Skip to main content

गोसाइँकुण्डको गाथा र गौरवको कथा

             

               २०७६ श्रावण २५ गते शनिबार (१० अगस्ट २०१९)

शनिबार भएकाले विपैया निक्कै परसम्म गयौँ हामी । फर्किदा उज्यालोलेले धर्तीलाई स्पर्श गर्न थालेपछि सभापोखरीका डाँडाहरूले हामीलाई जिस्काए । कोक्रामा सुतेको नानीलाई  लुक्दै–हेर्दै गरेर जिस्कउँदा रुदारुदै पनि हास्छ नि, त्यसैगरी कुहिरोको पर्दाबाट जिस्क्याए तिनले हामीलाई । हामी पनि अन्य समस्या भुलेर त्यही लुकामारीमा लिप्त भयौँ । गत श्रावण २० गतेदेखि आगामी ३० गतेसम्म सभापोखरी गाउँ पलिकाको आयोजनामा त्यहाँ धार्मिक पर्यटकीय मेला लागिरहेको छ ।
‘यसपाली तपाईंहरू के गर्ने त ?’ सुमीले बिपैया (बिहानीको पैदल यात्रा) कै क्रममा प्रश्न गर्दै भनिन् ‘साथी को को हुन्, कहिले जाने हो ? किताबको काम के कति भयो ? कस्तो आजसम्म पनि केही टुङ्गो नगर्नुभएको हो यो साल ?’
मैले सभापोखरी जाने समूहका नाइके कवि सुदिप पाख्रिनलाई फोन गरिहेरेँ । उनको निक्कै अघिदेखि मोवायल स्विच अफ थियो । आज पनि खोलेका रहेनछन् । उनको लेण्डलाइनमा फोन गरेँ । आमा हो कि श्रीमतीज्यूले उठाएर उनी हामी जस्तै बिपैया गएको जानकारी दिनुभयो । आएपछि फोन गर्न भनिदिनू भन्ने आग्रहका साथ कुराकानीको क्रमभङ्ग गरेँ । हामी निवासतर्फ आयौं ।
    सभापोखरी क्षेत्रलाई समेत पृष्ठभूमि बनाएर मैले ‘यती साथी’ नामक उपन्यास लेखेको छु । त्यो विराटनगरको प्रेसमा छ । उक्त उपन्यास सभापोखरी नै लगेर कवि सुदिपलाई आश्चर्यको झड्का दिँदै लोकार्पण गराउने मेरो विचार थियो । प्रेसमा फोन गर्दा पुस्तक भोलि सम्ममा तयार हुने जानकारी पाएँ । यत्तिकैमा कवि सुदिपले आगामी मङ्लबार हिँड्ने गरी योजना बनाएको सुनाउँदै फोन गरे । मङ्गलबार घरबाट हिँड्न दिएनन् भने बुधबार हिँँड्ने पनि उनको प्रस्ताव थियो । सभापोखरी क्षेत्रमा जनै पूर्णिमाको बेला धेरै भीडभाड हुने हुँदा अलिक अघि वा पछि गएमात्र यात्रा सहज हुने मेरो ठहर थियो तर सुदिपको त्यही भीडभाड हेर्ने रहर बुझियो । मैले मकालु आधार शिविर जाने अर्को प्रस्ताव पनि गरेँ । सुदिपले साथीहरूसँग सल्लाह गर्दा सभापोखरी नै जाने निर्णय गरेको केही पछिको अर्को सम्पर्कमा जानकारी दिए ।
    दिउँसो खानापछि सामाजिक सञ्जालमा मित्र उज्वल घिमिरेले भनेः ‘ ्मकालु आधार शिविर जाऊँ, भरे बेलुकीको बसमा हामी खाँदबारी आउँछौ ।’ म दोधारमा परेँ । शनिवार नै भएपनि इन्टरनेट सहितको नयाँ लेण्डफोन जडान गर्न म र लक्ष्मण दाइ सिद्धपोखरी बजार गयौँ । काम गर्दै गर्दा साहित्यकार ताराबहादुर बुढाथोकीको उनीहरूकै समूहमा मिसिएर शिवधारा हुँदै माकालु आधार शिविरतर्पm जान प्रस्ताव गर्दै फोन आयो । उनीहरूको करिव ११ दिन लाग्ने सुस्तिरको योजना रहेछ । समूहका सदस्यहरू पनि माननीय लगायत सबै बरिष्ठहरूको लिस्ट सुनेपछि मैले सो समूहमा नजाने मनस्थिती बनाएँ र तारा दाइलाई पछि निर्णय दिने भनिदिएँ । मलाई यात्रामा अनौपचारिक, मितव्ययी र उन्मुक्त टोली मनपर्छ । माननीय समेत भएको टोली पक्कै मेरो रूचि अनुसारको हुँदैन भन्ने मेरो व्यक्तिगत विचारले मलाई डो¥यायो । साँपैया जाँदा दारेगौँडाको चौतारीमा चैनपुर बोर्डिङ स्कुलका विज्ञान शिक्षक बिशालजी सँग भेट भयो । उनले आधार शिविर जाने मनसाय ब्यक्त गरे । भोलि विहानै सल्लाह गर्न भेट्ने योजना गरीयो । चौतारीमा थुप्रै दौँतरी स्थानीय मित्रहरू पनि शित्तल हावा खाँदै हाम्रो कुरा सुनिरहहेका थिए । सभापोखरीको पृष्ठभूमि भएको कृति मकालु आधार शिविरको दुधपोखरी क्षेत्रमा लोकार्पण गर्न पाइने भयो भन्ने मीठो कल्पनाका साथ सुतेँ । सुत्नुअघि मित्र सुदिपलाई म यो पटक सभापोखरी नजाने सूचना सामाजिक सञ्जालमा छोडिदिएँ ।
घरमा यो यात्राबारे केही सुनाइनँ कारण कतै पैदल यात्रा जाने भन्ने कुरा त छँदैथियो । काठमाडौंबाट आएका साथी सहित हामी यहाँबाट खाँदबारी गएर आधार शिविरको यात्रा चुम्ने मीठो कल्पनामा डुब्दै म निदाएँ ।

                      २०७६ श्रावण २६ गते आइतबार (११ अगस्ट २०१९)

हामी बिपैयाँ गएर फर्कियौ । चिया खाइसक्दा पनि बिशालजी आएनन् । सुदिपले सभापोखरी नै जाऊँ भनेर पो कर गर्छन् कि भनी पर्खिएँ, फोन पनि गरेनन्, सामाजिक सञ्जालमा खबर पनि छोडेनछन् । बरू काठमाडौंबाट आउनेहरूले खाँदबारीबाट फोन गरे तर मैले चिनेका उज्वलजी त आएनछन् । उता तारादाइको पनि हिँड्ने बेला फोन आयो, मैले हिँड्दै गर्न भनिदिएँ । अब चिन्दै नचिनेकाहरूको भर परेर मकालु आधार शिविर जान सकिँदैन भन्ने विचार आयो । मैले काठमाडौँ बसिरहेका मेरा मित्र ऋषिकेश पोख्रेललाई फोन गरेँ ।
‘ ए, गोसाइँकुण्ड, रारा, फोक्सुण्डो जता भए पनि नयाँ ठाउँ हो भने जाने हो बुढा ,आऊ । यो साल सभापोखरी जान चाहिँ खासै रहर छैन ।’ पोख्रेलजीले फोनमा जिस्कदै भने ‘तिमीं जहिले भन्छौ, त्यही दिन हिँडन तयार छु ।’
उनी मसँग खुरुखुरु तीनपटक सभापोखरी पैदल यात्रामा जाने सहयात्री हुन् । त्यसबाहेक थुप्रै लामा–छोटा यात्राहरू सहजै पार गर्ने हामी हिँड्ने भनेपछि घरमा पनि स्वीकार गर्छन् । हामीले गोसाइँकुण्ड जाने निर्णय ग¥यौं । सहयात्री बढाउने उद्देश्यले काठमाण्डौं बसिरहेकी बहिनी उषालाई फोन गरें । उनले यसअघि हामीले गरेका पैदल यात्राबारे थाहा पाएर निक्कै पटक सहभागी गर्न अनुरोध गरेकी थिइन् । तर उनी त भाइरल ज्वरोले थलिएर सुतेकी रहिछिन् । आफ्नो शरीरमा देखिएको कमजोरीलाई ठट्टामा मिसाएर उनने भनिन् :‘ मलाई पनि लाने हो भने अरू केही लाठे र स्टेचर पनि खोज्नू ! यहाँ ज्वरोले भान्छाघर त टाढा भइराखेको छ, कसरी जानु गोसाइँकुण्ड ?’ 
