Skip to main content

हिउँ पगालेर खाएको बनभोज

                                                  हिउँ पगालेर खाएको बनभोज
    जाडो लागेपछि बनभोज जानेहरुको लर्को सबैतिर बड्नु नौलो कुरो हैन । हिजोआज त यो फेसन बनेको छ । त्यसैले  एकै दिनमा तीन-चार बनभोज भ्याउने पनि भेटिन थालेका छन् । हामी सानो हुँदा गएका थुप्रै बनभोजहरु सम्झनामा छाल मारिरहेका छन् तर ठुलो भएपछि सामेल भएका अनगिन्ती पिकनिक सपनामय बनेका छन् । तथापि  संम्बत् २०७३ मा हीउँ पगालेर खाएको बनभोज पक्कै पनि जीवनभर अविस्मरणीय बन्ला जस्तो लागेको छ ।
     यो यात्रामय बनभोज अनि बनभोजमय यात्रा थियो ।  पौष १५ गते तमु ल्होसारकै दिनबाट शुरु गर्ने योजना थियो तर बस्दै गरेको आवास सरसफाइ र नयाँ स्वरुपमा तोडमोड गराइले भुतुकै गल्यो हाम्रो जोडी । जान नपाएर छोरो सुयोग  भने ग्रहण लागेको चन्द्रमा बन्यो । १६ गते बिहान चारै बजे उठेर उनले  खानेकुरा पकाइन् । मैले स्टाफ ऋषि सरसँग मिलेर पानी थापेँ । हत्तपत्त गरेर सुयोगलाई पनि उठाइयो । चैनपुर बाट धरान  जाने दोस्रो बसमा चडेर हामी टुटे देउराली ओर्लँदा साडे एघार बजिसकेको थियो । उनी गाडीमा बान्ता भएकाले थकित देखिन्थिन् । खाने र पकाउने सामाग्रीहरु बोकेको हुँदा भारी पनि गह्रौँ नै थियो । अल्छि लाग्दै चित परीचित जस्तो बनेको गुराँस घारीको बाटो हिंडेर हामी  आर. आर . गार्डेन भन्ने लालिगुराँसको जङ्गल बिचमा रहेको चट्टानी पार्कमा पुग्यौँ । पहिले पनि हेरेको ठाउँ अनि गलेको हुँदा हामीले  खासै रमाइलो बटुल्न सकिएन तर थुप्रै समूह बनभोज र भ्रमणको मज्जा लुटिरहेका देखिन्थे । सुयोग चाहिँ खूव रमाइरहेको थियो । अग्ला-अग्ला हिमाल जस्ता ढुङ्गामा चडेर फोटो खिचाउनमा  ब्यस्त थियो ऊ । हामीसँग भएका खानेकुरा खाँदै उकालीयौँ र झन्डै एक बज्दा तीनजुरेको फेदीमा भएको एउटा पसलमा पुग्यौँ । त्यो पसल कार्कीको रहेछ । त्यहाँ रुघाले ग्रस्त भएर घाममा सुतिरहेकी एक बहिनीलाई  मिठो चिया बनाइदिन अनुरोध गर्‍यौँ । बहिनी अल्छि मान्दै उठेर भान्साघरमा गइन र आगो जोर्न थालिन् ।  एकातिर बिरामी अर्कातिर अल्छि समेत गरेको देखेर चिया  मिठो होला भन्ने सोचेका थिएनौँ हामीले । तर  ' दूध-चिनी कडा,रङ हाल्न नडरा ' भनेजस्तो  हाम्रो अनुरोध र इच्छा अनुसारकै मीठो  चिया बनाइदिइन । त्यो चिया हाम्रो यात्राको क्याट्लिस्ट नै बन्यो ।सोही पसलमा अर्का युवक पनि थिए । उनी अब हामीले  हिँड्नुपर्ने बाटाको बारेमा परिचित रहेछन् । निक्कैबेर गफगाफ गरेर हामी उकालीयौँ । यसपटक तीनजुरेको थाप्लोमा नचडी तेर्सो जाने सल्लाह भयो । पाथिभरामा चडाउन ल्याएको फूल-फलेदो २६६० मिटर उचाइमा रहेको फेदिमै चडाएर हामी अघि बड्यौँ । कार्की बहिनीले दिएको मिठो चियाले हाम्रो फुर्ती नै बड्यो । अब यात्रा सबैको लागि नयाँ ठाउँमा थियो । त्यसले पनि रमाइलो थप्यो। हाम्रो सानो पारिवारिक टोली सुन्दरताको मातमा लठ्ठ हुँदै अघि बडिरहयो ।फोटो खिच्ने अनि रमिता हेरेर रमाउने गर्दैमा समय धेरै चिप्लिएछ । अग्लो डाँडाको टुप्पाबाट चारैतिर रमिता हेर्दै डुल्नुको रमाइलो छुट्टै थियो । हामीलाई केही हत्तार थिएन र फलानो ठाउँमा पुग्नैपर्ने भन्ने बाध्यता नि' थिएन ।
