Skip to main content

यती साथी

                                                  

                                                       


            यती साथी
             उपन्यास

 लेखक                    :     एकु घिमिरे
                                      (९८४२०६०४२१ )
प्रकाशक                 :     लेखक आफैँ
प्रथम संस्करण        :     २०७६ साउन
आवरण                   :    जयराम सुनामी 
                                     (९८४२१७२०१८ )
साजसज्जा               :   विपिन निरौला 
                                     (९८६३७५७५८३ )
सर्वाधिकार             :      लेखकमा
मुद्रक                      :    गजुरमुखी प्रिन्टर्स , विराटनगर 
                                    फोन न ०२१-५३३५८० 
मूल्य                       :      रु. १५०।–
ISBN                     :     978-99370-6210-7 
सर्वाधिकार सुरक्षित । यस पुस्तकको कुनैपनि अंशलाई लेखकको 
अनुमतिबिना पुनरुत्पादन गर्न  पाइने छैन ।

                       YATI   SAATHI

(A novel in nepali by Eaku Ghimire)
Printed and Published in Nepal 

                                                         यतीका साथमा

                                                                                                              –सागरमणि सुबेदी
प्रकृति अनौठो छ । प्राकृतिक दृश्यहरू आश्यर्यजनक देखिन्छन् । हाम्रा वरिपरि अनेक किसिमका जीव–कीटपतङ्गहरू देखिन्छन् । तिनका जातजाति आहारविहार, वासस्थान भिन्नाभिन्नै प्रकारका हुन्छन् । चराचुरुङ्गीहरू पनि अनेक रूपरङ्गका पाइन्छन् । यी विभिन्न प्रकारका पशुपक्षी, जीवजन्तुहरूको उत्पत्ति, विकास, आवश्यकता, विनाश आदिका बारेमा खोज–अनुसन्धान भइरहेको पाइन्छ ।
हामी आफ्ना लागि उपयोगी प्राणीहरूमात्रै आवश्यक छन् भन्ने ठान्छौं । हिंस्रक जङ्गली जनावरहरू हाम्रा लागि हानिकारक ठानिन्छन् । विषालु कीरा, सर्पहरू पनि प्राणघातक नै हुन् । हाम्रा आँखाले देख्न नसकिने ससाना प्राणीहरूदेखि ठूलाठूला हात्ती, गैंडा, ऊँट जस्ता जनावर प्रकृतिकै काखमा रमाएका देखिन्छन् । हामी मानिसहरू पनि त प्रकृतिमै निर्भर छौं । हामी पनि प्राणी नै हौं । हाम्रो जीवन रक्षाका लागि प्राकृतिक जलवायु सन्तुलित वातावरण राख्नका लागि, अन्नबाली उत्पादनका लागि यी र यस्ता अनेक जातिप्रजातिका जीवहरू अति आवश्यक हुन्छन् भन्ने कुरा जीववैज्ञानिक, वातावरणविद्, भूगोलविद्हरूले पत्ता लगाएका छन् । उनीहरू प्रकृतिको सिर्जना सबै आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छन् । सन्तुलन र सहअस्तित्वका दृष्टिले कुनै पनि जीव लोप हुनु वा त्यसको वंश विनाश हुनु ज्यादै ठूलो क्षति हो भन्दछन् सम्बन्धित क्षेत्रका ज्ञाताहरू ।
हामीले देखेका, चिनेका प्राणीहरू बेग्लाबेग्लै हावापानी, आहार भएका ठाउँमा बाँच्ने, बस्ने किसिमका छन् । गर्मी ठाउँमा बस्ने प्राणीहरू उच्च हिमाली क्षेत्रमा बाँच्न सक्दैनन् । हिमाली क्षेत्रका याक, चौंरी, भालु गर्मी ठाउँमा बस्न, बाँच्न सक्दैनन् । तिनीहरूको शरीर बाक्ला, लामा रौंहरूले मजाले ढाकेको हुन्छ । चिसो ठाउँमा त्यो ठीक हुन्छ, आवश्यक छ । गर्मी ठाउँमा त्यसले पोल्छ र सहन नसकिने हुन्छ ।
यती बाक्ला, लामा रौंहरू शरीरभरि भएको, मान्छेजस्तो, बाँदरजस्तो पनि देखिने, ठूलो अग्लो शरीर हुने, अत्यन्त बलशाली, हिमाली क्षेत्रमा मात्र पाइने लोपोन्मुख प्राणी रहेछ । यसको आवाज डरलाग्दो हुन्छ अरे । यो बाठो, आँटिलो र साङ्केतिक भाषा बुझ्नसक्ने चेतना भएको प्राणी हो भनेको पाइन्छ । यसका विषयमा गहिरो ज्ञान आर्जन गर्न र संसारलाई यसको महव बताउन जीव वैज्ञानिकहरू अनुसन्धानमा लागेका छन् भन्ने सुनिन्छ ।
    अहिले बेलायतमा बस्दै गरेका सङ्खुवासभाली साहित्यकार विनोद न्यौपानेले यतीलाई मुख्य विषय बनाएर “यतीको काखमा” भाग १ र भाग २ बालउपन्यास प्रकाशित गराएका रहेछन् । तिनमा यतीका गतिविधि असाध्य रोमाञ्चकारी देखिन्छन् ।
     प्रतिभाका धनी कवि एकु घिमिरेले ती दुबै बालउपन्यासहरू अध्ययन गरेपछि त के चाहियो र ? आफ्ना रुचिका सबै विषयहरू तिनमा भेटेर तिनको आस्वादन गरेर सन्तुष्ट हुनुपर्नेमा झन् भोक पो जागेछ । सिर्जनाको सीमा हुँदैन । यसलाई भूगोलले छेक्दैन । तथ्यलाई तर्कले पुष्टि पनि गरिरहनुपर्दैन, भावनाको कुरा हो । अन्तर्मनको आवाज हो , त्यो बलियो हुँदै गएपछि एउटा आकार लिन्छ , अक्षरमा रूपान्तरित हुन्छ, बाहिर प्रकट हुन्छ । यो त्यस्तै भएको रहेछ । सर्जकको निजी अनुभूति अब कृतिका माध्यमबाट हाम्रा हातमा आइपुगेको छ ।
यसका अग्रज कृतिहरू भाग १ र भाग २ मान्दा यो भाग ३ हुन्छ कि कान्छो हुन्छ ? अथवा तिनीहरू यसका पृष्ठभूमि उत्प्रेरक मात्रै हुन् र यो स्वतन्त्र कृति नै हो कि ? यसको बिषय, पात्र, परिवेश चरित्र, उद्देश्य अध्ययन गर्दा यस्ता प्रश्नहरू तँछाडमछाड गर्दै आउँदा रहेछन् । कौतूहल जगाउन यी प्रश्नहरूले पनि बलियो भूमिका खेलेका छन् ।
    बाल चरित्र भएका कृतिका पाठक पनि बालबालिका मात्रै हुन् र ? यो विवेच्य कृति पढेपछि यो प्रश्नले पनि बारम्बार घच्घच्यायो । यसका पात्रहरू मुक्कुम र मिक्साको चरित्र, विदेशी पात्रहरूको गतिविधि, बालबालिकाको यसका बारेमा प्रचलित किंवदन्ती, कथा र अनुमानहरू पनि प्रस्तुत कृतिमा सजाइएका देखिन्छन् ।
अमेरिकाली साहसी बालक एरिकको चरित्र, जिज्ञासा, आँट र कामहरू उक्त कृतिद्वयमा पढ्न पाइन्छ । नेपालको हिमाली क्षेत्रमा जन्मिएकी जिज्ञासु आँटिली बालिका डोमा सेर्पाको चरित्र, त्याग र उदेकलाग्दो गतिविधि पनि उत्त कृतिहरूमा उल्लेख्य रहेका पाइन्छन् । एरिक र डोमाको बालसुलभ स्नेहभाव, पारस्परिक सहयोग, एक अर्काप्रतिको समर्पण, निःस्वार्थ कर्तव्यपरायणता आदि तिनीहरूका जीवनका परिपूरक बनेका देखिन्छन् । तिनीहरूका ती विशेषतामा थप सहयोग लामाको त छँदैछ , उपन्यासको मुख्य पात्र बरु तिनी देखिन्छन् । उक्त कृतिमा देखिएको अन्तर्जातीय मात्रै होइन, अन्तर्राष्ट्रिय मानव जातीय प्रेम लोभलाग्दो देखिन्छ । तिनका काम त उदेक लाग्दा छँदैछन् ।
    पहाड, हिउँ, हिमाल, गुफा, थुम्की, ओडार, पोखरी, तालतलैया, फूलहरूको सौन्दर्य, लोपोन्मुख जीवजन्तु मात्रै होइन लोपोन्मुख शब्दहरूको समेत संरक्षण गनुपर्छ भनेर सकेको काम गर्ने जाँगरिला र जुक्ति कलाकौशल समेत भएका सिर्जनशील जिज्ञासासम्पन्न लेखकको सकारात्मक चिन्तन कदर योग्य छ । भाषा–संस्कृतिप्रेम, देश दर्शनको मोह र अगाध स्नेह ठूला भनिएका मान्छेले सिकेर नानीहरूलाई सिकाउँदै हस्तान्तरण गर्दै जानुपर्दैन र ? भन्ने अन्तश्चेतना प्रस्तुत कृतिमा लेखकको आग्रहको रूपमा आएको पाइन्छ । प्राकृतिक सन्तुलन बिगार्ने ठूला मान्छे कि साना मान्छे ? अबोध नानीहरूका अनन्त, असङ्ख्य जिज्ञासा, कौतूहल कलिलैमा निमोठेर कक्र्याउने हामी कि नानीहरू ? प्राकृतिक विचित्रता र सम्भाव्यता नाश गर्नमा को बढी दोषी होला ? यस्ता अनेक प्रश्नहरूको उत्तर प्रस्तुत सिर्जनामा खोज्नुपर्दछ ।
    हिजोआज नानीहरू प्रविधिप्रति आकर्षित हुँदैआएका छन् । तिनको दुरुपयोगले उनीहरूलाई कता लैजाँदैछ ? हामीले विचार गर्नुपर्छ । यहाँ नानीहरू प्रविधिमैत्री छन् । उनीहरू जिज्ञासु त छँदैछन्, प्रविधिको सकरात्मक प्रयोग गरेर त्यसबाट छोटो समयमा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिने उदाहरण पनि यसमा पाइन्छ ।
प्राकृतिक सौन्दर्यमोह, त्यसको रहस्यको खोजी, भौगोलिक, जैविक विविधता र सम्भाब्यताको अध्ययन मात्रै यसमा गरिएको छैन, मान्छेलाई प्रकृतिमैत्री, जीवमैत्री बन्न नानीदेखि नै सिकाउँदै लैजानुपर्छ भन्ने उद्घोष पनि यसमा पाइन्छ । कृति पढ्दै जाँदा उदेकलाग्दा विस्मयकारी घटनाहरू यहाँ प्रशस्त पाइन्छन् ।
    यती त एउटा प्रतिनिधि पात्र मात्र हो । यसका माध्यमबाट सर्जकले प्रकृतिका रहस्यमय अनन्त सम्पदाको संरक्षण, संबर्धन, अध्ययन, अनुसन्धान गर्न सबैलाई हुटहुटी लगाएको पाइन्छ । यती मानिसहरूको साथी, सहयोगी भएको कथामात्रै होइन रहेछ यो कृति । यसमा त प्रकृतिका हरेक सिर्जनाहरूको संरक्षण, अनुसन्धान गरी त्यसको उपयोगिता, आवश्यकता सिद्ध गर्नुपर्ने कुरामा जोड दिएको पाइन्छ ।
प्राकृतिक, जैविक, भौगोलिक, भाषिक, सांस्कृतिक विविधता र सुन्दरता हाम्रा अमूल्य सम्पदा हुन् । ती हाम्रा गहना हुन् । हाम्रो परिचय तिनीहरूमै निर्भर छ भने तिनको संरक्षण र सम्बद्र्धन गर्नु पनि हामी सबैको साझा कर्तव्य हो । नानीदेखि नै त्यस्तो बानी लगाउनुपर्छ भन्ने पेटबोली भएको कृति लेखन र प्रकाशनमा तत्पर भएर लाग्ने ऊर्जाशील सर्जकप्रति हृदयतः साधुवाद टक्र्याउँदै निरन्तर सिर्जनाका लागि शुभकामना व्यक्त गर्दछु ।
                                                                                         धरान–१४, विजयपुरको डाँडागाउँ

                                                     बच्ची धाईआमाको कच्ची विश्लेषण

                                                                                                                            –सुमित्रा ओस्ती
    आफू साहित्यको हिसाबले बच्ची महसुस गर्छु । मलाई लेख्न नआए पनि पढ्न बढो  आनन्द लाग्छ । साहित्यिक व्यक्तिसँगको १५ वर्से संगतले मलाई पनि कहिलेकाहीं कमजोर लेखिका बन्न मन लाग्छ । यो छोटो गनथन त्यसैको प्रमाण हो । हामी आम नेपाली महिलाहरूका लागि लिखित रूपमा  दिइएका प्रशस्तै अवसर पढ्न पाइन्छ तर व्यावहारिक रूपमा चाहिँ अवसरहरू भोग्न पाउनु पनि गर्वकै विषय बन्छन् । लेखन मेरा लागि फलामको चिउरा चबाउनु भनेजस्तै अप्ठ्यारो नै हो तर लेखककी जीवनसाथीका हैसियतले पुस्तकसँगै तपाईँसम्म यसरी आउन पाउँने रहरले यी हरफहरू बिना कुनै कठिनाइ खहरे बनेर उर्लिए । खहरे त हो, छिटै रोकिन्छ तर बगुन्जेल हुँदो हो बेगिलो र उन्मत्त ।
     लेखकको तेस्रो कृति ‘यती साथी’ को म पहिलो पाठक हुँ । यो पाण्डुलिपि नै नहुँदा पनि मैले यसका कथा र पात्रका अनेक प्रसङ्ग सुनेँ अनि सुझाब, हौसला र सहयोग दिएँ । यस कृतिका १३ भागमध्ये एक पढिसकेपछि अर्को के होला भन्ने जिज्ञासाले पढिहालौँ जस्तो लाग्थ्यो तर कामका अनेक झमेलामा बाँधिएका लेखक अर्को भाग लेख्नै नभ्याउने । धेरै दिन नलेखेपछि अल्छी लागेर कहिलेकाहीँ अब नलेखौँ जस्तो भाव पनि आउँथ्यो तर मैले त्यो अवस्थामा छिटो लेख्न घच्घच्याएँ । फलस्वरूप यो कृति बनेर आयो । सन्तानजस्तै प्रिय बनेर आयो अनि मायालु बनेर आयो । कथा, पात्र ,सोच र लेखन उहाँको, स्याहारसुसार चाहिँ मेरो । म यो कृतिकी सुडेनी र धाइआमा हुँ । मलाई यहाँका बालपात्रद्वय मिक्सा तथा मुक्कुम आफ्नै छोराछोरी जस्ता लागेकाले लेखकलाई ‘केन्जो ट्र्याकिङ एजेन्सी’ का प्रमुखको भूमिकामा देखेकी छु । यसरी कृतिमा पनि मैले लेखकलाई आफ्नै श्रीमान्का स्थानमा देख्नुलाई तपाईँ के भन्नुहुन्छ ? भ्रम वा यथार्थतता ? भ्रम भन्नुहुन्छ भने यो कृतिका पात्रहरू एरिक र डोमा अर्कै उपन्यासका पात्र हुन् ! उपन्यासका पात्रलाई पनि भेटिन्छ भन्ने कुरा यही उपन्यासभित्र छ । खोजे मानिसले भेट्दै नभेट्ने यतीलाई पनि भेट्न सकिन्छ भन्ने कथा पनि यहीँ छ ।
    कृतिमा विकासले हुने विनास, स्वर्गभूमि नेपालमा सम्भावित पर्यटन व्यवसाय, यहाँका असङ्ख्य जडीबुटी तथा प्राणीहरूको संरक्षण, शिक्षामा गर्नुपर्ने सुधार, प्रविधिमा आउनसक्ने नयाँपन, भाषा र संस्कृतिको संरक्षण लगायतका अनेक प्रसङ्गहरू यत्रतत्र आएका छन् । एउटै कृतिमा सरस र सरल तरिकाले धेरै विषयवस्तु उठ्नु यो उपन्यासको फरक शक्ति होला भन्ने मेरो ठम्याइ छ ।
     अन्त्यमा ‘यती साथी’ उपन्यासका लेखकलाई नयाँ कृतिका लागि बधाइ अनि यो लेख्ने अवसरका लागि धन्यवाद दिन्छु । मैले कृतिका बारे धेरै बोले ‘दुधको साक्षी बिरालो’ भन्ने आरोप आउँदो हो, तपाईँ पनि एक पटक पढेर लेखकलाई रचनात्मक सुझाव दिनुहोला भन्ने अनुरोध गर्दछु । भूलहरूमा उही बच्ची र कच्ची बुझेर क्षमादान गरिदिनुहोला ।                    

                                                                 दोस्रो पाठकको तर्फबाट

                                                                                                                                  –सुयोग घिमिरे
    कविता, गजल, गीत वा अन्य कुनै रचना गरेपछि बाबाले हामीलाई सुनाइहाल्नुहुन्छ । कक्षा आठको वार्षिक परीक्षा आउन लागेका बेला निक्कै लामो समय उहाँले कुनै पनि सिर्जना हामीलाई सुनाउनु भएन तर ल्यापटपमा सधैँभन्दा धेरै घोरिएको देखिरहेको थिएँ । परीक्षा सकिएपछि उहाँले मलाई ‘यती साथी’ उपन्यास पढ्न दिनुभयो । स्कुलको पुस्तकालयबाट मैले पहिल्यै ‘यतीको काखमा’ भन्ने उपन्यासका भाग १ र २ ल्याएर पढिसकेको थिएँ । मलाई पनि यतीका बारेमा धेरै चासो लाग्छ । इन्टरनेटमा पनि मैले यतीका बारेमा धेरै कुराहरू पढ्ने र हेर्ने गरेको छु । बाबालाई पनि यतीका विषयमा धेरै सोध्ने गरेकाले उत्तरमा यो उपन्यास लेख्नुभएछ जस्तो लागेको छ ।
    पढ्दै जाँदा अर्को उपन्यासका पात्र समेत यो उपन्यासका पात्रहरूले प्रत्यक्ष भेटेको कुरा आएपछि म छक्क परेँ । साँच्चै नै उपन्यासका पात्रहरू यसरी भेटिनु हो भने म पनि तिनै एरिक र डोमाकै खोजीमा छु । मसँग मिक्सा र मुक्कुमसँग जस्तै धेरै जिज्ञासाहरू छन् यतीका बारेमा । यो उपन्यास पढिसकेपछि हाम्रो परिवार मुक्तिक्षेत्र घुम्न गयौँ । त्यहाँ हाम्रो नजिकै हिमाल देखिन्थ्यो । मैले कतै यती देखिन्छ कि भनेर गाडीको झ्यालबाट हेरिरहेँ तर हाम्रो गन्ध पाएर यतीहरू निस्किएनन् । बाबा तीन पटक सभापोखरी पुगिसक्नुभयो । यो उपन्यासमा त्यही क्षेत्रमा यतीसँग भेट भएको कथा छ । मलाई ठूलो भएर सभापोखरी जाने रहर छ ।
    मलाई मिक्सा र मुक्कुमको स्कुल मन पर्‍यो  । म बाबाले जुन स्कुलमा पार्टटायम साइन्स पढाउनुहुन्छ त्यही स्कुलमा पढ्छु तर हाम्रो स्कुल यो उपन्यासमा जस्तो छैन । उपन्यासमा फ्लाइङ कार पनि छ, त्यो सोझै चैनपुरबाट मेरो आफ्नै गाउँ इलामको अन्तुडाँडा पुगेको छ । त्यस्तो कार बनाउन पाए हामी अन्तु नै बस्नेथियौँ । अर्को साल साइन्स एक्जिबिसनमा मेरो साथी मनिस राउतलाई म त्यस्तो कार बनाऊ भन्नुछ । पोहोर पनि उसले भ्याकुम क्लिनर बनाएर फस्ट भएको थियो । उपन्यासमा पढेपछि मैले धेरैपटक फ्लाइङ कारमा उडेको सपना देखेँ र बाबामामुलाई सुनाएँ । उहाँहरूले नपत्याए जस्तो लाग्यो । यो उपन्यासमा एरिकले बनाएजस्तै सपना रेकर्ड गर्ने र देखाउने मेसिन भए म सबैलाई देखाइदिन्थे मैले देखेका ती सपना ।
    गुफाहरू त अर्कोसँग जोडिएका हुन्छन् जस्तो मलाई पनि लाग्थ्यो, यो उपन्यासले त्यसको प्रमाण दिएको छ । उपन्यासमा लोकगीतका बारेमा जे जे लेखिएको छ ती सबै मलाई बाबाले पहिल्यै भनिसक्नु भएको हो । मलाई त मिक्सा र मुक्कुमलाई एरिक अनि डोमाले दिएको यती संरक्षणको काम आफैँ गर्न पाए हुन्थ्यो जस्तो लाग्छ तर अहिले म अलिक सानै छु । परीक्षाको कारण मात्रै म यो उपन्यासको दोस्रो पाठक भएको हुँ नत्र पहिलो नै हुन्थे । यतीका बारेमा लेख्नुभएकोमा म उहाँसँग खुशी भएको छु । म जस्तै यतीका बारेमा चासो हुनेलाई यो उपन्यास रमाइलो लाग्नेछ । अब मिक्सा र मुक्कुमले के गरे भन्ने पनि अर्को उपन्यासमा लेख्नुहुन बाबालाई मेरो अनुरोध छ ।

                                                               आफ्नै कुरा

                                                                                                                       – एकु घिमिरे
    पठन संस्कृतिलाई दिगो पार्न मैले आंशिक समय शिक्षण गरिरहेको निजी स्कुलमा एउटा पुस्तकालय स्थापना गर्ने सोच विद्यार्थी र शिक्षक साथीहरूलाई सुनाएँ । सबै हौसिए, रौसिए र सकेको सहयोग गरे । लगत्तै ‘मकालु अरुण बाल पुस्तकालय’ स्थापना भयो । विद्यार्थीहरूले आफूलाई मन परेका विभिन्न पुस्तक घरमा लगेर पढ्न थाले । यसै क्रममा छोरो सुयोगले पनि विनोद न्यौपानेकृत उपन्यास ‘ यतीको काखमा’  भाग १ ल्याएर हाम्रो सामु स्व–स्वर वाचन गरे । पछि उनले उक्त उपन्यासको भाग २ पनि ल्याएर सुनाए अनि यतीका बारेमा अनेक प्रश्न गरिरहन थाले । त्यो उपन्यास पढेपछि मलाई पनि केही लेख्ने इच्छा पलायो । पठन संस्कृतिलाई बढाउन कुनै कृतिका पात्र र अलिकति परिवेशलाई टपक्क टिपेर अर्को कृतिमा राख्ने सोच आयो । मैले विनोद न्यौपानेका माथि चर्चा गरिएका उपन्यासबाट लामा गुरु, यती, एरिक र डोमा अनि पाठकलाई विश्वास दिलाउन केही परिवेश समेतलाई समावेश गरी यो कृति लेख्न थाले ।
    स्कुलबाट लेख्ने विचार सुरु भएकाले नै होला कृतिका अगाडि मैले स्कुलकै कथा बुनेँ । उता एरिक, डोमा र यतीलाई पनि ल्याउनुथियो । मभित्र कथाका विभिन्न घटनाहरू सलबलाउन थाले तर कार्यालयीय, पारिवारिक र निजी कामहरूका चेपमा कति कथाहरू हप्तौँसम्म थिचिए, मिचिए अनि किचिएर काम नदिने बने । कतिलाई अचार बनाएर हालेको पनि छु, कतिलाई विचार बनाएर लादेको पनि छु । छोराको वार्षिक परीक्षा नजिकिएकाले उनलाई लुकाएर कथा अघि बढाएँ तर छोराकी आमाले भने हरेक अनुच्छेद लेखिनसक्दै कथा पढ्न उत्सुकता देखाइन् । तीन–चार भाग लेखेर आफ्नै ब्लगमा प्रकाशन गर्ने सोच थियो तर सुमीले कथाको बिट मार्नै दिइनन् । कथा सुस्तरी अघि बढ्यो र चैत्रमा बाबुको परीक्षा सकिएका दिन ल्यापटपबाट कागजमा छपाइ गरेँ । सुयोगले पनि उपन्यास मनपराए । त्यसपछि मैले उक्त पाण्डुलिपि काठमाडौँ बसेर पत्रकारिता गरिरहेकी स्थानीय बहिनी रुपा भण्डारीलाई पढ्न दिएँ । मलाई सर्वप्रथम गुफापोखरी र वालेश्वर गुफासम्म पु¥याउने उनै थिइन् । उनले त यो उपन्यास तुरुन्त प्रकाशन गर्न पो सुझाव दिइन् । त्यसपछि शिक्षक मित्र गणेश भण्डारी, बहिनी अनिता कोइराला र साथी जयराम सुनामीले पनि उपन्यास राम्रै भएको प्रतिक्रिया दिनुभयो । त्यसपछि स्थानीय माध्यमिक विद्यालयकी नेपाली शिक्षिका एवम् सर्जक कमला श्रेष्ठ (दाहाल) लाई पाण्डुलिपि पढ्न दिएँ । उहाँले त आफूले भ्याएसम्मको शुद्धाशुद्धि समेत हेरिदिएर चाँडै प्रकाशन गर्न हौसला दिनुभयो । अब कृतिमा केही अङ्ग्रेजी वाक्यहरू पनि लेखिएका र निक्कै लेख्न(अङ्ग्रेजीमा अनुवाद) बाँकी थिए । मैले अङ्ग्रेजीका शिक्षक मित्र सुरेश रिमाललाई सो काम सुम्पिएँ । उहाँले मैले अ¥हाएको त गरिहाल्नुभयो तर उक्त पाण्डुलिपिलाई तुरुन्त पुस्तकका रुपमा प्रकाशन गर्न हतार लगाउन थाल्नुभयो । उपन्यासमा केही लिम्बू भाषाका पनि संवाद भएकाले मेरा पत्रकार छिमेकी मित्र भैरव आङ्लाजीलाई सो कार्यको लागि सामाजिक सञ्जालबाट अनुरोध गर्नासाथ उहाँले खुसीसाथ त्यो कार्य सम्पन्न गर्नुभयो ।
    मलाई यो कृतिका रूपमा प्रकाशन योग्य बनेको छैन होला भन्ने डर थियो । धरान झरेका बेला मेरा छिमेकी  विद्वान गुरु सागरमणि सुवेदीलाई सो पाण्डुलिपि दिएर प्रकाशन योग्य भए भूमिका समेत लेखिदिनुहुन अनुरोध गरी आमाहरूसँग मुक्तिक्षेत्रतर्फ हुँइकिएँ । उताबाट फर्किएर आउँदा त उहाँले भूमिका लेखन मात्र हैन थुप्रै सुझाव अनि  मेहनतसँग सम्पूर्ण प्रुफ समेत हेरिदिनुभएछ । उहाँका निकट एक साथी त्यसैबेला प्राज्ञ बनेकाले प्रकाशनको समेत प्रबन्ध गर्न निक्कै कसरत गर्नुभयो । प्राज्ञले उपन्यास त मागे त्यसपछि कुनै प्रतिक्रिया जनाएनन् । मलाईभन्दा सागर गुरुलाई भुटभुटी भयो । अन्त्यमा यो उपन्यास आफैँ भए पनि छाप्नैपर्ने रहेछ भन्ने गुरुको मनोविज्ञान बुझेँ र अघि बढेँ ।
    स्कुलका केही चित्रकार भाइबहिनीलाई उपन्यासको सार सुनाएर केही चित्र कोर्न अनुरोध गरेँ अनि राम्रा लागेका ती चित्रहरू यसै कृतिका विभिन्न भागहरूमा राख्ने रहर उब्ज्यो । सो कुरा सागर सरलाई सुनाउँदा उहाँका छोरा सम्पन्न र  छोरी समृद्धीले पनि चित्र बनाउने रहर गरेकाले ती चित्र पनि यो उपन्यासमा राखेको छु । नानीहरूका चित्रले पनि मलाई हौसला र हुटहुटी थपेका छन् ।
    अब सम्पूर्ण काम सकेर काठमाडौँ बस्ने मेरा मित्र ऋषिकेश पोख्रेललाई उपन्यासको आई.एस.बि.एन. लिन कीर्तिपुर गइदिन अनुरोध के गरेथँे, त्यसै दिन फुत्तै निकालेर पठाइदिनुभयो । अब मैले यो कृति प्रकाशन गर्न ढिलो गर्ने ठाउँ कतै रहेन । यो छोटो उपन्यासलाई पुस्तकका रूपमा प्रकाशन गर्ने नै निधो भएपछि मित्र हरिनारायण बाँस्कोटालाई रहरको पाण्डुलिपि पढेर प्रतिक्रिया दिन अनुरोध गरेँ । उहाँले बढो मेहनतसँग पढेर महत्वपूर्ण सुझावहरू दिनुभयो । ती सुझावहरूलाई मैले यो कृतिमा हु–बहु लागू गरेको छु । कृति प्रकाशनका लागि उज्जल प्रिन्टर्स, धरानका देवचन्द्र सिवाकोटीले निर्वाह गर्नुभएको मित्रतापूर्ण भूमिका पनि उत्तिकै महत्वपूर्ण ठानेको छु । माथि उल्लिखित सम्पूर्ण व्यक्तित्वहरूलाई म हार्दिक नमन गर्दछु । अब कृति तपाईँको हातमा छ । पढेपछि तपाईँलाई लागेका कुराहरू प्रतिक्रियाका रूपमा दिनुहुन अनुरोध छ ।
                                                       

                                                   एक

                                    मिक्साको नयाँ  स्कुलमा भर्ना

चित्रकार -अनिश तमाङ  , मकालु अरुण स्कुल , चैनपुर कक्षा -७  


                                                                                                                              – विनोद न्यौपाने

साहित्यकार एकु घिमिरेज्यूले मैले लेखेको उपन्यास ‘ यतीको काखमा’ भाग १ र २ मा रहेका पात्रहरू प्रयोग गरी ‘यती साथी’ नामक उपन्यास लेख्नुभएको थाहा पाउँदा खुसी लागेको छ । मैले एकुकृत उपन्यासको पाण्डुलिपि पढ्न नपाए पनि यो कृतिले पात्र, पाठक र लेखकलाई न्याय गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु । आशा छ यो पुस्तकमा पनि पाठक पात्रहरूसँगै नेपालका लेक र कन्दराहरू घुम्नुहुनेछ । लेखकलाई नयाँ साहित्यिक कृतिका लागि हार्दिक बधाइ र शुभकामना ।
                                                                                                               चैनपुर, सङ्खुवासभा
                                                                                                                      हाल : बेलायत



     बाबाको जागिर सङ्खुवासभाको चैनपुरमा सरेपछि मिक्साको पुरै परिवार त्यतै सर्यो । मिक्साको परिवारमा उसकी आमा र भाइ मुक्कुम पनि थिए । अब मिक्साको भर्ना चैनपुरकै वालेश्वर माध्यमिक विद्यालयमा गरियो । मिक्सालाई आफ्नो नयाँ  विद्यालयको नाम एकदम अनौठो लागेको थियो । कक्षा आठमा अध्ययनरत उनले वालेश्वर भन्ने कुनै भगवानको नाम कतै सुनेकी थिइनन् । सरकारी स्कुलको नाम धेरैजसो देवीदेवताकै नामबाट राखिन्छ भन्ने उनलाई लागेको थियो । त्यसैले आफ्नो नयाँ विद्यालयको नाम किन वालेश्वर राखेका होलान् भन्ने जिज्ञासा उनको मनमा आइरहेको थियो । मिक्सा पहिलो दिन आफ्नो  बाबासँग स्कुल गइन् । नयाँ स्कुलको ठुलो चौरमा चाइनिज दुबो रोपेर गलैँचा ओछ्याएजस्तै पारिएको रहेछ । चौरको वरीपरी फूल फुलिरहेका देखिन्थे । स्कुलको प्रवेशद्वार पनि कलात्मक रहेछ । वरीपरी बाँसजस्तो देखिने सानो नली हुने विरूवा रोपेर बार लगाइएको रहेछ । त्यो बार चिटिक्क पारेर मिलाइएको देखिन्थ्यो । विद्यालय हाताभित्र कतै पनि एक टुक्रा कागज समेत झरेको थिएन । स्कुलको वातावरण देखेर मिक्सा मख्ख परिन् । उनी सरासर बाबासँग विद्यालयको कार्यालयभित्र छिरिन् । त्यहाँ  प्रधानाध्यापक डा. वाङ्जु भोटे आफ्नो कुर्सीमा बसेर ‘यतीको काखमा’ भन्ने पुस्तक पढिरहेका थिए । ताप्लेजुङको मौवाखोला गाउँ पालिकाको उच्च क्षेत्रमा जन्मिएर आठ वर्षको उमेरसम्म त्यहीँ  विताएकी मिक्सालाई प्रधानाध्यापकको हातमा भएको पुस्तकले एकैचोटी त्रास र कौतूहल उब्जाइदियो । उनलाई यती सम्झेर एकदम डर लाग्यो अनि त्यसैको काखमा लेखेको देखेर अचम्म लाग्यो । म नयाँ  स्कुलमा नचिनेका मान्छेको अगाडि छु भन्ने कुरा मिक्साले बिर्सिइन् र प्रधानाध्यापकको हातमा भएको पुस्तक छेउमा गएर हेरिन् ।
आफ्नो नजिकै कोही आएको बल्लमात्र थाहा पाए डा. वाङ्जुले । अनुहारबाट पुस्तक हटाउनसाथ डा. वाङ्जु र मिक्साका बाबाको आँखा जुधिहाल्यो । उनीहरूको योभन्दा अघि नै भेटघाट र चिनजान भइसकेको रहेछ । सायद यो भन्दा अघिको भेटमै मिक्साको बारेमा उनका बाबाले डा. वाङ्जुसँग केही कुरा गरेका रहेछन् क्यारे । डा. वाङ्जुले मिक्सालाई आफ्नो नजिक ताने अनि अँगालो हाल्दै भने :
‘मिक्सा नानीए कन निसामहिमओ लुङ्मेन्दिङ लाम्दाक वारो । कन निसामहिम अखदम्बा लावचोगे ?’
(‘ मिक्सा नानीलाई  हाम्रो विद्यालयमा हार्दिक स्वागत छ । तिमीलाई हाम्रो स्कुल कस्तो लाग्यो ?’)

