बिर्स्याइ
सबैले गालि गरेको सुनिन्छ विर्स्याइलाई । धेरैको कुभलो गरेको छ विर्स्याइले । हामी विर्स्याइलाई नकरात्मक तत्त्वका रुपमा चिन्छौ र स्विकार्छौँ । तर यसका पनि धेरै राम्रा पक्ष हुन्छन । हरेक कुराको राम्रो र नराम्रो पाटो हुने जानेपछि किन हामी विर्स्याइलाई खेदो गरिरहेका छौँ ? जस्तो तीतो भएर पनि औषधीले रोग निको पार्छ, चिसो र चिप्लो भए पनि हिमालको यात्रा रोमान्चक हुन्छ । विर्स्याइका पनि राम्रा पक्षहरु छन् जस्को कारण मनिसलाई खुशीले बाँच्न संभव भएको छ । जीवनमा आउने प्रत्येक खुशीमा विर्स्याइको सदैब सहयोग हुँदोरहेछ ! म त विर्स्याइलाई हिजोआज सलाम पो गर्छु , साथी ठान्छु र सम्मान गर्छु ।
सानो बच्चा लडेर दुखेपछि रुन थाल्छ । उस्की आमाले हत्तपत्त दूध चुसाउँछिन्, नानी रुन छोड्छ । आमाको दूधले पेनकिलरले झैँ दुखाइ कम भएको होला त ? पक्कै होइन । उस्ले दुखेको पनि बिर्स्यो । यसरी मान्छे नानी हुँदैदेखि बिर्स्याइ साथी बन्दो रहेछ । अलिक ठुलो भएपछि कतै जान्छु भन्दा नानी पनि जाने आड्डी कस्छ अनि झुक्याएर भाग्छिन आमा । बच्चो रुन्छ अनि कसैले दिएको चकलेट वा हजुबा- हजुराआमाको कथामा भुलिन्छ अर्थात आमाले छोडेको बिर्सन्छ । यस्ता बल्यकालीन बिर्स्याइ तपाईं -हामी सबैका छैनन् त ? मान्छे बिर्स्याइले वाक्क हुँदा 'बूढो भएर बिर्सन थालेँ ' भन्छन् , तर हेर्नुहोस् त हामी सानैमा झन कति बिर्स्याइमा रमाएका रहेछौँ ! यी सुखद बिर्स्याइ हैनन् र ??
अलिक ठुलो भएपछि स्कूलमा कुट्ने शिक्षकसँग उठेको रीस सम्झनुहोस् त ! अरुको त के कुरा आफैँले काम बिराएर गाली गर्नुहुने वा सानोतिनो सजाय दिनुहुने आमा, बाबा अथवा अबिभावकसँग कति रीस उठ्थ्यो ? अब बोल्नै छोड्छु ,घरबाट नै भागीदिन्छु जस्ता घुर्कीले मन मडारिन्थे । कतिपयले त घर नै छोडेको पनि याद होला नभए पनि देख्नु -सुन्नु भएको छ । तर ती रीस चाँडै बिर्सिए । जस्ले बिर्सिएन उस्ले दुख पायो । बिर्स्याइले यहाँ सुखानुभुती गराएको छ बरु सम्झनाले पो दु:ख दिएको देखिन्छ । त्यसैले त म बिर्स्याइलाई सम्मान गर्छु ।
जीवनमा थुप्रै आफन्त पराइ र थुप्रै पराइ आफन्त हुन्छ्न् । पराइ बनेका आफन्तको सम्झनाले साह्रै सताउँछ । यस्को सबैभन्दा सजिलो औषधी नै बिर्स्याइ हो । अनी औषधी त तितो हुनु स्वभाविक हो । अत बिर्स्याइलाई हामीले शत्रु मात्र मानु न्याय संगत भयो त ? म त बिर्स्याइलाई सम्झना मेट्ने इरेजर ठान्छु । सानो हुँदा पेन्सिलले लेखेको मेट्न र सुधार गर्न किनेको इरेजर ठुलो भएपछि बिर्स्याइले गर्न थाल्छ । अनि यस्तो आँफैलाई सुधारेर नयाँ जीवनतर्फ धकेल्ने बिर्स्याइ वास्तबमै प्रीय लाग्छ ।
मेरो आफ्नै कुरा राख्छु । मेरा पिताजीले संसार छोडेपछि हाम्रो घरको खुशी सधैंको लागि गयो जस्तै लागेको थियो । हामी धेरै दिन रोइरह्यौँ । हाँसो हराए सबैका ओठबाट । तर माथि चर्चा गरेको साथी बिर्स्याइ आएछ र पत्तै नपाई यी दिनहरु उपहार पाएका छौँ हामीले । बिर्स्याइ नआइदिएको भए हामीले पनि ज्यान गुमाइसकेका हुनेथियौँ । यसरी समयमै बिर्स्याइ नआएर ज्यान गुमेका खबर थुप्रै सुन्नुभएको होला ? कहिलेकाँही एम्बुलेन्स ढिलो आएर , हस्पिटलमा डाक्टर नभएर मान्छेको निधन भएको खबर सुन्दा यो बिर्स्याइ त्यही एम्बुलेन्स वा डाक्टर जस्तो पनि लाग्छ ।समयमै नि:शुल्क आएर हाम्रो परिवारको लागि बिर्स्याइले ठुलो गुन लगएको छ । हामी बिर्स्याइप्रती आभारी छौँ ।