  सुयोग र सुमी पनि यात्राका लागि रहर गरिरहेकै थिए । उनीहरू हामीजस्तो हिँड्न नसक्ने हुँदा यात्रा अवधि लम्बिने तर मेरो कार्यालयमा लामो बिदा नमिल्ने अवस्था थियो । अर्कोतर्फ चैनपुरको जात्रामा  देखाउन  तयार गरिएको सडक नाटकमा सुयोगजी पनि एक पात्र थिए । म आफैँले लेखेको उक्त नाटक ‘चाडबाडको खेलवाड’ माथि हामी आफैँले खेलबाड गर्ने कुरै भएन ! तेस्रो अल्झन चाहिँ उनीहरू हिँड्न सक्ने बाटो हो वा होइन भन्ने टुङ्गो थिएन । नयाँ ठाउँमा नयाँ सदस्यका साथ गरिएको यात्राले अझ नयाँ अनुभुति दिन्छ भन्ने मेरो ठहर छ । त्यसैले मैले काठमाडौंमै बसिरहेकी सङ्खुवासभाली चेली रूपालाई पनि यात्रामा सहभागी गराउनुप¥यो भन्ने मनसायले फोन गरेँ । उनी त सुत्केरी दिदीको स्यहार–सुसार अनि लोकसेवा आयोगको परीक्षाको चेपमा परेर सिलौटो र  लोहोरोका बिचमा राखिएको अदुवाको चानाको जस्तो नियती भोगिरहेकी रहेछिन् । मैले उनलाई यात्राको प्रस्ताव राख्ने त के सुइँको पनि दिने अवस्था रहेन ।
    हाम्रो यात्रामा मिसिन चाहने अर्का रौसे थिए गजलकार विवश बलिभद्र कोइराला । मैले उनलाई फोन गरेरै प्रस्ताव गरेँ । भरे टुङ्गो दिन्छु भनेका साथीले म्यासेन्जरमा लेखे :‘ मलाई अलिक श्वासप्रश्वासको समस्या छ भाइ, भाउजूले बुढो बिमारी होला भनेर नजा भनी । म  बुढेसकालमा  आएर बुढीको मायाले अल्झिएँ । यात्रा राम्रो रहोस् ।’  माइलो भाइ रुद्रलाई प्रस्ताव नै गरिनँ किनकी ऊ घर निर्माणमा व्यस्त थियो । कान्छोलाई सुनाएको विद्यालय विदा मिलाउन नसकिने बतायो । यसरी अनेकौँ ठाउँको प्रयास असफल भएपछि अरूलाई प्रस्ताव गर्न जाँगर चलेन किनकी सबै जागिरको अल्झनमा छन् । हामी पनि जागिरको साङ्लो जबरजस्ती खोलेर हिँड्न लागेका हौँ । जागिरे भनेको जेलको कैदी जस्तै रहेछ । जेलबाट भाग्ने उपाय निस्कियो भने मन मिल्ने सुटुक्कै कुदिहाल्ने रहेछ । सबैलाई भगाउन खोज्दा त गोपनियता भङ्ग हुन्छ, कोही उम्किन पाउँदैन । उल्टै योजनाकारलाई कार्यवाहीको सास्ती खेप्नुपर्ने हुन्छ ! 
    अब दुई जनाको यात्राका लागि केही सामग्री तर्जुमा गर्न थालियो । लेकाली यात्राका लागि के के चाहिन्छन् भन्ने सुमीलाई थाहै थियो । अदुवाका चाना फुराउने देखि डल्ले खुर्सानी पोको पार्ने उनैले गरिदिइन् । औषधी र आफ्ना लत्ताकपडा मैले व्यवस्था गरेँ । कार्यालयमा गरिएका झिना मसिना झमेला लेखेर म तपाईँलाई झ्याउ लागाउँदिन । यत्तिकैमा रविबार कुदेर अँध्यारोमा पस्यो । नाममा रवि (क्गल) भएपनि समय आएपछि अँध्यारैमा जाकिने हो ! हैन ?
