Skip to main content

मुस्ताङको मुस्कान

                         मुस्ताङको मुस्कान


    अफिस परिसरमा आफैँले रोपेको जाइफूलको सुवासमा लठ्ठ हुँदै सूर्योदय हुनुपूर्वको लालीमा चम्किएका सभाापोखरी टाकुराहरूमा आँखा राखेर आमालाई फोन गरेँ :
“ आमा उठ्नुभयो ?”
“ अघि नै उठेर गाईलाई खोले दिदैछु । अनि हामी यो साल कता जाने रे डुल्न ?”
“ मुत्तिनाथ जानुपर्ला ।” सभापोखरीका टाकुरामा हिउँ चम्किएको हेरिरहेका बेला अकाम्य क्रिया स्वरूप फुत्तै बोलेँछु मैले !
“ सिक्किम पनि राम्रो छ भन्छन् । सुमित्रासँग हिजो फोनमा गफ गरेको थिएँ । मुक्तिनाथ जान सके त झन् राम्रो नि ।” आमाले यति भनेपछि फोनको गफ बुझिन छोड्यो । मोवायलको टावर नै गएछ । हत्तपत्त म नेपाल टेलिकमको एक्सचेन्ज भएको चैनपुर बजारको पश्चिमपट्टिको डाँडो उक्लिन थालेँ । टेलिकमको प्राविधिक भएकाले यो डाँडो चड्नु र झर्नु मेरो दैनिकी जस्तै हो । तर मनमा मुक्तिनाथकै सम्झना आइरह्यो । केहीबेरमा टेलिकमका सबै सेवा आफैँ सुचारु भए, मेरो सोच पनि मुक्तिनाथमा आमासँग कसरी जाने भन्ने जुत्ति सोच्न र खोज्न तल्लिन भयो । बरु मोवायलको टावर आउने–जाने गरिरह्यो तर सुषुम्नाले नसोची गरेको कामलाई पूर्णता दिन अब मेरा तन–मन दुबै निरन्तर सक्रिय बने ।
    अनेक प्रयासपछि धरानबाट चैत्र १६ गते शनिबार हिँड्ने गरी एउटा गाडी भाडामा मिलाइयो । जम्मा १० जना अट्ने भएकाले टोली निर्माण गर्न पनि सहज थिएन । यसै बिच कान्छो भाइ धरणीलाई फोन गरेँ । उनले भर्खरै स्थानीय आधारभूत स्कुलमा करार सेवामा नाम निकालेको हुँदा बधाई दिन फोन गरेको थिएँ । तर उनले आफू पनि यात्रामा सहभागी हुने निर्णय सुनाए । भर्खरै जन्मिएकी सम्पदा, सुत्केरी सपना, विद्यालय, सामाजिक कामहरू अनि अन्तु कटेज रिसोर्ट र श्रीअन्तु होमस्टे लगायतका अनेक ब्यवहारिक बन्धनमा जेलिएका धरणी भाइ हामीसँग जान भ्याउँछन् भन्ने नै मैले पत्याइँन । मसँग टाढाको यात्रा गर्न नपाएको गुनासो गर्दै आएका उनले त यात्रालाई सहज बनाउन थप दुईजना साथी पनि पो खोजेछन् । सुमीले पनि तीनजना यात्रु खोजिछिन् । अब १० जना अट्ने गाडीमा १२ जना भइयो । कसलाई चाहिँ नजाऊ भन्नु ! निक्कै तनाव भयो । गाडीमा नअटेका २ जना भाडाको गाडीमा पछ्याउँदै  आउने भन्ने  अब्यवहारिक सल्लाह भयो । तर टोलीमा सामेल रमेश आचार्य र उनकी जीवन साथी उमालाई जुठो पर्‍यो । उनीहरूको यात्रा स्थकित भएपछि हामी भाडाको गाडीमा आँट्ने सङ्ख्या बाँकी मात्र रह्यौँ ।
