Skip to main content

संखुवासभामा भूपीको याद

               संखुवासभामा भूपीको याद

                                                                                                            – एकु घिमिरे

“वैली जान्छन् कुसुमहरु यी जेठका घाम ओडी      
 क्वैली जान्छे कुन विरहमा माइती देश छोडी। ”

    राष्ट्रकवि माधव घिमिरेको माथिको कविताले भनेजस्तो वि.सं.२०७० मा जेठको घाम त्यति दह्रो हुन सकेन । बेलैदेखि पानी परेर जेठको तेस्रो हप्तामा प्रशस्त हरियाली भइसकेको थियो । झ्यार्र–झ्यार्र परिरहने पानीले यो मौषमलाई सानो नानीको आँखा बनाएको थियो । हरपल मडारिइरहने कालो बादललाई झुक्याएर झुलुक्क–झुलुक्क देखिने घाम हाम्रो सुखजस्तो क्षणिक थियो । म पहिलोपटक सुनसरीको धरानवाट संखुवासभाको चैनपुर जाने क्रममा बिहान पाँच बजेको वसमा चढेको थिएँ ।
   एकातिर गाडीको भीडभाड अर्कोतिर जेठको धरान,पानी पर्दै भएपनि हप्प गर्मी थियो । जसै गाडी भेडेटार पुग्यो,शित्तल मात्र त के भनौं जाडो नै भयो । भेडेटार जाडोले कुहिरो ओडेर सुतिरहेथ्यो,उठेकै थिएन । बाटो छेउका उत्तिस र पानी अमलाहरुले स्वागतका पात हल्लाए अनि मलतो एवं मौवाहरुले विदाइका हात हल्लाए ।हामी ओरालियौं लेउती खोलातर्फ ।
  मौसम अलिक सफा भएको थियो । मेरो जन्मस्थान अन्तुडाँडाको मीत ध्वजेडाँडासँग गाडीले लुकामारी खेलाइरह्यो । भर्खरै वामे सर्न लागेको नानीको हातजस्तै कोमल र मायालु लाग्ने नरम सूर्यकिरणले चुम्न थाल्यो ।यस्तो मनोरम वातावरणमा पनि मन चाहिं अँध्यारै थियो । म आफ्नो दशवर्षे शिक्षण पेशा र कर्मथलो धरान छोडेर नेपाल टेलिकमको टेक्निसियन पदको जागिर खान संखुवासभाको चैनपुरतर्फ हिंडेको थिएँ ।विद्यालयमा कलिला हातहरुले आँखावाट माया पगाल्दै लगाइदिएको अवीर र माला सम्झिएर, हिंड्ने वेला श्रीमतीजीको अवरुद्ध गला सम्झिएर, ‘अरुको बाबाजस्तो प्लेन चढेर विदेश चाहिं नजनु है !’ भन्ने सानो छोराको वालसुलभ अनुरोधको यादले वा ‘खोइ कता कता  किन छरिन्छौ त ?’भन्ने आमाको हिंड्ने वेलाको मोवाइलको प्रश्नको उत्तर नभेटेर हो मन क्वीन्टलको भारी वोकेर उकालो हिंडिरहेको अनुभव गरिरहेथ्यो ।दायाँतिर धमिलो लेउती उत्तरतर्फ वगिरहेथ्यो ।मैले आफूलाई यही लेउतीजस्तै ठाने । रातभरीको झरीले लेउतीलाई अनि उनको अश्रुझरीले मेरो मनलाई धमिल्याएको थियो । यात्रुका विविध झुण्ड मातृभाषामा गफिएर हाँसिरहेका थिए । मैले तिनीहरुलाई चाहिं दक्षिणतर्फ वहने नेपालका सङ्ला नदी ठाँने। म जस्तै यो एकलकाँटे लेउती अरुभन्दा फरक दिशातर्फ कुदिरहेथ्यो । गाडीको वेगसँगै विरामी,वृद्धवृदा र केही असक्तहरुको सुस्केरा पनि वड्दै थियो । म तीनजना वस्ने सीटको वीचमा थिएँ । मेरो दायाँपटी झ्यालछेउमा वसेकी वहिनी चाहिं वान्ता  गर्न थालेकी थिइन् । हामीभन्दा अघि र पछि धेरैजना थिए उनी जस्तै वाक्क गर्नेहरु । गाडी धनकुटाको गुठीटार पुगिसकेको थियो । घर घरका विद्यार्थी टिप्दै गाडी धनकुटातर्फ उकालिदै गयो । मैले गाडीका सहचालकलाई वोलाएर सोधें ‘धरान इटहरीमा त विद्यार्थी देख्नसाथ गाडीवालाहरु रिसाउँछन् त,यहाँ त घरैपिच्छे रोक्दै चढाउने चलन रहेछ,किन?’ 
