ  हरि ढुङ्गेलसँग  सो क्षेत्र घुमघाम कार्यक्रमको नेतृत्व गरिदिन फोनमार्फत अनुरोध गर्‍यौँ । उहाँले स्वीकार गरेपछि रेलको टिकट लिने कुरा चल्यो । टिकट गर्ने अघिल्लो दिन अन्तुबाट माइलो भाइको स–परिवार रुद्र, रेणुका र सुरभी पनि जाने रहर गरे । यता धरानबाट मनोज सालोले पनि उस्तै रुचि देखाए । यसो गर्दा जम्मा नौ जनाका लागि भिनाजुलाई टिकट गर्न अनुरोध गरियो । जाने टुङ्गो नै भइसकेको थियो तर सुयोगजीको मन उडेर परीक्षा विगार्लान् भनी कहीँ  कतै हल्ला गरिएन ।
चैत्र २४ गते शनिवार विहानको पहिलो बस चढेर हामी धरान झर्‍यौँ  । सङ्खुवासभाको मुढे बजार पुग्नु अघि नै बाटाछेउमा फुलेका धेरै लाली गुराँस  तथा केही चाँपहरूले हामीलाई एकसाथ स्वागत र विदाई गरे । मुढे आसपास पुगेपछि बसको झ्यालबाट देखिँदै गरेको मकालु हिमाललाई साथ दिन कुम्भकर्ण पनि टुप्लुक्क देखा पर्‍यो । स्थानीय सख्खर, मेलको अमिलो अनि ताजा हरियो सागसब्जी बेच्नेहरूको भिड थियो मुडेमा । शनिबार हाट लाग्ने हुनाले पनि सधैँभन्दा भीडभाड थियो त्यहाँ । हामीले पनि सस्तोमा सिमसाग र मटर कोसा किनेर बाटो लाग्यौँ । पात्ले कटुसको जङ्गलबिचबाट बसले हामीलाई नागबेली कच्ची बाटोमा गुडाइरह्यो । घुम्ति सडकमा अलिक माथिबाट हेर्दा तल आउँदै गरेको गाडीले उडाएको धुलोले दार्जिलिङे रेलको याद आउँथ्यो । सबैको अनुहार र कपाल धुलोले फुस्रो देखिन्थ्यो । बसका धेरैजसो यात्रुले माक्स लगाएका थिए । बाटाछेउका रूख विरूवाको गति कस्तो थियो भन्ने तपाईँ आफैँ अनुमान गर्नुहोस् । तर सडकभन्दा अलिक टाढा सजिएका गुराँसहरूको सङ्ख्या बसन्तपुर कटेर जाँदासम्म पनि उल्लेख्य थियो ।
सिँधुवा बजारको एउटा होटलमा खाना खाएपछि बस ओरालो झर्न थाल्यो । नीलो अनि सफा आकासलाई फोहोर पार्न निगाले सिमेन्ट कारखाना सेतो धुँवा फाल्दै थियो । गाडीमा बान्ता आउन खोज्ने भएकाले सुमी चाहिँ ग्रहण लागेको चन्द्रमा जस्ती देखिन्थन् । हामी बाबु छोरा चाहिँ अनेक गफ गर्दै बाटो काट्दै रह्यौँ । करिब दुई बजे धरान पुगेर विजयपुरका हितैसी छरछिमेकीसँग भेटघाट गरियो । त्यसपछि भोलि सुरु गरिने यात्राको तयारीमा जुट्यौँ ।
चैत्र २५ गते आइतबार बिहानको खानापछि हिजोको टोलीमा मनोज समेत थपिएर चारआली गयौँ । त्यहाँ आमालाई मोटरसाइकलमा लिएर भाइ रुद्र आए । सानी नानी सुरभी र भिनाजुका साथमा बुहारी रेणुका पनि चारआली आइपुगिन् । हामीलाई बिदाइ गर्न भान्जी दिक्षा पनि झापाको चैते गर्मीमा बिर्तामोडबाट त्यहीँ आएकी थिइन् । उनी इलामबाट भिनाजुले ल्याइदिनुभएको ताजा सागसब्जीको बोरा बोकेर बिदा भइन् । हामी एउटा बस चढेर काँकडभिट्टा पुगेपछि केही भारू साट्न थाल्यौँ । भाइले अन्तुबाट पनि भारू पैसा निक्कै ल्याएको रहेछ किनकी त्यहाँ भारू र नेरू बराबर चल्छ । चैत्रको हुरहुरे हावाले उडाएको धुलोसँग जोगिँदै हामी पैदलै मेचीपुल तर्न थाल्यौँ । हाम्रो नेतृत्व गरिरहनुभएका भिनाजुले रिक्सामा जाँदा जाममा फसेर झन् ढिलो हुने बताएपछि पैदल नै अघि बढिएको थियो । नभन्दै सँगै आएर रिक्सामा चढ्नेहरूलाई हामीले धेरै नै पछाडि छोड्यौँ । भिनाजुको अनुभवको सबैले तारिफ गरियो ।