    यात्रा टोलिका सबैभन्दा साना सदस्य थिए छोरो सुयोग । उनको कक्षा आठको वार्षिक परीक्षा चैत्र १३ गते सकियो । १४ गते नै सुमी र सुयोग धरान झरे । इलामबाट आमाहरू अनि पनि सम्धिनी जोडी बनेर त्यही दिन धरान आउनुभयो । चैत्र १५ गतेको साँझमा भोलिदेखिको यात्रा सफल बनोस् भन्ने शुभेच्छा बोकेर डा.रमेश घिमिरे, सागर सुवेदी, दूर्गा दिदी, टीकाराम घिमिरेको स–परिवार हाम्रामा आएर गफगाफ गरी जानुभयो । गाडी साहुजी कैलाश कुमार शाह पनि हाम्रै घरमा आएर सुते । धरानको केन्द्रिय प्रविधि क्याम्पस, हात्तीसारमा खाद्य विज्ञान विषयको स्नातकोत्तरअध्ययन गरिरहनुभएका प्रविणता प्रमाणपत्र तह पढ्दादेखिका घनिष्ट मित्र सुवास ओस्ती पनि हामीलाई शुभयात्रा भन्न र गफगाफ गर्न आउनुभएको थियो । हाल हाम्रो मित्रता ज्वाईँ जेठानको सम्बन्धमा अझ कसिलो भएको छ । सालो मनाज र भदै अनु पहिल्यैदेखि धरानमै थिए । हाम्रो घरमा सबैजना सुत्न नअट्ने भएपछि म र सुवाश दाजु छिमेकी काँशी सरको घरमा गएर सुत्यौँ । सुतेर अलिक लामै गफगाफ गरियो, झकाउन लाग्दा जोगी आएर ब्युँझाए अनि जोगीको फेरी सुनेर भुकेका कुकुरको घ्याङ्घ्याङले निद्रादेवी पनि डरले छेउछाउ आइनन् । यत्तिकैमा सुमीले फोन गरेर बोलाइन् । हामी बिहानको साढे तीन बजे घरबाट हिँड्यौं । आमाहरू अगाडिको सीटमा, केटीहरू र एक केटा बीचको सीटमा, हामी चारभाइ पछाडिको सीटमा । झोला मैलन्छन् भनेर गाडीको डिकीमा भएका उल्टा सीटमा राखियो । सङ्खुवासभाबाट आएकी चेली अनिता चाहिँ धरानको तुर्के नजिक बाट चढिन् भने बर्माबाट आएकी चेली दूर्गा पौडेल मुङ्लिन बाट चढ्ने योजना थियो ।
    गाडीले चताराको बाटो कोशी तारेर अँध्यारैमा गाईघाट कटायो । ढल्केबरमा जेरीपुरी खाइयो । त्यहाँ केही सुख्खा खानेकुरा र छ कार्टुन पानी किनियो । कालीगण्डकी क्षेत्रमा पानीको दुःख नहुनु पर्ने अनुमान गर्दै धरणीले भने :
“ दाजु मुक्तिक्षेत्र पुगेका बेला त कालीगण्डकीकै  पानीले नुहाउँदा राम्रो हुन्थ्यो होला !”
