Skip to main content

तीन खोला तर्दै तातोपानी

              
    जता हेर्‍यो त्यतै हेरौं लाग्ने अनि जतै फोटो खिचौं लाग्ने दृश्यहरूले मन कहिल्यै अघाएको छैन । यी लोभी आँखाहरू अझै लोभिएका छन् ।
    माथिका दुई वाक्य सहृदयी भाइ युवराज अर्यालका हुन् तर मैले आफ्नै दैनिकी डायरीबाट सभार गरेको हुँ । अर्काका वाक्य अनि आफ्नो दैनिकी डायरी भन्ने कुराले केही जानकारी तथा केही जिज्ञासा पक्कै उब्जिए होला तपाईंका मनमा ? ती जिज्ञासा मेट्न म फेरि उनै अर्याल भाइका केही शब्दहरू यहाँ राख्दैछु :- ‘हाम्रातिर माटाले बनेका स–साना  हरिया पहाड र यहाँ चट्टानले भरेका नाङ्गा पहाड अनि पहाडको फेदमा रहेको फाँटिलो बेंसीले विकटता र सुगमता दुबैको महशुस गरायो ।’ हजुर, तपाईंले हामी नयाँ ठाउँमा यात्रारत रहेको बुझ्नुभएको सही हो । युवराज भाइले हाम्रातिर भनेर इलामलाई सङ्केत गरेका हुन् । यो यात्रामा जाँदा मैले दैनिकी डायरी पनि साथै बोकेको थिएँ । सुत्नु अघि होटलको कोठामा यसो दैनिकी लेख्दै थिएँ सहयात्री भाइले पनि लेख्न मन गरेपछि त्यो दिनको संयुक्त लेखाइ भयो ।
    विश्वभर कोरोना भाइरसको त्रास बढेका बेला हाम्रो परिवार मेरो दैनिकी डायरी पढेर रमाइलो गर्दै थियो । यसै क्रममा वि. सं. २०६८ चैत्र ४ गते शनिबारको दैनिकीले यो यात्रा संस्मरण लेख्न प्रेरित गर्‍यो । नौ वर्ष अघि गरिएको यात्रा पनि दैनिकी डायरीले भर्खरै गरेको जस्तो बनाइदियो । अब वि.सं. २०७७ मा असारे झरीको सङ्गीत मिसाएर चैते खडेरीको त्यो रमाइलो यात्रागान गर्दैछु ।
    युवराज भाइ अझै लेख्छन् :–‘ चिनको सीमाना नजिकै कोदारी बजारको लजमा बसी यी शब्दहरू लेख्दा साह्रै आनन्द आइरहेछ ।’ यो वाक्यले त तपाईंलाई नयाँ ठाउँको पनि जानकारी दियो । अब त्यहाँ देखिएका दृश्यहरूको बारेमा मेरा वाक्यहरू लेख्छु । युवराज र मैले उक्त डायरीमा लेख्दै गर्दा नजिकै भोटेकोशीको अविरल गीत सुनिदै थियो । हामी कोदारी बजारको सडकमै रहेको होटलमा वास बस्ने निधो गरेका तर काठले बनेको उक्त घर त बाटाभन्दा छ तलासम्म उँधो गहिरिएको रहेछ । हामी पाँचौं अण्डरग्राउण्डमा थियौं । हामीसँगै काठमाडौंबाट आएका विरगञ्जका साथीद्वय विसुनजी र विकाशजी पनि सोही तलाको अर्को कोठामा थिए । हामी रातमा पिसाब फेर्न बाहिर निस्कँदा भोटेकोशी चाँदी झैँ चम्किएको देखिन्थ्यो । युवराज भाइले नजिकै भोटेकोशी देखे पछि भने :– ‘दाजु गोडा धुन भोटेकोशीमै जाउँ कि क्या हो ?’
 होटलबाट देखिएको भोटेकोशी अघि हाँस्दै युवराज 