२०७६ श्रावण २७ गते सोमबार (१२ अगस्ट २०१९)
बिपैया त दैनिकी नै हो हामी दुईको । मिर्मिरे उज्यालामा जीवन व्यवहारका मायालु गफ गर्दै हिँड्दा खुब मज्जा आउँछ । यो हाम्रो लत नै भइसकेको छ । घर आएर हरीयो चिया भिजाएर सुक्र्याइयो । पोका पन्तुरा मिलाएँ । पानी थापेँ । हत्तपत्त खाना खाएँ, ल्याप्चे हाँजिरी गरेँ र बाटो लागेँ । गेटमै एकजना मोटरसाइकल यात्री भेटिए जसले जिरो प्वाइन्टसम्म पु¥याइदिए । ठीक्क बस पनि पाइयो, खाली बेन्च पछाडि मात्रै रहेछन् । पछाडि जान लाग्दा अभिवादन सहित एकजना भाइले अगाडिकै उनी बसिरहेको बेन्च छोडिदिए । ती मकालु अरुण स्कुलका पूर्व विद्यार्थी पाँचखपनका सुजन कार्की थिए । उनीसँग यसअघि दोस्रो सभापोखरी यात्रामा गिद्धे भन्ने ठाउँमा भेट भएको मैले ‘आहा सभापोखरी’ शीर्षक लेखमा उल्लेख गरेको छु । उनका अन्य थुप्रै साथीहरू थिए । गफिँदै यात्रा अघि बड्यो ।
मुढे शनिश्चरेभन्दा अलिक माथि गएपछि यात्रामा तगारो लाग्यो । एउटा तेल ट्याङ्कर हिलम्ये बाटामा फसेको रहेछ । बाटो साँगुरो भएकाले करिब दुई दर्जन गाडी रोकिएका अनि त्यसका यात्रु यत्रतत्र पोखिएका ! भोक, आलस्यता, बिलम्ब आदिको कारण झोक्किएका !! नेता र राज्यप्रणली अनि ठेकेदारले खुब गाली खाए । बल्लतल्ल एउटा डोजर झिकाएर फसेको ट्याङ्कर निकालियो । हाम्रो पनि बाटो खुल्यो । ‘बिग्रेको मान्छेको भत्केको घर, भत्केपछि के को डर, जसो मनलाग्छ तसै गर !’ भन्ने उखानजस्तै गरे गाडीवालहरूले । करिब तीनघण्टा त फसेकै ठाउँमा ढिलो भएको थियो, त्यसपछि त जता पायो त्यता रोक्ने, हाट भर्न हिँडेका छोटा दुरीका यात्रु पनि कोच्ने आदि गरेर भेडेटार आइनपुग्दै झमक्कै भयो । आफ्नो विराटनगर गएर प्रेसबाट ‘यती साथी’ लिने अनि काठमाडौंको रात्री बस समात्ने योजना पनि संकटले काम्न थाल्यो ।
मैले प्रेसका प्रोप्राइटर हरि दाहाललाई फोन गरेर सबै समस्या सुनाएँ । उनले मलाई भेटिए काठमाडौँ जाने गाडीको टिकट गरेर त्यसैमा किताब पठाइदिने, नभेटिए कुनै माध्यमबाट इटहरी सम्म पठाइदिने आस्वासन दिए । आफूलाई हत्तार लागेर हो कि गाडी नै ढिलो कुदेको हो मैले पत्तो पाइँन । धरान पुग्ने बेला जङ्गलमा पिसाब फेर्न, अलिक तल तेल हाल्न, जिरो प्वाइन्टमा सामान छतमा हालेका यात्रु ओराल्न रोक्दा रोक्दै बसले सभा सातमा मात्रै भानुचौक पु¥यायो । मेरो पुस्तक लिएर आएको गाडीका गुरुजीले तरहरा पुग्दासम्ममा झण्डै पन्ध्र पटक फोन गरे । अब उनी रिसाउन थालिसकेका थिए । बल्लतल्ल उनीसँग भेटेर प्याक गरिएका पुस्तक लिएँ । बेलबारी जाने भाडाको सानो म्याजिक गाडीका सबै यात्रु अर्कोमा गएकाले गुरुजी तनाबमा रहेछन् । भएका यात्रु पनि म माथि खनिए । मैले भनेँ ः ‘ म कच्ची बाटो भएको सङ्खुवासभाबाट आएको हुँ । बाटामा गाडी फसेको कारण ढिलो भयो । मेरो उद्देश्य कसैलाई दुःख दिने हैन । यो पुस्तक लिएर पर्सि गोसाइँकुण्ड पुग्नुछ ।’ गोजीबाट पैसा निकालेर गुरुजीका हातमा थमाउँदै मैले थपेँ ः‘ लु यो साढे तीनसय रुपियाँ राख्नू, खुशी मनले मलाई शुभयात्रा भन्नू ।’ बाँकी रहेका तीन यात्रुसँग पनि हात जोड्दै मेरो कारणले ढिलो भएकामा माफी मागेँ । गुरुजीका छेउमा बसेकी महिलाले भनिन् ः‘ यस्तै हो नि कहिलेकाहीँ । एकैछिन ढिलो भएर त्यस्तो केही बिग्रेको छैन । तीर्थ हिँड्नुभएको रहेछ, राम्ररी जानू ।’ पछाडिको बेन्चमा बसेका बुढा बा बोले ः‘ सङ्खुसभाको बाटोको हालत खत्तम छ भन्ने मैले टिभिमा धेरैपटक हेरेर बुझेको छु । हत्तार हुने अर्को गाडीमा गए । उनीहरू जाँदाको क्षतीपूर्ति बाबुले गुरुजीलाई तिरिहाल्नुभयो । अब खुशी भएर जानुहोस् । काठमाडौँ जाने गाडी पनि मिलोस् , सबै आँटे ताकेको पुगोस् ।’
आठ बज्न लागेको थियो । काठमाडौँ जाने गाडी पाइएला कि नपाइएला भन्ने चिन्ता भन्दा पनि मेरो तेस्रो कृति कस्तो भएछ भन्ने उत्सुकता धेरै भएकाले म एउटा पसल अघिको उज्यालोमा बसेँ र प्याकबाट ‘यती साथी’ निकालेर पहिलोपटक स्पर्श गरेँ । मधुरो उज्यालामा कृति चमक्क चम्केजस्तै लाग्यो । आफ्नो कृतिको मुहार आफैँले सोचेको भन्दा पनि राम्रो लाग्यो । अब उठेर म पश्चिमतर्फ लागेँ । उतै जाँदै गरेको सिटीसफारीमा चढेर इटहरी बसपार्कबाट पश्चिमतर्फ गाडी निस्कने ठाउँमा झरेँ । झर्नासाथ परिचित स्वरले कसैले मलाई भन्यो ः ‘ ए सर लु पाँचभाइ भइयो । होटल बस्नुपरे पनि, काठमाडौं नै जानुपरे पनि सक्दो सस्तोमा मिलाउनुपर्छ ।’ यसो आवाज आएतिर हेरेँ । अघि सँगै बसमा आएका सुजन कार्कीका साथीहरू रहेछन् । सुजन चाहिँ एकजना साथी सहित इटहरी चोकमै झरेका थिए ।
साथीहरूले भक्कु दलाली गरे र हामी एउटा मन्थली जाने बसमा चढ्यौँ । खुर्कोटमा भोलि बिहान काठमाडौँका लागि अर्को चित्तबुझ्दो बसमा चढाइदिएपछि मात्रै काठमाण्डौं सम्मको प्रति व्यक्ति आठसय तिर्ने सहमती भयो । बस चढेपछि घरतिर आनन्दले फोन गरेँ । ढुक्क भएपछि मलाई जस्तै अप्ठेरोमा, हल्लामा पनि निद्रा लागिहाल्छ, निदाएँछु । गाडीले बर्दिबासमा लगेर खाना खुवायो अनि सिन्धुलीको ढाटमा लगेर सुत्न भन्यो । उसले नभन्दै पनि म त अघिदेखि निदाएकै थिएँ । अब हामी सबैजना गाडीमै मजाले सुत्यौँ । सुत्नुअघि धरानका सागर सुवेदी सरको एउटा भनाइ सबैलाई सुनाइदिएँ : ‘ भाडामात्र तिरे पनि गाडीमा निदाउन पाइन्छ, सुतेको होटलमा झैँ अतिरिक्त लाग्दैन । गाडीमा निदाउन फाइदा छ !’