“ त्यै त , सस्तो पनि पर्थ्यो , मिनरल वाटरले नुहाएर साद्धे हुन्छ र दाजु ?” युवराजले थपे ।
“ चर्पी जान, मुख धुन पनि त चाहिन्छ, ठीकै छ ।” अनिताले थपिन् । गाडीमा हाँसोको बाढी आयो । मलाई पनि पानी अलिक धेरै नै किनेछु जस्तो लाग्यो । लेण्डलोभर गाडी हुइँकिई रह्यो तर “ घोडा चम्केको र हात्ती लम्केको” भने झैँ सुमो, बोलेरो, स्कारपियो जस्तो यसले गति लिन सक्दो रहेनछ । हामीले गीत गाउन थाल्यौँ, लोक गीत सुनेपछि नाचे जस्तो गर्दै तेह्रथुम फेदापका दुर्गा लिम्बूले रमाइलो मान्दै गाडी हाँके । पर्सा राष्ट्रिय निकुञ्जको सिमाना सुरु भएका ठाउँमा हामी पिसाव फेर्न बाहिर निस्कियौँ । साल फुलेर छरेको सुगन्धमा घाम मात्तिएको जस्तो लाग्थ्यो । तातो हावाले झर्न वाँकी सालको पात झारेको दृश्यमा रम्दै यो यात्राको पहिलो फोटो खिचेर हामी बाटो लाग्यौँ ।
    अब सबैलाई भोक लागिसकेको थियो । लोक गीत गायन घटेको थियो । कोही निदाएका वा लोलाएका थिए । बल्ल बल्ल मुङ्लिन पुगेर खानाको प्रवन्ध गरियो । आमाहरू, सुमी र भदै अनिसाको लागि शाकारी होटल खोज्ने हुँदा सबैभन्दा नराम्रो र फोहरी ठाउँमा परिएछ । धरणीले चाहिँ अर्कै होटलमा गएर खाए । आमाहरूले रोटी–सब्जी र अरुले चिसो भात खाइयो । बर्मेली बहिनीका मामा पनि आफ्नी भान्जी हामीसँग पठाउन त्यहाँ आएका रहेछन् । युवराजसँग फेसबुकमा दिदीको साइनो गाँसेकी दुर्गा पौडेल अब हाम्री आमाकी भदै, हाम्री मावली बहिनी लगायतका साइनोमा बाँधिइन् र ल्याण्डलोभरको अगाडिको सीटमा अनितासँग साझेदारीमा बसेर पोखरातिर हुँइकिइन् । भावनाको साइनो पनि कहिलेकाँही कति पवित्र, विश्वासिलो र दरिलो बन्छ । गाडीका साहू कैलाश पनि मुक्तिनाथ हामीसँगै जाने रहर गरेकाले अगाडि बस्ने दुई चेलीलाई निक्कै अप्ठ्यारो भएको थियो तर हामी विवश थियौँ ।
    भानुभक्तले चुमेका तनहुँका पाखाहरूमा आँखा राख्दै डुम्रे पुग्यौँ । पाँचखपन, वानाकी बहिनी अनिताको घर भएका ठाउँलाई पनि डुम्रे नै भन्छन् भन्ने कुरा चलेपछि भाइहरूले उनलाई डुम्रे कान्छी भन्न थाले । उता गाडीमा बान्ता गरेर आलसतालस भएकी भदै अनिसालाई चाहिँ लुम्रे कान्छी नाम राखेर हाँसीमजाक गरियो । कता कता लोक दोहोरी पनि खेलियो :
“दर्शन गर्न हिँडेको मुस्ताङ , डुम्रे कान्छी नछर मुस्कान
जाइफुलको बासना, नबोले नि’ हाँसीराखन ।
हिउँमा पुग्दा हुन्छौ कि कक्रक्क, मुस्कान हेरी नपर है मख्ख
जाइफुलको बासना, नबोले नि’ हाँसीराखन ।”
गाडी गुड्दै दमौली पुग्दा पनि दोहोरी चलिरहेकै थियो :
“गुड्दा गुड्दै पुगियो दमौली, खै कैले पो मेरो हात समाउली
जाइफुलको बासना, नबोले नि’ हाँसीराखन ।
पछि बसी दोहरी नगाउनु, नसे नाडी केलाई पो समाउनु
जाइफुलको बासना, नबोले नि’ हाँसीराखन ।
युवराज भाइले दोहोरीमा थपे :
लुम्रे भा'नी दाजुकी भदैलाई , पाए लान्थेँ घरमा सधैंँलाई
जाइफुलको बासना, नबोले नि’ हाँसीराखन । ”
धेरैबेर हासियो यसपछि ! सासू आमाले त अलिक अप्ठेरो पनि मान्नुभयो। भनौं ज्वाईंको भाइ , नभनौँ आफ्नै  अघि उमेर पुगेकी नातिनी जिस्क्याए ! युवराजको गीतको उत्तर भदैले "वाक-वाक " गर्दै दिइन् !