‘यो पहाड हो सर,तराई होइन’ उसले गर्वसाथ उत्तर दियो ।संवाद सुन्नेहरु सबै  हाँसे ।
  गाडी धनकुटावाट पनि आकासियो। मङ्गोलियन युवतीको कपालजस्तै सिलिक्क पातहरुमा सजिएर सल्लाहरू  धनकुटाको सुरक्षर्थ तैनाथ देखिन्थे । उचाइसँगै शीत्तलता पनि वड्दै गयो ।गाडीवाट देखिने ऐंसेलु,चिया अनि अम्लिसोका वोटहरुले जन्मभूमि इलामको याद दिलायो । वाल्यकालमा साथीहरुसँग उपद्रो मच्चाउँदै हिंडेको यादले एकछिन आनन्द आयो । उल्टी गर्नेहरुको वहुमतले गाडीमा अम्लीय गन्ध फैलिएको थियो ।अतितको यादमा डुविरहेको वेला झ्याल छेउमा वस्ने वहिनीको मोवाइलमा वजेको घन्टीले झस्कायो 
‘सवै र वाख्रा उकाली लागे.......................’                
 ‘मिठो लोकगीत पो गुन्जियो त?’वमिट गर्न छोडेर कसैले गरेको मिसकल हेर्दै गरेकी उनलाई मैले एकाएक प्रश्न गरें । 
‘यो हाम्रो जिल्लाको लोक गीत हो नि त,कमलीकान्त दाइले गाएको ।’ संखुवासभालाई लक्षित गर्दै उनले भनिन् । यसपछि भने उनीसँग गफको क्रम शुरु भयो । तर पटक पटक आइरहने बान्ताले उनलाई खूव सतायो । देव्रेतिर भएकी वहिनी चाहिं अल्पभाषी रहिछन् । तर संयोग नै भनौं ती दुवै संखुवासभाली तामाङ थिए ।
तामाङ भन्नसाथ मैले उनीहरुलाई उर्गेनका वारेमा सोधें ।ती दुवैले आफ्ना पूर्खावारे बेखबर भएको वताए ।मैले तामाङ भाषामा भने
‘एन्दा राङ्गला ताम पाङ्गवार खामुला?’ (तिमीहरुलाई तामाङ भाषा आउँछ?) 
दुवैलाई नआउँदो रहेछ ।
 ‘ताम आखानान् खाराङले तामाङ ताजी?’ (भाषा नआइ कसरी तामाङ भयौ?)
 ‘राङ्गला ताम लोवो हाँले ।’ (आफ्नो भाषा सिक है!)
मैले उहिल्यै रटेर विर्सन लागेको तामाङ भाषा डायरी पल्टाएर टुटेफुटेको स्वरमा वोलें र भने ‘तिमीहरु त बाहून तामाङ रहेछौ 'मैले पाँच–सात भाषाका केही वाक्यहरु टिपोट गरी याद गर्ने प्रयास गरेको छु तर आज गफ त्यत्ती जमेन । एकातिर बहिनीहरूलाई नै भाषा नआउनु अर्कातिर आफूलाई ‘एरेन्ज म्यारिज’ गरेर सुदूर गाउँमा अन्माइएकी बेहुली झैं ठानिरहेथ्यो मन, कतावाट गफिनु ?
