Skip to main content

फूलैफूलको यात्रा, भूलैभूलको वर्णन

             
    वि.सं. २०७३ साल चैत्र दोस्रो हप्ताको एउटा शुक्रबार चैनपुरमा बसेर काम गरिरहेका विभिन्न ठाउँका हामी छ जना बसपार्कमा भेला भएर त्यस्तै नौ बजेतिर धरान हिँडेको बसभित्र पस्यौँ । दुईजना साथी चाहिँ विराटनगरबाट मोटरसाइकलमा हिंडिसकेका थिए । हाम्रो भेट सङ्खुवासभा र तेह्रथुमको सीमा देउरालीमा हुने पूर्वनिधारित कार्यक्रम थियो । कच्ची सडकमा बस दार्जिलिङको रेल जस्तो कुइरिमण्डल धुलो उडाउँदै हुँइकियो ।
    आजको यात्रा गर्ने धेरै अघिको निर्णय थियो तर मिति र सदस्यहरूको तय चाहिँ आलै हो । ज्वरो आएकाले मनिसजी त नजाने भनेर सुतिरहेका रहेछन् । आज विहान मात्रै म र ऋषिजी गएर यत्तिको ज्वरोमा जान सकिने भन्दै कर गरेका थियौं । शुक्रवार हाट लाग्ने हुँदा चैनपुरका स्कुलहरू विहान लाग्ने चलन छ । करिव साढेआठ बजेसम्म सबै आ–आफ्ना स्कुलमा अल्मलिएका थियौँ । पेशाको यो कुराले नै हामी प्राय सबै शिक्षण पेशामा आवद्ध भएको स्पष्ट भइहाल्छ तथापि सो टोलीमा सबैका दाजु टेकराज त्रिताल क्याम्पसका प्राध्यापक पनि हुन् भने दोस्रो धेरै छिप्पिएको म पनि नेपाल टेलिकममा कार्यरत अनि आशिंक शिक्षक हुँ । विराटनगरबाट आउँदै गर्ने झापाली मित्र निरज ढकाल अहिले तलै कुनै स्कुलमा शिक्षण गर्दै एम.एस्सी. पढ्ने विद्यार्थी हुन् । विराटनगरे साथीको मोटरसाइकलमा आउने अर्का मित्र गुल्मी, बलेटक्सारका कमल ज्ञवाली चैनपुरको श्री सरस्वती माद्यमिक विद्यालयमा माद्यमिक तहका विज्ञान शिक्षक हुन् । मादीका मित्र ऋषि, वानाका मित्र जयराम र विराटनगरका साथी मनिस सबै चैनपुरकै फरक फरक विद्यालयका विज्ञान–गणित शिक्षकहरू हुन् ।
    गाडीले हामीलाई मिलन विन्दुमा पुर्‍यायो अनि धरानतिर हुइँकियो । देउराली समुद्र सतहबाट २४७५ मिटर उचाइमा पर्ने सानो बजार हो । मौसम धुम्म भएकाले त्यो लेकाली ठाउँमा सबैले ज्याकेट लगाइयो । एउटा होटलमा खाना खाइयो अनि बाटामा पिउन स्थानीयद्वारा निर्मित गुराँसको अल्कोहलिक जुस किनेर हामी उकालो लाग्यौँ । गुराँसको जङ्गल अनि गाडी कुद्न सक्ने गरी बनाइएको फराकिलो बाटाको छेउमा लोक्टाका पोथ्रा हरियै देखिन्थ्ये । हाम्रो टोलीका सबैलाई लोक्टाको बोक्राबाट नेपाली कागज बनाइने कुरा थाहा थिएन । कतिलाई चाहिँ कसरी बनाइन्छ भन्ने प्रविधि थाहा थिएन । जान्नेले त्यसको विषयमा जानकारी गराउँदैमा हामी आर. आर. गार्डेन ( रोरोडेन्ड्रन एण्ड रक ) भित्र पुगिसकेका थियौं ।
    उत्त गार्डेनमा निर्मित अनेक जनावरका मूर्तिहरूसँग फोटो खिच्ने, ढुङ्गाका टुप्पामा चढेर मादल बजाउने अनि मादलको तालसँगै लोकभाका गाउने गर्दा निक्कै समय बित्यो । अब सोही गार्डेनको एक ठूलौ चौरमा अघिको गुराँसे जुस निकालेपछि माहोल अझ तात्तियो । सबैको नाक रात्तियो अनि गाला र आँखामा गुराँसको रङ्ग चढ्यो । लोकगीतले गार्डेन गुञ्जियो अनि सबैजना नाचेर रमाइयो । सबैथोक भुलेर साथीहरूले औंला मुखमा हालेर साइसाइ र सुइसुइ पारे ।