    मिक्साको मावली बाजेले मात्र लिम्बू भाषा बोल्नुहुन्थ्यो । त्यसैले उनीहरू लिम्बू भाषालाई बाजेको भाषा भन्थे । आफ्नो प्यारो बाजेले बोल्ने भाषामा मिक्सालाई बोलाएकोले प्रधानाध्यापक डा. वाङ्जु पनि उनलाई आफ्नै बाजेजस्तै लाग्यो । ताप्लेजुङबाट तराईको बोर्डिङ् स्कुलमा पहिलोपल्ट भर्ना हुन जाँदा नेपालीमा बोलेको भनेर प्रिन्सिपलले कार्यालयमै मिक्साको सातो खाएका थिए । मिक्साले कक्षा तीनदेखि पाँच बर्ष त्यो बोर्डिङमा पढ्दा पनि त्यहाँका प्रिन्सिपल कहिल्यै आफ्नो मान्छेजस्तो लागेन तर एकैछिनमा मिक्सालाई यहाँको प्रधानाध्यापक परिचित आफन्त जस्तो लाग्यो । मिक्सालाई पनि बाजेले लिम्बू भाषा सिकाइदिनुभएको थियो । उनले खुसी हुँदै लिम्बू भाषामै गफ गर्न थालिन् :
‘आङ्गा निसामहिम नु हेने नेप्माङ नुवा लावचोगे ।’(‘ मलाई स्कुल र तपाई दुबै राम्रो लागे ।’)
‘ए थ्याङ नुवा लावचोगेबे ?’   (‘ ए ! किन राम्रो लाग्यो त ?’)
‘निसामहिम ओरेङलेङ चोक हेक्याङ फुङइकआङ आसिरा थाङे । तगि साप्ला निरुङबा निसामहिम कब्रिङ कुदिङ केयुङबा ताररे मेफाङुआङ वये । यरिक येन खेन कुदिङनु सोरिकपा तारईनले तेतचाङहा थेख्खु हेकयाङ थक लिङओ याङघेकआङ चोगु । कयो ग कम्याक नुवा सिङबुङरे मेधेकतु मेभाङुआङ वा । खेनले चोगुईल्ले तगि साप्ला निरुङबा निसामहिमबा सिक्साम्बारेन् कुहुकओ तकपाक कत्तु कर आदाङबारे केहुकओ सकसक निसुङआङ आसिराथाङे । तगिबा सिकसाम्बारे मिकफुला पानरक लेसु कर आदाङ्बारे याक्थुङ पानआङ केलेसुरैछ । आदाङबा ग आक्कुसीबा आत्तुबा कुसिङ केलो । खेनले चोगुईल्ले आसिरा थाङे ।’
(‘स्कुल सफा अनि फूलबारी समेत भएकाले मन पर्‍यो । मैले पहिला पढेको स्कुलको घेराबारा काँडेतारले गरेको थियो । धेरैपटक त्यो काँडाले हाम्रो लुगा र छाला च्यातेको थियो । यहाँ त कस्तो राम्रो विरूवाको घेराबारा रहेछ । मैले यसअघि पढ्ने स्कुलको प्रिन्सिपलको हातमा सधैँ लौरो हुन्थ्यो तर तपाइँको हातमा पुस्तक देखेर मन पर्‍यो । पहिलाको प्रिन्सिपललाई अङ्ग्रेजी मात्र आउथ्यो तर तपाईलाई लिम्बू भाषा पनि आउँदो रहेछ । तपाई मलाई मेरो मावलको बाजेजस्तै लाग्यो, त्यसैले मन पर्‍यो ।’)
मिक्साको कुरा सुनेर डा. वाङ्जु निक्कैबेर हाँसे । उनको हा“सोलाई रोक्दै मिक्साले प्रश्न राखिन् :
‘सिक्साम्बा आदाङबे थाःक्लाङगोबा, (सःक्पा), रेन् पानहा निप्मा केङ्गिनेन बि ? खेन सकसकओ ग थाःक्लाङगोबा, (सःक्पा),रेन पानहा नि मेसाप्तुआङ पत ग ?’
(‘सर तपाईलाई यतिको बारेमा पढ्न डर लाग्दैन ? त्यो किताबमा त यतिको काखमा पो लेखेको छ त ! के लेखेको छ ?’)
‘कन सकसक ग नुवा चोक किम्मा केसुकपा मेजोक्नेन्रो । कन सकसक नेच्छी कुबन ओ वा । खेने कन निसामहिमओ केदाये । कननु सोरिक खेनेआङ कन साप्लुङ हिम बा पासिङपादङ पोखेआङ को केवाबा सकसकहा हिमओ तेरेआङ निरेओ ।’
(‘ रमाइलो पो छ त, डरलाग्दो छैन । यो पुस्तकका दुई भाग छन् । तिमी यहाँ भर्ना भएपछि हाम्रो पुस्तकालयको सदस्य बन्नु अनि घर लगेर पढ्नु नि ।’)
‘आम्बी कन साप्लुङ हिमलाम सकसकहा आङ निप्मा खोदेत्पारछ मेम्बी ?’
(‘आहा ! यहाँ त पुस्तकालयको पनि पो साँच्चिकै सुविधा छ सर ?’)
‘खोदेत्रो, कर थ्याङबे ?’ (‘छ नि किन र ?’)
‘तगि साप्ला निरुङबा मिकफुला निसामहिमओ ग याङरक मेनाक्तु साप्लुङ हिम होप्ते ।’
(‘ यस अघि मैले पढेको बोर्डिङमा त शुल्क मात्र लिन्थ्यो तर साँच्चिकै पुस्तकालय र पुस्तक चाहिँ थिएन ।’)
यत्तिकैमा घण्टी लाग्यो । डा. वाङ्जुले मिक्सालाई हातमा डोर्‍याएर चौरमा लगे । चौरमा जाँदा मिक्सालाई वाङ्जुले आज बाबासँग मोटरसाइकलमा आएको भए पनि अबदेखि चार नम्बरको बस चडेर आउन भने । मिक्साका बाबा पनि सँगै गए । अन्य विद्यार्थी र शिक्षकहरू पनि प्रार्थनाका लागि भेला भएका रहेछन् । मिक्साको पुरानो स्कुलमा शिक्षकले आदेश गर्ने र प्रार्थना चलाउने चलन थियो । यहाँ त विद्यार्थीले नै अगाडि आएर प्रार्थना कार्यक्रम चलाउँदा रहेछन् । आदेशको भाषा पनि नेपाली ! अचम्म मान्दै मिक्सा पनि प्रार्थनामा सहभागी भइन् । अझ अचम्मको कुरा त यहाँ प्रत्येक शिक्षकले पनि ठुलो स्वर निकालेर राष्ट्रिय गान गाउँदा रहेछन् । पहिलाको स्कुलमा कतिपय शिक्षक प्रर्थनामै नआउने अनि आएकाहरू पनि झुण्ड–झुण्ड भएर गफिने गर्दथे, कसैले गाउँदैनथे । प्रार्थनापछि प्रधानाध्यापक डा. वाङ्जुले सबैका अघि मिक्साको परिचय गराइदिए । सबैले विद्यार्थी र शिक्षकले ताली बजाएर मिक्साको स्वागत गरे । डा. वाङ्जुले मिक्सालाई उनको कक्षाका साथीहरूको लाइनमा लगेर राखिदिए । मिक्सा आफ्नो बाबालाई बिदावारीको साङ्केतिक हात हल्लाउँदै कक्षाकोठातिर लागिन् ।
    मिक्साले आज खाजा किन्न बोकेको पैसाले पुस्तकालय सदस्य बन्ने बिचार गरिन् । आज श्रावण मसान्त भएकाले स्कुल आधा मात्र पढाइ हुने रहेछ । खाजा खान घरमा नै पुगिने रहेछ । छुट्टी हुनासाथ मिक्सा आफ्नी नयाँ साथी रुकासँग पुस्तकालय गइन् । त्यहाँ भएका कर्मचारीसँग परिचय गरिन् । पुस्तकालयको सदस्य बनिन् र ‘यतीको काखमा’ भन्ने पुस्तकको पहिलो र दोस्रो भाग लिइन् । उनले आज स्कुलमा थुप्रै साथी बनाइन् । आफ्नै भाषामा बोल्न पाइने भएकाले उनलाई मनको कुरा गर्न एकदम सजिलो भयो । मिक्सालाई अङ्ग्रेजी बोल्न त आउँथ्यो तर नेपालीमा जस्तो खुलेर बोल्न गाह्रो हुन्थ्यो । पहिलाको स्कुलमा नेपाली बोल्दा पाँच रुपियाँ जरिवाना तिनुपर्दथ्यो । यसो हुँदा आफूलाई लागेका जिज्ञासा न त साथीलाई न शिक्षकलाई नै सोध्न सकिन्थ्यो । कक्षामा शिक्षक नहुँदा पनि साथीस“ग धक खोलेर बोल्न भाषा नै तगारो थियो । नयाँ स्कुलको भाषिक खुल्लापनको रमाइलोमा मिक्सालाई धेरैथोक सहज भयो, उनी मख्ख परेर घर फर्किन् ।


                                                                 दुई

                                उपन्यासले मिक्सा र मुक्कुमलाई पारेको प्रभाव

चित्रकार -विजय थापा  , मकालु अरुण स्कुल , चैनपुर कक्षा -८    

                                                                                                                             – कमला श्रेष्ठ
    एकु घिमिरेको आख्यान विधाको पहिलो कोसेली उपन्यास ‘यती साथी’ रोचक छ । यसले सङ्खुवासभाको व्यापक भूगोलसँग मित्रता गाँस्दै इलामसम्मको रमाइलो यात्रा गराउँछ । यसमा शैक्षिक, भौगोलिक, व्यावसायिक तथा पर्यटकीय क्षेत्रको अग्रगामी परिवेश चित्रण सन्देशमूलक छ । सङ्खुवासभा पर्यटकीय गन्तव्य एवं अध्येताको अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने अर्को महत्वपूर्ण सन्देश यस कृतिले बोल्छ । विविध साहित्यिक व्यक्तित्वका धनी घिमिरेको यस कृतिले उपन्यासकार व्यक्तित्वको अर्को अध्याय प्रारम्भ गरेको छ । उहाँका भावी कोसेलीहरू मिठा र राम्रा आऊन्, शुभकामना ।
                                                                                                    चैनपुर–६,सङ्खुवासभा


    मिक्साले स्कुलबाट ल्याएको बालउपन्यास ‘यतिको काखमा’ को पहिलो भाग आफ्नी आमा र भाइलाई समेत अगाडि राखेर पढिन् । उनको बाबा अफिसबाट आइपुग्नुभएकै थिएन । उनीहरू अफिसले भाडामा लिएको घरमा बस्छन् । मिक्साका बाबा जिल्ला अदालतका तामिलदार हुन् । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा भए पनि जिल्ला अदालत चाहिँ पुरानो सदरमुकाम चैनपुरमै छ  । मिक्साको भाइ मुकुम तीन कक्षामा पढ्छन् । यस अघि बोर्डिङ् स्कुलमा पढेको अनि सरकारी स्कुलमा पढाइ नहुने, राम्ररी सिक्न नपाइने, शिक्षकहरू नियमित नआउने र गरिब–दुःखीका छोराछोरीले मात्र त्यस्ता स्कुलमा पढ्छन् भन्ने बुझेका मिक्सा र उनका भाइले चैनपुर आएर बाध्यताबस सरकारी स्कुलमा भर्ना हुनुपरेको थियो । चैनपुरमा आजभन्दा निक्कै बर्षअघि दुईओटा बोर्डिङ स्कुल अनि दुईओटा सरकारी स्कुल थिए अरे । त्यो बेला नेपालमा भर्खर लोकतन्त्र आएको थियो अरे । राजनीतिक तानातान र अस्थिरताले गर्दा सरकारी स्कुलहरूले राम्रो उपलब्धि देखाउन नसक्दा बोर्डिङहरू राम्रैसँग चलेका थिए रे । विस्तारै सरकारी स्कुलहरूमा विद्यार्थी भर्ना कम हुँदै गई विद्यालय नै नरहने स्थिति आएछ । त्यसैबीचमा एकपटक एकदमै  कुशल स्थानीय सरकार चुनिएछ । कुशल अनि दूरदर्शी जनप्रतिनिधिहरूको क्रमिक प्रयासले चैनपुरका सामुदायिक विद्यालयहरू जोडेर एउटै  गुणस्तरीय र सुविधासम्पन्न सरकारी स्कुल बनाएछन् । त्यो स्कुल स्थापना भएपछि क्रमशः बोर्डिङ् स्कुलहरूमा विद्यार्थी घट्दै गएछन् । चैनपुरमा वालेश्वर माध्यमिक विद्यालय स्थापना भएको दश वर्ष नपुग्दै बोर्डिङहरू बन्द भएछन् । चैनपुरमा बोर्डिङ् स्कुल नभएकै दुई दशक भइसकेछ । यी सबै कुरा मिक्सालाई उनका बाबाले बताएका हुन् । बाबाको कुरा बुझेपछि मिक्सा आजबाट सरकारी स्कुल नपढ्ने भन्ने जिद्दी छोडेर स्कुल जान थालेकी हुन् । मुक्कुमले भने आज पनि सरकारी स्कुल जान अल्छि गरे । दिदीले ल्याएको किताबको पहिलो भाग पढिसकेर बिसाएको मौका पारी मुकुमले दिदीलाई नयाँ स्कुलका बारेमा सोधे :
‘नयाँ स्कुल कस्तो रहेछ त ?’
‘आहा ! स्कुल त बाबाले भनेको भन्दा पनि राम्रो पो रहेछ त ! कस्तो सफा छ, कस्तो हरियाली छ । यस्ता राम्रा राम्रा पुस्तकहरू भएको पुस्तकालय छ ।’
‘पुस्तकालय भनेको के नि ?’
‘लाइब्रेरी क्या !’
‘सर–मिसहरू कत्तिको डेन्जर रहेछन् नि ?’
‘ के को डेन्जर हुनु, सबै लभ्ली रहेछन् । झन् प्रिन्सिपल सर त क्या हेल्पफुल । फेरि उनलाई त बाजेको भाषा पनि बोल्न आउँदो रहेछ । मसँग बाजेकै भाषामा कुरा गरे । मलाई प्रिन्सिपल सर त हाम्रो बाजेजस्तै लभ्ली लाग्यो ।’
‘ अनि इङ्लिस नबोल्दा फाइन लागेन ?’
‘के को फाइन लाग्छ, जुन भाषामा बोले पनि हुने रहेछ । क्या सजिलो, घरजस्तै लाग्यो अझ इलामको मामाघरजस्तै लाग्यो स्कुल ।’
‘ अनि अरु के के राम्रो लाग्यो त स्कुलमा ?’
‘ मुकुम भोलि तिमी आफैँ गएर हेरेपछि थाहा पाउँछौ । यहाँको स्कुलमा भएका राम्रा र अचम्म लाग्ने कुरा अहिले भनेर साध्ये हुँदैन ।’
‘ होला होला ! बाबा र आमाको पाटीमा लागेर मलाई स्कुल लाने आइडिया बुन्दैछौ है मिक्सा !’
‘ अँ ! तिमी खाली यस्तै नचाहिँदो बुझेर घरमै गनाएर बसिराख न त !’
    चैनपुरको भण्डारी मोड नजिकै एउटा सात तले घरको सिरानमा अफिसले भाडामा लिइदिएको फ्ल्याटमा  छन् उनीहरू । बैठक कोठामा भएको दिदीभाइको गफ भान्सामा काम गरिरहेकी आमाले पनि सुनिरहेकी थिइन् । उनीहरूको गफ बिथोल्ने गरी एउटा हेलिकेप्टरको आवाज आयो । उनीहरू नजिकै हेलिकेप्टरको आवाज सुनेर बैठक कोठाबाट बाहिर निस्किए । उनीहरूको टाउको नजिकैबाट रातो रङ्को हेलिकेप्टर पूर्वतर्फ गयो र चैनपुर बजारको माथि डाँडामा भएको पर्यटकीय हेलिप्याडमा बस्यो । मुक्कुमले वास्तविकता बुझेको झै गरी मुन्टो हल्लाउँदै भने :
‘ ए हाम्रो बाबाको  अमेरिकन पर्यटक साथी यही हेलिकेप्टरमा आएका होलान् ।’
‘ तिमीलाई कसरी थाहा भयो नि ?’
‘बाबाले अघि आमास“ग उहा“का साथीहरू खै कता हो ट्र्याकिङमा जाने गरी आउँदै छन् भन्दै हुनुहुन्थ्यो ।’
यत्तिकैमा आमा पनि त्यहीँ आइपुगिन् । आमाले मुकुमको कुरामा सार थप्दै भनिन् :
‘ सभापोखरी जाने टोली रे!’
    श्रावण महिनाको अन्तिम दिन थियो । यस बर्षको सबैभन्दा सुन्दर, व्यवस्थित र सफा सहरको पुरस्कार पाएको चैनपुर नगर पश्चिमपट्टि पुगिसकेको घामको पहेँलो रङमा ज्यादै सुन्दर देखिएको थियो । सबै जना चैनपुरको सुन्दरता हेरेर मख्ख परिरहेका थिए । यसअघि तराईको सहरमा घरमात्र देख्ने बानी परेका उनीहरूलाई यो सुन्दर दृश्यले मोहित पारेको थियो । माथि जडिबुटेको रिसोर्ट चम्किएको देखिन्थ्यो भने उत्तरतर्फ मकालु हिमाल सिन्दुरे रङ् दलेर लजाएको देखिन्थ्यो । मुकुमले मौनता तोड्दै दायाँतिरको डाँडोतर्फ औँल्याउँदै प्रश्न राखे :
‘ आमा ऊ त्यो डाँडामा चम्किएको ठूलो बजार चाहिँ कुन हो ?’
‘त्यो गुफापोखरी बजार हो, त्यहाँबाट कञ्चनजङ्घा, कूम्भकर्ण र मकालु हिमाल एकैसाथ देखिन्छ ।’
तीनै जना चैनपुर अनि त्यहाँबाट देखिएको सुन्दर दृष्यमा मोहित भए । निक्कैबेर निःशब्द भएर त्यहाँको सुन्दरतामा डुविरहे । भान्सामा कुकरको सिट्ठी बजेपछि आमा त्यतैतिर कुदिन् । मिक्सा र मुकुम चाहिँ त्यहाँको मनमाहेक सुन्दरतामा निक्कैबेर डुबिरहे । ‘यतीको काखमा’ भाग दुई लिएर आएकी आमाले भनिन्ः 
‘ लु मुक्कुम पढ त अब यो भाग चाहिँ । मिक्साले साह्रै राम्रो किताब ल्याइछिन् ।’
मुक्कुम  कक्षा पाँचको छात्र हुन्  तर राम्ररी नेपाली पढ्न भने जान्दैनथे । नेपाली किताब पढ्न लगाउँदा अल्छी गर्ने मुक्कुमले आज रमाइलो भएकाले उपन्यास पढ्न स्वीकार गरे । उनले कनिकुथी भए पनि पहिलो पाठ पढे । नेपाली पढ्न एकदम अल्छी गर्ने मुकुमले उपन्यासको अर्को अङ्क आमालाई पढ्न दिए । आमाले पनि चाख मानेर उपन्यासमा एरिक, डोमा र यतिको सहासिक अनि रमाइलो कथा पढिरहिन् । एकै छिनपछि फेरि मिक्साको  पढ्ने पालो आयो । आमाले खाना खाएर पढ्नुपर्छ भन्दा पनि मिक्सा र मुकुमले उपन्यास पढिसकेर मात्र खाने अड्डी कसे । श्रावणको दिन लामो हुने हुँदा उज्यालोभरि बाहिर अनि अलिक अँध्यारो भएपछि भित्र आई पढेर उनीहरूले ‘यतीको काखमा’ बाल उपन्यासका दुवै भाग पढिसके । यो उपन्यासको लेखक पनि चैनपुरकै विनोद न्यौपाने रहेछन् भन्ने उनीहरूले पुस्तकमा राखिएको लेखक परिचय पढेर थाहा पाए । आमाले खाना खान बोलाइसक्नु भएको थियो । उनीहरू खाना खाँदा पनि सोही उपन्यास र पात्रको बारेमा गफ गर्न थाले :
‘ मिक्सा यो कथा मात्रै हो कि यति साँच्चै पनि हुन्छ ?’
‘ हुन्छ नि । यतीका बारेमा हामीले पहिला एउटा फ्लिम पनि हेरेका हैनौ ? इन्टरनेटमा खोज त यती हुन्छ भन्ने बारेमा थुप्रै प्रमाण दिएको छ ।’
‘ त्यसो भए एरिक र डोमा पनि छन् त ?’
‘ त्यो त यो उपन्यासका लेखक विनोद न्यौपानेलाई सोध्नुपर्छ , हुन पनि सक्छन् ।’
‘ तिमीलाई एरिक खतरा लाग्यो कि डोमा ?’
‘ डोमा खतरा लाग्यो ।’
‘ आम्मा ! किन नि ? केटीको पाटी लागेकी हो ? पहिला एरिकले यतीलाई साथी बनाएको होइन ?’
‘ त्यो त हो तर डोमा सानै थिइन् । त्यो बेला उनले स्कुल पनि जान पाएकी थिइनन् । एरिक त विकसित देशको धनीको छोरो थियो नि त ! गरिब र अनपढ भएर पनि डोमाले एरिकले जत्तिकै गर्न सकिन्, त्यही भएर डोमा खतरा लाग्यो ।’
‘ हो है त्यो कुरा त !’
आज मिक्सा र मुकुमले एरिक, डोमा र यतिको मात्र कुरा गरिरहे । राम्रा राम्रा पुस्तक पढ्न पाइने, सबैले माया गर्ने अनि स्कुल पनि राम्रो छ भन्ने बुझेपछि भोलिदेखि मुक्कुम  पनि बिद्यालय जाने निष्कर्षमा पुग्यो । उनीहरू सुत्न लाग्दामात्र बाबा आइपुगे । बाबाले अमेरिकाबाट आएका पर्यटकलाई चैनपुरकै फलाँटेमा रहेको पाँचतारे होटल ‘ द वालेश्वर भ्यू’ मा राखिदिएर आएको बताए । आज यतीको कुरा गर्न मुकुम र मिक्सा एउटै ओछ्यानमा  सुते ।

                                                    तीन

                       उपन्यसका पात्र एरिक र डोमासँग भेट
चित्रकार -विजय थापा  , मकालु अरुण स्कुल , चैनपुर कक्षा -८     

                                                                                                                                  –रूपा भण्डारी
 ‘यती साथी’ शीर्षकले नै मेरो ध्यान खिचेको थियो । यतीका बारेमा जानकारी लिनका लागि मैले कृति एकै बसाइमा पढेँ । निक्कै कुतूहल र धैर्य साथ पढेँ अनि बुझेँ यो त हिमाली क्षेत्रमा पाइने जनावर पो रहेछ । यस्तो अनौठो विषयमा कलम चलाउने लेखक दाजुलाई बधाइ र  शुभकामना । यती तथा अन्य लोपोन्मुख प्राणी एवं वनस्पतिको संरक्षणका लागि गर्नुभएको यो असल प्रयासका लागि र सङ्खुवासभाको पर्यटन विकासका लागि दस्तावेज जस्तो लाग्ने कृति लेखनका लागि आभार प्रकट गर्दछु ।
                                                                                                  चैनपुर–८, ठाँटीगाउँ, सङ्खुवासभा


भोलिपल्ट विहान उठेर मुक्कुमले पनि आफ्नो स्कुलब्याग मिलायो । हिजोसम्म स्कुल नै जान्न भनेर जिद्धी गरिहेको मान्छे आज आफैँ स्कुलब्याग मिलाउन लागेको देखेर आमाको अनुहारमा चमक देखियो । मिक्सा पनि खुसी भइन् । उनीहरूका बाबा चाहिँ छिट्टै उठेर पर्यटकहरूसँग मर्निङ वाक गएका रहेछन् । मिक्सा र मुक्कुम  आफ्नो मामाघर इलामको अन्तु पर्यटन क्षेत्रबाट ल्याएको अर्थोडक्स चिया पिउँदै गर्दा बाबा पनि आइपुगे । आमा र बाबाले चाहिँ ग्रीन टी पिए । मुकुमले चिया पिउँदै बाबासँग कुरा गर्‍यो:
‘ बाबा तपाईँलाई यती हुन्छ जस्तो लाग्छ कि हुँदैन जस्तो लाग्छ ?’
‘ हुन्छ नि ! यो नेपालको हिमाली क्षेत्रमा मात्र पाइने लोपोन्मुख अनौठो स्तनधारी प्राणी हो ।’
‘ तपाईँले देख्नुभएको छ त ?’
‘ छैन नि , यो मान्छेको छेउछाउ नै आउँदैन अनि । झुक्किएर मात्र मान्छेका छेउमा आउने अनि उच्च हिमाली क्षेत्रमा बस्ने भएकाले यसलाई देख्न गाह्रो छ ।’
‘ त्यत्रोपटक सभापोखरी, तोप्केगोला, मकालु बेस जाँदा कतै देख्नुभयो कि भनेर नि ।’
मिक्सा र मुक्कुमका बाबा सरकारी जागिरे मात्र नभएर नेपालका उच्च हिमाली भेग डुल्न अनि त्यहाँको प्राकृतिक एवम् जैवीक अध्ययन गर्न रुचाउने ब्यक्ति पनि हुन् । उनी कहिले पर्यटक भएर त कहिले पथ प्रदर्शक भएर उच्च क्षेत्रतर्फ गइरहन्छन् । अदालतमा तामेलदारको एक दिन हाँजिर भएपछि पन्ध्र–बीस दिन बिदा हुन्छ । अझ दुर्गम ठाउँको पालो पर्दा त बिदा बाइस दिनसम्म लम्बिन्छ । यो बिदाको मौकामा उनी भ्रमणमा निस्कन्छन् । उनलाई डुल्ने , अध्ययन गर्ने र यात्रा संस्मरण लेख्नमा ठूलो रुचि छ । आफ्नो उक्त रुचिलाई दरिलो पार्न उनले एउटा ट्रयाकिङ एजेन्सी पनि खोलेका छन् । त्यो एजेन्सीको नाम ‘केन्जो ट्रयाकिङ एजेन्सी’ हो । हिमाली क्षेत्रका बारेमा जानकारी लिन थुप्रै अध्येता उनलाई भेट्न आइरहन्छन् । ती सबैकुरा बुझेका  मुक्कुमले आज यतीका बारेमा पढेपछि आफ्ना बाबाले पक्कै यो हिमाली जीवलाई देखेका होलन् भन्ने लागेर सोधेको थियो । बाबाले यतीलाई नदेखेको कुरा गरेको सुनेपछि मिक्साले बाबालाई समातेर भनिन् :
‘ अब हामी ठूला भएर चाहिँ यतीको खोजी गर्नुपर्ला । बाबालाई हिमालको छेउछाउ डुल्ने तरिका आइहाल्छ , है बाबा ?’
‘ए, भइहाल्छ नि । हिमाल डुल्न कहाँ कहाँका मानिसलाई त सहयोग गर्छु , तिमीहरूलाई त झन् कसो नगरौँला । अर्को हप्ता सभापोखरी, पाँचपोखरी र लुम्बासुम्बा हिमाल आसपास घुम्न आएका पर्यटक त हुन् हिजो आएका । भरे बेलुकी उनीहरू हाम्रैमा खाना खान्छन् । हाम्रै  केन्जो ट्रयाकिङ एजेन्सीको सहयोगमा उनीहरू डुल्न जाने हुन् ।’
भरे बेलुकी हिमाल डुल्न आएका अमेरिकन पर्यटक आफ्नै घरमा आउने भन्ने कुरा सुनेपछि मिक्साले मनमनै उनीहरूलाई यतीको बारेमा सोध्ने बिचार गरी । बाबाको कुरा सुनेपछि मुकुमले भन्यो :
‘ ए, अमेरिकन हुन् भने तिनीहरूले यती पक्कै देखेका होलान् , है मिक्सा ?’
‘ किन नि ? अमेरिकामा त्यस्तो धेरै हिमाल छन् र ?’
‘ अनि अघिको किताबमा यतीलाई एरिक र डोमासँगै अमेरिका लगेको भन्ने पढेको यति चाँडै बिर्सियौ ?’
 मुक्कुमको कुरा सुनेर सबैजना हाँसे । अरु हाँसेको देखेर मुकुम जिल्ल पर्‍यो । मुकुमलाई बुझाउँदै आमाले भनिन् :
‘ त्यो त कथा पो, कहाँ साँच्चै हो त ।’
बाबाले कुराको बिट मार्दै भन्नभयो :
‘ ल अब आ–आफ्नो काममा लागौँ । आज शुक्रबार भएकाले तिमीहरू स्कुलबाट चाँडै आइहाल्छौ । म पनि  अफिस विदा भएपछि अमेरिकन पाहुनासँग आइपुग्छु । भोलि बिदाको दिन भएकाले अबेरसम्म  मजाले गफ गरौँला र आनन्दसँग सुतौँला ।’
सबै आफ्नो आफ्नो काममा लागे । मिक्सा हिजो स्कुलमा पढाइ भएका पाठहरू पढ्न थालिन् । अलिकति गृहकार्य पनि गर्नु थियो ।  मुक्कुम  पहिलो दिन नयाँ स्कुल जाने तयारी गर्न थाल्यो । बाबा र आमा मिलेर खाना तयार गरे । खानापछि  मुक्कुमलाई लिएर मिक्सा घर बाहिर रोडमा निस्किइन् । एकैछिनमा वालेश्वर माध्यमिक बिद्यालय लेखेको पँहेलो बस आयो । उनीहरू त्यसैमा चढेर स्कुल गए । उनीहरूका बाबा पनि अफिसको गाडीमा गए । आमा घरकै कामका व्यस्त भइन् ।
मिक्सा  मुक्कुमलाई लिएर सोझै प्रधान अध्यापक डा. वाङ्जु बस्ने कोठामा गइन् । डा.वाङ्जु आफ्नो कुर्सीमा बसेर एउटा अङ्ग्रेजी किताब पढिरहेका थिए । मिक्सा डा.वाङ्जुसँग लिम्बु भाषामा नै बोली :
‘सिक्साम्बे सेवारो ’  (‘ नमस्कार गुरुजी ।’)
‘सेवारो मिक्सा । आम्बि मुक्कुम ग सारिक नुबा चोक आसिराथाङे । आईनहाङधो मुक्कुम लेप्माङ निसामहिमलाम लुङमेन्दिङ लाम्दाक वारो ।’ 
(‘ नमस्मकार मिक्सा । आहा ! मुकुम त कस्तो राम्रो लाग्यो मलाई । आजदेखि  मुक्कुमलाई पनि हाम्रो स्कुलमा स्वागत छ है ।’)
 मुक्कुमको हात समातेर डा. वाङ्जुले सोधे :
‘तिमीलाई पनि लिम्बू भाषा बोल्न आउँछ ?’
 मुक्कुमले आउँदैन भन्ने सङ्केत जनाउँदै टाउको मात्र हल्लाए  । उसलाई प्रिन्सिपलसँग बोल्न डर लागिरहेको थियो । सहरको स्कुलमा प्रिन्सिपल कहिल्यै मुकुमको अघि आइपुगेनन् । सहरका स्कुलमा जसले ठुलो गल्ती गर्छ त्यसको छेउमा मात्र प्रिन्सिपल आउँथे अनि कडा सजाय दिन्थे । त्यसैले प्रिन्सिपलको छेउमा पुग्नु भनेको यमराजको नजिक पुग्नुजस्तै हो भन्ने  मुक्कुमले बुझेको थियो । हिजो मिक्साले प्रिन्सिपलसँग बोलेको त सुनाएकी थिइन् तर आफूलाई नयाँ स्कुल लैजान मिक्साले झुटो बोलेकी जस्तो मुकुमले ठानेको थियो । उसलाई प्रिन्सिपल भन्ने पद नै दुष्टहरू मध्येको हो भन्ने लागेको थियो । उसलाई डर लागेर डा. वाङ्जुसँग बोल्न सकेन । ऊ नबोलेको देखेपछि डा. वाङ्जुले उसलाई बोकेर कार्यालय भित्रै डुलाए । उनको कोठामा भएका तस्वीरहरू देखाउँदै डा. वाङ्जु  मुक्कुमसँग एककोहोरो बोल्न थाले :
‘ यी यो फोटो हेर त, पोहोर म कक्षा पाँचका साथीहरूसँग वानेश्वर भन्ने ठाउँमा पिकनिक जाँदा नाच्दै गरेको ।’
‘ यी यो अर्को फोटोमा हेर त म तिमीहरूजस्तै साथीहरूको वीचमा मादल बजाएर लोकगीत गाउँदै छु ,तिमीजस्तै दुई जना साथी नाच्दै छन्, हैन ?’
‘यी यो फोटोमा हेर त, म धामीको अभिनय गरिरहेको ।’
डा. वाङ्जुको धामी बनेको फोटो देखेपछि  मुक्कुम खित्का छोडेर हाँसे  । डा. वाङ्जुले उनलाई भुँइमा राखे । ऊ ताली पिट्दै निक्कैबेर हाँसिरहेको देखेपछि डा. वाङ्जुले उसको हात समाउँदै मायालु पारामा सोधे :
‘ किन खुब हाँस्यौ त ?’
अब भने मुकुमको पनि बोली फुट्यो । आफूलाई माया गरी बोकेर डुलाएकाले  मुक्कुमलाई पनि डा. वाङ्जु मावलको बाजेजस्तै लाग्यो । बाजेले अस्ति दसैँको बेला सुर्योदय हेर्न अन्तु डाँडा जाँदा यसैगरी उकालोमा बोकेको मुकुमलाई झलझली याद आयो । उस्ले हत्तपत्त डा. वाङ्जुको प्रश्नको उत्तर दियो :
‘ तपाईंको नेम प्लेटमा डाक्टर लेखेको छ तर धामी हुँदा पनि सुहाएको देखेर हाँस उठ्यो । हाम्रो मावलको तल्लो घरमा धामी लेप्चा भन्ने बाजेले त्यो फोटोमा जस्तै लुगा लगाएर त्यस्तै म्युजिकल इन्सट्रयुमेन्ट बजाएको बेला कामेको, आगो खाएको सम्झेर हाँस उठ्यो ।’
‘ ए हो ? उसो भा तिमीले धामी चिन्ता बसेको देखेका रहेछौ । त्यो बजाउने छालाको इन्सट्रयुमेन्ट छ नि ? त्यसलाई ढ्याङ्ग्रो भन्दछन् , अनि ढ्याङ्ग्रोलाई हिर्काउने सामानलाई चाहिँ गजो भनिन्छ । धामी हाम्रा साँस्कृतिक डाक्टर हुन् । मैले चाहिँ अभिनय मात्र गरेको । पछि स्कुलका कार्यक्रमहरूमा फेरि गरौँला नि है ?’
 मुक्कुम र मिक्सा दुवैले एकै स्वरमा हवस् भने । यसपछि हिजोजस्तै प्रार्थना सभा भयो । आज प्रार्थना सभापछि एक जना शिक्षकले एउटा लोक गीतगाए । डा. वाङ्जुले मादल बजाए अनि अर्का एक जना शिक्षकचाहिँ फनफनी नाचे । सबै बिद्यार्थीहरूले तालमा ताल मिलाएर थपडी बजाए । मिक्सा र मुकुम छक्क परे । सहरको स्कुलमा त यस्तो रमाइलो हेर्न एनुअल प्रोग्राम नै कुर्नुपथ्र्यो । त्यही पनि त्यहाँ शिक्षकहरूले त भाषण मात्र गर्थे । यहाँ त शिक्षक नै गाउने, बजाउने अनि नाच्ने ! क्या रमाइलो । कार्यक्रमपछि मुकुमलाई डा. वाङ्जुले उसको कक्षामा लगेर गए । कक्षामा प्रधानाध्यापक गएपछि सबै विद्यार्थी उठेर ‘नमस्कार सर’ भन्दा रहेछन् । डा. वाङ्जुले सबैलाई बस्न अनुमति दिए र भने :
‘ आजदेखि तिमीहरूका कक्षामा नयाँ साथी आएका छन् । उनीसँग तिमीहरूको परिचय गराइदिन म पनि साथमै आएको छु । ल त  मुक्कुम तिम्रो परिचय देऊ त ।’
 मुक्कुम लजाएर वाङ्जुको हात समात्यो । अरु सबै बिद्यार्थी हाँसे । साथीहरू हाँसेपछि मुकुम झन लजायो । उसका कान, नाक र गालाबाट रगत चुहिएला जस्तै राता देखिए । डा. वाङ्जुले मुकुमको मनोविज्ञान बुझेर भने :
‘  मुक्कुमलाई आफ्नो परिचय समेत दिन आएन भनेर हाँसेका हैन तिमीहरू ? तर ऊ त कुन भाषामा परिचय दिने भनेर पो दोधारमा परेको त ! Now he is requested to deliver his  short introduction in English or in Limbu language.’
 मुक्कुमले आफ्नो परिचय अङ्ग्रेजीमा दिए :
‘ Good morning everybody. I am Mukkum Angla. Angla is a cast of Limbu. I am from Dharn but we are in Bhandari Mode, Chainpur. Thank you.’
डा. वाङ्जुले गुड–गुड भन्दै ताली बजाए । कक्षाका सबैले ताली बजाए ।  मुक्कुम खुसी भए । उनलाई नेपालीमा बोल्ने बानी छैन । तराईको स्कुलमा हुँदा नेपाली बोल्नै नपाइनु अनि नेपाली बोल्नु भनेको दण्डनीय अपराध हो भन्ने बुझेको  मुक्कुमको नेपाली राम्रो नहुनु स्वभाविक नै थियो । प्रिन्सिपलले  मुक्कुमलाई नेपाली नआएको अरुलाई भनिदिएनन् बरु अरु भाषा आउँछ भनेर सबैका सामु उसलाई हौसला दिए । आफूलाई नेपाली नआएको नभनिकन थाहा पाएको देखेर  मुक्कुम डा. वाङ्जुदेखि छक्क परे । अघि अफिसमा डा. वाङ्जुको धामी बन्दाको फोटो पनि हेरेकाले उनी पक्कै धामी र अन्तर्यामी समेत भएको लख काटे ।  मुक्कुमलाई लिम्बू भाषा आउँदैन थियो तर त्यो कुरा चाहिँ प्रधानाध्यापकले थाहा नपाएको हुँदा  डा. वाङ्जु अन्तर्यामी नै चाहिँ होइनन् भन्ने पनि  मुक्कुमको मनमा आयो । सबैलाई हात हल्लाएर बिदा माग्दै डा. वाङ्जु कार्यालयतिर लागे ।  मुक्कुम कक्षा पाँचको पहिलो विद्यार्थी रञ्जन श्रेष्ठको नजिकैको कुर्सीमा बस्यो । तराईको स्कुलमा धेरैजना बस्न सकिने लामा–लामा बेञ्च थिए । यहाँ त प्रत्येकका लागि अलग अलग कुर्सी रहेछन् । कुर्सीको दायाँपट्टि ठुलो फल्याक जोडिएको रहेछ । त्यही फल्याकमा पुस्तक, कापी राखेर पढ्न र लेख्न हुने रहेछ । उक्त फल्याकको तल घर्रा रहेछ, त्यहाँ आफ्नो सामग्री राख्न मिल्ने बनाइएको रहेछ ।  मुक्कुम देब्रे हात चलाउने भएकाले उसलाई यो कुर्सी एक दम अप्ठयारो भयो । रञ्जनले यो कुरा बुझेपछि कक्षाबाट बाहिर गयो र स्कुलका पाले दाइलाई देब्रे कुर्सी ल्याउन अनुरोध गर्‍यो । एकैछिनमा पाले दाइले  मुक्कुमको कुर्सी साटिदिए । आफूले भन्दै नभनी आफ्नो अप्ठयारो भगाइदिएपछि रञ्जनपट्टि फर्किएर भन्यो :
‘ Thank You Ranjan. ’
‘ ए ठीकै छ , तिमी नयाँ साथी भएकाले यसो अप्ठयारो परेको ठाउँमा सहयोग गरेको ।’
‘ मलाई अप्ठयारो परेको कुरा मैले नभनी कसरी थाहा पायौ ?’
‘ यी हेर त, मेरो पनि देब्रे नै छ नि कुर्सी !, हामी दुबै देब्रे रहेछौँ । अघि तिमीले कापी निकालेर तिम्रो नाम लेख्दैगर्दा मैले तिमी पनि देब्रे चलाउँदा रहेछौ भन्ने थाहा पाएँ ।’
यत्तिकैमा कक्षाको भित्तामा चरो कराएको मीठो आवाज आयो ।  मुक्कुमले यताउता हेरे । उनले देखिनसकी भित्ताको लाउडस्पीकरमा आवाज आयो :
‘ वालेश्वर माध्यमिक बिद्यालयको पहिलो घण्टी सुरु भइसकेको छ । सम्पूर्ण बिद्यार्थी वर्गलाई दुई मिनेट भित्रमा शिक्षक कक्षाकोठामा आइपुग्ने जानकारी गराइन्छ । धन्यवाद ।’
सबैले हत्तपत्त झोलाबाट पुस्तक झिके ।  मुक्कुमले पनि अरुले झैँ पुस्तक निकाले  । हातमा एउटा रजिस्टर, बिहेमा उपहार दिनजस्तै राम्रो पारेर बेरिएका दुई फ्रेमजस्तै लाग्ने बस्तु र एक पत्ता कागज गोलो पारेर बोकेका नेपाली शिक्षक कक्षामा प्रवेश गरे । उनी दौरा,सुरुवाल, कोट र नेपाली टोपीमा सजिएका थिए । शिक्षक आएपछि विद्यार्थीहरू उठ्ने चलन यहाँ पनि तराईको स्कुलमा जस्तै रहेछ , तर उठेर ‘नमस्कार सर’ भन्ने चलन रहेछ । ‘नमस्कार, अब तिमीहरू बस्न सक्छौ ।’ भनेर शिक्षकले कक्षा सुरु गरे । उनले मुकुमलाई हेर्दे भने :
‘ हाम्रो कक्षामा नयाँ आएका विद्यार्थी  मुक्कुम आङ्लालाई स्वागत छ । यहाँ शुक्रवार शिक्षक र विद्यार्थी मिलेर चार घण्टीसम्म बिभिन्न कार्यक्रम गर्ने चलन छ । त्यसपछि विद्यार्थीहरूको बिदा हुन्छ, हामी बैठक गर्दछौँ । आज हाम्रो अभिनय गर्ने पालो छ । हरेक विषयको कक्षामा कुन दिन के के गर्ने भन्ने पात्रो तिमीलाई ल्याइदिएको छु ।’
शिक्षकले  मुक्कुमलाई आफूसँग ल्याएको गोलो पारेर बेरिएको पात्रो दिए । रजिष्टरमा प्रत्येक विद्यार्थीले आफैँ आफ्नो हाँजिरी गरेर आजको दिन आफूले सिकेको महत्त्वपूर्ण कुरा एक हरफमा लेख्नुपर्दो रहेछ ।  रजिष्टरको प्रत्येक पानामा ठाडा बत्तीस कोठामा गते त्यसपछिका अरु कोलममा  क्रमश: बार, तारिख, तिथि, महत्वपूर्ण दिवस, हाजिरी र कैफियत लेखिएको थियो । पानाको माथि विद्यार्थीको नाम, महिना र शैक्षिक सत्र लेखिएको रहेछ ।  मुक्कुमले रञ्जनको सहयोगमा सबै कुरा बुझ्यो र आज भाद्र एक गतेको हाँजिरी गर्‍यो । उसले  महत्त्पूर्ण हरफको ठाउँमा लेखिदियो :
‘ हामीले यतीलाई माया गर्नुपर्छ ।’
कार्यक्रम चल्दै गर्दा हाजिरी रजिष्टर पनि कक्षाभरि घुमाउने चलन रहेछ । त्यसपछि अभिनय कार्यक्रम चल्यो । आज अभिनय नगर्ने तर अभिनयमा रुचि भएका पाँच जना विद्यार्थीको निर्णायक मण्डल बनाइयो । मुकुमलाई यो पनि अचम्म लाग्यो किनभने यसअघि उसले पढेको स्कुलमा विरलै हुने यस्ता कार्यक्रममा कहिल्यै पनि विद्यार्थीलाई निर्णयकमा राखेको थाहा थिएन ।  कार्यक्रमको सुरुमा शिक्षकले नै पागल भएको अभिनय गरेर हँसाए । त्यसपछि रुचि भएका विद्यार्थीले पनि आ–आफ्नो क्षमता अनुसार अभिनय गरे । रञ्जनले सिर्जनासँग मिली एउटा परिवारमा श्रीमान् मातेर आएपछि श्रीमतीसँग गरेको झगडाको अभिनय गरे । निर्णायक मण्डलले आफ्नो निर्णय शिक्षकलाई दियो । रञ्जनले गरेको मत्थुको हास्य अभिनय र सिर्जनाले गरेकी पीडित महिलाको कारुणिक अभिनयलाई आज पुरस्कार दिइने निर्णायक मण्डलको ठहर शिक्षकले कक्षामा सुनाएपछि सबैले ताली बजाए । शिक्षकले अघि आफूसँग राम्रो कागजले मोरेर ल्याएका दुई थान पुरस्कार रञ्जन र सिर्जनालाई प्रदान गरे । रञ्जन र सिर्जनालाई त्यो पुरस्कार खोलेर देखाउन कक्षाका सबैले आग्रह गरे । त्यो पुरस्कारमा शिक्षकले ‘मङ्गल ग्रहमा विज्ञान’ भन्ने विजय चालिसेले लेखेको बाल उपन्यास दिएका रहेछन् । पुरस्कारमा प्राप्त पुस्तक निकालेर देखाएपछि फेरी विद्यार्थीहरूले ताली बजाए  । रञ्जनले  मुक्कुमतिर हेरेर भन्यो :
‘ मुक्कुम तिमी आइतबारसम्मलाई यो किताब लैजाऊ, मैले पुस्तकालयबाट अर्कै किताब लिएको छु ।’
‘हुन्छ नि त । म पनि आइतबार पुस्तकालयको मेम्बर बन्छु आज यो किताब लान्छु ।’
यत्तिकैमा लाउड स्पिकरमा मीठो बाँसुरीको धुन बज्यो  । एकैछिनको धुनपछि फेरि लाउडस्पिकरले दोस्रो घण्टी सुरु भएको सुचना दियो । शिक्षकले सबैलाई धन्यवाद भन्दै बिदा भए । अब विज्ञान विषय पढाइ हुने कुरा  मुक्कुमले आफ्नो कक्षा अगाडि टाँसिएको रुटिन हेरेर पत्ता पाइहाल्यो । विज्ञानका शिक्षकले उनीहरूलाई प्रयोगशालामा लिएर गए । त्यहाँ उनले एउटा पत्रिकामा कालो धूलो हाले । त्यो धूलोमा मह जस्तो बाक्लो पदार्थ हाले अनि एकजना विद्यार्थीलाई छिटो–छिटो उक्त पत्रिका बटारेर पोको पारी अलिकति दवाब दिन लगाएर भुइँमा फ्याँक्नलगाए । हेर्दाहेर्दै त्यो पत्रिकाको पोकाबाट धुवाँ आउन थाल्यो । एक छिनपछि त ह्वार्र ज्वाला निस्किएर दनदनी बल्यो । सबैले ताली बजाए । शिक्षकले नचिनीकन रसायनहरू मिसाउँदा हुने खतराका बारेमा सबैलाई सचेत गराए । उनले आज मिसिएका रसायनहरू पोटासियम डाइक्रोमेट र ग्लिसरिन भएको पनि जानकारी गराए । कक्षा सकियो । तेस्रो घण्टीमा आउने शिक्षिकाले नेपाली लोकगीतको अन्ताक्षरी खेल खेलाउनुभयो । आम्मामा ∕ मुकुमका साथीहरूले लोकगीत गाएर गरेको घम्साघम्सी ख्याल रमाइलो थिएन ।  मुक्कुमलाई त खासै लोकगीत गाउन आउँदैन थियो । आओस् पनि कसरी ? उसको यस अघिको स्कुलमा नेपाली बोल्नै पाइँदैनथ्यो । आक्कल झुक्कल सर–मिसहरूको घैंटामा घाम लागिहाल्दा अन्ताक्षरी खेलाए पनि हिन्दी गीत गाउन पाइन्थ्यो तर नेपाली गीत पाइँदैनथ्यो । कार्यक्रमको अन्त्यमा मिसले हाम्रो नेपाली लोकगीतको महत्वका बारेमा बताएपछि त झन  मुक्कुमलाई आजैदेखि लोकगीत सिक्न मन जाग्यो । मुकुमको घरमा अरु सबै लोकगीतका पारखी छन् । बाबाले लोकगीतका बारेमा धेरै चर्चा गर्दछन् तर स्कुलको अन्ताक्षरीमा समेत नचले पछि मुकुमले नेपाली लोकगीत मोह त्यागेको थियो । चौथो घण्टीमा गणित पढाउने शिक्षकले गणितीय जादु देखाएर सबैलाई चकित पारे । हिसाब गरेरै परिवारमा भएका छोरा र छोरीको सङ्ख्या पत्ता लाउन सकिने सो जादु कसरी गर्न सकिन्छ भन्ने सिकेपछि भरे घर गएर मिक्सा, बाबा र आमालाई चकित पार्ने मुकुमले योजना बनायो । आज शुक्रबार भएकाले त्यसपछि बिदा भयो । बिहान सरकारी स्कुल आउनुपर्दा मनभरी बोझ बोकेर आएको  मुक्कुम यति बेला फुरुङ्ग परेर फर्किदै थियो । स्कुलको गेटमा मिक्सासँग भेट भयो । उनीहरू स्कुलको चार नम्बर बस चढेर घरतर्फ फिरे । वालेश्वर माध्यमिक विद्यालयका चैनपुरका विभिन्न वार्डसम्म जाने जम्मा नौ ओटा बसहरू रहेछन् । उनीहरूको बस चार नम्बर हो भनेर पहिल्यै उनीहरूले आफ्ना बाबा र प्रधानाध्यापकबाट बुझेका थिए । बसमा मिक्सा र  मुक्कुमको गफ सुरु भयो :
‘  मुक्कुम सरकारी स्कुलमा पढ्न बोर भयो हो है ? मैले हिजो रमाइला र अचम्म लाग्ने कति हो कति कुरा छन् भनेर ढाँटेको थिएँ , सरी है !’
‘ अहिले जिस्क्याएर बोल्दा चाहिँ रिसाइदिन्छु अनि !’
‘ हिजो तिमी त्यसै भन्दै थियौ त, अनि ?’
‘ म हिजो स्कुल नै आएको थिईनँ अनि ।’
‘ अनि स्कुल नै नआई किन स्कुल नराम्रो छ भन्ने ठान्यौ त ?’
‘ अनि पहिला हामीले पढेको ठाउँमा सरकारी स्कुलको कस्तो गति थियो नि ? यहाँ पनि उस्तै होला भन्ने ठानेको थिएँ । त्यही भएर आउन मन नगरेको थिएँ तर आज साह्रै मज्जा आयो । स्कुल रमाइलो रहेछ ।’
गफैगफमा उनीहरूलाई बसले भण्डारी मोड पुर्‍याएछ । घरमा आमाले बनाइदिएको खाजा खाएर उनीहरू एकैछिन खेले ।  मुक्कुमले मिक्सालाई साथीले पढ्न दिएको नयाँ किताब देखायो । उनीहरू त्यो किताब पढ्न भनेर बस्न खोज्दैमा बाबा र पर्यटकहरू आइपुगे । निक्कै पाका भइसकेका पर्यटकहरूसँग मिक्सा र मुकुम परिचय अनि गफगाफ गर्न थाले ।
‘ Namaskar, I am Miksha Angla. I read in class 8. The name of my new school is Shree Waleshowr Secondary School. You are heartily  welcome .’
' Namaskar, My name is Mukkum Angla. I read in grade 5 of my new school Shree Waleshor Secondary School. You are welcome.'
‘ नमस्कार, धेरै राम्रो । तिमीहरूको नाम, परिचय,स्कुल, घर र देस ज्यादै राम्रो लाग्यो ।’ पुरुष पर्यटकले नमस्कार गरेको हात नखोली भन्यो ‘ मेरो नाम एरिक हो । मेरो घर अमेरिका हो तर नेपाल सानैदेखि धेरै पटक आइजाई गर्दा नेपाली पनि सजिलै बोल्छु । धन्यवाद ।’
पहिले त अमेरिकन पर्यटकले फरर नेपाली बोलेको सुनेर  मुक्कुम र मिक्सा छक्क परेका थिए । लगत्तै पर्यटकले आफ्नो नाम एरिक भएको बताएपछि उनीहरू अचम्ममा परेका थिए । उनीहरू दुबैलाई यो सपना हो कि बिपना जस्तो लागिरहेको थियो । अब महिला पर्यटकको बोल्ने पालो थियो । उनी मिक्साले परिचय दिँदा नमस्कार गरेदेखि नै हात जोडेर नखोली बसिरहेकी थिइन् । उनी थोरै मुस्कान छोडेर बोल्न थालिन् :
‘ नमस्कार । नानी बाबुहरूसँग भेट भएकोमा ज्यादै खुसी छु । मेरो नाम डोमा शेर्पा हो ।’ महिला पर्यटको नाम मात्र हैन थर समेत मिलेपछि यी दुबै ‘यतीको काखमा’ उपन्यासका पात्र हुन् भन्ने टुङ्गो लागेजस्तै भयो तर उपन्यासका पात्र भेटिएकोमा आफैँसँग अविश्वास पनि लाग्यो ।  मुक्कुम त एक पटक  खुसी र आश्चर्यको मिश्रित स्वरमा चिच्याए  पनि ।  मुक्कुम चिच्याएपछि डोमाले आफ्नो कुरा एकछिन रोकिन् ,फेरि डोमाले थपिन् :
‘ मेरो जन्म त नेपालकै सोलुखुम्बु जिल्लाको एउटा गाउँमा भएको हो तर म सानैदेखि अमेरिका गएँ ।’
यिनीहरू पक्कै त्यो उपन्यासकै पात्रहरू रहेछन् भन्ने लागेपछि डोमाले उनीहरूसँग यसबारे सोध्न खोजिन् । डोमा बोल्न नपाउँदै मुक्कुमले सोधे  :
‘ पहिला तपाईँहरू यतिसँग साथी बन्नुभएको है ?’
अचम्म मान्दै डोमाले सोधिन् : ‘ हो त ! तिमीले कसरी थाहा पायौ ?’
प्रत्युत्तरमा मिक्सा बोलिन् :
‘ हामीले यतीको काखमा भन्ने उपन्यास हिजो मात्रै पढेको नि त ।’
‘ ठीक छ । हाम्रो कथालाई उपन्यास बनाएर लेख्ने विनोद न्यौपानेजी हाम्रै असल साथी हुन् । उनको पनि पहिलाको घर यहीँ चैनपुर हो ।’ डोमाले कुरा थपिन् । यत्तिकैमा आमाले कोठामा आएर पर्यटकहरूसँग परिचय गर्न थालिन् । आमाले हातको इसारा समेत थप्दै भनिन् :
‘ खाना तयार भइसक्यो, जाउँ भान्सा गर्न ।’
सबै जना भान्साघर गए । खानपिन गरे । पर्यटकले बाबासँग अब गर्ने सभापोखरी ट्रयाकिङबारे निक्कै लामो गफ गरे । मिक्सा र  मुक्कुमले आफ्ना मनका थुप्रै खुलदुली मेट्न नपाइ पर्यटकहरू होटलतिर गए । मिक्सा र  मुक्कुमले यो गुनासो आफ्ना बाबाआमासँग राखे । बाबाले उनीहरूलाई भने :
‘ उनीहरूसँग तिमीहरूको फेरि भेट भइहाल्छ नि, अनि तिमीहरूलाई लागेका कुरा सोध्नु । रात निक्कै बितिसक्यो । अब सुत ।’
बाबाको भनाइले  मुक्कुमको चित्त बुझेन, उनले भने  :
‘ आज घरमै आएका बेला कुरा गर्न पाइएन, अब पछि कहिले भेट हुन्छ ?’ अलिक रिसाएको भावमा उनले थपे  ‘ आमाले पनि आज कति छिटो खाना पकाउनु भएछ फेरि । पाँच मिनेट मात्र ढिलो गर्नुभएको भए हामी उनीलाई यतीको बारेमा सोध्ने थियौँ , है मिक्सा ?’  मुक्कुमले मिक्सातिर हेर्दै समर्थक खोजे  ।
‘ हो त नि !’ मिक्साले पनि उस्तै भावमा असन्तुष्टि पोखेको देखेपछि बाबाले भने :
‘ल अहिले चाँडै सुत । भोलि बिहान सबेरै हामी ट्रयाकिङ तयारीको क्रममा वालेश्वर जाँदैछौ, तिमीहरू पनि सँगै हिँड अनि उनीहरूसँग भक्कु गफ गर्नु । भोलि शनिबार भएकाले हत्तार पनि हुँदैन ।’
‘ अनि शनिवार भन्ने पनि थाहा पाइराख्नु भएको रहेछ , फेरि वालेश्वर जाने पनि भन्नुहुन्छ ?’ मिक्साले कुरा थपिन्   ‘ कि वालेश्वर भन्ने हाम्रो स्कुल बाहेक अर्को पनि ठाउँ छ बाबा ?’ उनी बोल्दाबोल्दै बाबाको हात झड्कार्न पुगिसकेकी थिइन् । बाबाले बोल्नै नपाई मुकुमले थपे :
‘ त्यै त । भोलि त वालेश्वर स्कुल बिदा छ ।’ यतिन्जेलमा  मुक्कुम पनि बाबालाई समाउन पुगिसकेका थिए  ।
बाबाले हाँस्दै भने :
‘ यहाँ तल वालेश्वर भन्ने ठूलो गुफा छ । हिन्दूहरू त्यो ठाउँलाई शिवको वासस्थान मानेर पूजा गर्दछन् । त्यही गुफाको नामबाट स्कुलको पनि नाम वालेश्वर राखेका हुन् । यसबारे अब धेरै नबोलौँ, तिमीहरू आफैँले भोलि देखिहाल्छौ । ल अब सुत ।’
सबैजना सुत्न गए । आज पनि  मुक्कुम र मिक्सा सँगै सुते । उनीहरू एक आपसमा बोलेनन् तर निदाउन पनि  निक्कै बेर निदाएनन् । उपन्यासका पात्र प्रत्यक्ष भेटिएको घटनाले दुबैको मनमा आश्चर्यको छाल उर्लिरहेको थियो ।



