-एकु घिमिरे, इलाम ; हालः सङ्खुवासभा
टासीगाउँमा आज हिउँ परेको छ । जाडामा मान्छेहरू घरभित्रै आगो तापेर बसेका छन् । दावा, छेपाल, पासाङडिकी र सानो भाइ दातेन्जी पनि आफ्ना पागागा तथा आमगागाको कथा सुन्दै फलामको चुलामा बालेको आगो तापिरहेका छन् । पागागाले भन्नुभयो :
‘ दावाले किन चुलामा चाहिनेभन्दा धेरै दाउरा हालेको ? यो दुईटा झिक ।’
पागागाको कुरामा सही थाप्दै अनि दावाले भर्खरै थपेका दुईटा दाउरा झिक्दै आमगागाले भन्नुभयो :
‘ यी दुई दाउरा चुलामा छाड्नु हो भने एक घन्टामा बलिसक्छन् । तर तातो चाहिँ यिनीहरू नबाल्दा पनि त्यती नै आउँछ । हरेक एक घण्टामा हामीले दुई टुक्रा बचत गर्दा एक दिनमा झण्डै एक भारी दाउरा पो बचत हुन्छ ।’
पागागाले फेरि फलामे चुलाको बिर्को चिम्टाले खोलेर दाउरा मिलाएपछि थप्नुभयो :
‘गुरु रिम्बोचेले पनि हामीलाई हरेक चिजवस्तु वचत गर्न भन्नुभएको छ । बचतले हामीलाई दह्रो बनाउँछ, अत्मविश्वास बढाउँछ ।’
पागागाको कुरामा सही थाप्दै दावाले भने :
‘ हामीलाई स्कुलमा हेडसरले पनि बचतका बारेमा भन्नुभयो । उहाँले हरेक दिन खाजा खान लगेको पैसा एक, दुई रुपियाँ जोगाएर धेरै पार्न सकिन्छ भन्नुभएको छ ।’
छेपाल आफ्ना दाजुको कुरामा सही थप्दै भन्छन् :
‘ हाम्रो मिसले सानैदेखि अनावश्यक कुरामा अरुले गर्ने खर्चलाई आफूले चाहिँ जोगाएर राखेको कुरा भन्नुभयो ।’ छेपालले कुरै नसकी पासाङडिकीले सोधिन् :
‘कस्तो अनावश्यक कुरा अरे क्या ?’
झर्किएको स्वरमा छेपालले अलिक साह्रो गरी भने :
‘ अनावश्यक भनेको बेकामको नि ।’ डिकीको ओठ र आँखामा नजिकैबाट औँल्याउँदै उनले थपे :
‘यो लाली, यो गाजल नलाउँदा के तँ मर्छेस् ? हो यस्तो नहुँदा पनि चल्ने ठाउँमा गरिने खर्च अनावश्यक हो अरे ।’ डिकीले छेपालको ढाडमा झापट हान्न खोजिन् तर छेपालले हातले रोक्दै भने :
‘ यो कुरा मैले भनेको हो त ? सुरभि मिसले भन्नुभएको पो सुनाएको । जा गएर मिसलाई कुट । कुट्नुभन्दा अघि उहाँको अनुहार पनि हेर्नु आँखामा तेरोजस्तो मोसो र ओठमा रातो पोतो छ कि छैन ।’ छेपालको कुरा सुनेर सबैजना हाँसे । डिकी अलिक लजाइन् । यत्तिकैमा पागागाले भन्नुभयो :
‘ उहिले हामी लेकका खर्कमा हरेक छाक ओढल्न ठिक पारेको पिठो एक पसर झिकेर अर्कै थुन्से वा डालामा राख्थ्यौँ । तरकारीको लागि ठिक परेको आलु पनि त्यसै गरी केही दाना झिकेर अर्कै ढाकीमा राख्थ्यौँ । त्यो पिठो र आलु हामी खाइसकेको ठान्थ्यौँ । अब गोठमा भएको पिठो र आलु साँच्चै सकिएपछि हरेक दिन त्यसरी जोगाएको प्रयोग गर्दा एक दुई हप्ता नै पुग्थ्यो । खाएको भए सकिन्थ्यो, बचत गरेकाले जोगियो नि, हैन ?’ पागागाको कुरामा सही थाप्दै आमगागाले भन्नुभयो :
