Skip to main content

बरुणको चिसो पानी र गोलाको तातो जुहारी

        
    बरुणको पानीमा नुहाएपछि टाउको निदाएजस्तो लाग्यो । शरीरका कुनै अङ्ग आफूसँग छैनन् जस्तो लागेपनि हेर्दा चाहिँ थिए । एउटा हातले अर्को हात छामेको देखिन्थ्यो तर अनुभूति चाहिँ नहुने ! सबैजना फात्तफुत्त पानीबाट निस्किएर कपडा फेर्न थाल्यौँ । आकाशले अभिशेक गर्न थाल्यो । भर्खरै भएको विहान साँझजस्तै अँध्यारियो ।

    कुरा २०७४ माघ १२ गते शनिवारको थियो । हामी नौ जनाको सानो टोली जुटेर सङ्खुवासभाको प्रसिद्ध धार्मिक र पर्यटकीय स्थल बरुण उपत्यका स्थित अरुण–बरुण सङ्गमस्थल पुगेका थियौँ । भ्रमण दलमा थियौँ ग्लोबल आइएमइ बैंक, चैनपुरका प्रमुख पाल्पाली कृष्ण नेपाल, हाम्रो परिवारका तीनजना इलामेली बाहेक मित्र जयराम सुनामी सहित उहाँका भाइ सुलभ र बहिनी अनिता, साथीद्वय सुरेश रिमाल र गणेश भण्डारी सबै सङ्खुवासभाली । हामी सात जना बरुणको पानीमा पसेर निस्किदा हामीभन्दा अलिक माथि छलिने ठाउँमा नुहाउन लागेका महिलागण अनिता र सुमी पनि हरियो ओठ पारेर धामी झैँ काम्दै पूजाको सामग्री तयार पार्दै थिए । यतिबेला पर्न थालेको पानी अलिक कम भएको थियो ।
    गत माघे सग्रातीमा यहाँ भव्य मेला लागेको अवशेषहरू थिए । बरुणमा चढाइएका सुन्तोला दाना यत्रतत्र थिए । बाती बालेका टपरीहरू अनि अवीर लागेका अक्षता छरिएका देखिन्थे । सिन्केधुपका ठुटा हेर्दा निक्कै जमघट भएजस्तो लाग्थ्यो । त्यही मेला भर्नेले रित्याएर खोलामा फ्याँकेको बोत्तलको चोइटाले सुरेशजीको पैतालो छेडेर रगताम्य भएको थियो । नजिकै बनाइएका छहारीका घोचा ठाडा देखिन्थे । ती घोचाको वरिपरी कुखुराका भुत्ला र खाली शिशीहरू लडिरहेका थिए । ती शिशी झैं उक्त मेलामा धेरै ऋषि यसैगरी लडेछन् भन्ने अनुमान लगाउन अप्ठेरो थिएन ।
    पूजा पछि हामी बरुण माथि लगाइएको पुरानो देखिने झोलुङ्गे पुलमा गयौँ र अनेक ढाँचाका फोटो खिच्यौँ । पुल नै चुडिन्छ कि जस्तो डर लाग्यो मलाई । तल आकाश जस्तो नीलो रङको पोखरी थियो भने नजिकै दूधजस्तो सेतो बरुण चट्टान फोडेर निस्किएको देखिन्थ्यो । हिमालको काखमा अवस्थित दुधकुण्डबाट आएको यो बरुण नदीकोे यहाँ देखिने दृश्य अलौकिक जस्तो लाग्ने रहेछ । फेरि पानी पर्न थालेपछि हामी नजिकैको एउटा बिश्रमालयमा गयौँ । हाम्रा गाडीका गुरुजीलाई पनि त्यहीँ बोलायौँ ।
आज सुमीजीको जन्मदिन थियो । यो कुरा हामीले गोप्य राखेका थियौँ । अब सुमी आफैंले चैनपुरमा बनाएर लगेकी खुर्मा र केही आयातित चकलेटहरू सबैलाई बाँडिन् । सबैले एकैसाथ ताली बजाएर उनलाई जन्मदिनको शुभकामना दियौँ । जन्मोत्सव मनाउन्जेल परेको पानी रोकियो । हामी फेरि बरुणको काखमा रमाउन गयौं । खोला किनारमा भेला भएर गीत गायौँ :