                २०७६ श्रावण २८ गते मङ्गलबार (१३ अगस्ट २०१९)

मिर्मिरे उज्यालामा उठेर शौचालय खोज्न लागियो । भिमान बजारको प्रहरी चेकपोष्ट नजिकै पश्चिमपट्टि एउटा निक्कै फोहोरी टट्टी रहेछ । त्यो शौचालयको रेखदेख गर्न नजिकै टहरामा बसेकी आमैको बोली त्यो शौचालयभन्दा दोब्बर फोहोरी रहेछ ! जसलाई पनि छाडा शब्दको साइनु लगाउने अनि उत्तिकै पनि फतफताइरहने ! फतफतमा पनि सबै कम्मर मुनि र तिघ्राभन्दा माथिका अङ्गमात्र जपेको सुनियो । उनका श्रीमान् चाहिँ शान्त रहेछन् । भगवानले पनि कस्तो नमिल्ने जोडी बाँधिदिएर अन्याय गर्छन् कसैलाई त !
काठमाडौँ जाने गाडी भिमानमा नै मिलाइदिएछन् । हामी उज्यालो भएसँगै  अर्को बस चढेर उकालियौँ । धुलिखेल पुगेपछि उषालाई कोटेश्वर आउन भने । उनको लागि एक पोको डल्ले खोर्सानी ल्याइदिएको थिएँ । चैनपुरका गेटमाल्दाइका छोरालाई पनि कोटेश्वर नै बोलाएँ जसको जरुरी कागजपत्र ल्याइदिएको थिएँ । कोटेश्वरमा उल्लिखित दुईजनालाई भेटेपछि म मित्र ऋषिकेषका फुपूका छोरा सौजनजीको स्कुटरमा चढेर चावहिल पु¥याइएँ । त्यहाँ मकालु आधार शिविर जान मलाई उकासेर आफू चाहिँ नगएका उज्जलजी र ऋषिजीसँग भेट भयो । हिँड्ने बेलाको एक फोटो उनै सौजनलाई खिचिमागेर हामी धुन्चे जाने बस पाइने ठाउँ माछापोखरी तर्फ लाग्यौँ ।
‘धुन्चे जाने गाडी त सकिए त ।’ टिकट काउन्टरको मान्छेले भने ‘अब कालिकास्थान सम्म जानू । भोलि विहान त्यहाँबाट धुन्चे जाने गाडी फालाफाल पाइन्छन् ।’ हामीले कालिकास्थान जाने बसको टिकट काट््यौँ अनि नजिकैको होटलमा गएर भोजन ग¥यौँ । लगत्तै बस हिँड्यो । काठमाडौंबाट सोझै उत्तरतर्फ जाने बाटो निर्माणाधिन भएकोले बसले कलङ्की, थानकोट, नागढुङ्गा, नौबिसे हुँदै गल्छी पु¥याएर उत्तरतर्फ हुइँक्यायो । बल्ल मात्रै नयाँ ठाउँतर्फको यात्रा सुरु भएको थियो । मैले बल्ल गोसाइँकुण्डतर्फ लागेको एउटा स्टाटस फेसबुकमा लेखेँ । हराउने र बिग्रिने डरले म सामान्य खालको मोबायल बोकेर यात्रा गर्दछु । सामान्य मोवायलबाट स्टाटस पोष्ट गर्न असामान्य धेरै समय लाग्यो । साथीले त्यो स्टाटस पोष्ट गर्दै गर्दाको फोटो नै खिच्न भ्याएछन् । बसले अनेक साना–ठूला बस्ती र बजार डुलाउँदै अघि बढाइरह्यो । हामी जस्तै देशका विभिन्न ठाउँबाट गोसाइँकुण्ड हिँडेका यात्रु यो बसमा  अरु पनि थुप्रै चढे । सबैलाई धुन्चे नै पुग्ने मन थियो । तर यो बस त कालिकास्थानको मात्रै थियो । त्रिशुली भन्ने बजार पुगेपछि हाम्रो बसको किलिण्डर (हरिबंश आचार्यको शब्दमा !) कराउन थाल्यो : ‘ल है धुन्चे जानेजतिले हातमा पाँच–पाँच सय निकाल्नू । मैले अघि छुटेको बस रोक्न लगाइदिएको छु । आज धुन्चे पुगेमात्र मेलाको दिन गोसाइँकुण्ड पुग्नुहुन्छ । नत्र त्यत्तिकै एक दिन ढिलो हुन्छ ।’
बिचरा सबैजसो गोसाइँकुण्ड जाने यात्रुले हातमा पाँचसयको नोट निकाले । काठमाण्डौँबाट धुन्चे गएको भाडा पाँचसय पर्छ । अब कालिकास्थानका लागि यो बसलाई तिरेको तीनसय छोडेर हामी अर्को बसमा उभिएर कसरी धुन्चे जाने भन्ने छलफल भयो हामी दुईजनाको । डुल्न आएको मान्छेलाई एक दिन धेरै लागे लागोस् , कालिकास्थानसम्म आनन्दले यही बसमा जानुपर्छ भन्ने हामीले निधो ग¥यौँ । हामी नजाने बुझेपछि किलिण्डरले निक्कै सम्झाउन खोज्यो । हामीले अडान यथावत राख्यौँ । अरु सबै तीर्थाटनमा आएकाहरू अर्को बसमा गए । किलिण्डरले अलिक रिसाएको भावमा कुरा गरेपछि हामीले भाडा अनुगमनमा आएको झैँ अर्थ लाग्ने गफ गरिदिएका थियौँ ∕ त्यो कुराले उसको होस नै उडेछ । हातभरी कमिसनको पैसा भएर पनि ऊ खुशी हुन सकेन । अघिसम्म त्यही पैसालाई खुशीको अन्तिम गन्तब्य सम्झिएर आफ्नो मानवता समेत भुलेको ऊ हेर्नलायक बिचरा देखिएको थियो । अनियमिता गरेर आर्जित धनले कसरी मन पोल्छ भन्ने उदाहरण बनेको थियो ऊ । आफ्नो गाडी प्राय रित्तो पारेको उसले हातका औंलाको चेपभरी पैसा बोकेको थियो । उसले गुरुजीलाई छिटो गतिमा कुदाउने इसारा गरेछ कि कुन्नि, बसको निक्कै हुँइकियो ।
