Skip to main content

चुहुँदो झरीमा चुलीतिर

                                  चुहुँदो झरीमा चुलीतिर

            सुन्दै कहाली लागेको यात्रा  पनि रहरले गरियो। धन्न यस्तो जोखिमपूर्ण रहर उब्जिएछ र देख्न पाएँ प्रकृतिको त्यो बिराट रूप अनि लेख्न पाएँ यो नियात्रा। समुद्र सतहबाट पाँच हजार मिटरको नजिकसम्म गरिएको यो यात्रा दिनको एघार घन्टाको दरले जम्मा पचपन्न घण्टा हिँडेर पुरा गरियो। बाटामा पाइएका अनन्त झमेला पनि सभापोखरीको सुरम्यताले यतिखेर मेटिइसक्यो र बाँकि रहेको छ केवल सो पोखरीको  शुद्ध-सङ्गलो पानीजस्तै  कन्चन याद।  लेख्दैछु हिमाली जिल्ला संखुवासभाको  अत्यान्तै सुन्दर पोखरीले दिएका  तिनै मायालु यादहरु।
     
           हिमालको फेदबाट निस्किएर जमेको सभापोखरीमा पुगेर फर्कने मानिसहरुका रोमाञ्चक गफ सुनेर मलाई पनि सो ठाउँमा पुग्ने रहर पहिलैदेखि नै उब्जेको थियो । जागिरको शिलशिलामा चैनपुर पुगेकै दिनदेखि मैले सो पोखरीको बारेमा सुनेँ अनि रहरको बिरुवा हुर्काउँदै रहेँ । चिनेजानेका केही समूह त्यता गए तर मलाई पनि जाउँ भन्ने कोहि भएन । मैले पनि जान्छु भनेर कसैसँग भन्न सकिनँ। यस्तैमा दुई वर्ष बित्यो।  बल्ल बि. स. २०७३ को श्रावण २४ गते त्यतातिरको यात्रा शुभारम्भ गरियो।
         लगभग कार्तिक शुरु  देखि बैसाख अन्त्यसम्म प्राय हिउँले ढाकिने त्यो क्षेत्रमा हिन्दुहरु जनै पूर्णिमाका दिन पुग्ने धर्मिक प्रचलन छ। गैर तागाधारीहरु चाहिँ  श्रावण - भाद्रको कुनै दिन त्यहाँ पुग्ने र दीप प्रज्वलन गर्नसके चिताएको पुग्ने विस्वास गर्छन् । जसको जस्तो आस्था भएपनि  प्राकृतिक सुन्दरता र विराटता हेर्न धेरै पदयात्री हरेक बर्षायाममा त्यहाँ पुग्दछन्। शुरुमा हाम्रो पनि जनै पूर्णिमाकै दिन त्यहाँ पुग्नेगरी सल्लाह भयो। हामी त्यता जाने कुरो  चैनपुर बजारभरि भुसको आगोजस्तै फ़ैलिएछ। धेरैले यसबारे सोध्न थाले।  सँगै जाने रहर गर्न थाले। हुन्छ भनौँ भने अघिको  समूहमा उस्तै प्रकृतिका मात्र जाने भन्ने वाचा बाँधिसकेको , हुँदैन भन्दा  अहिले मिसिन आउने व्यक्ति वा समूहलाई कुभावना राखेको जस्तो हुने । हामी धर्म संकटमा पर्‍यौँ  । हुँदा -हुँदा संखुवासभा जिल्ला आदालताका तत्कालिन न्यायधिश समेतको जम्बो टोली बन्ने कुरा चल्यो। हाम्रो त सामान्य ब्यक्तिहरुको लुरे टोली थियो। जे खाए पनि पच्ने , जे बोले पनि हुने। उच्च पदस्त कर्मचारीसँग औपचारिक कुरा गर्दै  हिंड्न रमाइलो नहुने अनि खानपान पनि नमिल्ने निष्कर्ष निस्किएपछि निर्धारित समयभन्दा अघि नै चार जनाको सानो टोलि गोप्य रुपमा हिड्ने सल्लाह मिल्यो।
      म पनि पार्ट टायम शिक्षण गर्ने हुँदा उक्त टोलीमा हामी सबै स्थानीय दुई संस्थागत स्कूलका माध्यमिक तहका शिक्षक थियौँ। उमेरमा सबैभन्दा जेठो म थिएँ। अरु सबै  साथीहरु तीस बर्षभन्दा कम उमेरका थिए। सुरेश रिमाल र म विवाहित थियौ। गजलकार जयराम सुनामी संखुवासभाकै वानाका मित्र हुन्। ऋषी पोख्रेल चर्चित संखुवासभाली गाउँ मादी नगरपालिकामा जन्मे -हुर्केका साथि हुन्। माथि चर्चा गरिएका सुरेशजीको त घर चैनापुरकै जिरो प्वाइन्टमा छ। यसरी हेर्दा म मात्र टाढाको यात्री थिएँ , अरु सबै आफ्नै जिल्ल्काको भ्रमणमा थिए। तर सबैको लागि यो यात्रा पहिलो नै थियो। लेकाली पदयात्रा भएकाले  पूर्वतयारीमा योजना बनाएरै लाग्यौ हामी।
       के -के कति कति परिमाणमा चाहिन्छ भन्ने निस्कर्ष निस्केपछि किनमेल गरियो। सबैलाई बराबर पर्ने गरी भाग लगाउने , कुन समान कसको झोलामा छ भन्ने छिट्टो पत्ता लगाउन बर्णानुक्रम मिलाइएको लिस्ट तयार पार्ने अनि किन्न नपाइने वा धेरै मूल्य पर्ने तर नभई नहुने सामग्री खोज्ने काम गर्न धेरै समय लाग्यो। खुकुरी , स्लीपिंग ब्याग आदि नभइ नहुने तर किनिहाल्न पनि अलिक दाम पर्ने सामग्री थिए। केदार घिमिरे उर्फ 'माग्ने बुडा' ले भनेजस्तै मागेर काम चलाउने बानि राम्रो त हैन तर नमागी नहुने अवस्था परेको थियो किनकी हामीले सकेसम्म  थोरै लागतमा यात्रा गर्ने बिचार गरेका थियौँ ।समयले 'तँ चिता म पुर्‍याउँछु '  भन्छ  भन्थे हो नै रहेछ जस्तै भयो। शसस्त्र प्रहरीबल , अरुण गुल्मका साथि बिनोद कट्टेलले हामीलाई चार थान स्ल्पिंग ब्याग यात्रा अवधिभरका लागि मिलाइदिनुभयो। उता जयरामजीले खाना खाने होटलका मालिक गायत्रप्रकाश पौडेलले एउटा अत्यान्तै लगाहा खुकुरी  उपलब्ध गराइदिए। सुरेशजीले पनि अर्को खुकुरी ल्याउनुभयो।  हामीले औषधि , कोल्ड तथा हार्ड ड्रिङ्क , ओडने तथा झोला ओताउने प्लाष्टिक ,सुत्दा ओछ्याउने म्याट , एक माना अकबरे ,दुई माना तोरीको गुन्द्रुक , आधा किलो अदुवा , मकै र भटमास भुटेर आदि सामाग्री तयार गरियो । ऋषीकी हजुरआमाले बिराटनगरबाट नातिलाई खाजा भनेर पठाइदिएको एक बट्टा सातु तथा उनकै आमाले मादिमा बनाएको अकबरे  र टिमुरको अचार बोक्ने निधो गरियो। चार किलो चामल , एक किलो चिनी , अन्तुको अर्थोडक्स चिया , अलिकति प्याज , अजिना ,  खाजामा खाने चिउरा , भुजिया , प्याक माछा ,आगो सल्काउने डिजेल , टर्च लाइटहरू तथा तिनका ब्याट्री , लगाउने लुगाहरु हाल्दा हाम्रा झोला साँझमा चरनबाट फर्किदै गरेकी घोर्ली बाख्राको पेटजस्तै देखिए । अझै कुकर , स्टीलको सानो डेक्ची , पुन्यु , खाने-पिउने प्लास्टिकका थाल र गिलास हाल्नै बाँकी थियो ।  बिहान तीन बजे बजारमा कोही नउठी डाँडा काट्ने हाम्रो लक्ष्य भारी राम्रोसँग मिलाउन नसकेर  उत्तिकै अल्मलिएको थियो। जसोतसो साढे चार बजे नेपाल टेलिकम चैनपुरको पछाडि रहेको हाम्रो आवासबाट एउटा लर्को बाहिर निस्कियो। हिंड्ने बेलामा सुमीले शुभयात्रा भन्दै एउटा फोटो खिचिदिइन्।  सधै आठ बजे उठ्ने सुयोग पनि आँखा मिच्दै आएर बिदाइमा साना हात हल्लायो । यसरी हाम्रो यात्रा श्रीगणेश भयो। हामी ठूलो टोलीमा जानको डरले भागेका हुनाले कसैलाई सुँइको नदिई चैनपुर काट्न चाहन्थ्यौ र भयो पनि त्यस्तै। तर मिल्ने साथि बृहस्पति गौतम  लगायतका छोडिएकाहरुको यादले मलाई अलिक सतायो।

