Skip to main content
सडक नाटक
चाडबाडको खेलबाड
-एकु घिमिरे
(भिडमा रुँदै एउटी महिला आउँछे । )
महिला -सकिहालेछ नि एकैछिन पल्लाघरे कान्छीकामा गफिएर फर्कदा यस्तो भयो(केहीबेर रोइरहन्छे , यतिकैमा एउटा जुँगे मान्छे आइपुग्छ । )
जुँगे मान्छे -के भयो सानी?? यत्रो भीडमा रोएर के तमासा देखाउँदै छौ ? हिँड घर जाउँ । चाडबाडको बेला खूव तमासा देखाउनुपर्ने !
महिला-( रुँदै ) अब कसरी जानु घर , सबैथोक स्वाहा भैसक्यो ! तिमीलाई खाली जूवा-तास खेल्दै फुर्सद छैन ! सबै गहना लटिपटि पारेछ चोरले । घरमा के -के हुँदैछ केही मतलव छैन है ?
जुँगे मान्छे - चडबाडमा नखेले कैले खेल्नु त ? म चाहिँ खालि तेरो मुख हेरेर बसिरहनुपर्ने ? आफैँ फतौरा चुट्न गएर घरबार विर्सेर चोरी गराउँछेस् अनि आफैँ दुनियाँलाई देखाउन रुदैछेस ? छिटो हिंड घर , यत्रो मान्छेले देखिसके । (रिसाउँदै ) उता साथीहरुले फिजाई सके होला , यता आफ्नो चाहिँ बुडीले भेजा खुस्काउन लागि । (यत्तिकैमा केटालाई फोन आउँछ ) . (फोनमा बोल्दै )
हेल्लो , ए अँ ! शुरु भैसक्यो ? को को छौ ?? कति पत्तीको ?? हा हा , ल ल- मेरो अलिक ढिलो होला जस्तो भयो । म सकेसम्म चाँडो आउँछु है ।
केटा- (रिसाउँदै ) ल छिटो हिंड , नाटक बन्द गर । तेरो नाटकले सबैको चडबाड झुर भैसक्यो ।( भिडतिर हेर्दै ) सबैजना आ-आफ्नो घर जानु , चाडबाडमा रमाइलो गर्नू । यस्ता फ्याउरीको नाटक हेर्नु भन्दा धुर्मुस-सुन्तलीको भिडियो हेनुहोस् । ( हातले जान इसारा गर्दै ) जानुहोस्-जानुहोस् । (महिलालाई हातमा तान्दै ) छिटो मुन्टी भनेको , दुनुयाँलाई रमिता नदेखा ।
महिला-( रुँदै नजाने आड्डी कस्छे । )
केटा - उता साथीहरु खेल्न बसिसके , मलाई ढिलो भैसक्यो भनेको सुनिनस । ( अब रीसले बौलायो ) केटीलाई कुट्न थाल्यो । जगटा समाएर तान्न थाल्यो ।
महिला -( रुँदै नजाने आड्डी कस्छे )
(केटाले निक्कैबेर कुटदै जगट्याउँदै गरेपछि महिला बेहोस हुन्छे । भीडको बीचबाट अर्की केटी निस्कन्छे )
अर्की केटी - हैन एउटी महिलाई कोदो चुटाइ गर्दा पनि चुप बस्ने यो कस्तो समाज हो ? (भिडतिर हेर्दै ) हैन तपाइहरुको मनमा अलिकति पनि दया छैन ? हेर्नु त तपाइकै अघि यसरी बेहोस हुनेगरी पिट्दा पनि चुप बस्नुभयो है ? धिकार छ तपाइँहरुलाई ।(बेहोस महिलाको छेउमा जान्छे, उसलाई सुमसुम्याउँछे , आत्तिएर कराउँदै ) पानी ल्याउनुहोस त कसैले।
(एउटा मथ्यु हातमा बोत्तल लिएर भिडबाट निस्कन्छ । बाङ्गो पारेर लगाएको नेपाली झुत्रे टोपीबाट कपाल निस्किएको हुन्छ । प्यान्टको एउटा बाउला सुर्किएको र एउटा खुट्टामा मात्र चफ्ली लगाएको देखिन्छ । )
मत्थु - ल लेउ बैनी पानी (हातको बोत्तल अर्की केटीतिर दिन्छ ) । हैन के भएछ यो आइमाईलाई ? धेरै धोके जस्तो छ ! (अर्की केटी बेहोस महिलातिर हेर्दै , मत्थुलाई धारे हातले सराप्छे ) मैले जस्तो अलिक कनट्रोलले पिउनुपर्थ्यो ! (मातेर लडखडाएको स्वरमा ढुन्मुनिदै कराउँछ । ) चाडबाड भन्दैमा जति भेट्यो उति घिच्दा यस्तो हुन्छ !