 ओल्लो खोलो, पल्लो खोलो, कमिलाको गोलो भनेर हौ.........।

    अहो ! भव्य रमाइलो गरियो । पर्नु मख्ख परियो । त्यो रमाइलो कहाँ म नाथेले वर्णन गर्न सक्छु ! त्यो आनन्दानुभूति लेख्नलाई शब्द काफी छन् होला त ? गुरुजीले हत्तार गर्न थाले । चैनपुर पुग्न थुप्रै कच्ची सडक पार गर्नु थियो । हामी हत्तपत्त अघि नबढ्ने लागेछ क्यारे बादलले गुरुजीको पक्ष लियो । पानी दर्किएपछि हाम्रो टोली बोलेरोमा चढ्यो र त्यस्तै बीस मिनेटमा हिजो बेलुकी वास बसेको गोला  नामक सानो बजारको गुरुङ्ग होटलमा आइपुगियो ।
    खानापछि पानी पर्न छोडेर घाम लाग्यो । बाफ रे बाफ ! यो ठाउँको वरिपरि त धेरै अग्ला अग्ला डाँडा रहेछन् । पूर्वपट्टि डाँडाको टुप्पामा हिउँले ढाकेको देखिन्थ्यो । हिउँभन्दा तल सबै एकदमै राम्रो अलैंचीबारी देखिन्थ्यो । खानापछि गुरुजीले आफ्ना छोटा औंलाले देखाउँदै भने :
‘ऊ त्यो गोठ देखिन्छ नि, हउ त्याँ मेरो बाजे–बोजु बस्छ । मेरो पुरानो गाउँ यतै हो । हामी गुरुङ्गहरूको ठूलो बस्ती छ त्यतातिर ।’ हिजोआज खाँदवारीमा बसेर यातायात व्यवसायी बनेका यी गुरुजीको पनि दस–पन्ध मन सुख्खा अलैंची हुन्छ रे । गोला बजारमा ग्लोबल बैंकको नयाँ शाखा खुल्ने विषयमा कृष्णसरलाई भेट्न जनप्रतिनिधीहरू आएकाले हिँड्न एकछिन ढिलो गरियो ।
हामीलाई हिँड्ने बेलामा उक्त सानो बजारका धेरै मान्छेहरू हात हल्लाउन आए । उनीहरूले हामीलाई वर्षौं अघिदेखि चिनेको मान्छे जस्तो गर्नुको कारण हिजो राती करिव बाह्र बजेसम्म चलेको जुहारी (लोक दोहोरी) थियो । बेलुकीको खानापछि मैले धारामा चुठिसकेपछि चिसै हतले उत्तिकै एक अंश गीत लोक गीत गाएको थिएँ :

‘ आयौं हामी वास बस्न  गोलामा 

वास बस्न  गोलामा

नुहाउनु छ बरुण खोलामा

माया जाल बुन्छु मझिमझिम सानु नझिम्क्याऊ परेलीभुतुक्कै हुन्छु म..........................................।’