साँझ पर्दैगर्दा हामी लामटाङ राष्ट्रिय निकुञ्जभित्र प्रवेश ग¥यौँ । प्रवेशद्वारमा नेपाली सेनाले चेकजाँच गर्दो रहेछ । धुन्चे जाने गाडीमा धेरै यात्रु भएकाले जाँच्न पनि धेरैबेर लागेछ, लोड पनि धेरै भएर गति घटेछ । कालिकास्थानमा हामीले धुन्चे जाने अघि छोडेको बस समात्न भ्याँयौं । हामी कालिकास्थानसम्म आएका बसका गुरुले धुन्चे जाने बसका गुरुसँग कानेखुशी गर्दै देखिए । हामीसँग सुरुमा रिसाएको पछि डराएको किलिण्डर चाहिँ अर्को मान्छेसँग अँगालो मारेर केही गफ गर्दै थियो । एकछिनमा हामीछेउ आएर यहाँबाट दुईसय हो भाडा भनेर कराउँदै थियो । खुरापाती किलिण्डरले अँगालो मारेको मान्छे धुन्चे जाने बसको किलिण्डर रहेछ ∕ हामीलाई धेरै पो भाडा लिन्छन कि भन्ने डरले मैले हत्तपत्त चारसय तिरिदिएँ तर त्यो किलिण्डरले पनि उस्तै डराएको स्वरमा भन्यो ः ‘ सर खास भाडा चाहिँ एक सय पैँतालीस मात्र हो तर रात पनि परेको, खुद्रा पनि नभएको र बाटो पनि उस्तै डरलाग्दो भएकाले दुईसय लिएको हो ।’ गुरुजीले पनि किलिण्डरकै कुरामा साथ दिए । ‘यिनीहरू भाडा अनियमितता जाँजबुझ गर्न आएका सरकारी मान्छे हुन् ' भन्ने भ्रम केटाले यता पनि बाँडिदिएछ भन्ने हामीले बुझ्यौँ अनि सानले बस्यौँ । लाग्यो साँच्चै यसरी नागरिकमाथि लुट गर्नेलाई कठालोमा तत्कालै समाउनेगरी राष्ट्रिय अनुसन्धान वा सम्बन्धित निकायको सरकारी टोली हाम्रो देशमा कहिलेदेखि पुग्लान् ? मेरा छोराको, नातिको कि पनातिको पालामा ? केही मानिस कालिकास्थानमा नै झरेर होला गुरुजी छेउकै एउटा सीटमा म अनि बोनटमा ऋषिजी बसेपछि हाम्रो यात्रा अघि सहज तरिकाले बड््यो । हामी धुन्चेतर्फ लाग्यौँ । अघि हामीलाई छोडेर धेरै भाडा तिरेर आएकाहरू अकमक्क परिरहेका थिए । हामी आफ्नो अडानले काम गरेकामा मख्ख परेका थियौँ । त्यो खुशीमा म हासेको पनि मित्रलाई राम्रो लाग्यो भन्दै फोटो खिचेछन् ।
कालिकास्थानबाट अलिक माथि गएपछि पुरै अँध्यारो भयो , अब बाटो पनि कच्चीको बाउ रहेछ ∕ पानी पर्न थालेको थियो । बाटाका छेउछाउ झरना जस्ता तेज गतिका खोल्सा त्रिसुलीमा हामफाल्न आतुर  धेरै सुनिन्थे– कम देखिन्थे । बल्लतल्ल आठ बजे हामी रसुवाको सदरमुकाम धुन्चे पुग्यौँ । राती भएपनि धुन्चे पुगेको खुशीमा बससँग सेल्फी खिचेर हामी गाँसवासको व्यवस्था गर्न लाग्यौँ ।
शेर्पाकी छोरीसँग घरजम गरेर बसेका तामाङ दाइकामा गाँस र वासको प्रवन्ध भयो । धन्न तामाङ दाइ मनकारी रहेछन् र एकहजारमै कोठा दिए । सेर्पेनी भाउजू पन्ध्रसयमा मात्र दिने भन्दै थिइन् । गोसाइँकुण्ड जाने यात्रुहरूले धुन्चे भरिएको थियो । हामी बसपार्क आउनु अघि डेढसय भन्दा धेरै बस बाटामा पार्किङ गरिएका देखिन्थे । सिमसिमे पानीमा मानिसहरू यत्रतत्र कुदिरहेका थिए । ठाउँठाउँमा ठूलाठूला एलसीडी मनिटरमा गोसाइँकुण्ड जाने यात्रुहरूले के के गर्न हुने अनि के के गर्न नहुने भन्ने जानकारी देखाइएको थियो । भोलिका लागि रेडबुल लगायत अन्य केही सामग्री किन्न बजार निस्कियौँ । त्यहाँ ऋषिजीले चिनेका तेस्रो पटक गोसाइँकुण्ड जाँदै गरेका मित्रले हामीलाई केही जानकारी दिए । बिहान चाँडै र सँगै हिँड्ने सल्लाह गरियो । मीठो खानापछि सङ्खुवासभाको चैनपुरमा म आफैँले बनाएर ल्याएको भुइँकटहरको अल्कोहलिक जुस एक प्लेट सितनसँग खाएर हामी मस्त सुत्यौँ ।

२०७६ श्रावण २९ गते बुधबार (१४ अगस्ट २०१९)

    चारबजे उठेर हत्तपत्त तयार भएर बाहिर निस्कियौँ । अँध्यारै थियो । बेलुकीको भीडभाडका मानिसहरूले अघि नै बाटो तताइसकेछन् । हामी ढिला भएको ठानेर अलिक हत्तारका साथ अघि बढ्यौँ । बेलुकी भेटिएका गोसाइँकुण्ड ह्याट्रिक गर्न हिँडेका मित्रहरू पनि पक्कै हामी सुताहाहरूलाई छोडेर अघि बढिसके होला भन्ने ठानियो । फोन गर्न पनि अलिक लाज मानियो ।
    धुन्चे बजार सकिन लाग्दा स–साना नानीहरू अँगालोभरी लौरो बोकेर बेच्दै भेटिए । यात्रामा जाँदा हलुका तर दह्रो लौरो चाहिन्छ भन्ने बुझेका मित्र ऋषिले छानेका लौरो किनेर टेक्दै अघि बढियो । सभापोखरी जाँदा सबैलाई लौरो काटेर बोक्न दिने पनि उनै हुन्थे । हामी तेर्सो कच्ची मोटर बाटामा हिँडिरहेका थियौँ । देब्रेपट्टि खोलो कराएको सुनिन्थ्यो । अलिक उज्यालो हुन लाग्दा हातमा उज्यालो बोकेर उकालो चढिरहेको लस्कर देखियो । हामी जाने ठाडो उकालोको अनुमान लागेपछि हामीले खाजा नास्ता गरेरै अघि बढ्ने निर्णय ग¥यौँ । सभापोखरी यात्राले हामीलाई सिकाएको पाठ नै  लेकाली पैदल यात्रामा भेट्नासाथ खाने, खान अल्छी नगर्ने भन्ने हो । सिकेका र भोगेका कुरा कार्यान्वयन गर्दै अघि बढ्ने उद्देश्य बोकी गोसाइँकुण्ड–६, साप्चेत डाँडामा रहेको ‘मामा भान्जा होटल एण्ड लज’ लेखिएको सानो घरमा पसी चना, चिया, सेलरोटी लगायतको मिठो खाजा खाएर हिँड्यौँ ।