केटी - (बोत्तलको बिर्को खोल्दै यसो सुँघेर भुइमा बजार्दै ) हैट ! यो त रक्सी पो रहेछ त !
मत्थु - अनि रक्सीले मातेर लडेकालाई उठाउन रक्सी नै चाहिन्छ भन्ने भन्ने थाहा छैन मैयालाई ?
केटी - हरे ! अनि यो कहाँ मातेर लडेकी हो त !! यसलाई त मान्छेले कुटेर पो बेहोस पारेको त । ( दर्शकतिर हेर्दै , आत्तिएको स्वरमा ) छिटो पानी ल्याउनुहोस न , के नाटक हेरेजस्तो चुप लागेर बस्नुहुन्छ?
मत्थु - हैन कसले कुटेछ यस्तो सारो ? किन कुटेछ ??
केटी - ( कुट्ने केटा खोज्दै , यसो भिडतर्फ आँखामाथी हात राखेर हेर्दै ) हैन मान्छेलाई फुटबल हानेजस्तो कुटेर कता भागेछ त्यो मान्छे ?
जुँगे मान्छे - (भीडबाट निस्किएर अर्की केटीको छेउमा जाँदै ) किन भाग्ने ? तिम्रो के बिगारेको छु र बाठी हुँदैछौ ?
केटी - ए अझ ठूला कुरा गर्दैछौ हैन ?( बेहोस् महिलातिर देखाउँदै ) यी अबलालाई कुटेर बेहोस पार्ने महानायक भेट्ने रे ( मत्थु तर्फ इसारा गर्दै ) उहाँ अर्का दारुनायाकाले !
जुँगे मान्छे - को रै'छ मलाई भेट्न आउने ?
( केटी बेहोस महिलाको टाउको आफ्नो काखमा राख्छे । मोबाएल निकालेर फोटो खिचेको जस्तो गर्छे। त्यही मोबाएल खेलाएर बसिरहन्छे )
मत्थु - ए ! यो नानीलाई बेहोस हुने गरी पिट्ने तँ पो होस् । आज तँ सँग म नभिडी छोड्दिन । सक्छस् भने हामीसँग खेल न के नसक्ने महिलालाई कुट्छ्स ? (कुदेर जान्छ र केटाको छातीमा समात्छ । केटाले मत्थुलाई घुर्चन्छ । मत्थु लडखडाउँदै भूइमा पछारिन्छ ।)
जुँगे मान्छे - (रिसाएर जंगिदै ) कुटें त मेरै स्वास्नी कुटें , तँलाई के मतलब ? मेरो सामानको मेरो खुशी !
