Skip to main content

श्रीअन्तु, इलामका नामखर वंशज घिमिरेहरूको नालीबेली

              

                   –          ---------------------------------------------एकु घिमिरे, श्रीअन्तु

                                   हालःटेलिकम टेक्निसियन, चैनपुर, सङ्खुवासभा                       

१. विषयपरिचय 

    पूर्वी इलामको साविक श्रीअन्तु गा. वि. स. वडा नं. १, २ र ३ अनि समालबुङ गा. वि. स. वडा नं. ९ मा घिमिरेहरूको बसोबास छ । हाल सूर्योदय नगरपालिका वडा नं. ४ मा पर्ने सो ठाउँमा अहिले पनि घिमिरेहरूको बाक्लो बस्ती र धेरै जनसङ्ख्या रहेको छ । यहाँबाट बसाइँ सरेर गएका घिमिरेहरू पनि पूर्वका विभिन्न स्थानमा पुगेका छन् । अन्तु क्षेत्रमा भएका घिमिरेहरूलाई बृहत् घिमिरेवंशावलीका आधारमा अध्ययन गर्दा चार किसिमका देखिन आएका छन् :

क.नामाखर बंशका घिमिरे बन्धुहरू (सबैभन्दा धेरै सङ्ख्यामा रहेका श्रीअन्तु १,२ र ३ का बन्धुहरू, वृहत् घिमिरेवंशावली, पृ. १३४)

ख. छिरुवाली घिमिरेहरू (पूर्खासँग नजोडिएका श्रीअन्तु–३, छिरुवाका जयनारायण–हरिकृष्ण– रामनाथ–गंगाधर वंश वृहत् घिमिरेवंशावली, पृ. १३० )

ग.गोरखका घिमिरेहरू (पूर्खासँग नजोडिएका समालबुङ–९, गोरखका दशरथ–चिन्तामणि– प्रमानन्द वंश वृहत् घिमिरेवंशावली, पृ. १३१ )

घ. उन्यूटारका घिमिरेहरू (पूर्खा पाँचथरको नर्कटे बताउने समालबुङ–९, उन्यूटारका जयधर्म–केवलराम– महानन्द वंश । यी बन्धुहरूको नामावली बृहत् घिमिरेवंशावलीमा छुट भएको छ ।)

यो लेखमा माथि चर्चा गरिएकामध्ये पहिलो नम्बरमा राखिएका नामाखर वंशका घिमिरेहरूको मात्रै चर्चा गर्ने प्रयास गरिएको छ ।

१.१ नामाखर वंशज घिमिरेको परिचय

    वि.सं. २०६८ मा घिमिरे कल्याण परिषद्, केन्द्रीय समिति, विराटनगरले बृहत् घिमिरेवंशावली प्रकाशन गरेको छ । १०६८ पृष्ठको उक्त वंशावलीमा लेख–रचना खण्ड, वंश लता खण्ड, पारिवारिक चिनारी खण्ड र पुरातात्विक खण्ड रहेका छन् । प्रस्तुत लेखमा उक्त वंशावली तथा विभिन्न पुस्तकमा प्रकाशित लेख–रचनाहरूलाई समेत आधार मान्दै इलाम जिल्लाको सुदूर पूर्वमा अवस्थित तत्कालिन श्रीअन्तु गा.वि.स. (हाल सूर्योदय नगरपालिका वडा नं.–४) मा रहेका नामाखर वंशज घिमिरे बन्धुहरूको इतिहास केलाइएको छ ।