भीरमा मादल बजाउँदै जयराम । 


भ्यागुत्ताको मुर्तीसँग रमाउँदै बायाँबाट क्रमश: नीरज , ऋषि ,एकु , जयराम र सुरेस 

रुखमा चढेर रमाउँदै 

    अब टोली अघि बढ्यो । चिसो हावासँगै सेतो कुहिरो आएर हामीलाई कमायो । यत्रतत्र फुलेका अनेक प्रजातिका गुराँसहरू कुहिरोमा विलिन भए । आकाश समेत गर्जिन थालेपछि हामी गुराँससँग फोटो खिच्न छोडेर हत्तपत्त गरी तीनजुरे डाँडाको फेदीमा रहेको एउटा होटलमा पस्यौं । बाहिर सिमसिमे पानी पर्‍यो । होटलवाले पनि आज हिउँ पर्ने अनुमान गरेपछि हाम्रो टोली निक्कै डरायो । त्यही होटलमा बसेर रातभर रमाइलो गर्ने कि भन्ने प्रस्ताव पनि आयो । हाम्रो योजना सकेसम्म  भोलि गुफा पुगेर चैनपुर झर्ने थियो । तर समय र मौषमले हामीलाई अन्योलमा पारेको थियो । पानी रोकिएपछि हामी होटलमा चियाको पैसा तिरेर फटाफट तीनजुरेको पाथीभरा मन्दिरतर्फ जाने सिँढि चढ्न थालेका थियौं । सबैको मनमा आत्तेस पक्कै थियो होला तर त्यो कसैले देखाएन अथवा उत्साहको उज्यालोले छोपियो । हामी मन्दिरमा दर्शन गरी डाँडैडाँडा चौकी–मङ्गलबारे–गुफा सडक समाएर अघि बढियो । हिउँले खाएको झारैझार भएको चौर, भीरपाखा अनि डाँडाहरूमा फोटो खिच्दै, गीत गाउँदै हामी भुइँकुहिरोसँग लुकामारी खेल्दै अघि बढिरह्यौँ ।

तीनजुरेको पाथीभरा मन्दिर अघि हाम्रो टोली 


हिउँले खाएको डाँडामा रम्दै !


   
डराई डराई भीर हेराइ !
टोली तीनजुरेबाट ओरालो भरेर पाँचपोखरी पुग्यो । समुद्र सतहबाट २८५० मिटरमा अवस्थित पाँचपोखरीमा केही घर र दोकानहरू थिए । हामीले चाउचाउ पकाउन लागाएर खायौँ अनि कुहिरो छिचोल्दै अघि बढ्यौँ । कतै साथीहरू भीरमा रमाए, कतै लाइकेन्स (रूखको झ्याउसँग) खेले । मिठा गफ , रतिरागात्मक तुक्का, श्रृङ्गारिक लोकभाका बाटो काट्ने मसला भए । हाम्रै डर अथवा प्रेम के ले हो, टाउकामा आइसकेको पानी झर्न  भने सकेन।
झ्याउको माला लगाएर रमाउँदै !

ऋषिमुनि बने ऋषिकेष !