पानीट्याङ्कीबाट सिलीगुडी जाने बस चढियो । बसमा एकैछिनमा भीडभाड फेरि लगत्तै खुल्लापन हुन्थ्यो । सुयोग र सुरभी चाहिँ बदाम खाँदै सानसँग बसेका थिए । भिनाजु बाहेक हामी सबै ठूलालाई भारतीय भूत लागेको थियो । उहिले मुङ्लान पस्नेहरूको कथा ब्यथा सुनेर अनि भाषा पनि फरक परेकाले मन गह्रौँ भएको थियो । मनमा उस्तो चैन थिएन । हिन्दी राम्ररी बुझेपनि मलाई बोल्न धक लाग्छ । भारतीय विस्तारबादको नकरात्मक छाप परेकाले होला, हिन्दी बोल्दा आफ्नो स्वभिमान नै सकिए झैँ लाग्छ तर रुद्र र रेनुलाई त्यो बेचैनी हामीलाई भन्दा कम थियो होला किनकी उनीहरू हप्तैपिच्छे जस्तो सिलिगुडी आइरहने काम पर्छ । बसले न्यू जलपाइगुडीकै भाडा असुल्यो तर सिलिगुडीबाट अर्को बसमा कोच्यो । मैले भाडाको कुरा गर्दा सहचालकलाई भनिदिएको भन्यो । मैले कति जनाको कुरा भयो भन्दा हत्तपत्त ठेल्दै आठ जनाको भन्यो । भरे जलपाइगुडी पुगेपछि हामीसँगै आएका अन्य तीन र  हाम्रो टोलीका पाँचको मात्र भाडा लिएको रहेछ । हामीले फेरि तीन जनाको सिलिगुडी देखि जलपाइगुडी सम्मको भाडा थप तिर्नुपर्‍यो । यो यात्राको पहिलो ठगी कान्ड थियो ।
जलपाइगुडीमा प्लेटफार्मको नजिकै केही खाजानास्ता गरियो । कसैले भात नै पनि खाइयो । एकैछिन भिनाजु हाम्रो टिकटको बारे बुझ्न जानुभयो । तबसम्म पनि सबै टिकटको टुङ्गो भएकै थिएन । हामी रेलमा उति नहिँडेकालाई अलिक तनाव भयो तर भिनाजुलाई  यादै थिएन । नौवटा टिकट भएको बुझेपछि सिक्किमबाट आफ्नो कार्यथलो हिँडेका भरतीय सैनिकका एक जवान हामीसँगै जाने भए । उनका अनुसार हाम्री सानी छोरीको टिकट नै लाग्दो रहेनछ । नेपाली मूलका मानिस भएकाले हाम्रो समूहले तत्कालै उनलाई विस्वास गरिहाल्यो । हामी भर्खरै थोरै भए पनि ठगिएका थियौँ तर भाषा र मूलले उनीमाथि कुनै शङ्का गरिएन । उनको चाहिँ भोलिको मात्र टिकट गरेको तर अर्पझट आजै हिँड्नु परेको रहेछ । सिक्किमे भएकाले हाम्रो भाषा पनि मिल्यो । उनी मजाले हामीसँगै बसेर आफन्त जस्तो गफिन थाले । मोवायलको एप्समा हाम्रो रेल कहाँ आइपुग्यो , हाम्रो टिकटको टुङ्गो भयो भएन ? सबै आउँदो रहेछ ।  प्लेटफार्ममा छोडिएको द्रुत गतिको वाइफाईबाट चार मिनेटमै मनोजले एउटा तीन घण्टाको फ्लिम डाउनलोड गरेछन् । म आफू इन्टरनेट प्रदायक सर्वोच्च संस्था नेपाल टेलिकमको प्रविधिक पदमा कार्यरत र्काचारीलाई यहाँको जस्तो तीब्र वाइफाई छोड्न पाए हुन्थ्यो भन्ने लोभ त जाग्यो नि तर मनको लड्डु ......।