    घिमिरेहरूको प्राचीन हस्तलिखित वंशावलीमा ‘हाम्रा पूर्खा आयाका मालावा देश, शिप्रा नदी, उज्जैनी शहर, काश्यप गोत्र, काश्यप–आवत्सर–नैधु्रव तीन प्रवर, यजुर्वेद अलिनी शाखा, निर्माँसिकाया, वीर विक्रमजित राजा, तसका ब्राह्मण, भगवत गुरु सन्तति’ भनी उल्लेख छ (घिमिरे, २०७४, पृ. ५) । तेह्रौँ र चौधौँ शताव्दीका बिचमा भारतमा भएका स–साना हिन्दु राज्यहरूमाथि पर्सियन मुसलमानहरूले आक्रमण गर्न थाले । यस घटनाले आफ्नो अस्तित्व रक्षाका लागि ठूलो सङ्ख्यामा भारतका हिन्दूहरू पश्चिमोत्तर पहाडी इलाकातर्फ छिरे । यसै क्रममा हाल भारतको मध्य प्रदेशमा पर्ने शिप्रा नदी किनारको उज्जैनका राजा वीर विक्रमजितका गुरु व्राम्हण जयमुनिका सन्तती  कालिकुमाउमा आएर बसोबास गरेछन् । उनका छोरा पुण्डरीकाक्षदेखि १६ पुस्तासम्म कालिकुमाउमा नै बसेका र द्वारिकादासका छोरा हरिदास गुल्मीको घमिरमा आएका भन्ने गोरखामा रहेका घिमिरेहरूको पुरानो वंशालीमा पाइन्छ (घिमिरे, २०७४, पृ. २१) । घिमिरे (२०७४) का अनुसार हरिदास काश्यप गोत्रीय ३८ औँ पुस्ताका थिए (पृ. ५३) । घिमिरे (२०७४) का अनुसार हाल उज्यैनमा रहेका काश्यप गोत्रीय व्यासहरूको वंशावली र नेपालका घिमिरेहरूको प्राचीन वंशावलीका प्रारम्भिक नामहरू दुरुस्त मिलेको पाइयो (पृ. ६) । यसोहुँदा नेपालका घिमिरेहरू पहिला भारतको उज्यैनबाट नै आएका हुन् भन्ने थप प्रमाण मिल्यो । मुसलमानहरूको आक्रमणमा धेरैजसो पण्डित, धर्मका अगुवा र शास्त्रार्थ जानेकाहरू मात्रै थाकथलो छोडर कुमाउतिर भागेका थिए होला । घिमिरे (२०७४) का अनुसार उज्यैनका राजा विक्रमादित्यका सन्तान विक्रमाजितले सिम्रौनगढमा राजकाज चलाई बस्ता राजपुरोहितका रूपमा गुणपाललाई साथमै लिएर आएका रहेछन् (पृ. ४६) । यसरी आएकाहरूको इतिहास पछिसम्म पनि राजगुरु, पण्डित, पुजारी भएकोबाट यो कुरा पुष्टि हुन्छ । उज्यैन नछोडेका सर्वसाधारण काश्यपगोत्रीहरू भने हालसम्म व्यास थरले चिनिएर सिप्रा नदी किनारमै बसिरहेका छन् । उनै गुणपालका सन्तान गुल्मीको घमिर आएर बसेका हुनुपर्छ भन्न सकिन्छ ।

    गुरुङ (२०७४) को भनाइ अनुसार यशोब्रम्ह शाहलाई दुराडाँडाको बाटोबाट ल्याएछन् र मुहुर्त छोप्न दुराडाँडाको सिन्दुरे ढुङ्गामा राजालाई राखेर कुसुमाखर घिमिरेले राज्याभिषेक गरिदिएछन् (पृ. ६०) । इतिहास अनुसार यशोब्रम्ह शाह लमजुङका राजा भएको वि.सं. १५५० मा हो । उनलाई राज्याभिषेक गराउने पण्डित कुसुमाखर घिमिरे थिए भन्ने माथि नै पुष्टि भएको छ । यो कालक्रम र घटनाक्रमलाई केलाउँदा गुल्मीको घमिर आएर बसेका हरिदासका वंशहरू अब गुल्मीबाट पुरेत्याइँ र पण्डित्याइँ गर्दै  करिब २०० वर्षमा लमजुङ आइपुगेछन् । लमजुङको पुस्तुन र वाहुनबेँसीका अधिकाशं कोट, मन्दिर र शक्तिपीठहरूमा आजसम्म पनि स्थानीय घिमिरेहरू नै पुजारी बस्ने चलन रहनुले पनि माथिको इतिहासलाई थप पुष्टि गर्दछ । लमजुङको पुस्तुनबाट नै घिमिरेहरू देशभर फैलिएका हुन् ।