      अहा ! तेह्रथुम जाने कालोपत्रे सडक जोडिएको बशन्तपुर बजार कति राम्रो देखिन्थ्यो । माथि चित्रे डाँडो ,तल धनकुटाका डाँडाहरु हेरिरहुँ जस्तो लाग्थे । अर्कापट्टी मकालु हिमाल र यस्को काखमा सुतेका सुन्दर डाँडा, उपत्यका, चम्किला शहर र हरिया डाँडा  राम्रा देखिन्थे । फोटो खिच्यो, नजिकैको मात्र दृश्य तानिने । क्यामेरा नै नराम्रो जस्तो पनि लाग्यो । फेरी अर्को मनले सम्झेँ आँखाले देखेको जस्तो दुरुस्त कहाँ खिच्थ्यो यो क्यामेराले । त्यस्को लागि त निक्कै महँङ्गो क्यामेरा खरिद गर्नुपर्छ । मैले यो कुरा सुमीलाई पनि सुनाएँ । उनले भनिन् ' त्यो शक्तिशाली क्यामेरा किन्ने खर्च भए त  अर्को रमाइलो ठाउँ पो डुलिन्थ्यो । फोटो त मनको क्यामेराले पो खिच्ने त !'मसँग दिने कुनै उत्तर थिएन ।  बरु यही क्यामेरा हामीलाई बेच्नुहुने सागर सुबेदीलाई धरान फोन गर्न मन लाग्यो । एकै छिन कुरो भयो तर पुरा हुन नपाउँदै टेलिफोनको नेटवर्क नै गयो । त्यसपछी निक्कैबेर नेटवर्क नभएको ठाउँमा हिँडियो । हामी ग्लुकोज र अन्य खाना खाँदै ठुलो कच्ची  मोटर बाटोमा लम्कदै रह्यौँ । भोको नभए पनि खाना खाने इच्छा जागेको थियो । हामीसँग सबैथोक थियो तर पानी थिएन । पानी भेटिएका ठाउँमा घाम नलाग्ने सेपिलो थियो । उचित स्थनको खोजी गर्दै अघि बडिरहने सल्लाह भयो । हामी पाँच पोखरी भनिने सानो बजार जस्तो ठाउँ छोडेर निक्कै बेर हिँडिसकेका थियौँ । एउटा सम्म टार , रमिता पनि राम्रो देखिने ठाउँमा अलिअलि पानी बगेको घाममा टल्कियो । गएर हेर्दा भित्तामा राम्रो कुवा रहेछ । वरपर गुराँसको  जङ्गल  भएकाले दाउराको पनि चिन्ता थिएन । त्यही ठाउँमा पहिलो बनभोज खाने निर्णय गरियो । झोला बिसाइयो । हामीसँग सानो शीसीमा डिजेल पनि थियो जस्को सहयोगले आगो जोर्न सजिलो भयो । सुयोग र मैले दाउरा तथा पानीको व्यवस्था मिलायौँ । उनले पकाउने सामाग्री पोकाबाट निकालिन् र  के के खानेकुरा कसरी बनाउने भन्ने योजना बनाइन् ।

    रुख टमाटर र काँचो प्याजको अचार ,आलुको दम ,रायोको तरकारी,गुन्द्रुकको रस अनि एक कुकर भात पाक्यो ।अन्तुबाट आमाले पठाइदिनुभएको घीउ, केही भुटेका सब्जी अनि बोत्तलको अचार त झोलामै थियो । कगती र केही चाना मुला काटियो । शाकारी परिवारका लागि पुग्दो परिकार बनेपछि चौरमा बसी भब्य बनभोज खाइयो ।सबै थोक ल्याइएको भए पनि खाना पस्किने पुन्यौ छुटेछ ! तातो भात स्टिले गिलासले पस्किन अलिक गाह्रो भयो । तर जाडो ठाउँमा हात उस्तो पोलेको अनुभव नै नहुने हुँदा राहत मिल्यो । यो बनभोजमा नाच -गान केही थिएन । उपस्थिती पनि थोरैको । तैपनी खूव रमाइलो महशुस भयो । हामी भाते बानी लागेकालाई बिहानको खाना समेत नखाइएको हुँदा मजाले रुची भयो । थकान पनि थियो । बनभोज स्थलबाट काठमाडौँ बस्ने बहिनीहरु रुपा र बिद्यालाई फोन गरियो । हाम्रो रमाइलो सुनेर लोभिए उनीहरु । यतिबेला सन् २०१६ को अन्तिम घाम हामीभन्दा थकित बनेर धेरै पारि देखिने भोजपुरको डाँडाबाट ओझेल पर्दै थियो । वरीपरी कुहिरो पनि लाग्न थालेकोले चाँडो गरेर पोका पुन्तुरा मिलाएर हामी अघि बड्यौँ ।