     पाख्रिवास कृषि केन्द्रले उत्पादन गरेको विरुवावट फलेको लिचीको ठूलो ब्यपार रहेछ धनकुटाको हिलेमा ।अल्पभाषीले किनेर ल्याइन्  र नबोलिकनै इशाराले खान आग्रह गरिन् । तिनी शब्दकी मात्र मितब्ययी रहिछिन्। किलोको चारसय तिरेर दुई किलो अकवरे, धनकुटे विष्कूट, चाउचाउ लगायतका सामान किनिन् तर धनकुटा प्लष्टिक निसेधित क्षेत्र भएकाले झोला नपाएको झोकमा पसलेसँग रिसाएर निक्कैवेर पाकेको अकवरे झैं देखिइरहिन् । वैज्ञानिक अनुसन्धानले फलाइएका ती लिचीमा मासु धेरै र हाड थोरै थियो । तराइतिरको जस्तो भेट्नाको फेदमा कीरा पनि थिएन । मैले तीन–चार दाना खाइदिएँ , विमारी वहिनीले चाहिं खान मानिनन् । तिनी वान्ताले थलिएकी थिइन् ।
     युवतीको सिउँदोजस्तै लाग्यो हिलेवाट सिंधुवासम्मको वाटो । डाँडाको माथिवाट सरर कुदिरह्यो गाडी ।भूइँकुहिरोभित्र डल्लिरहेका थिए गराहरूमा वन्दाकोपी । कतै आलु खन्दै थिए ,कोही कोपी रोप्दै थिए । पौरखको चम्किलो हाँसो थियो त्यहाँका मानिसको अनुहारमा । विमारी वहिनीको लामो कपालको केस्राहरूले हावासँग सहकार्य गरी मेरो दाहिने अनुहार हम्किरह्यो । तिनले वेला–वेला वान्ता गर्दै रहिन् अनि धानजस्ता साना लाम्चा आँखामा आएको आँशु गुलाफी रुमालले पुस्तै रहिन् । एकपटक लोकगीतको धुनसँगै आएको फोन उठाइन् र विमारी स्वरमा भनिन् ‘ममी म सिंधुवा आइपुग्न लागें, गाडी लागेर वोल्न मन छैन, राखें है । ’रुघा लागेको, चिसो लागेको वा कुनै विमारी लागेको भनेजस्तै गाडीमा वान्ता भएर आलस्य हुनुलाई तिनले गाडी लागेको भन्दी रहिछिन् । मलाई चाहिं यो नयाँ शब्द लाग्यो । गाडीले पहाडी भेगको लोकप्रीय निगाले सिमेन्टको कारखाना नजिकैको वाटो हुदै सिंधुवा पुर्‍यायो ।आलु, अकवरे, काँक्रा, रुख टमाटर अदि स्थानीय उत्पादनका लागि प्रख्यात सिधुवा वजार डाँडाको टुप्पामा रहेछ । यात्रुहरु खाना खान ओर्लिए। ती विमारी वहिनी चाहिं हामी उठेपछिको खाली सीटमा डङ्रङ्घ सुतिन् ।  
   ससुराली आएको ज्वाँइलाई जस्तै सम्मानसाथ वोल्दै टलक्क पारिएको झर्के थालमा खाना दिंदा रहेछन् त्यहाँको होटलमा । सादा खानाको असी रुपियाँ मात्र ∕मैले खाना खानुजेल राजधानी आइजाइ गर्दा पस्नुपर्ने पाकशाला नामका लुटशालाहरु सम्झिरहें ।सुगम भएर पनि त्यहाँको फोहर,ठग प्रवृत्ति,अमानवीय व्यवहार आदिजस्ता असभ्यतालाई यो पहाडी बजार सिधुवाको व्यवसायले राम्रै चुनौती दिएको ठाने । होटलवाला साहुलाई धन्यवाद भन्दै मासु खानाको एक सय असी तिरें ।त्यतिवेला अल्पभाषी चहिं अलिक परको टेवुलमा वसेर अघि आफैंले किनेको अकवरे सँग राल र सिंगान हुँदै खाना खाइरहेकी थिइन् ।यात्रुहरु उनको पिरो खुवाइबारे चर्चा गरिरहेका थिए ।विमारी वहिनीका लागि एक वोत्तल पानी किनेर म वसमा चढें ।