न्यू जलपाइगुडीमा रेलको अघि सुयोग , मनोज र म । 

म र भिनाजु बाहेक हाम्रो टोलीका अन्य सदस्यहरूका लागि रेल यात्रा नितान्त नौलो थियो । करिब साढे छ बजे हाम्रो यात्रा सुरू भयो । पाँच, दुई, दुई का दरले फरक फरक डब्बामा हाम्रो टिकटको टुङ्गो लागेको उनै सिक्किमे सैनिकले जानकारी गराए । एकातिर मनोज र रुद्र अनि अर्कोतिर भिनाजु तथा सैनिक सुत्न जाने तय गरियो । तर सबैभन्दा माथिको सिटमा सुमी चढ्न सकिनन् । उनले हँस्यौली पारामा भनिन् : “ म त यो आडमालीको सिरानको तलामा चढ्न नसक्ने रहेँछु ।” आमाले उहिलेको काठे फल्याकको आडमाली सम्झिनुभएछ, निक्कैबेर हाँस्नुभयो । म चाहिँ अर्कोपट्टिको माथिल्लो सिटमा चढेर लुगा राख्ने ह्याङ्गरमा सानो हाते झोला झुन्डाएर सुतिसकेको थिएँ । आमाले हास्दै थप्नुभयो :“ ऊ एकु सुतेको नजिक त सिँगौरो पनि रहेछ ।” हाम्रो हाँसो फेरि घन्कियो । सुयोग र सुरभि चाहिँ सँगै सुत्ने भनेर चकचक गरिहेका थिए । सुमी माथिल्लो तलामा चढ्न नसकेको देखेर सुयोगजी बाल शक्ति देखाउन चढे । अब सानीलाई पनि त्यहीँ नचढी भएन । चढेर मात्र नहुने, दुबै त्यही अग्लो सीटमा सुत्ने । पछारिन्छन् भन्ने भयले मैले अलिक ठूलो स्वर गरेँ । केटाकेटी डरले  लच्के । सुयोग त्यही अग्लो सिटमा निदाए । सानी आफ्नी आमाको छातिमा लुकिन् । सुमीलाई मनोज भएको डब्बामा पठाइयो । रातभरी रेल हुइँकिइरह्यो । कहिले टिकट चेक गर्ने आएर विउँझाए । कहिले हिजडा आएर ताली बजाउँदै पैसा मागे । चिया बेच्ने कराइरहन्थे । रेल बेला बेला रोकिँदै हुँइकिरहन्थ्यो । सबैले आ–आफ्नो  बानी अनुसार निदाउने काम गर्‍यौँ । ओर्लिनु भन्दा अघि नै रेलको चर्पीमा दिशापिसाब गर्न उनै सिक्किमे सैनिकले सुझाए । तर भन्नसाथ मलाई जस्तो सजिलै सबैलाई चर्पी जानसक्ने बानी रहेनछ । आफुलाई चाहिँ आजसम्म बिहान उठेपछि चर्पी जान र राती सुतेपछि निदाउन बल गरिरहनु पर्दैन । उज्यालो हुनेबेला सबै भेला भएर चिया खायौँ र गुवाटी स्टेशनमा पुगी करिब चार बजे ओर्लियौँ ।
