Skip to main content

दर्लामी माइला बडा

दर्लामी माइला बडा
                                    एकु  घिमिरे
सूर्यको पहिलो झुल्को पोखिने गाउँमा
बालक घामलाई ठेस नलागोस् भनी
हरेक दिन भालेको डाकपछि
उनी सल्काउँथे ठडेउराको टुकी
जोर्दथे अंगेनुमा ढोड
अनी सल्काउँथे चुलोमा दाउरा ।

आँखा बालेर पुग्थे गोठमा
काला पर्वतहरु पन्छाउँथे टाढा
अनी गुनगुनाउँदै बेशब्दे गीत
पुग्थे अर्को लय गाइरहेको धारामा
त्यसपछी चल्थ्यो लामो जुवारी ।

फर्किदा उम्लिसक्थ्यो कित्लिमा चिया
निभिसक्थ्यो ढोड र चिसै हुन्थ्यो खोले
सल्लाको पातको ज्वाला  भर्भराउँथ्यो अँगेनुमा
घरभरि छरिन्थ्यो सुवासना  र उज्यालो
त्यही उज्यालोमा देखिन्थे  दाम्लो बाट्दै उनी
र देखिन्थे  भुँइभरी सुतेका भल्ट्याङ-भुल्टुङहरु ।
त्यही तातोमा पाक्थ्यो खोले र तात्थ्यो चिम्टा
त्यही चिम्टाले टाल्थ्ये प्लास्टिकका जूत्ता
तर उज्यालोमा प्रष्टै देखिन्थ्ये कहिल्यै नटालिने कुर्कुचा !

बाहिर चराहरुको चिरविर थपिन्थ्यो
भित्र चल्लाका चिउ-चिउ बढ्थ्यो
खोरबाट माउले र घरबाट पाठाले गफ गर्थे
बाछाहरुले गोठबाट शंखनाद गर्थे
त्यसपछि उठाइन्थे केटाकेटिहरु
चरा,चल्ला , बाछा ,पाठा र नानीहरुले स्वागत गरेपछि
बल्ल आउँथ्यो अल्छे सूर्य ।

यतिबेला गाउँमा उनी छैनन्
उनीसँगै गयो त्यो मीठो लय,नगजक्क र जाँगर
अब अल्छे सूर्यले पो उठाउँछ सबैलाई
तैपनि झल्कोमा जीउँदै छन् दर्लामी माइला बडा ।

Comments