                                                               चार

                                      पर्यटकहरूसँगको वालेश्वर गुफा भ्रमण

वालेश्वर गुफाभित्र अवस्थित   प्रकृतिक शिवलिङ्गको पूजा गर्दै आमा 

                                                                                                                                      –अनिता कोइराला
म पाँचखपन नगरपालिकामा जन्मेहुर्केकी चेलीलाई यो उपन्यासमा जस्तो विकसित, चर्चित र व्यस्त पर्यटकीय सङ्खुवासभा हेर्ने रहर छ, पढ्न मात्रै पाउँदा पनि आनन्द आयो । कृतिका लेखकले मलाई बहिनीका हैसियतमा पाण्डुलिपिमै पढ्न र लागेका केही कुरा समेत लेख्न दिनुभएकामा खुसी छु । यो उपन्यासले सङ्खुवासभाली प्राकृतिक सुन्दरता, यहाँका लोपोन्मुख प्राणी र वनस्पतिको संरक्षण, वर्तमान शैक्षिक बेथितिको विरोध, नयाँ प्राविधिक आविष्कारको संभावना अनि भाषा र संस्कृतिको संरक्षणका विषयमा दरिलो गरी कुरा उठाएको छ । लेखकलाई बधाइ अनि शुभकामना ।
                                                                                                       पाँचखपन–६, डुम्रे, सङ्खुवासभा


बिहान उज्यालो हुनुभन्दा अघि नै मिक्साको परिवार उठ्यो । आमाले मिक्सा र मुकुमलाई डो गरेर नुहाउन अह्राउनुभयो । बाबाआमा भर्खरै नुहाइसकेर ग्रीन टी पिउदै हुनुहुन्थ्यो । मुकमुले अल्छी मान्दै भन्यो ः ‘ भरे उताबाट फर्केपछि नुहाउँदा हुँदैन ?’ 
 ‘ कहाँ हुन्छ ? हामी त शिवपार्वतीको वासस्थान जान लागेका अनि ननुहाई जान हुन्छ ? पर्यटकसँग जाँदा हामीले आफ्नो  सँस्कृति मतलब कल्चर देखाउनुपर्छ ।’ बाबालाई नेपाली र अङ्ग्रेजी मिसाएर बोलेको मन पर्दैन तर मुकुमले सँस्कृति भनेको बुझ्दैनन् भनेर आज मिसाएरै बोल्दै थिए ‘अरुबेला पनि आफ्नो  सँस्कृतिलाई हामीले कहिल्यै छोड्नुहुन्न ।’ 
‘छिटो नुहाऊ मुकुम । उता मिक्साले नुहाइसकिन् । ढिलो गर्‍यौ भने पर्यटक रिसाउँछनन्  । उता मन्दिर पस्ने ठाउँमा पनि भीड हुन्छ । लाइनमा धेरैबेर उभिनुपर्ने हुन्छ ’ आमाले थपिन् । आफ्नो  चिसो कपालमा ब्याट्रीले चल्ने सानो ड्रायर लगाउँदै मिक्सा पनि त्यहीँ आइपुगिन् । मुकुम नुहाउन बाथरुमतिर गयो । मकालु हिमालमा ठोकिएर आएको हावा निक्कै चिसो थियो । मिक्सा कामेको देखेर बाबाले भनेः
‘ भदौमा पनि निक्कै चिसो हुने यहाँ । तल भए रातमा पनि गर्मी हुन्थ्यो ।’
चिसोले मिक्सालाई हुक्क–हुक्क बाडुली लाग्यो । आफूलाई बाडुली लागेपछि मिक्सा बोलिन् :
‘ मलाई तराईको साथी समीक्षाले सम्झी होला । त्यही भएर बाडुली आयो ।’
कोठामा आमाले पकाएको इलामे अर्थोडक्स चियाको बासना फैलिएपछि मिक्साले चिया पाक्दै गरेको सजिलै बुझिसकेकी थिइन् । यत्तिकैमा आमा हातमा चिया लिएर आइन् र भनिन् :
‘ लु यो चिया खाऊ अनि बाडुली पनि बन्द हुन्छ तिमीले समीक्षालाई पनि सम्झिन छोड्छौ । बाडुली लाग्दा हामीलाई कसैले सम्झिने होइन बरु हामी चाहि“ अरुलाई सम्झिदा रहेछौँ ।’
मुकुम पनि नुहाएर आएपछि चिया पिउन थाले । बाबाले एउटा टेम्पोलाई फोन गरेपछि सबैजना बाटामा निस्किए । उनीहरू एउटा टेम्पोमा चढेर पर्यटकहरू बसेको होटलसम्म गए । मुकुमले टेम्पोमा छँदा बाबालाई सोधे :
‘बाबा यो टेम्पो के ले गर्दा यसरी दौडिन्छ ?’
बाबाले बोल्नै नपाई मुकुमको उत्तर टेम्पोवालाले दियो :
‘ यो टेम्पोमा ठूलो ब्याट्री राखेको छ । त्यो ब्याट्रीलाई रातभर बिजुलीले अनि दिनभर टेम्पोको माथि राखेको सोलार प्यानलले चार्ज गर्छ अनि त्यसैबाट यो चल्छ ।’
यत्तिकैमा उनीहरू फला“टेमा रहेको ‘ द वालेश्वर भ्यु’ होटलमा पुगिसकेका थिए । विराटनगर किमाथाङ्का सडक खण्ड भएकाले छ लेनको यो चिल्लो सडकमा हरेक गाडीहरू आफ्नो  क्षमतानुसारको गतिमा कुद्न सक्ने भएकाले भण्डारी मोडबाट फलाँटे मिलिक्कै पुगिएको हो । उनीहरू होटल अगाडि उत्रिएर टेम्पोलाई बिदा दिए । एरिक र डोमा उनीहरूकै प्रतिक्षामा थिए । अब सबैजना होटलको गाडी चडेर अघि बढे । गाडीमा पर्यटकस“ग मिक्सा र मुकुमले गफ गर्नै पाएनन् । उनीहरूलाई कुरा कहाँबाट सुरु गरौँ पनि भइरहेको थियो । दुवैका मनमा अटँइ नअटाई कुराहरू आइरहेका थिए । फेरि पर्यटकहरूलाई अनेक प्रश्न सोधेर हैरान पो मान्ने हुन् कि भन्ने पनि उनीहरू दुवैलाई पिर थियो । आ–आफ्नो  मनसँग बोल्दै उनीहरू चार वरपीपल चोकमा पुगे । त्यहाँबाट वालेश्वर पैदलै जानुपथ्र्यो । त्यहाँको पार्किङमा करिब तीनसय साना गाडि रोकिएका देखिन्थे ।
‘ अब यहाँबाट पैदल नै जानुपर्दछ ।’ गाडीबाट ओर्लदै मिक्साका बाबाले एरिक र डोमालाई लक्ष्यित गर्दै भने : ‘ यो भुईँमा छापिएको आयातित मार्वल हैन, स्थानीय चप्लेटी ढुङ्गा हुन् । धेरै वर्ष पहिला चैनपुर बजार सानो हुँदा पूरै बजारभरि यस्तै ढुङ्गा छापिएका थिए रे । पछि विकासको हुरीले ती चप्लेटी ढुङ्गा कता कता उडायो । ढुङ्गासँगै उडेछ हाम्रा पूर्खाहरूको देन अनि चैनपुरे मौलिकता । सोही मौलिकतालाई स्मरण गर्न यहाँ यी ढुङ्गा छापिएका हुन् ।’
‘ आहा ! कस्तो राम्रो । न चिप्लिने डर ,न हिलो हुने त्रास । प्रकृतिले दिएको असल ढुङ्गा ।’ डोमाले कुरा थपिन् ‘ मार्वल त जहाँ पनि हुन्छ नि, यो प्राकृतिक स्थानीय ढुङ्गा छापेर बनाएकैले यसको फरक विशेषता छ । त्यही मौलिकता र पृथकता हेर्न यहाँ पर्यटक ओइरिएका हुन् ।’
सिनिक्क सफा बाटाको दुबै छेउमा फूलमाला, प्रसाद अनि पूजाका सामग्रीहरू बेच्ने पसलहरू भर्खरै खोल्दै देखिन्थे मानिसहरू । कुनै चाहिँ अघि नै खोलिएका पनि थिए । कता कता स–साना चिया नास्ताका होटलहरू पनि थिए । चौडा बाटो देखेपछि मुकुमले भन्यो :
‘ गाडीमै गएको भए नि हुने र’छ नि । म त गलिसकेँ ।’
‘यता गाडी ल्याउनै पाइँदैन, जरिवाना लाग्छ ।’ बाबाले भने ।
‘गाडी कुद्ने बाटामा कुदाउँदा किन जरिवाना लागेको नि ?’
‘ यो पर्यटकीय ठाउँ हो । मुख्य ठाउँसम्म नै गाडी पुर्‍याइयो भने पर्यटक हत्तारिएर फर्किन्छन् । आसपासका मानिसको व्यापार चल्दैन । मुख्य ठाउँमा अनावश्यक भीड पनि हुन्छ । पर्यटन व्यवसायमा असर पर्छ ।’ आमाले भनिन् । आमाको कुरामा सही थप्दै मिक्साले भनिन् :
‘ हो, यो कुरा हिजो हामीलाई कक्षामा सरले पनि भन्नुभएको थियो । पर्यटकलाई जति धेरै आफ्नो ठाउँमा राख्नसक्यो उति नै यहाँको पर्यटन व्यवसाय बढ्छ रे ।’
गफै गफमा उनीहरू निक्कै तल पुगिसकेका थिए । हरियो रङ्को बर्दी लाएका प्रहरीले उनीहरूलाई रोक्दै भने :
‘ तपाईँहरूले यहाँ आफ्नो जुत्ता खोलेर हामीले दिएका जुत्ता लगाएर जानुपर्छ । छालाको पेटी, पर्स आदि लैजान पाईँदैन । प्लाष्टिकको झोला, वोत्तल केही  लान पाईँदैन । पुरुष र महिला आ–आफ्नो लाइनमा जानुपर्छ ।’
उनीहरूलाई परालका खराउ लगाउन दिइयो । पर्यटकका जुत्ता र छालाका सामान राख्ने ठूलो र्‍याक बनाइएको रहेछ । प्रत्येक र्‍याकमा नम्बर लेखिएको रहेछ । त्यहाँ सामग्री  राखेपछि साँचो लगाएर आफैँसाथ साँचो लिएर जान पाइँदो रहेछ । मुकुमले परालका खराऊ लगाएर आएपछि प्रहरीसँग सोधे :
‘ तपाईँ आर्मी हो कि प्रहरी ? यस्तो घाँसजस्तो रङ्को बर्दी लगाउने प्रहरी मैले देखेको थिइँन ।’
‘हामी नगर प्रहरी हौँ बाबु ।’
मुकुमले प्रहरीको कुरा नबुझेर बाबातिर हेरे । बाबाले कुरा बुझाइदिँदै भने :
‘उहाँहरूचैनपुर नगर मतलब म्युनिसिपालिटीले राखेको प्रहरी हुनुहुँदो रहेछ । उहाँहरू नगरपालिकाले खटाएका ठाउँमा सेवा दिनुहुन्छ ।’
मुकुमले कुरा बुझेको सङ्केत गर्दै मुन्टो हल्लाए र भने नगर प्रहरीले पनि बाबाले भनेको सही हो भन्ने सङ्केतमा मुन्टो हल्लाए । यत्तिकैमा आफ्नो सेतो  अनि कुलकुलाउँदो छालाको खुट्टा परालको खराउमा छिराएर आएको एरिकले भन्यो :
‘ यहाँ ठीक व्यवस्था रहेछ । अरुतिर जुत्ता खोल्नुपर्ने अनि खाली खुट्टै हिँड्नुपर्ने चलन छ तर यहाँ त मन्दिरमा जाँदा लगाउने छुट्टै प्रकारको जुत्ताको व्यवस्था रहेछ । कति राम्रो ∕’ एरिकले अङ्ग्रेजी लवजमा नेपाली बोले । अलिक तलदेखिश्रद्धालु भक्तजन र पर्यटकहरूको लाम लागेको रहेछ । हिन्दू र किराँत धर्मावलम्बीहरूले क्रमश: महादेव अनि पाहारुहाङ भनी पूजा गर्ने भएकाले हातमा रङ्गी विरङ्गी फूल बोकेर लाइनमा उभिएकाहरू जयजयकार गरिरहेका थिए :
‘ वालेश्वर महादेवकी ............................जय’
‘ पाहारुहाङकी.......................................जय’
करिब तीन घण्टाको लाइन पार गरेर उनीहरू बल्ल गुफाको मुखमा पुगे । गुफा पुग्ने बेलामा महिला र पुरुषको लाइन जोडिदो रहेछ । एउटै परिवारबाट आएकाहरूले सँगै पूजा गरुन् भनेर त्यस्तो व्यवस्था गरिएको रहेछ । उनीहरूले पहिला सानो गुफा अवलोकन गरे । एरिक र डोमाले त्यो सानो गुफाभित्र एक प्रकारको लाइट बालेर फोनमा कसैसँग गफ गरे । एकैछिनमा तालि बजाएर उफ्रदै डोमाले भनिन् :
'Wow! How interesting ?'  ( अहो ! कस्तो अचम्म ?)
Yes Doma, It is very interesting ! Our ( हो डोमा, यो एकदमै अचम्म छ ! हाम्रो शंका सही सावित भयो ।)
एरिक र डोमा खुसी अनि चकित देखिन्थे तर किन उनीहरू त्यसरी अचम्मित भए भन्ने एरिक र डोमा बाहेक कसैलाई थाहा भएन । मिक्साले बाबालाई खुसुक्क भनिन् :
‘बाबा उनीहरू किन यति विधि छक्क र मख्ख परेका ? के भएको हो सोध्नुहोस् त ।’
‘ हैन, अहिले हतार हतार किन सोध्नु ? भरे हामीले आफैँ बुझ्न पनि सक्छौँ नभए उनीहरूले पनि नसोधी बताउलान् । अहिले उनीहरू अध्ययनका क्रममा छन्, सोधेर वाक्क पार्नु हुन्न ।’ बाबाले मिक्साको जवाफ दिएपछि डोमा तिर हेर्दै भने :‘ हामी पूजा गर्दै गर्छौं  , तपाइँहरू आफ्नो अध्ययन गरेर आउनुहोला । हामी छिटो भएछौँ भने माथि पार्किङमा कुर्नेछौँ ।’
‘ ए, हुन्छ हुन्छ , यसो चिया पिउँदै गर्नु होला, हाम्रो अलिक काम छ ।’ डोमाले उत्तर दिईन् ।
मिक्सा र मुकुम पर्यटकहरूसँग यतीका विषयमा कुरा गर्न चाहन्थे । आज उनीहरूले गरेको अध्ययन पनि यतीकै बारेमा थियो जस्तो उनीहरूलाई लागेको थियो । उनीहरूसँग गफ नै नगरी छोडेर जान मुकुम र मिक्सालाई पटक्कै मन थिएन । उनीहरूको मनसाय बुझेर बाबाले भने :
‘ किन चिन्ता गर्छौ ? उनीहरूसँग फेरि भरे भेट भइहाल्छ नि । हामी पूजा गर्दै अनि रमिता हेर्दै माथि निस्कँदै गरौँ । अनुसन्धानकर्मीको अध्ययनमा वाधा पर्नेगरी गफ गर्न मिल्दैन । अध्येतालाई त स्वतन्त्र छोड्यो भने मात्र तथ्य भेट्न सक्छन् । ल हिँड जाऊँ  ।’
    उनीहरूलाई बाबाको कुरामा चित्त त बुझेकै थियो तर पनि कता कता नरमाइलो भने लागिरह्यो । अब उनीहरू झर्न लागेको जस्तो एउटा चट्टान च्यापिएको ठाउँबाट ओडारभित्र पसे । आम्मामा ! करिब तीन सय मानिस अट्नसक्ने वालेश्वर गुफाको अर्कोपट्टिबाट निस्कने बाटो रहेछ । गुफाको बिचमा एउटा ठूलो ढिस्को रहेछ । त्यही ढिस्कालाई हिन्दुहरू शिवलिङ्ग भनी पूजा गर्दछन् भने सृष्टिको प्रारम्भिक कालखण्डमा सिकार खेल्न आएका पारुहाङ यही गुफामा सोमरस खाई आराम गरेको भन्ने किराँतीको विश्वास रहेको छ । 
‘यो नेपालकै ठूलो प्राकृतिक शिवलिङ्ग हो, अझ खोजी गरे एसियाकै होला !’ बाबाले शिवलिङ्गमा देखाउँदै भन्नुभयो । ‘ छानो र भित्तामा हेर त के के आकृति छन् !’ आमाले आश्चार्य मान्दै भन्नुभयो । अनेक प्रकारका नाग, सिंह, चराहरू जस्ता देखिने प्राकृतिक आकृतिहरू थिए त्यहाँ । ठीक शिवलिङ्गको माथि गाईका थुनजस्ता आकृति थिए । घाम लागेका बेलामा लाइन लागेर भीडमा हिँड्नुपरेकाले गुफाको मुखमा आइपुग्दा निक्कै गर्मी भएको थियो । गुफाभित्र पसेपछि भने कस्तो आनन्दको शीत्तल भएथ्यो । ‘प्रकृतिको यो अनौठो लीला’ बाबाले घण्टी बजाउँदै भने । गुफाभित्रको अनौठो दृश्यले मिक्सा र मुकुमलाई पर्यटक अनि यती बिर्सायो । वालेश्वर गुफाले मिक्सा र मुकुमलाई मोहनी नै लगायो । उस्तै छक्क र मख्ख परे बाबाआमा पनि । उनीहरू गुफाको उत्तरपश्चिम मुखबाट बाहिर निस्किए । 
‘ कस्तो सजिलो पनि गुफा हुँदो रहेछ है ?’ मुकुमले भने :‘ क्या त पोखराको चमेरे गुफामा कुमार सर अड्किएको ! हामीलाई पनि सास फेर्न नै गाह्रो भएको । यो त कति सजिलो ।’ मार्से खोलालाई देब्रे पारेर उनीहरू उकालिए । बाटाका दुबै भागमा अनेक प्रकारका फूल र विरूवाहरू थिए । खोलापट्टि भीर भएकाले फलामको रेलिङ लगाइएको थियो अनि भूइँमा असाध्यै ठूला ठूला चप्लेटी ढुङ्गा विछ्याइएका थिए । पर्यटकहरू ती ढुङ्गाको भिडियो खिच्दै थिए । कतिपय त्यहाँको किनारामा बनाइएका ढुङ्गाकै आराम गर्ने चौतारामा बसेर सुस्ताइरहेका थिए । बाटो अलिक उकालो थियो । मख्ख पर्दै अघि अघि हिँडेका मिक्सा र मुकुम एकै साथ चिच्याए । मिक्साले भनिन् :
‘ आम्मामा ! कति लामा–लामा ढुङ्गा !’
त्यहाँ करिब पन्ध्र फुट लामा ढुङ्गाहरू राखेर बेन्च र डेक्सजस्तै मिलाइएको थियो । पश्चिमपटि विराटनगर किमाथाङ्का सडक खण्डको सुन्दर घुम्तिहरू निकालेर फोटो खिच्न मिल्नेगरी त्यो ठाउँ ब्यवस्थित गरिएको रहेछ । त्यहाँ पारिपट्टि त्रिसुलेको नागबेली सडकलाई पृष्ठभूमि बनाएर फोटो खिच्नेहरूको भीड थियो । उनीहरू पनि फोटो खिच्न केहीबेर अल्मलिए । दक्षिणपट्टि माम्लिङमा पनि उस्तै सुन्दर बाटो देखिन्थ्यो । पूर्वपट्टि माया र पिलुवाको दोभान उस्तै राम्रो देखिन्थ्यो । दोभान नजिकैको रामबेनी बजार अनि मादी हुँदै मङ्गलबारे जाने सडक पनि उस्तै राम्रो देखिन्थ्यो । पिलुवाले बनाएको बेँसीका खेतमा धान हरियो फर्किसकेको थियो । माथिबाट यो सुन्दरताको पहरा दिइरहेका जस्तो लाग्थ्यो हाङ्थुङ र तीनजुरे डाँडाले । दक्षिण पश्चिमपट्टि औँल्याएर मिक्साले सोधिन् :
‘बाबा त्यो डाँडामा देखिएको कुन बजार हो ?’
‘त्यो आँखिभुईँ बजार हो । त्योभन्दा तल अरुण नदी छ । पारि देखिएका डाँडा भोजपुरमा पर्छन् ।’
अब उनीहरू पार्किङतर्फ अघि बढे । त्यहाँ एउटा दोकानमा पसेर कफी पिए । मिक्सा र मुक्कुमले एक एक प्लेट चना पनि खाए । यत्तिकैमा मिक्साका बाबालाई फोन आयो । उनले फोनमा बोलिसकेर भने :
‘डोमा र एरिकलाई अध्ययन गर्न निक्कै समय लाग्ने भएछ । हामी जाँदै गर्नुपर्ने भयो । उनीहरू दिउँसो हाम्रो घरमा आउँछन् अरे ।’
उनीहरूले आफ्नो जुत्ता साटे । एउटा टेम्पो भाडामा लिए अनि घरतिर लागे । बाटामा मिक्साले भनिन् :
‘ आज वालेश्वर गुफा भ्रमण एकदम रमाइलो भयो तर यतीका बारेमा उनीहरूसँग कुरा गर्ने रहर चाहिँ पूरा भएन ।’
‘ त्यै त है ।’ मिक्साको कुरामा सही थाप्दै मुक्कुमले भने  ‘ कस्तो कुरा गर्न मन थियो, सँगै भएर पनि मौका मिलेन ।’
‘ भरे दिउँसो कुरा गर्नु नि ।’ बाबाले भने ‘ आज दिउँसो तिमीहरूका लागि पन्ध्र मिनेट समय मागिदिन्छु, हुन्छ ?’
मिक्सा र मुक्कुम पर्यटकसँग भेटेर गफ गर्न पाइने कुराले खुसी त भए तर दुवैलाई पन्ध्र मिनेट समय एकदम कम भएको जस्तो लागिरहेको थियो । यत्तिकैमा टेम्पोले भण्डारी मोड पुर्‍यायो । उनीहरू घरभित्र छिरे ।

                                                            पाँच

                                      पर्यटकहरूसँगको रमाइलो भलाकुसारी

चित्रकार -निसम तिम्सिना , मकालु अरुण स्कुल , चैनपुर कक्षा -५  

                                                                                                                                –सुरेश रिमाल
यो कृतिले मानव र यतीको प्रेमपूर्ण सम्बन्ध अनि यतीरक्षार्थ मानवको भूमिका के हुनसक्छ भन्ने देखाएको छ । कृतिमा अत्याधुनिक भोलिको कल्पना गरिएको छ साथै दुर्लभ प्राणी तथा वनस्पतिको संरक्षण गर्ने प्रेरणा पनि पाइन्छ । यो कृतिले समग्र सकरात्मक विकासका लागि दरिलो आवाज उठाएको छ अनि त्यसका लागि बाटो पनि देखाएको छ ।  कृति सफलताका लागि र यसले देखाएको जस्तै सभ्य, सुसंस्कृत अनि विकसित समाजका लागि सभापोखरी देवीसँग प्रार्थना गर्दछु ।
                                                                                                                                          चैनपुर–७
                                                                                                                                     सङ्खुवासभा


