Skip to main content

संखुवासभाका विप्रलम्व श्रृङ्गार रसयुक्त बाह्रमासे लोकगीतहरूको एक अध्ययन

     सङ्खुवासभाका विप्रलम्व श्रृङ्गार रसयुक्त बाह्रमासे लोकगीतहरूको एक अध्ययन

                                 

                                                               सारतत्त्व

    आजभन्दा दुई सहस्राव्दी अघिदेखि पूर्वीय आचार्यहरूबाट औपचारिक चर्चा गर्न थालिएको रसवाद अहिलेसम्म उत्तिकै महत्वपूर्ण साहित्य सिद्धान्तको रूपमा दरिएको छ । यस्ले साहित्यका हरेक विधालाई त्यसको भावत्मकताको आधारमा वर्गीकरण गरी दर्शक, श्रोता वा पाठकको मनमा उक्त साहित्यले उत्पन्न गराउने स्थायी भावहरूको खोजी गर्नुका साथै के कस्तो मनोवैज्ञानिक विधिबाट सो स्थायी भाव उत्पन्न भयो भन्नेवारे निष्कर्ष दिन्छ । लोक साहित्यको सबैभन्दा शक्तिशाली विधा लोकगीतलाई पनि रसवादको कसीमा राखी त्यस्ले उत्पन्न गराउने रसहरूको अध्ययन गर्न आवश्यक ठानी यो अध्ययनमा सङ्खुवासभामा गाइने बाह्रमासे लोक गीतमा के कस्ता विप्रलम्भ श्रृङ्गार रस पाइन्छन् भनी खोजी गर्ने प्रयास गरएको छ ।

मूल शब्दहरू : रस, लोकसाहित्य, लोक गीत, विभाव, अनुभाव, व्यभिचारी भाव,स्थायी भाव    

         

१. बिषय  प्रवेश

    मानवीय मनमा उत्पन्न हुने हरेक भावहरू व्यक्त गर्ने सर्वप्राचीन अनि सरल विधाको रूपमा हरेक समूदायमा लोकगीत कुनै न कुनै रूपमा रहेकै हुन्छन् । लोक जीवनका संस्कार, परम्परा, रीतिरिवाज, सुख, दु:ख र त्यस क्रममा आफूले भोगेका सामाजिक, आर्थिक एवम् प्राकृतिक  ऋतुगत  प्रभाव समेत लोकगीतमा पाइन्छ । प्रत्येक लोकगीत भावप्रधान हुन्छ । भावप्रधान भएकाले पूर्वीय आचार्यहरूले चर्चा गरेको रस सिद्धान्तको नजरबाट हेर्दा लोकगीत निक्कै रसयुक्त लाग्छन् । इस्वीको पहिलो शताब्दीतिर आचार्य भरतले उनको काव्यकृति 'नाटयशास्त्र' मार्फत रस सिद्धान्तको औपचारिक चर्चा थालेपछि नवौं शताव्दीको प्रारम्भमा आइपुग्दा आन्दवर्धनले ध्वनी सिद्धान्तको स्थापना गर्दै काव्यको आत्मा ध्वनी र ध्वनीको आत्मा रस भएको व्यख्या गरे , उनकै प्रयासबाट रसको क्षेत्र विस्तारित भई दृष्यकाव्य (नाटक) बाट श्रव्यकाव्य सम्म फिँजिएर  पुरै साहित्यलाई ओगट्न पुगेको छ (शर्मा र अन्य, २०६७, पृ. ४२) । खासगरी पूर्वीय आचार्यहरूले नाटक, महाकाव्य, खण्डकाव्य आदिमा प्रयुक्त रसको मात्र धेरै मात्रामा अध्ययन र विश्लेषण गरेको पाइन्छ । आचार्यहरूको सिको गर्दै रसवादको कसीमा थुप्रै शास्त्रीय छन्दयुक्त कविता कृतिहरू हालेर व्याख्या विश्लेषण भएका छन् तर लोक साहित्यको महत्त्वपूर्ण विधा लोकगीतहरूमा पाइने रसहरूको खोजी न्यून मात्रामा भएका छन् । विभिन्न साहित्यकारहरूले रसको सङ्ख्या फरक फरक बताएका छन् । रस सिद्धान्तका प्रथम चिन्तक भरतले आठ रसहरूको चर्चा गरेका छन् भने यसपछिका चिन्तकहरूले अन्य रसहरू थप गरेका छन् । सबै चिन्तकहरूले श्रृुङ्गार रसलाई स्वीकार गरेका छन् । रति स्थायी भाव हुने रसलाई श्रृङ्गार रस भनिन्छ (शर्मा र अन्य, २०६७, पृ. ५३) ।  परस्पर प्रेममा बाँधिएका नायक नायिकाको एक अर्काप्रतिको अनुराग वर्णन भएमा श्रृङ्गार रस उत्पन्न हुन्छ । यो दुई प्रकारको हुन्छ : संयोग वा सम्भोग श्रृङ्गार र वियोग वा विप्रलम्भ श्रृङ्गार (भण्डारी  र अन्य, २०६७, पृ. २२)  । नेपाली  लोकगीतलाई चुडामणि बन्धुले सामान्य र विशिष्ट गरी दुई भागमा वर्गीकरण  गरेक छन् । सामान्य गीत ती हुन् जो सधैँ गाइन्छन् । सामान्य गीतलाई नेपाली परम्परामा बाह्रमासे गीत पनि भनिन्छ (बन्धु , २०७१, पृ.१२३ )। बाह्रमासे लोकगीत जुनसुकै अवस्थामा पनि गाइन्छ । घाँस काट्दा, दाउरा खोज्दा, बाटो हिँड्दा, बस्तु चराउँदा वा शित्तल ताप्दा बाह्रमासे लोकगीत गाइन्छ । यस्तै चाडपर्व, हाटबजार र मेलापातमा पनि बाह्रमासे लोकगीत गाउने गरिन्छ । यस्ता बाह्रमासे लोक गीत अनेक रसले भरिएका हुन्छन् ।

२. समस्या

    सङ्खुवासभामा गाइने लोकगीतहरू विभिन्न रसले भरिपूर्ण छन् र ती लोक गीतहरूको रस सिद्धान्तको आधारमा आजसम्म विस्तृत अध्ययन भएको छैन । यो अध्ययनमा संखुवासभामा गाइने बाह्रमासे लोकगीतमा आधारित भएर निम्न समस्याको समाधानका निम्ति निम्नलिखित प्रश्नहरु तयार पारिएको छ :
क)सङ्खुवासभाका कुन कुन बाह्रमासे लोक गीतहरूमा विप्रलम्भ श्रृङ्गार रस प्रयुक्त छन्  ?
ख) सङ्खुवासभाका बाह्रमासे लोक गीतमा कुन कुन प्रकारका विप्रलम्भ श्रृङ्गारको प्रयोग भएको छ ?
ग) सङ्खुवासभाका बाह्रमासे लोक गीतमा प्रयुक्त विप्रलम्भ श्रृङ्गार रसका भेदले के कस्तो स्थानीय जनजीवनको  प्रतिनिधित्व गर्दछन् ?