उज्यालो नभई भ्यागुत्ते ढुङ्गालाई ढोग्दै सिद्धकाली मन्दिरतर्फ अघि बडियो। ठिक मन्दिर परिसरबाट इलामको अन्तुमा बस्ने मेरी आमालाई फोन गरेँ। उहाँलाई जन्मदिनको शुभकामना दिएँ । वि सं २०१८ मा मेरी आमाको जन्म आजकै दिन इलामको इरौंटार स्थित देवानछापमा भएको रहेछ। मैले पुण्य भुमी देवानछाप , मेरी आमा र सोहि स्थानमा जन्मेका भाषाशास्त्री महानन्द सापकोटालाई एकसाथ सम्झिएँ। सिद्धकालीमा बाहिरैबाट ढोग चढाएर हामी विविध गफमा भुल्दै उकालो लाग्यौं। मौसम केही सफा देखिन्थ्यो। उज्यालो हुँदा हामी दलापेको एउटा दोकानमा नास्ता खान बस्यौं। शेर्पिनी दिदीले अण्डा मिसेको चाउचाउ र मिठो निगार नास्तामा उपलब्ध गराईन्। निगारको राप , हिँडाइको ताप र एघार किलो झोलाको चापले साथीहरुको अनुहार अनि झुल्कनासाथको सुर्य किरणले हाम्रो  देब्रे पट्टि देखिएको मकालुको अनुहार लगभग उस्तै देखिन्थ्यो। हामी उकालिदै थियौँ , समुद्र सतहबाट करिब १२५० मिटरबाट शुरु भएको हाम्रो यात्रा यतिबेला त्यस्तै १४०० मिटरमा पुगेको हुँदो हो। अलिक चिसो हुनुपर्नेमा यात्राको जोस र मदहोसले गर्मी  महसुस गरिएको थियो। नजिकैको पोखरी बजारमा चुरोट , चाउचाउ , चुइगम  र अलिकति चकलेट किनेर उकालो लाग्यौँ।

पहिलो ठाडो उकालो भएर होला मलाई सारै कठिन भयो। अरुलाई सुनाउँ भने यत्रो बाटो हिंड्न तम्सेको मलाई सुरुमै यो हालमा देख्दा के भन्लान् जस्तो लागेर कछुवाको गतिमा हिँड्दै रहेँ। एकछिन पछि अलिक बानि भयो ,मेरो पनि गति बढ्यो। त्यहि उकालामा माथिबाट आउने एक बृद्ध महिला र युवकसँग गफ भयो।  उनीहरु हिले भन्ने ठाउँबाट आएका भन्थे। आज हामी धापसम्म पुग्छौं भन्ने अनुमान लगाएर उनीहरु ओरालो झरे , हामी आकासियौँ। हाम्रो टोलीले एउटा बाँसलाई आधा चिरेर बनाएको ठूलो धारो भेट्यो। एकछिन् पानीमा रमाइलो  गरियो। अनुहारको पसिना पखालियो। उत्तिस घारीको बिचमा रहेको त्यो धाराको वरिपरि रोगले नासिएको अलैँचीको चिहान देखिन्थ्यो। मैले त्यही चिहानमा देखेँ गरिव किसान , लुते मेरो देश अनि काठमान्डौंमा पानीभित्र आलुखेती सफल भयो भनेर भुकिरहेको भुसतिघ्रे कृषि अनुसन्धान परिसद। त्यस्ता खर्चालु अनुसन्धान यस्ता समस्याग्रस्त खेतीमा केन्द्रित गरिदिए पक्कै केही प्रतिफल हुनेथियो।  आलु रोप्न त् हाम्रो देसको यत्रो भुभाग खालि नै छँदैछ नि , किन पानीमा रोप्ने अनुसन्धानमा समय , सीप र पैसा खर्च गर्नु ? यही खालि बारीले सम्झायो आफ्नो इलामेली गाउँघर जहाँ यसरी नै नासिए ठूला -ठूला अलैँची बगान।

उकालो यात्रा फेरी शुरु भयो। झुक्किएको बाटो एकजना युवकले चिनाइदिएर ठूलो गुन लगाए। अब हामी पाकेको घँगरु टिपेर खाँदै अघि बड्न थाल्यौँ। मयुम भन्ने गाउँको सबैभन्दा माथिल्लो घरमा पुगेपछि खाजा खाने सल्लाह गरियो। किनकी यसपछि केवल जङ्गल मात्र देखिन्थ्यो। आफुसँग बोकेको खाना पछिलाई जोगाउने उद्देश्य राखी घरको छेउमा बसेका मानिसलाई लक्षित गरी मैले कराएर सोधेँ -''ए दाजु तपाईँकोमा  खाजा किन्न  पाइन्छ ?'' फरररर फर्फराइरहेको लुङदरको आवाजमा मिसाएर उनले ''पाइन्छ-पाइन्छ !'' भनेर कराउँदै हामीलाई हातले  आउनु भन्ने  इसारा गरे। त्यो घर शेर्पाको रहेछ । शेर्पा दाइले सभापोखरी जाने बाटोको बारेमा निक्कै जानकारी दिए। शेर्पेनी भाउजु त हाम्रो लागि आल्मुनियमको बटुकामा भरी -भरी निगार पो बोकेर आइछिन् ! उनीहरु त निगारलाई नै खाजा भन्छन अरे। अरुथोक खानेकुरो त केही पनि छैन भन्न थाले। हामीले पनि देस अनुसारको भेष भन्ने सोचेर खाजा ग्रहण गर्‍यौँ । कसैले दुई बटुका अनि कसैले डेढ बटुका मकैको बाक्लो निगार खाइयो। शेर्पा दाईका अनुसार त्यो निगार दुई बर्षजति पुरानो हो अरे । खाँदा मिठो थियो र हाम्रो भोक-प्यास पनि मेटियो। म त्यो बेला चैनपुरको नयाँ एफ एम ''रेडियो अरुण ,१०७. १ MHz''  मा बुडापाकाको कार्यक्रम ''कुरा पुराना '' चलाउँथेँ। साथीहरुले शेर्पा बुडा-बुडीलाई सो कुरो सुनाए।  उनीहरुले आफ्नो पनि कुरा रेडियोबाट सुनाइदिन अनुरोध गरे। मित्र जयराम पनि सो रेडियोमा प्राविधिक हुनाले हामीले पछि आउने बाचा गरेर त्यहाँबाट अघि लाग्यौँ  शेर्पा परिवारले हात हल्लाएको देखेर लुङदरले पनि उसरी नै हल्लिएर हामीलाई विदाईको स्वीकृति दियो।
निगार खुवाउने शेर्पा-शेर्पेनी 
घँगरु टिप्दै हामी

अब ठूला-ठूला चौर देखिए।  हामी रौसिएर फोटो खिच्दै उकालियौँ । हाम्रा बुढी औला भन्दा ठूला जुका चारैतिरबाट हामीलाई हमला गर्न थाले।  यता टिप्यो उताबाट अर्को टाँसिइहाल्ने ! बसेर टिपिरहनु हो भने पनि सबै टिप्न नभ्याउने जुकाघारीमा पुगिएछ।  आत्तिएर कुदियो।  कति टिपियो , कतिलाई रक्तदान गरियो ।  सकेसम्म यो जुकाघारी छिटो कट्ने सल्लाहा भयो। लेकाली जङ्गल , त्यै पनि बर्षायाम। चिप्लो अनि झोडी। अब त जुका सबैका टाउकामा पो सल्बालाउन थाले ! किन यस्तो भनेर अनुसन्धान गरेको त , रुखबाट पो झर्दा रहेछन् ! पानी नपरे पनि छाता ओडेर जुकाबाट बच्ने बुद्धी निकालियो । टाउकामा छले पनि खुट्टाबाट चढेका थुप्रैले हामी सबैको रगत चुसे। अर्काको छाताभरि जुकै -जुका स्याउँ -स्याउँ देखेको दृश्य सम्झदा आज पनि आङ नै जिरिङ्ग हुन्छ। भोकले सलबलाएका ती असङ्ख्य जुकाहरुको चर्तिकला हेर्दा बर्तमान नेपाली राजनीतिको सम्झना आयो। जसले भेट्छ, सकेसम्म चुस्ने यी जुकाको नीति हाम्रा नेतासँग दुरुस्तै मिल्दैन त ?
ठुलो चौरीमा रमाइलो गर्दै हामी ।