    खाना खाएपछि हिँड्न अलिक असहज जस्तो भयो तर झमक्कै साँझ परेकाले सुरुसुरु हिँडनु बाध्यता थियो । बाटो नै देख्न मुस्किल परेपछि टर्च बालेर हिँडियो । हामी कहाँ र कतिबेला पुग्छौ भन्ने केही थाहा थिएन । म सँग हिँडेपछी दुबैजना ढुक्क थिए । मेरो भित्री मनमा बासको त्रासले डेरा जमाए पनि बाहिर भने चौकी बजार एकैछिनमा पुगिन्छ भन्ने अनुमानित गफ दिँदै अघि बडियो ।
   केही बेरको हिँडाइपछि एउटा सानो बजार आइपुगियो । त्यो नै चौकी बजार रहेछ । यो ठाउँ समुन्द्र सतहबाट २६९० मिटर उचाइमा रहेको त्यहाँ टाँसेको बोर्ड हेरेर पत्ता पाइयो । हामीले शुरुमै भेटिएको एउटा होटलमा पसेर सोधपुछ गर्‍यौँ । लालिगुराँस नामको त्यो होटलमा गुफा पोखरी पुगेर फर्किएका आधा दर्जन युवा आगो ताप्दै तोङ्वा तान्दै थिए । एउटा राम्रो कोठा देखाएर होटलकी बहिनीले तातो पानी समेत ल्याइदिईन् । खाना भर्खरै खाइएको थियो । तातो पानीले केही औषधिका गोली निलेर रेडियो सुन्दै सुतियो । दुई-दुई सिरक ओड्दा पनि जीउमा सियोजस्तो घोच्ने जाडोले दु:ख दिँदै थियो । होटल वाला तामाङ बुढाले धेरैबेर माला जपे, बास्ना छर्दै धुप्पिको झुर्का कोइलामा हाले अनि ॐ मणिपद्म्हे भन्दै गुनगुनाउँदै थिए । हामीलाई त्यही लोरी भएछ ।        
         बिहान ठीक पाँच बज्दा निद्राले छोडेछ । तीनै जना उठेर तयार भइयो । बाहिर तुसारो परेर सेतै रहेछ । जगमा राखेको पानी जमेको देखिन्थ्यो । पानी खेलाएको हातले धेरैबेर अरुथोक छोएको थाहा पाएन, निदाएको जस्तो झमझम भैरहयो । होटलकी बहिनीले एक बोत्तल तातो पानी दिइन् । हामीले आफ्नो बिल बुझाएर बाटो लाग्ने बेला पुरै उज्यालो भइसकेको थियो ।होटलको वरिपरि मनग्यै सागसब्जी लगाएको रहेछ । बन्दा र रायो मौलाएका देखिन्थे ,फुल कोपी चाहिँ चिसोले अलिक ठिँगुरिएको थियो । पुरै बारी ढाकेर सेउलाको छानो हालिएको रहेछ । यसो नगरे तुसारोले खाइदिन्छ भन्थे । यस्तो मेहनत गरेर माटोलाई बाँझो बस्न नदिने उनीहरु उदाहरणीय मनिस रहेछन् । हिजोआज आफ्नो उत्पादन प्रयोग गर्नेभन्दा  बाहिरकै तरकारी प्रयोग गर्ने धेरै छन् । जमिन भए पनि खेती गर्नु पाखेपन हो झैँ ठान्ने   शिक्षितहरु छन् । तराई र शरहरमा प्लटिङ गरेर थुप्रै उर्भर जमिन उसै झार उमारेर बाँझिइरहेका छन् । राष्ट्र तरकारीमा पनि आत्मनिर्भर छैन । हाम्रो चाड मान्ने सब्जी अर्काको देसबाट आइरहेको छ । अर्कै  देसको उत्पादनमा परनिर्भर हामी नेता मात्र उत्पादन गरिरहेछौ ! नेता पनि यतिबेला त आयातित समेत छन् भन्ने हल्ला छ ! यसरी राष्ट्रियता खस्कदो बेला सबैले यी होटल ब्यवसायीले जस्तो आ-आफ्नो काम सकेसम्म राम्रो गरिदिनु हो भने देस आँफै सुध्रन्छ जस्तो सोच आयो मलाई । यस्तो लेकमा परिश्रमको पसीना सिँचित गरेर भूमिको सदुपयोग गर्ने उनीहरु हाम्रा लागि आदर्श थिए । सुमीलाई चाहिँ लोभलाग्दो रायो किनेर लाने सोच आएछ । मैले भारी बोक्न इन्कार गरेँ । अहिल्यै चरौँ जस्तो गरेर उनी बारीमा डुल्दै थिइन् ।  