Skip to main content

जमिनमा लेखिएको हरियो कविता

                                        जमिनमा लेखिएको हरियो कविता
                         
     कोरोना कोडीका कारण कसैले खुसीले खाने, खेल्ने,गाउने गर्दैनथे, घरमै घोरिनुपर्थ्यो  । हामी सङ्खुवासभाको नेपाल टेलिकम परिसरमा थुनिएका थियौँ । बिहानीको हलुका घामका किरणसँगै आकास नै भेट्छु भने झैँ हलहल बढेका सिँमीलाई थाङ्ग्रा हाल्दा हाल्दै मोबायल बज्यो । श्रीमतीजीले नै उठाएर ल्याएपछि सम्पर्क गर्ने मान्छे चिन्नै पाइनँ , बोलिहालेँः
‘हजुर, हजुर..........नमस्कार ।’
‘नमस्कार, लकडाउनमा के कसो छ भनेर सम्झिएको । साग–सब्जी लगायत दैनिक उपभोग्य वस्तु किन्न नपाएर समस्या भयो होला नि पहाडका शहरहरूमा ?’
मैले बोलीबाटै चिनिहालेँ ‘मुरी मुरी लाग्छ माया.............’ बोलको चर्चित स्वादेशगानका सर्जक युवराज पौडेललाई । अब खुलेर उत्तर दिएँ :
‘त्यस्तो समस्या भइहालेको छैन । हरेक बिहान सागसब्जी बेच्ने अएर बजारमा बेच्दै गरेको देख्छु । अरु सामग्री पनि पसलेहरूले सधैँकै मूल्यमा बेच्दैछन् । हुनुजेल बेच्ने, नलुकाउने चैनपुरे चलन राम्रो रहेछ ।’
‘अनि सागसब्जी बेच्दै गरेको देख्छु भनेपछि आफू र आफ्नो परिवारलाई चाहिँ किन्ने नगरेको जस्तो बुझियो त, के हो कुरा ? विज्ञान पढेको मान्छे, सागपातको महत्त्व त बुझेकै हुनुपर्ने ।’
‘हामीलाई त खासै सागसब्जी किनिरहनु पर्दैन युवराज सर । यहाँ कार्यालय ओरपर खाली भएका ठाउँमा बिहान बेलुका रोपेकैले पुग्ने उब्जिन्छ । कहिलेकाहीँ त हितैसी साथीभाइलाई बाँड्न पनि पुग्छ ।’ मैले बेलिबिस्तार लगाउँदै भनेँ ‘अहिले पनि घिउसिमीलाई थाङ्ग्रा हल्दैछु ।’ मेरो कुरा सुनेर युवराजजीले हृदयबाटै खुशी निकालेर चिच्याए झैँ स्वरमा भने :
‘लु जय होस् । अब मैले फोन राखेँ , परिश्रम र यसबाट उब्जिएको यो सागसब्जीको स्वादिलो कुरा समेटेर चाँडै एउटा लेख इमेल गरिदिनुहोला । नमस्कार ।’ उनले सम्पर्क टुटाइहाले । मैले न त हुन्छ भन्न पाएँ, न त हुँदैन भन्न नै पाएँ । उनी यस्तै हुन्, हुटहुटी लगाउने, सुतेकालाई जगाउने, अल्छी भगाउने अनि अलप हुने । म चाहिँ लकडाउनको सुनसानले अल्छी गर्दै कछुवाको गतिमा लेखपढ गर्दैथिएँ । उनले मलाई दिन बिराएर लेखबारे सोध्न थाले । मैले नलेखी सुख पाइनँ ।