     बृहत् घिमिरेवंशावलीमा आफ्नो वंशको बेलिविस्तार लगाउँदै अग्रभागमा साजिबुढा र माई बज्यै आफ्ना चार छोराहरूलाई लिएर रिसिङ घिरिङको घमिरमा गई बसे भन्ने उल्लेख छ । सोही वंशावलीमा माईबज्यैका छोराहरू कुश्माखर, वशिष्ट, ध्रुव, नामाखर र जममदग्नी भन्ने पनि उल्लेख छ (पृ. ६३६) । घिमिरे (२०७४) का अनुसार ४४औँ पुस्ता गदाधरका छोरा कुसुमाखर लमजुङको पुस्तुन आएर बसेको देखिन आउँछ (पृ. ५३) । वृहत् घिमिरेवंशावलीले भने कुसुमाखर र नामाखरलाई पुस्ता गन्तीको १ नम्बरमा राखेको छ भने उनीहरू कमलाकरका छोरा भएको पनि उल्लेख छ (पृ. १३४) । धेरै समय अघिको विषय भएकाले कतिपय विषय र प्रसङ्गमा विरोधाभास देखिए पनि पण्डित कुसुमाखर घिमिरेले लमजुङमा यसोब्रम्ह शाहलाई वि.सं. १५५० मा राज्याभिषेक गराएका र नामाखर उनैको भाइ भएको कुरा पुष्टि हुन्छ । यिनै कुसुमाखर र नामाखरका वंशजहरू नै हाल नेपालका ६८ जिल्लामा फैलिएर बसोबास गरिरहेका घिमिरे (२०७४) ले उल्लेख गरेका छन् (पृ. ५३) ।

    बृहत् घिमिरेबंशावलीलाई केलाउँदा देशभरी धेरैजसो भागमा फैलिएर बसेका घिमिरे बन्धुहरू कुुसुमाखरका वंशज हुन् । वंशावलीमा कुसुमाखरका वंशजको २१–२२ पुस्तासम्म पुगेको देखिन्छ । नामाखरका वंशजहरू तुलनात्मक रूपमा कम रहेछन् । नामाखरको वंशज १३–१४ पुस्तासम्म मात्र पुगेको देखिन्छ । नामाखरको नालिबेली केलाउँदा ललितपुर जिल्ला अन्तर्गत हालको महालक्ष्मी नगरपालिका वडा नं. ९ स्थित ढिकस्पा भन्ने स्थानमा वि.सं. १७७८ को शिलालेख समेत रहेको काशीविश्वेश्वरको एक पुरातात्विक मन्दिरमा पुग्नुपर्ने हुन्छ । जय भुपतिन्द्र मल्ल राजा भएका बेलाको उक्त शिलालेख अनुसार सो मन्दिर नामाखरका नाति दामोदरका छोरा नेबुनन्दले निर्माण गरेका हुन् (घिमिरे, २०७४, पृ. ४७) । यो शिलालेखबाट नामाखरका वंशजहरू लमजुङबाट पूर्वतर्फ सर्ने क्रममा उपत्यका आई बसेको प्रमाण मिल्छ । हाल पनि नामाखरका धेरै वंशजहरू उपत्यकाभित्र नै रहेका वंशावलीबाट प्रमाण मिल्छ । उनै नामाखरका छोरा दामोदरका हरिनारायण, बलि, रघुनन्दन र नेबुनन्द गरी चार छोरा थिए । यिनीहरूमध्ये बलिका पनाति पदमनाथ पहलिोपटक इलामको श्रीअन्तु आएर बसोबास सुरु गरेका वंशावलीबाट प्रमाण मिल्छ । पुस्ता केलाउँदा पदमनाथ नामाखरका छैटौँ पुस्ता हुन् ।