अब त बाटो पनि बेला-बेला भेटिने , बेला-बेला हराउने हुन थाल्यो। जंगल झन बाक्लो हुँदै गयो। भालु लगायतका जनावरको डर होला भनेर सबैका लागि मित्र ऋषीले असारेको लौरो बनाए। बाटो चिनियोस्  भनेर रुखका बोक्रा तासेर हिंड्ने चलन रहेछ। हाम्रो टोलीको खुकुरी बोक्ने साथी ऋषीले पनि दर्जनौँ ठाउँमा पछि आउने टोलीलाई पथ प्र्दर्शनका लागि फुर्तिसाथ चिन्ह लगाउँदै हिँडे। हामी अघि जाने कुनै टोलीले प्लास्टिक लेमिनेसन गरेर धेरै ठाउँमा बाटोको जानकारी दिँदै कागजी साइनबोर्ड रुखमा टाँस्दै हिँडेको पाइयो। हामीले त्यो टोलीलाई धेरै धन्यवाद दियौँ। यस्तो अनकन्टारमा बाटो देखाइदिने ती मनिस वा समूहको नाम-ठेगाना चाहिँ थिएन। यसरी निस्वार्थी भई गरिएको यस्तो पुनित कामको हामीले निक्कै चर्चा गरियो। अब त दिनको एक बज्न लागिसकेको थियो। सबैलाई भोक लागेर गति घटेको थियो।  हामी थामपोखारी भन्ने ठाउँमा पुगिएछ। तर पोखरी कता थियो , देखिएन। एउटा डाँडाको टुप्पामा आइपुगिएछ। अब  बाटो अलिक तेर्सो थियो। कुहिरो लागेर केही दृष्य नदेखिने मौसम थियो। बेला-बेला स्यार्र पानी समेत परिहाल्थ्यो। बिहान नौ बजेतिर शेर्पा परिवारलाई भेटेपछि यत्रो लामो बाटामा अरु मनिस नै भेटिएका थिएनन्। बल्ल सुकेर लडेको लामो रुखमा दुईजना बुडा बसिरहेका भेटिए। उनीहरुले हामी अब एकै छिनमा धाप भन्ने ठाउँमा पुगेर गोठमा खाना पकाउन सक्ने जानकारी दिए। कुहिरामा बाटो खोज्दै सिम-सिमे पानीमा हामी बाटो नामको रेखोमा अघि बडिरहयौँ। कुहिराले सबै छोपेको हुँदा गोठ नदेखेर अघि बडियो भने खान पाइदैन भन्ने चिन्ताले हामी कराउन थाल्यौँ -''ए है ! कता हो ? कता ??''  कुहिरोमा देब्रेतिरबाट आवाज आयो -''यता हो है , यता। '' अहा!! आफन्तले बोलेको जस्तै लाग्यो। नत्र नचिनेकाले नदेखी बोलाउँदा किन उत्तर दिनु ? वास्तबिक मानबता खोज्न त यस्तो बिकट क्षेत्रमा पो जानुपर्ने रहेछ। विकासले भरिपूर्ण शहरमा वल्लो कोठाको मान्छे पल्लो कोठामा बस्नेसँग बोल्दैन। यहाँ त देख्दै नदेखी आवजको भरमा मान्छेले मान्छेलाई सहयोग गर्दो रहेछ ! हामी त्यो आवाजलाई पछ्याउँदै ओरालो झर्‍यौँ। अलिक सम्म ठाउँमा थुप्रै गोठहरू रहेछन। हामीलाई आवाजले साथ दिने खगेन्द्र बानियाँ नामका मित्र हाम्रो प्रतिक्षामा रहेछन्। भेट हुनसाथ मुस्कानले स्वागत गरे। उनको गोठमा लगे। भारमा सुकाएर राखेको दाउरा मसिनो गरी खुर्किएर आगो जोरे। ठूला -ठूला मुडा जोतेर काँचा दाउरा समेत मिसी आगो बालिदिए। हामीले एक कुकर भात र उनकै कन्तिमा गुन्द्रुक पकाएर भोकको भारी बिसायौँ। हाम्रो अनुरोधलाई नकारेका उनले निक्कै जोड गरेपछि मात्र हामीसँग खान खाए । ''धेरैजना सँगै  बसेर खाँदा कस्तो मिठो भयो। '' खगेन्द्रले एक्ले जीवनको निरासा बोले। निर्जन जङ्गलको बिचमा रहेका आ-आफ्ना गोठमा तीन -चार  केटाहरु पाँच-सात सय पशु हेरचाह गरेर बस्ने गरेको बुझियो । खगेन्द्रले एकछिन अघि भाइले गोठमा  भए जति दूध -घीउ घरतिर लागेको हुँदा हामीलाई निस्तो भात खुवाउनु परेकोमा ठूलो दुखमनाउ गरे। आफूलाई खान भनी राखेको दही हामीलाई खान अनुरोध गरे। लेकाली पानीले भिजेर जाडो भएको बेला दही खान सबै डराइयो। यसो चाखौँ भनेर भागको छेउमा हालेर खाएको त्यो दही  त फरक स्वादको मीठो रहेछ। अरुले त ज्वरो आउला भनेर अलिक कम खाए , मैले जे पर्ला भनेर निक्कै खाएँ। ज्वाईंलाई दूध -घीउ दिन नपाउँदा छटपटाएका ससुराजस्तै बने खगेन्द्र ! न चिनजान , न आफन्त , न त छिमेकी नै थियौँ हामी !! हामीलाई दूध र घीउ दिन नपाएकोमा उनी सारै चिन्तित बने र विदाइमा फर्कदा आउने निम्ता दिंदै एक -एक टुक्रा छुर्पी दिए। चारैतिरबाट जुकाको आक्रमणलाई झेल्दै हामी उकालियौँ। न फोन नै लाग्छ , न त रेडियो, टिभी वा कुनै  संचारको साधन नै छ। यस्तो  जीवन भोगिरहेका  खगेन्द्र र उनीजस्तै गोठालाहरुको जीवनको बारेमा छलफल गर्दै हाम्रो टोलि धापबाट  अघि बड्यो।
खगेन्द्र सहित साथीहरु खाना खाँदै
खगेन्द्रको गोठमा खाना पकाउँदै

उफ ! ठाडो उकालोमा गहक झोला बोकेर  खाने बित्तिकै हिंड्न हामीलाई पर्नु आपत पर्‍यो ।  दिनको साढे दुईभन्दा पनि माथि बजिसकेको थियो। कुहिरो लागेको बेला हामी गुराँस घारीको उकालोमा हिंड्न थालेदिएखि पानी दर्किन थाल्यो। चिप्लो माटो अनि नदेखिने बाटो। कहिले यता लाग्यो एकछिनमा गोहो भिरमा पुगेर सकिन्छ ! अब हामीले तीनवटा बाटो पत्ता लगाउने उपायलाई अँगाल्ने सल्लाह गरियो । प्रत्येक तीन-चार मिनेटमा  चाउचाउ , बिस्कुट , पराग वा चक्लेट आदिको  खोल भेटिएमा मात्र बाटो सही हुने , हामीभन्दा अघि जानेले रुखका बोक्रा वा कतै छोडी गएका चिन्ह भेटिएमा पनि बाटो सही मानिने र बाटो उकालो नै हुनुपर्ने किनकी जानु उँभो नै थियो। यो तरिकाले हामीलाई निक्कै काम दियो। अब पानी पर्न छोड्यो , आकास पनि अलिक सफा देखियो र हामी  पहेँलो  फुल्ने झारले ढाकिएको डाँडाको टुप्पामा पुग्यौँ। त्यहाँ  एउटा चित्रे गोठको भग्नावशेष थियो। ढुङ्गामा बसेर खाजा खाइयो । फोनको नेटवर्क आउने भएकाले सबैले आ-आफ्ना मान्छेलाई फोन गरियो। अलिक माथि गोठ भेटिएला भन्ने अनुमानित आशामा फेरी अर्को डाँडाको तुप्पोतिर उकालियौँ।
फुलै-फूलले ढाकिएको डाँडो 
 
घाम मधुरो भयो र ओझेल पर्‍यो तर गोठ भेटिएन। यसअघि जाने पदयात्रीले एक रात बिताएकोअलिक गहिरो समतल ठाउँमा बस्ने प्रस्ताव पनि आयो तर माथि गोठ भेटिएला भन्ने आश र जुकाको त्रासले मैले इन्कार गरेपछि टोलि उकालियो।जङ्गलको बिच भएकाले भालु पनि आउला भन्ने बारेमा मनमनै म सचेत थिएँ तर अरुसँग यो कुरो गर्दा भयको जय होला भनेर चुपचाप रहेँ । झमक्कै रात पर्‍यो तर गोठ भेटिएन। हामीले डाँडाको टुप्पामा पाल टाँगेर बस्ने निर्णय गर्‍यौँ। हत्तार-हत्तार गरेर गुराँसका घोचा काटियो , ओछ्याउने सेउला भेला परियो। डिजेल खन्याएर आगो जोरियो। ''अजिङ्गरको आहारा दैवले जुटाउँछ '' भने झै गत हिउँदमा डडेलो लागेर सुकेका गुराँसका बोट यत्रतत्र थिए। तिनलाई दाउराको रुपमा भक्कु प्रयोग गरियो। जसोतसो सुत्ने ठाउँको त प्रबन्ध गरियो तर खाना पकाउने पानी नभएकाले चाउचाउ ,चिउरा र भुजिया खाइयो। अघि बाटाको डोबिल्कामा उघाएको फोहोर पानी कुकरमा उमालेर औषधी निलियो र सुतियो। जुका आउलान् भनेर पालको वरिपरि नून छरियो। अरु जनावरबाट बच्न पालको वारोपरी छाता र सेउलाले बारियो। पाल उस्तो राम्रो नभएको हुँदा राति पानी परेर भिजाउला भन्ने डरले हामीले स्लिपिङ्ग ब्याग जतनसाथ प्लास्टिकको थैलामा छिराएर सुत्यौं तर यो आइडिया निस्कनु आघि नै सुरेश जी सुतिसक्नु भएको थियो। गलेका हामी राति एक बजेतिर ब्युँझदा आफुलाई लफक्कै भिजेको पायौँ। झटपट सबैजना उठियो। सुरेशजी बाहेक अरुका ओछ्यान लफक्कै भिजेछन्। कारण बुझ्दा स्लिपिङ्ग ब्यागलाई उसरी प्लास्टिकको थैलामा  पोको पारेकोले हाम्रै शरीरको पसिनाले भिजिएको रहेछ ! बिज्ञान पढेको भनेर के गर्नु यसरी परेर पो जानिने रहेछ। यस्तो चिसो थियो कि हामी धामी भयौँ। यस्तो जाडोमा भिजेको ओछ्यान ! अब बाहिर निस्किएर रमिता हेर्न थालियो। खै कता -कता हो बिजुली बत्ति बलेको देखिन्थ्यो। एउटा अग्लो डाँडामा बत्ति देखेर मैले तीनजुरे होला भनेँ , कसैले होला भने कसैले होइन भने।छलफल पछि मलाई पनि होइन रहेछ जस्तो लाग्यो। हामी सबैलाई कुन दिशा कता हो पत्ता भएन। आगो बाल्न खोजियो तर चिसोले दाउरा भिजेका देखिए। बेलुकी ज्वरो आयो भनेर आलस्य जस्ता देखिएका जयराम निक्कै चनाखो बनेर रमिता हेरिरहेका थिए। जाडोले झन कमायो। चिसो हावाले कुट्नु कुटेपछि हामी भिजेको ओछ्यानमा फर्कियौं र निदाउने प्रयासमा लाग्यौँ।
पहिलो दिन बास बसेको ठाउँमा बिहानीको खाना खाँदै साथीहरु । 