गुवाटीको प्लेटफार्ममा ती सिक्किमे सैनिकले हाम्रा ब्याग रुँगिदिने, न्वाइध्वाइको चाँजो मिलाइदिने अनि उज्यालो भएपछि एउटा गाडी दिनभरलाई मिलाइदिने सम्म सहयोग गरी बिदा भए । हामी एकदिनलाई भाडामा लिएको गाडी चढेर पहिला कामक्ष देवीको दर्शनार्थ गयौँ । देवीको दर्शनार्थ दिक्कलाग्दो लामो लाइन बस्नुपर्‍यो । नानीहरू भोक र प्यासले आलसतालस भए । भक्तजनका लागि सुरु सुरुमा त बस्ने बेन्चहरू थिए । निक्कै ब्यवस्थित रहेछ भनेर गुणगान गाइसकेपछि बेन्चहरू नभएको ठाउँमा आइपुग्यो लाइन । पिसाब फेर्नलाई चर्पी सम्म रहेनछ । साना ठूला सबैलाई पिसावले च्यपेर अप्ठ्यारोमा  पर्‍यौँ । फर्किएर जाउँ भने फेरि अघि आउन दिँदैनन्, अगाडि  आँखाले भ्यउनेसम्म नाकबेली  लाम छ  । बल्ल बल्ल मुख्य मन्दिरको प्रवेस द्वार नजिक आएपछि चाहिँ यात्रुको लाइन आवश्यक्ता अनुसार भित्र पठाउन खटिएका प्रहरीलाई अनुरोध गरी चर्पी गयौँ । ती प्रहरीले हाम्रो हातमा साइन पेनले सही गरिदिए । चर्पी खोज्दा अनि सबैले पालैपालो गर्दा करिब पाँच मिनेट लाग्यो । आमा, म र सुमी अरुभन्दा ढिलो भयौँ । हत्तपत्त ढोकामा आउँदा ती प्रहरीको पालो फेरिएछ । ढोका खोलेर करिब तीनसय मानिस पसाएर ती प्रहरी गइहालेछन् । अब हामीलाई न त नयाँ प्रहरीले भित्र जान दिन्छ न त भक्तजनले नै । हामी जवरजस्ती भित्र छिर्‍यौँ । भक्तजनले हामीलाई हिन्दी, आसामी, बङ्गाली  लगायतका भारतेली भाषामा किन लाइन मिचेको भनेर हप्किदप्की गरे । हामीले पनि नेपालीमै कारण बताइरह्यौँ । आमा र सुमीलाई अघि बढ्न  अलिक सजिलो भयो । मलाई चाहिँ एकजनाले च्याप्प समातेर हिन्दीमा पालो मिचेर अघि बढ्न  नदिने बतायो । मैले आफ्नै नेपालीमा कारण बताएँ । उस्ले मलाई हिन्दीमा बोल भन्यो । मलाई हिन्दी बोल्न अलिक असहज लाग्ने माथि नै भनेकै छु । मैलै उसको हिन्दीमा जति बुझेँ उस्ले मेरो नेपाली पनि त्यति नै बुझ्यो । उस्ले नेपाली बोल्न नहुने मैले किन हिन्दी बोलिदिने भन्ने लाग्यो । अन्त्यमा मैले उसलाई अङ्ग्रेजीमा उत्तर दिएँ । ऊ रिसाएर बोल्दै थियो तर अरुले मलाई अघि जान दिए । म बल्ल ढडियाको माछो फुत्केजस्तो भएँ र आफ्नो टोलीसम्म पुग्न पाएँ ।  आमासँग देवीको दर्शन गर्न झण्डै  झण्डै पाइएन । उहाँसँग दर्शन गर्नकै खातिर यत्रो लामो लाइन बसिएको हो नत्र म लाइन भएको मन्दिर परिसर पुगेरै ढुक्क हुने गर्दछु ।