    कालक्रम हिसाब गर्दा नामाखरका नातिको समय वि.सं. १७७८ भएको माथि नै प्रमाणित भइसकेको छ । उक्त समयमा पक्कै पनि सानै उमेरमा विवाह गरिन्थ्यो भन्ने कुरामा दुईमत छैन । यसकारण नामखरका नाति बली २० वर्षका हुँदा उनका छोरा वैयाकर्ण जन्मिए होला भन्ने एउटा अनुमान गर्दा वैयाकर्ण पनि २० वर्षकै हुँदा उनका छोरा कृष्णराम जन्मिएको मान्न सकिन्छ । यसैगरी कृष्णरामका छोरा पदमनाथ अर्को २० वर्षमा जन्मिए होला भन्ने तर्क र अनुमानलाई आधार मान्दा आधिकारिक वि.सं. १७७८ मा ६० वर्ष जोड्दा वि.सं १८३८ तिर आइपुगिन्छ । यो अन्तु आएका नामाखर घिमिरेका वंशज पदमनाथको तर्कको आधारमा अनुमान गरिएको जन्मसाल हो । पदमनाथ यदि १५ वर्षका हुँदा पहिलोपटक इलामको श्रीअन्तु आए होला भन्दा सो क्षेत्रमा नामाखर वंशज घिमिरेको पहिलो पाइला परेको वि.सं. १८५३ तिर हुन सक्छ । यो हिसाबलाई मध्यनजर गर्दा श्रीअन्तुमा नामाखरका वंशजहरूको बसाइ वि.सं. १८५० को दशकमा भएको रहेछ । अतः अन्तुमा नामाखर वंशज घिमिरेहरूको बसोबास २०० वर्षभन्दा पनि पुरानो रहेछ । नामाखरका छैटौंँ पुस्ता पदमनाथबाट सुरु भएको यो बसाइ हाल १३औँ–१४औँ पुस्तासम्म पुगेको पाइन्छ ।

    माथिको कालक्रम अनुमानलाई पुष्टि गर्ने पौडेल (२०७८) को एक भनाइ यहाँ उल्लेख गरिएको छ । पौडेलका अनुसार वि.सं. १९७३ ताका उन्यूटारमा छविलाल पोखरेल थरी थिए । यतिबेला अन्तुमा जयमंगलका छोरा मधुसुदन र गोपीकृष्ण मुखियादारी गर्दथे (पृ. ६) । माथिको गणना अनुसार वि.सं. १८५० ताका अन्तु छिरेका पदमनाथका जनातिहरू मधुसुदन र गोपीकृष्णको मुखियादारी शाशनकाल उन्युटारका छविलालकै हाराहारीमा देखिन्छ । अन्तुक्षेत्र लाप्चाहरूको कीपट थियो । हुनसक्छ पदमनाथ वा उनका छोरा श्यामलालले कीपटवाला लाप्चाहरूलाई रिझाएर अन्तुको जमिन प्राप्त गरे । हिन्दू सनातनी भएका हुनाले पदमनाथकै पालादेखि हुनसक्छ अन्तुको उत्तरे खोलाको मुहानमा देवीथान स्थापना गरी नामाखर घिमिरेहरूले पूजाआजा गर्ने चलन चल्यो । त्यो क्रम आजसम्म पनि चलिरहेकै छ ।