गलेर लखतरान शरीर हुनाले फेरि सबैजना निदाइएछ। अलि-अलि उज्यालो हुँदा ब्युँझियो। फात्तफुत्त बाहिर निस्किएर रमिता हेर्न थालियो। हैट !! हामी त भीरको टुप्पीमा पो सुतिएछ ! कुनै आत्तेस परेर भाग्नु पर्दा लडेर सय मिटर तल पुगिने ठाउँमा पाल टाँगिएछ। एकछिन डरायौँ । तर त्यो भिर बाहेक अन्य रमिता सुन्दर थिए।  हिजोको तीनजुरे भनिएको डाँडा सत्य सावित भयो। तल देखिएको चैनपुर पो रहेछ ! हामी समुद्र सतहबाट त्यै बत्तीस सय मिटर जति माथि आएको अड्कल गरियो। अब फ्रेस हुन जाने साथीहरु जयराम र ऋषीले सफा पानी भएको खोल्सो पनि नजिकै पत्ता लागाएछन्। आगो बालेर चिया पकाइयो। जाडोमा सुन्दर दृश्य हेर्दै मकालु हिमालसँग अन्तुको अर्थोडक्स चियाको चुस्की लिँदै फोटो खिचियो। अब खाना पनि त्यहीँ खाएर जाने निधो गरियो। भात र गुन्द्रुक पकाएर  टिमुर मिसाएको आकबरेको अचारसँग मजाले खाइयो। यसमाथि नाङ्गा डाँडा देखिएकाले भरेलाई समेत एक-एक बिटो दाउरा बोकेर  टोलि उकालियो। केहि माथि पुगेपछि एउटा चौतारोमा लेखेको देखेर थाहा भयो कि यो ठाउँको नाम जडिबुटे रहेछ। उकालो , खानेबित्तिकैको यात्रा , भारी अनि घाम समेत लागेको हुँदा  हाम्रो गति कछुवाको बन्यो।  बल्ल -बल्ल त्यो उकालो सकियो अनि पुगियो रुख -विरुवा केही पनि नभएको तर पहेंलो फुलेको झारले ढपक्क ढाकिएको सुन्दर ठाउँ। सबैजना रमाएर उफ्रन थालिएछ। उफ्रेर धित नमरी हामी अघि बडियो। एउटा मात्र याक भएको गोठ भेटियो तर मान्छे थिएनन्। हामीले यहाँ एकछिन बाटो पनि बिराएँछौँ तर नागीमा हिंड्न रमाइलो नै भयो। पछि फेरी बाटो भेटियो।
यस्तो सुन्दर ठाउँमा भुलियो बाटो !

अब हामी दोबाटे भन्ने ठाउँमा पुगिएछ।  चौतारीमा आराम गरिरहेका ताप्लेजुङ्गका बृद्ध लिम्बु जोडी भेटिए। उनीहरु हाम्रो गन्तब्य सभापोखरी पुगेर फर्किएका रहेछन्। यो तिनीहरुको चौथो पटकको सफल यात्रा भनेर सुनाए। मैले मनमनै यो एक पटक पुरा गर्नै यस्तो दुख छ , के भनेर पटक पटक गएका होलान्  भन्ने ठानेँ।  ती परुहाङ्ग र सुम्निमा जस्ता लाग्ने पदयात्रीले हामीलाई बाटोको बारेमा राम्रो जानकारी दिए।हामीलाई दाउरा यतै फ्याँक्न सल्लहा दिए। हातका औँला फराकिलो परेर देखाउँदै परुहाङ्गले अबको बाटो त्यस्तै रहेको सुनाए। चुलीमा पुग्ने फेरि खोलिमा झरेर फेरि उकालिनुपर्ने ! अब त उकालो सकियो होला भनेको त उनीहरुले शुरु भएको पो सङ्केत गरे। हामी आत्तिएर अगाडि बढ्यौं। बाटामा ती मानिसहरुको धार्मिक आस्था ठूलो भएकैले यात्रा दोर्‍याएको भन्ने हाम्रो निस्कर्ष निस्कियो। यत्तिकैमा एक हुल चौँरी चराउँदै गरेका दुई बालक भेटिए। उनीहरुलाई हामीले स्कूल जादैनौ ? भन्ने प्रश्न सोध्यौँ। तिनीहरुले स्कूल भनेको के हो भनेर हामीलाई पतिप्रश्न गरे ! चौँरीसँग फोटो खिचौँ भन्दैमा कुहिरोले छोपिहाल्यो। अनि हामी गीत गाउँदै उकालो लाग्यौँ -

लेकका हामी केटाकेटी, कुहिरो भित्र स्कूल छ
चौरीलाई चराउँदै दिन बित्छ ,पढ्न र लेख्न मुस्किल छ।


त्यै स्कूल पनि गीतमा मात्र रहेछ ! यतातिर हामीले स्कूल देखेनौँ ।  उनीहरु साहुको गोठालो बनेर गर्मीमा यी डाँडा र जाडोमा तल बेंसी झर्दा रहेछन्।

अब फेरी उकालो शुरु भयो। एकदमै अफ्ठेरो बाटोमा धनकुटाबाट सभापोखरी हिँडेको आठ -नौ जनाको टोलि खच्चड भन्दा छिटो अघि बड्यो । यो टोलीका केही व्यक्ति गत बैशाखमा पनि खुकुरीले हिउँ काट्दै  सभापोखरीको यात्रामा गएको तर थुम्की भन्ने ठाउँभन्दा उँभो जान नसकेको रोचक कथा सुनाएर अघि लाग्यो। हामीले थुम्की भन्ने निक्कै अग्लो ठाउँ हाम्रो यात्रामा भेटिने बुझ्यौँ। उकालो आएपछि सबैभन्दा पछि छोडिने म नै हुन्थेँ। स्वास बढेर हुरुक्क हुन्थ्यो। मुटुको ढुकढुकी यतिसम्म बढ्थ्यो कि अब यो मुखबाट नै फुत्तै निस्किन खोज्दैछ ! यत्तिकैमा हिले भन्ने ठाउँ पुगिएछ।त्यहाँ गोठ बनाएर भोक लागेपछि जाँड पिउँदै  गरेका तीन शेर्पा भेटिए। उनीहरुले गिद्धे भन्ने ठाउँमा आफ्नो सुविधासम्पन्न गोठ भएको बताए। त्यो भन्दा आघि नै एउटा पाटीमा पनि मान्छे बस्नसक्ने सुनाए। हामी अब ओरालो लागियो। त्यसपछि यस्तो पानी दर्कियो कि हाम्रो सबै गफ बन्द भयो , गति पनि मन्द भयो। पानीले भिजेका हात -खुट्टा ठिहिर्‍याएर खपिनसक्नु हुने तर भारी र यात्राको कारण शरीरमा पसीना आएर उस्तै अचम्म ! पानीले अति गरेपछि प्लास्टिकको दोहोरो पत्रभित्र पसेर कमरमा डोरी बाँध्ने तरिका ठिक हुने उपाय निस्केपछि सबैले त्यसै गरियो।  हिजैदेखि कुशलातापुर्वक  कमरमा खुकुरी भिरेर आवश्यकता हुनासाथ फुर्तिसाथ  प्रयोग  गर्ने मित्र ऋषीले सुत्ली काटिदिने काममा यहाँ पनि दक्षता देखाए। जसो गरेपनि नथाम्ने पानी आयो।  सबैलाई  झन्झटिलो लाग्यो  यतिबेलाको यात्रा। बल्ल-तल्ल गिद्धेको पाटीमा पुगियो।  समय भर्खर चार बज्दै थियो तैपनि  भिजेर मुसो भएकाले छिट्टै बास बस्ने निर्णय भयो। काठको तक्तीले छाएको सो पाटीमा भर्खरै मात्र जस्ताको छानो लगाएकाले यत्रतत्र सुकेका तक्ति दाउराका रुपमा प्रयोग गर्न पाइने अवस्था थियो । म डिजेल हालेर आगो जोर्न लागेँ। साथीहरु ओछ्यान मिलाउन लागे । मैले आगो बाली नसकी  साथीहरु खुकुरी हराएको हल्ला गर्न लागे। ऋषीको कमरमा दाप छ , खुकुरी छैन ! उहिले स्कूल पढ्दा  पेन्सिल आदि हराएर घर आएपछि चोखिन ''खै कुन बदमासले लगिदिएछ। '' भनी आमालाई पोल लगाउँदा ''मेरो कमरको खुकुरी कुन हुस्सुले चोरिदियो ?'' भनेजस्तो कुरा गर्नुहुँदैन भन्नुहुन्थ्यो। त्यतिबेला त्यै कुराको याद आयो।  हाँसो पनि उठ्यो। तर  अर्काको खुकुरी ल्याएको हुनाले उसै छोड्न पनि नसकिने अवस्था थियो। अघि सुत्ली काटेकै ठाउँमा छुटेको हुनुपर्ने अनुमान गरियो। अब फेरी त्यत्रो बाटो साथीहरु जयराम र ऋषी फर्किएर जाने भए। यत्तिकैमा अघि हिलेमा भेटिएका शेर्पा साथीहरु त्यँही आइपुगे। उनीहरुलाई हामीले खुकुरीका बारेमा सोध्यौँ तर आफूहरुले नदेखेको -नभेटेको बताएर  उकालो लागे। साथिद्वय पनि थकाइ बिर्सिएर खुकुरी खोज्न गए र धेरैबेर पछि रित्तै फर्किए। अब साँझ परेको त्यो समय र गलेका बेला खुकुरी समेत हराएका हाम्रो अनुहार उस्तै अँध्यारो बन्यो। पानी अलिक बिदो भएको थियो। खानेपानी अलिक परबाट ल्याएर सुरेशजी र मैले खाना बनाइसकेका थियौँ। साथीहरु आइपुग्नासाथ ठूलो पानी आयो। अब  छानाबाट खसेको पानी खानको लागि बटुल्ने व्यवस्था निक्कै मेहेनत गरेर जयरामजीले मिलाए। उही गुन्द्रुक र भात अचारसँग मजाले खाइयो।  घीउ पनि ल्याउनु पर्ने रहेछ भन्ने छलफल गर्दै एक कुकर भात रित्त्याइयो !  मलाई के लाग्यो भने घीउ पनि ल्याएको भए अर्को कुकर भात पनि रुच्ने रहेछ क्यारे ! हामीलाई खाना रुचेको देखेर आफैलाई अचम्म लागेको थियो। ''हलुवामा बालुवा '' भनेजस्तै भयो यो रमाइलो यात्रामा खुकुरी हराएको कुरो। त्यसैले अब यो आवश्यक परेका ठाउँमा मात्र गर्ने , नत्र बिर्सिदिने निर्णय गरियो। मैनबत्ती बालेर निक्कैबेर कलब्रेक खेलियो अनि सुतियो।राती जुनसुकै बेला ब्युँझदा पनि छानामा एककोहोरो पानी बर्सिरहेको सुनिन्थ्यो।
गिद्धेको पाटी