    केही वर्ष अघिको एउटा हिउँदमा हाम्रो परिवार यही बाटो ठाउँ–ठाउँमा पिकनिक खाँदै गएको थियो । मैले साथीहरूलाई पिकनिक खाएको चौर देखाइदिएँ । हामी आज गुफापोखरी पुग्न नसकिने प्राय निश्चित जस्तै भइसकेको थियो । कारण थकान लाग्नु र साँझले छोप्दै जानु थियो । गुराँसघारीको बीचबाट खनिएको कच्ची मोटरबाटो रमाइलो गर्दै काटिँदै थियो । साँझ परेर झ्याउकीरी कराउन थालिसकेका थिए । नजिकै गुराँसको बोट हिँड्दै हामीतिर आउँदै गरेको देखियो । सुरुमा त विरूवा हिँडेको देखेर आश्चर्य भन्दा पनि डर धेरै लाग्यो । सबैजना टक्क अडियौं । एउटा मान्छे खिस्स हाँस्दा टल्केको दाँतले पो रूखजत्रै हाँगा भाँचेर ल्याँइदै रहेछ भन्ने टुङ्गोमा पुगियो । मैले सो मानिसलाई खुब सुहाएको भन्दै फुक्र्याएर एउटा फोटो खिचिहालेँ । त्यसपछि सबैले विरूवाको महत्त्व बताएर त्यसलाई बेसमारी झपा¥यौँ । आफ्नो गल्ती स्वीकार गरी ऊ हामी हिँड्दै गरेको भन्दा विपरित दिशातर्फ गयो ।

गुराँसको रूखै भाँचेर हिंड्ने महोदयको पुरुषार्थलाई गिज्याएर हाँस्दै जयराम । 

    हामी झमक्क अँध्यारो हुँदामात्र चौकी बजार पुग्यौं तर मङ्गलबारेसम्म अघि बढ्ने निर्णय भयो । हामी त्यहाँबाट आधा घण्टाको रफ्तारपछि मङ्गलबारे पुग्यौँ । मङ्गलबारेमा एक कार्कीको होटलमा वास बस्ने भयौँ । साथीहरूले एउटा लोकल कुखुरा अर्डर गरे । कुखुराका साथमा स्थानीय तोङ्बा पनि मन र बानी हुनेहरूको साथी बन्यो । अरूले चिसो पेय, रेडबुल अदिमा मनोरञ्जन गरे । रातको करिब ११ बजेसम्म रमझम भयो । खाना खाइनसकी ठूलो हावा–हुरीका साथ असिना बर्सियो । विजुली बत्ती गयो तर चम्काइको उज्यालो र आवाजले सबैलाई थर्कमान पार्‍यो । साँघुरो गरी मिलेर गलेका हामी सुत्नसाथ निदायौँ । ओछ्यानका लुगा मैला रहेछन् भन्ने उज्यालो नभएकाले देखिएन तर नाकले पुष्टि गरिदियो ।
    विहान उज्यालो नभैकन उठियो । बजारमाथिको नाङ्गो डाँडामा गएर अवलोकन गरियो । पूर्वमा कञ्चनजंघा, ताप्लेजुङ पाथीभरा लगायत अनेक नीला डाँडा तहतह परेका देखिए । कुम्भकर्ण त हातैले भेटिएला जस्तो लाग्थ्यो । मकालु पनि मुस्काइरहेको थियो । आधा क्षितिजमा हिमाल देखिने ठाउँ रहेछ । सङ्खुवासभा र तेहथुमको सिमाना लगाउन उठाइएको खावाका दुबैतिर टेकेर एकैसाथ दुई जिल्ला टेकेको पनि कीर्तिमान बनाइयो । तल  खोरुङ्गा खोला देखेपछि मित्र निरजले लोकभाकामा लेघ्रे ताने, हामीले नि साथ दियौँ :
खोरुङ्गा खोला, लाजैले होला, लुकेर हान्छ छाल
हौ लुङ्गा लुकेर हान्छ छाल............................!
मङ्गलबारे बजारमाथिको डाँडामा

एकैपटक दुई जिल्लामा टेक्दै !!