   गाडी अव वसन्तपुरतर्फ हानियो । तेह्रथुमको सदरमुकाम म्याङलुङ नगरपालीका पूर्वतर्फ देखिन्थ्यो ।मानिसहरु वट्टामा पंहेलो तत्व वोकेर गाडी चडेका थिए ।मेरो यस तत्ववारेको  जिज्ञासा शान्त पार्दै एकजना प्रतिनिधी यात्रुले ऐंसेलु वेच्न लगेको जवाफ दिए ।मकालु वाइन इण्डष्ट्रिज प्रा.लि.द्वारा उत्पदन गरिने ‘हिन्वा’  नामक अल्कोहलिक पेयको कच्चा पदार्थ रहेछ त्यो ऐंसेलु । प्रति के.जी. साठी देखि सत्तरी रुपियाँसम्म बिक्री हुने उनीहरुको कथन थियो । स्थानीय सामूदायिक वनको सदस्य बताउने एक यात्रुले आफूहरुको किसान लक्षित व्यवसायिक ऐंसेलु खेति प्राथमिकतामा रहेको वताए ।संखुवासभाको टुटे देउरालीमा चर्चित वाइन कारखाना रहेछ ।यत्तिकैमा म्याङलुङ जाने कालो नागवेली वाटो छुट्यो पूर्वतर्फ ।त्यहाँवाट पच्चीस किलोमिटर टाढा पर्दोरहेछ म्याङलुङ नगरपालिका ।गाडी वेगिएर टुटे देउराली पुग्यो ।ऐंसेलुवालाहरु झरे । २४७५मिटर अग्लो ठाउँमा अवस्थित यो ठाउँवाट संखुवासभाको धार्मिक र पर्यटकीय स्थल सानी पाथिभरा अर्थात तीनजुरे डाँडा नजिकै पर्दो रहेछ ।
   धेरैजसो भाते निद्राले लोलाएका थिए । तर वाटो धेरै विग्रिएको हुँदा हल्लाएर कोहीपनि निदाएका थिएनन् । ‘पीच सडक यतिसारो विग्रिएको देखेको थिइनँ ।’मैले अलिक सारो कराएर भने ।म भन्दा पछाडिको यात्रुले थप्यो‘यो त के हो र ∕अप्ठेरो त आउनै वाँकी छ ।’पीच गरेको दुई वर्ष पनि नभइकन वाटोको यो हालत थियो । वाटो वनाउन भनी लिएको पैसाले क–कस्को घर वनेछ,ऋण तिरिएछ ∕ भ्रष्टारको यो लज्जासपद उदाहरण आफैले हेर्दाहेर्दै ड्राइभर करायो
‘ल सवैजना ओर्लियौं त,गाडी फस्यो ।‘        
 ‘ल चाँडो गरौं,सवै झरौं ∕’ सहचालक करायो ।
‘विमारी त नझार्दा पनि होला नि ?’एक विरामीको करुण आवाज आयो ।     
‘सव जना झर्ने ,अहिले सवजनाले विमारीको नाटक पार्छ ।’सहचालक रिसाएर करायो ।                 वालक,वृद्धा,विमारी सव झरे ।मेरो छेउकी विमारी वहिनीले अलिक ढिलो गरिछिन् सहचालक रिसाएर अश्लिल शव्दले गाली गऱ्यो तर कसैले त्यसको प्रतिवाद गरेन ।हामी युवाहरु ठेल्ने,कोही लठारो लगाएर गोरु ताने झैं तान्ने,सहचालक साइ–साई र सुइ–सुई पार्दै कराउने अनि गाडी चाहिं कालो धुवाँ फालेर अघि नवड्ने,चक्का मात्र फनफनी घुम्ने क्रम करीव पैंतालिस मिनेट चल्यो । वाटोमा अलिक पर खोल्सावाट वालुवा र गिट्टी मिसिएको माटो ल्याएर हाली ठेल्ने र तान्ने काम गरेपछि वल्ल तल्ल गाडी निस्कियो ।सवैले ताली वजाए ।मैले सहचालकलाई सवैको सामु वोलाएर भनें 
‘भाइ मेरो एकसय फिर्ता लेउ त '      
‘फिर्ता दिन वाँकी थियो र?’उसले प्रतिप्रश्न गऱ्यो ।अरुले पनि हाम्रो गफ सुनिरहेका थिए ।मैले भने
‘यत्रोबेर गाडी तानेको र ठेलेको पैसा दिनुपर्‍यो नि भाइ ' सवै हाँसे . 