मिक्सा र मुक्कुम खाना खाएर आफ्नै कोठाभित्र कम्प्युटरमा खेल खेलिरहेका थिए । बाबाआमा भान्साकोठामा गफ गरेर बसिरहनुभएको थियो । उनीहरूको गफ एरिक र डोमा अनि अब लगत्तै हुने ट्रयाकिङका बारेमा थियो । मुक्कुम र मिक्साले बाबाआमाको गफमा खासै चासो दिएनन् । उनीहरू कम्प्युटरमा फूटबल खेलिरहेका थिए । एकले अर्कालाई जित्न प्रयत्न गरिरहेका थिए । यत्तिकैमा उनीहरूको ढोकाको घण्टीले रेसम फिरिरि.............को भाकामा कोही अएको सङ्केत गर्‍यो । बाबाले गएर ढोका खोल्दै बोल्नुभयो :
‘ स्वागतम् ।’
‘ धन्यवाद, धन्यवाद’ उत्तरमा महिला र पुरुषको फरक फरक आवाज आयो । मिक्सा र मुक्कुमले  आवाजबाटै एरिक अनि डोमा आएको ठम्याइहाले । खेल्दै गरेको खेल उसै छोडेर दुबैजना बैठक कोठातिर दौडिए । उनीहरू पुग्दा एरिक र डोमा सोफामा बसिसकेका थिए । बाबाले पर्यटकहरूसँग भने : 
‘ मिक्सा र मुक्कुमलाई तपाईँहरूले पन्ध्र मिनेट समय दिनुपर्‍यो । उनीहरूले तपाईँहरूसँग धेरै कुरा गर्न चाहेका छन् । त्यसपछि उनीहरू पढ्न थाल्छन् हामी आफ्नो काम गरौँला ।’
‘ ए ! ल हुन्छ ’ एरिकले भने । डोमाले आफ्नो सेतो नाडीमा बाँधेको घडी पुलुक्क हेरेर भनिन् ‘ लु सुरु गरिहालौँ त । आऊ यता बस ।’ उनले सोफामा एरिक र आफ्नो बीचमा मिक्साहरूलाई बस्ने ठाउँ खाली पार्दै इसाराले बोलाइन् । मिक्सा डोमापट्टि र एरिक नजिकै मुकुम बसे । बाबाआमा भान्साकोठातिरै काममा ब्यस्त भए । मिक्साले गफ सुरू गरिन् :
‘ तपाईँहरूजस्ता उपन्यासका पात्रसँग भेट भएको आफैँलाई विश्वास लागेको छैन । नाम मात्र मिलेको तर तपाईँहरू ‘ यतीको काखमा’ उपन्यासकै पात्रचाहिँ होइन होला ?’
मिक्साको कुरामा सही थाप्दै मुकुमले हो भन्ने सङ्केत सूचक मुन्टो हल्लाउँदै भन्यो ‘ त्यही त, मलाई पनि नाममात्र मिलेको होला जस्तो लागेको छ ।’ उनीहरूको कुरा सुनेर एरिक र डोमा हाँसिरहेका थिए । उत्तरमा एरिक बोले:
‘ हामी वास्तविक मान्छे थियौँ, पात्र बनाइयौँ । हामीले भोगेका पीडा कथा भए ।’ डोमाले एरिकका कुरामा सही थप्दै भनिन् ‘ तिमीहरूले सुनेका थियौ होला इतिहासमा पात्र सत्य अनि घटना काल्पनिक हुन्छ तर उपन्यासमा सत्य घटना काल्पनिक पात्र हुन्छ भनेर । त्यही कुराले तिमीहरूलाई भ्रममा पार्‍यो । धेरै इतिहास पनि सत्य हुन्छन् अनि थुप्रै उपन्यासका पात्र पनि सत्य छन् जस्तो कृष्ण धरावासीको उपन्यास ‘आधा बाटो’, नीलम कार्की निहारिकाको उपन्यास ‘योगमाया’ आदिका पात्र सत्य हुन् । त्यो पनि बुझ तिमीहरूले ।’
मिक्साले भनिन् ‘ उसोभए तपाईँहरू दुबैले यतीका साथ धेरै दिन हिमाली गुफामा बिताउनु भएको कुरा चाहिँ सत्य हुन् कि हैनन् ?’
‘मैले दुईपटक अनि डोमाले एक पटक यतीसँग नेपालका विभिन्न हिमाली गुफाहरूमा बिताएको सत्य कुरा नै हो ।’ एरिकले भन्दै गए ‘ सुरुमा म हेलिकेप्टर दुर्घटनामा पर्दा यतीले भेटेछ अनि साथी भइयो अर्कोपटक त डोमा र म यती भेट्न आफैँ गएका नि ।’
‘एरिक सरले भनेको कुरा त उपन्यासमा पनि छ नि !’ आँखा चौडा पार्दै मुकुमले भन्यो ‘ भनेपछि त्यो उपन्यासमा भएका सबै सत्य कुरा हुन् ?’
‘ उपन्यास भन्नेबित्तिकै त्यसमा केही कला र केही कल्पना त अवश्य पनि मिसिएकै हुन्छ तर धेरैजसो चाहिँ सत्य नै हुन् ।’ डोमाले आफ्नो देब्रे हात हल्लाउँदै भनिन् ‘किनकि त्यो उपन्यासका लेखक विनोद न्यौपाने हाम्रा उहिल्यैदेखिका साथी हुन् । हाम्रा भन्दा पनि मेरा अझ मन मिल्ने साथी हुन् ।’
‘ तपाईँ सोलुका सेर्पाकी छोरी अनि विनोद सङ्खुवासभाको चैनपुरे बाहुनको छोरो, कसरी बन्नुभयो साथी ? फेरि ऊ बेला आजजस्तो फोन, इन्टरनेट, सामाजिक सञ्जाल केही थिएनन् ।’ मिक्साका बाबाले यस्तो प्रश्न राखेपछि पो सबैलाई थाहा भो भान्सामा पनि उनीहरूकै कुरा सुनिरहेका रहेछन् । अब बाबाआमा पनि बैठक कोठामै आएका थिए । उनीहरू सोफाको सम्मुखमा भएको होचो खाटमा बसे । बाहिर केही बेरदेखि ठूलो पानी परिरहेको थियो । बाबाको प्रश्नको उत्तर दिँदै डोमाले भनिन् :
‘ यस्तै ठूलो पानी परिरहेको बेला ताप्लेजुङ र सङ्खुवासभाको सीमा क्षेत्रमा पर्ने जलजले पोखरी नजिकैको फाँटमा मेरो विनोदसँग पहिलो भेट भएको थियो ।’ डोमाले  आफू नजिकैको झ्यालको पर्दा अलिकति उठाएर बाहिर हेरेपछि भनिन् ‘पानी यो भन्दा दर्के थियो जस्तो लाग्छ । म बाबासँग उहाँको मीत भेट्न तोप्केगोला हिँडेकी थिएँ, विनोद उसका बाबासँग सभापोखरी हिँडेका रहेछन् ।’
डोमाले सभापोखरी भनेपछि एरिकले आफ्नो काम सम्झिएछन् । उनीहरूले अर्को हप्ता सुरू गरिने सभापोखरी पैदल यात्राको योजना बनाउनु थियो । भित्तामा झुण्डाइएको घडीलाई औँल्याउँदै एरिकले भन्यो ‘ ल डोमा अब बाँकी कुरा पछि गरौँला । हेर त चार बज्न लागिसक्यो । हामीले हतार गर्नुपर्छ ।’
‘ हाम्रो कुरा सकिएकै छैन ।’ मुकुमले भने ‘ यतीका बारेमा धेरै कुरा सोध्नु छ ।’
‘ तर पन्ध्र मिनेट समय त अघि नै सकियो नि त !’ एरिकले हाँस्दै भने ‘ तिमीहरूसँग बाँकी कुरा पछि गरौँला ।’
‘ आफ्ना कथा अरूलाई लेख्न दिएर पनि हुन्छ ? आफैँ लेख्नु नि डोमा मेडम ।’ आमाले डोमातिर हेर्दे भनिन् ।
‘ हो त, आफूले भोगेका अनुभव त आफैँ पो लेख्ने हो त । आफ्नो पनि कृति बन्छ, कीर्ति बढ्छ ।’ बाबाले पनि डोमातिर हेर्दै थपे ‘ अब यो अनुसन्धान सकेपछि लेख्नू । आउँदो सभापोखरी–तोप्केगोला पैदल यात्राको पनि मिसाएर लेख्नु । मेरो नाम पनि गाइडको रूपमा रहिरहन्छ जुगजुग ।’ उनले हाँस्दै कुरा सके ।
‘ यतीका बारेमा चाहिँ आजैदेखि लेखिहाल्नू । यो पालीको ट्रयाकिङ अगावै आ–आफ्नो अनुभव लेखेर दिनू ।’ आमाले एरिक र डोमा दुबैलाई हेर्दै  अगाडि भनिन् ‘ तपाईँहरू डुल्न जानू, हामी सत्य कथा पढ्दै बस्छौँ ।’
अलिक हतारिएर एरिकले भने ‘ हुन्छ हुन्छ, मलाई त नेपाली बोल्न मात्र आउँछ, डोमाले लेखिदिनू ।’ मुकुम र मिक्साको हात समाउँदै उनले अगाडि भने ‘ हाम्रा साना साथीहरूको पनि रहर पूरा हुने, डोमाको पनि नयाँ किताब लेखिने । अहिले चाहिँ हामी आफ्नो सेडियुलको काम गरौँ ।’
मुकुम र मिक्सा खुसी भएर एकसाथ ताली बजाउँदै हुन्छ भने । जसले भोगेको हो उसैले लेख्यो भने झन सत्यतथ्य आउँछ भन्ने लागेर मिक्सा खुसी भएकी थिइन् । मुकुम अलिक सानै भएकाले यतीका बारेमा धेरै कुरा सुन्न पाइने कुराले नै खुसी भएको थियो ।आमालाई पनि त्यस्ता साहसी नेपाली चेलीको संस्मरण पढ्ने रहर थियो । त्यस्ता बहादुरका भोगाइ सुनाएर आफ्ना छोराछोरीलाई पनि प्रेरित गर्ने उनको इच्छा थियो । उता बाबालाई भने छोराछोरीको सिक्ने रहरले डोमालाई लेखक नै बनाउन प्रेरित गरेकोमा बेग्लै खुसी लागेको थियो । लगत्तै सुरु गर्नुपर्ने पैदल यात्राको तयारी गर्न उनलाई ज्यादै हतारो परेको थियो । उनले मिक्सा र मुकुमलाई आफ्नै कोठामा गएर पढ्न अह्राए । आमालाई तीन कप ब्ल्याक टी बनाएर ल्याइदिन आग्रह गरे ।
‘ ए ! एक छिन पख त, एउटा जरुरी कुरा छ ।’ बैठक कोठाबाट निस्किन लागेका मिक्सा र मुकुमलाई रोक्दै डोमाले भनिन् ‘ हामी यतिको काखमा उपन्यासका वास्तविक पात्र भएको कसैलाई पनि नभन्नु है फेरी । यहाँ पत्रकार र अन्य मानिसहरूको भीडले हामीलाई वाक्क लगाउँछ । काम गर्नै दिँदैन ।’
‘ हाम्रो यो पटकको ट्रयाकिङ पनि यतीको अध्ययनमा नै सम्बन्धित छ । यसबारे पहिला नै हल्ला भएमा हाम्रो अध्ययनमा नै ठूलो बाधा उत्त्पन्न हुन्छ । यो ऐतिहासिक यात्रा हुनेछ । यती बाहेक हामी विभिन्न गुफाहरूको पनि विशेष अनुसन्धान गर्दैछौँ तर यो पनि अहिलेलाई गोप्य नै राख्नुपर्छ । हामी खालि पदयात्री मात्र भएको भनिदिनुहोला ।’ एरिकले थप रहस्य खोल्दै भने । एरिक बोलेपछि मिक्सा र मुकुम पनि अर्को कोठातिर गए । आमाले चिया लिएर आएपछि उनीहरूको पैदल यात्राको योजना बनाउने छलफल सुरु भयो ।

                                                            छ
                                पैदल भ्रमणको योजना निर्माण


                                                                                                                                 –गणेश भण्डारी
‘यती साथी’ उपन्यासमा विभिन्न विषयवस्तुलाई सरल र मिठासपूर्ण तरिकाले उठान गरिएको छ । यो उपन्यास पढिरहँदा बालमनोविज्ञान र जिज्ञासु स्वभावलाई टपक्कै टिपेर आफैँले देखिरहेको, भोगिरहेको जस्तो अनुभूति पाठकले गर्ने रहेछन् । सङ्खुवासभा र आसपासका पर्यटकीय क्षेत्रमा आफैँ घुमेको जस्तो हुनेगरी लेखिएको यो उपन्यासले समग्र विकासको नमुना खाका तयार गरेको देखिन्छ ।
                                                                                                                   चैनपुर–१०, सङ्खुवासभा


‘आज भाद्र २ गते । हामी १० गते सोमबार यहाँबाट हिँड्छौँ हैन त ? कि के छ तपाइँहरूको विचार ?’ मिक्साका बाबाले भित्ताको क्यालेण्डर हेर्दै डोमा र एरिकलाई प्रश्न राखे । एरिकले भने :
 ‘हिँड्ने मिति त ठीकै छ तर हामी कहाँदेखि पैदल हिँड्नुपर्छ रे ?’ 
‘दुई ओटा बाटा छन्, जताबाट गए पनि दोबाटे भन्ने ठाउँबाट पैदल हिँडाइ हुन्छ ।’
 ‘ दुईटा बाटा भन्नाले?’ डोमाले सोधिन् ।
 ‘ एउटा नुनढाकी–गुफापोखरी हुँदै दोबाटे, अर्को थामपोखरी–जडिबुटे हुँदै दोबाटे ।’ 
‘उसोभए जाँदा थामपोखरीको बाटो जाऊँ, आउँदा गुफापोखरीको बाटो फर्कौँला ।’ 
‘हुन्छ , यो हामीले लानुपर्ने सामग्री विवरण ।’ एक एक पन्ना कागज दुवैजनालाई दिँदै मिक्साका बाबाले भने ‘ आ–आफ्ना औषधी र अम्मल भए थप्नुहोला ।’
 ‘आम्मामा ! यत्रोविधि सामग्री किन्न त समय निक्कै दिनुपर्ने भयो त ।’ एरिकले कागज हेर्दै भने ।
 ‘ यहाँ ट्रयाकिङ सामग्री भेला पारेर बेच्ने थुप्रै पसल छन् । कुनै एकमा गएर लिस्ट दिएपछि हामी कुद्नै पर्दैन । वर्सेनी करिव दुई लाख पर्यटक यहाँ ट्रयाकिङको उद्देश्य बोकेर आउँछन् । यो साल चाहिँ नगरपालिकाले तीन लाख पदयात्री भित्र्याउने लक्ष्य बनाएको कुरा गत हप्ता ट्रयाकिङ एजेन्सीहरूको भेलामा मेयरले बताए ।’ मिक्साका बाबाले बेलिबिस्तार लगाए ।
 ‘ ठिकै भयो । एकै ठाउँ किन्न पाइन्छ भने समय बचत भयो । बचेको समयमा हामी यहाँका गुफाहरूको अध्ययन गर्नुपर्छ ।’ डोमाले भन्दै थिइन् ‘ सामग्री कहिले किन्ने हो त ?’
 ‘ सामग्री कहिले किन्ने भन्ने टुङ्गो गर्नुभन्दा पहिले कति किन्नुपर्ने हो त्यो टुङ्गो हुनुपर्छ । कति किन्ने भन्ने निधो गर्न हामी कति दिनका लागि हिँड्दैछौँ भन्ने निश्चित गर्नुपर्छ । अरु पर्यटक जस्तो जाने, घुम्ने अनि फर्कने मात्र हैन होला ? के के गर्नुछ त्यो मलाई बताउनुहोस् अनि मात्र सबैथोक टुङ्गो लाग्छ ।’ मिक्साका बाबाले भने ।
 एरिकले भने ‘ सभापोखरी पुग्न कति दिन लाग्छ ? त्यो बुझेपछि बल्ल हाम्रो समय निर्धारण हुन्छ । कि कसो डोमा ?’ डोमातिर हेर्दै बोलेका थिए उनी । उत्तरमा डोमाले हो भन्ने अर्थमा मुन्टो तलमाथि हल्लाइन् । अमेरिकामा समेत नेपालमा जस्तै मुन्टो सङ्केत प्रयोग हुनु संयोगमात्र नभएर हाम्रो सभ्यताको विकास एउटै गुफाबाट भएको हो भन्ने प्रमाण पनि होला जस्तो मिक्साका बाबालाई लागिरहेको थियो । मनमा कुरा खेलाउँदा खेलाउँदै उनी उत्तर दिन अलिक ढिला भए । एरिक र डोमा उनकै उत्तरको प्रतीक्षामा थिए । 
‘ पहिलो दिन जडिबुटे, भोलिपल्ट गिद्धे, पर्सिपल्ट खाम्बुले, अर्को दिन थुम्की, पाँचौ दिन बल्ल सभापोखरी पुगिन्छ । त्यहाँ कति बस्ने हो त्यहाँबाट हिँडेका दुई दिन माथि खर्कमा पाल टाँगेर बस्नुपर्छ । तोप्केगोला सभापोखरीबाट हिँडेर तेस्रो दिन पुगिन्छ । आउँदा पनि त्यस्तै हो ।’ मिक्साका बाबाको उत्तर आएपछि उनलाई अर्को प्रश्न थपियो ‘ जलजले पोखरी कहाँ पर्छ नि ?’ 
‘ थुम्की भन्दा अलिक माथि भकारी छिरुवा भन्ने ठाउँबाट देब्रे लाग्दा सभापोखरी, दाहिने लाग्दा जलजले पोखरी पुगिन्छ । हामी फर्किदा मात्र आइपुग्छौँ जलजले पोखरी ।’ 
‘ रुट म्याप दिनु त , हेरौँ ।’ डोमाले भनिन् । मिक्साका बाबा रुट म्याप देखाउन ल्यापटप खोल्न थाले । उनले भने ‘ पख्नु है त, यहाँ छ म्याप ।’ एकैछिनमा ल्यापटप खुल्यो । उनले रुटम्याप देखाएपछि बल्ल उनीहरूको थप योजना बन्यो । उनीहरूले जम्मा बाईस दिन यात्रा गर्ने तय गरे । बाटामा करिब बाह्र दिन खर्च हुने र दस दिन अध्ययन, अनुसन्धान गर्ने निधो भयो । धेरै दिनलाई लानु पर्ने भएकाले सामग्री बोक्ने चारजना भरिया पनि लाँदा उनीहरूको टोली सात जनाको हुने पक्कापक्की भयो । बाहिर सिमसिमे पानी परिरहेको थियो । झमक्क साँझ परेको हुँदा सडक बत्ती बलिसकेका थिए । पाहुनाहरूलाई बिदा गर्न सडकसम्म छाता ओडेर आएका मिक्साका बाबाले भने ‘ म भरिया खोज्ने लगायतका काम गर्छु । भोलि साँझमा भेटौँ है त । ’ गाडीमा पसिसकेका एरिक र डोमाले झ्यालको सिसा खोलेर उसका कुरा सुन्दै थिए । एकैछिनमा हात हल्लाउँदै विदा भए ।

                                                 सात

                                गुफा सम्बन्धी अध्ययन भ्रमण

                                                                                                                                     –जयराम सुनामी
‘यतीको साथमा’ एकै बसाइमा पढेर सकिने रमाइलो हिममानवको चामत्कारिक कथामा आधारित बाल उपन्यास हो । चैनपुर र आसपासको पर्यटनको विकास, शैक्षिक उन्नति र सुशासनको नमुना पनि उपन्यासमा भेटिन्छ । यति मात्र होइन प्रविधिले मारेको फड्को झनै आश्चर्यचकित पार्ने खालको छ यो उपन्यासमा । यो उपन्यास, उपन्यासमात्र नभएर दिगो विकास, अनुसन्धान, प्रविधि, पर्ययटन, संस्कृति, शिक्षा आदि क्षेत्रमा गर्न सकिने परिवर्तनको आधारपत्र हो । उपन्यासले विकासको सम्भावनालाई उजागर गरेको छ ।
                                                                                                              पाँचखपन न.पा.–५, सङ्खुवासभा



डोमा र एरिक संसारमा बाँचेका दुई जना मात्र त्यस्ता मानिसहरू थिए जस्ले यती देखेका मात्र हैन यतीसँग मित्रता समेत गाँसेका थिए । यतीको साथमा उहिले हिमाली कन्दरामा डुल्दा भेट भएका लामा गुरुले सिकाइदिएको हिमाली जडिबुटी खाएर नै डोमा र एरिकको जीवन यतिसम्म लामो भएको थियो । सानैदेखि त्यस्ता जडिबुटीको सेवन गर्नु र हिमाली शुद्ध वातावरणमा जीउनु नै आफ्नो लामो आयुको राज भएको दुवैले निष्कर्ष निकालेका थिए । फेरि यतीले पनि उनीहरूलाई अनेक जडिबुटी सिकाइदिएको थियो । लामा गुरुले दुवैलाई यतीको साङ्केतिक भाषा बुझ्नसक्ने बनाएका थिए भन्ने कुराको प्रमाण त ‘यतीको काखमा’ नामक बाल उपन्यास छँदैछ । लामा गुरुको बौद्ध दर्शनका प्रभावमा परेर डोमा र एरिकले आजीवन अनुसन्धान, अध्ययन र खोजमै विताएका छन् । उनीहरूको साँच्चिकै उमेर सुन्दा कसैले पनि पत्याउँदैन । यसै प्रसङ्गमा डोमाले होटलको कोठामा भनिन् : 
‘ एरिक धन्न हामीले गरेको जीव वैज्ञानिक अनुसन्धानले खुसी भएर अमेरिकी सरकारले हाम्रो माग अनुसार उमेर घटाएर कागजपत्र बनाइदियो है ? नत्र कसले पत्याउँदो हो हाम्रो उमेर !’ हाँस्दै डोमाले भनिन् ‘ गिनिज बुकको सबैभन्दा बृद्ध मानिसको उमेरभन्दा पनि हामी झण्डै एक सय पचास वर्ष जेठा रहेछौँ । बिचरा गिनिज बुक ।’ 
‘ म त झन् एक सय पचपन्न वर्ष जेठो छु नि । तिमी म भन्दा करिव पाँच वर्ष कान्छी छौ ।’ अङ्ग्रेजी टोनमा बोले एरिक ‘ अब आउँदो अगस्ट ३१  देखि म त दुई सय अन्ठाउन्न वर्ष पूरा हुन्छु !’ 
एरिकले अगस्ट तीस भनेको सुनेपछि डोमा भित्ताको क्यालेण्डर हेर्दै बोली ‘ तिम्रो बर्थ डे को दिन त हामी यतीको खोजीमा सभापोखरी–तोप्केगोला ट्रयाकिङमा हुनेरहेछौँ । अगस्ट ३१ भन्नाले त्यो दिन भदौ चौध गते पर्छ । हाम्रो यात्राको छैटौँ दिन हुने रहेछ तिम्रो बर्थ डे । हामी कहाँ पुग्नेरहेछौँ हेर त अघिको योजना फाइल ।’ डोमाले एरिकलाई अह्राइन् । 
एरिकले आफ्नो गोजीबाट अघि मिक्साको घरमा बनाएको कागज हेर्दै भने ‘सभापोखरी नै पुगेका हुने रहेछौँ ।’
 Wow ! according to this rutemap the altitude of Savapokhari is 4220 m.Ú (अहो ! यो मार्ग चित्रका अनुसार सभापोखरी ४२२० मिटर उचाइमा रहेछ ।) डोमाले रुट म्याप हेर्दै भनिन् । ‘It has been two and half centuries that we have been celebrating our birthday but this is the first and perhaps the last one that we are going to celebrate in such high altitude. Doma, after completing this mission we too should abdicate our soul as Lama Guru did long ago. We should’t go against the law of nature.’ (अढाई शताब्दी भन्दा धेरै भो जन्मदिन मनाउन थालेको तर यस्तो अग्लो ठाउँमा मनाइने यो पहिलो हो, सायद अन्तिम पनि । अब यो मिसन सकेपछि हामी पनि उहिले लामा गुरुले जस्तै प्राण त्याग गर्नुपर्छ डोमा । सृष्टिको विरुद्ध पनि त जानुहँदैन ।) 
एरिकले डोमातिर हेर्दै भने । डोमा त जन्मदै बौद्धिष्ट परिवारमा जन्मिएकी थिइन् । एरिक अमेरिकन भएकाले क्रिश्चियन थियो । जब उनीहरूले यतीसँग लामा गुरुलाई भेटे तबदेखि दुबैलाई लामाप्रति अगाध श्रद्धा र विश्वासको भाव बढेको थियो । उनै लामा गुरुका ज्ञानले उनीहरूको आयु दुई शताव्दीभन्दा माथि गइसकेको थियो । उनीहरू खासमा अमेरिकन जीव वैज्ञानिकहरू थिए तथापि लामा गुरुको योग, साधना र जडिबुटीमा विश्वास गर्थे । लामा गुरुलाई अत्यान्तै आदर गर्थे । जता जाँदा पनि लामा गुरुको फोटो लिएरै हिँडेथे । अहिले पनि लामा गुरुको फोटो चैनपुरको पाँचतारे होटल ‘ द वालेश्वर भ्यू ’ होटलको भित्तामा झुण्डाइको थियो । त्यही फोटो हेर्दै डोमाले अलिक भावुक भएर अङ्ग्रेजीमा नै भनिन्
 : ‘Indeed, Lama Guru has remained inspirational figure for us to perform good works till we exit in the earth and inspired to abdicate our soul once our aim in life is fulfilled. The image of Lama Guru abdicating his soul in front of us leaving the responsibilities to conserve yeti is still in my eyes, horering. Since then, we have spent rest of our lives in studying about yeti and other endangered animals. Now, we should make this mission the last, shouldn’t we Arik?’( हो त, लामा गुरुले हामीलाई बाँचुन्जेल राम्रा राम्रा काम गर्न अनि आफ्नो जीवनको लक्ष्य प्राप्त भएपछि प्राण त्याग्न प्रेरित गर्नुभएको छ । उहाँले हामीलाई यतीको संरक्षणको कार्य गर्न जिम्मा लगाएर आँखै अगाडि प्राण त्याग गर्नुभएको आजसम्म झल्झली छ । हामीले यत्रो वर्ष यती लगायत लोपोन्मुख जीवहरूका बारेमा अध्ययन गर्‍यौँ, अब हाम्रो यो अन्तिम मिसन बनाउनुपर्छ ।) 
 उनीहरू अब सुत्ने तरखरमा लागे । सधैँ जस्तै डोमाको चुल्ठोमा एरिकले ऊसँग भएको तारवाला यन्त्र बाँधिदिँदै भने : ‘ यसलाई जोगाऊ है, हिजो पनि राती नै खुस्किएछ ।’ ‘ हैत् ! यो किन र के काम गर्ने यन्त्र हो भन्दा सधैँ सरप्राइज–सरप्राइज रटान लगाएको छ, आफूलाई चाहिँ सुत्नै अप्ठेरो हुन्छ ।’ डोमाले अलिक झर्किएर भनिन् । ‘ सरप्राइजको रहस्य चाहिँ कहिले बताउने हो ?’
 ‘ ल मेरो जन्मदिनको अवसरमा म त्यो रहस्य बताउँछु नि त ।’ एरिकले भने ।
 एरिक जीववैज्ञानिक हो तर उसलाई इलोक्ट्रोनिक्सको पनि निक्कै ज्ञान छ । अहिले उनले एउटा नयाँ यन्त्र बनाएर परीक्षण गरिरहेका छन् । यो यन्त्रले पनि यती र अन्य जीवको अध्ययनमा थप सहयोग पुग्ने उनले बताउँदै आएका छन् । यो यन्त्रबारे डोमा पनि अनभिज्ञ नै छिन् । नेपाल आएदेखि नै एरिकले सुत्ने बेलामा डोमाको टाउकामा यो यन्त्र जडान गर्न लगाउँथे । भोलिपल्ट उनीहरू पाँचखपनमा रहेका नागेश्वर र गुप्तेश्वर गुफाको अध्ययन गर्न गए । हेवा खोला तरेदेखि नै पाँचखपन नगरपालिकाको समृद्धि देखिन्थ्यो । बाह्रबिसे जोड्ने यो सडक भएर पाँचखपनका गुफा अनि घोर्ले झरना हेर्न आउने पर्यटकहरू चिल्लो सडकमा कार चिप्लाइरहेका देखिन्थे । पाँचखपनको घोर्ले झरना क्यानोइङ गर्ने पर्यटकका लागि मुख्य आकर्षण र चर्चामा रहेको छ । डोमा र एरिक पहिला नागेश्वरी गुफामा गए । धार्मिक पर्यटकहरूको घुइँचो थियो । करिब आधा घण्टा लाइनमा लागेपछि बल्ल उनीहरू गुफाभित्र छिर्न पाए । गुफामा गएर आफ्नो यन्त्र निकालेर परीक्षण गर्नासाथ एरिक खुसी हुँदै अङ्ग्रेजीमा बोले :
 ‘Wow ! the Waleshwor cave at Chainpur and this cave are connected to one another. Droma, look at this, this machine has found that machine which we have hidden yesterday inside the Waleshwor Cave.’  (अहो !चैनपुरको वालेश्वर र यो गुफा त जोडिएको रहेछ ! हेर त हिजो हामीले वालेश्वरको मुख्य गुफा नजिकको च्यापमा राखेको यन्त्रलाई यो यन्त्रले भेट्टायो ।) एरिक अमेरिकन भएकाले ज्यादै खुसी भएका बेला अङ्ग्रेजीमा बोल्थे । डोमा पनि खुसी भएका बेला नेपाली भाषामा नै कुरा गर्थिन् । भाषा आ–आफ्नो जन्मजात संस्कृति भएकाले खुसी र दु:खमा आफैँ आफ्नो मातृभाषा उच्चारित हुनुलाई उनीहरू दुबै सामान्य मान्दथे । डोमाले पनि यन्त्रमा हेर्दै चिच्याइन् : ‘ कस्तो अचम्म ∕ वालेश्वर र यो गुफा जोडिएको पो रहेछ ! भित्र कता कता ठूला र फराकिला ठाउँ पनि होलान् । यसको मुख अर्कोतिर पनि निस्किएको होला । कति जीवहरू बस्दा हुन् ! आश्चार्य ।’ 
‘The testing ray which we had sent from Waleshor cave yesterday had gone towards three different directions. One of them has come here. Now, lets send the rays from here too and watch where they go.’ 
 ( हिजो वालेश्वरको गुफाबाट हामीले पठाएको टेस्टिङ रे तीनतिर गएको थियो । एउटा यतै आएको रहेछ । यहाँबाट पनि टेस्टिङ रे पठाउँ त, कतितिर बाँडिएको देखाउँछ ।) एरिकले डोमासँग भने । टेस्टिङ रे पठाउने यन्त्र डोमाको ब्यागमा थियो । डोमाले यन्त्र निकालेर टेस्टिङ रे पठाउँदै भनिन् :
 ‘ आम्मामा ! लु हेर्नु टेस्टिङ रे त पाँचतिर पो बाँडियो त !’ डोमा चिच्याएको देखेर हातमा बेलपत्ता र पानीको करुवा लिएर आएका भक्त जन छक्क परेर उनीहरूतर्फ हेरे ।सानैदेखि अमेरिकामै बसेकी र उतैको जस्तो लुगाफाटो भएकाले डोमा पनि अमेरिकन जस्तै देखिन्थिन् । धार्मिक आस्था बोकेर आएका अन्य पर्यटकले डोमा र एरिकको कुरा बुझेका थिएनन् । उनीहरू आ–आफ्नै गफमा मस्त थिए :
 ‘ उहिल्यै एक जना कोइराला युवकले यी थुनमध्ये एउटा थुन भाँचेछ अरे, भोलिपल्ट त त्यो केटाको गाउँ नै पहिरोले बगाएछ अरे । त्यस्तो अद्भुत शक्ति भएको महादेवको वासस्थान हो यो ।’ एउटा केटाले गुफाको छानामा भएका थुन जस्ता आकृति देखाउँदै भन्यो । त्यहाँ भाँचिएको चोट पनि थियो । उसको कुरा सुन्नेमध्येको अर्कोले भन्यो : 
‘ किन भाँचेछ त ?’ 
‘ बेचेर डलर कमाउन होला ।’ अर्कैले जवाफ दियो ।
 ‘ कहिलेको कुरा हौ यो ?’ कसैले जिज्ञासा राख्यो ।
 ‘ यो गुफामा महादेव आएर सुतेको भन्ने त सबैलाई थाहा छ नि ? हो बुढा उठेर यहाँबाट हिँडेको एक हप्तापछिको कुरो अरे ! पुरै तिथि मिति पो सोध्छन् त हौ सुनेको कुरा यसो जानकारी गराइदिँदा ।’ सुरुमा कोइराला युवकको कुरा गर्नेले अलि जङ्गिएर हास्य रस मिसाएर बोल्यो । सबै जना हाँसे । घटनाको मिति खोज्ने अलिक लजायो ।
 यतिन्जेलमा डोमा र एरिकले हिजो वालेश्वर गुफामा झैँ टेस्टिङ रे एसेप्टर कसैले नदेख्ने गरी राखिसकेका थिए । त्यो एसेप्टर एउटा सानो मकैको दानो जस्तो थियो र भित्तामा टाँसिन्थ्यो । उज्यालोबाट चार्ज हुने सेल जडित उक्त यन्त्रले धेरै वर्ष काम गर्दथ्यो । मान्छे हत्तपत्त नपुग्ने भागमा त्यहाँ राखिएका नगर प्रहरीले उक्त यन्त्र टाँस्न सहयोग गरेका थिए । डोमा र एरिक गुफाहरूको अध्ययनका क्रममा भएकाले सहयोग गर्न यसअघि नै केन्द्रीय सरकार, प्रदेश सरकार हुँदै हरेक सरोकारवाला स्थानीय सरकारलाई माथिबाटै पत्राचार भइसकेको थियो । उनीहरू आज आफ्नो अध्ययनका लागि आउँदैछन् भन्ने कुरा गुफामा तैनाथ नगर प्रहरीलाई अघि नै जानकारी भएकाले काममा सहयोग भएको थियो । 
 अब एरिक र डोमा पाँचखपनकै सिबुवा सङ्ग्रहालयको अवलोकन गर्न गए । सङ्ग्रहालयमा तामाङ जातिको संस्कृति झल्काउने अनेक सामग्रीहरू संरक्षण गरिएको रहेछ । उनीहरू सहिद स्मृति प्रतिष्ठानले बनाएको सहिदहरूको मूर्तिमा पनि गएर श्रद्धापूर्वक शिर झुकाए । त्यहाँबाट उनीहरू सोझै गुप्तेश्वर गुफातर्फ गए ,गुप्तेश्वर भीरको बिचमा रहेछ । त्यो गुफामा पनि श्रद्धालु भक्त जनको उत्तिकै भीडभाड र लाम थियो । बल्लतल्त उनीहरू गुफाभित्र पसे । त्यो गुफा त्यहीँ अन्त्य भएको रहेछ । अर्को मुखको अध्ययन गर्न कुनै परीक्षण नै गर्नु नपरेपछि चाँडै त्यहाँबाट फर्किए । पाँचखपनका दुई गुफाहरूको अध्ययन भ्रमण सकेर उनीहरूले वाना बजारको एक होटलमा खाना खाए । होटलका मालिक र उनीहरू बीचमा कुराकानी भयो : 
‘ हेर्दा पर्यटक जस्तो फेरि भाषा त नेपाली नै बोल्नुहुँदो रहेछ ! घर उता, बसाइ यता हो हजुरहरूको ?’ ‘ मेरो घर यता बसाइ उता, उनको घर उता बसाइ र सङ्त यता ! त्यसैले हामी दुबै भाषा बोल्छौ,हैन एरिक ?’
' Yes, you are right.' एरिकले यतिबेला अङ्ग्रेजीमा उत्तर दियो । एरिकले डोमाको भनाइ पुष्टि गर्न हो अथवा सङ्गतले नेपाली बोल्न थालेको भन्ने कुराले आफ्नो मातृभाषाको याद आएर अङ्ग्रेजीमा उत्तर दिएको थियो भन्ने होटलवालाले बुझेनन् । होटलवालाले भने : ‘ कुन होटलमा बस्नुभएको छ ?’
 ‘ द वालेश्वर भ्यू, चैनपुर ।’ 
‘ अहिले घोर्लेझरना हेरेर फर्किनुभएको हो कि अब त्यता जाने हो ?’
 ‘ हामी खासमा सभापोखरी–तोप्केगोला ट्रयाकिङको लागि आएका तर हाम्रो गुफाहरूका बारेमा पनि केही अनुसन्धान कार्य भएको हुँदा यहाँ आएका थियौँ ।’ डोमाले उत्तर दिइन् ‘ यसपालि हामी झरना नगइकनै फिर्नुछ ।’ 
‘ उसोभए तपाईँहरू हेवाको फेवा हेरेर जानुहोस् । बाटैमा पर्छ ।’
 ‘ ल ! हेवाको फेवा रे ? के छ त्यहाँ ?’ हाँस्दै डोमाले सोधिन् ‘ हामीले अघि आउँदा त बाटामा त्यस्तो केही देखेनौ त ?’ ‘ हेवाको फेवा भनेको हेवा खोलालाई थुनेर बनाइएको कृत्रिम पोखरी हो । यो पोखरी चैनपुर र पाँचखपन नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको हो । अघि तपाईँहरू आउँदा एउटा खोला तर्नुभयो नि , हैन ?’ होटलका साहु पर्यटकहरूले उनका प्रश्नको उत्तर हो भन्ने सङ्केतमा मुन्टो हल्लाएकोबाट पाएपछि अगाडि भन्छन् ‘ हो त्यो हेवा खोलालाई यहाँ तल जँघारे भन्ने ठाउँभन्दा एक किलोमिटर तल थुनेर पोखरी बनाइएको छ । यो भन्दा धेरै के भन्नु, गएर हेर्नु अनि रमाएर फिर्नु । उतैबाट चैनपुर जाने सडक छँदैछ ।’ होटलका साहुजीको सुझाव अनुसार एरिक र डोमा हेवाको फेवा हेर्न अर्को बाटो चैनपुरतर्फ लागे । नभन्दै हेवाको फेवा भन्ने कृत्रिम तालमा रमाउने थुप्रै आन्तरिक र बाह्य पर्यटकहरू देखिए । खोलो थुनेर बनाइएको ठूलो पोखरीको अलिक छेउतिर पौडी खेल्नेका लागि, बीच भागमा बोटिङ गर्नेका लागि र माथिल्लो भागमा माछा हेर्नेका लागि छुट्याइएको रहेछ । पोखरीको बीचमा आकर्षक इन्द्रेणी आकारको पुल बनाएर इन्द्रेणीकै सात रङ्ले सजाइएको रहेछ । पोखरीबाट उठाइएको पानीका फोहरामा फोटो खिच्ने र डुङ्गा सयर गरिरहेका यात्रीलाई घुमिरहेको फोहराले भिजाउँदा चिच्याएको आवाजले त्यो क्षेत्र थर्किरहेको थियो । त्यो पोखरीमा जमाइएको पानीबाट सञ्चालित जलविद्युतले यी दुई नगरवासीलाई पुगेर वाँकी भएको नेपाल विद्युत प्राधिकरणलाई बेचिएको रहेछ । आफ्नै उत्पादन भएकाले यी दुई नगरपालिकामा प्रति महिना एक सय युनिट सम्म विद्युत चलाउने ग्राहकलाई पैसा तिर्नु पर्दैन । उनीहरू निक्कै अबेर मात्र होटल आइपुगे । एरिकलेले मिक्साका बाबालाई आज उनीहरूका घरमा नआउने भनेर फोन गरिदिए । मिक्साका बाबाले हुन्छ भनेर फोन राखेको केही बेरमै फेरि उताबाट डोमालाई फोन आयो : ‘ हेल्लो ’
 ‘ गुड इभिनिङ डोमा म्याडम । म मिक्सा बोलेको ।’
 ‘ वाओ ! गुड इभिनिङ मिक्सा , के छ खबर ?’ 
‘ तपाईँहरू आज हाम्रोमा नआउने कुरा सुनेर दु:ख लाग्यो । किन नआउनुभएको ?’ 
‘ अहो ! हामी आज अलिक गलेर आउन सकेनौँ, भोलि आउँछौ है ।’ 
‘ भोलि लागेर हाम्रो स्कुल एक महिनाका लागि बिदा हुँदैछ । तपाईँहरूसँग यतीका बारेमा थुप्रै गफ गर्नुछ । भलिदेखि हामी फुर्सद पनि हुन्छौँ, भोलि पक्कै आउनु है त ।’
 ‘ ओके मिक्सा ।’
 ‘यहाँ तपाईँसँग मुकुम बोल्ने अरे ।’ 
‘ ए हो, ल देऊ त मुकुमलाई फोन ।’ 
‘ नमस्कार डोमा मेडम ।’ 
‘नमस्कार मुकुम ।’ 
‘अनि यतीसँग बस्दाको अनुभव लेख्न थाल्नुभयो त ?’ 
‘ ए ! कहाँ लेख्न भ्याएकै छैन नि, अब आज चाहिँ त्यही लेख्नुपर्‍यो भनेर त्यता नआएको ।’ डोमाले हिजो यतिसँग आफू रहँदाको अनुभव लेख्ने भनेर गरिएको निर्णय बिर्सिएकी रहिछिन् । ‘‘ भोलि आउँदा त्यो लेख लिएर आउनु है, नत्र आजै इमेल गरिदिनु न त, हुन्छ ?’ मुकुम आफ्नो इमेल ठेगाना बताउन खोज्दैथिए । डोमाले बीचैमा कुरा काटेर बोलिन् : ‘ हैन भोलि आउँदा लिएर आउँछु, अब लेख्ने पो त । मैले लेखिसक्दा त तिमी सुतिसकेका हुन्छौ ।’ 
‘ हवस् त, भोलि भेटौँला ।’
 ‘ ओके मुकुम, बाइ–बाइ ।’ फोनको कुराकानी सुनिरहेका एरिकले भने ‘ मिक्सा र मुकुमले पनि तिमीलाई लेखक बनाइछोड्ने भए ।’
 ‘ त्यै त , अब लेख्नैपर्ने भयो । पहिला पनि हामीले धेरै पटक लेख्ने त भनेका थियौँ तर यस्तो फोर्स गर्ने कोही नभएर लेखिएन । सिर्जनालाई पनि दवाब चाहिँदो रहेछ । म मात्र हैन, हामी दुबै मिलेर लेख्नुपर्छ । अब हरेक रात लेखौँ न है ?’ 
‘ प्रयास गरौँ न त ।’ एरिकले भने ‘ अब सुरु पो कहाँबाट गर्ने ?’ मिक्साले आफ्नो घडीमा जडित ल्याबटप सञ्चालन गरिन् । उनीहरूसँग भएको घडी ल्याबटप सामान्य प्रकाशले नै चार्ज हुन्थ्यो । सञ्चालन गरेपछि त्यसले प्रोजेक्टरले जस्तै दुईतिर प्रकाश दिन्थ्यो । एकातर्फको प्रकाशपुञ्जलाई नजिकैको भित्तामा ठोक्काएर मनिटर बनाउन मिल्थ्यो । अर्कोतर्फको प्रकाश पुञ्जबाट किबोर्ड र माउस बन्दथ्यो । उनीहरू दुबै मिलेर लेख्न थाले । टाइप चाहिँ डोमाले गरिन् । एरिक अनुभव त सुनाउँथे तर उनी नेपाली भाषामा कमजोर थिए । डोमाले नै एरिकले भनेका महत्त्वपूर्ण अनुभवहरू नेपालीमा अनुवाद गरिन् । आज उनीहरूले फरक फरक दुई भाग लेखे । सुत्ने बेलामा डोमाले भनिन् :
 ‘ प्रत्येक भेटमा एक भागमात्र दिनुपर्छ मिक्सा र मुकुमलाई ।’ 
‘ हो, हामी पनि हरेक रात लेखौँ । ती दुई नानीका सङ्गतले हामी पनि लेखक समेत हुने भयौँ । राम्रा कामको प्रेरणा ठूलाबाट मात्र पाइने होइन रहेछ ।’ लामो हाइ गर्दै एरिकले अगाडि थपे ‘ कसैले नबाँचेको आयु पनि नेपालकै लामा गुरुबाट पाइयो , अमेरिकन जीव वैज्ञानिक पनि नेपालकै यतीले बनाइदियो । जीवन पनि नेपालकै चेलीसँग बित्यो अब नेपालकै नानीहरूका प्रेरणाले लेखक भएर नेपालमै मर्ने रहर छ ।’ हातको घडी हेर्दै एरिकले थपे ‘अब सुत्नुपर्छ । बरु भोलि चाहिँ कुन भाग दिने उनीहरूलाई ?’ डोमाले ल्याबटप निभाइसकेकी थिइन् । आफ्नो हातमा त्यसलाई बाँध्दै भनिन् ‘ विनोदका उपन्यासका आधारमा उनीहरू प्रश्न सोध्ने हुन् त्यही भएर ती चमेरे मानिसका बारेमा लेखिएको कुरा प्रष्ट पारेर लेखिएको भाग दिउँला, हुन्न ?’ रात धेरै बितिसकेको थियो । एरिक र डोमा आ–आफ्ना कोठामा सुत्न गए ।