    वास्तवमा भन्नुपर्दा हामी जोइपोइलाई नै परिश्रम र मेहनतपछि प्राप्त उपलब्धीमा रमाउने बानी परेको छ । हामीले गरेका जुनसुकै काम पनि थोरै मेहनतले सफल हुँदैनन् त्यसैले हरेक काममा बेलैदेखि कडा मेहनत गर्दछौं । जीवनका हरेक सफलताहरूलाई हामी आफ्नै करेसाबारीसँग दाँज्ने गर्दछौँ । कहिले बर्रर्र उम्रिएर यसो लहरा छोड्दै गरेका इस्कुसका मुना असिनाले माटोमा मिलाइदिन्छ, कहिले दर्जनौ चिचिला लागेको लौकाको फेदमा कीरा लागेर बोट ओइलाएपछि मात्र थाहा पाइन्छ तर पनि हामी थप प्रयास गर्दछौँ । पानी हालिरहेपछि स्कुस फेरि टुसाउँछ, लौकाका फेदमा तीतेपातीको झोल सूर्तीसँग मिसाएर हालेपछि चिचिला कुहिए पनि फेरि बाँचेर अरू फल दिन्छ । हामी जीवनका अन्य काममा पनि यसैलाई दृष्टान्त बनाएर आशावादी बन्ने गर्दछौँ अनि अन्य यस्तै उपदेश लिन करेसाबारी खन्ने गर्दर्छौ ।
    ‘रोपे फल्छ ’ नेपाली उखानै छ, त्यसैले हामी रोप्दै गर्छौँ, फल्दै गर्छ । कहीँ कतै जाँदा पाइएका सागसब्जीका विरूवा ल्याएर रोपिहाल्ने बानी लागेको छ । एकपटक चैनपुरको शुक्रबारे हटियामा हामी रायोको बीउ किन्दै थियौं, स्थानीय मा. वि. मा शिक्षण गर्ने चिनेकै साथीले आश्चार्य मान्दै सोधेः ‘ हैन पाछेको साग त पछि सस्तै पाइहालिन्छ नि, किन दुःख गर्नु ?’ यहाँ रायोको सागलाई पाछेको साग भन्दछन्, खोइ किन त्यसो भन्दछन् खोजी गरेको छुइन । उनलाई तत्काल भन्ने हामीसँग केही उत्तर थिएन । पछि हिउँदमा साग खाइ नसकेर सुमीले एउटा प्लाष्टिकको बट्टामा तीन–चार पटक गुन्द्रुक हालिन् । मैले सामाजिक सञ्जालमा गुन्द्रुक झिक्दै गरेकी उनको फोटो राखेँ । धेरैले थुप्रै किसिमका प्रतिकृया लेखे त्यो फोटोमा, बीउ किन्दा छक्क परेका साथीले पनि वास्तविकता बुझेको सकरात्मक प्रतिकृया लेखे ।

    बिरूवालाई मल नभएर हुँदैन । हामी कार्यालयको आवासमा बस्नेलाई त्यही समस्या हुन्छ । एक दिन शनिबार पारेर छिमेकी दिदीकाबाट मागेर बाख्राको जुत्तो ल्याउँदै थिएँ अर्को कार्यालयका चिनेका कर्मचारी महासयले भने : ‘हामीलाई चाहिँ दुर्गम भत्ताले नै तरकारी खान पुग्छ, छुट्टीको दिन म्यारिज खेल्ने गरिन्छ ।’ पछि एकपटक हाम्रो कार्यालयमा उनी कुनै कामले आउँदा लटरम्म फलेको भिण्डी देखेर मुख मिठ््याउँदै गए । यस्ता घटना भइरहन्छन् । तर यी सबैले हामीलाई कर्मतिरै प्ररित गर्दछन् , हामी मौसम अनुसारका तरकारी रोपिरहन्छौँ , नयाँ नयाँ पाठ पढिरहन्छौँ । प्रकृतिले सिकाएका यस्ता पाठले जीवनलाई साह्रै उर्जा दिँदा रहेछन् ।