    यात्रा कोटेश्वरबाट गर्ने भन्ने योजना बनाइएको थियो तर तातोपानी जाने गाडी चाँडै भरिएर निर्धारित समय भन्दा अघि नै हिँडेछ । गाडी हिँडेको बुझेपछि बिरगञ्जका साथीहरू पनि मलाई नपर्खी अर्को गाडीमा बाह्रविसेतर्फ लागेछन् । म कोटेश्वरबाट भक्तपुर जाने माइक्रोमा चढेँ र सल्लाघारीमा बस्ने भाइ युवराजलाई फोन गरी यात्राका बारेमा बताएँ । उनले पनि मेरो मनसाय बुझेर साथ दिने बताए । सल्लाघारीमा निक्कैबेर पर्खेपछि भाइ आए । हामीले बाह्रबिसे जाने बस समात्यौँ । गाडीका मान्छेले भाग्य साथी  भए आजै तातोपानी जाने स्थानीय बस बाह्रबिसे बजारबाट पाइने बताए ।
    बाटामा अनेक फाँट, बजार अनि गाउँहरू देखिएका थिए तर तिनका नाम दैनिकी डायरीमा छैनन्, दिमागमा झन छैनन् । रमेश विकलद्वारा लिखित उपन्यास ‘अविरल बग्दछ इन्द्रावती’ पढेको अनि टेलिभिजनमा हेरेको पनि थिएँ । दोलालघाटमा नीलो इन्द्रावती देख्दा ज्यादै खुशी लाग्यो । चिया पिउन बस रोकियो । त्यहाँ इन्द्रावतीका माछा र चिउरा प्रचलित खाजा रहेछ । नजिकै सुनकोशी र इन्द्रावतीको दोभान छ भन्दै थिए । हामी सुनकोशीलाई दाहिने पारेर अरनिको राजमार्गमा चिप्लिरह्यौँ । लोकतन्त्र पछि सबै राज हटाएर लोक बनाउने हुइँया चलेको प्रसङ्ग आयो । राज्यको मार्ग समास भएर राजमार्ग बनेको हो तर अचेल लोकमार्ग भनिन्छ । राजाको मार्ग भए पो हटाउनु हैन ? यही हुइयाँलाई पछ्याउँदा युवराजलाई पनि युवलोक अनि मेरो पनि आधिकारिक नाम एक लोक भन्नुपर्छ भन्ने चर्चा गरेर हाँसियो । हाम्रो गफ सुन्नेहरू पनि हाँसे ! अरनिको राजमार्ग निक्कै मेहनतले बनाइएको रहेछ । सुनकोशी नदीको किनारै किनार हामीलाई बसले हुँइक्यायो । बस छिनछिनमा भरिने अनि रित्तिने हुँदा ज्यादै ढिलो भएको थियो । बिरगञ्जका साथीहरू बाह्रबिसे पुगेर हामीलाई पर्खिरहेका थिए । उनीहरूले फोन पनि धेरै पटक गरिसकेका थिए । आफूलाई हत्तार लागेपछि पनि बस ढिलो कुदेजस्तो लाग्ने रहेछ । तर हत्तारका कारणले हामी अत्तिएनौ । दुबैजनाका लागि नौलो ठाउँ थियो । गफिँदै र दृश्यपान गर्दै गुडिरह्यौँ ।  कदमवास लगायतका ठाउँहरू नाघेर हामी  खाडीचौर भन्ने बजारमा पुग्यौँ । खाडीचौर पुग्नु अघि सुनकोशी नौका विहार, राफ्टिङ गर्ने स्टेसन आदि देखिएका थिए भने अब सुनकोशी जलविद्युत आयोजनाको ड्याम बनाएको ठाउँ हेर्दै हामीलाई कुदाइयो । समय हुनु भने घुम्ने–रम्ने र हेर्ने ठाउँ धेरै रहेछन् । हामीसँग समय थिएन । एक बजेर पनि केही समय घर्केपछि मात्र हामी बाह्रबिसे पुग्यौ । बाह्रबिसेबाट साढे दुईबजे तातोपानी जाने एउटा थोत्रे बस रहेछ । हामीसँग अलिकति भए पनि समय बाँकी भयो । एउटा होटलमा खाना खाएर सुनकोशी काखमा फोटो खिचियो । अब चारजना भएर यात्रा अघि बढ्यो ।