३. उद्देश्य

    पूर्वीय काव्यशास्त्रमा सर्वाधिक चर्चित र स्थापित रस सिद्धान्तका आधारमा संखुवासभामा प्रचलित बाह्रमासे लोक गीतहरूमा प्रयुक्त रसहरूको खोजी गर्ने क्रममा यो अध्ययन निम्न उद्देश्यहरूमा केन्द्रित रहको छ :
क) सङ्खुवासभाका विप्रलम्भ श्रृङ्गारयुक्त बाह्रमासे लोक गीतहरूको खोजी गर्नु,
ख)सङ्खुवासभाका बाह्रमासे लोक गीतहरूमा प्रयुक्त विप्रलम्भ श्रृङ्गार रसका भेदहरू पहिल्याउनु,
ग) सङ्खुवासभाका बाह्रमासे लोक गीतमा प्रयोग भएका विप्रलम्भ श्रृङ्गार रसका भेदले के कस्तो स्थानीय लोक जीवनको प्रतिनिधित्व गरेका छन् भन्ने खोज गर्नु,

४. लेखको सीमाङ्कन

    नेपालका हरेक जिल्ला लोक गीतका लागि उत्तिकै महत्त्वपूर्ण हुँदाहुदै पनि सङ्खुवासभा जिल्लाका त्यसमा पनि अनेक प्रकारका लोक गीतलाई छोडेर बाह्रमासे लोक गीतमा प्रयोग भएको, अन्य रसलाई बेवास्ता गरी श्रृङ्गार रसको पनि विप्रलम्भ भेदलाई मात्र आधार मान्नु गर्नु यो अध्ययनका सीमाहरू हुन् ।


५. अध्ययन विधि

    उल्लिखित उद्देश्यहरूका प्राप्तिका लागि यस अध्ययनमा प्राथमिक स्रोत सङ्कलन गर्न स्थलगत भ्रमण, छलफल आदि विधिको प्रयोग गरिएको छ भने केही द्वितीयक स्रोत जस्तै पुस्तक, पत्रपत्रिका, इन्टरनेट, श्रव्यदृश्य सामग्री आदिको प्रयोग पुस्तकालयीय विधिवाट समेत गरिएको छ । विभिन्न स्रोतका सामग्रीलाई यस अध्ययनमा तुलनात्मक र वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ ।