''युवराज काकाको कुराले दिदीलाई बान्ता आयो " सुयोगले भने। 
" अबको यात्रामा बिहे नभएका नागा केटा र बिहे नभएकी चेली लिएर नहिँड्नु पर्‍यो। " मैले ठट्टा गरें। 

    मादी तरेको केही बेरपछि पानी पर्न थाल्यो । हामी पोखरा पुग्दा ठूलो झरीले पोखराका ठाउँ ठाउँमा पोखरी बनाएको देखिन्थ्यो । हामी बेनी पुग्ने अठोटका साथ उकालो लाग्यौँ तर एकैछिनमा झमक्क भइगयो । बि.सं. २०६४ को असार अन्तिम साता म यही बाटो बाग्लुङ गएको थिएँ तर अहिले कुन ठाउँ कतिबेला आउँछ भन्ने बताउन सकिँन । लुम्ले भन्ने ठाउँ पुग्दा कुस्मा पुगेको भान भयो । तर लुम्ले पुगिएको पत्तो पाएपछि भाइहरूले गीत गाइहाले :
“ मुटु छुने लुम्लेको हावाले, मनै छुने लजालु मायाले.......................”
    अब कुस्मा बजारमै बस्ने कुरा चल्न थाल्यो । अझ बाटाछेउमा भेटिएका लजहरूमा समेत सोधपुछ गर्न थालियो । पोखरा, लुम्ले, बेनी, जोमसोङ, अन्नपूर्ण बेसक्याम्प, घान्द्रुक लगायतका पर्यटकीय क्षेत्रमा डुल्न आउनेहरूको घुइँचो हुँदोरहेछ यो ठाउँमा । सबै होटल भरिएका थिए । रात निक्कै छिप्पिएको थियो । सबै लखतरान भएका थियौँ । बल्ल नयाँपुल भन्ने मोदी खोला किनारमा अवस्थित कास्कीको एक ठाउँमा बस्ने ब्यवस्था मिलाइयो । आमाहरूको शाकारी टोलीलाई म र धरणी भाइले खाना पकाइदियौँ । कामना नामको त्यो होटलकी साहुनी गुरुङ रहिछिन् , उनका श्रीमान् थापा क्षत्री चाहिँ अवकाश प्राप्त शिक्षक  हाल जापानमा रहेछन् । उनका छोरीहरू कामना र सपनाले समेत लागेर मिठो खाना खुवाए । एकदमै सफा त्यो होटलमा ग्राहकसँग मायालु व्यवहार गरेको हामी सबैलाई मन पर्‍यो ।
    भोलिपल्ट चार बजे नै बाटो लाग्ने भनिए पनि पाँच बजिगयो । सडक बिस्तारको काम तीब्र गतिमा भइरहेको थियो । कालीगण्डकी हाम्रो देब्रेतर्फ कालोमैलो भएर बगेको देखी अनेक अनुमान गरियो :
“ हिजोको पानी कालीको शिरमा पनि परेछ !”
“ हैन, कतै पहिरो लडेर मैलिएको हुनुपर्छ, यसको शिर मुस्ताङमा पानी नै उतिसारो पर्दैन रे ।”
“ बाटो बनाउँदा कताको भिर खसाएर हाल्यो होला नि डोजरले ।”
“ हैन कालीगण्डकीमा त बागलुङ, बेनी लगायतका सहरको फोहोर सोझै फालेका छन् रे नि !”