    अब ड्राइभरको नजिकै रहेको बेन्चमा बसेर हामी बाह्रबिसे बजार छोडी भोटेकोशी नदीको किनारै किनार अघि बढ्यौँ । भोटेकोशीमा बन्जी हान्ने स्थल अवलोकन गर्दै उकालियौँ । नाङ्गा डाँडा, चट्टानी पहरा बीच अनेक बेँसी बनाउँदै कुदेको भोटेकोशीसँग पहिलो मित्रता गाँस्दै हामी यात्रामा रमाइरह्यौँ । त्यस्तै चार बज्न लाग्दा हामीलाई बसले तातोपानी पुर्‍ यायो ।
    गाडी छुट्नु, साथी छुट्नु, खाना ढिलो खानु आदिका कारणले सबैका मनमा तिक्तताहरू भरिएका थिए । लामो यात्रा गरिसकेकाले शरीर पनि थाकेको थियो । अब घुम्ने–डुल्ने र दृश्यपान गर्ने रूचि थिएन । यात्राको योजना बनाउँदा म र बिसुनजीले तातोपानीमा नुहाउने, कोदारी बजारमा वास बस्नुअघि मितेरी पुल कटेर खासा बजार डुल्ने आदि कार्यहरूका सूचि बनाएका थियौँ । नेपाल टेलिकमले दिइरहेको टेलिकम टेक्निसियनको छ महिने तालिमका क्रममा बिरगञ्जका बिसुन कुमार लोहार मेरा निकट साथी बनेका हुन् । विकास उनले खोजेका अनि युवराज मैले रोजेका सहयात्री हुन् । निरन्तरको तालिम, काठमाडौंको धुवाँ–धुलो आदिबाट केही क्षणका लागि भए पनि टाढा पुग्ने योजनामा यो यात्रा तातोपानी पुगेको थियो । तर यतिबेला सबैका मनमा पहिलेभन्दा धेरै तनावहरू आएजस्तो देखिन्थ्यो–बुझिन्थ्यो । आकाश पनि कालो भएर छिटफुट वर्सिन थाल्यो । यसो तातोपानी धारामा मुख धोएर छिटोछिटो कोदारी पुगी बस्ने भन्ने सल्लाह भयो । हामी टिकट काटेर तातोपानी धारा भएकातर्फ झर्‍यौँ ।
    धारामा पुगेपछि माहौल नै अर्के देखियो । नुहाउनेहरूको भीड देखियो । महिला र पुरूषले नुहाउने फरक फरक स्थल रहेछन् । धेरै पैसा तिर्दा स्नानगृह पनि लिन पाइने रहेछ । साना नानीहरूको कलिलो छाला त पोल्ने पानी आउँदो रहेछ । बाल्टीमा थापेर एकछिन सेलाएर मात्र नानीहरूलाई नुहाइदिने गर्दा रहेछन् । अनेक किसिमका चर्म रोगीहरू देशका विभिन्न भागबाट प्राकृतिक तातोपानीमा स्नान गर्न आउँदा रहेछन् । यहाँ नुहाएपछि सबै रोग पखालिएर जान्छ भन्ने लोकविश्वास रहेछ । हाम्रो टोली पनि नुहाउने पर्‍यो । आत्थाथाथाथा ! भनिँदो रहेछ सुरुमा थापिँदा । निक्कै पोल्ने पानी अविरल झर्ने । नुहाउँदै जाँदा हाम्रा तनका फोहोरसँगै मनका पीर अनि मस्तिष्कका तनाव पनि पखालिएछन् । यति आनन्द अनुभव भयो कि सो वर्णन गर्न म सँग क्षमता  छैन । यस विषयमा युवराजले डायरीमा लेखेका छन् :- ‘प्राकृतिक तातोपानीमा स्नान गर्दा स्वर्गीय आनन्दको अनुभूति भयो ।’
तातोपानी धारामा नुहाउँदै हामी 
    