२.वर्तमान बसोबास, वंशीय समस्या र प्रस्तावहरू, नमूना वंशलता एवम् पुस्ता गणना 

२.१ श्रीअन्तुमा वर्तमान बसोबास

    श्रीअन्तु, इलाममा बसोबास गर्ने नामाखर घिमिरेका वंशजहरू हाल (वि.सं. २०८१, उधौली पर्व) तीन क्षेत्रमा बसोबास गरिरहेका छन् । पदमनाथका पनाति, श्यामलालका नाति, रघुनाथका छोरा जयमंगलका सन्तानहरूमा जनकलालका छोरानातिमध्ये धेरै अन्तुपोखरी आसपास आफ्नो पैतृक भूमिमा बसोबास गरिरहेका छन् । जयमंगलका अर्का छोरा मधुसुधनका नातिहरू कोही झापाको शान्तिनगर र कोही विर्तामोडमा बसोबास गर्दछन् । जयमंगलका अर्का छोरा गोपीकृष्णका नातिहरू कोही फिक्कल नजिक छिपिटारमा, केही झापाको बुधबारेमा र केही विराटनगरमा बसोबास गर्छन् । अर्कापट्टि उनै पदमनाथका पनाति, श्यामलालका नाति, बलभद्रका छोरा हेमलालका सन्तानहरू धेरै अन्तुको कार्कीडाँडा आसपासमा बसोबास गर्छन् भने केही घर अन्तुपोखरी आसपास, केही झापाको बुधबारे र केही विर्तामोडमा बसोबास गर्दछन् । उनै पूर्खा पदमनाथका पनाति, श्यामलालका नाति, बलभद्रका छोरा हरिनन्दका वंशजहरू श्रीअन्तुकै ढकाल गाउँभन्दा उत्तर, श्री जनक मा.वि. भन्दा पश्चिमपट्टिको गाउँमा रहेका छन् । यहाँका पनि केही सन्तान झापाको बुधबारेमा र झापाकै धुलाबारीमा बसाइँ गएका छन् ।

२.१ बंशीय समस्याहरू

    २०० वर्षभन्दा लामो समयदेखि बसोबास गरिरहेका श्रीअन्तुका नामखर घिमिरे बन्धुहरूलाई पहिलो कुरा एक–अर्का हॉगाबीच कति पुस्ता पुग्यो भन्ने यकिन गर्ने आधार नभएको अवस्था छ । अलिअलि आधार भेट्दा पनि शास्त्रीय र लोक मत बाझेको अवस्थामा उचित निर्णय दिनसक्ने व्यक्ति, समूह वा कुनै वंशीय लिखित नियम छैन । यसो हुदा जुठो, सुतक आदिमा अनेक किसिमका झमेलाहरू व्यहोर्नुपर्ने अवस्था आएको छ । एकै दाजुभाइका घरमा समेत दशैंको टिको लाउने–नलाउने, दशैंमा खसीको मासु खाने तर अरूले देख्छन् भनेर टीका नलाउने, विहे व्रतवन्ध आदिका बेला सुतक परे न्वारन गर्ने–नगर्ने आदि थुप्रै विवादहरू निस्किएर वंशीय समस्याहरू आउने गरेका छन् । यी र यस्ता समस्याहरूलाई सामूहिक तरिकाले शास्त्रीय र व्यवहारिक ढङ्गबाट समाधानका लागि केही प्रस्तावहरू यहा“ प्रस्तुत गएिको छ :

क) श्रीअन्तुका अन्तुका पहिला पूर्खा पदमनाथ देखिका नामखर घिमिरे बन्धुहरूको भेटिएसम्म एक फोटो सहितको वंशावली इन्टरनेटमा प्रकाशन गरी हरेक वर्ष उधौली पर्वका दिन नवीकरण गर्दै जाने । यो वंशावलीमा आजसम्मका छोरीहरूको समेत नाम, भेटिएसम्म फोटो र बिहे भई गएको थर अनि स्थान समेत उल्लेख गर्ने तथा बिहे गरी आएका बुहारीको पनिनाम, माइतिको थर र ठेगाना उल्लेख गर्ने व्यवस्था गर्ने ।