६. अध्ययन तथा विश्लेषण

    दश स्थानीय तह भएको सङ्खुवासभा हिमाली जिल्ला भएकाले क्षेत्रफलमा विशाल छ । जनसङ्ख्याका हिसाबले यो जिल्ला सामान्य नै भएपनि जातीय विविधताको दृष्टिकोणले महत्वपूर्ण छ । यहाँका कतिपय स्थानीय तहमा वार्ड मात्र हैन गाँउ गाउँको मातृभाषा फरक फरक पाइन्छ । मातृभाषामा फरक पर्नसाथ रीतिरीवाज, संस्कृति आदिमा समेत फरक पर्छ जस्ले गर्दा उनीहरूले गाउने लोकगीतमा पनि विविधता भेटिन्छ । एउटै गीतमा पनि लय अनि तालमा विविधता भेटिन्छ तर यो अध्ययनमा गीतमा प्रयुक्त विप्रलम्भ श्रृङ्गार रसको मात्र खोजी गरिने हुँदा लय र तालले केही असर गर्दैन । यहाँ झ्याउरे, सँगिनी, सेलो, हाकपारे र मारुनीका अनेक भाका बाह्रमासे लोकगीत बनेर अरुण, बरुण, सभा, पिलुवा, कुसुवा, टुपुवा, ताङ्लेवा आदि खोलाका सुसाइसँग मिसिएर लोक जीवनलाई जीवन्त बनाइरहन्छन् । यहाँका लोकगीतहरू सभापोखरी जस्तो शुद्ध, सफा र श्रदेय छन् । गुफापोखरी जस्तो सुन्दर छन् अनि लामपोखरी जस्तो लोपोन्मुख छन् । यहाँका लोकगीतहरूमा मकालु र जलजलेको अटलता, लेकमा पाइने जडीबुटीको औषधीजन्य गुण, हिमाली क्षेत्रमा फूल्ने सयौँ किसिमका फूलहरूको मिश्रित सुवास र सुन्दरता जस्तै अनेक जतिका विविधा संस्कृतिको सम्मिश्रण पाइन्छ । विश्वकै होचो उपत्यका भनेर सुप्रसिद्ध अरुण उपत्यका धैरै प्रकारका पुतली पाइने क्षेत्र भएको वैज्ञानिकहरूले पुष्टि गरेका छन् र यहाँका लोकगीतहरू त्यस्को साक्षी बकिरहेका छन् । कुनै खास पर्व, ऋतु वा संस्कारको अवसर पर्खनु नपर्ने र बाह्रै महिना मनोरञ्जनका निम्ति गाइने गीतलाई सामान्य वा बाह्रमासे गीत भनिन्छ (बन्धु, २०५८, पृ. १२८) । बाह्रमासे गीतले बाह्रै महिना गाउन मिल्ने गीतलाई बुझाउँछ (पराजुली र अन्य, २०६८, पृ. ३५) । यस अध्ययनमा लोकगीतको उल्लिखित फराकिलो क्षेत्रलाई छोडेर यहाँका बाह्रमासे लोकगीतमा पाइने विप्रलम्भ श्रृङ्गार रसको मात्र अध्ययन गरिने भएको हुँदा सो सम्बन्धि मात्र विस्तृत चर्चा गरिएको छ ।
    रसकै कारणले साहित्य आनन्ददायी बन्दछ, उत्कृष्ट बन्दछ र मानवीय हित र कल्याणको प्रेरक श्रोत बन्दछ । रसले नै साहित्यलाई भावात्मक बनाउँछ, सम्प्रेष्य बनाउँछ, अर्थपूर्ण एवम् स्वादिलो बनाउँछ । साहित्यबाट जे–जस्तो अर्थ र आशय व्यञ्जित हुन्छ त्यही नै साहित्यको रस हो, त्यो चाहे आनन्दका लागि होस् अथवा मानवीय शुद्धीकरणका लागि  (भण्डारी र अन्य, २०६७, पृ. ३६) । लोकगीतहरू पनि साहित्यकै रूप हुन् । ‘लभ’ धातुको अर्थ ‘प्राप्ति’ हुन्छ र सो धातुमा ‘प्र’ उपसर्ग जोडिएर ‘अप्राप्ति’ वा ‘प्राप्त हुन नसक्नु’  भन्ने अर्थमा विप्रलम्भ शब्दलाई प्रयोग गर्न सकिन्छ भने विप्रलम्भ श्रृङ्गार रसको अर्थ मिलन वा सहवास हुन नसकेको अवस्थामा नयक–नायिकामा उत्पन्न हुने स्थायी भाव भन्ने हुन्छ । डा. इन्द्रपाल सिंहद्वारा लिखित ‘श्रृङ्गार रस का शास्त्रीय विवेचन’ नामक कृतिमा सरस्वती कंठाभरणलाई उधृत गर्दै लेखिएको छ ‘जब रति नामक भाव उत्पन्न हुन्छ तर प्रियको प्राप्ति हुँदैन ,त्यस्तो अवस्थालाई विप्रलम्भ श्रृङ्गार भनिन्छ (सिंह, १९६७, पृ. ३९)  ।’ मम्मटले विप्रलम्भ श्रृङ्गारलाई अभिलाष, ईष्या, विरह, प्रवास तथा श्राप गरी पाँच प्रकारमा वर्गीकरण गरेका छन्(नरेन्द्र, २०४२, पृ. १२३) । धनंजयका अनुसार श्रृङ्गार रसका तीन भेद छन् : अयोग, विप्रयोग र संयोग (सूर्यकान्त, १९६७, पृ. १८४ । संयोग नभएकाले धनंजयका बाँकी दुई भेदलाई पनि विप्रलम्भ श्रृङ्गारमै राख्न सकिन्छ । उनको अयोग श्रृङ्गारलाई  मम्मटको अभिलाष वा पूर्वरागसँग दाँजेर हेर्दा उस्तै देखिन्छ । सरस्वती कंठाभरणमा विप्रलम्भ श्रृङ्गार रसका चार भेद क्रमश: पूर्वराग, मान, करुण र प्रवास  बताएको डा. सिंहको कथन छ (सिंह, १९६७, पृ. ३९)  । वर्तमान समयमा श्रापको कारण मानिसहरू आफ्नो थाकथलो नै छोडेर हिँड्ने चलन हटिसकेको हुँदा श्रापले कुनैपनि जोडीलाई एक अर्काबाट टाढा पार्न नसक्ने भएकाले मम्मटको श्राप नामक भेदलाई हटाउँदा दुबै आचार्यले बताएका विप्रलम्भ श्रृङ्गारका भेद त्रमश: पूर्वराग, मान, प्रवाश र विरह(करुण) देखिन आउँछन् । अत: उल्लिखित विप्रलम्भ श्रृङ्गार रसका भेदहरूका आधारमा सङ्खुवासभा प्रचलित बाह्रमासे लोक गीतहरूको अध्ययन तथा विश्लेषण निम्नानुसार गरिएको छ :


६.१ पूर्वरागयुक्त विप्रलम्भ श्रृङ्गार रस भएका बाह्रमासे लोकगीतहरूको अध्ययन तथा विश्लेषण

    नायक नायिका एकै स्थानमा हुन्छन् तर लज्जा, डर, परतन्त्रता, अनिइच्छा आदिका कारण सहवासमा बाधा हुँदा पूर्वरागयुक्त विप्रलम्भ श्रृङ्गार रसको उत्पन्न हुन्छ । सङ्खुवासभाका थुप्रै बाह्रमासे लोक गीतहरूमा पूर्वरागयुक्त विप्रलम्भ श्रृङ्गार पाइन्छ । एकातिर कानूनी बन्देज अर्कातिर अविश्वास, सामाजिक तथा सांस्कृतिक बन्देज आदिका कारण नायक– नायिका हरेक भेटमा पूर्वरागयुक्त  विप्रलम्भको अनुभूति गर्दै निम्नानुसारका लोक गीतहरू गाउँछन् :
चैतारीमा चारखुट्टे फलैंचा
जाउँ कि बसौँ भइसक्यो मलाई त
रुमाल धोएर
जाऊँ भन्दा मानिनौ, बस रोएर ।
गाईको ओराली झर्दैन
सुसेलेर बोलाउनु
रुमाल धोएर...................।
मेरो माया छ भने त्यता
पानी खाने निहुँ गरी आउ यता
रुमाल धोएर..............................।
चौतारीमा बर खाँदा खाँदा
जुनी वित्यो मायालाई पर्खदा
रुमाल धोएर......................................।
                             (बुढाथोकी, २०७१, पृ. ५६)
    माथिको लोकगीतमा नायकले आफ्नी प्रेमिकालाई आफूसँग जाऊँ भन्दा जान नमानेको तर नायिका रोएको प्रसङ्ग छ । सामाजिक डर, लज्जा र अनेक मानवीय बन्धनका कारण नायिका आफ्नो प्रेमिलाई सुसेलेर नबोलाउन भन्दैछिन् । सुसेलेर बोलाएको अरूले पनि सुन्ने डर हुन्छ । पूर्वीय दर्शनमा प्रेम लुकीछिपी नै गरिन्छ, अझ नायिकाहरू यसमा थप सचेत हुन्छन् । नायिकाको त्यो सामाजसँगको लाज वा डर बुझेर नायक मेरो माया लाग्छ भने पानी खान आएको बहाना पारेर भए पनि आऊ भन्दैछ तर चौतारीमा भेट भएका नायक नायिक बर मात्र सँगसँगै खान्छन् । नायिका नायकसँग जान पनि सक्दिनन् र छोड्न पनि सक्दिनन् बरु नायकलाई पर्खदैमा जीवन वित्ने त्रास ब्यक्त गर्दछिन् । यसरी नायक नायिक साथमै छन् तर समागमको वातावरण नमिलेर विप्रलम्भ श्रृङ्गारको पूर्वराग भेद माथिको लोकगीतमा पाइन्छ । यस्तै अर्को उदाहरण हेरौँ :

