Skip to main content

भोजपुरको भीरदेखि राष्ट्रको शिरसम्म

        भोजपुरको भीरदेखि राष्ट्रको शिरसम्म

                                                                                                             – एकु घिमिरे
                                                                                                            अन्तुडाँडा, इलाम

वि.सं. २०७४ साल  कार्तिक महिनाको नीलो आकाश देखिन्थ्यो । उत्तरतिर सिन्दुरले होलि खेलिसकेर बसेको मकालु देखिन्थ्यो । तल खेतमा धान काट्ने र विटा बाँध्नेहरूले गाएको लोक भाका घरी–घरी आउने गाडीका कर्कश आवाजले राम्ररी सुन्न सकिँदैनथ्यो । संखुवासभाको चैनपुर बजारवाट हामी बस चडी पश्चिम लाग्दा सूर्य भोजपुरको कुनै डाँडामाथिवाट लुक्न खोज्दैथियो । आज अफिस भ्याएर हिँड्नु परेकाले हामी घामसँगै भोजपुर पुग्न नसके पनि भोलि घामभन्दा छिटो भोजपुर पुग्ने अभिलासाले हुइँकिएका थियौँ ।
सभाखोला पुगेर बसबाट ओर्लियौँ । साँझ परेपछि अरुणको गडतिरै–गडतिर  साँघुरो गरी बनाइएको कच्ची र धुलाम्य सडकमा गाडि कुदाउँदा रहेनछन् । धनकुटाको लेगुवाघाटसम्म पुगेर बास बस्ने हाम्रो सपना समाप्त हुँदैगर्दा सुन्दर दिनलाई अँधेरीले गाँजेर पछार्‍यो । हामीले सभाखोलाकै किनारमा रहेको एउटा होटलमा गाँसवासको प्रवन्ध गर्‍यौँ ।
भेलिपल्ट चार नबजी उठेर हामी गाडीको प्रतिक्षामा बस्यौँ । चैनपुर हुँदै धरान जाने गाडी समयमै आए पनि लेगुवाघाटको बाटो जाने गाडीले ढिलो गर्‍यो । बल्लतल्ल छ बज्न लाग्दामात्र आएको बसले सात बजे लेगुवाबाट भोजपुरका लागि छुट्ने बस भेट्टाउने संभावनालाई नामेट गरायो । कच्ची र साँघुरो निर्माणधीन सडकमा उडेको धुलोले हामीलाई माटोको पुरानो घर भत्काउँदै गरेको ज्यामीजस्तै बनायो । केवा बेँसी र दमार बेँसीका खेतमा झुलेका सुनका बाला निहाल्दै हामी चुपचाप कुदिरहेको अरुणको किनारै किनार दक्षिण सरिरह्यौँ । करिव नौ बजेमात्र पुगियो लेगुवाघाटको राम बजार । धूलो टकटक्याएर एउटा होटलमा खाना खाइसक्दा धरानवाट भोजपुरका लागि हिँडेको बस आयो । हामी सोही बसमा चढेर गनतब्य भोजपुर बजारतर्फ लाग्यौँ ।
शान्तसँग बगेको अरुण नदीमा बनेको मेटल ट्रष्ट ब्रिजले भोजपुरलाई सुगम बनाएछ । यो पुल बन्नुभन्दा अघि फेरिमा हालेर गाडी तार्ने गरिन्थ्यो । भोजपुर लागेपछि त जरायोटार सम्म सडक पीच नै भइसकेको रहेछ । मध्यपहाडी लोकमार्गको एक खण्ड भएकाले हुनुपर्छ निर्माणको काम धमाधम भइरहेको देखियो । बाटो निक्कै चौडा र ग्रेड मिलेको रहेछ । जरायोटारदेखि उता लागेपछि हामी फेरि प्रकृतिक पाउडरले सजाइन थाल्यौँ । आफ्नो गति आफूले नदेखे पनि अर्कोलाई हेरेर लख काट्न अफ्ठेरो थिएन । विपरित दिशावाट आएको गाडीले उडाएको धूलो हेर्दा दार्जेलिङको कोइलाले चल्ने रेलको याद आउँथ्यो । हामी प्याउली, तिवारीभञ्ज्याङ, हिलेभञ्ज्याङ, ठाँटी भञ्ज्याङ हुँदै हुइक्याइयौँ ।