   
मङ्लबारे छोड्ने बेलामा टोली ! बायाँबाट क्रमश: मनिष, सुरेस ,कमल ,ऋषि  , जयराम , टेकराज र नीरज । 
हामी चिया पिएर त्यहाँबाट मादी मूलखर्कतर्फ हानियौँ । यो यात्रा गुफापोखरी नगई अर्को बाटो मादी राम्बेनी हुँदै पिलुवा निस्किएर चैनपुर पुगिन्छ । मित्र ऋषिकेषको घर पनि यही बाटामा पर्ने भएकाले त्यहाँ गएर खानपान गरी ओरालो झर्ने तय भयो । हिजैदेखि साथीहरूलाई आफ्नामा लगेर रमाइलो गर्ने रहर गरिरहेका ऋषि खुशी भए । गुफा जान चाहनेहरू अलिक खिन्न पनि भए । मेरा लागि त यो नयाँ बाटो थियो  । यत्रामा नयाँ ठाउँको दृश्यले कसलाई मख्ख पर्दैन होला ?
    हिजो राती परेको असिना बिलेकै थिएन । साथीहरू त्यही असिना हानाहान गरेर रमाए । चिम्टिया चिप्लो लेकाली माटाको कच्ची मोटरबाटोमा लड्दै हामी बिहानैको तिरमिरे घाममा ओरालो झर्‍यौँ । बाटामा मकालुले लुकामारी खेल्थ्यो । गुराँस र चाँपको बास्नाले हामीलाई लठ्ठ पार्‍यो । वासना कैद गर्न नसके पनि सुन्दरतामा फोटो खिच्दै ओरालो झरियो ।
गुराँससँग साथीहरू 