भोलिपल्ट उज्यालो नभई उठेर चिया पकाइयो।  चिया पछि उम्लेको पानीमा भिजाएर  भक्कु चिनी मिसेर  सातु बजाइयो। ठीक उज्यालो भएपछी टोलि उकालियो। आज रातभर पानी परेकाले बादल नै सकिएछ कि भन्नुजस्तै सफा आकाश देखिन्थ्यो। गिद्धेको टुप्पाबाट फोन पनि लाग्दो रहेछ। मैले आमा र सुमिलाई सम्झिएँ। अरुले पनि आ-आफ्नो मान्छेलाई फोन गरे। चर्दै गरेका चौरी हेर्दै हामी एउटा गोठमा पुग्यौँ। गोठका मालिकलाई हिजो माथि जङ्गलमा खुकुरी छोडिएको र त्यो कसैले सभापोखरीमा चडाउन पठाएको हुँदा भेटिएमा जतनसाथ राखिदिनु भन्ने अनुरोध गरेँ मैले। बुडाले कस्तो खुकुरी थियो भन्ने प्रश्न गरे। हामीले खुकुरीको हुलिया एकसाथ दियौँ । त्यसपछि  गोठभित्र पसेका  शेर्पा बुडा बाहिर आएनन्। हामी पनि उकालो लाग्यौँ। पूर्वमा ताप्लेजुङ्ग पाथिभरा लगायत नचिनेका असंख्य निला पहाड  देखिन्थे। कंचनजंघा हिमाल हामीलाई देखेर हाँसिरहेको थियो। यता देब्रेपटी मकालुको मन तान्ने मुस्कान थियो। तल अरुण र सभाको तिरमा रुवाजस्तै सेतो कुहिरो घामका किरणसँग टल्किएको मनमोहक देखिन्थ्यो। नजिकै बोटबिरुवा केही पनि नभएका नाङ्गा पर्वत ठडिएका थिए। ती पर्वतका बिच -बीच बाट झरेका सेता झरना हेरिरहुँ लाग्ने सुन्दर थिए। प्रकृतिको यो सुन्दरताको वर्णन म लुरे लेखकले कसरी गर्नु ?!
गिद्धेको पाखामा चरिरहेको चौंरी र खुलेको आकाश

निक्कैबेर ओरालो झरियो। अब हामी मानेभनज्याङ्ग भन्ने ठाउँमा पुगेछौँ। त्यहाँ एउटा गोठमा यत्रतत्र चौरी , गाई र बाख्रापाठा देखिन्थे। एउटी महिला गाई दुहुदै थिइन्। उनलाई सघाउने सानो बालक देखिन्थ्यो। हामी फोटो खिचेर ओरालो लाग्यौँ। डरलाग्दा चट्टानमा चढेर फोटो खिचियो। घाम लागेकाले रमाइलो थियो बिहानी।  ऋषीले थर्किएर बज्ने चाइनिज स्पिकर ल्याएका थिए।  जयरामले पावर ब्याङ्क यही यात्राको लागि किनेर ल्याएका हुँदा साथीहरुले पहाड नै थर्कने गरी गीत बजाए। मिठा-मिठा नेपाली लोक र आधुनिक गीतहरुले यात्रमा फुर्ति थप्यो। हामी ठाडे ओडार भन्ने थुप्रै मानिस बस्ने -सुत्ने गरेको पहराको छानो र भित्त्तो भएको प्राकृतिक क्याम्प हेर्दै उकालो -ओरालो अनि तेर्सो हिँडिरह्यौँ। मलिङ्गोको जङ्गलमा चरिरहेका ठूला-ठूला याक हेर्दै हामी भुते पोखरी भन्ने ठाउँमा पुगिएछ। त्यो पोखरी सभापोखरी जानेले हेर्नु हुँदैन भन्ने मान्यता रहेछ। हामी त्यस्ता अन्धतामा विश्वास नगर्ने हुँदा फोटो नै खिचियो तर बाटोबाट अलिक तल रहेको उसमाथि कुहिरोले छोपेको हुँदा उस्तो राम्रो फोटो पनि आएन , देख्न पनि पाइएन। लगत्तै हामी खामबुले पाटी भएको ठाउँमा पुगिएछ।
खाम्बुले पाटी जस्को चुली गाह्रो २०७२ को भुकम्पले यसरी लडाईंदिएछ ।
हिजो हामीलाई उछिनेर घोडा जस्तो दौडेर हिंड्ने धनकुटेली यही पाटीमा बसेको लख काट्यौँ किनकी भिजेर ढाडिएका चिउरा उनीहरुले त्यहाँ फ्याँकेर गएको देखिन्थ्यो। उनीहरु यस अघि कतै बास बसेको पनि सुइँको पाइएन। अब फेरि उकालो थियो बाटो। यो उकालो गजबको थियो किनकि बाटाको यता उता रङ्ग -रङ्गका फूल फुलेका देखिन्थे। फूलमा यति धेरै सुगन्ध थियो कि हमीलाई अत्तर छर्किएको बाटामा हिँडेको अनुभूति भइरहेको थियो। ठाउँ-ठाउँमा मानिस बस्न मिल्ने ओडार देखिन्थे। एउटा ओडारको नाम चाहिँ गौतम गुफा रहेछ। कतै कतै बसेर खाजा , ग्लुकोज र पानी खाँदै हामी आकाशतिर उकालिइरह्यौँ। गलेर लखतरान भइयो। अब कुहिरो लागेर नजिकैको पनि देखिन छोड्यो। निक्कै जाडो लिएर चल्न थाल्यो फुँइकी। हामीले माटो देख्न छोडियो। ''ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा '' भन्ने उखान पनि यहाँको धरातलमा नमिल्ने रहेछ ! यहाँका सबै थोक ढुङ्गाकै भरमा रहेछन्। बरु यत्रतत्र उम्रिएर सुगन्ध छर्दै फुलेका झार देख्दा राष्ट्रकवि माधव घिमिरेको तलको कवितांश  चाहिँ सहि सावित भयो -

ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल 
सिर्जना शक्ति संसारमा कैल्यै हुँदैन बिफल ।


कुहिरोलाई छिचोलेर हाम्रो कानमा ''हामीलाई  पनि खानेकुरो राखिदिनु है !'' भन्ने आवाज ठोकियो। यसरी कराउँदै हिँड्ने मानिसहरुलाई हामीले आफुसँग भएको मकै वा भटमास दिन खोज्यौँ।  उनीहरुलाई अन्नले अमन भयो भन्थे। सभापोखारीबाट फर्किएका उनीहरुले हामीलाई अबको बाटोको बारेमा पनि जानकारी दिए। [पहिलो दिन हामी बास बस्ने हो कि भनेर प्रस्ताव गरिएको समतल ठाउँमा सुत्ने यही टोलि रहेछ। अन्न बाहेक हामीसँग दुई जम्बो लोकल सेन्तेरेम पनि थियो। लेक लागेर गाह्रो परे सेन्तेरेम नै जडि औषधि हो भनेर धेरैले भनेको हुँदा हामीले यो बोकेका थियौँ। उनीहरुले सेन्तेरेम नै खाने  रहर गरे। हाम्रो पनि भारी घट्ने हुँदा कन्जुस्याई नगरी उनीहरुलाई रुच्दो पिउन दिएर उकालो लागियो। केही छिनमै ती मानिसले दिएको जानकारी अनुसार थुम्की भन्ने ठाउँको अस्थायी होटलमा पुगियो। पाल टाँगेर भेडाको मासुसँग खाना पकाएर बेच्दा रहेछन्। पानी समेत पर्न थालेको  अनि दाउरा पनि नपाइने क्षेत्र भएकाले  होटलमै खाना बनाइदिन अर्डर गरियो। हामीले शुरुमै के कति खर्च लाग्ने  हो त्यसको अनुमान गर्न प्रत्येक सामानको भाउ सोध्यौँ। त्यहाँ चामल, पानी ,दाउरा , भुटुन , नुन , मसला प्रत्येकको छुट्टा-छुट्टै पैसा तिर्नुपर्ने हुँदोरहेछ। जम्मा जोड्दा त्यस्तै आठ -नौ सयमा चार जना अघाइने हिसाव होटल चलाउन आएका जलजलाका तामाङ्ग भाइले सुनाए।  हामी आगो ताप्दै बस्यौँ। सानो पानी परेर रोकियो। अरु थुप्रै मान्छे पालभित्र ओछ्याइएको उन्युमा बसेर तास खेल्दै हल्ला गर्दै थिए। केही बेरमा खाना खाइसकेपछि हामीले जम्मा चौबिस सय तिर्नुपर्ने हिसाव सुनायो अघिको तामाङ्ग भाइले ! के के सामनाको कति -कति जोडेर त्यति भयो भन्ने प्रश्नको उत्तर दिन नसकेपछि हाम्रो निक्कै विवाद भयो। अन्त्यमा एकहजार तिरेर हामी बाटो लाग्यौँ। ''धर्म गर्न आएको तर मागेको पैसा दिन नसकेको '' भन्दै उसले हामीलाई सराप्दै थियो। हामी हाँस्दै उकालो लाग्यौँ। यी होटलवाला मान्छे ठग्न बसेका रहेछन्। पछि अरुसँग पनि झगडा भएको सुनाउँदै सभापोखारीका पुजारीद्वय हामीलाई ''राम्ररी आउनुहोला '' भन्दै अघि लागे। उनीहरुले घुंडा सम्म आउने गमबुट र राडीको कोट लगाएका थिए।
अन्नले अमन भएकाहरुसँग