फनफनी घुमी नि रोटे पिङ खेल्नु, मच्चाउनु लिङ्गे पीङ
मच्चाउनु लिङ्गे पीङ लौ सुनी लानु मच्चाउनु लिङ्गे पीङ
धरानै सम्म नि पैदलै जाउला, गाडीमा फरपिङ
गाडीमा फरपिङ लौ सुनी लानु गाडीमा फरपिङ ।

रेटेर बज्छ नि सारङ्गी बाजा फुकेर सनाई
फुकेर सनाई लौ सुनी लानु फुकेर सनाई
गरौँला काम नि बाँचुला हामी यही ठाउँमा रमाई
यही ठाउँमा रमाई लौ सुनी लानु यही ठाउँमा रमाई ।

तुनामा बाँध्नु बुकीको फूल, चुल्ठोमा गुराँस
चुल्ठोमा गुराँस लौ सुनी लानु चुल्ठोमा गुराँस
छामेर हेर हजुरको माया मुटुमा पुरा छ
मुटुमा पुरा छ लौ सुनी लानु मुटुमा पुरा छ ।
                         (बुढाथोकी, २०७१, पृ. ५५)
    माथिको गीतमा पनि विप्रलम्भ श्रृङ्गार रसको पूर्वानुराग भेद पाइन्छ । मम्मटलाई उधृत गर्दै डा. नरेन्द्र लेख्छन् व्यक्तिमा राग वा अभिलाष हुनु तर समागमको अवसर नपाउनु नै पूर्वरागको अवस्था हो (नरेन्द्र, २०४२, पृ. १२४)  । उल्लिखित गीतमा नायकले नायिकालाई भागेर बिहे गर्नमात्र प्रस्ताव गरेको छैन हिँड्दै हिँड्दै धरानसम्म पुगेर गाडी चडी फरपिङ हनिमुन मनाउन जाने कुरा राखेको छ । तर यहाँ प्रस्ताव मात्र छ, पूर्वरागयुक्त अभिलाष मात्र छ, समागमको अवसरवाट भने नायक नायिका बन्चित नै छन् । नायकले पहिलो अन्तरामा हनिमुन पछि फेरि गाउँमै फर्किएर आफ्नै ठाउँमा रमाउने भन्दै नायिकालाई पूर्वराग सहित फकाएको देखिन्छ । हिमाली जिल्ला भएकाले सङ्खुवासभाली धरातल निक्कै विकट छ । यहाँको मूल सडक नै आजसम्म कच्ची छ । त्यस्तै समस्या स्वस्थ्य, शिक्षा, रोजगारी आदिमा पनि प्रशस्तै भएकाले यहाँका अघिकाशं ग्रामिण भेगका मानिसहरू बसाइँ जाने चलन रहेकामा गीतको यो अन्तराले घुमिसकेर यही (सङ्खुवासभाका) ठाउँमा फर्किएर रमाउने विचार राखेको छ । साहित्य भएकाले  चर्चित अन्तराले जनचेतना मूलक सन्देश दिँदै आफ्नै थाकथलोमा मात्र रमाइलो जीवन जीउन सकिने कुरा प्रस्तुत गरी यहाँको बसाइँ सर्ने प्रथालाई निरुत्साहित पार्न खोजेको देखिन्छ । दोस्रो अन्तरामा  नायकले नायिकालाई विस्वास दिलाउन मनमा पुरापुर माया भएको बताएको छ । यो गीतले आजभन्दा दुई–तीन दशक अघिको सङ्खुवासभाको चित्रण गरेको छ । यतिबेला सङ्खुवासभाबाट धरान पैदल जानुपर्दैन । कच्ची नै भएपनि बाह्रै महिना यहाँ गाडी चल्छन् । तर पहिले यहाँबाट धरान सम्म पैदल नै जानुपर्थ्यो  । अर्कोतर्फ लेकका खर्कहरूमा फुल्ने बुकी अनि  गुराँसको यहाँ हर्जा छैन र चर्चा पनि भएको छ । यसरी यो विप्रलम्भ श्रृङ्गारयुक्त लोकगीतले स्थानीय परिवेशलाई पनि समेटेको छ । यस्तै प्रकारको अर्को गीत हेरौँ :
खोला खोली पलायो निगुरो
पलाएन म माथि मन तिम्रो
लेकै फुल्यो लाली गुराँस ।

सालको पात ढाल्नेको टपरी
कोहीले पनि चेत्दैन नपरी
लैकै फुल्यो लालीगुराँस ।
   माथिको लोकगीतमा पनि पूर्वराग अर्थात अभिलाषजन्य विप्रलम्भ श्रृङ्गार रस स्पष्टै देखिन्छ । मिलनको रहर भएर पनि गायकले आफ्नो मान्छेसँग समय बिताउन पाउनु त परैको कुरा गायक प्रति उसले आफ्नो ठानेको मान्छेको मन समेत नपलाएको प्रसङ्ग उल्लेख छ । यो घटनाले गायकलाई पर्नसम्म पीर परेको छ र उसले पर्नेले मात्र चेत्ने हुदाँ पछि आफूलाई बेवास्ता गर्नेलाई पनि यस्तै अनुरागयुक्त विप्रलम्भ श्रृङ्गारको अवस्थामा परेपछि चेत्ने सङ्केत गरेको छ । गीतले हिमाली जिल्ला सङ्खुवासभाको लेकमा फुल्ने लाली गुराँस मात्र नभएर यहाँका बेँसीमा पाइने साल र ढाल्नेकटुसको उल्लेख गरी यहाँ ग्रामीण बस्तीहरूमा प्रयोग गरिने नेपाली मौलिक टपरीको पनि चर्चा गरेको छ ।
    यसरी सङ्खुवासभाली लोकगीतहरूमा प्रशस्त मात्रामा पूर्वरागयुक्त विप्रलम्भ श्रृङ्गार रस पाइन्छन् । संभोगाभिलाष सूचक मनोविकार हुँदाहुदै पनि लज्जा, भय अदिका कारण बाधा हुँदा पूर्वरागयुक्त विप्रलम्भ रस उत्पन्न  हुन्छ (सिंह, १९६७, पृ. ४३)  । नेपाली समाजमा यौनकर्म खुल्ला रुपमा वर्जित छ । यसो हुँदा यहाँका लोकगीतहरूमा प्रशस्त मात्रामा संभोगाभिलाष पाइन्छ । त्यसैले यहाँका लोकगीतमा संभोगविलासयुक्त विप्रलम्भ श्रृङ्गार पाइनु स्थानीय चलन र संस्कृतिसँग पनि मिल्दो देखिन्छ । वर्गीयता , जातियता, पारिवारिक अस्वीकृति आदिले पनि नायक नायिकामा पूर्वरागयुक्त विप्रलम्भ श्रृङ्गारको उत्पन्न हुने गरेको यथार्थतालाई समेत निम्न लोकगीतहरूले पुष्टि गर्दछन् :
(क)
यता जा भन्छ, उता भन्छ केरीको पातैले
धनकुटा हिले, दिलचित्त मिले, के गर्छ जातैले ?
कपालै कोर्ने बाँसैको थाक्रो, पोल्टामा ऐना छ
तिमीलाई पाउने मनमात्र मेरो, कर्मैमा रैनछ ।
(ख)
खेतमा गाएँ नि खेताला भएँ...
रेलीमाया रेली रेशम नखाऊ कसम रेलीमाया लौ
पानीले कुट्थ्यो र , रेलिमाया......................
खाएको सूर्ति नि लाएको पिर्ती रेलीमाया....................
कहिले पो छुट्थ्यो र, रेलीमाया...................