होटलको भित्र यसो अल्कोहलिक रमझम गरिरहेका नचिनेका केटा मान्छेले फ्याट्टै उत्तर दिए  । उत्तरको उत्तर मैले पनि फर्कादिएँ । उनीहरू भित्र हाम्रो टोली बाहिर, निक्कैबेर चर्काचर्की प¥यो । स्थानीयहरू शुरुमा हल्ला सुनेर जम्मा भए अनि प्रत्यक्ष दोहोरी सुनेर कोही गाउन थाले, कोही नाच्न थाले । रुद्राक्ष व्यपारी चाइनिजहरू पनि त्यही होटलमा बसेका रहेछन् । कुरा नबुझे पनि ताली लागाएर हामीसँगै उफ्रिए । केही बेरपछि हामीसँग जुहारी खेल्नेहरू पनि बाहिरै आए । ‘झिमझिम सानु....’ भाकाले हटिया बजार बाह्र बज्नलाग्दा सम्म थर्कियो । होटलवालाले खुशी भएर दुवै टोली अनि भेला भएका दर्शक दीर्घालाई झानेको रक्सी र चिया बाँडे । सबैले आ–आफ्नो पेय टिपेर चिनापर्ची गरियो । हामीलाई दोहोरीमा तिरिखिरी पार्ने मान्छे सिन्धुपाल्चोक घर भएका इन्जिनियर रहेछन् । उनीहरू अपर अरुण सात सय मेगावाटको डि.पि.आर. बनाउन आएका रहेछन् । के.सी. थर बताउने ती साथीको गायन र शब्द चयनलाई सबैले खुलेर प्रशंशा गरियो । गोला बजारमा आजसम्म यस्तो दोहोरी कहिल्यै चलेको थिएन रे ! त्यही दोहोरीको साइनोले हाम्रो विदाइमा धेरै भेला भए । गायक के.सी. पनि विदाइमा उपस्थित भएर अनि फोटो खिचेर फेरी भेट्ने वाचाका साथ छुटे ।
खच्चडहरू सामान लिएर आउँदै देखिन्थे । गोलामा याकलाई बोकाएर किमाथाङ्काबाट चाइनिज चियापत्ती, बिस्कुट, चउचाउ र चुरोट ल्याउने चलन रहेछ । त्यहाँ कपडाहरू पनि सबै चाइनिज पाइने । उक्त ठाउँबाट किमाथाङ्का पुग्न सामान्य हिँड्ने मान्छेलाई डेढ दिन लाग्ने जानकारी पाइयो । खच्चड चाहिँ बजारबाट गाउँ अनि गाउँबाट बजारमा सामग्री बोकाउन प्रयोग गरिँदा रहेछन् । हिजो अरुण नदीलाई दाहिने पारेर आएका हामी आज देब्रेपट्टि पारेर नदीजस्तै चिप्लिदै थियौँ ।

उत्तर फर्किएको पाटामा आँखाले देखेजति सबै अलैंचीबारी देखिन्थ्यो । अरुण वारीबाट कन्यामको चियाबगान जस्तै बराबर मिलेको देखिन्थ्यो अलैंचीबारी । अलैंचीबारीको माथि टुप्पामा चाहिँ हिउँ पग्लिरहेको देखिन्थ्यो । नेपालका अन्य क्षेत्रमा अलैंची सोत्तर हुनाको कारण तापमानमा बृद्धि नै पो कि जस्तो पनि हाम्रो टोलीले निष्कर्ष निकाल्यो । गाडीबाट हेर्दा कता कता त अरुण नदी पुत्त फड्किएरै नाघिन्छ जस्तो देखिन्थ्यो । कता कता चाहिँ गाडी भीरबाट भर्नु हो भने अरुणमा नपरी खोलापारी पुग्नेजस्तो कोप्रोमाथि पनि सडक बनाइएको रहेछ । पहिले एकपटक स्थानीय राजनीतिज्ञहरू लिएर गएको गाडी दुर्घटना भएको ठाउँलाई अचेल नेताभीर भन्दा रहेछन् । गाडीमा सवार उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो । तिब्बतबाट बग्दै आएको अरुणको पानी चाहिँ बेगिलो भएकाले दूधजस्तै देखिन्थ्यो ।
गाडीले हामीलाई सिम्मा गाउँ ल्याइपुर्‍यायो । सिम्माबाट देखिएने नाम थाहा नभएको भरना हेरेर रमाउने अनि स्थानीय पहिरनमा सजिएकाहरूसँग फोटो खिच्ने गरेर हामी मकालु वरुण राष्ट्रिय निकुञ्जको चेकपोष्ट भएको गडीडाँमा आएर रोकियौँ । त्यहाँको चेकपोष्टमा इलाम घर भएका एक राष्ट्रसेवक नेपाली सेना भेटिए । उनले मकालु वरुण राष्ट्रिय निकुञ्जका बारेमा धेरैथोक जानकारी गराए । त्यहाँबाट अप्ठेरो ओरालो झरेर फलामको पुलबाट अरुण तरेपछि बहुचर्चित अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम बनाइको ठाउँमा आइपुगियो । त्यहाँ फोटो खिच्ने र अवलोकन गर्ने काम गरेपछि टोलीका केहीले शौचालय जान मन गरे । म शौचालयका बारेमा सोधीखोजी गर्दै छेउछाउका भवनतर्फ गएँ । नेपाली कसैले नबुझ्दा रहेछन् । बिहारको कटियारमा पुग्दाजस्तै अनुभूति भयो मलाई फाक्सिन्दा बेँसीमा । फाक्सिन्दा भन्दा माथि खोकाताक गाउँको खोका चल्ने भए फाक्सिन्दामा नेपाली भाषा नचल्दा के हुन्थ्यो होला ? बल्लतल्ल पिसाब फेरेर फर्कियौ हामी । यसरी नेपालभित्रै पनि विहार हुँदोरहेछ भन्ने विषयमा हाम्रो टोलीले निक्कैबेर दुःखमनाउ गर्‍यो  ।