हाम्रो टोली भकारी छिरुवा भन्ने ठाउँमा पुग्दा दुईजना पदयात्री हातमा मलिङ्गोको सेउला र बुद्धका वाणी भएका तुल प्रत्येक देउरालीमा चडाउँदै भेटिए। आफ्नो यस्तै भाकल भएको उनीहरुले बताए। अब दुई बाटा थिए। देब्रे गए छिटो पुगिने र दाहिने गए जलजले हिमाललाई फन्को मारेर रमाउँन पाइने तर अलिक लामो। हामीले छोटो बाटो समातियो। यसपछि त ढुङ्गाको मात्र साम्राज्य देखियो। तर हरेक ढुङ्गाका कापमा रङ्गी- बिरङ्गी फूलहरु फ़क्रिएकै देखिन्थे। तिनै फूलको सुगन्धले लेक लाग्छ भन्ने सुनेर हामी फूलबारीमा नाक थुन्दै अघि बढ्यौं। पाखनबेत , ठूलो ओखति , चिराइतो आदि मैले चिनेका थुप्रै जडिबुटी यत्रतत्र देखिन्थे। मैले नचिनेका अरु बग्रेल्ती जडिबुटी नै थिए होलान् किनकी पदयात्रीले उखेलेर लागेका चिन्हहरु देखिन्थे।  लाग्थ्यो हामी कुनै जडिबुटी खेतीको अवलोकनमा छौँ।
भकारी छिरुवा



अब निक्कै अग्लो ठाउँमा पुगेको अनुभुती भयो। मुटु छेड्ने चिसो हावा र  कुहिरो एकदमै हतारमा कुदेको हुँदा हामी सेतै फुलेका जस्ता देखियौँ। हाम्रो स्वास नै चुरोट तानेर उडाएको धुँवाजस्तै बनेर मिसिन्थ्यो बायुमण्डलमा। एकैछिन कुहिरो हट्दा आफू हिंडिरहेको बाटोमा देब्रेपट्टि देखिने भिर कहालीलाग्दो थियो। हामी डरलाग्दो भीरको बीचबाट बनाइएको बाटोमा हिंडिरहेका थियौँ। केहि भएर चिप्लियो वा अजाटियो भने जीवन सकिने मात्र हैन लाश पनि नभेटिने ठाउँ रहेछ। बरु कुहिरो लाग्दा त्यो भिर त छोपिन्थ्यो , हामीले सधैँ हटोस् भनेर छी ! छी!! र दुर-दुर!! गरेको कुहिरोले पनि यहाँ साथीको काम गरिदियो। हाम्रो मनोभावना बुझेजस्तै कुहिरोले आफ्नो पर्दाले सकेसम्म छोपिराख्यो त्यो सातो लाने भिर। तैपनि डरले सबैका ओठ-तालु सुके। गफको शिलशिला टुट्यो। अरुले के सम्झे कुन्नि मैले चाहिँ यहाँ चिप्लियो भने पछि कुनै दिन स्वास्थानीका पात्र शिव शर्माका छोराले आफ्नो बाबु मरेको ठाउँ खोजेजस्तै खोज्दा पनि मेरो छोराले चाहिँ हाडखोड समेत नभेट्ने रहेछ भन्ने ठानेँ ! तर हिउँले खाएका ढुङ्गा पटक्कै नाचिप्लिने हुँदा रहेछन्। भकारी छिरुवा नाघेपछि रुख -बुट्टा केही पनि रैनछन् तर पानी जताततै रहेछ। हिंड्दा -हिंड्दै ठूलो खोलो बजेको आवाज आयो। हामीले ठूलै खोला नजिक आइएछ भन्ने ठान्यौँ। आवाज झन ठूलो हुँदै आयो। अब त आवज हाम्रो खुट्टामुनिबाट पो आउन थाल्यो ! हैट !! ढुङ्गा मुनिबाट बग्दो रहेछ त्यत्रो कराउने खोलो। एकछिन कुहिरो हटेका बेला तल निक्कै ठूलो सेतो खोलो दखियो। हामीले नदेखी तरेको खोलो त्यही रहेछ। यस्तै बिकट क्षेत्रमा रमाउँदा रहेछन्  भेडा। कता कता भेडी गोठालोका पाल देखिन्थे अनि भिरमा चरिरहेका थुप्रै भेडा रामितलाग्दा देखिन्थे।

भिरको बाटो , गयो मेरो सातो !!
ढुङ्गाको पहाड



अब यो यात्राकै सबैभन्दा कठिन उकालो चड्नु थियो। उकालो शुरु हुनुअघि धर्मद्वार भन्ने साँघुरो चेपबाट छिर्न निक्कै कठिन भयो। कठिनतम उकालोलाई धर्मढोकाको उकालो भनिँदो रहेछ। न समाउने ठाउँ छ ,न फराकिलो नै ! मलाई त चिसो पसीना आयो। करिव पचास मिनेटमा  बडो कठिनले त्यो उकालो काटेपछि धर्म ढोका पुगियो।  ढुङ्गाको स्वागत द्वारा भएको सो ढोकामा आ-आफ्नो शीर झुकाउँदै हामीले श्रद्धा चडायौँ।
धर्म ढोका


कलब्रेक खेल्दा एउटै साथीलाई परेका चार  एक्का !
अब झमक्कै साँझ परेको थियो। धर्मढोका परिसरमा जस्ताको छानो भएको राम्रो पाटी खालि नै थियो। हामीले आजको रात यहीँ काट्ने निर्णय गरियो। साथीहरु कसैले पानी ल्याए , कसैले ओछ्यान मिलाए।  मैले आगो बालेर खाना बासाएँ। अक्सिजन कम र चिसो धेरै भएर आगो बाल्न ज्यादै कठिन हुँदो रहेछ। हामीसँग अस्तिको दिन जडिबुटेबाट बोकेका मलिङ्गोको चित्राको दाउरा थियो। साथमा डिजेल पनि थियो। तैपनि आगो बाल्न खुब दुख भयो। धन्न कुकर भएकाले ताप भाग्न पाएन र भात अनि गुन्द्रुक पाक्यो।दाउरा नहुनु भने के बाल्ने ? यतातिर दाउराको झरो भेटिने संभावना छैन। कसै-कसैले त धर्मशालाकै भूइँमा ठोकेका तक्ति पनि दाउराका रुपमा प्रयोग गर्दा रहेछन्।  हाम्रो खाना नपाक्दै अन्य टोलि पनि आए तर हामी बसेको देखेर मिसिन चाहेनन्। अब सभापोखरी पनि नजिक थियो। उनीहरु उतै लागे। खानापछि मैनबत्ती बालेर निक्कैबेर कल ब्रेक खेलियो अनिमात्र सुतियो।ऋषीलाई त एकपटक सबै रङ्गका एक्का परेछन्। खेल्नुअघि तासको फोटो खिच्दै थिए। भरे पो रहस्य बुझेर सबै छक्क परियो।
धर्मढोकाको पाटी


 राति सुरेशजीलाई लेक लागेछ। उज्यालो हुनलाग्दा सबै ब्युँझेपछि ''मेरो त श्वास एकोहोरो मात्र चलेर राति नै झन्डै चिप्लें। फोक्सोमा तान आएन !'' भनेर हँसाए । उज्यालो हुनसाथ सबैजना नउठ्दै  फेरि   उनको स्वासप्रश्वासमा समस्या देखियो। मान्छे हिरिक -हिरिक हुँदा पनि साथीहरु नउठेको देख्दा मैले अलिक गाली पनि गरेँ। सबै निक्कै आत्तियौं। हत्तपत्त अकबरे , सातु, अदुवा  आदि खान दियौँ। साथी एकैछिनमा   ठिक भएर जिस्कन पो थाले। फेरी मलाई गाह्रो हुनथाल्यो। अकबरे चबाएपछि अलिक ठिक भयो। हामीलाई मकै, भटमास आदिले अमन भएको थियो।मकै र अदुवाले जिब्रो नै फुटेको थियो। तासेर बोकेको हुँदा हामीसँग भएको अदुवा पनि कुहेर अमिलो बनिसकेको थियो। अब प्रयोग गर्न नसकिने त्यस्ता पदार्थ त्यहीँ छोडेर हामी सभापोखरी तर्फ ओरालो झरियो। गन्धे सेन्तेरेम र दाउराको बिटो पनि छोड्ने भनेर फ्याँकिएको थियो, मैले कोहि आवश्यक पर्नेलाई दिउँला भनेर बोकेँ। अलि-अलि दम्स्याइलो ओरालो झरेर हामी करिव पैतालीस मिनेटमा हाम्रो गन्तब्य सभापोखरी नजिक रहेको पाटीमा पुगियो।
सभापोखरी नजिकैको पाटी र छेउमा बनाइएको आस्थाइ होटल ।