गजलकार मित्र जयराम सुनामी र म जीवनकै पहिलोपटक भोजपुर बजार पुग्दा झण्डै दुई बजिसकेको थियो । बसपार्क नजिकै मूलबाट निस्किएका धाराहरू पूर्वेली लोक दोहोरी गाईरहेका देखिए । लुगामा लागेको धूलो टकटक्याएर हातमुख धोयौँ । त्यसपछि स्थानीय पसलमा गएर हाम्रो गनतब्य गुराँसे–मानेभञ्ज्याङ कता पर्छ भनी सोधखोज गर्‍यौँ । उनीहरूले भोजपुर बजारको दक्षिण दिशामा पूर्व–पश्चिम फैलिएर सुतेको डाँडो औल्याउँदै त्यता जाने ट्याक्सी लाग्ने स्थान देखाइदिए । भोक तिर्खा लागेको भएपनि गाडी छुट्ला भन्ने डरले पहिला हामी स्टेण्डतर्फ गयौँ । हामी दुवैले भोजपुर बजारलाई कम आँकेका रहेछौँ । भोजपुर हाम्रो कल्पना भन्दा ठूलो, बिकशित, सुन्दर र सभ्य भएको निष्कर्ष निकालियो । मैले चिनेका दुई साथीहरूसँग छोटो भेटघाट गरी स्टेण्ड पुग्दा ट्याक्सी गइसकेको रहेछ । अव खाजा खाएर तल पिखुवा खोलासम्म हिँडेर जाने सल्लाह गर्दा–गर्दै एउटा लेण्डलोभर आयो । गाडीका चालक र सहचालकसँग भलाकुसारी गर्दा त्यो गाडी घोडेटार जाने रहेछ । हामी त्यही गाडिमा जाँदा एक घण्टा हिँड्दा मानेभञ्ज्याङ पुगिने रहेछ । हामी त्यसैमा जाने निधो भएपछि ढुक्कसँग खाजा खान थाल्यौँ । खाजा बेच्ने होटलवाला दिदीसँग गफ गरियो–
‘ सरहरू के कामले मानेभञ्ज्याङ जानुभएको ? कहाँवाट आउनुभो ?’
‘ हामी राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मगाउँ डुल्न हिँडेका । मेरो घर इलाम हो, अचेल चैनपुर, संखुवासभामा बस्छु ।’
‘ मरो चाहिँ घर संखुवासभाकै वाना भन्ने गाउँमा हो तर हिजोआज म पनि चैनपुरमै काम गर्दैछु । यसो गफ हुँदा नेपालकै पहिलो महिला राष्ट्रपति पदासिन हुँदै उहाँको जन्मगाउँ पुगौँ र केही खोज गरौँ भन्ने विचार मिलेपछि हामी डुल्न हिँडेका ।’
‘ ए म त मंसिर आउन लाग्यो, कन्यार्थु पो होला भन्ने ठानेको !’ दिदीले आफू हाँस्दै हामीलाई पनि हँसाइन् । 
यसपछि दिदीले राष्ट्रपति भण्डारीले अध्ययन गरेको विद्योदय मा. वि. र भोजपुर क्याम्पस देखाइदिइन् । हामीले भण्डारी त्यसताका डेरा बसेको कुनै घर भेटिन्छ कि भनेर पनि सोधखोज गर्‍यौँ , तर यता गाडीले छोड्ला भन्ने डरले टाढा जान सकिएन, नजिकमा त्यस्तो जानकार कोहि भेटिएन । करिव अढाइ घण्टा बसेपछि गाडीको सहचालक हामी छेउ आएर भन्यो– ‘ सर आज हाम्रो गाडी नजाने भो, भोलि जानुपर्छ है ? ’