कालीको कालो पानीका बारेमा सबैले अनेक शङ्का गरियो । हिजो कालीगण्डकीको पानी खाइन्छ भन्ने भाइहरूलाई जिस्क्याइयो पनि । नदी असाध्यै धमिलो र उर्लिएर बगेको थियो । पिसाव फेर्न रोकिएका बेला पर्वतका उच्च डाँडाहरू निकाल्दै कालीगण्डकीको खोँचमा फोटोसेसन गरियो । पर्सामा खिचेदेखि यात्रामा फोटो खिचिएकै थिएन ।
बेनी पुगेर चिया खाइयो । खोलो तरेपछि मात्र म्याग्दी जिल्ला रहेछ । हामीले पर्वतमै चिया खाएँछौँ । मगरको होटल थियो । हामीले इलामको आफ्नै हातेपत्ती हालेर चिया बनाउन लगायौँ । होटलको पूर्वबाट देखिएको बेनीको सौन्दर्य अहिले पनि झलझली छ । उक्त होटलकी बहिनी सुरुमा बोल्न चाहिनन् । मैले उनको पढाइको बारेमा सोधेपछि झन लज्जित जस्तो भइन् । पछि धरणीले भने :
“ ए तिमी त मेरी साली रै’छौ, मेरो पनि ससुराली पिठाकोटे मगर हो । तिमी के थरी मगर ?”
“ हामी केपछाकी मगर ।” बल्ल उनको लज्जा हट्यो ।
“ तिमीलाई मगर भाषा आउँछ ? मिछाछा भनेको के हो ?” मैले सोधेँ ।
“ अलिअलि आउँछ, बिहे भएको आइमाई होला । बाजे बोजुलाई चाहिँ पुरै आउँछ मगर भाषा ।” अब उनी खुलेर बोल्न थालिन् । तर हाम्रो हिँड्ने बेला भइसकेको थियो ।
अबको बाटो कालीगण्डकीको तिरैतिर रहेछ । विकट अक्कर फोरेर सडक बिस्तारको काम तीव्र गतिमा भइरहेको देखिन्थ्यो । अब त आँखै अगाडि जस्तो हिमाल देखिन थाल्यो । अनौठा अनौठा च्यापबाट सडक छिराइएको रहेछ । हामी गीत गाउँदै अघि बड्दै रह्यौँ । कता कता रोकेर यसो दृश्य पनि हेरिन्थ्यो ।
गाडीले हामीलाई तातोपानी भन्ने बजारमा पुर्‍यायो । कालीगण्डकीको किनारमा रहेको त्यो बजारका मान्छे बर्षायाम ठूलो पानी पर्दा चाहिँ अलिक परको जङ्गलमा गएर बस्छन् रे । बाटो निर्माण कार्यले हामी त्यहाँ डेढ घण्टा बस्नुपर्ने भयो । आमालाई पनि नजिक राखेर स्थानीय विश्वकर्मा बुवमसँग गफगाफ गरेँ :
“ किन झरीमा जङ्गलको बास गर्नुपर्ने त बा घर छोडेर ?”
“ अनि काली रिसाएर उँभो उँभो आउँछिन् क्यारे, माथिको भिर भत्किएर उँदो उँदो आउला भन्ने पीर , अनि जङ्गल नगएर के गर्नी हो हजुर ?”
उनले भन्दै गर्दा उभो हेरेको त एउटा बुट्यान समेत नभएको ठाडो भीरको टुप्पो देखिँदैनथ्यो । त्यस्तो भीरमा पनि बिद्युतको प्रशारण पोल निर्माण गर्नेहरू स्टीलका टुक्रा डोरीले बाँधेर घिसार्दै थिए । विश्वकर्माले थपे :
“ पापी पैसाका लागि यस्तो ठाउँमा बस्नुपर्‍या छ हजुर ।” अगाडि देखिएको हिमालको टुप्पालाई देखाउँदै मैले भने :
“ यति  राम्रो हिमाल देखिने ठाउँ छ, किन यस्तो ठाउँ भन्नुहुन्छ ?”