खाजाको बलले हो कि हिँड्नुपर्ने बाटो देखेपछि पलाएको फूर्तिले हो हामी निक्कै भक्तजनलाई पछि पार्दै अघि बढ्यौँ । अघिदेखि हाम्रो देब्रेतिर कराएको खोलो त गोसाइँकुण्डबाटै निस्किएर आएको त्रिसुलीको एक शाखा रहेछ । खोलो तर्नसाथ ‘घट्टेखोला–१९६०, देउराली २ घण्टा बाँकी’ भन्ने सूचना अङ्ग्रेजी भाषामा लेखिएको एउटा बोर्ड भेटियो । खोलाका छेउछाउमा थुप्रै अस्थायी छाप्राहरू निर्माण गर्न गाउँपालिकाले नै स्वीकृति दिएको देखियो । यो यात्रामा कसैले पनि सुत्न, बस्न र खानाको अभावले दुःख नपाउने कुरा यात्राको सुरुमै प्रष्ट देखिन्थ्यो । त्यहाँ त्यस्ता छाप्राहरूलाई थर्पु भनिदो रहेछ । १९६० मिटर होचोबाट ४३६० मिटर उचासम्म पुग्नुपर्ने बुझेपछि हामीले आफ्नो गति अझ बढायौँ ।
यहाँको उकालो सोझो रहेछ । अन्य हिमाली भेगमा जाँदा उकालो–ओरालो क्रमैसँग आएर हत्तुहैरान पारेको हाम्रो अनुभव थियो । यहाँ त हामी आधा घण्टामै सजिलै २६२५ मिटरमा अवस्थित देउराली पुग्न सफल भयौँ । यहाँ स्थायी होटल रहेछ । भक्तजनहरूको घुँइचो देखिन्थ्यो । यहाँवाट सुन्दर हिमश्रृङ्खला पनि देखिदै थियो । हामीले धेरैलाई उछिनेर आइसकेका थियौँ र अब अझ धेरैलाई छोडेर उकालो लाग्यौँ । बाटामा भेटिएका हरेकलाई बोलाउँदै–जिस्क्याउँदै हामी आकाशतर्फ बढिरह्यौँ । सबैतिर यात्रुहरूको चाप उल्लेख्य थियो । देउराली देखि त पैसा हुने तर हिँड्न नसक्नेलाई घोडामा लैजाने पनि व्यवस्था रहेछ ।
    हाम्रो आकाशमाथिबाट धनीमानी यात्रुलाई गोसाइँकुण्ड लैजाने हेलिकेप्टरहरू पनि प्रशस्तै उडेका देखिन्थे । नगन्य मात्रामा कुण्ड पुगेर फर्किएका मानिस पनि भेटिन्थे । उकालो तर घोडेटो थियो । बाटो भुल्लिने, चिप्लेर लडिएला कि भन्ने कुनै डर नभएको ठाउँ, हामी फटाफट अघि बढ्न सक्यौँ । यो फूर्तिको जस सभापोखरी यात्रालाई नै जान्छ । अर्को कुरा हाम्रो भारी पनि थिएन । ढिम्सा भन्ने ठाउँमा थुप्रै थर्पुहरू रहेछन् । त्यहाँ पुग्दा निक्कै परसम्म दृश्यहरू पनि देखियो । हामी जानुपर्ने उकालो पनि पुरै देखियो । यहाँ हामीले संखुवासभाली अल्कोहलिक जुस मजाले खायौँ । यो ठाउँको भुल्याइले नुवाकोटे रमाइला दिदीबहिनीहरूको साथ चाहिँ छुट्यो । तर जुसले इन्जिनमा पेट्रोलले झैँ काम ग¥यो । हामी यति तीब्र गतिमा उकालिएछौँ कि हामीलाई छोडी आउने अघिका चेलीबेटीलाई कता उछिनेछौ , त्यो समेत पत्तो भएनछ । बरु ठाउँ ठाउँमा उकालिँदै गरेका ढ्याङ्ग्रोवाल तामाङ समुदायसँग अन्तक्रिया गरियो । हामीले उनीहरूलाई ढ्याङ्ग्रो बजाउन माग्यौँ तर धामी बाहेक अरूले छुन नहुने भनेर दिएनन् । मृत व्यक्तिको चीर शान्तिको कामना गर्दै जनै पूर्णिमाको अघिल्लो रात गोसाइँकुण्ड परिसरमा बत्ती बाल्न र अन्य सांस्कृतिक कार्य गर्न हज्जारौं तामाङ दाजुभाइ, दिदीबहिनीहरू घरबाटै ढ््याङ्ग्रो बजाउँदै र ठाउँ–ठाउँका देउरालीमा लेकाली सल्लाको धुप हाल्दै जाने चलन रहेछ । सबैले आफ्नै मौलिक भेषभूषा लगाएका अनि आफ्नै भाषा बोल्दै हिँडिरहेका देख्दा यो क्षेत्रका तामाङहरू आफ्े पहिचानको निम्ति सचेत रहेछन् भन्ने ठान्यौँ हामीले । अन्य क्षेत्रमा पहिचानको नाममा भइरहेको विकृति अनि यो क्षेत्रमा देखिएको तामाङहरूको मौलिक संस्कृतिलाई हामीले तुलना गरेर हे¥यौँ ।
    हामी अब चन्दनबारी भन्ने स्थायी होटलहरू समेत भएको सानो बजार जस्तो ठाउँमा पुग्यौँ । त्यहाँ एउटा पुरानो गुम्बा पनि रहेछ । हामीले होटल ‘याक एण्ड नाक’ मा सादा खाना खायौँ । खानापछि फेरि हामी उकालियौँ । चन्दनबारीको मनोरम दृश्य देखिने ठाउँमा जाँड पिउन बसेका धामी दाइले चाहिँ एकै आग्रहमा मलाई उनको ढ्याङ्ग्रो बजाउन दिए । मैले धामी झैँ काम्दै एकछिन बजाएर रमाइलो गरेँ । उनीहरूलाई धन्यबाद दिएर हामी अघि बढ्यौँ । लोठ सल्लाको जङ्गलमा हिँडिरहँदा मैले वि.सं. २०६८ तिर धरानको सेन्ट जोसेफ स्कुलमा पढाएका विद्यार्थी भाइ भेटिए । बाटो अलिक चिप्लो भएकाले हामी अरू हिँडिरहेको भन्दा फरक बाटोबाट गफिँदै अघि बढ्दा कसैले पछाडिबाट मेरो नाम काढेर बोलायो । फकेर हेर्दा ती विद्यार्थीले मलाई नदेखे पनि स्वर सुनेरै चिनेको भने ∕ बाफ रे बाफ ∕∕ यत्तिका वर्षपछि पनि शिक्षकको स्वरवाटै विद्यार्थीले चिन्दा रहेछन् । मलाई लाग्यो शिक्षक हुनु भनेको हरेक सिकारुहरूको घरको सदस्य हुनुजस्तै रहेछ । उनीसँग सानले फोटो खिचेर हामी अघि लाग्यौँ ।