घुरुमा घुरु नि परेवी घुर्‍यो, रेलिमाया......................
हाँसपोथी घुर्दैन, रेलिमाया ......................
आजै नि जौँ जौँ, भोलि नि जौँ जौँ रेलिमाया..................
साइतै जुर्दैन, रेलिमाया............................
(ग)
नायक–मोटर बाटो के हिँड्छौ बैगुनी
बसको भाडा म तिर्छु भैगोनि
जाऊँ  न सरर, अरुण थर्डको रोड
वानेश्वरमा फूलपाती चडाउँला
घुमाउँला खराङ–लुहाकोट ।

नायिका–गाईको बाछो, वन चर्छ चर्दैन
उल्टी आउँछ, गाडी मन पर्दैन
जाऊँ न सरर.............


६.२ मानयुक्त विप्रलम्भ श्रृङ्गार रस भएका बाह्रमासे लोकगीतहरूको अध्ययन तथा विश्लेषण

    मान अथवा घमण्डका कारण समागममा बाधा उत्पन्न भएर नायक नायिकामा विछोड भएको अवस्थामा मानयुक्त विप्रलम्भ श्रृङ्गार रसको उत्पन्न हुन्छ । मान दुई प्रकारका हुन्छन् : प्रणय–मान र ईर्ष्या  मान । समागममा रमाइलो गर्नुलाई प्रणय भनिन्छ भने उक्त रमाइलोबाट विमुख हुँदा कलह भई नायक नायिकामा हुने विछोडको अवस्थालाई प्रणय मान भनिन्छ । त्यस्तै नायक वा नायिका दोस्रो व्यक्तिसँग अनुरक्त भएको अवस्थामा उत्पन्न हुने विप्रलम्भ श्रृङ्गारलाई ईष्या–मान भनिन्छ (सूर्यकान्त, १९६७, पृ.१८५) । यस्तो किसिमको विप्रलम्भ श्रृङ्गारमा नायक–नायिकामा ईखालु भाव उत्पन्न हुन्छ । समाजमा माया–प्रेममा फसेका युवा युवतीमा यस्ता मानयुक्त विप्रलम्भ श्रृङ्गार रस पटक पटक उत्पन्न हुने हुँदा लोकगीतहरूमा यो भेद प्रशस्तै भेटिन्छन् । उदाहरणका लागि तलको गीत हेरौँ–
आलु काटी थालैमा चकना
चिठी हेरी मन मेरो भकाना हौ
खोली  झऱ्यो गाई
गाई कि नझरेको, पानी खानलाई ।
    माथिको गीतमा मायाको संसारमा रमाइरहेका जोडीमध्ये कुनै एकको कारण चिठीमा विप्रलम्भ श्रृङ्गारको अवस्था श्रृजना हुनेगरी लेखिएकाले गायकको मनमा करुण श्रृङ्गार उत्पन्न भएको देखिन्छ । यसलाई प्रणय मानको भेदभित्र राख्न सकिन्छ । यसभन्दा अघिसम्म यो जोडीको प्रेम चलेको र यो पत्रले मनमा भक्कानु परेको गीतको आशय झल्किन्छ । यस्तै अर्को ईर्ष्या–मान युक्त विप्रलम्भ श्रृङ्गारको उदाहरण हेरौँ :
गोठैमा जाँदा नि दही खान पाउने मासिँमा खर्कैमा
आँखा चैँ तिम्रो मसँग जुध्ने, मन छ कि अर्कैमा ?
रानी रुमालमा च्याट्टै रानी रुमालमा ।
    माथिको गीतमा गायकले आफ्नो जोडीलाई अर्कैसँग मन छ कि भन्ने ईर्ष्यायुक्त  शंका गरेको देखिन्छ । यसले सङ्खुवासभाको स्थानीयतालाई सम्बोधन गर्दै मासिँमा खर्कको नाम उल्लेख गरेको छ भने उक्त खर्कमा उभौली पछि गोठ लगिने र त्यहाँ पुग्ने जो कोहीले पनि लेकको लहरी दही खान पाउने सत्यतालाई उठान गरी यहाँको स्थानीय जनजीवनको समेत प्रतिनिधित्व गरेको देखिन्छ । यस्तै अर्को उदाहरण हेरौँ :
पात्ले घारीमा.....
नसमाउ नारीमा हौ, पर्लाउ जारीमा ।

अरुणैमा पञ्चौली पुजेको हौ
बिहे गरेँ, खोइ कुरा बुझेको हौ
पात्ले घारीमा....................।