तातोपानी धारामा नुहाएर फुर्ती आएपछिको म !

तातोपानी धारा नजिकैको पार्कमा म र युवराज । 

तातोपानी धारा नजिकैको पार्कमा भोटेकोशी अघि विकासजीसँग म र युवराज 
    अब आकाश पनि हाम्रो मन जस्तै खुलिसकेको थियो । तातोपानी धारा भएको ठाउँभित्र बनाइएको पार्कमा फोटो खिचियो । अनि रमाउँदै, गीत गाउँदै कोदारी बजारतर्फ उकालियौँ । यहाँको भौगोलिक विकटता एकदमै डरमर्दो रहेछ । हामी जाँदाजाँदै हाम्रै अघिल्तिर सडकमा भीरबाट ठूलो ढुङ्गा खस्यो । बाटामा भेटिएका एक तामाङ भाइले यहाँ यसरी ढुङ्गा खसिरहनु सामान्य भएकाले सचेत भएर हिँड्न सम्झाए । तैपनि मनमा तातोपानीको हौसला थियो, सचेत भएर हिँडिन्छ भन्ने मात्र आयो । डर लागेन, गति घटेन । हामी भीरमौरीका चाका हेर्दै अघि बढ्यौँ । भोटेकोशी हाम्रो दाहिनेपट्टिबाट फरक दिशातर्फ कगिरहेको थियो । नदी र हामीबीच गतिशीलता र साङ्गीतिकता समान थियो ।
भोटेकोशी अघि म र विसुनजी 
    
नेपालमा हामी, सिमानमा भोटेकोशी अनि चिनको जङ्गल !
आहा ! साँझ पर्न लागेका बेला हामी कोदारी झरनाको सम्मुखमा पुग्यौँ । चीनबाट आएको ठूलै खोलो दुई तला भएर भोटेकोशीमा मिसिएको देख्दा मलाई आमाले ठेकीमा मोइ पारेर फाममा खन्याई सालखोल गरेको याद आयो । आमालाई फोन गर्न खोजेँ तर त्यो खोँचमा नेटवर्क रहेनछ । हामीले त्यहाँको सुन्दरतालाई निहाल्दा–निहाल्दै झपक्क साँझ पर्‍यो । हामी त्यहाँबाट सरासर कोदारी बजार गयौँ अनि यो लेखको सुरुमा उल्लेख भएको होटलमा बस्यौँ । खाना अघि आ–आफ्ना रोजाइका पेय पदार्थहरू पियौँ । कसैले तोङ्वा, कसैले वियर, कसैले चाइनिज ह्वीस्की अनि कसैले मिरिण्डा ।
    भोलिपल्ट म र युवराज भाइ बिहानैको गाडीमा काठमाडौं फिर्ने भयौँ । बिरगञ्जका मित्रहरू चाइनिज बजार पनि डुल्ने परे । उता जाँदा काठमाडौं फिर्न नसकिने भएकाले हामी बिहानै उठेर मितेरी पुल हेर्न गयौँ । माथि खासा बजार विहानीको घाममा टल्किरहेको देखिन्थ्यो ।  भोटेकोशीलाई भन्दा हत्तार जस्तो भयो मनमा । काठमाडौं तालिममा पुग्नु थियो । बिसुनजीले जस्तो मैले तालिम माया मार्न सकिनँ । हामी दुई साथी छोडेर साढे छ बजेको गाडीबाट काठमाडौँतर्फ फिर्‍यौँ । तालिम भ्याएँ पनि । एउटै यात्रामा भोटेकोशी, सुनकोशी र इन्द्रावती जस्ता तीन ठूला नदी तरेर मनको मैलो र मस्तिष्कको तनाव समेत पखालिने गरी प्राकृतिक तातोपानीमा नुहाएको याद आउनसाथ अहिले पनि स्फुर्ति आउँछ , अल्छी हट्छ अनि हौसलाहरू चाङ लाग्छन् ।


Comments