“ के गर्नी हजुर त्यो हिमाल हेर्नलाई मात्र हो । एकदिन आउने  मुन्छे सबैले मुनपराउँछन् यो ठाउँ तर सधैँ बस्नेलाई थाहा छ यहाँको दुःख । तपाईँहरू कहाँबाट आउनुभो ?”
मैले इलाम भनेर उत्तर दिएँ तर बाबैले हाम्रो जिल्लाको नाम नै सुनेका रै’नछन् । फेरि धरान भने, त्यो पनि थाहा रहेनछ । उनी बेनीसम्म गएका रे, पोखरा अनि काठमाण्डौँ मात्र सुनेका छन् रे । यहाँ नजिकै तातो पानीको मूल पनि रहेछ तर बाटो खुलिहाल्छ कि भन्ने आशाले हामी त्यहाँ जान सकेनौ । पोखरा बाट जोमसोङ जाने थुप्रै गाडी त्यहाँ लाम लागे, गाडीका यात्रु यत्रतत्र बराम लागे । नजिकै हिमाल देखिए पनि त्यहाँ गर्मी थियो । मैले आमाहरूका लागि पाँच सय रुपियाँ किलोको  बिदेसी स्याउ  किनिदिएँ । तातोपानी निक्कै महँगो ठाउँ रहेछ ।
अब भने हामी अझ जटिल पहरामा बनाइको सडकमा चिप्लिदैँ अनौठो कोणधारी जङ्गलको सुन्दर दृश्य अवलोकन गर्दै अघि बढ्यौँ । कता कता स्याउ फुलेको देखियो । बिहान बेनीमा देखिएको हिमाललाई दाहिनेपट्टि छोडेर हामी हिमाल पारिको जिल्ला मुस्ताङ पुग्यौँ । यत्रतत्र झरना देखिन्थ्ये ।

नजिकै हिमाल देखिन्थ्यो । हामी १२ बजेर १५ मिनेटमा घाँसा अनि १२ः५० बजे लेते भन्ने हिमालको उपत्यकामा पुगेछौँ ।
एकैछिन गाडी रोकेर रमाइलो गरियो , फोटो र भिडियो खिचियो । हिमाल हेरेर मख्ख परियो अनि खुशीमा हा हा र हो होई गरेर कराइयो । कतै डरलाग्दो गरी हिउँपहिरो खस्दै पनि देखिन्थ्यो । कतै जिब्रो आकारमा हिमनदी ओर्लदै पनि हेरियो । कालीगण्डकी किन कालो भएको रहेछ भन्ने पनि यहाँ आएपछि आफै रहस्य बुझियो । मुस्ताङको कालो माटो हिउँ पग्लेर आएको खेल्साहरूमा मिसिएर पानी धमिलिएको रहेछ । बिहानको  अनुमान सम्झेर हाँसियो पनि ।
सबैलाई भोक लागेको थियो । कसै कसैले मन्दिर दर्शन नगरी खान हुन्छ के भन्ने आसय पनि राखे तर मैले भने : "देवता पनि त खान्छन् , हामी किन नखाने ? कतिन्जेल नखाई बसेर मन्दिर जानुपर्छ ?? हिजो त खाएकै हो ! मन्दिर
परिसरमा नखाए हुन्छ , यहाँ खाने हो । " त्यसपछि टोली चिउरा र भूजा चपाउँदै टुकुचे पुग्यो । यो गाउँ जापानको सुकुचेको मीतगाउँ भएको कुनै नेपाली चलचित्रमा हेरिएकोले थाहा भयो । जापानिज सहयोगले यो गाउँ निक्कै समृद्ध देखिन्थ्यो । यहाँ स्याउका बोट अझ बाक्ला देखिए । गाडीले कुदाएर हामीलाई अब मार्फा भन्ने गाउँमा पु¥यायो । स्याउको स्थानीय रक्सीका लागि यो