मत्थु - ( उठेर धूलो टक्ट्क्याउँदै ) ए ! तैले , तैले पनि हैन तिमीले , अझ तिमी पनि हैन तपाई -हजुरले आफ्नी बुडी पो कुटेको ( आफ्नै मुखमा आफैलाई कुटेको जस्तो गर्दै ) थुक्क मेरो मुख , कुटेको भनेँ सरी है ! (झुकेर नमस्ते गर्दै ) कुटिस्येको ? म त कुरा नबुझेर हजुर । आफ्नी बुडी कुटेकोमा यत्रो टाउको दुखाउने यो ( केटी तिर इसारा गर्दै ) हिरोनी चाहिँ को रै'छ ? बेकारमा ( केटो तिर देखाउँदै ) उहाँलाई हात लागाएँ । (कुदेर जान्छ र अघि राखेको रक्सीको बोत्तल ल्याउँछ । केटोको छेउमा बोत्तल राख्दै , घुँडा टेकेर ) सगुन सहित माफी चहान्छु हजुर ।
जुँगे मान्छे - (रक्सीको बोत्तल उठाएर सुँघ्दै ) अहाहा ! लौ माफी भयो ।(मत्थुलाई समाएर उठाउँदै ) उठ्नुहोस् भन्दा पनि उठिस्योसस् ! अब हामी मीत लगाउनुपर्छ ।
मत्थु - हात लगाएकोमा माफी पाउँ है मितज्यु । अरुलाई कुट्दा पुलिसले लगिहाल्छ अनि ,कुट्ने भनेकै बुडीलाई त हो नि हैन हजुर ? ठिक गर्नुभयो तपाइले । आज म पनि घरमा गएर बुडीको ढाड भाँच्छु ! (दुवै मिलेर रक्सी खान्छन ) ए ! (टाउको कन्याउन्दै ) मेरो त बिहे नै भएको छैन क्यारे !!कताबाट कुट्नु बुडी ? ( केटोतिर हेर्दै ) पछि कुटौला है हजुर ?
जुँगे मान्छे - अनि हामीले मीत लगाएको हैन ? अब मित लगाएपछि मीतको बाबुलाई के भन्नुपर्छ ?
मत्थु -बाउ
जुँगे मान्छे - अनि आमालाई ??
मत्थु -आमा
जुँगे मान्छे - अनि ! सक्किगयो नि मितज्यू , मीतको बुडी तपाइको नि हो नि ! ( बेहोस महिलातिर देखाउँदै ) यसैलाई कुट्नुहोस न त। ( भीडतिर हेर्दै ) किन हाँस्नुहुन्छ तपाईँहरु ? हाम्रो घरायसी कुरामा तपाइँहरुलाई के चासो ? जानुहोस आ-आफ्नो घर ! मीतज्यू को घर-बार पनि भएको रैन'छ , यो खूव बाठी हुने परी चाहिँ तपाइँलाई राखौँ हौ मितज्यु ?! (मत्थु तिर हेर्दै ) अरुको काम छैन जानुहोस् , चाडबाडमा घर चोरी होला ! (हातले सबैलाई जाऊ भन्ने इसारा गर्छ। )
(मत्थुहरु रक्सी पालो गर्दै खाँदै , नाच्दै गर्न थाल्छन् , पर्श्वमा गीत सुनिन्छ बोत्तलको पानीले )
(अर्की केटी फोनमै ब्यस्त देखिन्छे , बेहोस महिला काखमा टाउको राखेकी देखिन्छे )
यत्त्तिकैमा सानो एउटा केटो अन्य दुई मानिस सँग आउँछ , बेहोस महिला भएको छेउमा पुगेर सुम्सुम्याउँदै )
केटी - नमस्कार सर ( आएकाहरुलाई लक्षित गर्दै ), हेर्नुहोस त मान्छे कुटेर बेहोस नै बनाएका रहेछन् ।
सानो केटो - आमा के भयो तपाईलाई ? मैले पुलिस अङ्कलहरू बोलाएर ल्याएको छु , तपाइको हराएको गहना चोर पनि फेला पारिदिने रे , उठ्नुहोस न ! ( आमालाई सुम्सुम्याउँदै रुन थाल्छ ।)
प्रहरी १ - ( अचेत महिलाको छेउमा गएर हेर्दै ) तपाईले फोन गर्नु र ( सानो केटोलाई देखाउँदै ) यो बाबु पुग्नु एकैचोटी भयो । बाबुले त गहना हराएको र आमा रोइरहेको भन्ने उजुर गरेथ्यो । फेरी यी महिला जस्को गहना हराएको छ उसैलाई कसले र किन पिटेछ ?