हामी डुब्न लागेको घाम हेर्दै पैदल नै ओरालो झर्न थाल्यौँ । गाडीका केटाहरूसँग रीस उठेपनि केही नभनिकन झर्‍यौँ । रात पर्दासम्म खोला पुगेर बस्न सकिन्छ कि भन्ने आँटले हिँडेका हामी वाटो छोडेर टक्सार बजारतिर झरेछौ । त्यहाँ राखिएको ठूलो करुवालाई पृष्ठभूमिमा राखेर फोटो खिचिसक्दा एकजना भू.पू. प्रहरी शेर बहादुर श्रेष्ठसँग भेट भयो । हामी राष्ट्रपतिको वारेमा स्थलगत स्वअध्ययनमा हिँडेको बुझेपछि उनले आफूले पनि टक्सारको यसोधरा मा. वि. मा विद्यादेवीका भाइसँग पढेको बताए । पाण्डेहरू तीक्ष्ण बुद्धिका र लगनशील भएकैले सबैले प्रगति गरेका उनले बताए । हामीलाई वाटो पनि देखाइदिए । उनी आफ्नो घरमा झोला पनि नराखी हामीलाई वाटो देखाउन गए । छुट्ने बेलामा भने–
‘ सरहरूलाई आज खोला पुग्न गाह्रो छ, तल भोजपुर विमानस्थल नजिक महेन्द्र श्रेष्ठको लजमा आराम गरेर बिहानै जाँदा राम्रो होला ।’
नभन्दै झमक्क साँझ पर्दा हामी एयरपोर्ट नजिक मात्र पुग्यौँ । शेर बहादुरकै कुरालाई मान्दै हामी महेन्द्र श्रेष्ठको होटलमा वास बस्यौँ । आफैँले फलाएको चामल, दाल र तरकारी खुवाएर श्रेष्ठ दम्पत्तीले भोलिपल्ट विहान हामीलाई निक्कै परसम्म गएर बाटो पनि देखाइदिए । हामी उज्यालो भूईँमा नखसी बाटो लाग्यौँ ।
गाडीको बाटो घुमेर जाँदा धेरै ढिलो हुन्थ्यो । हामी पुरानो घोडेटो वाटो ओरालो झर्‍यौँ । रातो माटो भएको रुखो र पहारिलो पाटोमा कतै पानी देखिएन । सुख्खा ठाउँमा हुने सल्लो, बयर अनि अझ तल झरेपछि अमला र खयरका बोटहरू बिहानको घाममा हामीसँग संवाद गर्न खोजेझैं लाग्थ्यो । चौतारीका वर–पीपल बोल्ने भए भन्थे होला हाम्रो निम्न प्रश्नका उत्तर–
उ बेला परिवर्तनको विद्रोही स्वर बोकेर हिँड्ने किशोरी कतिपटक यो चौतारीमा सुस्ताइन् ?
ती किशोरी कहिले साँझमा, कहिले राती अनि कहिले यस्तै कलिलो घाममा पनि त यो बाटो हिँडेको देख्यौ होला ?
कुनै ढुङ्गा यतै होलान् जस्ले ती किशोरीको यात्रामा ठेस पुर्‍याउन चोट लगाए ? आज के ती ढुङ्गा उनीसँग माफी माग्ने मनस्थीतिमा छन् ?
ती किशोरीलाई यात्रामा साथ दिने कति अमला काटिए, नासिए होला ? कति अझै उनकै बाटो हेर्दा होलान् ? यस्तै...............यस्तै..................।
तर कुनै रुखको भाषा बुझिएन, न त बुझियो पिखुवा र बेहेरे खोलाको दोहोरी । मनमा उठेका अनेकौ कुराहरूबारे गफिँदै हामी झरिह्यौँ ओरालो ।
कुनै बेला हामी दुबै निक्कैबेर चुपचाप हुन्थ्यौँ । चुपचाप त ओठहरू न थिए । मनमा अनेक बिचारहरू खेलिरहन्थे । हाम्री राष्ट्रपति यही बाटो मानेभञ्ज्याङबाट भोजपुर धाउँदा पिठ्यूँमा आमाले पठाइदिएको अचार, गुन्द्रुक र सागसब्जीको भारी हुन्थ्यो होला । डेरामा सामान सकिएर स्कूल वा क्याम्पसको पढाइपछि घर जाने हुँदा कहिलेकाहीँ यतै कतै रात पर्‍यो होला । कक्षा भ्याउन वा संगठनको काम भ्याउन घरबाट हिँडेका बेला यतै कतै आइपुग्दा मात्र उज्यालो पनि भयो होला । यी र यस्ता प्रश्नहरूको उत्तर पाउन कुनैदिन समयले मिलाए उनीसँगै सोधेर प्रकाशमा ल्याउँनेछु ।