हामी हत्तारिएर पोखरी क्षेत्रतिर लाग्यौं।  बोट बिरुवा नभएका  अग्ला अग्ला हिमालजस्ता चिल्ला डाँडाको बिचमा त्यति ठूलो ,सफा र शान्त पोखरी देख्नासाथ हामी अबाक भयौँ। निक्कैबेर अलल्लिएर हेरिबसेछौँ। हाम्रो होस नै गायब भयो पोखरीको सुन्दरताले। त्यसपछि फेरि बौलाहा जस्तो कराइएछ सबैजना ! हा -हा र हुर्र -हुर्र गरियो। कसैले गाडिको खलासीले जस्तो सुइय सिठ्ठी पनि बजाए। आफ्नै प्रतिबिम्ब देखिन्थ्यो पोखरीमा। वरिपरिका चिल्ला डाँडा र फुलै -फूल भएको पोखरीको भित्तोको छायाँ मनमोहक देखिन्थ्यो। माथिबाट सेतो दूधजस्तो खोलो आएर जमेको रहेछ। यस पोखरीको निकासबाट सभा खोलो निस्केको छ । पोखरीको बिचमा एउटा सानो टापु देखिन्छ। त्यसलाई ब्यासासन भन्ने चलन रहेछ। उहिले ब्यास ऋषीले त्यहीँ बसेर पुराण भनेका थिए भन्ने किम्बदन्ती सुन्न पाइन्छ। पाण्डवहरु पनि स्वर्ग जाँदा यहि पोखरीमा स्नान गरेर गएका भन्ने पनि बिश्वास गरिन्छ। हेर्दा सानो देखिए पनि पोखरीको कुनै छेउमा गएर ढुङ्गा हान्दा सो ब्यासासन भनिएको टापुमा पुर्‍याउन नसकिने अनुभविहरुको कुरो सुन्दा नै स्प्रष्ट हुन्छ सो पोखरी निक्कै ठूलो छ। तर त्यसरी ढुङ्गा हान्ने क्रमले कालान्तरमा पोखरी पुरिने भन्दै सुरेशजीले यो प्रवृतिको घोर विरोध गरे। उनको कुरो ठिक भएकाले हामीले ढुङ्गा हान्ने काम गरेनौ बरु अरुलाई समेत नहान्न अनुरोध गर्‍यौँ। पोखरीको उत्तरतिर अर्को ठूलो टापु रहेको छ। माथिबाट हेर्दा त्यो टापु ब्यासतिर फर्किएको  कछुवाजस्तै देखिन्छ। उक्त कछुवा आकारको टापुको सबैभन्दा दक्षिण पूर्वी भागका शिलाहरुलाई देवता सम्झेर पूजा गर्ने गरिन्छ। पूजापछि टपरीमा बत्ति बालेर ब्यासासनतिर बगाएर पठाइदिने चलन रहेछ। मानिसहरु पूजामा ब्यस्त देखिन्थे। हामीले नधुम्मिदै फोटो खिच्ने काम गरियो अनिमात्र पोखरीको मन्दिरतिर झरियो।
व्यासासन भनिएको सानो टापु र कछुवाजस्तो ठुलो तापुको केही भाग देखिएको सभापोखरीको एक झलक ।


 बल्ल बल्ल आइपुगेको यस्तो सुन्दर ठाउँमा एकपटक नुहाउने सल्लाह भयो। पोखरीको निकास क्षेत्रमा गएर सबैजनाले मजाले नुहाइयो। डरलाग्दो चिसो रहेछ पानी ! जीउ पुरै ठिहिर्‍याएर कठाङ्ग्रियो एकछिन । लुगा लगाएपछि न्यानो भइगयो। त्यसपछि कछुवाकृतिको टापुमा जान लाग्दा ताप्लेजुङ्गबाट आएका रमाइला साथीहरुसँग जम्काभेट भयो। एकैछिन लोक दोहोरी गायौँ  अनि चिनजान गरेर फोटो खिच्यौँ। त्यसपछि दर्शन स्थलतर्फ लागियो। हिजो थुम्किनजिकै भेटिएका शेर्पा साथीहरु त्यहाँको थानका पुजारी रहेछन्। राडीमा बसेर राडीकै कोटमा सजिएका पुजारी सबैलाई टीको र फूल लगाइदिँदै आशिर्वाद दिँदा रहेछन्। कलिला जस्ता लाग्ने साथि चाहिँ भक्तजनको फोटो खिच्न र सरसफाई गर्न खटिदा रहेछन्। हामीले पनि पूजापछि एउटा कागजको प्लेटमा बाति बालेर पोखरीमा बगाइदियौँ।  त्यो बाति बालेर राखिएको प्लेट निकासतिर नगएर शीरतर्फको ब्यासासन भएतिर पो बग्दो रहेछ ! हावाको गतिले त्यस्तो भएको हुनुपर्छ। त्यहाँ त्यसरी बाति बालेर बगाइएका हजारौँ स्टिल ,आलामुनियम ,तामा र पित्तलका थाल तथा प्लेटहरू पोखरीभित्र डुबेका देखिन्थे। अब सभापोखरीको सरसफाइ अभियान समेत चलाउनुपर्ने र यसरी धातुका प्लेटका सट्टा पातको टपरी प्रयोगमा जोड दिनुपर्ने देखियो। नत्रभने यो सुन्दर ताल पछि धातुजन्य सामग्रीको थुप्रोमा रुपान्तर हुन के बेर ? हामी अब फर्कने क्रममा लाग्यौँ। बर्षौंका लागि विदेसिन लागेको छोराले आमालाई हेरेजस्तो  देखिने ठाउँसम्म फर्कदै हेर्दै गरेर सभापोखारीको नजरबाट ओझेल परियो। नजरबाट ओझेल परे पनि जीवनभर आइरहने प्रेमील यादको पोको थियो सबैको मनमा। लाग्थ्यो यही सुरम्यतामा बसिराखौँ जीवनभर। तर के गर्नु जिन्दगीका  झमेलाको झोला अर्कैतिर छोडेर यता आफूमात्र आइएको थियो ! फेरी जीवन चलाउन आवश्यक गाँस , बास र कपास पनि त थिएन त्यहाँ। थियो केवल सुन्दरता ,शान्ति र प्राकृतिक बिराटता।

हामीले नजिकैको होटलमा खाजा खाने निधो गर्‍यौँ। अघि लोक दोहोरीमा रमाएका ताप्लेजुङ्गे मित्रहरुसँग त्यहाँ फेरि भेट भयो। मैले हिजैदेखि बाँड्दै हिँडेको आधा जम्बो सेन्तेरेम उनीहरुलाई दिएँ। अहा ! उनीहरु खुशीले उफ्रिए। हामीसँग भएको स्पिकरमा ठूलो स्वर घन्काएर नाचियो सबैजना-
सम्झना बिर्सना सललल .......... 
झन् -झन् बड्यो तिर्सना ...........      
सललल ..................... .............!
समुद्र सतहबाट बयालिस सय मिटरको उचाइमा पनि पसीना आउने गरी नाचियो। उनीहरुले हामीले दिएको सगुन पानी पिएजस्तै गरेर रित्त्याए। अब खाजा खान पालाभित्रको होटलमा पसियो। मैले एक मुठो दाउरा र अर्को जम्बो सेन्तेरेम ती होटलवाला लिम्बु दाइलाई ''हाम्रो   कोशेली '' भन्दै दिएँ। उनले अप्ठेरो मान्दै समाए अनि हामीलाई भेडाको मासु र रेड्बुल खुवाए। भेडाको मासुको मात्र त्यै पनि कम पैसा लिए। ताप्लेजुङ्गे साथीहरुसँग खाजा खानुजेल मात्र सँगै बसियो। उनीहरु फेरि पोखरीतर्फ गए। हामी दुई सय पचास भेडा मलिक समेत रहेका ती लिम्बु दाइसँग उनको पेसाको बारेमा केही सोधेर फोटो खिची दम्स्याइलो उकालो लाग्यौँ।
रमाइला ताप्लेजुङ्गे साथीहरुसँग

भेडीगोठ तथा होटलवाला लिम्बु दाइसँग जस्का २५० भेडा थिए ।


अब जलजले हिमाललाई फेरो मारेर जाने रहर उब्जियो मलाई। तर सबैको एकमत थिएन। मैले धर्मद्वारको ओरालो झर्न सक्दिनँ  भन्ने बहाना पारेँ। तर जताबाट गएपनि सो ओरालो त झर्नै पर्ने रहेछ। धेरै बहाना पारेको भए पनि अलिअलि चाहिँ डर पनि लागेको थियो। तर यादै नभई हिजो करिव पचास मिनेट लागेको उकालो आज ओरालो झर्दा दस मिनेटमै पार गरिएछ !  मेरै रहरको कारण हाम्रो टोलि जलजलेको बाटो लाग्यो। पानी पर्न थाल्यो। कुहिरोको पर्दाले छोप्यो। हाम्रो बाटो हरायो। हामी कता जाने भन्ने दोधारमा परियो। मलाई हिँड्न  कठिन पनि हुन थालेको थियो। जयराम र सुरेशजी चाहिँ निक्कै छिटो हामीलाई छोडेर हिंड्न थालेका थिए। घनघोर दुखपछि हामीले बल्ल हिजोकै बाटो भेटियो र अगाडि बडियो। जलजले जाने रहर पनि बाटोसँगै हरायो।  पानी एककोहोरो परिरह्यो र हाम्रो टोलि दुई टुक्रामा अघिपछि भयो। म र ऋषी आफुले चिनेका केही जडिबुटी टिप्दै उकालियौँ। ''मान्छे खेद्नु अघि लागेर '' भन्दै हामीलाई पर्खिरहेका साथीहरु भकारी छिरुवा नजिक भेटिए।
झरीमा हिँड्न नसकेर पछाडि छोडिएका हामी ।