कामक्ष मन्दिरको दर्शनार्थ आमासहित लामबद्ध हाम्रो टोली 

    मुख्य मन्दिरको प्रवेश द्वारमा चाहिँ भक्तजनलाई पानी बाँड्ने सेवकहरू धेरै हुँदा रहेछन् । करिब छ घण्टा लाइनमा उभिएर गुफा जस्तो लाग्ने ठाउँभित्र लुकेर बसेकी देवीको दर्शन गरियो । फकरक शैलीमा बनाइएको उक्त मन्दिरको भित्र ठूला ठूला ढुङ्गाका पिल्लर रहेछन । भक्तजनको भीड, पण्डाको पेलाइँ अनि सहयोगीहरूको सेवा यो मन्दिर क्षेत्रका महत्वपूर्ण विशेषता रहेछन् । बाहिर निस्किएर मन्दिर क्षेत्रमा केही फोटो खिच्यौँ । सबैलाई निक्कै भोक लागेको थियो । मन्दिरको नजिकै एउटा शाकारी भोजनालय त भेटियो तर होटलवालाको ब्यहोरा चाहिँ हिँस्रक मांसारी जनावरको जस्तो रहेछ । देवीको छेउमा बसेर पनि त्यो होटलवालालाई ग्राहक देवता हुन् भन्ने थाहा रहेनछ । दुःखसँग चिसो दाल, नमिठो सब्जी र फाटेर चोक्टा चोक्टा भएको कागती जस्तो दहीसँग हिजै पकाएको झैँ लाग्ने भात खायौँ । मन्दिर परिसरमा आफन्त तथा छिमेकीलाई केही चिनो किन्ने काम भयो । आमाले शङ्ख किन्ने रहर गर्नुभयो । भिनाजुले माजाले शङ्खधुनी गरेर राम्रो भन्ने ठहर्‍यापछि किनियो । मनोज र रुद्रले पनि मौकामा शङ्ख बजाउने तालिम गरे ।

कामक्ष मन्दिर परिसरमा हाम्रो टोली । 

गाडीले हामीलाई अब ब्रह्मपुत्र किनारमा लगिदियो । आम्मामा ! मैले सोचेभन्दा त दस गुना ठूलो लाग्यो ब्रह्मापुत्र नदी । हामीले एउटा मोटर बोट भाडामा लिएर उमानाथको मन्दिर दर्शनार्थ ब्रह्मपुत्रमा तैरियौँ । त्यहाँ निक्कै ठूला पानीजहाज पनि चल्दा रहेछन् । मोटर बोटको चालकले भने अनुसार ती जाहाज बङ्लादेस जान्छन् । ब्रह्मपुत्र नदीको टापुमा अवस्थित उमानाथको मन्दिर दर्शन गर्न जाँदा अघि कामक्षको मन्दिरभित्र पिल्लर बनाउन प्रयोग गरिएजस्ता लामा लामा ढुङ्गा देखिए । हामी सबैजना रमाएर फोटो खिच्दै ब्रह्मपुत्रमा चिप्लियौँ । उमानाथ मन्दिर परिसरमा भएको तित्री सबैले खोजी–खोजी खायौँ । नदीको किनारमा ओर्लिएपछि कसैले पोलेका मकै खायौँ त कसैले चटपटे खाने भए । चटपटेवालालाई खानुभन्दा अघि दाम सोधिएन, उसले सामान्य भन्दा तीन गुना पैसा असुल्यो । दोस्रोपटक ठगिएर हामी फेरि मोटर बोट चढेर फर्कियौँ । निक्कै पर्यटकीय लाग्ने सो क्षेत्र चाहिँ अलिक सुनसान झैँ लाग्यो । कामक्षको जस्तै भीड आसामको सबैतिर पुग्नु हो भने पर्यटनको केन्द्र नै बन्ने रहेछ ।