‘ त्यो जोगाउँदा उता भोकै बस्नुपरेको पनि हैन । थोरै खाए बल, धेरै खाए मल अरे । जोगाउँदा रह्यो, खाँदा मल हुन्थ्यो ।’ दावाले आमगागाको कुरालाई पुष्टि गर्न भने :
‘ हाम्रो सरले बचत गर्दा नियमित र अनिवार्य गर्ने गनुपर्छ भन्नुभएको छ । आ पछि गरौंला, आज होस् भनियो भने बचत गर्ने दिन नै आउँदैन अरे । हाम्रो पागागाहरूले पनि त पिठो र आलु अनिवार्य नै वचत गर्नुहुँदो रहेछ नि है ?’ कुरा सुनिरहेका छेपालले भने पासाङडिकीलाई हेर्दै भने :
‘ अब सुरभि मिसले भन्नुभएको कुरा सुनाउँदा यता डिकीलाई रिस उठिहाल्छ होला ? मिसले उहाँलाई आफ्ना बा आमाले हरेक पन्ध्र–पन्ध्रमा आउने चाडमा टीका लगाएर दिएको पैसा सबै एउटा बाँसको खुत्रुकेमा बचत गर्नुहुन्थ्यो अरे । खै मिसहरूको जातमा छोरीहरूलाई टीका लगाएर दिन्छन् अरे हैन आमगागा ?’ छेपालले आफ्नो कुराको पुष्टि गर्न हजुरआमा गुहारे । उत्तर दिँदै आमगागाले भन्नुभयो :
‘ अँ तिमीहरूकी मिस बाहुन, छेत्री वा नेवारकी छोरी होलिन् । उनीहरू हरेक औँसी र पूर्णिमाका दिन छोरीहरूलाई टीका लगाएर दक्षिणा दिन्छन् । औँसी र पूर्णिमा त नियमित आउँछन्, नियमित थोरै भए पनि पैसा पाउँछन् । त्यो बचत गरिहल्ने । बचत गर्ने भनेकै थोरै–थोरै तर सधैँ हो नि ।’ यत्तिकैमा भर्खरै बामे सर्न सिकेको दातेन्जी आफ्ना पागागाको काखमा गएर बसे । नातिको सिँगान पुसिदिँदै पागागाले भन्नुभयो :
‘तिमीहरू पनि हरेक कुराको बचत गर्न सिक । अहिलेको नियमित र अनिवार्य वचतले तिमीहरूको भविष्य सुनिश्चित हुन्छ ।’
‘ जसरी थोपा–थोपा चुहिएर गाग्री रित्तिन्छ, उसैगरी थोरै–थोरै खेर गएर हामी वर्वाद हुन्छौँ । हामीले हर पल, हर दिन, केही न केही बचत गर्ने बानी गर्नुपर्छ ।’ आमगागाले भन्नुभयो ।
‘ म त यति थोरै के राख्नू, के जोगाउनू भन्ने लाग्थ्यो । तर बचत भनेकै थोरै नै गर्ने रहेछ है ?’ पासाङडिकीले भनिन् :
‘ म पनि आजैदेखि बचत गर्न थाल्छु ।’
‘ मैले त मिसले भन्नुभएकै दिनदेखि बचत गर्न थालेको छु ।’ छेपाल उठेर नजिकैको थोत्रे झोला ल्याएर भुइँमा घोप्टाउँदै भन्छन् :
‘यी यहाँ मैले खाजा खान लगेकोबाट जोगाएको पैसा छ ।’ छेपालले सबैका सामु पैसा गन्न थाले । हातमा पैसा बोकेर उनले भने :
‘ यो मैले हरेक दिन अलिअलि गरेर जम्मा पारेको बचत हो । यो बुद्धि मलाई पहिल्यैदेखि आएको भए आज मसँग धेरै जम्मा हुने रहेछ ।’
‘ हो, बचत त गर्नै पर्ने रहेछ । गरिहाल्नु पर्ने अनि गरिहनुपर्ने रहेछ ।’ डिकीले भनिन् । पागागा र आमगागाले दावा, छेपाल र पासाङलाई आजैदेखि बचत गर्नू भन्दै पैसा दिनुभयो । उनीहरू बचत गर्ने उद्देश्यका साथ भित्र गए ।
नातिनातिनाले बचत गर्न लागेको देखेर पागागा र आमगागा खुशी देखिन्थे । बाहिर फुरुरु हिउँ पर्दै थियो । चुलाको छेउमा तातो भएर होला आफ्ना पागागाको काखमा दातेन्जी अघि कतिबेला निदाइसकेको थियो ।
Comments
Post a Comment