                                                            आठ
                                  गर्मी विदा हुने दिनको रमाइलो


‘भोलि भाद्र ४ गतेदेखि आगामी भाद्र १८ गते मङ्गलबार सम्म हाम्रो यो वालेश्वर माध्यमिक विद्यालयमा गर्मी बिदा हुँदैछ । बिदाका समयमा सबै विद्यार्थीहरूलाई मिल्दो रमाइलो गर्न अनि आ–आफूले लिएका परियोजना कार्यहरू समयमै पूरा गर्न अनुरोध गर्दछु ।’ विद्यालयका प्रधानाध्यापक डा. वाङ्जु सेर्पाले प्रार्थना सभाका अघि भाषण गर्दै भने । उनले अगाडि थपे ‘ अब पन्ध्र दिनपछि  खुल्दा स्कुलमा हामीले आमूल परिवर्तन गरिसकेका हुनेछौँ । कसतो र के–के परिवर्तन भन्ने कुरा सरप्राइज राखिनेछ । सबैलाई गर्मी बिदाको शुभकामना, धन्यवाद ।’ डा. वाङ्जुको भाषणपछि सबैले तालि बजाए । त्यसपछि कक्षा सुरु भयो ।
कक्षा शिक्षकले हातमा ल्याएका कागज बाँड्दै भने ‘ यो परियोजना कार्यहरूको सूची लिएर जाऊ, आफूलाई मन परेका प्रत्येक विषयका दुई–दुई ओटा मात्र गरेर ल्याउँदा हुन्छ ।’
मिक्साले आफूले पाएका परियोजना कार्यहरूको सूची हेरिन् ।
विषय: नेपाली
१) सय शब्दहरू चार्ट पेपरमा लेखी ती शब्दका उल्टो अर्थ आउने शब्द ( विपरितार्थी शब्द ) लेख ।
२) सय शब्दहरू चार्ट पेपरमा लेखी ती शब्दका उस्तै अर्थ आउने शब्द ( पर्यायवाची शब्द ) लेख ।
३) कुनै शीर्षकमा दुई कविता लेख ।
४) तिम्रा हजुरबा वा हजुरआमाको जीवनी लेख ।
विषय : गणित
१).............................
‘आहा ∕ कस्तो रमाइलो ।’ परियोजना कार्य हेर्दा हेर्दै मिक्साको मुखबाट फुत्त खुस्क्यो । चकमन्न कक्षामा मिक्साको आवाज शिक्षकले सुनिहाले । शिक्षकले मिक्सालाई लक्ष्यित गर्दै भने ‘ तिमी त हाम्रो स्कुलकी नयाँ छात्रा, आहा पनि भनेको सुनेँ, बिदामा गर्नुपर्ने परियोजना कार्य निक्कै राम्रा लागे क्या हो ? पहिलाको तिम्रो बोर्डिङमा कस्तो काम दिइन्थ्यो बिदामा ? ’
‘ त्यहाँ त भ्याकेसन होमवर्क दिन्थे । कसले धेरै दिने भन्ने होडवाजी चलेको जस्तो लाग्थ्यो सरहरूको बिचमा । बसेर गरेको गर्‍यै गर्दा  पनि बिदा सकिन्थ्यो , होमवर्क नसकिने तर हामी सबै गर्दैन थियौँ । पछि स्कुल लागेपछि सरहरूले राम्ररी हेर्नु पनि हुँदैन थियो । हेर्नेले पनि नपढी राइट दिनुहुन्थ्यो । के के दिने त्यो सरहरूकै खुसि हुन्थ्यो । यहाँ छानी छानी अनि थोरै मात्र गर्नुपर्ने रहेछ । आफ्नो रोजाइको गर्न पाउँदा रमाइलो हुने रहेछ ।’ मिक्साले उठेर जवाफ दिइन् ।
‘ यहाँ त प्रत्येकले अनिवार्य रूपमा यो गर्नै पर्छ नत्र प्रधानाध्यापकले तोकेको कार्यवाही गरिन्छ । राम्रो गर्नेहरूलाई पुरस्कृत पनि गरिन्छ । यो थोरै भए पनि गर्न निक्कै समय लाग्छ, तर अल्छी लाग्दैन ।’
उता मुकुमका कक्षा शिक्षकले पनि उसैगरी परियोजना कार्यको सूची बाँडे । मुकुमले शिक्षकलाई उठेर सोधे ‘ सर परियोजना कार्य भनेको भ्याकेसन होमवर्क हो ?’
‘ परियोजना कार्य भनेको प्रोजेक्ट वर्क हो । यहाँ भ्याकेसनको लामो समयमा महत्त्वपूर्ण प्रोजेक्टहरू छानेर गर्न दिने चलन छ । होमवर्क त सधैँजसो गरेकै हौ, हैन र ?’ शिक्षकले भने ।
‘ यो गर्दा र नगर्दा के हुन्छ रञ्जन ?’ मुकुमले रञ्जनलाई सोधे ।
‘पोहोरको साल सबैभन्दा राम्रो प्रोजेक्ट वर्क गर्नेलाई स्कुलले गोल्ड मेडल दियो । मैले पनि पाएको थिएँ । नगर्नेलाई त हेड सरले अनेक तरिकाको कार्यवाही मतलब पनिसमेन्ट तोक्नुहुन्छ नि ∕ गर्नुपर्छ । आफूलाई सजिलो लागेको छानेर गर्ने त हो ।’ रञ्जनले स्पष्ट पारिदिए ।
‘ मलाई त होमवर्क गर्न मात्र आउँछ, तिमी सिकाइदेऊ है रञ्जन ।’ अलिक निन्याउरो भएर मुकुमले अनुरोध गरे ।
‘ ए, भैहाल्छ नि , म सिकाइदिउँला तर तिमी त झन् त्यत्रो ठूलो सुविधासम्पन्न सहरको बोर्डिङ् स्कुलमा पढेको मान्छे, आफैँ पनि जान्नुपर्ने हैन र ? ।’ रञ्जनले प्रश्न गरे ।
‘ त्यो बोर्डिङमा बुकको एक्सरसाइज चाहिँ सबै आउने पार्न लगाउँथे, यस्तो बाहिरको कुरा गर्न लगाएर झ्याउ गर्दैनथे ।’ अलिक दिक्क लागे झैँ स्वरमा बोले मुकुम ।
‘ मैले पनि पहिला काठमाडौँको बोर्डिङमा पढेको नि थ्री क्लाससम्म । बोर्डिङमा सिकाउने हैन रटाउने मात्र गरे भनेर मेरा बाबाले यता सारिदिनुभएको । त्यस बेला म बोर्डिङ छोडेर स्कुल आउनुपर्दा साह्रै द:ुखी भएँ । काठमाडौँमा त सरकारी स्कुल पढ्नेलाई बोर्डिङमा पढ्नेले बसबाट जिस्क्याउने चलन थियो । त्यस्तै सम्झिएको त यहाँको सरकारी स्कुल ती बोर्डिङभन्दा कता हो कता राम्रो रहेछ । पोहोर भएकोप्राइमरी स्टुडेन्ट नेसनल पोएम कम्पिडिसनमा म फेरि काठमाडौँ गएँ । मैले पहिले पढेको स्कुलको मेरो साथी राजा डङ्गोल तेस्रो अनि पोखराकी बहिनी दोस्रो भइन् । म चाहिँ प्रथम भएँ । वास्तवमा हामीले बाहिरको काम कुरा गर्न र सिक्न जरुरी रहेछ । बोर्डिङमा किताबको मात्र गराउने चलन ठीक होइन ।’ रञ्जनले बेलिविस्तार लगाए । मुकुमले कति बुझ्यो, कति बुझेन तर बोर्डिङ छोडेर सरकारी स्कुल आउने बेला सबैलाई दु:ख लाग्ने रहेछ भन्ने कुराले उसलाई छोयो । अनि  मनमनै सम्झियो ‘ साँच्चि, किन ठूला ठूला सहरका सरकारी स्कुलमा चाहिँ राम्रो पढाइ नभएको होला ? यहाँको सरकारी स्कुलमा त बोर्डिङमा भन्दा राम्रो हुँदो रहेछ । नत्र कसरी रञ्जनले नेसनल कम्पिटिसन जित्थ्यो त ?’
आज  प्रत्येक कक्षामा बिदाको लागि वितरित परियोजना कार्य के कसरी गर्नसकिन्छ भन्ने विषयमा प्रत्येक शिक्षकले हरेक प्रश्नका बारेमा छलफल चलाए । छलफल पछि मुकुमलाई पनि ती कार्यहरू गर्न सकिन्छ भन्ने  आँट बढ्यो । शिक्षक नभएका बेलामा हरेक कक्षाका विद्यार्थीहरूले अब पन्ध्र दिनपछि के के परिवर्तन हुने होला भनी अनेक अड्कल काटे । बसमा पनि मिक्सा र मुकुमबिचमा हुनसक्ने परिवर्तनका बारेमा गफ भए । प्रार्थना सभामा प्रधानाध्यापकले भनेको परिवर्तनको विषयले आज सबैका मनमा जिज्ञासा र उत्सुकता भरियो ।

                                                    नौ
                                     डोमा र एरिकको पहिलो लेख
चित्रकार -मनिष राई  , मकालु अरुण स्कुल , चैनपुर कक्षा -१० 

                                                                                                                                        भैरव आङ्ला
लेखक एकु घिमिरेको तेस्रो कृति 'यती साथी ' नेपाली साहित्यमा नौलो आयाम र प्रयोग हो भन्ने लाग्छ किनकी बिषयवस्तु अनुसार जुन भाषामा कुरा गरिएको छ त्यही भाषा नै प्रयोग गरिँदिँदा त्यो भाषाका वक्ताले अपनत्व बोध गर्दछन् । यस किसिमको प्रयोगले नेपालेली भाषालाई जिवित राख्न पनि ठुलो भूमिका खेल्छ । फरक प्रयोग र बिषयवस्तु बोकेर आएको कृति लोकप्रिय बनोस् , मेरो शुभकामना ।    
                                                                                                                धरान-१४ , सुनसरी

यतीको खोजीमा गएका बेला हामी सानै थियौँ । लामा गुरुसँग शिक्षा नलिएसम्म हामी तीनै जना एक अर्काको भाषा बुझ्न सक्दैन थियौँ । एरिक अमेरिकन, म नेपाली त्यही पनि स्कुल कहिल्यै नटेकेकी अनि यती त झन भाषादेखि अन्जान प्राणी । म र एरिक त कतिपय कुरा सङ्केतले पनि बुझ्न सक्ने भएका थियौँ तर यती भने गजधुम्म बसिरहन्थ्यो । जब हामीले लामा गुरुसँग शिक्षा लियौँ तब सबैले एक अर्काको भाषा बुझ्न सक्ने भयौँ । यती प्राणी भएकाले उसले सीमित साङ्केतिक भाषा मात्र बुझ्थ्यो । उसको भाषामा उत्पादनशीलता थिएन तर हामी भने अनेक गफ गरेर समय कटाउँथ्यौँ । दिनमा प्रत्येकले आफूले सुनेको एउटा कथा साथीलाई सुनाउनुपथ्र्यो । यति भने कथा बुझ्दैनथ्यो । ऊ रातमा चाँडै निदाउँथ्यो । हामी चाहिँ यतीकै अँगालामा बेरिएर कथा सुनाउँथ्यौ । यसै क्रममा एक दिन एरिकले जोनाथन स्विफ्टले लेखेको गुलिभरको भ्रमण भन्ने कथा सुनायो ।  त्यो कथा सुनेको रात मैले देखेको सपना चाहिँ विनोदले उनको उपन्यासमा साँच्चै भएको जस्तो पारेर लेखेछन् । वास्तवमा हिमाल आसपास त्यस्ता चमेरे मानिस अजसम्म कहीँ कतै देखिएका छैनन् तर सुत्ने बेलामा सुनेको त्यो कथा र हामीले भोगिरहेको नियति मिलेर मेरो सपना त्यस्तो आएको थियो होला । विनोदले मेरो सपना किन साँच्चै जस्तो पारेर लेखे, त्यो कुरा उनैलाई सोध्नुपर्छ ।
यतीलाई अमेरिका लिएर जाँदा काठमाडौँको होटलमा हामीलाई भेट्न आउने थुप्रै पत्रकार, जीवशास्त्री र वैज्ञानिकहरूका भीडमा विनोद पनि आएका रहेछन् । पछि उनले यतिको काखमा भाग एक र दुई लेखिसकेपछि हामीसँग सम्पर्क गरे । ठेगाना मागेर हुलाक मार्फत उपन्यासका दुबै भाग पठाइदिए । मैले दुई रात लगाएर एरिकलाई पनि सुनाएँ । पछि हामी एउटा कार्यक्रममा बेलायत गएका बेला मैले विनोदलाई इमेल गरेर हामी बसेका होटलमा बोलाएँ । भेटमा मैले उनलाई ‘यतिको काखमा भाग तीन पनि लेख्ने कि ?’ भनेर सोधेँ । उनले अरु नै विषयमा लेखिरहेको बताए ।
 एरिकले तस्कर थोमसले बोकेको मोबाइल फोन प्रहरीलाई बुझाए । त्यो फोनको बारेमा विनोदले पनि उपन्यासमा लेखेकै छन् । त्यो फोन नभएको भए हामीलाई  घरतर्फ सम्पर्क गर्न अलिक ढिलो हुने थियो । यती हिमाली क्षेत्रभन्दा तलको गर्मी ठाउँमा बस्न सक्दैन । त्यो प्राकृतिक एवम् वंशानुगत गुण नै हो । शरीरको भुत्लाले पनि उसलाई न्यानो राख्छ । तर यति हिमाली कन्दरामा भएका ओडारबाट भित्रभित्रै छिरेर पहाडी गाउँसम्म पनि डुल्न आइपुग्थ्यो । अँध्यारामा पनि यती नठोकिइ हिँड्न सक्छ । त्यस बेला यतीले हामीलाई ओडारको बाटो अनेक बस्ती र जङ्गलसम्म पुर्‍याउँथ्यो । गोठ र घरबाट दूध, छुर्पी, कुराउनी, नौनी अनि अन्य खानेकुरा यतीले चोरेर ल्याउँथ्यो । हामी रमाउँदै खान्थ्यौँ । त्यो बेला हाम्रो ध्यान यतिलाई रिझाएर अमेरिका लैजानु मात्र थियो । सानै भएकाले हामी आज्ञाकारी थियौँ । ठूलाले पनि त्यतिमात्रै अह्राएका थिए तर जीवनको यो मोडमा आइपुग्दा हामीलाई फेरि अन्य यती र उनीहरू बस्ने गुफाको अध्ययन गर्न मन लाग्यो । सोही अध्ययनलाई पूर्णता दिन अमेरिकी र नेपाल सरकारको समेत स्वीकृतिमा सङ्खुवासभा अनि त्यसका आसपासका क्षेत्रमा भ्रमण गर्न आएका छौँ । सङ्खुवासभामा भेटिएका मिक्सा र मुकुमको प्रेरणाका कारण यतीसँगका हाम्रा अनुभव लेख्न थालेका छौ । बाँकी अर्को भागमा लेख्नेछौँ ।

                                                         दश
                                      फ्लाइङ कारमा अन्तुडाँडा
चित्रकार -सम्पन्न सुवेदी  , आइडियल इङ्लिस बोर्डइङ स्कुल , धरान   कक्षा -७  


                                                                                                                                हेनसेन याक्खा 
बहुमुखी प्रतिभाका धनी साहित्यकार एकु घिमिरेको यो उपन्यासभित्र रहेको प्रकृति र संस्कृतिप्रेम नै तारिफयोग्य छ । कृत्रिम मान्यताहरूलाई भात्काउँदै नयाँँ आयाम र गन्तव्य समातेर लेखिएको 'यती साथी' सफल बनोस् भन्ने शुभकामना ।
                                                                                                                            धरान-१६ , सुनसरी   


एरिक र डोमाको लेख पढेपछि मुकुमले मिक्सासँग भने : ‘ डोमा र एरिक त गुफा खोज्दै पो आएका रहेछन् है ? हाम्रो मावलको अन्तु डाँडामा भएको गुफामा पनि देखाउन लानुपर्छ ।’ मिक्साले मुकुमलाई जिस्क्याएको भावमा भनिन् : ‘ अँ, उँभो हिमालतिरका गुफा हेर्न आएका मान्छे जाँदा होलान् नि अन्तु डाँडाको गुफा हेर्न ?’ अलिक झोक्किएर मुकुमले थपे ‘ हो, मेरो कुरा त कहाँ पत्यार लाग्छ र सुरुमा । अस्तिनै पनि मैले एरिक र डोमा अमेरिकाबाट आएका भन्दा यतिको कुरा पक्कै तिनलाई थाहा होला भनेपछि हाँसेर उडाउन थाल्ने तिमी नै थियौ हैन ? त्यो त उपन्यासको कथा पो हो भनेको हैन ? पछि कसरी सत्य भयो ?’ टाउको हल्लाउँदै छातीमा हातले हान्दै मुकुमले थपे ‘ म त यतीको काखमा भएको लामा गुरु पो हुँ, चोला फेरेर तिम्रो भाइ बनी जन्मेको ।’ ‘ अँ लु होला होला, मैले पत्याएँ ।’ मुकुमको फुर्ति देखेर मिक्साले भनिन् ‘ तिमी पक्कै त्यही भूत, भविष्यत सबै जान्ने लामा गुरु नै हौ । त्यही भएर त वालेश्वर स्कुल नराम्रो होला भनेर दुई दिन रोएर बस्यौ !’ खितिति हाँसिन् मिक्सा । ‘ वर्तमानको कुरा अलिक देख्दैन हौ यो मेरो मन्त्रले !’ मुकुमले अझै गफ दिइरहेको थियो । सधैँ झैँ उनीहरूको कोठामा बेल बज्यो । बेलको मीठो नेपाली लोकलयलाई मुकुमले पनि साथसाथै गायो : ‘रेशम फिरिरि.....................................’ आमाले ढोका खोल्दै भनिन् : ‘ स्वागतम् ! स्वागतम् !! स्वागतम् !!!’ ‘धन्यवाद, धन्यवाद’ उत्तर दिँदै एरिक र डोमा बैठक कोठाभित्र पसे । मिक्सा र मुकुमले उनीहरूलाई हात जोड्दै एकैसाथ भने: ‘सेवारो ।’ ‘मुकुमलाई त मीठो गीत पनि गाउन आउँदो रहेछ ! लु एउटा मीठो लोकगीत गाएर सुनाऊ त ।’ डोमाले अनुरोध गरिन् । एरिकले पनि डोमाको कुरामा सहमति जनाउँदै भने ‘ हो हो, ल गीत सुनेर रमाइलो गरौँ ।’ मिक्सा र मुकुमको स्वर राम्रो छ । सानै हुँदादेखि उनीहरूले आफ्ना बाबाले मादल र सारङ्गी बजाएर लोकगीत गाएको देखेका छन् । त्यसैमा अभ्यस्त पनि भएका छन् । यस अघिका बोर्डिङ् स्कुलहरूले नेपाली भाषा र लोकगीतप्रति उनीहरूको मनमा हीन भावना उब्जाइदिएको थियो । चैनपुरको स्कुल गएको थोरै दिनमै उनीहरू लोकगीतप्रति सकरात्मक बनेका छन् । आज मुकुमले एक्लै गाउन अलिक लाज मान्यो । मुकुमको लजालु बानी आमालाई राम्ररी थाहा थियो । ‘ लु मिक्सा र मुकुम दुबैजना भएर गाउ न त ।’ आमाले भित्ताम झुण्डाएको मादल झिकेर बजाउँदै भनिन् । मुकुमले अर्को भित्तामा झुण्डाएको सारङ्गी रेटेर धुन निकाल्यो । एरिक र डोमाले पनि ताली बजाएर साथ दिए । मिक्सा पनि नजिकै आइन् अनि गीत सुरु भयो : ‘ साउने खोला उर्लेर आउँदा.........................’ गीत सकिएपछि डोमा र एरिकले उठेर ताली बजाए । वास्तबमा मुकुम र मिक्सामात्र हैन सिङ्गै परिवार नै नेपाली लोकगीत राम्ररी गाउन सक्छन् । मिक्साका बाबाले त केही लोकगीत रेकर्ड समेत गरिसकेका छन् । उनी लोकगीत सङ्कलक पनि हुन् । जागिर र ट्रयाकिङका क्रममा उनी जहाँ जहाँ पुग्छन् त्यहाँबाट उनले लोकभाका पनि सङ्कलन गरिहाल्छन् । उनका विचारमा लोकगीत गाउन राम्रो स्वर चाहिँदैन, यो त सर्वसाधारणको कण्ठमा आफैँ झन्कृत हुने लय हो । जसरी दसैँ मान्छांै, तिहारमा देउसी खेल्छौँ उसैगरी गाउने हो लोकगीत । लोकगीत बेगर कुनैपनि नेपाली चाडपर्व रमाइलो हुँदैन । यात्रामा पनि लोकगीतले थकान मेटाउँछ । लोकगीत हरेक समुदायको खुशी हो । बाबाले लोकगीतका बारेमा सधैँ यस्ता भनाइहरू राखेको सुनेर मिक्सा र मुकुमले पनि धेरै कुरा जानिसकेका छन् । लोकगीतका बारेमा दुबैको धारणा स्पष्ट भइसकेको छ । त्यसैले मौका पर्नासाथ उनीहरू लोकगीत गाइहाल्छन् । ‘ ल अब तपाईँहरूले भनेको अनुसार मैले हामीले गायौँ । अब मैले भनेको पनि तपाईँहरूले मान्नुपर्छ नि ।’ मुकुमले एरिक र डोमातर्फ हेर्दै भने ।
 ‘ हामीले मानेकै त छौँ नि, तिमीहरूले भनेर यतीसँगको हाम्रो अनुभव लेख्न थालेको हैन ?’ डोमाले प्रश्नै प्रश्न गरिन् ‘ बरु कस्तो लाग्यो हाम्रो पहिलो लेख ?’ 
‘ राम्रो लाग्यो , अर्को भागको प्रतीक्षामा बसेका छौँ भन न ।’ आमा केटाकेटीलाई उत्तर दिन सिकाउँदै हातमा चियाको कप लिएर आइन् ।
 ‘ यो त आमाको उत्तर भइगयो नि, नानीहरूको पनि उत्तर पाऊँ न ।’ एरिकले हास्दै भने ।
 ‘ लेख पढेपछि तपाईँहरू अहिले पनि यती र यती बस्नसक्ने गुफा खोज्दै आउनुभएको भन्ने थाहा पाएर नै मैले अघि हाम्रो कुरा मान्नु भन्दै थिएँ । तपाईँहरूलाई पनि फाइदा पुग्ने कुरा छ क्या ।’ मुक्कुमले सानसँग भने ।
 ‘ के कुरा हो त्यस्तो ? ल सुनाऊ त । त्यस्तो राम्रो कुरा भन्नलाई किन ढिला गरेको त ?’ डोमाले भनिन् ।
 ‘ अघि तपाईँहरू नआउँदै यसबारे कुरा हुँदा मिक्साले मन पराइनन्, त्यही भएर ढिला गरेको ।’ गुथ्थ अनुहार पार्दै मिक्सातिर हेरेर मुकमले भने । 
‘ हामीलाई मन पर्छ होला नि त, के हो कुरा सुनाऊ त ।’ डोमाले मुकुमलाई मुसार्दै भनिन् । 
‘ हाम्रो मावल भन्दा माथि अन्तु डाँडा भन्ने अग्लो डाँडा छ । त्यो डाँडाको नजिकै पनि गुफा छ । त्यो गुफाको अलिक पर पुगेर ढक्की पैसा हाल्दा धेरैबेर बजेको सुनिन्छ ।’ मुकुमले बेलिबिस्तार लगाउँदै भने ‘ हाम्रो बाजेले भन्नुभए अनुसार धेरै वर्ष अघि गाईवस्तु चराउन गएकी एकजना दिदी हराइन् रे । पछि उनको चुल्ठो र कपडामात्र त्यो गुफामा भेटियो अरे । तपाईँहरूको त्यो लेख पढेपछि मलाई ती महिलालाई यतीले नै पो खाएको थियो कि जस्तो लाग्यो । हामी भोलि इलामको अन्तु जाँदैछौँ, तपाईँहरू पनि हिँड्नुहोस् । त्यहाँको गुफाको पनि अध्ययन गर्नुहोस् ।’ मुकुमको कुरा सुनेर एरिक र डोमा हाँसे । मुकुमकी आमाले पनि गुफाको बारेमा थप चर्चा गरिन् । डोमा र एरिकलाई पनि नेपालको पर्यटकीय जिल्ला इलाम जाने रहर लागेको थियो । अझ गुफाको पनि कुरा सुनेपछि उनीहरूले जाने सल्लाह गरे तर सभापोखरी तोप्केगोला ट्रयाकिङ जाने तयारीमा यो यात्राले बाधा गर्छ कि गर्दैन भन्ने बारेमा मुकुमका बाबासँग छलफल गरेर मात्र निधो गर्ने कुरा भयो । हातको चिया पिइनसकी बाबा पनि सामानको भारी बोकाएर आइपुगे । एरिक र डोमाले बाबासँग इलाम जाने कुरा सुनाए । एकै छिनको छलफलपछि बाबाले भने:
 ‘ तपाईँहरू नुनढाकीको बाटो गुफा जानू । त्यहाँबाट मदन भण्डारी राजमार्ग हुँदै ताप्लेजुङ पुगेर मेची राजमार्ग हुँदै इलाम पुग्नू । इलामबाट फिक्कल पुगेपछि मेची राजमार्ग छोडेर पूर्व जानू । भोलिपल्ट बिहान सूर्योदय पनि हेर्नु । गुफाको अध्ययन गरेर झापाको बाटो फिर्नू ।’ मिक्साका बाबाले भित्ताको क्यालेण्डर हेर्दै भने ‘ आज भाद्र चार गते मङ्गलबार भयो । तपाईँहरू सात गते शुक्रबार चाहिँ जसरी पनि आइपुग्नु पर्छ । आठ र नौ गते झोला मिलाउने, दश गते त........।’ उनले वाक्य पूरा नगरी चुड्की बजाएर हातले सभापोखरी तर्फ इसारा गर्दै कुरा थपे ‘जानुहुन्छ भने मिल्ने रहेछ ।’ 
 डोमा र एरिकले एकछिन अरुले नबुझ्ने भाषामा गफ गरे । धेरै जना भएका ठाउँमा विशेष सल्लाह गर्नुपर्दा उनीहरू फरक भाषामा बोल्दा रहेछन् । अर्कै के कुरामा सहमति भए जस्तो उनीहरूको हसाइ हेर्दा प्रष्ट थियो, अब डोमा बोलिन् : 
‘ हामी लामो ट्रयाकिङ सुरु गर्नुअघि कम्तिमा तीन दिन आरामसँग बस्ने गर्दछौँ । यात्राका लागि बानी होस् भनेर विहान र साँझमा हिँड्ने अनि समयमै सुत्ने गर्दछौँ । पाँच वा छ गतेलाई फ्लाइङ कार रिजर्व गरी अन्तु जान मिल्दैन ? यहाँ चैनपुर हेलिप्याडमा पनि अस्ति दुईओटा फ्लाइङ कार त देखेका थियौँ । हैन एरिक ?’ डोमाले मिक्साका बाबालाई जिज्ञासा राखिन् अनि समर्थनका लागि एरिकलाई गुहारिन् । एरिकले हो भन्ने सङ्केतमा तल माथि मुन्टो मात्र हल्लाए, आवाज निकालेनन् ।
 ‘फ्लाइङ कार त छन् तर नियम नबनाई चलाउन नदिने भनी नगरपलिकाले रोकेको समाचार सुनेको थिएँ । अहिले नियम बनिसक्यो कि, मेयर साहेबलाई सोधौँ है त ?’ मिक्साका बाबा मोवाइलमा बोल्दै बाहिर निस्किए । फ्लाइङ कारको कुरा सुनेर मिक्सा र मुकुम मख्ख परे तर नगरपालिकाले रोकेको भन्ने कुराले उनीहरूलाई चिन्ता पनि लाग्यो । बाबा फोनमा बोलेर फर्किनु अघि मुकुमले अलिक रिसाएको भावमा भने  :
 ‘ हैन फ्लाइङ कार चल्न किन रोक्नु पर्‍यो नगरपालिकाले ? डेभलपमेन्ट विरोधी हुन् क्यारे यिनीहरू !’ 
‘ कहाँ विकास विरोधी हुनु ? उता फ्लाइङ कार सगरमाथा बेस क्याम्पमा लान थालेपछि त्यहाँका पर्यटन व्यवसायी विरोधमा उर्लेर आन्दोलन गरेको समाचार हेरेनौ अस्ति ? काठमाडौँबाट एकैचोटी बेस क्याम्प आयो अनि एक छिन रमाएर काठमाडौँ नै फर्किहाल्यो । त्यो क्षेत्रको पर्यटन व्यवसाय घटेपछि बिरोध भयो, यहाँ पनि त्यस्तै होला ।’
 ‘ हो, हरेक कुराको सुरुवातमा समस्याहरू आउँछन् । प्रविधिको उपयोग सबैलाई फाइदा हुने गरी गर्नुपर्छ । हिमालका टाकुराहरूमा कार लग्यो भने विश्वमै सबैभन्दा धेरै पर्यटक भित्र्याएर विश्वका दस धनी देशमा परेको नेपालको आयस्रोत घट्छ । पर्यटक दस दिनका लागि आउँथे भने फ्लाइङ कारले चार दिन पनि नलगाइकन त्यो भन्दा धेरै घुमाइदिन्छ । उनीहरू थोरै दिनमात्र नेपाल बस्दछन् । आमदानी घटिहाल्छ ।’ डोमाले आमाका कुरामा सही थापिन् । ‘ फ्लाइङ कार, हेलिकेप्टर जस्ता यन्त्रहरू लिएर जाँदा त्यो ठाउँका जनावरहरूको वासस्थानमा पनि असर पर्छ । यती, पाण्डा लगायतका जनावरलाई बाँच्नै गाह्रो पर्छ । जहाँतहाँ यस्ता साधन लान दिनुहुन्न । रोक्नै पर्छ ।’ एरिकले पनि आफ्नो कुरा राखे । एरिकले बोलिसक्दा बाबा पनि भित्र आए । उनले भने : 
‘ नेपालका कुनै पनि तीन हजार मिटर भन्दा अग्ला डाँडामा फ्लाइङ कार अवतरण गर्न नपाइने सङ्घीय कानुन नै पारित भयो रे । यसबाहेक हरेक स्थानीय तहले सङ्घीय कानुनसँग नबाझिने गरी नियम बनाएर लागू गर्न पाउने भएछन् ।’ 
‘ अनि चैनपुरको नियम बनिसकेछ ?’ आमाले सोधिन् । 
‘ बनेछ, भोलिलाई प्याक भइसकेको रहेछ, पर्सिलाई खाली मिल्ने भयो । सबैतिर फोन गरेर बुझेँ । उता इलाममा पनि कर्फोक वा इलाम बजारको रत्नकुमार हेलिप्याडमा मात्र अवतरण गर्न पाइने नियम बनेछ । अन्तु जान कर्फोकमा झरे भइगयो ।’ 
‘ कति जना आँटिन्छ एउटा फ्लाइङ कारमा ?’ मिक्साले प्रश्न गरिन् ।
 ‘ अगाडि एक, पछाडि चार जना । ड्राइलोट सहित जम्मा छ जना ।’ बाबाको उत्तर थियो ।
 ‘ हैन ड्राइलोट कि पाइलोट ?’ मुक्कुमले प्रश्न गरे । एरिकले अङ्ग्रेजीमा नै उत्तर दिए : 
‘Neither driver nor pilot ! he is calld drilot.’ ( न त ड्राइभर, न त पाइलोट ∕ उसलाई त ड्राइलोट भनिन्छ ।)
‘Yes, not only driver but also pilot is calld drilot who knows to fly and drive flying car.’  ( हो, ड्राइभर मात्र हैन पाइलोट समेत भएकाले उसलाई ड्राइलोट भनिन्छ जसले फ्लाइङ कार उडाउन र गुडाउन जान्दछ ।) डोमाले कुरा स्पष्ट पार्दै भनिन् । 
फ्लाइङ कारमा उडेर इलाम जान पाइने कुराले मुकुम र मिक्सा मख्ख परे । ठूलालाई फ्लाइङ कारको ब्यवस्था गर्ने कुराले घच्घच्यायो भने मिक्सा र मुकुमलाई कहिले पर्सि होला भन्ने हत्तारो पर्‍यो । उनीहरूको मनमा यतीको बारेमा भन्दा ठूलो उत्सुकता लिएर फ्लाइङ कार दौडिन थालेको बुझेर डोमा र एरिक गएपछि बाबाले भने:
 ‘ विज्ञानले यस्ता प्राण नभएका कति हो कति आश्चार्य बनाउन सक्छ । यी सबैमा मानिसको स्वार्थ जोडिएको हुन्छ तर यति लगायत अनगिन्ती प्राणी प्रकृतिले निस्वार्थ बनाउँछ अनि मानिसकै स्वार्थमा यस्ता सुन्दर जनावरहरू नासिन्छन्, सकिन्छन् । यतीका बारेमा बिर्सिएर नाथे फ्लाइङ कारको बारेमा तिमीहरूले लिएको चासो मलाई खासै राम्रो लागेन ।’ 
‘ तिम्रो मावली घरदेखि माथिल्लो घरको बाजे हुनुहुन्छ नि, क्या त मेरो बढा ?’ मुकुमकी आमा बोल्न थालिन् ‘ उहाँले भन्नुभएको एउटा कुराको याद आयो आज मलाई ।’ 
‘के भन्नु भएको थियो र ?’ आमाले बोल्न बिसाएको बेला मिक्साले सोधिहालिन् । ‘ अगाडि नदेखेको नौलो साधन देखेर मनमा अचम्म लागे पनि छेउछाउकाले सुन्ने गरी आश्चार्य प्रकट गर्नुहुँदैन । यस्तो गर्दा पहिलेदेखि यस्तो साधन देख्ने र प्रयोग गर्नेले हामीलाई हेयको दृष्टिले हेर्छन् । त्यसैले नौलो साधनका बारेमा हेर्ने, बुझ्ने, अनुभव गर्ने मात्र हो रे । आज तिमीहरूले फ्लाइङ कारका बारेमा पनि डोमा र एरिकका छेउमा धेरै आश्चार्य जनायौ ।’ आमाले कुरा बुझाउन खोजिन् । उनले अझ अगाडि कुरा थप्दै भनिन् ‘ म पनि त फ्लाइङ कारमा यात्रा गरेकी छैन , उत्सुकता त छ नि, तर बढाले भनेको कुरा सम्झिएर प्रकट नगरेकी मात्र हो ।’ 
‘ प्राकृतिक वस्तु देख्दा यस्तो आश्चार्य जनाउन मिल्छ किनकि सबैतिर उस्तै प्रकारका जीव छैनन्, हुँदैनन् तर यन्त्रहरू नाथे त मान्छेले नै बनाएका हुन् । यसका बारेमा नजान्नु त हाम्रै कमजोरी मात्र हो । जस्तो यतीका बारेमा तिमीहरूले राखेको जिज्ञासा सही छ ।’ बाबाले कुरामा जोड दिँदै भने ‘फ्लाइङ कारको व्यवसायिक उडान त भर्खरै मात्र सुरु भएको हो । मलाई लाग्छ डोमा र एरिक पनि चडेका छैनन् होला तर उनीहरूले खास आश्चार्य मानेनन् ।’ यस्तै गफगाफ पछि खानपान गरेर सुते । बाबा आमाले भनेको कुरा मिक्सा र मुकुमले बुझेका थिए तर मनमा आउने उत्सुकता लगायतका भाव कसैगरे पनि आउन छोड्दा रहेनछन् । उनीहरू दुवैले निदाउनुअघि फ्लाइङ कारमा उडेको मात्र कल्पना गरिरहे । भोलिपल्ट मिक्सा र मुकुमले आराम गरे । केही परियोजना कार्यका लागि आवश्यक सामग्री खोजे । एकछिन खेले पनि । बाबाको अफिस जानुपथ्र्यो अनि केन्जो ट्रयाकिङ एजेन्सीको पनि बैठकमा जानु थियो । आमाले माइती जाने कोसेली तयार पारिन् । हेवाको फेवा भन्ने ताल बनाएपछि लोपोन्मुख अवस्थामा पुगेका असला माछाको व्यवसायिक पालन गरिएकाले नगरपालिकाको राम्रो आयस्रोत अनि चैनपुरको नामी कोसेली बनेको छ माछाको पेरुङ्गो । पेरुङ्गो बुन्नेले पनि कमाएकै छन् । चैनपुर नगरपालिकाले पिलुवा र हेवामा असला माछा पालन गरी ठेक्का प्रणालीबाट नियन्त्रित रूपमा झिक्ने व्यवस्था मिलाएको छ । माछा बाहेक खराङ क्षेत्रमा गरिएको व्यावसायिक उखुबाट बनाइएको सख्खर पनि आमाले कोसेलीको रूपमा झोलामा हालिन् । चैनपुरको अर्को परिचित उत्पादन भनेको ‘खनाल वाइन’ हो । स्थानीय जनजिब्राले यसलाई खँदाल वाइन भन्दछन् । यो स्थानीय क्षेत्रमा फल्ने अंगुरको जुसलाई वाइन यिस्टसँग मिसाएर फर्मेनटेसन गरी धेरैजसो घर–घरमा बनाउने गरिन्छ । चैनपुरमा सबैभन्दा पहिला यो अंगुर ल्याएर रोप्ने अनि यसको वाइन बनाउने काम कुनै खनाल थरका कृषकले गर्न थालेकाले उक्त पेय पदार्थले यस्तो नाम पाएको जानकारहरू बताउँछन् । कोसेलीमा सो पेय पदार्थका चार वोतल पनि राखिएका थिए । मिक्सा र मुकुम मावल जाने भनेपछि उसै पनि निक्कै हौसिन्थे । यसपटक चाहिँ फ्लाइङ कारले थप उक्सिएका थिए । 
     भाद्र छ गते बिहीवार विहानै उनीहरूलाई लिन ‘ द वालेश्वर भ्यु’ होटलको गाडि आयो । डोमा र एरिक पनि त्यसैमा थिए । बाबालाई हात हल्लाएर बिदा माग्दै उनीहरू चैनपुरको पूर्वपट्टिको डाँडामा रहेको एयरपोर्टतर्फ गए । बाटाको देब्रेतिर पर्ने आफ्नो स्कुललाई औँल्याउँदै मुकुमले एरिक र डोमालाई कोट्टयाएर भने ‘ हाम्रो नयाँ स्कुल ऊ त्यही हो । सरकारी भए पनि क्या दामी छ । नाम चाहिँ तपाईँहरू बस्नुभएको होटलसँग मिल्छ ।’ वर्षा याम भए पनि मौसम एक दम सफा थियो । उकालो तर चिल्लो बाटामा कार निक्कै माथि पुग्यो । कारको लुकिङ ग्लासमा सिङ्गै जस्तो चैनपुर सहरको पृष्ठभूमिमा मकालु हिमाल हाँसिरहेको मनमोहक दृश्य देखिन थालेपछि डोमाले आफ्नो घडीमा भएको क्यामेराले भिडियो खिच्न थालिन् । सबैजना त्यो दृश्य हेरेर मख्ख परे । यत्तिकैमा उनीहरू एयरपोर्ट पुगिहाले । एयरपोर्ट पुगेर उनीहरू फ्लाइङ कार काउण्टरमा गए । डोमा र एरिकले त्यहाँ लाग्ने चार्ज तिरेको प्रमाण देखाए । अब चालकको छेउमा मुकुम बसे । बिचको बेञ्चमा डोमा र एरिक बसे । सबैभन्दा पछि आमासँग थिइन् मिक्सा । स्टार्ट गरेको केही बेरमा एउटा स्विच थिचेर कारको छतमा फोल्ड गरेर राखिएका पाता खोलिँदा रहेछन् । ती पाता घुमेपछि कार थपक्कै चरोजस्तो उँडेर आकासियो । हेर्दा हेर्दै कारले सिद्धकाली मन्दिर माथिबाट पूर्वतर्फको उडान सुरु गर्‍यो । मुकुम र मिक्सा दङ्ग परेर हेरिरहेका थिए । उनीहरूको घरबाट देखिने गुफा बजार नाघेर कार एकैछिनमा तमोर नदीमाथि पुग्यो । ताप्लेजुङ बजारलाई देब्रे पारेर कारले उचाइ लियो । डोमा र एरिक नबुझिने भाषामा गफ गर्दै घडीमा भएको क्यामेराबाट भिडियो खिचिरहेका थिए । 
मुकुमले अर्को सहर आएपछि चालकलाई सोधे : ‘ आहा ! यो कुन सहर हो , हजुरलाई थाहा छ ?’ ‘ फिदिम रहेछ । पहिला थाहा थिएन , अहिले थाहा पाएँ ।’
 ‘ कसरी भर्खरै थाहा पाउनुभयो नि ? मैले त तपाईँ कोहीसँग पनि बोलेको सुनिनँ त ?’ चालकले मुकुमलाई आफ्नो अगाडि भएको सानो स्क्रिनमा देखाए । बाहिरको दृश्य हेरेर रमाइरहेको मुकुमले आफ्नै अगाडिको स्क्रिनमा आँखा लगाएकै रहेनछ । त्यहाँ त कुन ठाउँमाथि कार उडिरहेको छ अनि जमिनबाट कति मिटर माथि छ लगायतका धेरै जानकारी आइरहेको हुँदो रहेछ । अब कर्फोक हेलिप्याडमा पुग्न लाग्ने समय पनि त्यहीँ देखिँदो रहेछ । हेर्दा हेर्दै कारको स्क्रिनमा पौवाभञ्ज्याङ, राँके, रक्से, नेपालटार, पुवा खोला, इलाम बजार देखियो । स्क्रिन हेरेर मख्ख परिरहेको मुकुम डोमाको चिच्याहटले झस्क्यो । ‘ आहा ∕ चियाबारी, चियाबारी, क्या सुन्दर चियाबारी ।’ डोमाको चिच्याहट थियो । साँच्चै सुन्दर चियाबारी डाँडाहरूको माथिबाट कार पूर्वतर्फ लाग्यो । कारको स्क्रिनमा माईखोला देखियो । माइखोला तर्नासाथ आइतबारे आएपछि कारको सफ्टवेरले नै अब अवतरण हुने बेला भएको जानकारी दियो । कार कर्फोक हेलिप्याडमा गएर बस्यो । कर्फोकमा अवस्थित कविता पार्क प्रसिद्ध पर्यटकीय ठाउँ हो । धेरैबेर नभुल्ने सर्त राखेर उनीहरू पार्कभित्र छिरे ।
 त्यहाँ वि.सं. २००९ मा भएको कवि सम्मेलनको प्रतीक थुप्रै चर्चित कविहरूको मूर्ति बनाइएको रहेछ । त्यहाँभित्र सर्जकहरू आएर सिर्जना गर्दा रहेछन् । थुप्रै मानिसहरू आएर पढ्ने, योग गर्ने अनि एकाग्र भएर आनन्द लिने गरिरहेका देखिन्थे । एक छेउमा ठूलो पुस्तकालय पनि रहेछ । त्यहाँ पनि मानिसहरू अध्ययन गरिरहेका देखिन्थे । हतार भएकाले उनीहरू चाँडै पार्कबाट बाहिर निस्किए । अब फ्लाइङ कार सामान्य कार बन्यो । चालकले कुनै स्विच थिचेर कारको स्ट्रिङ निकाले । अघि आकाशमा उडिरहेको कारमा गुड्दै उनीहरू मेची राजमार्गमा जोडिए । कार पूर्व लागे लगत्तै आमाले हत्तपत्त भनिन् : 
‘ यहाँ फूल चढाएर जानुपर्छ ।’ त्यहाँ देब्रेतिर ठूलो मन्दिर रहेछ । उक्त मन्दिरलाई पञ्चकन्या देवीको मन्दिर भनिँदो रहेछ । हरेक दिन बीस हजार भक्तले दर्शन गर्ने मन्दिरमा मानिहरूको लाम देखेर सबै छक्क परे । उनीहरू मन्दिर परिसर मात्र छिरे । आमाले त्यहीँ लाइनमा उभिएकी एक युवतीलाई आफ्नो समेत फूल चढाइदिन अनुरोध गरेरपछि उनीहरू पूर्वतर्फ हुँइकिए । 
पर्यटकीय नगरी फिक्कलको सुन्दरता र व्यस्ततालाई निहाल्दै उनीहरू एकैछिनमा सिद्धिखोला पुगे । कारले हुँइक्याएर बिहानको साढे आठ बजे नै अन्तु डाँडा पुर्‍यायो । उनीहरू सोझै गुफातिर गए । अन्तुको गुफामा पनि देवीस्थान मानेर पूजा गर्न आउने करिव पाँच हजार भक्तजनको लाइन रहेछ । एरिक र डोमाले त्यहाँको पर्यटन समितिमा आफ्नो परिचय अनि सरकारी कागजातहरू देखाएपछि उनीहरूलाई लाइनमा नबसी गुफासम्म जाने बाटो खुल्यो । 
आमाले पूजा गरुन्जेल डोमा र एरिकले गुफाको परीक्षण गरे । उनीहरूले आफूसँग भएका यन्त्रले जाँच गर्दा गर्दै डोमा चिच्याउन थालिन् । टेस्टिङ रे गुफाभित्र पठाइएको एकछिन पछि खुसी हुँदै उनले भनिन् : ‘ आम्मामा ! कस्तो अचम्म !! चारतिर पो रहेछ है ? लु हेर्नु !! एकतिर त उताकै सँग जोडिएको रिजल्ट देखियो ।’ एरिकले डोमालाई चुप लाग्न सङ्केत गर्दैथिए । डोमाले त्यसपछि ‘ सरी’ भनेको सुनियो । 
उनीहरूले त्यहाँ पनि गुफाको भित्तामा आफूसँग भएको सानो यन्त्र जडान गरे । यसपछि उनीहरू त्यहाँबाट फर्किए । 
तल कार रोकेको ठाउँमा आएपछि मिक्सा र मुकुमका मावलका बाजे पनि उनीहरूलाई लिन आइराखेका थिए । कारका चालक , एरिक र डोमा अलिक पछाडि थिए । उनीहरू सबैजना चियानास्ता खान एउटा दोकानमा पसे । पछि आउनेहरू नजिकैको तर छुट्ठै टेवलमा बसे । 
‘आमेन्छाहारे लुङमा केदुुक्ताङआङ थे माप्मी केहुरेबे ?’ (‘ मेरो नाति र नातिनीले मलाई माया गरेर के ल्याइदियौ त ?’) बाजेले हाँस्दै अनि मिक्सा र मुकुमको गाला मुसार्दै सोधे । मिक्साले हत्तपत्त लिम्बू भाषामै उत्तर दिइन् :
 ‘चेसुङ हुनेछिआङवारो ।’ (‘ कोसेली ल्याइदिएको छ ।’) 
 मुकुमले पहिले बाजेले कति कर गर्दा पनि लिम्बू भाषा सिक्न चाख दिएको थिएन । बाजे र मिक्साले बोलेको नबुझेपछि मुकुम रिसाएर रातोपिरो भए । उनलाई समयमै लिम्बू भाषा नसिकेकामा लाज अनि पश्चत्ताप पनि लागेको थियो । मुकुम रिसाएको बुझेपछि बाजेले नेपालीमै भने :
 ‘ यसको त नाम बित्थैमा मुकुम राखेँछु , मिसेक राखेको भए मिल्ने र’छ ।’ मिक्साले मात्र लिम्बू भाषा बुझेकी भएकाले खित्का छोडेर हाँसिन् । कुरा नबुझेपछि आमाले सोधिन् ‘ मिसेक भनेको चाहिँ के हो नि फेरि ?’ 
‘ मिसेक भनेको देवता हो ।’ बाजेले हाँस्दै भने । बाजेले मिसेकको अर्थ बताउनासाथ मुकुम फुर्किएर छातीमा हात ठटाउँदै मिक्सालाई शान दिँदै थियो । लगत्तै बाजेले कुरा थपे ‘ मिसेक मेरो नातिजस्तै हामी लिम्बूहरूका रिसका देवता हुन् ।’ अब चाहिँ एरिक र डोमा पनि हाँसे । मुकुम गुत्थ परेर बस्यो । डोमाले सोधिन् ‘ अनि मिक्सा, मुकुम भनेको चाहिँ के हो नि ?’ 
‘ मिक्सा भनेको आँखाको नानी हो । मुकुम भनेको पाथिभरा जस्तै हामी लिम्बूहरूकी देवी हुन् । नानी त अमेरिकन भनेको, नेपाली पनि फरर आउँदो रहेछ त !’
 ‘ म त सोलुकी सेर्पाकी छोरी हुँ नि त । ’ डोमाले एरिकतिर देखाउँदै भनिन् ‘ उनी चाहिँ अमेरिकन हुन् तर नेपाली राम्ररी बोल्छन् ।’ हात जोडेर डोमाले थपिन् ‘ सेवारो, मेरो नाम चाहिँ डोमा हो ।’ 
 ‘ नमस्कार । म चाहिँ एरिक ।’ एरिकले पनि बाजेलाई नमस्कार गर्दै भने ‘ हाम्रोतिर चाहिँ नामको यस्तो राम्रो अर्थ लगाएर राख्ने चलन छैन । मलाई तपाईँहरूको सँस्कृति एकदम मनपर्‍यो ।’ अङ्ग्रेजी लवजमा एरिकले अझै थपे ‘ आफ्नो भाषा जोगाउन तपाईँले गरेको प्रयास राम्रो लाग्यो ।’ 
‘ त्यही त हजुर, पहिचान भन्न पनि छोड्दैनन् । आफ्नो भाषा सँस्कृतिलाई पनि गोड्दैनन् । शब्द मरे भाषा अनि भाषा मरे हामीभित्रको म पनि मर्छ । म नभएको शरीर तातो नभएको आगो, चिसो नभएको हिउँजस्तै हो । त्यसैले बाँचुन्जेल भाषा सिकाउने प्रयासमा छु ।’ बाजेले भने ‘ अनि तपाइँहरू पनि यतीको खोजी गर्दै नेपाल आउनुभएको रहेछ, हैन ?’ 
‘ हजुर हो, तर कसरी थाहा पाउनुभयो त ?’ डोमाले सोधिन् । ‘अस्ति ज्वाइँले फोनबाट सुनाउनुभएको । यहाँको गुफाको अध्ययनबाट के पत्ता लाग्यो त ?’ बाजेले प्रश्न गरे । ‘ यहाँको गुफाको मुख अरु चारतिर रहेछ । ती मध्ये एक चाहिँ चैनपुरको वालेश्वर रहेछ । अन्य तीन उत्तर , उत्तरपूर्व र उत्तरपश्चिम दिशातिर देखायो यन्त्रले ।’ एरिकले अलिक सानो स्वरमा सटिक जवाफ दिँदै भने ‘ तर यो कुरा अहिले नै हल्ला गरिहाल्नु हुदैन । हाम्रो अध्ययन जारी छ । निष्कर्ष निस्कन बाँकी नै छ ।’ 
बाजेले खस्याकखुसुक गर्दै ‘ ए , हवस् हवस् ’ भने अनि कसैले सुन्यो कि भन्ने ठानेर यताउता हेरे । सबै आ–आफ्नै धुनमा मस्त थिए । फ्लाइङ कारको चालक अघि नै बाहिर निस्किएर पारिपट्टि देखिएको भारतीय चियाबारी अनि मेची खोलाको दृश्यमा लट्ठ थिए ।
 बाजेले साउती मारेर भने ‘ चैनपुरको वालेश्वर भनेको पारुहाङ बसेको गुफा हो, अन्तुडाँडाको उनकै प्रिया सुम्निमा देवी बसेको गुफा । दैवी शक्ति भएकाले उनीहरूलाई एउटै घरजस्तो होला नाई । हामीलाई पो टाढा । उत्तरतिर गएका प्वाल चाहिँ हिमालतिर मिसिएको होला , हैन ?’ बाजे बोल्दाबोल्दै होटलको केटो खाजा लिएर आइपुग्यो । खाजापछि उनीहरू अन्तु पोखरी गएर डुङ्गामा सयर गरे । लेप्चा जातिको सङ्ग्रहालय घुमे । लोपोन्मुख नेपाली परम्परागत सामग्रीहरू सङ्कलित पेचा सङ्ग्रहालय घुमे । बाजेले एरिक र डोमालाई पनि आफ्नो घरसम्म जाउँ भनेर निक्कै ढिपी गरे तर एरिक र डोमालाई छिटो चैनपुर फिर्नु थियो । मिक्सा, मुकुम र आमा बाजेसँग गए । डोमा र एरिक फ्लाइङ कारमा गुडेर कर्फोक हेलिप्याड सम्म आए । कर्फोक हेलिप्याडबाट उडेर करिब दुई बजे चैनपुर झरे ।