कक्षा आठमा पढदै गर्दा देखि मेरी एउटी नायिकासँग आँखा जुध्यो । हाम्रो उमेरभन्दा प्रेम छिटो बड्यो । प्रेमको अनुभुती कतिसम्म भयो भने आफूलाई भन्दा उनलाई वस्ता गर्न थाल्यो मनले । त्यो बेला राशिफलमा खूब विश्वास लग्थ्यो। राशिफल रेडियोमा सुन्नुपर्थ्यो । मेरो दोश्रो राशी आएपछि पनि म अरु काम छोडेर उनको निक्कै पछिको राशीफल सुन्थेँ ।आमाले 'तेरो सुनिसकिस् छिटो काममा जा ' भन्दा पनि नमानेर म रेडियोको छेउमै बसिरहन्थ्येँ । मेरो राम्रो भए पनि उनको नराम्रो भनिदिए त्यो दिन नै पापी ठान्थेँ । दिनभरी उनको चिन्ता लागिरहथ्यो। पछि शहरमा बसेर कलेज जान थालेपछि दैनिक पत्रिकामा आफ्नो भन्दा पहिला उनको राशिफल पढ्न थालियो । मन्दिरमा गएर उनको राम्रो होस् भनेर मागिन्थ्यो ! आफ्नो लागि त केही मगिएन ।एकदिन त्यसरी माया गरेकी मायालुको शुभ- बिवाहको निम्तो मान्न जानुपर्यो ! म अचेत जस्तै बनेर गएँ र उनलाई टिका लागाइदिएँ । बिवाह समारोहमा उपस्थित हुनेले त्यो दिन दुलाहा-दुलहीलाई भन्दा म बन्न नसकेको अर्थात हुन नपाएको बेहुलोलाई धेरै हेरे ! सम्झनाले यति सतायो कि गाउँमा पढाउँदै गरेको नीजि स्कूल छोडेर म काठमान्डौं गएँ । प्रेमरोगले थालिएको मलाई पछि क्षयरोग नै लाग्यो । म निगालोजस्तै शरीर लिएर घर फिरेँ । विस्तारै बिर्स्याइ पस्यो मनमा अनि जाती भयो सबैथोक । बिर्स्याइ नभएको हुँदो हो त क्षयरोग पनि जाती हुने थिएन । बिर्स्याइ समयमै आएको भए क्षयरोग पनि लाग्ने नै थिएन । अत बिर्स्याइ धन्न ढिलो गरेर भए पनि आयो र मलाई बचायो । यस्तो गुणकारी बिर्स्याइलाई म कुन शब्दले सम्मान गरुँ ??
मानिसलाई दु:ख, पीडा तथा चिन्ता पारिरहन्छ्न् र ती बाट चाँडै छुट्कारा लिन विर्स्याइ नै एक सजिलो बाटो हो । म बिर्स्याइलाई मन दुखेको पेनकिलर जस्तो पनि ठान्छु । बिर्स्याइलाई प्रेशर घटाउने दवाइ जस्तो पनि मान्छु । डिप्रेसनको त यो एउटा अचुक औषधि हुँदै हो । फेरी यस्को साइड इफेक्ट छैन । पैसा पनि लाग्दैन । सित्तैमा पाइने यस्तो गुनिलो बिर्स्याइलाई तपाईं पनि सम्मान गर्ने कि ? सम्मान गर्न नसके पनि यस्को बदख्वाँइ चाहिँ बन्द गर्नुहोला भन्ने आग्रह गर्दछु ।
Second last paragraph le ali namitho paryo. I remembered this situation and your health condition after unbelievable incident. Don’t worry Eku ji forgotten became your friend so you are now great. Keep writing. I am really proud that I can openly say everybody that this writer is my friend and neighbour. It is really great essay.
ReplyDeleteThis comment from Tara Aryal
DeleteThanks Tara jii
Deleteसही लाग्यो
Delete