Skip to main content

साउनको डडेलो

         साउनको डडेलो
                                             -एकु घिमिरे
                                           अन्तुडाँडा ,इलाम
साउनको डडेलोमा आधा डडेको गुराँस
यसपाली  पुषमै फुल्यो ढकमक्क
झुक्कियो मौरी , पुतली अकमक्क !

'' तीन फुट असिना '' - सेल्फीको क्याप्सन
'' पुषमा पसीना ''- हेडलाइन लेख्छन्
सुकिसके अविरल धाराहरू
लुकिसके सयौँ जीव -चराहरू
फुल्दैन बिख्मा लेकमा
झुल्दैन धान खेतमा
कागतीभित्र कीरा परेको भेटिन्छ
हाम्रो हिमाल बसाइँ  सरेको देखिन्छ
चैत्रको बाढिले बगाउँछ पुल
शरदमा पनि फुल्दैन फूल।
साउनको डडेलोमा आधा डडेको गुराँस
यसपाली  पुषमै फुल्यो ढकमक्क
झुक्कियो मौरी , पुतली अकमक्क !

छ्यो रोल्पा फुट्छु -फुट्छु  भन्छ
तिलिचो पनि लुक्छु -लुक्छु भन्छ
उता रारा सुक्तैछ गाउँमा
यता इनार सुक्दैछ शहरमा
हिमालहरू छन्  कालो कोट लाउने रहरमा
कालो बादलले तेजाव बर्साउँदैछ
यतिबेला वातावरणले प्रकृति तर्साउँदैछ।
साउनको डडेलोमा आधा डडेको गुराँस
यसपाली  पुषमै फुल्यो ढकमक्क
झुक्कियो मौरी , पुतली अकमक्क !


( सम्पर्क न -९८४२०६०४२१ )


Comments