                                                            एघार
                                             यात्राको सम्पूर्ण तयारी



     गत श्रावणदेखि मिक्साका बाबा केन्जो ट्रयाकिङ एजेन्सीका प्रमुख हुन् । उनले आफ्नो अफिसमा अब गरिने पैदल यात्राका बारेमा छलफल चलाए । यो भन्दा अघि उनी जागिरका कारण चैनपुरमा थिएनन् तर उक्त एजेन्सीको कार्यालय चाहिँ चैनपुरमै थियो । उनी यहाँ नहुँदा भिडियो कल मार्फत बैठक सञ्चालन हुने गर्दथ्यो । यस पटक भने सबै आमनेसामने भएर बैठक बसे । बैठकमा एजेन्सी सञ्चालकहरू थिए । कर्मचारीहरू भने सबै पर्यटक लिएर विभिन्न ठाउँमा पुगेका थिए । आफैँ पैदल यात्रामा जाने भएकाले आफ्नो जिम्मेवारी अन्य साथीहरूलाई सुम्पन यो बैठक बोलाइएको थियो ।
‘ पहिला चार जना भरिया खोज्नुपर्ने भयो । भरिया संरक्षण समितिमा फोन गरी टुङ्गो गरिहाल्नुहोस् त ।’ मिक्साका बाबाले कार्यालयका कर्मचारीलाई अह्राए । कर्मचारीले फोनबाट एकछिन कुरा गरिसकेपछि भने ‘ अहिले चारहजार मिटरभन्दा उच्च ठाउँमा जाँदा प्रत्येक भरियालाई अठार किलो मात्र बोक्न लगाउने नियम बनेको छ रे । हामीलाई त पाँचजना पो चाहिन्छ कि कसो ?’
‘ अहो ∕ यसले त यात्राको खर्च बढ्छ । मैले त अस्ति एरिक र डोमालाई चार जना मात्र भरिया चाहिन्छ भनिदिएँ ।’ मिक्साका बाबा अलिक हड्बडाउँदै भने ‘ उनीहरूलाई फोन गरेर सुनाउँ है त पहिला ।’ उनी फोन गर्न थाले :
‘ हेल्लो, सेवारो डोमा जी । आरामै हुनुहुन्छ नि ?’
‘सेवारो । ठीकै छु । अनि हाम्रो यात्राको तयारी कस्तो चल्दैछ नि ?’
‘ हजुर ठीकै चल्दैछ । हाम्रो जम्मा सामग्री अठासी किलो भयो । यस अघि एकजना भरियाले पच्चीस किलो बोक्थे । अब उच्च क्षेत्रमा जाँदा प्रति भरिया अठार किलोमात्र बोकाउनु पाइने नियम आएछ । भरिया थप्नुपर्ने भयो ।’
‘ ए ठीकै छ नि । चाहिने जति त लानैपर्छ नि, थप्नुहोस् न त ।’
डोमाले भरिया थप्न स्वीकृति दिएपछि मिक्साका बाबाको अनुहार अलिक उज्यालो देखियो । उनले कर्मचारीलाई पाँच जना भरिया बाइस दिनका लागि बन्दोवस्त गर्न अह्राए । उनी चाहिँ केन्जो ट्रयाकिङ एजेन्सीका विभिन्न पथ पदर्शकहरू कहाँ कहाँ पुगे भनी फोन सम्पर्क मार्फत बुझ्न थाले । यतिबेला यो एजेन्सी मार्फत सभापोखरी जाने तीन समूह छन् । जलजले हिमाल, मकालु आधार शिविर, लुम्बासुम्बा हिमाल र साल्पापोखरी हुँदै खुम्बु क्षेत्रमा जाने एक एक समूहलाई केन्जो ट्रयाकिङ एजेन्सीले नेतृत्व गरिरहेको छ ।
फोनबाट सबैतिरको खबर बुझेपछि उनीहरूको बैठक बस्यो । अब बाईस–पच्चीस दिनका लागि केन्जो ट्रयाकिङ एजेन्सीका कार्यवहाक अध्यक्ष डा. वाङ्जु शेर्पा हुने भए । स्थानीय वालेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका एजेन्सीका सञ्चालक सेर्पा पनि स्कुल विदा भएको समयको सदुपयोग गर्दै अर्को पन्ध्र दिनपछि खुम्बु क्षेत्रमा पथ प्रर्दशक भएर जाँदैछन् ।
बैठकपछि मिक्साका बाबा द वालेश्वर भ्यु होटल गए । उनीहरूले त्यहाँ अब दुई दिनपछि सुरू गरिने पैदल यात्राको लागि चाहिने व्यक्तिगत सामग्रीहरू रुजु गरे । अनावश्यक सामग्री नबोक्न र आवश्यक सामग्री नछोडियोस् भनेर ट्रयाकिङ एजेन्सीले रुजु सूची बनाएर पर्यटकहरूलाई वितरण गर्ने गर्दछ । एरिक बाहिर निस्किएको मौकामा परीक्षण गरिसकेपछि डोमाले एउटा पोको लुकाएर हालिन् । त्यो देखेर मिक्साका बाबाले सोधे:
‘ हैन त्यो के हो ? रुजु सूचीमा भएका भन्दा धेरै सामान बोकेर भारी मात्र हुन्छ ।’
डोमाले चोर औँला आफ्नो मुखमा लगी साउती मारेर भनिन् ‘यो एरिकलाई सरप्राइज हो क्या बाटामा दिने ।’ यत्तिकैमा एरिक कोठाभित्र पस्दै भने ‘ आज २३ अगस्ट भयो, हाम्रो यात्रा २६ अगस्टमा शुरु हुने हैन ? आजसँग तीन रात बाँकी । यी बाँकी दिन हामी आराम गर्दै मिक्सा र मुकुमका लागि यतिसँग बिताएका पलहरूको अनुभव लेख्नेछौँ ।’
‘ अहिले के मरिहत्ते त ? पछि यात्राबाट फर्केपछि लेखे पनि भइहाल्छ नि । अझ अमेरिका नै गएर इमेल गरिदिए पनि भो ।’ मिक्साका बाबाले भने ।
अलिक भावुक भएर एरिकले भने ‘ पछि गर्ने भनेर धेरै समय विताइसकियो । अब समय छैन । भ्याएको जति लेख्दै गर्छौँ हामी । बाटामा पनि लेख्दै जाने । बाटामा तपाईँलाई हामी ठूलो सरप्राइज पनि दिन्छौ ।’
अचम्म मानेर मुन्टो देब्रेतिर बटार्दै मिक्साका बाबाले भने ‘ खै यतै सरप्राइज, उतै सरप्राइज ।  हुन त जीवन आफैँमा एक सरप्राइज हो ।’
डोमाले एरिकलाई दिने सरप्राइजको कुरा खोलिन्छ भन्ने डरले हत्तपत्त भनिन् ‘ हो, हामीले यतिसँगको अनुभव लेखेर मिक्सा र मुकुमलाई इमेल त गरिदिनु नै छ । हामी यी तीन दिन आरामसँग बसेर लेख्छौँ, बरु १० गते कतिबेला हिँड्ने हो हामी ?’
‘ बिहानको खाना खाएर त्यस्तै एघार बजे हिँडौ न । पहिलो दिन त गाडिमा जडिबुटे सम्म जाने हो । हतार छैन । हाम्रो आठ जनाको टोलीका लागि होटल बुकिङ नै गरिसकेँ ।’ मिक्साका बाबाले उत्तर दिए ।
अब मिक्साका बाबा पनि होटलबाट आफ्नो निवासतर्फ लागे । एरिक र डोमा यतिसँगको अनुभव लेख्न थाले । उनीहरूले आज थोरै अनुभव लेखे अनि केही योजना बनाए । बनाइएको योजना अनुरुप पत्र समेत लेखेर मिक्सा र मुकुमलाई इमेल गरेर सुते ।


                                                                 बाह्र
                                                एरिक र डोमाको दोस्रो लेख
चित्रकार -विजय थापा  , मकालु अरुण स्कुल , चैनपुर कक्षा -८  


इलामको अन्तु डाँडा नजिक आफ्नो मावली घरमा रमाइरहेका मिक्सा र मुकुमले भाद्र आठ गते बिहानै आफ्नो इमेल खोले । दुबैलाई एरिक र डोमाको दोस्रो लेख प्राप्त भएको थियो । उनीहरूले लेख सँगै बसेर पढ्न थाले ।
‘प्यारा साना साथीहरू मुकुम र मिक्सालाई चैनपुरको पाँचतारे होटलबाट धेरै सम्झना गरेका छौँ । तिमीहरू यतिबेला मावली घरमा रमाइरहेका छौ । आफ्नो स्कुलको परियोजना कार्य गर्दै मावल बसेका बेला बाजेसँग मुकुमले पनि आफ्नो लिम्बू भाषा सिक्नू । मिक्साले थप सिक्नू । भाषा हाम्रो अमूल्य सम्पत्ति हो । भाषाको जगेर्ना गर्नसके मात्र हामीले आफ्ना पूर्खाको इतिहास बुझ्नसक्छौँ । पुर्खाको इतिहासले नै हाम्रो मौलिकता बताउने हो । मौलिकता नभएको मानिस संसारको सबैभन्दा गरिब हो । आफ्नो भाषा र संस्कृति नभएको मानिस पशु जस्तै हो । मानिसले पशु हुनबाट जोगिने नै आफ्नो भाषा, संस्कृति र रीतिरिवाजको संरक्षण , संम्बद्र्धन अनि अवलम्बन गरेर हो । आवश्यकता अनुसार अन्य भाषा पनि सिक्नुपर्छ तर आफ्नो भाषा छोडेर हैन । आफ्नी आमालाई बेवास्ता गरी बृद्धाश्रमका महिलाहरूलाई खाना खुवाउनु जस्तै हो आफ्नो भाषा नसिकी अरुको भाषामात्र सिक्नु भनेको । तिमीहरूका बाजे लिम्बू भाषाका ज्ञाता हुनुहुँदो रहेछ । यस्तो राम्रो र आदरणीय गुरु भेटेका बेला भाषा सिकिहाल्दा हुन्छ । हाम्रो पनि उहाँलाई नमस्कार अनि भाषाका लागि उहाँले देखाउनुभएको प्रेमलाई सलाम गरेको सुनाइदिनू ।’
पत्र पढ्दा पढ्दै मुकुमले मनमनै बाजेसँग भाषा सिक्ने प्रण गरिसकेका थिए । मिक्साले पनि भाषालाई बाजेसँग भएकै बेला थप सिक्ने बिचार बनाएकी थिइन् । उनीहरूले पत्र पढ्न भने बिसाएनन् ।
‘ तिमीहरूलाई भाषाको कुरा भन्दा पनि यतीकै बारेमा धेरै सुन्न मन लागेको होला, हैन ? हामीसँग लगिएको यती अमेरिका पुगेपछि के भयो भन्ने पनि तिमीहरूको जिज्ञासा होला हैन ? अर्को लेखमा हामी तिमीहरूको त्यो जिज्ञासा मेट्ने प्रयास गर्नेछौँ । आज हामी यतीसँग हुँदा भएको एउटा रमाइलो घटना जानकारी दिन लागिरहेका छौँ । एक दिन यती बिहानै गुफाबाट निस्किएर कतै गयो । आउँदा उसले कुनै गोठालाको जाँड बनाउन राखेको सिङ्गै बट्ठा लिएर आएछ । मैले यतिको गुफामा मृगको सिँग झरिराखेको देखेको थिएँ । हामीले चाहिँ डोमाको सलमा कोदाको छोक्रा निचोरेर  त्यही सिँङमा थापेर दुई दुई पटक खायौँ । हाम्रो नक्कल गर्न सिपालु यतिले पनि डोमाको सल लगेर छोक्रा हाल्दै निचोरेर चुस्दै गर्न थाल्यो । एकछिन पछिदेखि अल्छी लागेछ क्यारे, छोक्रा नै उघाउँदै खाँदै गर्न थाल्यो । खाँदा खाँदा गरेपछि यती त्यहीँ मातेर ढल्यो । भोलिपल्ट यती अबेर मात्र निद्राबाट बिउँझियो । यो घटना हामीले लामा गुरुसँग भेट गर्नुभन्दा अलिक अघिकै हो ।’
उनीहरूले पत्र पढ्दा पढ्दै पुलुक्क एक अर्कालाई हेरे अनि दुबै जना किच्च हाँसे । फेरि पत्रको अर्को अनुच्देछ पढ्न थाले ।
‘ लामा गुरुलाई भेटेपछि हामीलाई एक अर्काबीच गफगाफ गर्न सजिलो भयो । यतीले साङ्केतिक अनि सीमित भाषा मात्र बुझ्थ्यो । हामीले उसलाई  हाम्रा लागि भाँडा, आगो लगायत चोरेर ल्याउन अह्रायौँ । उसले सबै थोक ल्यायो तर आगोसँग भने यति परै भाग्दो रहेछ । यतीलाई आगोसँग कति डर लाग्दो रहेछ भने निभेको कोइला देख्यो भने पनि टाढा भाग्दो रहेछ । एक दिन हामीले उसलाई कुनै गोठमा लैजान साङ्केतिक अनुरोध गर्‍यौँ । उसले हामीलाई गुफाबाट उत्तरतिर लिएर गयो । हामीलाई त ढुङ्गै ढुङ्गा भएको ठूलो गाउँको नजिकै लगेर छोडिदियो ।  अहिले बुझ्दा त्यो तिब्बतको कुनै गाउँ रहेछ । हामीले दोकान जस्तो ठाउँबाट सलाई झिकेर ल्यायौँ । साथमा एक मुठो दाउरा र झ्यास पनि ल्यायौ । त्यो रात यतीलाई पनि बुझाएर साना दाउरा र झ्यास एकैठाउँमा पारी आगो बाल्न थाल्यौ । चिसो ठाउँ अनि अक्सिजन मात्रा पनि कम भएकाले आगो सल्काउन गाह्रो भयो । गुफाभरी धुवाँ भरिएर केही नदेखिने भएको थियो । आगो बल्न थालेपछि पो थाहा भयो यती त अघि नै कता भागिसकेछ । त्यो रातभर यती आएन । हामीले पनि भएका दाउरा सकिएपछि बाल्ने चीज नभएर उसै रात काट्यौँ । यति नभएकाले चिसोले हामी दुबै निदाउन सकेनौँ । यती हुँदा हामी उसकै जीउमा टाँसिएर निदाउने गरेको त हामीले पहिला पनि तिमीहरूलाई बताएकै थियौँ । त्यो दिन हामीसँग रिसाएर पो यती कतै भागेको हो कि भन्ने डर पनि लाग्यो हामीलाई । तर भोलिपल्ट यती गुफाको अर्को मुखबाट आयो । नडराउनू भनेकै भरमा डर हट्ने होइन रहेछ । यतीलाई आगोमा हामीले कसै गरे पनि बानी पार्न सकिएन । यो कुरा हामीले लामा गुरुलाई पनि सुनायौँ । उहाँले त्यो यतीको पहिचान अनि अनुकुलताको लक्षण भएको बताउनुभयो । कसैको पहिचान मास्न खोज्नु पाप भएको उहाँको भनाई थियो । हामीलाई उहाँले त्यो दिन पहिचानको बारेमा थुप्रै कुरा सिकाउनुभयो । मानिस बुद्धिमान प्राणी भएकाले हरेक जीवजन्तुको पहिचान बचाइदिन लाग्नुपर्ने रहेछ भन्ने हामीले लामा गुरुबाटै सिकेका हौँ ।’
हरेक अनुच्देद फेरिनासाथ मुकुम र मिक्सा एक आपसमा हेराहेर गरेर हाँस्थे । अब अन्तिम अनुच्छेद छोटो थियो । उनीहरूलाई यतीको कुरा अझै पढौँ पढौँ  भइरहेको थियो तर यो अनुच्छेदमा अर्कै विषय लेखिएको थियो ।
‘ आज सात गते भइसक्यो । दस गतेदेखि हाम्रो पैदल यात्रा सुरु हुँदैछ । हामी अब खुरुखुरु लेख्ने प्रयास गर्नेछौँ । यात्राका क्रममा सबैतिरबाट इमेल गरिरहन पनि सम्भव नहोला । पैदल यात्रा अनि पानीझरी र चिसो, उसमाथि अध्ययन पनि गर्नुपर्ने हुँदा ढिलो हुन्छ तर इमेल चाहिँ गर्नेछौ । त्यतिन्जेल तिमीहरू आफ्नो भाषा सिक्दै मावली घरमा रम्दै परियोजना कार्य गर्दै गर्नू । मावलीघर बसाइ एकदमै सिर्जनात्मक अनि रमाइलो होस् । तिमीहरूलाई माया गर्ने हामी एरिक अनि डोमा बिदा माग्छौँ, इमेल गर्दै गर्नु है त ।’
मिक्सा र मुकुम दुबैलाई दिनैपिच्छे यतीको बर्णन गरिएको लेख आइदिए हुन्थ्यो भन्ने लागेको थियो तर ढिलै भए पनि यतीका बारेमा थप जानकारी इमेलमा आउने कुराले थप कुतूहलता थपेको थियो । उनीहरूले धन्यवाद पत्र इमेल गरे अनि आफ्नो काममा लागे ।


                                                                     तेह्र
                                                   पैदल यात्रा र यतिको साथ
चित्रकार -समृद्धि  सुवेदी  , आइडियल इङ्लिस बोर्डइङ स्कुल , धरान   कक्षा -७  