 सहचालकले पनि हाँस्दै भन्यो
‘गलेको वेला क्या हसाउँछ हौ यो दाइले पनि ।’
यति अग्लो –चिसो ठाउँमा पनि गाडी ठेल्ने र तान्ने कामले सवैलाई पसीना छुटायो ।कसैले नजिकै वगिराखेको कुलोमा एउटा ठूलो पात टिपेर धारो वनायो तत्कालै अनि त्यहाँ मुख धुनेहरुको भीड लाग्यो ।मैले चाहिं यही मौकामा एक मुठी भूइँ ऐंसेलु (स्ट्रवेरी) टिपें र खान थालें ।कसैले यो के हो भन्ने जिज्ञासा राखे ,कसैले जे पायो त्यही खाएर मरिएला  भन्ने सुझाव दिए ।कोही चाहिं मैले खाएको देखेपछि टिपेर चाख्दैथिए ।यो प्राकृतिक स्ट्रवेरीको स्वाद हाम्रा वजारमा पाइने हाइव्रिडको स्वादभन्दा धेरै फरक थियो ।यस्तै स्ट्रवेरी मैले पाँचथरको पौवाभन्ञ्याङमा गजलकार मित्र विवश वलिभद्र कोइरालासँग एक साहित्यिक कार्यक्रममा जाँदा खाएको थिएँ । पौवाभन्ञ्याङमा भएको त्यो स्ट्रवेरी जस्तै शुद्ध कार्यक्रम,त्यो कार्यक्रमका आयोजक साथीहरु सवैको याद चैते हुरी जसरी आयो ।यादलाई भङ्ग गर्दै वसको झ्यालवाट मेरो छेउमा वस्ने विमारी वहिनीले चोर औंलाले देखाउदै भनिन् ‘दाइ त्यो चिराइँता ल्याइदिनुहोस् न,गाडी लागेको त्यसले ठीक पार्छ कि ।’  उनले भनेपछि पो मैले पनि याद गरें,त्याहाँ त चिराइतोको घारी नै रहेछ ।टिपेर लगिदिएँ एक मुठी ।कलिलैमा चुडेर नास गरेको भन्दै गाडीमा वस्ने हजुरआमाले मलाई झपार्नु भयो ।ती सचेत हजुरआमा मादी रामवेनीकी दहाल थरकी हुनुहँदो रहेछ । घाँटी दुख्दा खाइने वज्रदन्ती पनि गाडीको झ्यालवाट यत्रतत्र देखें ।प्राकृतिक प्रदुषण सूचक भनिने लाइकेन्स (झ्याउ) रुखभरी झुण्डिएर वातावरणीय शुद्धताको प्रमाण पेश गरिरहेका थिए ।मैले यतिवेला वनस्पतिशास्त्रका मेरा गुरु कमल मादेनलाई सम्झिएँ ।माथि भित्तामा सुत्केरी र जीउ दुखेका विमारीले खाने पाखनवेत ठूला पातहरुमा शीत टल्काएर मलाई जिस्काइरहेथ्यो ।नजिकै रातो वर्णको ठूलो ओखती पनि हल्लिरहेको थियो ।जडीवुटीको सङ्ग्रालय झैं लाग्ने त्यो ठाउँवाट गाडी अघि वड्यो,चिसो हावावट जोगिन वहिनीले काँचको झ्याल सारिन् । उनको हिउँजस्तै पाखुरीमा जाडोले उम्रिएका काँडाहरु देखिन्थे ।
    हिलोमा रोपाइँ गर्ने ट्रयाक्टर जस्तै भएर गाडी मुडे शनिश्थरे भन्ने वजार पुग्यो ।दुवैतिर राम्रा राम्रा स्वगतद्वार वनाइएको,वजार वीचमा एकजनाको शालिक पनि राखिएको त्यो ठाउँको मूल सडक चाहिं एकराते दहीजस्तो हिलोले ढाकिएको थियो ।एकजना अलिक रसिक वोल्ने साथी वसमा चडे र भने    