(मत्थुहरु रक्सी पालो गर्दै खाँदै , नाच्दै गर्न थाल्छन् , पर्श्वमा गीत सुनिन्छ बोत्तलको पानीले )
केटी - (मत्थुहरुलाई देखाउँदै ) ऊ एउटा कुट्ने अर्को रक्सी धोकाउने ! आफ्नी बुडिलाई कुटेको रे !
प्रहरी २ - ( मत्थुहरुको छेउमा गएर ) नाच्न बन्द गर ! ( मत्थुहरु नाचिरहन्छन् )
प्रहरी २ - (जोडले चिच्याएर ) नाच्न बन्द गर भनेको ! ( नाक थुन्दै ) आम्ममामा , गीत पनि उस्तै , मताई र दुर्घन्ध पनि उस्तै !!
मत्थु - को आयो फेरी ऋषिमुनी बनेर ! चाडबाड भन्ने थाहा छैन ? यो बेला नि नपिए रक्सी के का लागि ?? को हौ तिमी हामीलाई रमाइलो गर्न नदिने ??
(गीत मधुरो भएर बन्द हुन्छ, अर्को प्रहरी पनि मत्थुहरु भएकै ठाउँमा आउँछ । सानो केटो बेहोस आमाको छेउमा रोईरहेको देखिन्छ । अर्की केटी महिलाको टाउको काखमा बोकेर बसिरहन्छे । )
प्रहरीहरु - (एकैसाथ ) हामी प्रहरी हौँ ।
जुँगे मान्छे - (आत्तिदै ) अबुई ! पुलिस रे , भाग-भाग !! ( भाग्न खोज्छ तर प्रहरी १ ले कठालोमा समाएर एक लात हानेर भुइँमा थेर्चाछ । )
मत्थु - हैन होला , प्रहरी भए त ड्रेस हुनुपर्ने ?
प्रहरी १ - ( मत्थुलाई जगटामा समातेर एक थप्पड लगाउंदै ) ए ! तँ मत्थुलाई हाम्रो ड्रेस चाहियो होइन ? बिच सडकमा मातेर हल्ला गर्ने अनि आफै ठूलो कुरो गर्ने ? तिमीहरु दुबैलाई खोरमा जाकिदिन्छु अब ! बुझिस् ? अनि चिन्लास् प्रहरी हो कि हैन भनेर ।
जुँगे मान्छे - ( कुदेर प्रहरी १ नजिक आएर घुँडा टेकेरा नमस्कार गर्दै ) चाडबाडको बेला खोरको कुरो नगर्नुहोस् सा'ब , तासमा हारेर तिर्ने पैसा नभएर मैले आफ्नै घरको गहना बुडी नभएको मौका झिकेको मात्र हो हजुर , यी यहीँ छ ( गोजीबाट गहना निकालेर प्रहरी १ लाई दिदै ) माफी पाउँ हजुर ।
सानो केटो - ( कुदेर प्रहरी छेउ आउँछ ) अबुई !! हाम्रो आमाको गहना चोर्ने त हाम्रै बाबा पो ! कस्तो अचम्म !!
प्रहरी २ - ( सबैतिर इशारा गर्दै ) हेर्नुहोस् त , चाडबाडको निहुँमा तास -जुवा खेलेर हारेपछि मान्छेले आफ्नै घरको सामग्री पनि चोर्ने रहेछ । भेट्नु भने यसले अरुको छोड्ला ?