उमानाथको मन्दिर परिसरमा गणेशजीको बाहान मुसोसँग सुयोग र सुरभी 


गाडीका चालकले त्यसपछि हामीलाई आसामको चिडियाखाना लगिदिए । यहाँको चिडियाखाना चाहिँ निक्कै ब्यवस्थित रहेछ । दार्जिलिङ र काठमाडौँका चिडियाखाना मात्र डुलेको मैले त्यहाँ सिँह अनि धेरै प्रकारका बाघ देख्न पाएँ । गुरिल्ला प्रजातिको बाँदर कराएको सुनेर तर्सिएकी सुरभीले पोथी कुदेको देखेपछि गीतजस्तो बनाएर कराउन थालिन् :
“सुँगुरे बाँदर बुबु हल्लाउँदै, सुँगुरे बाँदर बुबु हल्लाउँदै , सुँगुरे बाँदर.................!” उनको गीतमा सुयोगले पनि साथ दिएपछि हाम्रो टोली निक्कैबेर पेट मिचिचि हाँस्यो । बालसुलब यथार्थ चित्रण सुरभीको गीतको सुन्दर विशेषता थियो । लाग्यो पछि गएर उनी पनि पो यथार्थवादी लेखिका बन्छिन् कि ? हामीले त्यहाँ नक्कली आँशु झार्ने गोही, सेतो ढुकुर लगायत थुप्रै जीवजनावर हेरेर रमायौँ । हामी स्वतन्त्र भएर रमाएको देखी ती थुनामा परेका निर्दोष जनावरहरू रोइरहेका जस्तो लाग्यो ।
अब घाम रातो भइसकेको थियो तैपनि गाडीका गुरुजी अन्य कता कता डुलाइदिन्छु भन्दै थिए । हाम्रो टोली रमाइलोले सन्तृप्त भइसकेको थियो । हामी बाँकी रहेका गुवाटीका ठाउँ पछि डुल्ने भन्दै प्लेटफार्म फर्कियौँ । दिनभरी राम्ररी डुलाइदिएकामा गुरुजीलाई धन्यवाद समेत थपेर बिदा गरियो । खानपान गरेपछि माहिला समूह र नानीहरू प्रतिक्षा कक्षमै आराम गर्नुभयो । हामी केटाहरू एकछिन् बजार डुल्यौँ । रातको आठ नबज्दै हामी फर्किने रेल चढेर गुवाटीबाट टाढियौँ ।

ब्रह्मपुत्रमा मोटर बोट चढ्डै हाम्रो टोली । 


गुवाटी प्लेटफार्ममा फर्किने रेलको प्रतिक्षा गरिरहँदा मैले ब्रह्मपुत्र किनारमा उभिएको आफ्नो फोटो सामाजिक सञ्जालमा टाँसेर “ब्रह्मपुत्रमा   ब्राह्मणपुत्र” लेखेको थिएँ । रेल कुदिरहँदा भिनाजुले त्यो फोटो हेर्नुभएछ । फोटो भन्दा पनि त्यसको क्याप्सन मन पर्‍यो भन्नुहुन्थ्यो । जलपाइगुडी आइपुग्दा करिब सात बजेको थियो । हामी हत्तपत्त एउटा सानो गाडी रिजर्भ गरेर काँकडभिट्टा आयौँ । काँकडभिट्टाबाट भिनाजु बिदा हुनुभयो । खाना खाएर मनोज र म धरान आयौँ, अरु अन्तु जानुभयो । म अर्को दिन चैनपुर पुगेर सामाजिक सञ्जाल खोलीहेर्दा धेरैले “ब्रह्मपुत्रमा   ब्राह्मणपुत्र” फोटो क्याप्सन मन पराएको लेख्नुभएको थियो । त्यसैकारण यो यात्रा संस्मरणको शीर्षक पनि “ब्रह्मपुत्रमा   ब्राह्मणपुत्र” राखेको छु, तपाईँलाई कस्तो लाग्यो ?

ब्रह्मपुत्रमा   ब्राह्मणपुत्र !




   

Comments

Post a Comment