यस्तो बिकट ठाउँमा पनि सो होटल सुविधा सम्पन्न नै रहेछ । सरसफाइ  तिनीहरुको पर्याय रहेछ । बिस्कुट, चाउचाउ र अन्य फास्ट फुड प्याकिङ गर्ने प्लास्टिकका खोलबाट थुप्रै पीरा र गुन्द्री बुनेर प्रयोग गर्दा रहेछन् तिनीहरु । यस्ता गुन्द्री र पिराले चिसो राम्ररी छेल्ने मात्र उनीहरुलाई थाहा रहेछ । त्यो काम वातावरण मैत्री समेत भएको बुझाइदिँदा उनीहरु खूव खुशी भए । सुयोगले ती पीरा बोकेर फोटो खिच्यो । हामीलाई उनीहरु केही पीरा उपहार दिन तम्सदै थिए तर हाम्रो पुग्दो भारी थियो अनि यात्रा पनि धेरै बाँकी । धन्यवाद आदान प्रदान गरेर हामी बाटो लाग्यौँ ।    आम्मामामामा !! तुसारो परेर देखिएजति सबै सेतो थियो जमिन । कच्ची मोटर बाटोको धुलोमा तुसारो जमेर हिँडदा चरप-चरप आवाज आउँथ्यो । चिप्लेर लडिने डर पनि उस्तै थियो। हाम्रो टोली रमाएर फोटो खिच्दै अगाडि बडिरह्यो । डाँडाहरु बोट नभएका थिए । बाटो केही ओरालो झर्‍यो र समुद्र सतहबाट २६६० मिटरको उचाइमा अवस्थित मङ्लबारे पुगियो । हरेक घरबाट पानी परेको जस्तो तुसारो पग्लेर धारो झरिरहेको देखिन्थ्यो । बलेसिँको तप्केनाबाट जोगिदै हामी एउटा होटल जस्तो देखिने घरमा पस्यौँ । उनीहरुले हाम्रो सोधखोज गरे । भुङ्रे चुलो बालेर तपाए । दूध आइनपुगेको भन्दै मेथिको धुलो हालेको मिठो रातो चिया बनाइदिए । हाम्रो बनभोजे यात्रा रहेछ भन्ने बुझेपछी अब पानी पाउन कठिन हुने हुँदा लिएर जाने सुझाव दिए । तर अब दुई घण्टामा गुफा बजार पुगिने भएकाले उतै बन्दोबस्त गर्ने भन्दै एक मुठो साग र अलिकती अदुवा किनेर अघि बड्यौँ । यस्तो जाडोमा पनि सुयोगले चाँही ड्यु खाने रहर गर्‍यो । सानो बोत्तलको किनिदियौँ ।जति कर गरेपनि साग र अदुवाको पैसा लिन मानेन् । त्यस्तो तुसारोलाई पगालेर गरेको उत्पादन उसै लिनु पौरखलाई अन्याय गर्नु हो । त्यही सोचाइ सुमिलाई पनि आएछ होला भर्खर बोल्न र हिँडन सिकेकी  सानी नानीलाई मिठाइ खानु भन्दै उपहार थमाइदिएर आत्मीय विदाइको प्रेमिल हात हल्लाउँदै मङ्लबारे छोडियो । वास्तवबमा त्यो बजार निक्कै ठुलो रहेछ । दैनिक जीवन यापन गर्न आवश्यक धेरै सामाग्री पाँइने रहेछ ।  समग्रमा त्यो क्षेत्रको नामी ब्यापारिक केन्द्र रहेछ ।
      ठुलो कच्ची मोटर बाटो । विहानीको न्यानो घाम । निलो आकाश । दाँयाँतिर हेर्दा कनचनजंघाको चमक , बाँयातर्फ मकालुको मुस्कान ! लगभग २७५० मिटर उचाइको पैदल यात्रा । पारिवारिक टोली । छेउछाउमा कतै नाङ्गा डाँडा त कतै सिर्फ गुराँसको जङ्ल । तल तेह्र्थुमको सदरमुकाम म्याङ्लुङ बजार देखिन्थ्यो । हत्तारिएर खुरुङा ओरालो बग्दो देखिन्थ्यो । त्यहाँबाट ताप्लेजुङ पाथिभरा लगायत पूर्वी पहाडहरु निला देखिन्थे । बाटो डाँडाको पूर्वी मोहडाबाट लगिएको रहेछ । त्यसैले पश्चिमी दृश्य छेलिएको थियो । हुन पनि पूर्वी दृश्य नै हेरेर नभ्याइने थियो । धेरै राम्रो एकैचोटी हेर्न पनि कहाँ सकिँदो रहेछ र !