मत्थु - ( मातेको स्वरमा ) बाह्र बर्षमा उन्यू फुल्यो गु को गन्ध चल्यो भनेजस्तै भयो ! यो उमेरमा पुगेपछि भेटेर मीत लगाएको त चोर पो रहेछन् ! फ़र्काइदिन सहयोग गर्नुपर्र्यो हजुर ( प्रहरी पट्टि हेरेर नमस्कार गर्छ )
प्रहरी १ - ( मत्थुलाई लाघार्दै ) तँ मत्थु चाहिँ कुन ठूलो होस् त ? तेरो मीत अब खोरमै फर्काउनु !
( सानो केटो बेहोस आमाको छेउमा रोईरहेको देखिन्छ । अर्की केटी महिलाको टाउको काखमा बोकेर बसिरहन्छे । )
मत्थु - हेपेर चाहिँ नाबोल्नुहोस है पुलिस भएँ भन्दैमा ! म कहाँ सधै पिउने मान्छे हो त , यो त यसो चाडबाड मनाएको पो त ! चाडबाडमा पनि खान नपाउने भन्ने कहाँ लेखेको छ ?
प्रहरी २ - ( दुवै मत्थुलाई लाघार्दै ) ए ! चाडबाडमा रक्सी पिउन पाइन्छ भन्ने चाहिँ कहाँ लेखेको भेटिस र धोकिस त ? एउटा चडबाडको निउँमा तास हारेर चोर्ने अर्को घ्याप्मा भन्दा धेरै गनाएर हामीलाई सिकाउने ? दुबैको पाता फर्काएर बाँध्नुहोस त !
प्रहरी १ -(दुबैका हात डोरीले बाँधिदिन्छ । )
सानो केटो -( आमालाई छोडेर बाबु र प्रहरी भएको नजिक आएर ) खुचिङ्ग -खुचिङ्ग ! तिमीलाई आमाको गहना चोर्ने चोर बाउ ! अब पुलिसको खोर जाऊ !
( बेहोस भएकी महिला पनि बिस्तारै चट्पटाउँछे । )
केटी - दिदी उठ्नुहोस् , तपाईको गहना चोर प्रहरीले पक्डिसक्नुभ्यो । उठ्नुहोस् ।
महिला - कसले चोरेको रै'छ त ?
सानो केटो - (आमा नजिक आएर ) हाम्रो बाबाले पो चोरेका रै'छन् आमा गहना त !
महिला - हरे ! के सुन्नु र देख्नु परेको ! ( रुँदै ) यी सब देख्नु अघि किन मेरो काल आएन ? ( केहीबेर रोएपछि )
महिला - मेरो गहना पनि भेटियो कि तासमा हानिसकेछन् त सर ??
प्रहरी १ - ल लिनुहोस् तपाईको गहना । ( महिलालाई गहना दिँदै ) यही होइन तपाईको गहना ??
महिला-(महिला गहना हेर्दै ) धनयवाद सर । (झस्केर ) हैन यो सिक्री त मेरो हैन , कसको आयो ??
प्रहरी १-यही चोरलाई सोध्नुपर्छ सिक्री कसको हो भनेर । ( जुँगे मान्छेलाई दुवै हातले हल्लाउँदै ) ए चोर , लु भन् त्यो सिक्री कसको चोरिस् ?
जुँगे मान्छे- खै सर , को हो मान्छे त चिन्दिन !
प्रहरी २ - कहाँ र कहिले चोरिस त ?
जुँगे मान्छे- यहीनेर अघि भर्खर चोरेको हजुर , माफ पाउँ !
प्रहरी १ - लौ हेर्नुहोस् ! तपाईहरुमध्ये कसको सिक्री हराएको छ , हेर्नुहोस् त !
(भीडबाट एउटी केटी निस्कन्छे )
केटी -अपुई ! मेरो पो सिक्री त अघि कतिखेर यसले चोरेछ !
जुँगे मान्छे- (मुन्टो हल्लाउँदै ) हो सर , यनै नानीको हो सिक्री ! हाम्रो तमासा हेर्दा -हेर्दै नानी मख्ख परिहालिन् , त्यै मौकामा मैले झ्याप हानेको !