पैले मन दिएनौ म तिर हौ
अरुको नै लगाएँ सिन्दुर हौ
पात्ले घारीमा...................।
    माथिको गीतको स्थायीमा नै नारीमा नसमाऊ र समाएमा जारीमा पर्छौ भन्ने स्पष्ट कुरो छ । अर्काकी श्रीमतीसँग विबाह गर्दा पहिलाको श्रीमानलाई नयाँ नायकले तिर्नुपर्ने हर्जनालाई ग्रामीण भाषामा जारी भन्ने गरिन्छ । गीतको पहिलो अन्तरामा पहिला पनि नायिकालाई नायकले यसरी नै समात्ने गरेको अनुमान गर्न सकिन्छ तर अब बिहे भइसकेको हुँदा समाउन नमिल्ने कुरा उल्लेख छ भने दोस्रो अन्तरामा पहिले नायिकालाई वेवास्ता गरेको र अब सिन्दुर समेत लगाइसकेको हुँदा मिलन हुन नसक्ने स्पष्ट बताइएको छ । यो पनि ईर्ष्या–मानयुक्त विप्रलम्भ श्रृङ्गारकै अर्को उदाहरण हो । माथिको गीतले अरुण नदीमा गरिने पञ्च वली (पञ्चौली) पूजाको समेत विषय उठान गरी स्थानीय चलनलाई समेत समेटेको देखिन्छ । यस्तै अर्को प्रणय–मान युक्त लोक गीत हेरौँ :
तुम्लिङटार अरुणको तीरैमा
कान्छी ल्याउँदा जेठी छे पीरैमा ।
    माथिको गीतमा नायकले कान्छी श्रीमतीसँग विवाह गरेको कारण जेठीलाई पीर परेको उल्लेख छ । यो प्रणय–मान युक्त विप्रलम्भ श्रृङ्गार हुन्छ किनकी जेठीको पहिलेदेखि नै चलिआएको समागमको अधिकार कान्छीले खोसेकी छिन् र त्यसैको कारण उनलाई ठूलो पीर परेको छ । यो गीतले सङ्खुवासभाको एकमात्र विमानस्थल समेत भएको तुम्लिङटार अरुण नदीको तीरमा रहेको यथार्थतालाई पनि उजागर गरेको छ । नविन खड्काले सङ्कलन गरी रेकर्ड गराएका अर्को ईष्या–मानयुक्त गीतको उदाहरण हेरौँ :
माथि माथि कैलाशैमा सुक्यो भैरुङपाती
देखेपछि माया लाग्छ, नदेखेकै जाति ।

शिकार खेल्यो शिकारीले धनुबाँसको तीरले
वनैखायो डडेलोले मनै खायो पीरले ।

काली खोला बाडी आयो बर्खामासको भेलले
रोउँ कि हाँसौ पार्‍यो मलाई पीरतीको खेलले ।


    माथिको गीतमा पनि आफूले मन पराएको मान्छेलाई देख्दा माया लाग्ने भएकाले फेरि नदेख्न चाहेको प्रसङ्गले स्पष्ट हुन्छ ऊ अरु कसैको भइसकेको छ । त्यही कुरालाई पुष्टि गर्दै पहिलो अन्तरामा गायकको मन पीरले खाएको प्रसङ्ग उल्लेख छ । दोस्रो अन्तरामा त झन पिरतीको खेलले गायकलाई रोउँ कि हाँसौ पारेको उल्लेख छ । यो गीतमा ईष्या–मानयुक्त विप्रलम्भ श्रृङ्गारका साथमा सङ्खुवासभाको जनजीवनलाई पनि समेट्दै लेकमा पाइने भैरुङपाती, कालीखोला जस्ता शव्दहरू आएका छन् ।
    यसरी सङ्खुवासभामा गाइने थुप्रै बाह्रमासे गीतहरूमा मानयुक्त विप्रलम्भ श्रृङ्गार रस पाइन्छ जस्ले यहाँको जनजीवन, चालचलन र स्थानीयतालाई समेत समेटेका छन् । मानजन्य विप्रलम्भ बाट बच्न साम, भेद, दान, नति, उपेक्षा ररसान्तर जस्ता उपायहरू छन् । प्रिय वचन बोल्नुलाई साम भनिन्छ । नायिकाको साथीसँग मिलेर फकाउनुलाई भेद भनिन्छ भने गहना बस्त्र आदि दिएर फकाउनुलाई दान भनिन्छ । प्रेमिकाको पाउ परेर आत्मसमर्पणको भाव प्रकट गर्नुलाई नति भनिन्छ । यति गर्दा पनि नभएमा उपेक्षा गरेर समेत मिलनका लागि दवाव दिन सकिन्छ । यसो गर्दा गर्दा अझ नभए प्रेमको सट्टा धृष्टता, भय, रीस आदि भाव पदर्शन गरी मान भुलाउन सकिन्छ, सो तरिकालाई रसान्तर भनिन्छ (सूर्यकान्त, १९६७, पृ.१८५) । डा. सूर्यकान्तको यो कथनलाई मध्यनजर गर्दा सङ्खुवासभाका बाह्रमासे लोकगीतहरूमा आफ्नो मनले खाएकालाई फकाउन कतै मीठो बोली बोलेको, कतै यस्तो दिन्छु– उस्तो दिन्छु भनी दानी बनेको त कतै अनेक घुर्की लगाएर उपेक्षा गरेको थुप्रै उदाहरण पाइन्छन् । मानयुक्त विप्रलम्भका थप उदाहरणका लागि निम्न लोकगीहरू प्रस्तुत गरिएको छ :
(क) सामयुक्त
मोही खानु फामको हौ, भात खानु धानको, दूध खानु थोरेको
फूलबारी गएँ, फूल टिपी ल्याएँ, खोई कपाल कोरेको ?
(ख) भेदयुक्त
अरुणैको सङ्लो सङ्लो सङ्लो पानीलाई
ए.............साइँली, मेरो माया सुनाईदेऊ–सुनाइदेऊ
ठुस्किएर रिसाउने सानी नानीलाई ।
(ग) दानयुक्त
आजु है मोइले घाँसै र काट्यो अँधेरी खोलाको भीरसम्म
गहना तिम्लाई लाइदिउँला कान्छी पाइतालादेखि शीरसम्म...............
लासो

(घ) नतियुक्त
पउमा पर्छु, जे भन्छौ गर्छ, घाँस काट्छु नौ पुँला
धेर भए माया बाँडेर लिउँला, थोर भए थपौला ।

(ङ) उपेक्षायुक्त
नायक– राती ओड्ने राडीपाखी दिउँसो ओड्ने बर्की
       धेरै घुर्की न ला बुडी म त ल्याउँछु अर्की  बरिलै............।