अब बाटो अघिभन्दा राम्रो थियो । घुम्तिमा गाडी बिसाएर पछाडि सारेर मात्र घुमाउनुपर्ने साँघुरो थिएन । छेउमा अरुण पनि थिएन । हामीलाई गुरुले मिलिक्कै नुम बजार ल्याइपु¥याए । नुमबाट मकालु हिमाल सुन्दर देखिएको थियो । मकालु आधार शिविर जाने पदयात्रामा पर्ने सेदुवा र टासीगाउँ सुन्दर देखिन्थे । समुद्र सतहबाट १५०० मिटरमात्र उचाइमा रहेको नुम बजारमा खाजा खाएर हामी उकालियौँ । १९२० मिटर उचाइमा रहेको चिचिला बजार आइपुग्दा निक्कै जाडो भएको थियो । त्यहाँ भुइँकुहिरो कुदिरहेको थियो । हामी भाङखोला तरेर हरेलोको डाँडोलाई दाहिने पार्दै ओरालो भर्दा कमलीकान्त भेटुवालले सङ्कलन गरेको गीत गाउँदै थियौँ :

‘हे हरेलो बजार करेलो बेपार............झम्के गुलेली ।’

समयले नेटो काटिसकेको थियो । पाङ्मा आइपुग्दा  टोलीका केहीले सरुवा पिउने मनसाय व्यक्त गरेपनि गुरुजीले नसुनेको जस्तो गरेर गाडी अघि बढाइरहे । पाङ्माली सरुवा निक्कै चर्चित स्थानीय पेय पदार्थ हो । हामी खाँदबारीमा पनि नरोकिई विश्वकै होचो अरुण उपत्यकाको केन्द्र तुम्लिङटार छोडेर सभाखोला तरी उकालियौँ ।
चैनपुर आइपुग्दा धेरैको स्वर भासिएको थियो, शरीर थाकेर लुलो भएको थियो तर अनुहारमा फरक किसिमको चमक देखिन्थ्यो । त्यो चमकले यात्रामा प्राप्त संन्तृप्त मनोरञ्जनको साक्षी बकिरहेको थियो । आज पनि त्यो यात्राबारे मित्रहरूसँग गफ हुँदा बरुणको अति चिसो पानी र गोलाको अति तातो जुहारीको चर्चा चलिहाल्छ, सम्झनामा पनि त्यही आइहाल्छ ।

Comments

  1. हाम्रो रमाइलो यात्रा जस्ताको त्यस्तै।
    अनि त्यो सिन्धुपाल्चोक का सोल्टी ,बिस्तरा नजिकको चिन्ह अनि दोहोरी चाई खुब याद आउछ।

    ReplyDelete

Post a Comment