ओरालो त गुटुटु झरियो। हामी खाजा खान खाम्बुले पाटीमा बस्यौँ र चाउचाउ उसिनेर खायौँ। एउटा सभापोखरी जाँदै गरेको टोलि त्यहिँ बास बस्ने तरखर गर्दै थियो। अब फेरी गिद्धेसम्म उकालो बाटो थियो। हामीले सकेसम्म गिद्धे पुग्ने लक्ष्य राखेका थियौँ। बाटामा हिंड्दै गर्दा एउटा परिचित जस्तो लाग्ने मुसाभन्दा अलिक ठूलो रातो टाउको भएको जनावर खुर्र कुदेर ढुङ्गाको च्यापमा पस्यो। साथीहरुलाई देखाउनै नपाई लुक्ने त्यो हाब्रे अर्थात् रेड पाण्डाको बच्चो थियो। यसबाट पुष्टि भयो यो क्षेत्रमा लोपोन्मुख हाब्रे पनि पाइने रहेछ। हामीभन्दा पछाडिका मानिसले पनि उछिनेर उकालिए। हाम्रो गति निक्कै सुस्त थियो। झमक्क साँझ पर्दा भन्ज्याङमा रहेको गोठमा पुगियो। एउटी महिला मात्र भएको सो गोठमा बास बस्ने निधो भयो। सुतेको जीउको एक सय पचास र चार जनाले चलाउने एक गाग्री पानीको तीन सय तिर्नेगरी शेर्पीनी दिदीसँग सम्झौता भयो। बाख्राका पाठा , कुखुराका चल्ला अनि गाई र चौरीका बाच्छा सँगै हामीले पनि एक रात बिताउनु पर्ने भयो। गोठका बिचमा ठूला-ठूला मुडा जोतेर आगो बालिएको थियो। अगोमाथि चौरीको भनिएको मासु सुकाइएको थियो। काँचो मासु नसुकेर गनाइरहेको थियो। हामीले त्यसैको मुनि भात र गुन्द्रुक पकाएर खानुपर्ने बाध्यता थियो। फोहोरको कुरा गर्नुभन्दा बिर्सनु नै जाति थियो। अर्को तीन जनाको टोलि पनि त्यही गोठमा बास बस्न आइपुग्यो। हामीले शेर्पीनी दिदीसँग पच्चीस रूपयाँको आलु किनी पोलेर खायौँ। ढिलो गरी खाना खाइयो र सुतियो। हामीले खाना नखाँदै एउटा दश -एघार बर्षको केटो शेर्पीनी दिदीको साथी आयो। दिदीले आज भात पकाउन नभ्याएको भनेर त्यो बालकलाई चाउचाउ मात्र दिइन्। हामीले खाइसकेको थियो। त्यो बालकको खुव माया लाग्यो। तर अब बाँकी खाना थिएन। दिदीले बाँसको ढुंग्रोमा तुङ्गबा भिजाएर चुसिन्। त्यो बालक ताप्लेजुङ्ग घर भएको लिम्बू रहेछ। छोरीको छोरो  , मेरो नाति भनेर शेर्पेनी दिदीले भनेको हामीले पत्यायौं। मलाई दया लागेर '' पढाइदिन्छु, म सँग पठाइदिनु '' भनी शेर्पेनिलाई अनुरोध गर्दा नमानेपछि उनको नाति होइन कि भन्ने शङ्का लाग्यो । नत्र आफ्नै छोरीको छोरोलाई त्यसरी गोठालो नबनाउनु पर्ने जस्तो लागिरह्यो । शेर्पीनी दिदीको धरान तीनकुनेमा घर छ अरे। अस्ति हिलेमा भेटिएका र पछि खुकुरी आफुले नभेटेको बताएर गिद्धेको पाटीबाट उकालो लाग्नेमध्येका एक पुरुष यी दिदीका श्रीमान रहेछन्। राति अबेरसम्म छुर्पी काट्ने , भारमा झुण्डयाउने , मोही पार्ने गरेर मात्र सुतिन् शेर्पेनी दिदी। हामी गलेका छिट्टै निदाएँछौ। राति ठूलो पानी परेर काठका ताख्तिले छाएको त्यो घर चुहेर हाम्रो अनुहारमा थोपा बर्सदा ब्युँझियो। धन्न एकछिनमा झरी रोकियो र हाम्रो निद्रा पुग्दो सुत्न पाइयो।
शेर्पीनी दिदीको गोठमा खाना पकाउँदै।

   
भारमा सुकाउन राखिएको छुर्पी ।



भोलिपल्ट बिहान छिट्टै उठेर झटपट हिँडियो। तिरोभरो बेलुकी नै गरिएको थियो। आकाश खुलेको थियो। हाम्रो टोलि बिहानको चिया खान गिद्धेको गोठमा आइपुग्यो। यो गोठ निक्कै सुविधासम्पन्न रहेछ। सफा पनि देखिन्थ्यो।फेरि आउँदा यहाँ बस्न रमाइलो हुने रहेछ भन्ने लाग्यो। हामीले पचास रुपियाँ गिलासले मिठो ढुधमा मात्र पकाएको चिया पियौँ। अस्तिको खुकुरी तपाईंका केटाले भेटे कि ? भन्ने मेरो प्रश्नको उत्तर नै खुकुरी दिएर मात्र दिए शेर्पा दाइले ! हराएको खुकुरी भेटियो !! अस्ति जाँदा साभापोखरीमा चडाउन पठाइएको खुकुरी हरायो भनेर मनोबैज्ञानिक तरिकाले नढाँटेको  भए के भेटिन्थ्यो ! साथीहरु एकै छिनपछि जाँदा नभेटेको खुकुरी पछि उनीहरुले कसरी भेट्नु !? पहिल्यै उनीहरुले त्यो खुकुरी ल्याएका थिए। ती अल्लारेले त्यो राम्रो खुकुरी नदिन नै खोजेका थिए। तर तिनीहरुका अभिभावक शेर्पा बुडालाई त्यो खुकुरी राख्न मन भएनछ। त्यसमा पनि चडाउन पठाइएको भनेपछि केटा पनि डराए होलान्। जे होस् खुकुरी भेटियो। हामीले धन्यवाद दिँदा शेर्पा दाइले आफुहरुले परदेशीको सामान कहिल्यै नराख्ने बताए। उनीहरु हामीजस्ता पदयात्रीलाई परदेशी भन्दा रहेछन्। मैले सफा देखेपछि एउटा छुर्पिको गिंड किनेँ। चिसो ठाउँ भएकाले घीउ ढुङ्गा राखेजस्तो राख्दा रहेछन् त्यहाँ।घीउ राख्न भाँडो नै नचाहिने !

ढुङ्गा राखेजस्तै भाँडो बेगर नै राखिएको घीउ । 

हाम्रो यात्रा फेरी शुरु भयो। ओरालो हिंड्न निक्कै छिटो हुने। भारी पनि घटेको थियो। हामी थकित भएर साँझमा पोखरी आइपुगियो। मरिहत्ते गर्दा चैनपुर नै पुगिन्थ्यो । तर आनन्दले पोखरीको होटलमा बस्ने सल्हाह भयो।  फर्कदा जुकालाई रक्तदान निक्कै कम गरियो  किनकी कपडामा नून पोक्याएर जुका बस्नासाथ झारिहाल्ने उपाय लगाइयो। ''हैन यो जुकालाई नून लगाउँदा हाम्रो धर्म नष्ट हुने रहेछ। '' सुरेशजीले भने ''अघि भर्खरै मात्र यो जुकाको आमा हामीले नै मारिदिएर जूठो परेका बेला कता नूनमा डुबाउनु !?'' गलेका बेला हँसाएर झन् गलाए साथीले। बेलुकी झमक्क साँझ पर्दा पोखरी बजारमा सम्माजसेवी तथा व्यवसायी कमारिन्जे शेर्पाले भेटे अनि सभापोखरी बाट फर्किएको भन्ने सुनेपछि एक एक रेडबुल नखाई हिंड्नै दिएनन्। फेरी आफ्नो पसल बन्द गर्न लागेकी पासाङ शेर्पाकी जीवन साथीले  एक जम्बो ड्यु लिएर जान कर गरिन्।  शेर्पाहरुको सभापोखरी प्रतिको आस्थाको उदाहरण थियो यो। हामी पेम्बा शेर्पाको जडिबुटे भन्ने होटलमा बास बसेर भोलिपल्ट उज्यालो नहुँदै चैनपुर आइपुग्यौ।

झरीमा भिज्दै उकालो जाँदा अरु मानिसका पटक पटक पुगेको कुरा सुन्दा आफ्नो चाहिँ यो नै प्रथम तथा अन्तिम यात्रा हो जस्तो लाग्थ्यो। तर  फर्किएपछि भने ती झन्झट सबै बिर्सिएर फेरी पनि त्यो सुन्दर क्षेत्रतिर जाने रहर जागिरहेको छ। फेरि पनि त्यस्तै चुहुँदो झरीमा त्यो चुलीको यात्रामा रमाइलो गर्ने रहर छ।

      


   

Comments

  1. अाहा! कति मजाले लेख्न सक्नु भएको हौ।गज्जव!


    ReplyDelete
    Replies
    1. एउटा सानो प्रयास हो लक्ष्मी सर । राम्रो भनिदिँदा मख्ख परेँ , अझ सुधार गर्न कसो के गरुँ हजुर ?

      Delete
  2. सर हजुरको यो लेख पढदै गर्दा खुशीले आँखा रसाए। आफू नै पात्र भएको लेख पढ्दा छुट्टै मजा आउदो रहेछ! हजुर संग यात्रा गर्दाका ती मिठा सम्झनाहरु ,याद र तस्बिरमा मात्र सिमित थियो , एउटा भाबमा मात्र सिमित भएको जस्तो लागेको थियोे तर सर हजुरको लेखले फेरि त्यसलाई जिबन्त पारिदिएको छ। यात्रा भरीका प्रकृतिको श्पर्श संग मिलेका ती मिठा-मिठा पल लाई सब्द शब्दमा पढ्न पाउँदा हर्ष बिभोर भएको छु। सर , हजुरलाई यस कार्यको लागि हार्दिक आभारका साथै मुरि मुरि धन्यवाद दिन चाहान्छु।
    समयले साथ दिएछ भने फेरि यात्राको अबसर मिल्ने छ भन्ने आश लिएको छु।😆😆

    ReplyDelete
    Replies
    1. धन्यावाद प्रतिकृयाका लागि । तपाईं सहयात्रीले राम्रो भनिदिएपछी मेरो कलमरुपी मन खुशीले रमाएको छ । म के -के मा यस्लाई सुधार गरुँ सर ?

      Delete

Post a Comment