‘हिउँदभरी धुलोको पीर,वर्खाभरी हिलोको पीर ∕यो लो ले लोथ काड्ने भो हामीलाई !   
  सवै जना हाँसे ।मैले तिनलाई वोलाएर सोधें      
‘यो मुडे कुन गा.वि.स. मा पर्छ ?’                
   ‘यो ठाउँ नेपालको राजनीति जस्तै मिसमासे छ ,त्यै भएर राजनीति जस्तै खत्तम भएको !’ तिनले जवाफमा भने ‘संंखुवासभाको तामाफोक,माम्लिङ,आँखिभूइँ अनि धनकुटाको डाँडागाउ गा.वि.स.को संगम स्थल हो मुडे वजार ।‘ एक हूल मानिहरु गाडीमा पसे,तिनीहरु ताप्लेजुङको पाथिभरा दर्शन गरेर फर्किएका रहेछन् ।गाडीका सवैलाई फूल र टिका वाँडे ।मेरो छेउकी विमारी वहिनीले चाहिं लगाइनन् फूलटीका ।उनी क्रिश्चयन रहिछिन् ।उनका अनुसार  कुलतमा लागेका उनका भाइ र वावालाई जोगाउन क्रिश्चियन धर्ममा लागेका उनीहरुजस्तै गाउँभर थुप्रै मानिसहरु छन् ।धर्मले भन्दा पनि साप्ताहिक धर्मिक भेलामा गरिने प्रवचनहरुले चेतना वडेर कुलत केही कम भएको उनले वताइन् ।चिराइतो खाएपछि उनी निक्कै उज्यालिएकी थिइन् ।वान्ता पनि रोकिएको थियो ।गफगाफ वडेको थियो ।डडुवा लागेर सखाप भएको अलैंचीवारीहरु हेरेर मन डडाउँदै म यात्रारत थिएँ । उनले नै तल वगिरहेको माया र पिलुवा चिनाइदिइन् । माथि टल्किरहेको मादीको ओखरवोटे वजार र उत्तरतर्फ देखिएको मेरो गनतव्य चैनपुर पनि तिनकै सहयोगले चिनें ।कच्ची बाटामा पच्चीस भन्दा धेरै गडिहरु लाम लागेको ठाउँमा पुगियो । हाम्रो गाडि पनि त्यहीं पुगेर रोकियो ।विपरित दिशावाट आउँदै गरेको मालबहाक ट्रक हिलामा गाडिएर बाटो अवरुद्ध भएको रहेछ । हामी ट्रक भएको ठाउँसम्म जान भनी हिंडेको हिलामा गाडिएको मेरो खुट्टामात्र बाहिर आयो, चप्पल गायब ∕परेन फसाद ?धन्न एकजना कृषक आली लगाएर फर्किरहेका रहेछन् र बनतरुल झै खनेर मेरो चप्पल निकालिदिए । विहान चारवजे धरानबाट हिंडेको बस पनि त्यहीं रहेछ । भोकले मानिसहरुको विजोक देखिन्थ्यो । नजिकमा घर र पसलहरु प्नि थिएनन् । उत्तिसघारीमा एकतमासले झ्याउँकिरी कराइरहेका थिए । फसेको ट्रक निकाल्न एउटा स्काभेटर त आयो तर ट्रक ड्राइभरसँग स्काभेटरलाई तिर्ने पैसा रहेनछ ∕ तराइवासी ट्रकड्राइभरले भन्यो ‘हामीको गोजिमा खानपुग्ने मातर पैसा छ हजुड,यो गाडि–उडि फसिहालेको पैसा साहूजी कहाँ तिरिदिन्छ रे?