    यसपछि हामी चोल्याङपाटी भन्ने ठाउँमा पुग्यौँ । यहाँ पनि स्थायी र अस्थायी दुबै किसिमका होटल थिए । मानिसहरूको निक्कै भीड देखिन्थ्यो । नेपाली सेनाको स्वस्थ्य शिविर पनि एउटा पालमुनि चलिरहेको थियो । हामी थोरै आराम गरेर उकालियौँ । लामटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र भइरहेको यो यात्राका क्रममा अब रूखहरू होचिदै गएका थिए । हामी करिब ३६०० मिटर उचाइमा पुगिसके पछि पानी पर्न थाल्यो । लेकाली यात्रामा आउने यो किसिमको छड्के झरी ज्यादै अप्रिय हुन्छ । तर पनि बाध्यता थियो, हत्तपत्त झोलाबाट निकालेर प्लाष्टिक ओडियो, छाता फिजाइयो र उकालो लागियो । चिसो हावासँग आएको छड्के पानीले मित्र ऋषिलाई चिसो लागेछ । टाउको दुखेर लखतरान भए । कतै लेक नै पो लाग्यो कि जस्तो पनि लाग्यो । ३९०० मिटर उचाइमा अवस्थित लौरीबिना भन्ने ठाउँमा मैले फोटो खिच्दा ऋषिजी नजिकैको एउटा स्थायी होटलको अस्थायी छाप्रोमा गएर थकित मुद्रामा बसेछन् । त्यहाँ हामीले कालो चिया सत्तरी रुपियाँ प्रति कपका दरले खायौँ । रेडबुल पनि तातो पानी किनेर त्यसैमा मिसाएर खायौँ । झोलाबाट झिकेर तातो टोपी समेत लगाएपछि साथी तन्दुरुस्त भइगए । पानी पनि थामियो । बोट बिरूवा समेत नभएको नागीमा पुग्दा भुई कुहिरो कुदेर हामीलाई त्यहाँका डाँडाकाँडासँग लुकामारी खेलायो । हामी हाइहइ र हुइहुइ गर्दै बुद्ध मन्दिर भन्ने ४२०० मिटर उचाइमा पुग्दा करिब एक बजेको थियो । अब उकालो सकिएको थियो । मौसम पनि सफा भएको थियो ।
    बुद्धमन्दिर नाम आफैँमा समाबेशी भएको कुरा मित्र ऋषिले बताउँदा म पनि सहमत भएँ । यो ठाउँमा थुप्रै थर्पुहरू भरिएका देखिन्थे । दाँतमा सुन ठोकेकी युवतीले हामीलाई पनि उनीहरूकै थर्पुमा बस्न र तातो खाना खान आग्रह गर्दै थिइन् । तर हामी आजै गोसाइँकुण्ड पुगेर फर्किने निर्णयमा पुगेका थियौँ । उस्तै परे फर्किएर आउँदा यो ठाउँमा वास बस्न सकिने हामीले अनुमान लगाएका थियौँ । घोडामा सवार यात्रुहरू यहाँँबाट पैदल नै जानुपर्दो रहेछ । यहाँ थुप्रै घोडाहरू देखिन्थे । हामी तेर्सो लाग्यौँ । ठाउँ ठाउँमा सुन्दर झरनाहरू देखिन्थे । हामी फोटो खिच्दै र गीत गाउँदै अघि बढ्यौँ । दृश्यहरूले हामीलाई सक्दो मनोरञ्जन दिइसकेका थिए । थोरै यात्रुहरू लेक लागेर सुतिरहेका पनि भेटिए । कतिपय चाहिँ पचहत्तर कटेका बृद्धजन र पाँच वर्षभन्दा कम उमेरका नानीहरू पनि सन्चै हिँडिरहेका देखिए । लेकाली पैदल यात्राको महत्वपूर्ण भनेको आत्मबल नै रहेछ जस्तो लाग्यो । अर्को कुरा खानपान पनि मिलाएर खाने गर्दा यात्रा सहज हुने देखियो ।
    हामीलाई पनि भोक लागेको हुँदा खाजा खायौँ । थप रेडबुल पियौँ र अघि बढ्यौँ । एउटा सेतो झरनाले फाल हानेर बनेको सन्तोषी कुण्डलाई पृष्ठभूमिमा राखेर फोटो खिचिनसक्दै विशाल भैरवकुण्ड देखिन थाल्यो । अघि फाल हान्ने झरना भैरवकुण्डकै निकास रहेछ । विहान धुन्चेमा कराएको खोलाको शीरमा पुगिएछ भनेको त भैरवकुण्ड त गोसाइँकुण्डको पानी पोखिएर पो बनेको रहेछ ∕ एकदमै चिसो अनि दरिलो बतासले पानी समेत ल्याएर बर्साइरहेका बेला हेर्न पुग्यौँ सुन्दर, पवित्र अनि विशाल गोसाइँकुण्ड । हिमाली हावा मुटु नै छेड्ला जस्तो चिसो थियो तथापि सात हजारभन्दा धेरै यात्रुहरू कुण्ड परिसरमा थिए । तामाङहरूको सांस्कृतिक नृत्य चलिरहेको थियो । कुण्ड नजिकैको गुम्बामा जानै  नसकिने भीड थियो । पानी पर्न थालेपछि थर्पुहरू पनि भरिदै गए । चिसो झनझन बढ्न थाल्यो । तर गोसाइँकुण्ड चाहिँ आफ्नो पानीमा छालहरू निकालेर यात्रुलाई स्वागत गरिरहेको देखिन्थ्यो । हेरेर आँखा नअघाउने, देखेर देखिनसकिने अनि आँखा चिम्लिएर बसौँ लाग्ने सुन्दर अनि मनमोहक ठाउँ । नजिकैका नाङ्गा डाँडाहरू काखमा कुण्डलाई बोकेर बताससँग मिलेर लोहोरी गाइरहेको झैँ लाग्ने अनि काखको ताल चञ्चल नानीजस्तो निदाउनुको सट्टामा अनेक बालसुलभ चर्तिकला गरिरहेको जस्तो लाग्ने । कस्तो सुन्दर प्रकृति, जति उपमा दिए पनि कम हुने !