(च) रसान्तर (विप्रलम्भ श्रृङ्गारबाट हास्य रस)
नायिका– चिलाउनेका हलो जुवा, सिमालीका सोइला
       तिमी अर्की ल्याउँछौ भने म नि जान्छु पोइला बरिलै................।

नायक– खरुकीको मुना रै’छ , चिलाउनेको चिउला
       जान्छौ भने जाऊ पोइला, बाटो खर्च दिउँला बरिलै....................।


६.३ करुणयुक्त विप्रलम्भ श्रृङ्गार रस भएका बाह्रमासे लोकगीतहरूको अध्ययन तथा विश्लेषण

    करुण र विप्रलम्भ श्रृङ्गारका बारेमा कहिलेकाहीँ भ्रम उत्पन्न हुन्छ । यिनीहरूको सीमा अलग अलग हुन्छ । यस्तो भ्रमको संभावना मुख्यतया प्रेमी प्रेमिकाको वियोगको अवस्थामा हुन्छ । वियोग दुई प्रकारको हुन्छ – क) स्थायी वियोग ख) अस्थायी वियोग । अस्थायी वियोगको कारण करुण विप्रलम्भको अवस्था आउँछ, दुईमध्ये एकको मृत्यु भएमा स्थायी वियोग हुन्छ जसको कारण करुण रस उत्पन्न हुन्छ (नरेन्द्र,२०४२, पृ १२८) । करुण विप्रलम्भमा दुवै जीवित नै हुन्छन् तर मृत्यु भएको भ्रम उत्पन्न हुन्छ तर मिलनको आशा पनि जीवितै हुन्छ । सङ्खुवासभाका बाह्रमासे लोकगीतमा थोरै भए पनि करुण विप्रलम्भ पाउन सकिन्छ । उदाहरणको लागि तलको गीत हेरौँ :
पीपल डाँडैमा ए होई पीपल डाँडैमा..........
तोक्मा लगाई सरर, तिम्लाई सम्झी रुन्छु धरर..........।

अरुणैको बाडीमा फस्यौ कि
अक्करको खोँचमा खस्यौ कि
पीपल डाँडैमा......................।
   माथिको गीतमा हराएको प्रेमी वा प्रेमिकालाई सम्झेर आँशुका धारा नै धरर छुटाउँदै रोएको प्रसङ्ग स्थायीमा उठान गरिएको छ भने अन्तरामा अरुण नदीको बाडीमा फसेको अथवा अक्करको खोँचमा खसेको जस्तो मृत्यु नै हुनसक्ने त्रासदीपूर्ण अनुमान गरिएको छ । तर यस्को प्रमाण छैन बरु अरुणको भेलमा फसेकाहरू पनि यदाकदा जीवितै भेटिएका प्रमाण हुन्छन् गाउँमा जसको कारण मिलनको आशा पनि उत्तिकै छ । यसरी माथिको गीतमा करुण विप्रलम्भ श्रृङ्गार रस पाइन्छ । माथिको गीतमा प्रयुत्त तोक्मा, पीपल डाँडा, अरुण र अक्कर शब्दहरूले सङ्खुवासभाको परिवेशलाई समेटेको छ । गाडीको बाटो नखुलुन्जेल यहाँ ढाकरमा तोक्मा लगाएर धरानबाट ढुवानी गरिन्थ्यो । यो दु:खबाट सङ्खुवासभाले छुटकारा पाएको दुई दसक मात्र हुँदैछ । अक्करको भीरबाट तोक्मा र ढाकरसँगै हराएकाहरूको लेखाजोखा यस्तै लोक साहित्यहरूले मात्र गरेका होलान् । यसरी करुण विप्रलम्भ श्रृङ्गारको यो गीतले केही समय अघिको विकट र कहालीलाग्दो सङ्खुवासभाली जनजीवनको पनि प्रतिनिधित्व गरेको छ ।

६.४ प्रवासयुक्त विप्रलम्भ श्रृङ्गार रस भएका बाह्रमासे लोकगीतहरूको अध्ययन तथा विश्लेषण

    प्रेमी प्रेमिकाबिच सुमधुर सम्बन्ध हुँदाहुँदै पनि परिवारिक समस्याका कारण वाध्यात्मक परिस्थितीमा एक अर्काबाट छुट्टिएर बस्नुपर्दा उत्पन्न हुने रसलाई प्रवासयुक्त विप्रलम्भ श्रृङ्गार भनिन्छ । मम्मटका अनुसार कुनै स्त्रीका पति गुरुजनको आज्ञा वा अन्य कारणले दीर्घ कालका लागि प्रवास जाँदा प्रवास विप्रलम्भयुक्त श्रृङ्गार रस उत्पन्न हुन्छ    (नरेन्द्र,२०४२, पृ १२५) । जानी बुझिकन प्रवासी हुनुपर्ने अवस्थालाई प्रवास भनिन्छ । यो तीन प्रकारको हुन्छ– क) भूत ख) वर्तमान र ग) भविष्यत् (सूर्यकान्त, १९६७, पृ.१८५) । नेपालीहरू पहिले मुङ्गलान गएका, पहिलो र दोस्रो विश्वयुद्धका बेलामा लडाइँमा गएका अनि खाडी मूलुक लगायत सरकारले स्वीकृति दिएका मात्र नभएर अवैध बाटो भएर विश्वका हरेक देशमा पुगेर प्रवासी बनिरहेको वर्तमान परिप्रेक्ष्यमा प्रवासयुक्त विप्रलम्भ श्रृङ्गार रस भएका लोक गीत नहुने कुरै भएन । अझ यतिबेला त बैदेशिक रोजगारीमा आफ्नो युवा नपठाएको कुनै स्थानीय तहको कुनै वार्ड होला भन्ने शङ्का मात्र गर्नु पनि हास्यादपद हुने अवस्था छ । अत: सङ्खुवासभाका निम्नानुसार बाह्रमासे लोकगीतहरूमा प्रवासयुक्त विप्रलम्भ श्रृङ्गार पाइन्छ :
माछी काँडैले..........
माया लाउँदैमा छेक्यो डाँडैले ।
    माथिको गीतमा माया लगाउनसाथ डाँडाले छेक्यो भन्नुको अर्थ प्रवासको बसाई भयो भन्ने नै हो । यहाँका सभा, पिलुवा, अरुण आदि नदीहरूमा असला, कत्ले लगायतका माछाको प्राकृतिक भण्डार रहेको छ । सभा र अरुणको दोभान नजिक कत्ले भन्ज्याङ्ग भन्ने स्थान नै छ । एकातिर अन्त्य अनुप्रास मिलाउन अर्कोतिर यहाँको जनजीवनमा प्रचलित माछा खाँदाको स्वाद र अर्कोतिर त्यही स्वाद विथोल्दै घोच्न आउने माछाको काँडालाई विम्बात्मक रुपमा माथिको लोकगीतले बोलेको र स्थानीय परिवेशलाई समेत समेटेको देखिन्छ । यस्तै अर्को एउटा गोठाले भाकाको उदाहरण हेरौँ :
दश पैसे सलाई– गईगयो माया छाडेर मलाई
मादलु गुईँ–गुईँ– परदेशी सम्झी बस्छु म रुई रुई
जडिबुटे डाँडा, तिमी छौ टाढा हौ माया छ गाढा ।
    माथिको गीतको सवै अन्तरामा प्रवासयुक्त विप्रलम्भ श्रृङ्गार पाइन्छ । पहिलोमा मायाले छाडेर गएको, दोस्रोमा परदेशीलाई सम्झेर रुँदै बसेको कथन छ भने मायालु टाढा भएपनि माया गाडा भएको बताउँदै प्रवासयुक्त श्रृङ्गार रसको साथमा जडिबुटे डाँडा जस्ता शब्दको प्रयोग गरी स्थानीयतालाई समेत समेटेको छ । यस्तै अरुण उपत्यकाका लोक गीतहरू नाम दिएर नविन खड्काले सङ्कलन गरी रेकर्ड गरेको अर्को गीत हेरौँ :
आज पनि जाउँ जाउँ
भालि पनि जाउँ जाउँ
पर्सि त साइँली हुइँकिने रेलैमा ।
    यो गीतले पनि भारतको कुनै ठाउँमा आफ्नो थलो छोडेर प्रवासमा जानुपर्ने बाध्यतालाई स्पष्ट पारेको छ । यस्तै अर्को भारत प्रवास जानुपर्ने बाध्यात्मक गीत यस्तो छ :
मंशिरै मैना दार्जेलिङ जान्छु खरसाङको लिन्छु पास
ईश्वरको कृपा, मर्छु कि बाँच्छु नगर्नु मेरो आश ।