    यतिबेला संसार नै कोरनका कारण बन्द भएको छ । कतिपय मानिसहरूले सागसब्जी खान नपाएका कुरा आफ्ना स्टाटसमा लेखिरहेका छन्, ट्वीट गरिरहेका छन् । करेसाबारी नहुनेको त यो अवस्था हुनु दुःखलाग्दो हो तर आफ्नो वरपर जमिन बाँझो राखेर यस्तो गुनासो गर्नेहरू देखेर हाँसो उठ्छ । हाम्रामा अहिले इस्कुसका मुन्टा हप्तामा २ पटक खान हुँदैछ । खाटमुनि रोपेको च्याउ प्रत्येक तीन तीन दिनमा पलाउँछ, सब्जी र सुपले अमन भएपछि रोस्ट बनाएर अनि सुकुटी सुकाएर सदुपयोग गर्दैछौँ । मटर कोसा भर्खरै सकियो, अर्को छिमल फुल्दैछ । फर्सी उम्रिएर बढ्दै छ । सुँपको साग छोराले अलिक मन नपराए पनि हामी आलुमा मिसेर खाँदैछौँ । मेथीको साग, धनियाँ, पालुङ्गो हरियै छ । इलामबाट ल्याएको अग्लो बेथु हाम्रो परिवारले खाएर नसक्ने भएको छ । इलामबाटै ल्याएको तीतेभिण्डी (बिंही) पनि खाइरहेका नै छौँ । अझ जङ्गली बिंही पनि पो ल्याएर रोपेको छ, फुल्दै छ, फल्न थालेपछि गत साल पनि खाएर नसकिएको हो । हाम्रौ पौरखी बानी थाहा पाएर स्थानीय कृषि सामग्री तथा बीउविजन बेच्ने कृषिविज्ञ वंशी खनालले निःशुल्क ल्याइदिएका ठिमाहा टमाटर फुल्दैछन्, पछौटे रायोको साग खाइँदै छ, अगौटे खाइ नसकेर गुन्द्रुक हाल्दै, राख्दै गरिँदैछ । स्थानीय गोलभेडा फलिरहेकै छ, पाकिरहेकै छ ।
    एकातिर बाहिर निस्कन नहुने बेला घरकै सागसब्जी टिप्दा सुरक्षित, अर्कोतर्फ शुद्ध प्राङ्गारिक खान पाइने । फेरि भित्र बसिरहँदा अल्छी लागे एकछिन करेसाबारीमा छिरे अल्छी पनि भाग्ने, शारीरिक कसरत पनि हुने । हामी धरानमा हुँदा पनि यसरी नै खेति गर्ने गर्दथ्यौँ । विजयपुरमा चेतानन्द गौतमकामा बस्दा खोटाङका दाइभाउजूसँग मिलेर पनि करेसा खेती गरियो । खेती गर्न कहिल्यै लाज लागेन, लाग्दैन । मैले मेरो गजलकृति नौमतीको नौलो सरगममा प्रेयसीको खेतिप्रेम बारे एउटा गजल पनि राखेको छु :
करेसामा लेख्छिन् उनी खाने कविता
पँधेरीमा धुन्छिन् पार्टी जाने कविता ।
उनको काव्य, अङ्कुराउँछ, बढ्छ, फुल्छ, फल्छ
लाग्छ मलाई हामी लेख्छौँ गाने कविता ।  (नौमतीको नौलो सरगम : ५५)
    छोरो सानै हुँदा मैले ऊ जत्रै फर्सी र लौका छेउमा राखी फोटो खिचेर सामाजिक सञ्जालमा राखेँ । एकजना हितैसी गजलकारले हाम्रो तरकारी उत्पादनलाई खिसीट्युरी गर्दै प्रतिकृया गरे तर त्यसको जवाफ अर्का कविले यसरी गरे :