हामी पैसा तिर्दैन,बरु घाम लागेपछि गाडि निकाल्छु हजुड ∕’ मैले अरु गाडिका यात्रुबाट पचास–पचास रुपियाँ बटुलेर स्काभेटरलाई तिरिउिँm भन्ने प्रस्ताब राखें । कोही–कोही रिसाए पनि धेरैले पैसा दिए अनि जम्मा उठेको तेइस सय दिएपछि स्काभेटरले फसेको ट्रक ठेलेर साइड लगाइदियो र हाम्रो गाडि चल्यो ।जौटार भन्ने ठाउँ कटेपछि चाहिं वाटो भत्किए पनि हिलो रहेनछ ।पिलुवा जलविद्युत आयोजनाको पावर हाउस हेर्दै हामी उकालो लाग्यौं ।रातो रुखो माटोमा भर्खर उम्रदै गरेको वदम खेति अनि वाहिरी सौन्दर्यलाई निहाल्दै  वहिनीसँग गफिदै रहें । दिनको करिव साढे तीन वजे म चैनपुरको जिरो प्वाइन्टमा वसवाट झरें ।त्यो वसचाहिं संखुवासभाको सदरमुकाम खाँदवारी जाने थियो ।खाँदवारीको लागि एक तिहाइ वाटो वाँकी छ भन्थे यात्रुहरु ।हामी वसेको सीटको चाहिं तीनैजना त्यहीं झरियो । गाडीवाट झरेर यसो हेर्दा अल्पभाषी निक्कै पर पुगिसकेकी थिइन् ।फर्केर हेर्लिन् र विदाइको हात हल्लाउँला भन्ने धोको पुरा भएन ।यतिन्जेलमा विमारी वहिनी पनि झरिछिन् ,दुवैतिर भिर्नै व्याग वोकिन् अनि गोरो दायाँ हात अलिकति उठाएर हल्लाउँदै वाइ- वाइ  भनेर अल्पभाषी गएभन्दा ठीक विपरित दिशातर्फ लागिन् ।मलाई कता कता दुखेजस्तो,वर्षौं सगै वसेको साथी छुटेजस्तो भयो ।यी दुवै सहयात्री विश्वेश्वरप्रसाद कोइरालाको ‘सिपाही’ जस्ता लागे ।मैले त वाइ वाइ पनि भने कि भनिनँ,पत्तै भएन। 
चैनपुरको दक्षिणपूर्वी वजार मादी नगरपालिकामा घर भई स्थानिय विद्यालयमा शिक्षण गर्ने माधव अधिकारी  पनि  त्यही गाडीबाट झरे , उनकै सहयोगमा नेपाल टेलिकम,चैनपुरकोको कार्यालय पुगें र हाँजिर भएँ । घाम पाकेको काँक्रोजस्तो पहेंलो  र थाकेको म जस्तै शक्तिहीन भइसकेको थियो । कार्यालय प्रमुख तिलकराम चौधरी मिजासिला,सहयोगी अनि रसिक भएकाले एकैछिनमा थुप्रैसँग चिनजान,घुमघाम र जलपान गराए । खाटभन्दा ठूला ठूला चप्लेटी ढुङ्गाहरु ओछ्याइएको  वाटोको दुवैतिर फैलिएको वजार । पाटनको कुनै गल्लिमा पो छु कि जस्तो लाग्ने नेवारी कला र संस्कृतिले भरिपूर्ण रहेछ चैनपुर वजार । पूर्वतर्फ कैलास डाँडा र त्यो भन्दा माथि सतीदेवीको आँखा पतन भई उत्त्पत्ति भएको मानिने शक्तिपीठ सिद्धकाली, पश्चिममा वानेश्वरको अग्लो डाँडा, मनोरम देखिन्थ्यो साँझको चैनपुर । म चौधरी सरसँग टुडीखेलतिर डुल्न गएँ । उत्तरतिर सिन्दुरे रङ्गमा मकालु हिमाल मुस्काइरहेको थियो ।                                                                                      