यस्तै प्रवासयुक्त विप्रलम्भ श्रृङ्गारले भरिपूर्ण अर्को गीत यस्तो छ :
उकाली ज्यानको त्यो एक्ले बर छोइदिने कोही छैन
बिरानो देशमा मै मरी गए रोइदिने कोही छैन ।
    माथिको गीतमा बिरानो देश भनेर प्रवासलाई नै संकेत गरिएको हो । यस्तै प्रवासयुक्त विप्रलम्भ श्रृङ्गार रस भएका सङ्खुवासभाका थप  बाह्रमासे लोक गीतका केही उदाहरण तल प्रस्तुत गरिन्छ :
(क)
कागे भलायो
म जान्छु मलायो, दाइले बोलायो ।
            सङ्कलन तथा गायन : पर्वत श्रेष्ठ
(ख)
रेलै घुमेर.......
गयो दाजुको आधा उमेर ।
(ग)
पर्खिबस्छु ज्यान तिमीलाई स्वर्गद्वार खोली
सपनीमा आउँदै गर्नु हास्दै मिठो बोली
विरहमा आँशुको धारा
आँशुले नै भिजायो जीउ सारा ।
           सङ्कलन तथा गायन : कमलीकान्त भेटवाल


(घ)
उँधोलाई हेर्‍यो सलल नदी
ए हो उँभोलाई वन छैन
उडिजाउँ भने म चरी हैन
ए हो बस्नलाई मन छैन
ए भाले मजुर..................
घर फर्की आउनु है मेरो हजुर ।
           सङ्कलन : नविन खड्का  गायन: मञ्जु सम्बाहाम्फे एरेञ्जर :शीला ब. मोक्तान
(ङ)
हे सलल खोला
हितैको माया कहाँ पुग्यो होला ।
           सङ्कलन : नविन खड्का  गायन : पुस्तका खड्का

७. निष्कर्ष

    यसरी हिमाली जिल्ला सङ्खुवासभामा प्रचलित थुप्रै बाह्रमासे लोकगीतहरूमा  विप्रलम्भ श्रृङ्गार रस पाइनुका साथै यी विप्रलम्भ श्रृङ्गार रसयुक्त गीतहरूले यहाँका जनजीवन र स्थानीयतालाई समेत समेटेका छन् । सङ्खुवासभामा गाइने यी विप्रलम्भ श्रृङ्गार रसले भरिएका बाह्रमासे लोकगीतहरूले भूत, वर्तमान र भविष्यमा किन र कसरी प्रेमिल जोडीहरू एक आपसमा छुटिरहेका छन् भन्ने साक्षी बकिरहेका छन् । रस सिद्धान्तको नजरबाट सङ्खुवासभाका बाह्रमासे लोक गीतहरूलाई अध्ययन गर्दा आचार्यहरूले बताएका विप्रलम्भ श्रृङ्गार रसका श्राप बाहेक सबै भेदहरू पाइएको हुँदा पूर्वीय साहित्य सिद्धान्तको रसबाद लोकगीतहरूको विश्लेषणका लागि पनि उपयोगी हुने प्रष्ट भएको छ ।

सन्दर्भ ग्रन्थसूचि

डाँ. सूर्यकान्त, (१९६७), संस्कृत वाङ्मय का विवेचनात्मक इतिहास,  प्रयाग : इंडियन प्रेस (पब्लि) प्रा.लि. ।
नरेन्द्र (सम्पा.), (२०४२), काव्यप्रकाश: , वाराणसी: ज्ञानमण्डल प्रकाशन ।
पराजुली, मोतिलाल र अन्य (२०६८), नेपाली लोक साहित्यको रूपरेखा, ललितपुर : साझा प्रकाशन ।
बन्धु, चुडामणि (२०५८), नेपाली लोकसाहित्य, काठमाडौं : एकता बुक्स ।
बुढाथोकी, ताराबहादुर (२०७४), अरुण उपत्यकाका लोकभाका, सङ्खुवासभा : मकालु साहित्य प्रतिष्ठान
भण्डारी, पारसमणि र अन्य (२०६७), साहित्यशास्त्र र नेपाली समालोचना, काठमाडौं : विद्यार्थी पुस्तक भण्डार ।















Comments