मत्थु - माने मीतज्यू माने , तपाई चोरको त अध्यक्ष नै हुनुपर्ने मान्छे ! महान चोर हुनुहुँदो रछ ! सलाम छ हजुर !!
प्रहरी २ - चुप लाग ! एउटा चोर , अर्को चोरको मीत ! थुक्क !! तिमीहरुलाई लाज -शर्मा छैन है ?? ( जोसिएर दुवै भएको ठाउँमा पुग्छ र ठेलेर ) तिमीहरु कान समाएर घुँडा टेक । (औंलो ठड्याउँदै ) सोधेको भन्दा बेसी बोल्ने हैन हैन नि अब !
(दुबै फटाहा घुँडा टेक्छन् र हस् हजुर भन्दै नमस्कार गर्छन् अनि कान समाउँछन् । )
महिला - तिमी यतिसम्म गिरिसक्यौ है ?? (रुँदै ) कसरी मुख देखाउनु समाजमा अब ?? ( सिक्रिवाला केटीको छेउमा गएर हात जोर्दै )
माफी पाउँ बहिनी , मेरो बुडाको तर्फबाट म माफी माग्छु , तपाईंको सिक्री लिनुहोस् ( सिक्री दिन खोज्छे ।)
प्रहरी १ - ( हातले रोक्ने इसारा गर्दै ) पख्नुहोस् । (केटीहरु भएको ठाउँ नजिक पुगेर ) एकछिन हत्तार नगर्नुहोस् , यहाँ सरको कुरा सुन्नुहोस् ।
प्रहरी २ - (सबैतिर इशारा गर्दै ) सबैले ध्यानापूर्बक सुन्नुहोस् । चाडबाड या कुनैपनि निहुँमा तास जूवा खेल्नु र जाँड -रक्सी खानु कानून विपरित त छँदै छ , तपाईंलाई यसको ब्याक्तिगत बेफाइदा पनि उत्तिकै छ । एकातिर परिवारिक कलह अर्कोतिर नहाहिँदो धन र समयको खर्च । रमाइलो गर्न जूवा -तास नै खेल्नुपर्छ र ? जाँड -रक्सी खाएर मात्दैमा रमाइलो हुने हो र ?? अर्कोतिर यस्तो बेइज्यत पनि हुन्छ । अनि (सबैलाई हातले इशारा गर्छ ।)
प्रहरी १ - फेरी चाडबाड आयो भन्दैमा यी बहिनीले जस्तो महङ्गा -महङ्गा गहना लगाएर हिँड्नु पनि उत्तिकै खतरा छ । एकातिर गहना चोरी हुने त छँदै छ अर्कोतिर त्यही गहनाले ज्यान पनि जान सक्छ । चोरले मान्छे मारेर गहना लुटेका समाचार सबैले सुन्नुभएकै होला ?
महिला - घरमा ताला नलगाई पल्लोघर गफ गर्न जानु मेरो नि' गल्ति भएछ । ( प्रहरीलाई नमस्कार गर्दै ) अब हामीलाई जान दिनुहोस् हजुर , मेरो बुडालाई पनि फुकाइदिनुहोस् ।
प्रहरी २ - त्यसरी चोरलाई तपाईंले भनेजस्तो सजिलै कहाँ छोडन मिल्छ र ! यो चोरसँग गएर सबै तासे-जुवाडे समातेर , कार्यवाही गरेर , कागज लेखेर मात्र छोड्न मिल्छ । ( अर्को प्रहरीलाई आदेश गर्दै ) हिंड्नुहोस् यी फटाहाहरुलाई डोर्याउँदै ।
प्रहरी १ - ( दुबैलाई तान्दै ) लु हिँड मामाघर ! ( प्रहरीहरु त्यहाँबाट निस्कन्छन् , भिडले तालि बजाउँछ । )
Comments
Post a Comment