ख) शास्त्र जानेकाहरूको समेत राय मनन गर्दै वर्तमान एक्काइसौं शताव्दीको व्यवहारलाई समेत मध्यनजर गर्दै व्यापक छलफल गरी जुठो, सुतक, पर्व आदिबारे अनेक अवस्थामा के गर्ने भन्ने नियम पारित गरी इन्टरनेटमा प्रकाशन गर्ने भनिएको वंशावलीको अग्र भागमा उल्लेख गर्ने । कुनै घटना वा समस्या पर्दा जो कोही नामखर घिमिरेले पनि इन्टरनेटको उक्त वंशावली पढेर सजिलै निर्णय गर्न सकिने सरल भाषामा ती नियमहरू सम्पादन गर्ने व्यवस्था गर्ने ।

ग) कुनैपनि कुरा न त पूर्ण हुन्छ न त अपरिवर्तनीय नै । यसैले कुनै विषय वा घटनामा वंशावलीले निर्णय दिन नसकेका बेला विशेष निर्णय गर्ने एक विज्ञ समितिको व्यवस्था गर्ने । वंशावलीले निर्णय नदिएका बेला सो समितिको निर्णयलाई सबैले मान्ने परम्पराको विकास गर्ने ।

घ) पूर्खा पदमनाथका पालादेखि नामखर घिमिरेहरूले पूजा गर्ने गरेको उत्तरे खोलाको शिरमा अवस्थित देवीस्थानको संरक्षण गर्दै त्यहा बन्धुहरूको मिलेमतोमा विशेष अवसरमा पूजा गर्नेबारे छलफल गर्ने ।

ङ) बाकि रहेका थुप्रै विषयका प्रस्तावहरू तपाइले उठाएपछि समेट्दै जाने ।

२.३ नमूना वंशलता एवम् पुस्ता गणना 

                                                             


      

३. सन्दर्भ सामग्री

गुरुङ, जगमान ( २०७४), घिमिरेको काम्लो, दुराको नाम्लोले बनेका राजा  (दोसो स्मारिका, पृ ५९–६०) काठमाडौं : घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान, नेपाल । 

घिमिरे, ईश्वरीप्रसाद ( २०७४), काश्यप गोत्रीय घिमिरेहरूको प्रचीन इतिहास, कुल र कुलधर्म तथा कसलपूजामा देखिएका विविधता  (दोसो स्मारिका, पृ १९–२७) काठमाडौं : घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान, नेपाल ।

घिमिरे, कपिल ( २०७४), एउटा हातमा शिवपूजन अर्को हातमा खुकुरी  (दोसो स्मारिका, पृ ५१–५७) काठमाडौं : घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान, नेपाल ।                                                                                                                                                                  

घिमिरे, रामशरण ( २०७४), काशीविश्वेश्वरको ऐतिहासिक पृष्ठभूमि र यसले दिएका सन्देशहरू  (दोसो स्मारिका, पृ ४५–५०) काठमाडौं : घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान, नेपाल ।

घिमिरे, रोचक ( २०७४), घिमिरेहरूको उज्जैन सम्बन्ध (दोसो स्मारिका, पृ ५–८) काठमाडौं : घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान, नेपाल ।

पौडेल, रमेशकिरण (२०७८), विस्वशिशामहल श्रीअन्तु,  विर्तामोड : लेखक आफैं ।

(२०६८), बृहत् घिमिरेवंशावली,  विराटनगर : घिमिरे कल्याण परिषद्, केन्द्रीय समिति ।

केही सुझव तथा प्रतिकृयाका लागि:

मोबायल नं. ९८५२०६०४२१

इमेलःeakughimire421@gmail.com

फेसबुक : Eaku Ghimire  ( फलो गरी साथी बन्नुहोला )


Comments