हामी फोटो खिच्दै अघि बडिरह्यौँ । मान्छे भेट्नु चाहिँ अलिक कठिन नै रहेछ । बल्ल एकजना अधबैसे पुरुषसँग भेट भयो । तिनले गुफा पोखरी पुग्न अब तीन घण्टा लाग्ने बताए । निक्कै पर सेतो हिउँ ओडेर उत्तर फर्किएको ठाउँ नै गुफा पोखरी भएको समेत चिनाइदिए । हिउँ खेल्न पाइने कुराले हामी निक्कै रोमान्चित बन्यौँ तर अझै तीन घण्टा हिँडनु पर्ने कुराले थोरै डरायौँ पनि । सुयोगले ती मनिससँग हामी पुग्दा सम्ममा हिउँ पग्लिने हो कि भन्ने जिज्ञासा राख्यो । उनले पग्लिसक्ने त हैन आज पनि पर्नस्क्ने पो बताए । हिँड्दा-हिँड्दै हिउँ पर्‍यो भने के गर्ने भन्ने डर अनि पर्दै गरेको हिउँमा खेल्ने रहर दुबैले एकैचोटी मनका कुनामा स्पर्श गरी काउकुती लगाए ।निक्कैबेर हिँडेपछि हाम्रो गन्तब्यपट्टिबाट दुई लेण्डलोभरमा आएका मान्छे फोटो खिच्दै भेटिए । उनीहरु हिउँ खेलेर गुफा पोखरीबाट फर्किएको भन्थे । अब केही बेरमै हिउँ परेको ठाउँमा पुगिने उनीहरुको कुरो सुनेपछी हाम्रो गती बढ्यो । हिँडाइको गती बडेपछि मुटुको समेत गती बड्यो र प्रतिकृयामा मुखबाट नअट्ने गरी श्वास निस्कन थाल्यो । हामी थाकेर फ्यात्त हुँदा पनि हिउँ पहिला र छिटो भेट्ने रहरमा सुयोग निक्कै अघि-अघि हिँडिरह्यो । अब त सुयोग समेत गल्यो तर हिउँ परेको ठाउँ पुगिएन । चौँरी र भेडा चरेको ठाउँमा फोटो खिचेर रमाइलो गरियो तर मनले खोजेको हिउँ अझै भेटिएन । लेक, भोक र थकानले  सिन्की खाँद्न घाममा सुकाएको मुला जस्तै बनिन् सुमी । कहिल्यै नदेखेको र नभेटेको चौँरीसँग फोटो खिच्न समेत जान मन गरिनन् । एकैछिन बस्ने र चटपटे बनाएर खाने सल्लाह भयो । झोलामा राखेको स्याउ यती चिसो रहेछ कि खाँदा दाँत नै सिरिङ्ग भयो । हामीले चतपटे बनाउन्जेल सुयोग चाहिँ तेर्सिएको गुराँसको बोट्मा चडेर सुस्ताइरहेको थियो । सम्झेँ उसले प्राकृतिक फलैचालाई प्रयोग गर्‍यो तर सुमी ऊ लड्ला कि भन्ने चिन्ताले ओर्लन अह्राउँदै थिइन । हामीले चटपटे खाँदै गर्दा एउटा परेवाको जस्तो जोडी गुफा पोखरीबाट छ बजे हिँडेको भन्दै अब मङ्लबारे पुग्न लाग्ने समय सोध्यै अघि बडे। वस्तबमा बाटो समयले नापिने हैन , दुरीले यकिन हुन्छ । त्यती दुरी हिँड्न मनिसको   बेग कती छ त्यस्मा भर पर्छ । बिस्तारो हिँडे धेरै बेर लाग्ने अनि छिटो हिँडे चाँडो पुगिने त हो । यसैले हरेक यात्रामा एउटै दुरि काट्न प्रत्येकले फरक फरक समय बताउँदा रहेछन् ।
   खाजा र सुस्ताइले स्फूर्ती बड्यो । हाम्रो  बेग पनि अलिक बड्यो । सुयोग त हामीभन्दा निक्कै अघि बडिसकेको थियो । उसलाई हामीले भन्दा पहिला हिउँ स्पर्श गर्ने रहर थियो । बोरा र कुम्लो बनाएर भारी बोकेका दुई पुरुष हामीभन्दा अघि गए । उनीहरु जोरपोखरी गएको भन्थे ।पछाडिकोले पेरुङ्गमा रातो भाले पनि बोकेको थियो । यहाँको बाटो उकालो थियो । मोटर हिँड्ने बाटो निक्कै पर लगेर मोडिएकाले हामी छोटो बाटामा थियौँ । उनीहरुसँग सुयोग जोड्ले कराउँदै मात्र सुनिन्थ्यो, दृश्य छलिन्थ्यो । उनीहरु हाँस्दै अघि बडेको सुनियो ।