भाद्र दस गते करिब साढे दस बजे केन्जो ट्रयाकिङ एजेन्सीको कार्यालयअघि पाँच जना भरिया आ–आफ्ना डोकामा भएका भारी एउटा लेन्डलोभरको हुटमा हाल्दै थिए । यतिबेला चैनपुरको साहित्यिक तीर्थका रूपमा संरक्षित मेजर पाटीको ठीक अघि थियो ट्रयाकिङ एजेन्सीको कार्यालय । डोमा र एरिक मेजर पाटी परिसरभित्र पसे । मेजर पाटी भनेर चिनिने उक्त रातो घर राणाकालीन प्रशासनिक अड्डा थियो । नब्बे सालको भूकम्पले केही नगरेको सो पाटीलाई पैँतालीस सालको भूकम्पले अलिक क्षति गऱ्यो । राजनीतिक परिवर्तनसँगै एक पटक जीर्ण अवस्थामा समेत पुगिसकेको उक्त परिसरमा अहिले झर्रो पुस्तकालय, झर्रो वाचनालय र साहित्यिक कार्यक्रम गर्ने हल राखिएको छ । यही घरमा वि.सं. २०१२ सालमा जनसाँस्कृतिक सभाको गठन गरिएको थियो । यसरी गठित समूहले नौलो पाइलो नामक पत्रिका मार्फत नेपाली भाषामा झर्रो आन्दोलन स्थापित गर्‍यो । यही साहित्यिक एवम् साँस्कृतिक देनको ऐतिहासिक सम्झनामा चैनपुर नगरपालिकाले यो घरलाई अहिले मेजर पाटी ( झर्रो घर) भनेर संरक्षण गरिरहेको छ । एरिक उक्त घरको कलात्मक चौकट निहालेर हेरिरहेका थिए । डोमाको आँखा ‘मेजर पाटी विगतदेखि हालसम्म’ लेखेर झुन्डाइएको वोर्डमा परे । वोर्डमा लेखिएको कुरा हेर्दाहेर्दै डोमा खित्का छोडेर हाँसेपछि एरिक छक्क परे । हाँस्तै डोमाले बोर्डतर्फ औँल्याउँदै भनिन् : ‘ कान्छाको रक्सी–चुरोट पसल र राँगाको मासु काट्ने ठाउँ ∕ कति हाँस उठ्दो रहेछ यो घरको इतिहास ∕∕ कहिले न्यायालय, कहिले क्याम्पस अनि कहिले चाहिँ कान्छाको ...’ वाक्य पूरा नगरी उनी हाँस्न थालिन् । ‘ जे होस् अहिले त राम्रै संरक्षण गरेको रहेछ नि त, पुस्तकालय पनि रहेछ । यस्तै हो हरेक कुराको महत्त्व बुझ्ने मानिस सत्तामा पुग्यो भने मात्र लोकतन्त्रमा सही ढङ्गले विकास हुन्छ । हल्लामा कुद्नेहरू सत्तामा होइन्जेल देशको पनि त यो घरकै जस्तो हालत भएको थियो नि, हैन र ?’ एरिकले डोमालाई प्रश्न गरे । ‘ कान्छाको रक्सी–चुरोट पसल र राँगाको मासु काट्ने ठाउँ ∕ ’ फेरि हाँस्दै डोमाले उही बाक्य दोहोर्‍याइन् र भनिन् ‘ झर्रो घरमा झर्रो वाक्यले खुव हँसायो ।’ यत्तिकैमा डोमालाई फोन आयो । मिक्साका बाबाले छिटो ट्रयाकिङ एजेन्सीको कार्यालयमा आउन भनेका रहेछन् । उनीहरू हत्तपत्त कार्यालयतर्फ झरे । लेन्डरोभरको अगाडि डोमा र एरिक बसे । मिक्साका बाबा र भरियाहरू बाँकी सीटमा बसे । ठीक साढे एघार बजे उनीहरू मेजर पाटीलाई दाहिने पारेर यात्रामा निस्किए । गाडीले सङ्खुवासभा क्याम्पसको भव्य परिसर अनि क्याम्पस परिसरमै भएको चैनपुर रङ्गशाला देब्रे पारेर पोखरी बजारतर्फ हुँइक्यायो । बाटाको छेउमा देउनिगाली रोपेर सुन्दर बार बनाइएको रहेछ । ठाउँ–ठाउँ बारको बीचमा सल्ला र पयौँका रुख पनि उस्तै सुहाएका देखिन्थे । मानौ एउटा सुन्दर पार्कजस्तै बनाइएको थियो सङ्खुवासभा क्याम्पसदेखि पोखरी बजारसम्मको बाटो । पोखरी बजारको डाँडामा अन्र्तराट्रिय स्तरको बौद्ध गुम्बा थियो । गाडीलाई रोकेर डोमा, एरिक र मिक्साका बाबा गुम्बातर्फ गए । भरियाहरू गाडीभित्रै गफिएर बसे । नवौँ शताब्दीमा निर्मित साम्ये गोन्पा महाविहारको शैलीमा बनाइएको उक्त गुम्बा धार्मिक, साँस्कृतिक र पर्यटकीय केन्द्रका रूपमा स्थापित छ । त्यो गुम्बाबाट पूर्वतर्फ हेर्दा तल बजारको बिचमा पोखरी बजारको नाम दिलाउने सिद्धपोखरीमा हाँस पौडिरहेका देखिन्थे । पानी सिम सिम पर्न थालेको हुँदा उनीहरू हत्तपत्त गाडी भएका ठाउँमा आए । गाडीले सानो तर पक्की पिच बाटोबाट उनीहरूलाई उकाल्दै रह्यो । मिक्साका बाबाले भने : ‘ यो ठाउँलाई मयुम भनिन्छ । यहाँभन्दा माथि गाउँघर छैनन् । अब एकैचोटी थामपोखरीमा मात्र गाडी रोक्नु है गुरुजी ।’ बाहिर दर्के पानी परिरहेको थियो । ठूला ठूला चौरका बिचमा खाल्डाहरू जमेका देखिन्थे । गाडी गुराँसको जङ्गलभित्र बनाइएको सानो उकालो बाटोमा गुडिरहेको थियो । बाटाको दुई किनारका बिरूवाहरू जोडिएर साँझ परेजस्तो अँध्यारो भएको थियो । लेण्डरोभरको अगाडि भागमा रूखबाट झरेका खरीजुका स्याँउस्याउँ हिँडिरहेका थिए । बेला बेला माथितिरबाट फर्किदै गरेका अन्य गाडीहरूसँग जम्काभेट हुन्थ्यो । त्यस्तो बेला गाडी पार गराउन निक्कै सास्ती हुन्थ्यो । बाटो साँघुरो भएर गाडी पार नभएको देखेर एक जना भरियाले भने : ‘ के यो बाजेको पटुका जत्रो बाटो खनेको होला ? ठाउँ थियो त, फराकिलो बनाउनु नि । बाटो खन्ने पनि सरकार, जङ्गल पनि सरकारी । कसैले जमिन नदिएर त होइन नि ।’ डोमाले पछाडि मुन्टो फर्काएर बोल्ने भरिया यकिन गर्दै भनिन् ‘ खासमा यो मोटर बाटो बनाउनुको सट्टा मयुमदेखि नै ट्रयाकिङको लागि सजिलो बाटो बनाएको भए हुने । यो जङ्गलमा बस्ने सयौँ प्राणीको बिचल्ली भयो नि बाटोले । गाडीको हल्लाले तिनीहरूको अस्तित्व नै खतरामा पर्ने भएन ? सरकारी जमिन भन्दैमा सरकारले जे पायो उही गर्न कहाँ पाउँछ ?’ डोमाको कुरा सुनेपछि अर्का भरियाले भने ‘ दिदीले भनेको जस्तो यो बाटो नभएको भए त हामी भरियाले पनि खुब पैसा कमाइन्थ्यो नि हाउ । यहाँ त सबै गाडीले कुदाइहाल्छ । पैसा हुनेसँग गाडी छ, गाडी हुनेले नै कमाउँछ । उनीहरूको थुप्रोमाथि थुप्रिने, हाम्रो चाहिँ अनिकालले ढाड कुप्रिने ।’ अनुप्रास मिलेको कुरा सुनेर सबैजना गलल्ल हाँसे । निक्कै ठूलो दर्के पानी परिरहेको थियो । पानीकै कारण उनीहरूले थामपोखरी वरिपरि गाडीमै एक चक्कर लगाए अनि तेर्सो बाटो लागे । गुराँस घारी अघिजस्तै बाक्लो थियो । भरियाहरू उहिले यो बाटो पैदल यात्रा गर्दा जुकाले चुसेको कथा सुनाइरहेका थिए । कोही हामी यहाँ तल गोठमा वास बसेका थियौँ पनि भन्दैथिए । अलिक पर पुगेपछि दाहिनेतर्फ गोठहरू देखिएका थिए । बाटाभन्दा निक्कै तल देखिएका ती गोठ एकैछिनमा कुहिराले छेकिहाल्यो । लेन्डलोभरले गुडाउँदै उनीहरूलाई उकालो डाँडा चढाउन थाल्यो । बाहिर पानी पर्न छोडेर निक्कै उज्यालो भएको थियो । डाँडाको टुप्पामा पहेँला फूलहरू जताततै फुलेका देखिन्थे । मौसम पनि उघ्रिएको थियो । प्राकृतिक फूलबारीको त्यो सुन्दर दृश्य हेर्दाहेर्दै उनीहरू जडिबुटे रिसोर्ट पुगिसकेका थिए । पानी पर्ने र उघ्रिने केही टुङ्गो थिएन । उनीहरूलाई गाडीभित्र न्यानो भए पनि बाहिर निक्कै चिसो अनुभव भएको थियो । उनीहरूको त्यो दिनको वास त्यहीँ भयो । निक्कै समय अघिदेखि डोमा सुत्ने बेलामा एरिकले जडान गर्ने यन्त्र आज मिक्साका बाबाको टाउकामा जडान गरियो । यो यन्त्रको बारेमा सभापोखरीमा मात्र बताउने एरिकको अडान जडिबुटेमा पनि कायमै थियो । भोलिपल्ट बिहान चार बजे नै पैदल यात्रा सुरु भयो । पूर्वदेखि देखिएका हिमश्रृङ्खला नजिकै सम्म लाम लागेका थिए । भरियाहरूको गति ज्यादै कम थियो । उनीहरूले दोबाटे भन्ने ठाउँमा पुगेर खाजा खाए । त्यहाँबाट हातमा ग्लुकोज बोकेर यात्रा ठाडो उकालोमा लाग्यो । बल्लतल्ल डाँडाको टुप्पामा पुगेपछि डोमाले भनिन् : ‘ यहाँको उचाइ ३७०० मिटर रहेछ । हिँडेर आएकाले मात्र गर्मी भएको हो, नत्र यो उचाइमा खुब जाडो हुन्छ ।’ अब सिमसिमे पानीले दु:ख दिन थालेको थियो । ओह्रालो–उकालो आउँदै जाँदै गर्थे । हिले भन्ने ठाउँमा उनीहरूले खाना खाए अनि करिब तीन बजे गिद्धेको पाटीमा वास वस्न पुगे । पाटीमा थुप्रै पैदल यात्रीहरू वास वस्न आइपुगेका थिए । भोलिपल्ट उनीहरूको बास खाम्बुले भन्ने ठाउँमा तय गरिएको थियो । त्यसैले बिहानको सात बजे मात्र उनीहरूले गिद्धेको पाटी छोडे । गिद्धेबाट अलिक पर पुगेपछि एउटा सानो काले पोखरी देखेपछि एरिकले डोमालाई खुसुक्क भने : ‘डोमा तिमीलाई यो ठाउँको याद आयो ? हामी एक दिन यतीसँग यहाँ आएका अनि स्ट्रबेरी टिपेर खाएको क्या त ∕ यतीले चाहिँ कता गएर अचारको बोतल चोरेर ल्याएछ । खोर्सानी टोकेर पिरो भएपछि यही पोखरीको पानीमा मुख चोब्दै उफ्रदै गरेको थियो नि, याद आयो ?’ आँखा चौडा पार्दै डोमाले भनिन् ‘ ए ∕ याद आयो, याद आयो । त्यो अचार ऊ माथि गोठबाट ल्याएको थियो होला । उहिले यहाँ गोठ थियो रे भन्दै थिए अघि भरियाहरू । डाँडामा ढुङ्गे गाह्रोको अवशेष पनि थियो । ’ भुइँमा यताउति हेर्दै डोमाले थपन् ि‘ यी अहिले पनि त स्ट्रबेरी त फलिरहेका रहेछन् नि ।’ डोमाले कुरा गर्दा गर्दै यसो कुइनेटोमा मिक्साका बाबा पनि बसेर स्ट्रबेरी भेला पार्दै रहेछन् । भरियाहरू निक्कै अघि गइसकेका थिए । उनीहरू स्ट्रबेरी टिप्दै अघि बढे । डोमा भरियाहरूलाई भेट्ने लक्ष्यका साथ छिटोछिटो हिँडिन् । एरिक र मिक्साका बाबा अलिक पछाडि नै थिए । डोमा एउटा गहिरो कुइनेटो काटेर पल्लो डाँडामा पुग्दा एरिक र मिक्साका बाबा ओल्लो डाँडामा मात्र पुगेका थिए । डोमा बेसमारी चिच्याएर उफ्रिरहेकी थिइन् । उनी नजिकै पुगेपछि एरिकले सोधे ‘ किन मख्ख परेर चिच्याइरहेकी छौ , के भयो ?’ डोमा खुसीले बोल्न सकिनन् । उनका आँखाबाट हर्षका आँसु पनि झरिरहेको देखिन्थ्यो । बल्ल डोमाले औँल्याएर देखाउँदै भनिन् ‘ हेर हामी कहाँ आइपुगेछौँ ? त्यो ढुङ्गा हेर्दा तिमीलाई पनि याद आयो होला ?’ एरिक पनि अलिक भावुक भएर मुन्टो हल्लाउँदै भने ‘ ए ∕ मजाले याद आयो नि ।’ यसपछि दुबै त्यो ठाउँ हेरेर मौन भए । ‘यो ठाउँलाई भञ्ज्याङ भन्दछन् ।’ मिक्साका बाबाले मौनता तोड्दै भने ‘ पहिलो पटक सभापोखरी गएको भन्नुभएको हैन ? अघि आउँदै नआएको ठाउँको बारेमा के याद आएको कुरा हो यो ? ’ त्यहाँको अग्लो अनि ठूलो ढुङ्गालाई औँल्याउँदै डोमाले भनिन् ‘ हामी यतीसँग बसेका बेला धेरै पटक यो ढुङ्गाको पछाडि लुकाएर यतीले यहाँ नजिकैको गोठबाट खानेकुरा झिकेर ल्याइदिन्थ्यो ।’ डोमाले आफ्नो दायाँतिर अलिक सम्म ठाउँ देखाउँदै भनिन् ‘त्यो बेलामा यहाँ गोठ थियो ।’ भरियाहरू गीत गाउँदै निक्कै अघि पुगिसकेका थिए , उनीहरू पनि ओह्रालो झरे । भरियाहरूले ठाडे ओडारमा पुगेर खाना बनाइसकेका रहेछन् । डोमाको टोली पुगेपछि खाना खाइनसक्दै पानी पर्न थाल्यो तर त्यो ओडारले पूरै ओताउँदो रहेछ । निक्कैबेरपछि पानी अलिक कम भयो । उनीहरूको यात्रा सुरू भयो । मालिङ्गो घारीमा रेड पाण्डा चरिरहेका देखिन्थे । अनेक ओडारहरूमा डोमा र एरिकले अनुसन्धान गर्दै निक्कै सुस्त गतिमा यात्रा अघि बड्यो । उनीहरू भूते पोखरीलाई दाहिनेतिर पाखामा छोडेर पैदल यात्राका लागि बनाइएको बाटामा अघि बढिरहे । अब एउटा कठिन उकालो चढेपछि आजको वासस्थान खाम्बुले पाटीमा पुगिएको थियो । लोठ सल्लाको जङ्गलभित्र रहेको सो पाटीमा चाहिँ एरिकको यन्त्र एक जना भरियाको टाउकामा जडान गरिएको थियो । रातमा खाम्बुलेबाट पूर्वपट्ठि ताप्लेजुङ बजारमा बलेको बिजुली आकाशका ताराजस्तै देखिएका थिए । अर्को दिन अर्थात् भाद्र १३ गते बिहीबार ( २९ अगस्ट) बिहान आठ बजेमात्र उनीहरूले पाटी छोडे । अब बाटो पूरै उकालो थियो । बिहान मजाले घाम लागेको मौसम थियो । उकालोमा भुटेको मकै र भटमास चपाउँदै बेलुकी टाउकामा यन्त्र जडान गर्ने भरियाले एरिकलाई लक्ष्यित गरी सोधे: ‘ त्यो यन्त्रको बारेमा चाहिँ किन पर्सि मात्र भन्ने रे ? आज भन्दा के हुन्छ ? पर्सि त्यस्तो के महत्त्पूर्ण दिन हो र ?’ ग्लुकोज बाँड्दै गरेको एरिकले उत्तर दिनै नपाइकन डोमाले जवाफ दिइन् ‘ पर्सि ३१ अगस्ट, एरिकको जन्मदिन हो । जन्म दिनको महत्त्व तपाईँ आफैँ बुझ्नुहुन्छ ।’ एरिकले पुलुक्क डोमातिर हेरे । जन्मदिन भन्ने सुनेपछि एक जना भरियाले भनिहाले : ‘ भनेपछि त्यो दिन चाहिँ भव्य पाटी खाइने भएछ , हैन ?’ अन्य भरियाहरूले पनि हो मा हो मिलाए । अब भने उनीहरू रूख नभएको ठाउँमा आइपुगे । भुइँभरी रङ्गी–बिरङ्गी फूल फुलेका थिए । चट्टानमात्र भएको ठाउँमा अलिकति माटो भेट्नासाथ फुलेका ती फूलहरू देखेर सबैको मन एकतमासले मख्ख भएको थियो । अब थुम्की पुग्न लागिएकाले भरियाहरू निक्कै फुर्तीका साथ अघि बडिसकेका थिए । सबै जना भोक अनि उच्च ठाउँको यात्राले निक्कै थाकेका पनि थिए । डोमा, एरिक र मिक्साका बाबा पुग्दा थुम्कीमा भरिया समूहले खाना बनाइसकेको रहेछ । टेन्ट पनि मिलाइसकेका रहेछन् । उनीहरूले खाना खाइसकेपछि निक्कै ठूलो पानी पर्न थाल्यो । डोमा र एरिकले घडी ल्यापटपमा मिक्सा र मुकुमका लागि केही लेखे । भरियाहरूले लोकगीत गाएर एकछिन रमाइलो गरे । बाहिर हावासँग मिसिएर दर्के पानी परिरहेको थियो । मिक्साका बाबाले भोलिको यात्रा योजना सुनाउँदै भने ‘ हामी तीन जना चाहिँ जलजले हिमाललाई फन्को मारेर जलजले पोखरीको बाटो जानुपर्ने भयो । पाहुनाहरू त्यता जान मन गर्नुभएको छ । अब तपाईँहरूलाई भारी बोकेर त्यो बाटो कठिन हुन्छ होला, तल्लो बाटो नै गएर खानपिन बनाउँदै गर्नुहोला है ? हामी केही खाजा लिएर बिहानै लाग्छौँ ।’ केही भरियाहरूले सँगै जाने पनि प्रस्ताव राखे तर बाटामा धेरै ठाडो उकालो अनि त्यस्तै ओह्रालो भएको हुँदा उनीहरू भकारी छिरुवाबाट देब्रेतिरको तेर्सो बाटो जाँदै गर्ने छलफल पछि सहमती भयो । पानी दर्किन छोडे पनि बाहिर अँध्यारो भइसकेको थियो । जाडो उस्तै कडा भएकाले उनीहरू सुत्ने तरखरमा लागे । भोलिपल्ट भकारी छिरूवा पुगेपछि डोमा, एरिक र मिक्साका बाबा दाहिनेतिर लागे । भरियाहरू स्वरमा स्वर मिलाई लोकगीत गाउँदै देर्बेतिर तेर्सिए । बिहान घाम लागेको भए पनि उच्च क्षेत्र भएकाले चिसो हावा चलेको थियो । एरिकले बाँढेको अदुवाको टुक्रो चुस्दै उनीहरू समथर टुण्ड्रा क्षेत्रमा यात्रारत थिए । अघि यात्रा सुरु गर्दा निक्कै तल देखिएको कपासजस्तो सेतो कुहिरो अब पर्दा भएर दृश्य छेल्दै नजिकै आइपुगेको थियो । यत्रतत्र उम्रिएका जडिबुटी देखाउँदै डोमाले भनिन् : ‘ यो चिराइँतो, यो बिखुमा, यो खोकिम, यो पाखनबेत............................’ एउटा अग्लो सेतो फूल देखाउँदै मिक्साका बाबाले भने ‘यो चाहिँ केन्जो । हाम्रो ट्रयाकिङ एजेन्सीको नाम यसैबाट राखेको ।’ डोमाले छक्क पर्दै भनिन् ‘ ल यो त पदमचाल पो हो त ।’ ‘हामी लिम्बूहरूको भाषामा यसलाई केन्जो भनिन्छ । नेपालीमा पदमचाल ।’ मिक्साका बाबाले स्प्रष्ट पार्दै भने ‘ पहिले पहिले यता केन्जोको जङ्गल नै हुन्थ्यो रे । पछि सभापोखरी आउने पैदल यात्रीले जथाभावी उखेलेर लैजाँदा यो लोपोन्मुख अवस्थामा पुगेको थियो । मेरा बाजेहरू सभापोखरी आउँदा एउटै पनि केन्जो देख्न पाउनुभएनछ तर समय सँगै आएको नियम र संरक्षण योजनाको प्रभावकारी कार्यले फेरि यो यसरी फुल्न थालेको छ । धन्न पछिका सन्तानले पनि यो सुन्दर फूल अनि महत्वपूर्ण जडिबुटी देख्न पाउने भए ।’ समुद्र सतहदेखि करिब तीन हजार पाँच सय मिटरभन्दा माथि मात्र पाइने लोपोन्मुख जडिबुटी त्यो पनि आफ्नै जातीय भाषाको शब्दलाई आफ्नो एजेन्सीको नामका लागि छनौट गर्नुलाई एरिक र डोमाले मिक्साका बाबाको खुलेर प्रशंसा गरे । सिमसिम पानी पर्दै गर्दा उनीहरू जलजले पोखरी पुगे । अर्ध चन्द्रमा आकारको सुन्दर पोखरीमा उनीहरू एकैछिन सुस्ताए , फोटो खिचे अनि बाटो लागे । जलजले पोखरी नजिकै भएको अर्को पोखरीमाथि पुगेपछि एरिकले भने ‘ उहिले हामी यतीसँग यो ठाउँमा पनि निक्कैपटक आएका रहेछौँ तर यी दुबै पोखरी जोडिएका थिए । अहिले बीचबाट पानी चुहिएर फरक फरक पोखरी बनेछन् ।’ ‘ होइन होला ∕’ अविश्वासको कारण समेत राख्दै मिक्साका बाबाले भने ‘हाम्रा बाजेले सभापोखरी यात्रा गर्दा यहाँ दुई ओटै पोखरी भएको लेखेका छन् । तपाईँहरू हाम्रो बाजेभन्दा बूढा त पक्कै होइन, बाजे ९८ वर्षको उमेर पचाएर परलोक गएको पनि बीस वर्ष भइसक्यो । झुक्किनुभयो होला, लेकका धेरै ठाउँ उस्तै लाग्छ ।’ मिक्साका बाबाको कुरा सुनेर एरिक र डोमा निक्कैबेर हाँसे । पानी पर्न छोडेर घाम लाग्न थालेको थियो । उनीहरूको हाँसोको कारण नबुझेर मिक्साका बाबा छक्क परेका थिए । हाँस्दा हाँस्दै गलेर एरिक र डोमा बाटो छेउको एउटा ढुङ्गामा बसे । ‘ म त आज दुई सय अन्ठाउन्न वर्षको अन्तिम दिनमा हिँडिरहेको छु ∕ पत्याउनु हुन्छ ? लामा गुरुको सङ्गतले डोमाले चिनेका जडिबुटीको कमाल हो ।’ अघिसम्म कुरा नबुझेर अचम्म मानिरहेका मिक्साका बाबा अब कुरा बुझेर झन् छक्क परे । उनी उभिइरहेका थिए, कुरा सुनेपछि थचक्क बस्दै भने ‘ आम्मामा ∕ दुई सय अन्ठाउन्न वर्ष ।’ डोमा र एरिकले आफ्नो यथार्थ कुरा मिक्साका बाबालाई सुनाए । उनीहरू तोप्केगोला भन्दा पनि जहाँ यतीसँग भेट हुन्छ त्यहीँसम्म मात्र हिँडेका रहेछन् । यतीसँग भेट्ने कुराले सबै डराउने हुँदा यो विषय गोप्य राखेको कुरा पनि एरिक र डोमाले बताए । कुरा बुझेपछि मिक्साका बाबाले भने : ‘यतीसँग त्यति सजिलै भेट कसरी होला ? भेट भएन भने के गर्नुहुन्छ ?’ ‘अमेरिका लगेका बेला यतीको घाँटीमा एउटा माला लागाइ दिएको छ । त्यो मालामा हामीले पठाएको परीक्षण प्रकाश ( टेस्टिङ रे) रिभिर जोडिएको छ । अब त्यस्तो माला त नेपाल र तिब्बतका हिमाली क्षेत्रमा बस्ने सबै यतीलाई पुगोस् यतीको साथमा पठाइदिएका पनि छौँ । यहाँबाट हामीले परीक्षण प्रकाश पठाउन साथ यतीका घाँटीमा भएका माला बल्न थाल्दछन् । त्यो बलेपछि यती हामीलाई खोज्दै आउने सहमति भएको छ ।’ ‘ उहिले अमेरिका लगेको यती मरिसक्यो होला, धेरै वर्ष भएछ ।’ मिक्साका बाबाले उठेर हिँड्दै सोधे । ‘ मरेको छैन । यतीको त सामान्य आयु नै तीन सय पचास वर्षको हुन्छ । फेरि उनीहरूलाई मार्ने केही जीव छैनन् । मान्छेको गन्ध त एक किलोमिटर परबाट थाहा पाइहाल्छ । अनि कसरी मर्छ ?’ एरिकले जवाफ दिए । ‘ यतीलाई मान्छेसँग नै धेरै डर लाग्छ । हुन पनि संसारका हरेक जीव र वनस्पति लोप बनाउने नायक मानिस नै हो । यो कुरा यतीले पनि बुझेर नै मान्छेसँग डराएको होला ।’ डोमाले भनिन् । ‘मानिसले चलाउने आगो अनि माइक्रोवेभ निस्किने विद्युतीय साधनसँग पनि यती डराउँछ । अनुसन्धानले रेडियोधर्मी किरण समेत यतीले देख्नसक्ने पत्ता लागेको छ । यस्तो किरण यतीको आँखामा परेर तिरिमिरी हुँदोरहेछ । त्यसैले हामीले पठाउने टेस्टिङ रे यतीको आँखालाई असर नपर्ने किसिमको छ ।’ डोमाले भनिन् । ‘ हामी भोलि साँझ मेरो जन्मदिन मनाएपछि परीक्षण प्रकाश पठाउँछौ । यती त्यहीँ आउन पनि सक्छ किनकि पहिला यो क्षेत्रमा यती निक्कै पटक हामीलाई लिएर आएको थियो । राती गुफाभित्र प्रकाश नपुगे फेरि पर्सि बिहान पठाइहेर्ने हो ।’ एरिकले योजना सुनाए । ‘ यदि भोलि साँझमै यतीसँग भेट भयो भने हाम्रो जीवनको अन्तिम दिन भोलि नै हुनेछ । हामी सभापोखरीको स्वच्छ काखमा आफ्नो जीवन समर्पण गर्नेछौँ ।’ एरिकले अलिक भावुक भएर भने । उनीहरू यतिबेला तोप्केगोला जाने बाटोलाई दायाँपट्टि छोडेर देब्रे लागेका थिए । अगाडि हिँडिरहेका मिक्साका बाबा टक्क रोकिए अनि उनीहरूतर्फ अचम्म मान्दै फर्किए । उनले केही बोलेनन् तर अनुहारभरी प्रश्नैप्रश्न थिए । नसोधिएको प्रश्नको उत्तर सहज रूपमा दिँदै डोमाले भनिन् : ‘ हामी लामा गुरुका चेला हौँ ।’ झोलाबाट लामा गुरुको फ्रेमिङ गरिएको फोटो निकाल्दै उनले थपिन् ‘ हामीलाई इच्छा मरण गर्न गुरुले नै सिकाउनुभएको हो । आफ्नो जीवनको लक्ष्य प्राप्त भएपछि कसैलाई जिम्मेवारी सुम्पिएर यो धरा छोड्नुपर्छ भनेर गुरुले सिकाउनु भएको छ । हामी अबको जिम्मेवारी तपाईँका नानीबाबु मिक्सा र मुकुमलाई सुम्पिएर जाँदैछौ ।’ ‘ मिक्सा र मुकुमले के कुराको जिम्मेवारी लिनुपर्ने ? फेरि तपाईँहरू यहाँबाट नफिर्ने भन्नुभएको हैन र ? कसरी जान्दछन् ती नानीहरूले ?’ मिक्साका बाबाले प्रश्न गरे । ‘ उनीहरूले यती संरक्षणका बारेमा थप अध्ययन गर्ने जिम्मेवारी लिनुपर्ने हो । हामीसँग भएका सबै उपकरण मिक्सा र मुकुमका लागि तपाईँकै साथ पठाइदिने छौँ । कसरी चलाउने, के–के गर्ने सबै कुरा इमेलमै लेखिदिएका छौँ ।’ डोमाले उत्तर दिइन् अनि फेरि जानकारी दिइन् ‘तपाईँको केन्जो ट्रयाकिङ एजेन्सीलाई कानुनी अप्ठेरो नपरोस् भनेर हामीले औँठा छाप लगाएर लेखेका कागजात पनि दिन्छौँ तपाईँलाई ।’ उनीहरू कटिलो उकालो हिँडेर धजापतका फर्फराइरहेको डाँडाको टुप्पामा पुगे । डोमाले चिच्याएर भनिन् : ‘ आम्मामा ! यहाँको उचाइ त चवालिस सय चौविस मिटर रहेछ ।’ आफ्नो घडी हेर्दै उनले भनिन् ‘संसारको सबैभन्दा उच्च भागको ठीक आधा ।’ 
उनीहरूले त्यहाँबाट धर्मद्वारको उकालो चढ्दै गरेका आफ्ना सहयात्री भरियाहरू देखे । भरियाहरू मध्ये कसैले कराएर औँलाको सिट्ठी बजाएको पनि मधुरो सुनियो । प्रत्युत्तरमा मिक्साका बाबाले पनि हातका औँला मुखमा हालेर सुइय... पारे । उनीहरू साँझमा मात्र सभापोखरी पुगे अनि भरियाहरूले बनाएको खाना खाएर त्यहाँको पाटीमा आनन्दले सुते । त्यो रात सभापोखरीमा पुगेर सुत्ने उनीहरू मात्र भएछन् । धार्मिक पर्यटकहरू सभापोखरी गत भाद्र दस गते जनै पूर्णिमाकै बेलामा धेरै आउने गर्दछन् । भाद्र १५ गते बिहान सबैले एरिकलाई जन्मदिनको शुभकामना दिए । भरियाहरू त अघि नै सभापोखरी पुगेर नुहाइओरी आइपुगेका रहेछन् । एरिक, डोमा र मिक्साका बाबा पनि सभापोखरीतर्फ उक्लिए । सभापोखरीको उत्तरतर्फको अग्लो डाँडाबाट यतीका लागि परीक्षण प्रकाश पठाउने निधो भयो । मिक्साका बाबाले प्रश्न गरे : ‘ भरे हो वा भोलि टुङ्गै टुङ्गो मर्ने कुराले मनमा अलिकति पनि चिन्ता छैन तपाईँहरूलाई ?’ ‘ हामीले अढाइ जना सामान्य मान्छेको जीवन बाँचेर यतीको संरक्षणका लागि आफूले सकेको काम गर्‍यौँ । अब मर्न के को चिन्ता ? किन डर ?’ डोमाले उत्तर दिइन् । एरिकले अझ थपे ‘ यतिको संरक्षणका लागि भरपर्दो व्यवस्था गरेर इच्छामरण गर्ने वचन हामीले हाम्रा लामा गुरुलाई पनि दिएका छौँ । फेरि हाम्रो मरण पनि त यतिकै साथमा हुने हो । अनि के को चिन्ता ?’ दिउँसो भरियाहरूलाई सभापोखरीको निकासतर्फ उत्तर पश्चिमको डाँडामा एउटा अग्लो लौरोमा बाँधेर परीक्षण प्रकाश निकाल्ने यन्त्र जडान गर्न पठाइयो । त्यो यन्त्र चलाउने रिमोट डोमा र एरिकसँगै थियो । साँझ पर्नासाथ एरिकको भव्य जन्मोत्सव कार्यक्रम गरियो । उनीहरू आठ जनाबाहेक त्यो दिन अरु दुई टोली पनि त्यहाँ आइपुगेका थिए । एरिकको जन्मोत्सवमा उनीहरूलाई अनि त्यो क्षेत्रका सुरक्षाकर्मी, पुजारी र भेडी गोठका मानिसहरूलाई पनि बोलाइएको थियो । उक्त कार्यक्रमको भिडियो खिच्न भन्दै डोमाले सम्बोधन गरिन् : ‘ हामी यतीको अनुसन्धान गरेर आफ्नो जीवन यतिकै संरक्षणमा समर्पण गरेका मानिसहरू हौँ । आज हामी आफ्नो जीवनको अन्तिम उत्सव मनाएर यतीकै साथमा जाँदैछौ । हामी आफ्नै खुशीले, जानी जानी पैदल समूह छोडेर यतीका साथ जान लागेको सबैमा जानकारी गराउन चाहन्छु ।’ डोमाको कुरा सुनेर त्यहाँ उपस्थित सबै स्तब्ध भए । यतिका साथमा जान लागेको कुरा सुन्ने तर वास्तविकता नबुझ्ने श्रोताहरू चाहिँ ओठ लेप्य्राएर नपत्याएको भाव व्यक्त गरिरहेका थिए । कोही यतीको कुरा सुनेर डराइरहेका पनि थिए । कोही चाहिँ अमेरिकन जस्ती देखिएकी डोमाले नेपाली बोलेको सुनेर खस्याकखुसुक पनि गरिरहेका थिए । डोमाले आफ्नो झोलाबाट एरिकलाई दिन भनेर ल्याएको उपहार झिकेर एरिकलाई दिदै भनिन् ‘ लु यो उपहारको पोको खोलेर सबैलाई देखाउ त । तिमीलाई अन्तिम जन्मदिनको धेरै धेरै शुभकामना छ ।’ ‘ अन्तिम जन्मदिन भन्दा कति नमिठो सुनिएको नि ?’ एरिकले उपहारको पोको खोल्दै गर्दा एकजना भरियाले मौनता तोड्दै भने । एरिकले उपहार सबैसामू प्रर्दशन गर्दा अरूले ताली बजाए । उपहारमा एउटा नेपालको नक्सा भएको फ्रेम थियो । नेपालको हिमालयन क्षेत्रमा छायाँ पारेर यती संरक्षण क्षेत्र लेखिएको थियो । फोटोको तल लेखिएको हरफ मिक्साका बाबाले ठूलो स्वरमा पढे ‘यती लगायत सम्पूर्ण जनावरलाई लोप हुनबाट बचाऊँ, मानिस विवेकशील प्राणी हो भन्ने प्रमाणित गरेर देखाऊँ ।’ पहिला एरिकले ताली बजाए अनि सबैले साथ दिए । एरिकले आफूले पाएको उपहार मिक्साका बाबालाई दिँदै भने ‘यो नानीबाबुहरूलाई दिनुहोला ।’ मिक्साका बाबाले अलिक अल्छी गरेको जस्तो गरी केही ढिलो गरी समाए । अर्काको जन्मोत्सबमा कसैले दिएको उपहार लिन उनलाई अलिक अप्ठेरो लागेको होला । डोमाले पनि लामा गुरुको फोटो र झोलामा भएका अन्य सामग्री दिँदै भनिन् ‘यी सबै यतीको अध्येतालाई चाहिन्छन् । यो पनि उनीहरूलाई दिनू ।’ यस पटक भने मिक्साका बाबाको हात अघि बढेन । दिएका सामान लिन अप्ठ्यारो मानेको देखेर डोमाले भनिन् ‘ उनीहरूलाई हामीले कुन सामान कसरी चालाउने देखि अन्य सबै कुराको जानकारी इमेल गरिसकेका छौँ । लु छिटो गरौँ, रातमा यतीहरू बाहिर त्यति हिँड्न मन पराउँदैनन् ।’ अब उनले एरिक र डोमाले दिएका सबै सामग्री लिए । ‘ अब यो यन्त्रका बारेमा भनिहालुँ है त ।’ एरिकले मान्छे सुत्ने बेला टाउकामा जडान गर्ने गरेको यन्त्र झिकेर डोमालाई भने ‘ तिम्रो ल्यापटप खोल त ।’ एरिकले यन्त्र निकाले पछि एकजना भरियाले भने ‘ ए साँच्चि त्यस्को रहस्य सुन्न त झन्डै भुलिएछ । मेरो टाउकामा पनि लगाएको थियो एक रात ।’ डोमाले हत्तपत्त उनको घडीको ल्यापटप खोल्दै भनिन् ‘ यो ल्यापटप पनि मिक्सा र मुकुमलाई नै पठाइदिनु पर्छ । भन्डै बिर्सिएछ ।’ ल्यापटप खुलेपछि एरिकले त्यो यन्त्रलाई उक्त ल्यापटपमा जोडेपछि भने ‘ यो यन्त्रले हामीले निदाएका बेला देखेका सपना रेकर्ड गरेर यसरी देखाउन सक्छ । यी यो डोमाले देखेको सपना हो, हैन डोमा ?’ सबै जना छक्क परेर हेरे । भरियाले देखेको सपना पनि छोटकरीमा देखाएपछि एरिकले भने ‘ यो यन्त्र चाहिँ हामीसँगै लिएर जान्छौ अनि यती निदाएका बेला सपना रेकर्ड गर्न सिकाइदिन्छौँ । पछि ठूला भएपछि मिक्सा र मुकुम पनि यो परीक्षण प्रकाश निकाल्ने यन्त्र लिएर नेपालको कुनै हिमाली क्षेत्रमा गए भने यतीसँग मित्रता गाँस्न सक्नेछन् । यतीसँग प्रयोग गरिने साङ्केतिक भाषाको बारेमा पनि हामीले उनीहरूलाई इमेल गरिसकेका छौँ । उनीहरूले पछि यतीले देख्ने सपनाको समेत अध्ययन गरेर यतीको संरक्षणमा लाग्न सक्नेछन् । हाम्रो पालामा यो यन्त्र बनेकै थिएन, बल्ल मात्र सफल परीक्षण भयो ।’ डोमाले यतिन्जेलमा ल्यापटप बन्द गरेर घडी मिक्साका बाबालाई दिइसकेकी थिइन् । डोमाले एरिकलाई परीक्षण प्रकाशको रिमोट थिच्न अह्राइन् । एरिकले रिमोट थिच्न लाग्दै भने ‘ नजिकै रहेछन् भने यती चाँडै यो क्षेत्रमा आएर कराउन पनि सक्छन् । तपाईँहरू कोहीे पनि नडराउनु होला ।’ एरिकले रिमोट थिचे । एकैछिन सबै चुप भए । एरिक र डोमा निक्कै उत्साहित थिए भने अरु सबै डराएका अनि निराश देखिन्थे । बाहिर भर्खरै साँझ परेको थियो । रिमोट थिचिसकेपछि एरिक र डोमा यती आए कि भनेर बाहिर निस्किएर माथिमाथि डाँडातिर हेर्दै थिए । अन्य मानिसहरू चाहिँ पाटीभित्रैबाट ढोकामा ठेलाठेल गरेर हेर्दै थिए । यसैबेला डरलाग्दो आवाज निकाल्दै एउटा ठूलो कालो जीव माथि डाँडामा देखियो । पाटीको ढोकाबाट हेर्नेहरूले हत्तपत्त ढोका थुनेछन् । मिक्साका बाबाले अँध्यारोमा ढोकाको च्यापबाट हेर्दा त्यो ठूलो कालो छाँया उडेजस्तो गरेर सभापोखरीको डिलमै आइपुग्यो तर उडेको चाहिँ होइन रहेछ । पाटीको आँगनमा भएका डोमा र एरिकले अनौठो पारामा सङ्केत गर्दै देखिन्थे । लगत्तै अन्य तीन त्यस्तै गरी हिँड्ने जनावर पनि त्यहीँ आइपुगे । ती सबै जनावरका घाँटीमा नीलो बत्तीको मधुरो प्रकाश आउने माला देखिन्थ्यो । पहिले आउने त्यो बडेमानको जीवले डोमा र एरिकलाई एउटै हातले जुरुक्कै उचाल्यो अनि फेरि सबै डाँडा थर्किने गरी डरलाग्दो स्वर निकालेर करायो । यस पटक यती कराउँदा चाहिँ पाटीभित्रका दुई मानिस बेहोस नै भएछन् । एक जना पैदल यात्रीले डरका कारण लुगा नै भिजाएछ । अब भने एरिक र डोमा त्यो ठूलो जीवको बुइ चढी पाटीतर्फ हेरेर हात हल्लाउँदै देखिए । मिक्साका बाबाले हत्तपत्त पाटीको ढोका खोलेर हेर्दा उनीहरू यतीको बुई चढेर सभापोखरीतर्फ जाँदै देखिए । मिक्साका बाबासँगै अन्य केही भरिया एवम् अन्य मानिसहरू पनि भेला भएर हेर्दा एरिक र डोमालाई लिएर गएका यतीको हूल परीक्षण प्रकाश निकाल्ने यन्त्र राखिएको डाँडामा पुगेको थियो । त्यहाँ पुगेर सबै यती जोडले कराएका थिए । एरिक र डोमालाई बोकेको यती सबैभन्दा ठूलो भएकाले अझै प्रष्ट चिनिन्थ्यो । उसले एरिक र डोमालाई आफ्नो दुबै हातले उठाएर टाउकाभन्दा माथि लगेर मारुनी जस्तै घुमेको देखियो । यतीका साथमा अग्लो कन्दरामा पुगेका एरिक र डोमाको सानासाना छायाँले उनीहरूलाई बिदाइको हात हल्लाइरहेको देखिन्थ्यो ।
                                                                              समाप्त !!

                                                                   परिशिष्ट विचार
                                                                                                                       –हरिनारायण बाँस्कोटा
          ‘यती साथी’ मित्र एकु घिमिरेको आख्यान विधाको पहिलो पुस्तकाकार कृतिका रूपमा आएको छ । यतीको काखमा भाग १ र २ का सन्दर्भ र पात्रलाई पूर्ण न्याय गर्दै लेखिएको यस कृतिले आफ्नो लघु आयाममा हाम्रो समाजको वास्तविकता र भविष्यको सपना देखाएको छ । कल्पना आविष्कारको पहिलो सर्त हो भने स्रष्टाको द्रष्टा चिन्तन पनि हो । यस उपन्यासमा प्रस्तुत गरिएका कतिपय वैज्ञानिक प्रयोग आगतमा यथार्थ बन्न सक्छन् ।
यसैगरी यस कृतिले विभिन्न सामाजिक विषयलाई समेत प्रभावकारी ढङ्गबाट उजागर गरेको छ । सशक्त शिक्षण क्रियाकलाप, शिक्षक र विद्यार्थीको सम्बन्ध, त्यसले बालमनोविज्ञानमा पार्ने असरको सूक्ष्म विश्लेषण गरिएको छ । यहाँ बढ्दो प्रविधिले पर्यटन लगायत व्यवसायमा पर्न सक्ने नकरात्मक प्रभावप्रति  सचेतता जगाउँदै पर्यटन व्यवसायका माध्यमबाट देसलाई समृद्ध पार्ने सपना सजाइएको छ । अभिभावकले सन्तानसँग गर्नुपर्ने व्यवहारको आदर्श स्वरूप प्रस्तुत गरिएको यस कृतिमा भाषा, संस्कार र संस्कृतिको गौरवगान छ । समयक्रमसँगै विकसित भएका र प्रयोग गरिएका प्रविधिहरू मानव सभ्यता र प्रकृतिमैत्री बन्नुपर्ने विषयमा कृतिकार सचेत छन् । ‘यती साथी’ पदयात्रीका लागि पथप्रदर्शक हो भने यात्रामा निस्कन असमर्थहरूका लागि शब्दसयर गराउने सशक्त माध्यम हो । एरिकको जन्मदिनको अवसरमा डोमाले नेपालको मानचित्र उपहार दिएर देखाएको राष्ट्रप्रेमको भावनाले उपन्यासकारमा  त्यस विषयप्रतिको समेत गम्भीरता देखिन्छ ।
कौतूहलपूर्ण रहस्यलाई सही तरिकाले उठान गरी पाठकमा कौतूहल जगाई उपयुक्त स्थानमा त्यसको रहस्य उद्घाटन गर्न उपन्यासकार सफल भएका छन् । लेखकले विगतमा गरेका सभापोखरी लगायत उच्च पहाडी क्षेत्रका भ्रमण अनुभवलाई समेटेर तयार गरेका अनेक आलेखहरू उनको ब्लगमा पढ्दाका साहसिक अनि रोमाञ्चक दृष्यहरू यस उपन्यासमा पनि पाइन्छन् । विशेष गरी प्रकृतिसँग सन्निकट रही सृजन कर्म गर्ने उनको विशेषता यहाँ पनि प्रस्तुत भएको छ ।
यस उपन्यासका बाल पात्रद्वय मिक्सा र मुक्कुमका बाबाको भूमिकामा आएका पात्र स्रष्टासँग विशेष निकट लाग्छन् । आफैँ एक सन्तानका पिता रहेका उनलाई उपन्यासमा चर्चा गरिएको विद्यार्थीकेन्द्रित शिक्षण विधिलाई आफ्नै शिक्षण कर्मबाट स्थापित गर्न सहज भएको हुनुपर्दछ । यसै गरी पर्यटन व्यवसायलाई नजिकबाट नियालेका अनेकौँ अनुभव र आफ्नै पैतृक घरमा घरबास व्यवसाय सञ्चालन गरिरहेका उपन्यासकारका तत्सम्बन्धी विषय पनि यहाँ आएका छन् । एउटा विज्ञान शिक्षक र प्राविधिक कर्मचारी हुँदाको प्रभावलाई यो उपन्यासमा संयोजन गर्न उनी सफल भएका छन् । यसरी हेर्दा ‘यती साथी’ एकु साथीको बहु–आयामिक व्यक्तित्वको दर्पण हो । सबैभन्दा पछिल्लो पटक पाण्डुलिपी पढ्न पाएँ । आमाले बेउलो अन्माउने बेला खुवाएको सगुन जस्तो परिशिष्टमा मैले यी विचार राखेँ । लेखकलाई बधाई र शुभकामना ।

                                                                                                  धरान–१४, विजयपुर, मण्डप चोक 



'यती साथी' प्रकाशित भएपछि विभिन्न महानुभावले दिनुभएका प्रतिक्रियाहरू !

                                 प्रतिक्रिया-१ 

                                         - सुवास गिरी , चैनपुर-७ , सङ्खुवासभा ( हाल: मा. वि .अङ्ग्रेजी  शिक्षक )

उपन्यास समग्रमा सबै राम्रो , अन्त्य झन राम्रो लाग्यो । 

                                     प्रतिक्रिया-२ 

                                                                -खगेन्द्रा खुशी , चन्द्रगडी , झापा 

बाल साहित्य लेखिनु पर्छ तर बाल साहित्य लेख्न सहज छैन । जन्मैदेखि विज्ञान र प्रविधिमा पुगेको अहिलेको बालपुस्तालाई केन्द्रित गरेर उनिहरुको बौद्धिक स्तरलाई सम्बोधन गर्न सक्ने खालको बाल साहित्य लेख्न नसक्ने हो भने बाल साहित्य नलेखे पनि हुन्छ अब । बिज्ञान र प्रविधि मात्रै नभएर नयाँ पुस्तालाई हाम्रो आफ्नो सँस्कार, सँस्कृति, भाषा र मौलिकता को ज्ञान पनि दिन सक्नुपर्छ । सिर्जनाले । पाँच सात वर्ष पहिला मुक्ति उपाध्यायको मालति उपन्यास पढ्दा"हो बालबालिकालाई यस्तै साहित्य चाहिन्छ" भन्ने लागेको थियोे । अहिले यति साथी उपन्यास पढ्दा स्वादले जीव्रो पड्काउन मन लाग्यो । नेपाली झर्रो भाषा, स्थानीय भाषा र अंग्रेजी भाषापनि प्रयोग भएको यो उपन्यास हरेक नेपाली बाल युवा र अभिभावकले खोजेरै पढ्नेछन् भन्नेमा दुई मत छैन । यति उत्कृष्ट उपन्यास लेख्ने दाजु एकु घिमिरेलाई धन्यवाद तथा शुभकामना छ ।

                                प्रतिक्रिया-३ 

                                      -जीवनविक्रम भण्डारी , चैनपुर-९ (हाल: काठमाण्डौं )


हु प्रतिभाशाली आदरणीय दाजु Eaku Ghimire ले फेरिपनि बजारमा एकदमै रोचक उपन्यास् सार्बजनिक गर्नु भएको रहेछ । दिदि Rupa Bhandari लाई उपहार स्वरूप आएको किताब पढ्न सुरु गरे धेरै कौतुहलताका बाबजुत मैले एकै ठॉउमा बसिबसि पढेर सिध्याए एकदमै रोचक अनि कौतुहलपूर्ण उपन्यास्ले बालापन अनि गॉउघरको याद दिलायो । संखुवासभाको प्राकृतिक र सॉस्कृतिक सम्पदाको महत्त्तोलाई छर्लंग बनाउदै, ईलाम हुदै सिंगो पुर्वी प्रदेशलाई समेटेको यो उपन्यासले धेरैको मन् जित्ने छ दाजुलाई धेरै धेरै बधाई तथा शुभकामना आगामी दिनहरुमा पनि यस्तै कृति आईरहुन र सबैजनाले किनेर पढिदिनुहुन अनुरोध 🙏🏻

                               प्रतिक्रिया-४  

                                      -धरणी घिमिरे , सुर्योदय न पा -४ ,श्रीअन्तु  ,  इलाम

मेराे दाजुले लेखेकाे "यति साथी" पढ्न थालेपछि छाेड्नै मन लागेन एकै बसाईमा सकेपनि ! आहा !! लिम्बू भाषा, अंग्रेजी भाषा एकातिर ,पर्यटन अनि भविष्यकाे बैज्ञानिक चमत्कारकाे कल्पना र बाल मनाेविज्ञान अनि नेपाली शैक्षिक अवस्थाकाे केही चित्रण यसरी गासेकाे रहेछ कि याे त पञ्चामृत झै बनेछ ।याे नेपाली साहित्यकाे अब्बल कृति बन्नेछ।

                              प्रतिक्रिया-५   

                                      -लीला नेपाल , विराटनगर (हाल: इलाका हुलाक , चैनपुर , सङ्खुवासभा )


उपन्यासकार तथा कवि एकु घिमिरेको साहित्यिक कृति "यति साथी" पढ्दा पढिनसकी ध्यान अन्त मोडिएन। प्रकृति प्रतिको प्रेम, हिमाली परिबेश, पदयात्रा प्रतिको लगाव, लोक संस्कृति र मौलिक भाषा प्रतिको चासो तथा प्रबिधी र बिकास को खाका झल्किने यो उपन्यासले बालमनोबिज्ञानलाई राम्रोसंग प्रस्तुत गरेको छ !! नेपालको हिमाली क्षेत्रमा पाइने दुर्लभ प्राणी यति को बारेमा रहेको जिज्ञासा तथा यति संरक्षण को बिसयलाइ उपन्यासले राम्रोसंग समेटेको छ!!
यति साथी उपन्यास लेखेर पढ्न दिनु भएको मा एकु सर प्रती आभारी छु 🙏🙏 सरको साहित्यिक यात्रामा यस्तै पाठक को मन मा छाप छोड्ने अन्य कृतीहरु जन्मिदै जानेछ्न भन्ने पुर्ण बिस्वास का साथ यस उपन्यास को लागि र सफल साहित्यिक जीवन को लागि धेरै धेरै शुभकामना दिन चाहन्छु!! 