‘त्यो पारीको हरियो डाँडा चाहिं कुन ठाउँ हो सर ?‘उत्तरतर्फ औंल्याएर मैले सोधें ।
 ‘त्यसलाई वाना भन्छ हौ सर ।’ उत्तर आयो ।                                                                  
 वाना भनेको सुन्नसाथ म झस्किएँ ,किनकी झर्रोवादी आन्दोलनका अगुवा गुरु चुडामणी रेग्मीको जन्मगाउँ त्यही हो । संखुवासभाली गजलकारहरुको ‘मकालुको मुस्कान’ का सम्पादक,मेरा सहयात्री गजलकार मित्रद्वय जयराम सूनामी र सिजन नयनको गाँउ पनि त्यही थियो । लेखकहरुको गाँउ भन्ने थाहा पाएपछि मलाई त्यो परिचित र आफ्नै जस्तो लाग्यो ।आफू पनि त्यहाँ पुगिसकेको जस्तै लाग्यो । आज मैले लेखकको ठेगानाको महत्त्व वोध गरें । त्यसपछि  म डाँडे गौंडाको  चौतारीमा लगिएँ । त्यहाँ आएको शित्तल वतासको अनुभूति मेरो कलमले व्यक्त गर्न सक्दैन ।दक्षिण पूर्वमा अग्लिएको मादी डाँडो र टल्किएको वजार,दक्षिणमा देखिने माम्लिङ र नागवेली सडक ,दक्षिण पश्चिममा पर्ने आँखिभूइको सुन्दर डाँडाहरु अनि पूर्वतिर फैलिएर गएको नूनढाकी लगायतका डाँडाहरु ।हेरिरहुँ  र वसिरहुँ  जस्तो लाग्ने ठाउँ ।विहानको दुखित मन यतिवेला खुशी थियो ।यात्राको थकान कहाँ र कतिवेर सकियो यादै रहेन ।यतिवेला वाँकी थियो रमाइलो,उत्साह र आनन्द मात्र ।मेरो गृह जिल्ला इलाम जस्तै लाग्यो संखुवासभा पनि, फरक यत्ति थियो यहाँका डाँडा–पाखाहरुमा परंपरागत कृषि प्रणली अनि त्यसैको पीडामा डुवेका जनसाधारणहरू रहेछन् । हामी हाम्रो वासस्थान मादी राम्वेनी होटलतर्फ फर्किरहँदा मलाई संखुवासभाका यी डाँडापाखामा पनि चिया र अम्लिसोले सजाउने रहर जागिरहेथ्यो । यो ठाउँ  पनि इलाम जस्तै वनाउने मन जाग्यो । यसै प्रशंगमा निदाउनु अघि भूपीको एउटा कविताको अंश याद आयो -
 ‘आफ्नो वरिपरी     
भीर पाखा र कान्लाभरी   
थुम्का–थुम्का चिया र                           
झुम्का–झुम्का अलैंची उमारेर            
सन्तोषले एक्कासी सुस्मित उठेको झैं                                                  
 हरियो भरियो इलामलाई देख्दा मलाई               
 नेपालभरी अलि–अलि इलाम छर्न मन लाग्यो ।’
                                                                     
             

Comments