त्यसपछि एक्लै पनि सुयोग रौसिएर कराइरहेको सुनिन्थ्यो । बल्ल हामी पनि त्यहाँ पुग्यौँ र थाहा पायौँ ऊ हिउँ भेटेर खुशीले रमाएको रहेछ । हिउँसँगको मेरो यो तेस्रो जम्काभेट थियो । म निक्कै सानो हुँदा एकदिन श्रीअन्तुमा फुसफुस हिउँ परेको थियो तर भुइँमा पुगेर पग्लिहाल्यो , खेलाउनै पाइएन । सम्बत् २०७२ मा धनकुटाको चित्रेडाँडा र नुनथला आसपासमा केही दिन अघि परेर पग्लँदै गरेको हिउँ खेलाएको थिएँ । यो चाहिँ हिजो मात्र परेको आलो हिउँ रहेछ । निक्कैबेर प्रेमपूर्बक खेलियो हिउँसँग । फोटो खिचियो अनि उकालो लागियो । अब जताततै हिउँ थियो । अझ माथि पुगेपछि बाटो हिँडनै नसक्ने चिप्लो हुनेगरी भेटियो हिउँ । कतै जानी-जानी त कतै झुक्किएर लड्दै हामी अघि बड्यौँ ।भारी बोकाउन मङ्लबारे लगिदै गरेको एउटा याकसँग सुमिले पनि फोटो खिच्ने मौका पाइन् । ती याकवाला नेपाली भाषा राम्ररी बुझ्ने तर बोल्न कम सक्ने शेर्पा रहेछ्न् । हिउँ भेट्ने अभिलाषा पुरा भएपछि फेरी भोक लागेको अनुभुति भयो । बिहानको एघार बजेको पनि निक्कैबेर भइसकेको रहेछ । हिउँको रमिताले घडी हेर्न बिर्सिएर मात्र भोक थामिएको रहेछ । खाना पकाउन  हामीसँग पानी बाहेक सबैथोक थियो । अलिकति भएको पानी चटपटे खाएपछिको तिर्खा मेट्दैमा सकिएको थियो । अब हामी लामपोखरी भन्ने ठाउँमा पुगिएछ । तर भासमा फोहोर पानी जमाएर अस्तित्व संकटमा परेको हालतमा लुकिरहेको देखियो लामपोखरी ।  लामपोखरीको पानी न त झिक्न नै सकिन्थ्यो न प्रयोग गर्न मिल्ने नै थियो । यता सबैलाई भोकले निक्कै सताइसकेको थियो । गुफा पोखरी पुग्न अझै निक्कै समय लाग्ने उतैबाट फर्कदै गरेका दुई युवकले बताएपछि हामीले हिउँ पगालेर खाना पकाउने निर्णय गरियो ।
   सुयोगले सानो डेक्चिमा हिउँ बटुल्यो । मैले चुलो बनाएर सुकेका गुराँसका दाउरा भेला पारी डिजेलको सहयोगमा आगो जोरेँ । सुमीले खाना के-के र कसरी बनाउने भन्ने योजना बनाउँदै सब्जी कटिन् । बिहान किनेको रायो मिलेर केलायौँ । घरबाट ल्याएको घीउ बट्टा पग्लिनुजेल तताउँदा बल्ल थालमा झर्ने बन्यो । अचार , तोरीको गुन्द्रुक , आलु र रायोको साग खुव मज्जाले खाइयो । हिउँ पगालेर पानी समेत तताइयो ।चिसो भएकाले खाना उघाउने पुन्यौ नभए पनि स्टिलको गिलासले उगाउँदा हिजो जस्तो आफ्टेरो भएन ।  पृष्ठभूमिमा सेतो हिउँ भएको ठाउँमा बनभोज खाँदै गरेको रमाइलो क्षण मनको कुनामा बसिरहेको छ । धन्न कुकर लगेको हुँदा त्यो उचाइ र चिसोमा खाना पाक्न संवभ भएछ । खुल्ला भाँडामा त पानी पग्ल्यो मात्र उम्लिएन !  यस्तो जाडामा पनि सुमी र सुयोगलाई मोही खान मन लाग्यो रे ! मैले सोचेँ यिनीहरुको तन , मन र ब्यवहार नै साकारी भएर त्यस्तो भएको होला । जस्ले सानैदेखी जे धेरै खान्छ त्यसैमा त उस्को बानी पनि बस्दो होला नि,हैन ?  निक्कै चिसो हावा चल्न थाल्यो । पकाएका भाँडाकुँडा यसो पुछेर झोलामा हालियो । थाल र चम्ची चाहिँ  प्रयोग गरेपछि मिल्क्याउने खालका थिए । एक डल्लो हिउँ चुलोमा हलिदिएर हामी बाटो लागियो । 