‘राष्ट्रपति ओवामाकी श्रीमती ह्वाइटहाउसको करेसाबारीमा तरकारी खेती गरेर समय कटाउँदै छिन् भन्ने समाचार पढ्नुभएन गजलकार ज्यू, हाम्री सुमी भाउजू  पनि उनै प्रथम महिलाभन्दा कम हुनुहुन्न । कवि भनेको सिर्जनाको स्रोत हो , सिर्जनशील कवि परिवारलाई मेरो नमन ।’ हामी खिसिट्युरी प्रतिकृयाले दोमन भएका र नमन सहितको प्रतिकृयाले मख्ख परेका बेला ती गजलकारलाई हाम्रो सब्जीले हो कि कविको नमनले हो अमन भएछ, मलाई अनफ्रेन्ड नै गरेछन् । तर हामी चाहिँ जसले जे भने पनि करेसाबारीमा नङ्ग्रा खियाइरहेकै छौँ ।
    हिउँदमा हामीले हिउँदे सिमी भनिने ठूला ठूला कोसा फल्ने सिमी खाइनसेकर अहिले त्यसको दाल खाँदैछौँ । खडारस वा लहरे आँप त हामीले यहाँ कतिलाई खान सिकायौँ । अकबरे, लाम्चे र जिरे खुर्सानी अब खाएर अनि राखेर नसकिने फल्छ । वातावरणीय कारण ढिलो भए पनि इस्कुसका दाना धेरै फलाउँछौ । उसिनेर, मम पकाएर, पकौडा बनाएर, अचार अमिल्याएर खाइन्छ । हामीले बनाएको फर्सीको खल्पी, घिरौँलाको खल्पी खाएर छक्क पर्ने साथीभाइ धेरै हुनुहुन्छ । वरिपरी उम्रिएको सिस्नुको पनि पकौडा बनाएर खान्छौ हामी । अरूले जे जस्तो देखे पनि, सोचे पनि हामी ‘कृषि मुलस्च जीवन्’ लाई आत्मसाथ गरी रमाइलोसँग बाँचिरहेका छौ । मलाई लाग्छ साहित्य दिमागको भोक मेट्न लेखिन्छ अनि करेसाखेती पेटको भोक मेट्न गरिन्छ । करेसो मलिलो र हरियो भए सिर्जना पनि राम्रा लेखिँदा हुन् । आफ्नै बारी बाँझो राखेर लेख्नेका कुरा कसले पत्याउला ? किन पत्याउने होला ??
    मलाई लाग्छ जमिन जस्तो सिर्जना शक्ति भएको यो ब्रह्माण्डमा अर्को के छ ? हरेक कुराको सिर्जना यही जमिनले नै गरेको हैन र ? त्यस्तो सिर्जनाशक्ति भएको जमिनलाई अपमान गर्दा हाम्रो करोडौँ विदेशतिर बगिरहेको छ । लाग्छ हाम्रो देश प्याज नफल्ने माटो भएको हो त ? तर प्याजको भाउ बढ्दा हामी सरकारलाई गाली गरेर बस्छौँ, जमिन बाँझै हुन्छ । मलाई बाँझो जमिन देख्दा साह्रै नरमाइलो लाग्छ, त्यो जमिनमा गएर सिर्जनाका शब्द छरिहालुँ, परिश्रमको गीतले भिजाएर मेहनतको गजल लेखिहालुँ लाग्छ अनि बनाएर हरियाली एउटा कविता कथिहालुँ लाग्छ । अर्काको जमिन खने मारिहाल्छन्, आफ्नै वरिपरिको यो सरकारी धरामा तरकारी रोपेर धित मार्दैछु, अनुसन्धान गर्दैछु अनि अनुभव बटुल्दैछु । मलाई  यो जमिनमा लेखिएको  हरियो कविताको कहानी कोर्न लगाउने साथी युवराजजीले भनेजस्तै स्वादिलो त यो लेख भएन तर मेहनतको कलमले  आफ्नै बारीमा फलेका सागसब्जी ज्यादै स्वदिला लाग्छन्। 

Comments