                           प्रतिक्रिया-६   

                                    हेनसेन यक्खा , धरान, सुनसरी ( हाल : बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान )

बहुआयामिक ब्यक्तित्वका धनी साहित्यकार मित्र एकु घिमिरेको उपन्यास " यती साथी " पढ्ने रहर पुस्तक हात लागे देखिकै नभएको होइन । तर पनि म के मा केमा ब्यस्त हुन पुगे ।त्यसैले उहाँको यो उपन्यास आज मात्र पढ्न सफल भये । उहाँलाई फेरि नि म धेरै धेरै धन्यवाद एबम बधाई दिन्छु 🌻🌹🌺 हुन त म कुनै समालोचक होइन । तर आफुलाई एउटा साधारण पाठकको हैसियतमा राखेर घिमिरे जि को उपन्यासको बारेमा मैले मलाई लागेको कुराहरुलाई बुदागत रुपमा राख्ने प्रयास गर्दैछु । गल्ती भये माफी चाहन्छु ।
1. एकै बसाईमा पढेर सकिने
2.सरल शैली तर गम्भीर भाव बोकेको
3.बिकासले बिनास पनि गर्न सक्ने प्रती सचेत हुन आवहान
4.आफ्नो भाषा , संस्कृति र प्रकृति प्रतीको प्रेम र महत्व
5.शिक्षक र बिध्यार्थी बिचको सम्बन्ध तथा बिध्यालयेको बाताबरण ( बालमनोबिज्ञन)
6.आफू भन्दा साना ब्याक्ती पनि प्रेरणाको श्रोत हुन सक्ने
7. हिसात्मक जनवार सङ पनि प्रेम ले नजिक बन्न सकिने आदि आदि ।
समग्रमा भन्नू पर्दा भाषा ,संस्कृति , र पर्यावरणको सम्रक्षण र सम्बर्द्धनमा हरेक नेपालीले गम्भीर भयेर लाग्नु पर्ने सन्देश उहाको उपन्यासमा पाइन्छ ।
अन्त्यमा एकु जि लाई सोध्न मन लग्यो डाेल्मा र एरिक यति सङै जिउदो छन कि नाई? डाेलमा र एरिक फर्केर आएको हेर्न चाहान्छु लेखक ज्यु 😎😎 I love them 

                           प्रतिक्रिया-७   

                                                                -युवराज आचार्य , लक्षिमीपुर , इलाम (हाल: मस्कट , ओमन )

                       एकु घिमिरेको उपन्यास "यती साथी" पढिसकेपछि


हाँसी दिनेलाई, हाँसी दिनेलाई ।
चुँडाएर लैजाउ माया गाँसी दिनेलाई ।।
२०५६ सालमा हात्तिसार क्याम्पस धरानमा आइएस्सी दोस्रो बर्षको पढाइका क्रममा लोकगीत प्रतियोगिता हुँदा सँगै यही गीत गाएर दोस्रो भएका हामी साथीमध्ये एक तथा सँगै क्याम्पसमा पत्रिका निकाल्ने हाम्रा संस्थापक प्रधान सम्पादक मित्र एकु घिमिरेको बिहिबार बिहान म्यासेन्जरमा म्यासेज आयो साथमा इमेल ठेगाना पनि मागेर । उहाँले नयाँ उपन्यास "यती साथी"को कम्प्युटर कपी नि:शुल्क पठाइदिनु भयो। पुस्तकको मूल्य लिइदिए हुन्थ्यो भनेर कर गर्दा पनि मान्नु भएन।नेपाल गएको बेला ५-७ वटा पुस्तक किनेर ल्याएको थिएँ ।एउटा मात्रै पढेर सकेको थिएँ पहिला त्यही यती साथी पढ्न मन लाग्यो र आज अफिस छुट्टीको दोस्रो बसाइमा त्यो पूरा गरेर पुस्तकको सफ्टकपीको लागि सधन्यवाद यो प्रतिक्रिया लेख्तैछु ।निरन्तर साहित्य साधनामा लाग्नु भएका एकुजीको आख्यान विधाको पहिलो कृति र प्रकाशित तेस्रो कृति आफैंमा मगमग माटोको सुगन्ध आउँछ। बालबालिकाले सिक्नको लागि चाहिने स्कूलको वातावरण, आफ्नै मातृभाषामा प्रधानाध्यापकले बोल्दा मिक्साले महसुस गरेको आत्मियता, थोपरिएको शिक्षाभन्दा स्वतन्त्र छोडिएको सिकाइको बृहत्तर स्वच्छन्दता र त्यसबाट आएको केही सिक्ने, पढाइको अलावा बाहिरी ज्ञान लिन खोजेको उत्सुकता आफैंमा सिकाइमा बैज्ञानिक प्रयोगको खोजी हो । चार जात छत्तीस वर्णको पहिचान आफ्नै भाषा, संस्कृति, कला र परम्पराको निरन्तरता हो र यो घरभित्रैबाट शुरु हुन्छ भन्ने स्पष्ट सन्देश छ। मिक्सा र मुक्कुम नामको अर्थ जान्ने उत्सुकताले बीचसम्म बाँधेर राख्यो । जब थाहा भयो नाम मीठो र सार्थक लाग्यो ।बैज्ञानिक युगको भविष्यको कल्पना यथार्थपरक त लाग्छन् नै यिनैको कारण आउनसक्ने वातावरणीय र जैविक चुनौती अनि पसिनाको कमाइ खाने वर्गको रोजिरोटीको चिन्ता पनि देखिन्छ लेखकमा। संखुवासभाका पर्यटकीय गन्तव्यहरु विस्तृतमा र थोरै भए पनि इलाम, श्रीअन्तुको चिनारीले त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान गरेको छ । हिमाली भेगमा पाइने जडिबुटी र पितापुर्खाको आध्यात्मिक साधनाले डोमा र एरिक साढे दुई सय वर्ष बढी बाँचेको कल्पना छ लेखकको । सबैभन्दा महत्वपूर्ण कुरा यती (उदाहरण मात्र) जस्तै लोपोन्मुख पशुप्राणीहरु र औषधीय गुण भएका बोटबिरुवाको संरक्षणमा ती उर्वर र जुझारु भविष्यका कर्णधारहरुका काँधमा उपलब्ध सबै साधनस्रोतहरु छाडेर डोमा र एरिकले इच्छामरण गरेका छन् आफ्नै प्यारो साथी यतीको साथमा । हेरौँ कति मिक्सा र मुक्कुम पाउँने हो देशले र उनीहरुको योगदान कति रहने हो । अन्त्यमा, पुस्तक र लेखक दुबैलाई सफलताको शुभकामना ।जय देश, जय जनता, जय चन्द्र सूर्य ।


                                                  प्रतिक्रिया-८   


                                                                -अच्युत मिश्र, बुधबारे , झापा (हाल: अमेरिका )



बिद्युतिय माध्यम बाट प्राप्त भएको झन्डै १० दिनपछी मात्र यती साथी पढ्ने समय जुर्यो। कती पेज रहेछ भनेर कम्प्युटर खोलेर हेर्दाहेरदै मिक्सा स्कुल भर्ना भईसकिछन। त्यसपछी प्रिन्ट गर्न भ्याइन्न भन्ने लाग्यो। श्रीमती र सानी छोरीले पटक पटक मेरो ध्यानाकर्षण गर्न खोजिरहे तर मैले बेवास्ता गर्दै एकै बसाइमा पढेर भ्याएं। पढुन्जेल त्यसपछी के भएछ भन्ने कौतुहलता मुक्कुम र मिक्साको भन्दा कम भएन। यती एअरलाईन्स जहाज चढ्दा यतीका पाइला देखेर मनमा उठ्नेगरेका मेरा केही जिज्ञासाहरु समेत यस् उपन्यासले सम्बोधन गरेको छ। यस् कृतिले ईतिहास, भुगोल, बिज्ञान र सस्क्रितीको बारेमा पाठकलाई राम्रैसँग पढाएको छ। त्यो भन्दा बढी नेपालका उच्च पहाडी तथा हिमालि छेत्रका जडिबुटी र प्राकृतिक छटालाई पर्यटनमा जोड्न के कुरालाई ध्यान दिनुपर्छ भन्ने कुरा उजागर गरेको छ। लेखकले बाल मनोबिज्ञानलाई नजिकबाट नियालेको र सबै सामुदायिक बिद्यालयल ब्यबस्थापनले सामान्य प्रयासमै बिद्यालय र बालबालिका दुबैको भबिस्य कसरी राम्रो बनाउन सकिन्छ भन्ने परीकल्पना समेत गरेका छन। सपनालाई रेकर्ड गर्न सक्नेखाले आविस्कार चाहि किन नभएको होला भन्ने मेरो सानै देखिको जिज्ञासा उपन्यासकार सँग मिलेको देखेर दंग परेको छु। उपन्यासमा अबैज्ञानीक र अल्पकालिन बिकासे योजनाले प्राकृतिक प्रकोप लगायत पर्यटनमा कस्तो असर पर्छ भन्ने कुराको आम पाठक लगायत तत्सम्बन्धी योजनाकारलाई केही ज्ञान मिलेकै हुनुपर्छ। यस कृतिले आजको समाजले आउने जेनेरेसनबाट प्राकृतिक सम्रक्षणमा कस्तो आशा राखेको छ भन्ने कुर बाल पात्र मुक्कुम र मिक्सालाई एरिक र डोमाले कर्म हस्तान्तरण गरेको बर्णन बाट सन्केत मिल्छ।
समग्रमा यो एउटा सहि समयमा आएको अब्बल रचना हो जसले बिशेष गरेर बिद्यालयस्तरको अध्ययन अध्यापनमा राम्रो प्रभाव पार्छ भन्ने मेरो ठम्याई छ। यस्तो कृति स्रीजना गरेर हामी सबैलाई तुरुन्त पढ्न सकिने ब्यबस्थापन समेत गरिदिनुहुने मेरा प्रिय मित्र तथा साहित्यकार एकु घिमिरे प्रति हार्दिक आभार तथा वहाँलाई यस्ता महान कार्यमा पल पलमा साथ र उर्जा दिने परिवारका सदस्यहरुलाई समेत सलाम छ। प्रक्रिती र गाउँलाई जोडेका यस्तै कृतिहरु भबिश्यमा पुन पढ्न पाइयोस र तपाईंका श्रीजनाले सिंगो नेपाली समाज र साहित्यलाई न्याय गरिरहोस्, हार्दिक शुभकामना।





                                                       प्रतिक्रिया-९   


                                                                -दिनेश अधिकारी , धनकुटा (हाल: धरान )


बहुमुखी प्रतिभाका धनी एकु घिमिरेको उपन्यास यति साथीको अध्ययन गर्ने मौका मिल्यो ।शीर्षकले नै मेरो ध्यान तानेको थियोे ।उपन्यास पढ्न सुरु गरे ।बालमनोविज्ञ।नको सूक्ष्म अध्ययन गरि अहिलेको समयमा अभिभावकहरूले आफ्नो बच्चालाई भन्दा बढी पैसा र प्रतिस्ठाका लागि मात्र डौडिएर बच्चाको भबिस्यलाई अन्धकारतिर धकेल्दै गरेको यथार्थलाई मिक्सा र मुक्कुमका बाबुको माध्यमबाट उपन्यासमा चोटिलो व्यङ्ग्य प्रस्तुत गरिएको छ । बालकको जिज्ञासाू स्वभाव,नेपालको शिक्षा प्रणाली,शिक्षकको भुमिकालाई उपन्यासमा उठाइएको छ । नेपालको पूर्वी पहाडी जिल्लाहरूको प्राकृतिक छटाहरूको वर्णन गर्न उपन्यासकारले कुनै कसर बाकी राखेका छैनन् । त्यसैगरी नेपालीहरूले आफ्नो धर्म,सस्कृती,रीतिरिवाज,भाषा आदि भुलेका कारण उपन्यासमा प्रयुक्त पात्रका माध्यमबाट आफ्नो भाषा,सस्कृती,सस्कार र धर्मको संरक्षणमा जुट्न आह्वान गरिएको छ । नेपालमा पाहिने जडिबुटीको सेवनबाट एरिक र डोमा २५० वर्ष बाचेको देखाएर कस्तुरीले आफ्नै जीउमा भएको सुगन्ध खोज्न डौडिए जस्तो नेपालीहरू पनि अन्यत्र दौडिरहेको कुरालाई उपन्यासमा प्रष्ट पारिएको छ । साथै पूर्वी नेपालका पर्यटकीय स्थलहरूको पथप्रदर्शक बन्न पुगेको यश उपन्यासमा यति लगायत सम्पूर्ण लोपोन्मुख वन्यजन्तुहरूको संरक्षणमा जोड दिदै सरकारले समेत उचित कदम चाल्नुपर्ने र आफ्ना बच्चालाई पनि संरक्षणका उपायहरू सिकाउनु पर्छ भन्ने कुरालाई प्रष्ट रूपमा लेखिएको यस उपन्यासको अध्ययन गर्ने अवसर दिनुहुने उपन्यासकार दजु एकु घिमिरेलाई धन्यवाद दिन चाहन्छु । साथै अन्य यस्ता कृतिहरूको अध्ययन गर्ने अवसर फेरि दिनुहुनेछ भन्ने आशा समेत राखेको छु ।


                                       

                                                   प्रतिक्रिया-१० 





                                                                          प्रतिक्रिया-११ 


                                                                                                  -प्रतिभा पौडेल , इलाम  


एकु घिमिरेको यतिसाथी उपन्यास सरल भाषा शैलीमा नेपाली संस्कृति,विभिन्न जातजाति र स्थानीय पहिचान झल्किने कृति हो । यसमा बालबालिका हरूको जिज्ञासु मनोवृत्तिलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । हिमाली जरिबुटी र वातावरणको महत्व झल्काउँदै अाउँदो भविस्यका लागि प्रविधिक परिवर्तनको सुन्दर कल्पना समेत गरिएको छ । बालमनोवृत्ति अनुशारको शिक्षण र शैक्षिक वातावरणको एउटा सुन्दर नमुना समेत यसमा पाउँन सकिन्छ । साथै प्राकृतिक वातावरण र जीवजन्तु संरक्षणका लागि एरिक र डोमाका माध्यमले मुक्कुम र मिक्सालाई जिम्मेवारी सुम्पनु भनेको पुस्ता हस्तान्तरण गर्दै जानु पर्ने संकेत पनि हो ।

समग्रमा स्थानीय पहिचान, पर्यटन , प्राकृतिक संरक्षणका साथै शिक्षण सिकाइका लागि यो कृति निकै प्रभावकारी देखिन्छ ।सष्टालाई सफलताको शुभकामना ।

                                                                          प्रतिक्रिया-१२  




                                                                                                  -कमल घिमिरे , धुलाबारी  , झापा 


प्रकृतिप्रेम,बालमनोविज्ञान,वैज्ञानिकखोज तथा आविष्कार , जातीय पहिचान आदिको सुन्दर संयोजन भएको रोचक कृति ।
बालबालिका हरुलाई अझै अभिप्रेरणा जगाउने पुस्तक ।
                                                                           

                                                                    प्रतिक्रिया-१३ 

                                                                      -मदनराज बराल ,जनता बहुमुखी क्याम्पस , इटहरी  (नेपाली विभाग प्रमुख ) 

एकु जी नमस्कार! तपाईँको सुन्दर सिर्जना 'यती साथी' अलिक ढिलो गरी पाए पनि पाएकै भोलिपल्ट (भाद्र 21गते) पढेँ।उक्त अवसर उपलब्ध गराइदिनुभएकामा तपाईँप्रति हार्दिक बधाईसहित कृतज्ञता प्रकट गर्दछु ।यस कृतिका बारेमा मेरो सङ्क्षिप्त प्रतिक्रिया यस्तो छ -
🇳🇵 पुराणकथा, लोक/दन्त्यकथा, विज्ञानकथा, सामाजिक यथार्थवादी कथा, जीवनकथा, आदर्शवादी कथा, यात्रा संस्मरण कथा र प्रयोगवादी कथाहरूको संयोजनबाट निर्मित लामो कथा भएको र साहित्यका माध्यमबाट धार्मिक पर्यटनको बाटो समाएर समाज /देश विकासमा सहयोगी,
🇳🇵 तथ्योन्यास (तथ्य +उपन्यास ) /Faction (Fact +Fiction ) का रूपमा नेपाली साहित्याकाशको उज्ज्वल नक्षत्रका रुपमा रहने खालको,
🇳🇵 यहाँ उल्लेख गरिएको बाह्य परिवेश धेरै हदसम्म मैले अघिल्लो पुस्ताबाट सुनेर, पढेर अथवा आफैँले प्रत्यक्ष भोगेर जानेका कुरासँग मिलेकाले मलाई व्यक्तिगत रूपमाचाहिँ अपनत्व महसुस हुने खालको।
नोट :- यस्तो बढ्ता महसुस यसअघि झोला कथा पढ्दा भएको थियो किनभने त्यहाँ वर्णित कथानक /कथावस्तु दशकौँअघि घरमा हजबुवा /हजुरआमाले तथ्यकथाका रूपमा सुनाउनुभएको थियो(त्यस्तै महसुस यस कृतिमा पनि भयो)
🇳🇵 भाषिक शुद्धाशुद्धमा अर्को संस्करणमा केही ध्यान दिन सके राम्रो होला। पृष्ठ 3 को पहिलो अनुच्छेदमा ताप्लेजुङको 'मैवाखोला'... हुनु पर्नेमा 'मौवाखोला' भएको रहेछ...!
अहिलेलाई यति मात्र। धन्यवाद!

                                                             प्रतिक्रिया-१४ 

                                                                                  -रामनाथ पोख्रेल यात्री   , इलाम 

आज एकै बसाई मा यति साथी पढे। यस्तो जबर्जस्त साहित्यिक कृती सायदै होलान् । यसरी गासिएको माला रहेछ कि , बाल जिज्ञासा देखी भाषा , सस्कृती, खोज अनुसन्धान ,पर्यटन , मनोरञ्जन , अध्यात्म , सम्मलाइ सरल, कलात्मक ढ्ङ्गले बुनिएको रहेछ। खुशी लाग्यो दाजु ढिलो गरी भए नि पढ्न पाइयो।नेपाली साहित्य को उत्कृष्ट कृति मान्छु यो कृती लाइ । धेरै धेरै शुभकामना दाजु।

                                                             प्रतिक्रिया-१५  

                                                                              -रोम ढुङ्गेल   , झापा 

यति साथी बाल-उपन्यासको शक्ति - आजको समयको उत्कृष्ट बाल उपन्यास बन्न सक्नु, - सुरुदेखि अन्त्यसम्म नै बाल मनोविज्ञानलाई सचेतताका साथ अन्तर्घुलन गर्नु, -यतीका माध्यमबाट आ -आफ्नो कर्तव्यबोध गराउन सक्षम हुनु, - भाषा,संस्कृति र परम्पराको गरिमा किन छ वा हुन्छ भन्ने कुराको उत्तर दिनसक्नु, - पाश्चात्य संस्कृतिको अन्धानुकरणले पारेको प्रभावलाई देखाइदिनु, - नेपालीहरूको अंग्रेजी मोह र त्यसको बाल मस्तिष्कमा पर्ने असर केलाउन सक्नु, -निजी विद्यालयका वास्तविक व्यवहारलाई चरितार्थ गर्नु, - घोकन्ते विद्याको भविष्य देखाइदिनु, - नेपालेली भाषाप्रति झुकाव, हाम्रा लोकभाका र लोक संस्कृतिको संरक्षणमा जोड दिनु, - भाैतिक विज्ञानको चामत्कारिक विकासको नमुना प्रस्तुत गर्नु, -हिजो, आज र भोलिको अन्तर देखाउनसक्नु, - समाजका कुन कुन व्यक्तिको व्यवहारले के कस्तो सकारात्मक/नकारात्मक प्रभाव पार्नसक्छ भन्ने देखाई सचेत पार्नु, रैखिक ढाँचाको प्रयोग गरी स-साना बालबालिकालाई पठनसंस्कृतिप्रति उत्प्रेरित गर्नसक्ने प्रस्तुति दिनु, - "यतीको काखमा" बाल उपन्यासका पात्र डोमा र एरिकलाई सामयिक सन्दर्भमा उठाएर त्यसैको तेस्राे भागका रूपमा कथानक अघि बढाउनु, - संखुवासभाली पर्यावरण, धार्मिक, साँस्कृतिक र भाैगोलिक विशेषतालाई देखाउनु, - पर्यटन प्रबर्द्धनका निम्ति भएका प्रयासमा ऐक्यबद्धता जनाउँदै थप गरिनुपर्ने कार्यको खाका प्रस्तुत गर्नु, - विशेषगरी ट्रेकिङ गर्न रुचाउने पाठकका लागि उपयुक्त, - जीवनको वास्तविक अर्थ दिन सफल, - सरल भाषाशैलीको प्रयोग, -उपन्यासकार आफैँले देखे-पढे-भोगेका अनुभव र अनुभूतिजन्य कुरा नै उपन्यासमा अाएकाले फ्लाइङ कारमा अन्तु गएको बाहेक अरू यथार्थजस्ता देखिनु, - प्रयास गरे के हुँदैन भन्ने कुरालाई सप्रमाण पुष्टि, - गुफाहरूको खोज-अनुसन्धान आदिले उपन्यास महत्त्वपूर्ण तथा पठनीय बनेको छ । अन्त्यमा डोमा र एरिकको इच्छा मृत्युपछि उपहारका रूपमा मिक्सा र मुक्कुमलाई पठाइएका उपकरण उनीहरूले के कसरी उपयोग गरे ? यतीबारे उनीहरूको जिज्ञासा र खोज कसरी अघि बढ्यो ? यतिको बुइ चढेर डोमाहरूले अन्तिम हात हल्लाउँदै गएपछि उपस्थित समाजको मनोविज्ञानमा के अन्तर आ यो/आ एन ? सपनासमेतको रेकर्ड गर्ने यन्त्र पाएका मिक्सा र मुक्कुमले के कसरी लामा गुरूको र वचन तथा एरिक/डोमाको सन्देश परिपालना गरे ? आदि/इत्यादि कथा उनेर उपन्यासको अर्को भाग चाँडै आओस् भन्ने आ शा गरेको छु । पुनश्च यती साथी बाल-उपन्यासका लागि कवि, गजलकार हुँदै उपन्यासकार बन्नुहुने मेरा अग्रज तथा सहृदयी मित्र श्री एकु घिमिरेलाई धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छु । धन्यवाद । ( फेसबुकबाट पढेँ त्यसैले रिफ्रेन्स दिन सकिएन है, सरसर्ती आयो पेज नं. आ एन ब्लकमा त्यसैले) रोम ढुङ्गेलधरान९८४२१३४५०


                                                             प्रतिक्रिया-१६  

                                                                              -निरज ढकाल   , विराटनगर 

          लकडाउनले फुर्सद नै फुर्सद भएको छ आज भोलि , फेरि  पढ्न मन लाग्यो अनि निकालेर पढ्न थालेँ । पढेर प्रतिकृया दिनु है भन्दै उपहार पाएको थिएँ मैले । अझ भन्नुपर्दा प्रेसबाट तात्तात्तै निस्किने बित्तिकै पुस्तक हात परेको म कहाँ । म पढ्न मात्र रुचाउने भएर होला आफूलाई कस्तो लाग्यो  बयान नै गर्न सकिरहेको छैन । 'यती साथी' पढिरहदा  आफैले आफैलाई अत्याधुनिक भोलिमा पाइरहेको अनुभुती भयो । उपन्याससका हरेक भागहरु पढिरहदा हुने कौतुहलता, आजको बिद्यालय लाई नै बोझ मान्ने विद्यार्थी भएको समयमा फरक किसिमको बिद्यालयको परिकल्पना, विज्ञानका विषयमा गरिएको खोज लगायत लेखक आफैले गरेको पैदल भ्रमणलाई उपन्यासका पात्रहरुद्वरा झल्काउनु उपन्यासको बिशेषता जस्तो लाग्छ । आगामी दिनमा पनि यस्तै कृतिहरु पढ्ने मौका मिलोस।

प्रतिक्रिया-१७  

                                   - गंगा भण्डारी   , बेलायत

- गंगा भण्डारी , बेलायत “यति साथी” बाल उपन्यास पढेपछि, सर्वप्रथम त यो उपन्यासको मुख्य स्रोत “यतिको काखमा” पढ्ने र यसका लेखकसँग भेटेर कुरा गर्ने महत्वकांक्षा बढेको छ। यो उपन्यास “यति साथी,”का लेखक , एकु घिमिरेलाई मैले आज पहिलो पटक यति नजिक बाट चिन्ने अवसर पाएँ । यो उपन्यासमा प्रयोग गरिएका पर्यावरणीय चासोका विषयहरू, पर्यटन प्रवर्धनका विषयहरू सशक्त छन्। समाजलाई सफा र सभ्य बनाएर विशिष्ट समाजको निर्माण कसरी गर्न सकिन्छ भन्ने एउटा दरिलो योजनाको खाका कोरेको देखिन्छ लेखकले यो उपन्यासले । देशमा राष्ट्रिय शिक्षा नीति तथा सरकारी विद्यालयको शिक्षा कसरी स्तरीय बनाउने, बालबालिकाहरूलाई सरकारी विद्यालयमै उत्कृष्ट शिक्षा कसरी प्रदान गर्ने, विद्यालयमा शिक्षक र विद्यार्थीहरू बिच कसरी सुमधुर सम्बन्ध स्थापित गर्न सकिन्छ, शिक्षा प्रयोगात्मक र बालकेन्द्रित हुनुपर्दछ र च्याउ झैँ उम्रेका बोर्डिङ्ग स्कुललाई कसरी विस्थापित गर्न सकिन्छ भन्ने गतिलो सन्देशको उज्यालो र रापिलो राँको बालेका छन् लेखकले यस उपन्यास मार्फत। त्यस्तै गरेर, यो उपन्यास पढ्दा, लेखक उच्च बौद्धिक क्षमता भएका,देश विकासका लागि सम्भावित गोरेटाहरू देखाउन र सो बमोजिम हिंड्न र हिंडाउन सक्ने व्यक्तित्व भएको पाएँ। साथसाथै, लेखक प्रकृति प्रेमी र उच्च हिमाली भेगका लोपोन्मुख जन्तु र जडिबुटी तथा वनस्पति प्रति अत्यन्त सचेत र चिन्तनशिल देखिनुका साथै, सामाजिक, साँस्कृतिक, धार्मिक तथा मानवीय व्यवहारले विश्वलाई एकैठाउँमा जोड्न आतुर देखिएको कुरा लामागुरुको धार्मिक प्रसङ्ग, अनपढ लेकाली शेर्पाकी छोरी र अमेरिकन छोराको सम्बन्धले प्रमाणित गर्दछ। लेखकको कलम अविरल चलिरहोस् र यो परिकल्पना सार्थक बन्न सकोस्, शुभकामना!!🙏🏻🙏

प्रतिक्रिया-१८  

                              - खोलाघरे साइँलो    ,  फाकफोकथुम-४,फुएतप्पा,इलाम 

"एकू घिमिरेको " यती साथी" उपन्यास पढेपछि ...."
समयको कुनै एक खण्डमा हामी जीवन्त छौं,अस्तित्ववान् छौं र केही केही गरेर जीवन गुजार्छौं,हामी सकिन्छौं । नदीको पानी प्रवाहमान भैरहन्छ समुद्रमा मिसिइरहन्छ,अहिले समुद्रमा पुगिसकेको पानी फेरि कहिल्यै पुग्दैन,तर पानी समुद्रमा पुग्ने क्रम पनि रोकिंदैन । मान्छे वा हामी जन्मिनु,जीवयापन गर्नु अनि मर्नु झलक्क हेर्दा एउटा घटना देखिए पनि वास्तवमा यो एउटा प्रणाली हो,नदीको पानी समुद्रमा पुग्नु पनि प्रणाली हो । प्रणालीहरूको गतिशील स्वभाव हुन्छ,गतिशीलताको क्रम दोहोरिन्छ । हामीले एउटा घटनाको पटाक्षेप हुनेबित्तिकै त्यसको अस्तित्वको अवसान हुन्छ भन्ने धारणा राख्नुहुन्न । एउटा जीवन सकिन्छ अर्को शुरु हुन्छ । नदीको एक अंश पानी समुद्रमा मिसिएलगत्तै अर्को अंश त्यही मिसिन पुगिसकेको हुन्छ । मानव ,प्राणी वा वनस्पति समाजका हरेक समयका एक एक क्रियाकलापको अन्त्य हुन्छ तर त्यो प्रक्रियाको अन्त्य हुँदैन । ऋतुहरूको एक चक्र सकिएपछि अर्को चक्र आइहाल्छ । समाजका घटनाहरू पनि त्यस्तै हुन् । एउटा मान्छे जन्मिएर,मरेर मात्रै मान्छेको जन्मिनु ,मर्नुको अध्याय पूरा हुँदैन ,त्यो नयाँ रूपमा पुनः घटित हुन्छ । यस्तै सिद्धान्तलाई आधार पारेर लेखिएको एकू घिमिरेको उपन्यास "यती साथी" पढिसकें । यो उपन्यास संखुवासभाका उपन्यासकार विनोद न्यौपानेको बाल उपन्यास " यतीको काखमा" भाग १,२ बाट प्रभावित भएर त्यसैका पात्रहरू समावेश गरेर लेख्नुभएको रहेछ । यसरी पुराना पात्रको उपस्थितिलाई निरन्तरता दिएर सोही कथ्यको सेरोफेरोमा विषयवस्तुलाई अघि बढाएर लेख्ने काम कहिलेदेखि आरम्भ भयो भन्ने ता मलाई थाहा छैन तर गुरुप्रसाद मैनालीको परालको आगोका पात्रहरू चामे,गौंथली ,जुठेहरूलाई प्रयोग गरेर लेखिएको इन्द्रबहादुर राईको" कठपुतलीको मन"चाहिं पढेको छु । यस कथामा यी पात्रहरू पुनः अर्को भूमिकामा आएका छन् । यसै सिद्धान्तमा कृष्ण धरावासीले इन्द्रबहादुरको "जयमाया आफु मात्रै लिखापानी आइपुुगी"कथालाई अवसान हुन नदिई शरणार्थी उपन्यासमा राईकै पात्रहरूलाई प्रस्तुत गरेर कथानकसँगै जयमाया,जयबहादुरहरूलाई जीवन्त बनाए,यो क्रमलाई कृष्ण बराल र अरू पनि कतिपय लेखकले पछ्याए । यो शिल्पलाई निरन्तरता दिने साहित्यिक अनुशीलनलाई नै विरचना भनिन्छ क्यार ! महाभारत,वेदहरूको रचना पनि कालक्रममा विभिन्न व्यासहरूबाट नै भएको हो- अर्थात् ? घटनाहरूको आवृत्ति भैरहन्छ,एउटा तत्कालीन समय मात्रै हुँदैन। हो, यसै प्रणालीको अझ नवीन शिल्प हो एकू घिमिरेको " यती साथी" उपन्यास ।
म छोटकरीमा यसका विशेषता पनि भन्छु,मेरा घतले बुझेजति-
- बालबालिकालाई नयाँनयाँ विषयवस्तुप्रति जिज्ञासु र सक्रिय बनाउनु
- उनीहरूलाई मैत्रीपूर्ण वातावरणमा शिक्षा दिनु
-सरकारी विद्यालयहरू कस्ता भएदेखि विद्यार्थीहरूले बढी लाभ पाउँछन् भन्ने नमूना प्रस्तुत गर्नु
-हाम्रो लोकजीवन,भूगोल ,सँस्कृति,धार्मिक र पर्यटकीय स्थानहरूप्रति गौरवबोध गर्नु,अपनत्वको भाव बढाउनु
- पर्यावरणीय सुरक्षा,लोपोन्मुख प्राणीहरू र प्राकृतिक स्रोतहरूको सुरक्षाका लागि जिम्मेवारी बोध गराउनु
-वैज्ञानिक ,प्राविधिक ज्ञान,सिप तल्लो पुस्तालाई हस्तान्तरण गर्दै अनुसन्धान र विकासको क्रमलाई निरन्तरता दिनु
- टेस्टिङ रे,हाते घडीमा भएको फोल्डिङ ल्यापटप ,फ्लाइङ्ग कार,सपना रेकर्ड गर्ने संयन्त्र ,यतिसँग सम्पर्कको संयन्त्र आदिको अवधारणा दिनु र त्यसप्रति जिज्ञासु बनाउनु( फ्लाइङ्ग कारको ता उन्नत मुलुकहरूले परीक्षण,प्रयोग पनि गरिसके)
- आाञ्चलिकताको निर्वाह गरेर चैनपुर,संखुवासभा क्षेत्र र
यसैका फलाँटे,तीनजुरे ,सभापोखरी,तोप्केगोला आदि उच्च भूभागहरू,इलाम ,अन्तु,करफोक,पाँचथरका कतिपय ठाउँहरूको वर्णन गरेर पर्यटनप्रति आकर्षण जगाउनु
- विभिन्न ठाउँका गुफाहरू आपसमा जोडिएका देखाइनु
-पाठकहरूलाई पनि प्रतिक्रियाका साथ सँगसँगै लैजानु
-आफ्नो देशको भविष्य सुन्दर,वैभवशाली,समुन्नत र विश्वकै नमूना हुन सक्ने मनोरम कल्पना गर्नु ।
-विशुद्ध प्रकृतिक जडिबुटीहरूको सेवनले जीवन दीर्घ .. हुन सकिने,इच्छामरण गर्न सकिने,( एरिकको उमेर २५८ वर्ष..)आदि ।
-लामाहरूको अथाह ज्ञान,नेपाली परम्परागत सँस्कृतिको उच्च महत्त्व
-स्थानीय भाषिकाहरूको संरक्षण,प्रयोगमा जोड दिनु
-स्थानीय उत्पादनलाई( अर्थोडक्स चिया आदि) महत्व दिनु
- मुक्कुम,मिक्सा,वाङ्जू,डोमा आदि स्थानीय नामका पात्रहरू हुनु
प्रस्तुतिमा रोचकता,असम्भव केही छैन भन्ने प्राक्कल्पनाले पनि यो उपन्यास पठनीय र फरक आस्वादनको पाएँ मैंले।
जैविक विविधताको संरक्षण,यति मैत्री ,आफ्नो परिसरका प्राकृतिक स्रोत ,साधनको संरक्षण ,शालीन उपयोग र दोस्रो पुस्तामा सबै अनुभव र जिम्मेवारी हस्तान्तरण गरेर अझ उन्नत,विकसित,सभ्यतम ,जिज्ञासु सामाजिक वातावरणको निर्माणको उद्देश्यमा केन्द्रित यस उपन्यासका लेखक एकू घिमिरे वास्तवमै नवाकांक्षी,सुन्दर समाज निर्माणको सपना देख्नुहुन्छ । ( खासमा हामी सबैले यस्तै सपना देख्नुपर्ने हो ) एकू सरलाई हार्दिक,मुरीमुरी धन्यवाद भन्दै यो उपन्यास पढ्न पाएको खुशीलाई अहिले यति मात्रै व्यक्त गर्छु । यो खुशी एकै खेपमा सकिहाल्ने खुशी नभएकाले यसलाई म पछिसम्मलाई पुर्याई पुर्याई अनुभव गर्न चाहन्छु । काव्यानुभूतिको रस पनि यही ता हो नि !
यति मात्रै भनें" यती साथी" लाई !
यसबारे भन्ने कुरा ता अझै कति हो कति छन्,मैंले थोरै मात्रै भनेको हुँ ।
भनाइमा कतै तलवितल पो पर्यो कि ! परेको भए पनि विवेकवान् पाठकले बुझिदिनु हुनेछ भन्नेमा ढुक्क छु ।

प्रतिक्रिया-१९  

                              - उमा ओडारी , पाँचथर
तपाई को उपन्यास पडिसके एकदमै राम्रो लाग्यो तेस्मा हामिजस्तो नयाँ पिडिले एक पटक अबस्य पढ्नु पर्छ जस्तो लाग्छ। सबै भन्दा खुसी त मलाई बालक र लिम्बु बन्नुमा सजिलो छैन तर खोट नलाउने गरि प्रतुत हुनु भएको छ।र अर्को कुरा यति के हो भन्ने मलाई पनि थाहा थिएन यो उपन्यास ले थाहा दिलायो पड्ने अबसर दिनुभयो मा तपाई लाई मुरि मुरि धन्यवाद दिन चाहन्छु 🙏🙏🙏

प्रतिक्रिया-२०

-स्यारन शेर्पा , सङ्खुवासभा,  हाल: रोमानियाँ

आजको बसाइमा 'यति साथी' कृतिलाई साथमा लिइरहँदा कथाभित्रको पात्र म आफैंलाई पाएँ ! एकै चुस्कीको मीठो तरङ्ग बन्यो मेरा लागि सिङ्गै पुस्तक । अध्यनको क्रममा जब 'म त एक सय पचास बर्ष जेठो हुँ नि तिमी भन्दा ..' भन्ने बाक्यले मात्र अ हो ! म त उपन्यास पो पढ्दै छु भन्ने आभास भयो । कक्षा ५ मा सङ्खुवासभा, चैनपुर स्थित पोखरी स्कुलमा अध्ययनरत छँदा 'यतीको काखमा' भन्ने बाल उपन्यास पढ्न पाएको थिएँ । त्यस बेलादेखिकै यती बारे उत्सुक पाठक हुँं । आज मेरो सपना पुरा भएकोमा सर्जक एकु घिमिरे ज्युप्रती हार्दिक नमन व्यक्त गर्न चाहे । अहिलेको global warming लाई ध्यानमा राख्दै आफ्ना कला, धर्म, संस्कृति सहित प्रकृतिलाइ एकताको छाताभित्र बाध्न सफल,एकदमै मनोरञ्जनात्मक,उत्साहजनक तथा पथप्रदर्शक बाल उपन्यासको यो अर्को तर फरक व्यक्तिको फरक कृति तर उनै पात्र फेरि पढ्न पाइएला भन्ने कल्पना समेत गरेको थिइनँ । कामको ब्यस्तताको बाब्जुद मेरो दिनलाई अति सुन्दर, उजागर बनाइदिनु भएकालेे छुट्टिमा नेपाल आउँदा हजुरका केही थान पुस्तक रोमानीयामा बसोबास गरिरहेका बालबालिका समक्ष समेत ल्याउने बाचा गर्दै फेरि पनि धन्यवाद । आगामी दिनको सफल साहित्यक यात्राका लागि धेरै शुभकामना🙏 ।

प्रतिक्रिया-२१

-बिष्णु कुमार भट्टराई , झापा   

तपाईंको किताब पढें । सारै सरल भाषामा ७/८ कक्षाकाे अतिरिक्त पा्ठ्यपुस्तकमा अनिवार्य गरे हुने । नानीहरूले सुरुचि पूर्वक पढ्छन् ।निकै महत्वपूर्ण शिक्षा दिएकाे छ किताबले । धेरै लेख्ने जाँगर छैन । आफूलाई खुशी लागेकाे चै लेखेकाे ।
तपाईंकाे पछि अरु तीनटा किताब पढें सबैका बारेमा लेख्न ठुलै जाँगर चाहिने भयाे , त्यो ऐले मसँग छैन ।
नानीहरूकाे बाल मनाेविज्ञानकाे स्तर चाहिँ अलि उच्च रहेकाे देखियाे अलि अस्वाभाविक जस्ताे । आम नानीहरू त्यति उच्च साेचाइकाे स्तरमा हुदैनन् । जस्ताे - उसले पैली पढेकाे बाेडिङ स्कुलका शिक्षकहरुकाे हाेमवर्कदिने कुरामा सानाे नानीले समेत "सरहरु कसले बढी हाेमवर्क दिने भन्ने कम्पिटिसनमा हुन्थे जस्ताे" भनेर भन्छ । यस्ताे समीक्षण शक्ति त्यति सानाे उमेरमा हासिल भएकाे हुदैन । एकु जीलाई भेटेरै
बधाई
दिन मन छ ।तपाईंले मलाई सायद चिन्नु भएकाे छैन । मैले पनि तपाईंकलाई भेटेकाे थाहा छैन ।

Comments