ठाउँ प्रख्यात छ । तल तातोपानीदेखि नै मार्फाली रक्सीको कुरा पसलहरूमा सुनिदै आएको थियो । हामी ठीक ३ बजे जोमसोङ पुग्यौँ । ढुङ्गाले छाएका घरका माथि स्याउका दाउरा राखेकाले निक्कैबेर सम्म हामी बजारमा छौँ भन्ने पत्तो नै पाइएन ! दाउराको हार भनेको त भित्र सुन्दर घर हुँदा रहेछन् । निक्कै चिसो र दरिलो हावा चलेको थियो । म हत्तपत्त गाडीबाट झरेर “मुस्ताङ चुलो” नामक नयाँ खुलेको होटलमा बेलुकीको गाँस र बासको प्रबन्ध गरी मुक्तिनाथतर्फ अघि बढ्यौँ ।
कागबेनीमा श्राद्ध गर्ने चलन सुनेका थियौँ तर हामीले गर्ने सोच राखेका थिएनौँ । फेरि पितृकार्य गरेका दिन देवकार्य गर्न हुँदैन पनि भन्दा रहेछन् । त्यसैले हामी पहिला मुक्तिनाथ नै जाने गरी उकालियौँ । कागबेनी देखि मुक्तिनाथसम्म पिच बाटो रहेछ । अघि देखिएका हिउँ ओडेका डाँडा अब हामी नजिकै थिए । गाडीले कुदाएर हिउँ भएकै ठाउँमा ओराल्यो । सेताम्बे हिउँ भएका टाकुरा देखेपछि सबैको मन फुरुङ्ग भयो ।
 कसैले घरबाट ल्याएको फूलपाती नै गाडीमा छोडेछन् । कसैले क्यामेरा  छोडेछन् । लेक लाग्नबाट बच्न भनेर ल्याएको मकै , भटमास, खोर्सानी मात्र हैन पानीको बोत्तल र जीवनजल समेत गाडीमै छोडेर उकालो लागिएछ । हिउँमा भक्कुमार कुदेर सबैभन्दा पहिला सुयोगजीलाई निक्कै टाउको दुखेर लेक लागेको लक्षण देखियो । उसलाई धरणी भाइहरूले डोर्‍याएर लगे । घोडावालहरूले निक्कै दिक्क लगाउँदै थिए :
“ आमाहरूलाई साह्रो पर्छ, हेर्दा नजिक भए पनि त्यहाँ पुग्न गाह्रो छ, तीनसयको लोभ नगर्नु ।”
“ हामी गोठमा घोडा बाँधेर यता डुल्न आएका हौँ, हाम्रा  आमाहरूलाई घोडामा चढ्न मन छैन ।”
सुरुमा फटाफट हिँड्दै गर्नुभएकी सासूआमालाई लेक लागिहाल्यो । एउटा होटलमा तातो चिया बनाउन लगाइयो । चिया पाकुन्जेल म चाहिँ हिउँ खेल्न गएँ । हिउँमा फोटो खिचेँ अनि एउटा लोक गीत गाएको भिडियो खिचेँ । अब मेरा पनि पो हातगोडा लुलिएर आए । चिया खाएपछि अलिक आराम भयो । सासूआमालाई चाहिँ झन सतायो । बल्लतल्ल बोकेर जस्तो पुर्‍यायौँ म र सुमीले । हाम्री आमा चाहिँ ठीकैसँग पुग्नुभयो । हामी पुग्दा अरुले नुहाइसकेका थिए । कसैले त दर्शन पनि गरिसकेका थिए । सुयोग चाहिँ थकित जस्ता भएर बसेका रहेछन् । निक्कै भीडभाड थियो । विशेष गरी भारतीय हिन्दूहरूको सङ्ख्या धेरै थियो । बाह्य पर्यटक पनि उल्लेख्य मात्रामा थिए । मैले हत्तपत्त १०८ धारामा दुई पटक कुदेर स्नान गरेँ । निक्कै चिसो थियो पानी ।