     हैट ! उडाउला जस्तो बतास चल्यो । चिसो डरलाग्दो महशुस भयो । बाटो हिउँले सेताम्बे थियो । कता कता हिँडनै गाह्रो पर्ने चिप्लो बाटो भेटियो । ढिलो खाना खाएपछि लाग्ने अल्छि समेत थपियो र यात्राको गती मन्द बन्यो । तर सुयोग कुदन छोडेन । कहिले हिउँको डल्लो बोकेर हिँड्छ , कहिले टोकेर ! बेला-बेला हिउँको डल्लोलाई भकुण्डो हानेजस्तो लात्तले दिन्छ , कहिले हामीलाई पनि हान्छ । उसले गरेको रमाइलो देखेर हाम्रो अल्छि पनि भाग्दै गयो ।  फोटो खिच्दै र रमाउँदै अघि  लम्किरह्यौँ  । यो बिचमा मित्र हेम भण्डारीले फोन गरेपनि चिसोले राम्ररी बोल्न सकिएन । जति गुफा पोखरी तर्फ बडियो उति हावाको बेग र चिसो बड्दै गयो । आकाश पनि बादलले ढाकियो तर पानी पर्ने बेलामा जस्तो अँध्यारो नभएर उज्यालो थियो । हिउँ परेर कुट्छ भन्ने डर मनमा आएपनि उनीहरुलाई नसुनाई सकेसम्म छिटो हिँड्ने -हिँडाउने प्रयासमा लागेँ ।
     बल्ल हामी साढे एक बजे गुफा पोखरी पुग्यौँ । हुस्सुको घुम्टोमा लुकेर गुफा पोखरीले हाम्रो स्वागत गर्‍यो । सधैं पोखरीमा डुबुल्की मार्ने  मेन्छ्याम  डाँडो हिउँले कठाङ्रिएर होला अल्लगै सेतो कपासको पवनदार दोसल्ला ओडेर ठडिइरहेको देखिन्थ्यो । मेन्छ्याम  र पोखरीले लजाए जस्तो गरेर हुस्सुको घुम्टोबाट हामीलाई हेर्दै -छोपैँदै गरे । खपिनस्कनु चिसो हुन थालेकाले हत्तार हत्तार केही फोटो खिचेर हामी गुफा बजार पसियो ।त्यहाँ एउटा होट्लमा चिया खाइयो ।होटलकी बहिनीले हिजो भन्दा आज धेरै हिउँ पर्ने संभावना   रहेको बताइन । नानीलाई एक ग्लास दूध दिन पनि उनले अस्विकार गर्दै भनिन् ''अझै हिउँ पर्‍यो भने भोलिदेखि चियामा खाने दूध पनि हुँदैन । बाटो हिउँले छोपेपछि माथिबाट दूध लिएर आउनेहरु पनि रोकिन्छन । चियामै अलिक धेरै दूध हलिदिन्छु ।''   हामीले आज त्यहीँ बास बस्ने कुरा गर्‍यौँ तर हिउँ परेर बाटो छोपियो भने अरु केही दिन  रोकिनुपर्ने उनीहरुले बताए । उनीहरुकै सल्लाह अनुसार हामी मीठो छुर्पी टोक्दै  आज नुनढाकी सम्म पुग्ने लक्ष्य बोकी झटपट हिँडियो ।
      होटलबाट निस्किएको केही बेरमै   हिउँ पर्न थाल्यो । नजिकैको सुके बजारमा अघिल्लो पटक बास बसेको घरसम्म पुगियो  । त्यही घरमा बस्ने हाम्रो योजना बन्यो । तर उक्त घरमा कोही रहेनछन् । एकैछिनमा कोही आउलान् भनेर पेटिमा ओतिएर बस्यौँ । मज्जाले हिउँ पर्‍यो तर केटाकेटी  बहिरै कुदी खेल्दै थिए । अघिको घाममा बसेर गलैँचा र पाखी बुन्नेहरु अहिले हिउँमा भिज्दै तानमा धागो चलाइरहेका थिए । हिउँले सेकिएर डडेको एउटा  केटोको अनुहार देखेर सुयोगले के भएको भन्ने जिज्ञासा राख्यो । मैले चिसोले खाएको कुरो गर्दा उस्ले पत्याएन र केटो भएकोतिरै सोध्न गयो । हामीले भिजिन्छ भनेर रोक्नै भ्याएनौ । तर ऊ फर्कदा ओभानै थियो । अनि मात्र हिउँले नभिजाउने रहेछ भन्ने पत्ता लाग्यो ! हामी रमाउँदै अघि बड्यौँ ।  हिन्दूहरुले भगवानको तस्वीर वा मूर्तिमा फूलका पत्रले पूजा गरेझै हल्का गरी कपडा र शरीरमा छोएर खस्दो रहेछ हिउँ । मैले आफूलाई भगवान र प्रकृतिलाई पूजारी पनि ठानेछुँ ! हत्तपत्त सुधारेँ र आफूलाई जन्ती ठानेँ जहाँ कसैले हामीलाई सेतो अक्षताले पर्सिदै थियो । वा !! त्यो आनन्दको वर्णन म गर्नै सक्दिनँ । हामी चिच्याउँदै र खुशिले उफ्रँदै ओरालो झर्न थाल्यौँ । कतै भिडियो र कतै फोटो खिच्दै -ओरालिँदै गर्न थालियो ।