    समुद्र मन्थनपछि निस्किएको बिष सेवन गरेका शिवलाई असह्य पीडा भएपछि लामटाङ हिमालमा त्रिशुल हानी यो गोसाइँकुण्ड निर्माण गरी डुबेर डाह कम गरेको किंवदन्ति रहेको उक्त कुण्डबाट निस्किएको नदीको नाम त्रिशुली भएको जनविश्वास छ । हामीले पनि मनका अनेक डाह कुण्डमा डुवेर निभाउने प्रण ग¥यौँ । भोलि जनै पूर्णिमा भए पनि आजै उक्त सरोवरमा स्नान गरी जनै फेर्ने सल्लाह भयो । यत्तिकैमा जाडोको कारण एक यात्रुको मृत्यु भएको भन्ने हल्ला पनि सुनियो । तथापि हामीले त्यो सुन्दर तालमा डुबुल्की मारेरै छोड्ने आँट ग¥यौं । आच्छुछुछुछु.................! झण्डै बेहोस बनायो गोसाइँकुण्डको पानीले । हत्तपत्त जनै फेरेर कपडा लगायौँ । घरबाट लगेको फूल फलेदो चढायौँ । यहाँसम्म आइन्जेल मैले हाफपाइन्ट र भेस्टमात्र लगाएको थिएँ । नुहाएपछि पेन्ट लगाएर झोलामा भएको पेटी लगाउन खोजेको त चिसोले कठाङ्ग्रिएर पटक्कै भाँचियो । चिसो कति धेरै रहेछ भन्ने बुझेर म छक्क परेँ ।
   अब मैले लेखेको नयाँ कृति ‘यति साथी’ को लोकार्पण गर्नु थियो । हामीले गोसाइँकुण्ड मेला व्यवस्थापन समितिका केही पदाधिकारीहरू भेला पारेर कृति लोकार्पणको तयारी ग¥यौँ । गोसाइँकुण्ड क्षेत्रमा कृति लोकार्पण गरिने कुरा एकदमै नौलो भएको पदाधिकारीहरूले बताए । कृति लोकार्पण गर्न पाउँदा खुशी पनि भए । सिमसिमे पानी परिरहेका बेला, गोसाइँकुण्डको सतहमा तरेली पारेर जल स्पर्श गरेको चिसो हावाले गीत गाइरहेका बेला, नजिकैको गुम्बामा विशाल जनसमुदायले ‘ ॐ मानेपेमे हुँ ’ भनिरहेका बेला, हज्जारौँ तामाङ समुदायले आफ्नो सांस्कृतिक गीतमा खुशीले कमर मर्कारहेका बेला अनि सयौँ ढ्याङ्ग्राहरूले ताल दिइरहेका बेला ‘यती साथी’ लोकार्पण भयो । हाम्रो रहर पुरा भयो । समितिलाई एउटा पुस्तक दिएर हामी अब फर्किने उपक्रममा लाग्यौँ । कुण्ड परिसरमा भएको एउटामात्र स्थायी होटलमा सय रुपिया“ कपको कालो चिया र सोही दरको स्कुस तथा मटर मिसाएर बनाएको शाहाकारी रस खाएर हामी गोसाइँकुण्डबाट टाढियौँ ।
फर्किदा पनि कुण्डतर्फ जाने यात्रुको उत्तिकै भीड देखिन्थ्यो । हामीले भैरव कुण्ड परिसरमा पनि नयाँ कृति देखाएर फोटो खिच्यौँ अनि सानसँग फर्कियौँ । हिजो बेलुकी धुन्चेमा भेटिएका तेस्रो पटक गोसाइँकुण्ड यात्रामा निस्किएका अनुभवी महानुभावलाई हामीले फर्किदा लौरीबिनाको उकालामा कुण्डतर्फ घिस्रिदै गरेका अवस्थामा भेट्यौँ । हामीलाई अलिकता पनि थकान थिएन, अल्छि थिएन । निक्कै राती भएपछि हामी चोल्याङपाटी आइपुगेर वास बस्यौँ । खानापछि बाँकी रहेको भुईंकटहरको जुस पियौँ र तामाङ परिवारको थर्पुमा मस्त निदायौँ । निदाउनु अघि रेडियोको समाचारले गोसाइँकुण्डमा कठ्याङ्गग्रिएर  मर्नेको सङ्ख्या दुई पुगेको मात्र बताएन, सजग हुन सूचित समेत गरेको सुनियो ।

              २०७६ श्रावण ३० गते बिहीबार (१५ अगस्ट २०१९)

    भोलिपल्ट बिहान उठेर चिया समेत नपिइकन ओरालो झरियो । आज खुट्टा निक्कै दुखेछन् । ढिम्सामा आएर स्थानीय जङ्गली च्याउको एक एक प्लेट स्वदिष्ट सब्जी खाएर ओरालो कुदियो । देउराली भन्दा तलको एउटा थर्पुमा एक एक प्लेट चना र रेडबुल पियौँ । दुबैभाइ गलेर हत्तु भएका थियौँ । तल त्रिशुली पूग्दा ऋषितर्पणीमा नुहाउने र जनै फेर्नेको भीड थियो । हामी पनि एकछिन खोलामा भल्लियौँ । कपडा फे¥यौँ , हातमुख धोयौँ अनि करिब नौ बजे धुन्चे आइपुग्यौँ । खाना खाएर हत्तपत्त स्टेण्ड जाँदा बस भेटियो । हामी बाटामा आलस्य भएर निदाउँदै काठमाडौँ आइपुग्यौँ । म मित्र ऋषिसँग बिदा भएँ अनि एउटा रात्री बस चढेर पूर्व आएँ । 
    यसरी हत्तारमा निर्णय गरेर पनि गोसाइँकुण्ड यात्रा सहजै गरेर फर्किन सकेकोमा म आजसम्म छक्क परिरहेको छु । त्यो यात्रामा जस्तै शरीरमा तागत , मनमा आँट आइदिए, तनमा खुशी छाइदिए विश्व भ्रमण गर्न पनि धेरै समय नलाग्दो हो !





Comments