चाँपसँग साथीहरू 

    बाटो निक्कै रहेछ । हामी हिजैदेखि पैदल हिँडेर थाकेका पनि थियौँ । तल झरेपछि घामको तेज पनि कडा भयो। यी सबैथोकले यात्रालाई अलिक बोझिलो झैँ बनायो । मुलखर्क बजार नपुगी गणेश घिमिरेकामा पसेर चिया खायौँ । खाना नै खाएर जानू भन्ने बन्धु परिवारको आग्रहलाई लत्याएर हामी फेरि ओरालो कुद्यौँ । बल्ल हाङ्थुङ डाँडा नजिक देखियो, मादी मुलखर्क बजार आयो । बजारबाट एकैछिनमा ऋषिजीको घर पुगियो ।
हाङथुङ डाँडो 
    ऋषिजीले हामीलाई एक स्थानीय घडीचराको सुपसँग खाना खुवाउने प्रवन्ध गरे । घरमा दारको ठेकीमा जमाइएको दही थियो । किटे कुँडेमा चिलाउनेका दाउरा बालेर तताइएको भैंसीको दूध थियो । घिउ र मोही थियो । घडीचरोको दुःख नगरेकै भए हुने । गुल्मीका मित्र कमलजी चाहिँ शुद्ध शाकाहारी भएकाले खुशी भए । घडीचरो बजाउने समूहमा शाकाहारी पश्चिमे बाहुन आएकाले ऋषिकी आमाले उनलाई स्व. पण्डित देवीभक्त पोख्रेल बस्ने चौकामा राखेर सम्मानसाथ भोजन गराउनुभयो । कमलजीले अरूलाई मासु नखाँदाका फाइदा सुनाएर हँसाए ।
पण्डितको चौकामा बसेर खाना खाँदै कमलजी , साथमा आमा र साथीहरू ।
    खाना पाकुञ्जेल मैले साथीको बारी अवलोकन गरेँ । केही छिमेकीसँग चिनजान र गफ गरेँ । खानापछि ऋषिका पिताजी राजन अनि निरजजीले एउटै मादलका भाले र पोथीमा एकैपटक दुई जनाले बजाएर लोकभाकाको रमाइलो स्वाद चखाए । हामी पोखरेल दम्पतीसँग फोटो खिचेर बिदा भयौँ अनि मादी राम्बेनी (ओखरबोटे) बजारतर्फ अघि बढ्यौँ ।
एउटै मादल दुई जनाको हातले बजाएर ताल मिलेपछि हाँस्दै ऋषिका पिताश्री र नीरजजी । 
मित्र मातपिताका साथ आँगनमा हाम्रो टोली 
    ढिलो अनि निक्कै हिँडर गलेपछि खाएकाले होला हामी झन थकित भएजस्ता भयौँ । सबैको भोलि कार्यालय भ्याउन पुग्नै पर्ने थियो । हामी कम गतिमा हिँडेर ओखरबोटे आइपुग्दा एउटा रित्तो ट्याक्टर भेटियो । अनुरोध गरेपछि त्यसको डालामा चढेर खोलासम्म झर्न पाइने भयो । कच्ची ढुङ्गे बाटोभएकाले ट्याक्टरको डालीमा बस्दा पनि सुख नहुने, उभिन पनि नसकिने ! खन्द्रेमा मकै भुट्दा झैँ ओल्ट्याङपल्ट्याङ हुँदै हामी पिलुवा आइपुग्यौँ । त्यस्तै अप्ठे्यारामा पनि गीत गायन, रेला–ठट्टा भने रोकिएन । कसैका हातमा ठेला उठेछन्, कसैमा पेन्ट घोटिएर फाटेछन् !
ट्याक्टरको डालीमा हाम्रो टोली !
    पिलुवामा खाजा खाँदै गर्दा मैले सबैलाई आगामी बैसाकमा इलामको घरमा आयोजना गरिने भागवत कथा पाठ र साङ्केका दिन गरिने छोरो सुयोगको व्रतवन्धमा निमन्त्रणा गरिएको कार्ड बाडेँ । टेकराजजीले चिनेका मानिसहरू भएको एउटा प्रोजेक्टको सानो गाडीमा चैनपुरसम्म यात्रा गर्न पाइने भयो । गाडीभित्र कमलजी र टेकराजजी , अरु बाहिरको डालीमा बसियो । साथीहरूले झोलाबाट मादल निकाले अनि लोकभाकामा रमाउन थाले । रमझम देखेर कमलजी पनि बाहिरै आए । कमलजीले रोइला भट्ट्याएपछि माहोल अझ तात्यो । हामी साँझ पर्न लाग्दा चैनपुर पुग्यौँ । सबैले गुराँस र चाँपको फूलैफूल हेर्दै रमाइलो गरी हिँडेको याद पछिसम्म गरिरह्यौं । यात्राका रमाइला पल मात्र सम्झनामा रहे । झण्डै एक वर्ष पछि मैले त्यो यात्राको बारेमा ‘फूलैफूलको यात्रा, भूलैभूलको वर्णन’ शीर्षक लेख ब्लगमा प्रकाशित गरेँ । सबैले मन पनि पराएका थिए । मेरो प्राविधिक कमजोरीका कारण त्यो ब्लगबाट उड्यो । अन्यत्र कतै त्यो लेख सुरक्षित रहेनछ । यात्राका साथी र पढ्ने पाठकहरूले पनि सो नियात्राको पछिसम्म खोजी गरिरहेपछि मैले फेरि थप भूलहरूका माझ त्यो फूलैफूलको यात्रा संस्मरण लेखेको छु । लेख पहिलेजस्तो नभएको र यात्रा यस्तै भएको पक्का हो । भूलैभूलमा भए पनि फूलैफूलको जङ्गलमाझ फूल नै छरिएको अविश्मरणीय बाटामा यात्रा गरिएकै हो ।
प्रोजेक्टको गाडीमा गीत गाउँदै हामी !
फूलै फूलको बाटो !

फूलमा माहुरी !
गुराँसको फेदमा !
गुराँसे मुस्कान 
प्राकृतिक फूलबारी अघि । 




Comments