    हिउँ पगालेर खाएको बनभोजको शक्तिले छोड्दै जान थाल्यो । हामी जति तल झर्न थाल्यौँ सूर्य पनि बादलमा लुकेर त्यो भन्दा छिटो कुदेछ । अघिको हिउँ अब पानी बनेर भिजाउन थाल्यो । नजिकै गाउँ पनि थिएन । मालिङ्गो घारीको अल्छिलाग्दो बाटोमा  सिमसिमे हिउँदे झरीले रुझ्दै हिँडियो । नुनढाकीको शिरमा आएपछि यस अघि आउँदा खाना खाएको होटलमा फोन गरेर सुत्ने व्यवस्थाबारे सोधपूछ गरियो । अब झमक्कै साँझ पर्‍यो।  थकित भए पनि अगाडि बड्नु नै थियो । अरुतिर बस्न पनि मन लागेन । चिनेको ठाउँमा पुग्न निक्कै कठिन भयो । टर्च बालेर हिँडियो । अब पन्ध्र मिनेट , अब चाहिँ साँच्चै बीस मिनेट भनेर ढाँट्दै राती साढे सात बजे टुङ्गामा ल्याइपुर्‍याएँ । मैले होटलमै पकाएको मासु खाना खाएँ तर उनीहरु मासु मिसावट हुन्छ भन्ने घीनले होटलको खानेकुरा नखाने हुँदा आँफै पकाइदिएँ । शुरुमा होम स्टे जस्तो चलाएर बस्ने लिम्बु थरका साहु-साहुनीले बाहुनले पकाएको मात्र खाने मान्छे रहेछन भन्ने बुझेछ्न् । आफ्नै घरमा आएर जातिय विभेद गरेकोमा उनीहरुलाई दु:ख लागेछ । मैले उनीहरुको धेरै पुस्ताले मासु नखाएको हुँदा त्यो सँग मात्र घिन लाग्ने तर जातभातको मतलव नगर्ने कुरा बताएपछि छ्क्क परे । आफूलाई भेदभाव गरेको होइन रहेछ भन्ने बुझेपछि उनीहरु खुशी भए । आफ्नै चुलोमा दाउरा घचेट्न डर मानिरहेका उनीहरुले प्याज काट्न, लसुन केलाउन आदी सघाइदिए । सुमी धेरै गलेकी हुँदा भान्सामा आउन समेत सकिनन् । उनीहरुलाई सुत्ने कोठामै खाना लगिदिएँ । मलाई पकाउने झन्झट हुन्छ भन्ने ठानेर एकैछिन अघि भोक नै नलागेको बताउने उनले मजाले खाना रुचाइन् । बाबुले पनि घीउसँग लछेप्रो पारेर खूव खायो ।एक एक चक्की औषधी सेवन गरेर हामी मस्त सुतियो ।
    भोलिपल्ट बिहान पुरै उज्यालो भएपछि उठियो । पाउडर दूध हालेको चिया पिएर फेरी यात्रा शुरु गरियो । बाटामा झरेका मेल टिपेर टोक्दै र झोलामा बोक्दै पिलुवा खोलातर्फ झरियो । हामी बास बसेको ठाउँमा चैनपुर जाने दुई लेण्डलोभर पनि थिए तर हामी पैदल यात्रामै रमाउन चाहन्थ्यौँ ।  पिलुवा र टुपुवा खोलाको झोलुङ्गे पुलमा रमाउँदै कच्ची नयाँ मोटर बाटोमा अघी बडियो । त्यो बाटामा ताङलेवा भन्ने निक्कै सुन्दर झरना भेटिन्थ्यो तर त्यहाँ नपुग्दै अर्कै सुक्न लागेको झरना नै ताङ्लेवा हो भनेर उनीहरुलाई ढाँटिदिएँ । उनीहरु हस्रक्क परे । निक्कै बेरपछि वास्तबिक ताङ्लेवा भेटिँदा उनीहरु धेरै रमाए । निक्कैबेर खेलियो सुन्दर झरनासँग र बाटो लागियो । निक्कै गलेर चैनपुरको पोखरी बजारमा आइपुगेर खाजा खायौँ । निवासमा आइपुग्दा तीन बजिसकेको थियो । गलेर फतक्क हुँदा पनि लामपोखरीको गुराँस घारीमा हिउँ पगालेर खाएको बनभोजको रमाइलो यादले दुखेको जीउमा  मलमको काम गरेजस्तै लागिरहेको थियो ।    

Comments