 त्यसपछि दर्शन गरियो । बाती बालेर आरती गरियो । एकछिन फोटो खिचियो अनि तलतिर झर्न थाल्दा पो मेरो पर्स गोजीमा नभएको थाहा पाएँ । अत्तिएर अघि नुहाएर लुगा फेरेको ठाउँमा गएर हेर्दा मेरो करिब पन्ध्र हजार भएको पर्स सकुसल भेटियो । म एकछिन उदास भएको मान्छे दङ्ग परेँ । मन्दिर परिसरमा पुगेपछि सासू आमालाई बान्ता समेत भयो ।
यसरी हालसम्मको विश्वकै अग्लो स्थानमा रहेको मन्दिरमा जन्म दिने र कर्म दिने दुबै आमाहरूका साथमा दर्शन गर्न पाउनु मेरा लागि ज्यादै खुशीको कुरा थियो । म आत्मसन्तुष्टिले तृप्त भएँ मुक्तिक्षेत्रमा । पगोडा शैलीमा बनाइएको मन्दिरमा शेर्पेनी वा गुरुङसेनी जस्ती लाग्ने पुजारी महिला थिइन् । त्यस्तो भीडमा पनि उनले सबैलाई जतनसाथ चाँदीको टोपीजस्तो टाउकामा राखिदिएर आर्शिवाद दिन भ्याउँदी रहिछिन् । सबैलाई फूलटीका पनि उसैगरी खुशीसाथ बाँड्दै थिइन् । पशुपतिका भट्टलाई पनि यी दिदीसँग राखेर केही दिन ट्युसन पढाउन पाए लाखौँ भक्तजनले राहत पाउँथे होला जस्तो लाग्यो । अब साँझ पर्नै लागेको थियो । हामी हिउँ खेल्दै तल झर्न थाल्यौँ । फर्कँदा आमालाई पनि लेकले अलिक सतायो । जसोतसो गाडीमा भेला भएर मकै र भटमास चपाउँदै जोमसोङ झर्‍यौँ ।
आमाहरूलाई औषधी खान लगाएर सुत्न अनुरोध गरियो । सबैले खाइसकेपछि मात्र आमाहरूले म र धरणीले पकाएको भात–सब्जी खानुभयो । गलेका हामी सुत्नसाथ निदाएँछौँ । भोलिपल्ट चार बजे नै जोमसोङ छोड्दा पनि बाटो निर्माणले कता कता रोक्न खोज्यो । बान्ता गरेर आलसतालस भएकी अनिसालाई देखाउँदै हामी मालढुङ्गा आइपुग्दा टायर पम्चर भयो । टायर बनाएका बेला अल्छी नलाग्ने जति बागलुङ जिल्ला टेक्न गयौँ । त्यो दिन विहानको खाना अस्ति बेलुका बास बसेको कामना होटलमा आएर खाइयो, लोक दोहोरी गाइयो, नाचियो–नाचाइयो र पोखरा आइयो ।
त्यो रात पोखराको होटल माउन्ट एभरेष्टमा बसियो । भोलिपल्ट पोखराका केही धार्मिक र पर्यटकीय स्थल घुमियो । पानी सकिएकाले दुई कर्टुन किनेर हामी पूर्व फर्कियौँ ।
 यसरी छोटो समयमा सात परिवारका हामीले खुशीसाथ मुस्ताङको मुस्कान हेर्नपायौँ । सबैले मुस्ताङमा मुस्कुराउन पायौँ । पीर र समस्याहरूमा परेका बेला पनि यो यात्रामा हेरिएको मुस्ताङको मुस्कान सम्झिएर आनन्द पक्कै आउँदो हो । जय मुक्तिनाथ, जय मुस्ताङे मुस्कान ।




Comments