पिखुवा र बेहेरे खोलाको दोभान अलिक पूर्वमा लगाइएको झोलुङ्गे पुलमा केही फोटो खिचेर हामी उकालो लाग्यौँ । गाडीको बाटो नागवेली थियो त्यसैले हामीले छोटो गोरेटो समात्यौँ । त्यो  पुरै ठाडो थियो । धन्न उत्तर फर्किएको सेपिलो पाटो भएकाले घामको किरणले तताएन हामीलाई । अमला टिपेर चुस्दै फटाफट आकाशियौँ हामी । एकदम रुखो रातमाटे सुख्खा जमिनमा अलिक तल साल, खयर र अमलाका बोटहरूको बाहुल्यता थियो भने अलिक माथि सल्लाघारी रहेछ । पिखुवा तरेपछि रामप्रसाद राई गाउँपालिकामा हिँडिरहेका थियौ हामी । निक्कै उकालो चडिसक्दा मात्र दुईजना मानिस ओरालो झर्दै भेटिए । उनीहरूले हामीलाई हाम्री राष्ट्रपतिको जन्मगाउँ जाने बाटो बताइदिए । हामी उकालिँदै रह्यौँ । पहिला मानेभञ्ज्याङ पुगेर भण्डारीले पढाइ शुरु गरेको बिद्यालय हेर्ने र आसपास भेटिएकाहरूसँग केही अन्तर्वार्ता गर्ने सल्लाह भयो । त्यसपछि मात्र उनको जन्मगाउँ हुँदै फर्कँदा यात्रा सहज बन्ने निष्कर्ष निस्कियो ।
अब त भोक र तीर्खाले पनि सताउन थालेको थियो । हेर्दा नजिक देखिए पनि मानेभञ्ज्याङ पुग्न कठिन भयो । निक्कै उचाइमा आइसकेका थियौ हामी त्यो कुराको प्रमाण चिसो हावा र गुराँसका पोथ्राले दिइरहेका थिए । बल्लतल्ल साढे नौ बजे मानेभञ्ज्याङ पुगियो । केही पसलहरू भएको सानो बजार रहेछ । त्यहाँको एउटा होटलमा खाना पकाइदिन अनुरोध गरेर नजिकै रहेको विद्यालयतर्फ गइयो । भण्डारीलाई अक्षर सिकाउने बेहेरेश्वर माद्यमिक विद्यालय त्यो बेला पर गाउँको सिरानमा रहेछ । स्थानीय राजनीतिकर्मी दिपक तामाङले भण्डारीले पढेको स्कूल बेहेरेश्वर नभएर ताँती भन्ने स्कूल हो भन्ने धारणा राखे । भण्डारीकै घर छेउका राम प्रसाद राईले कुराको बिट मार्दै भने–‘ शुरुमा यो बिद्यालय गाउँको सिरानमा थियो । ताँती स्कूल भनेर चिनिएको  भएपनि यस्को खास नाम बेहेरेश्वर नै थियो । पछि खुल्ला ठाउँमा सञ्चालन गर्न स्कूल भञ्ज्याङमा सारियो ।’ स्कूलका शिक्षक लक्ष्मी काफ्लेलाई भण्डारीकै बुहारी साइनो पर्ने शुभ कुमारी राई (पाण्डे) ले बोलाइदिइन् । सिद्धिथुम्का इलामका लक्ष्मी काफ्लेसँग केहीबेर भलाकुसारी भयो । हाम्रो कुरा सुन्न भण्डारीका भदाहा लोकेन्द्र पाण्डेको घरमा सानो झुण्ड नै भेला भयो । भोजपुरमा बिद्यादेवीलाई  शिक्षण गरेका दक्षिणी भोजपुरको घोडेटारमा बस्ने इश्वरमान राईको मोवायल नम्बर कडा मेहनतका साथ खोजेर उनै राजनीतिकर्मी दिपक तामाङले ठूलो गुन लगाए । खानापछि तामाङ हामीसँगै भण्डारीको जन्मघर जाने विचारमा थिए तर प्रतिनिधी र प्रदेश सभाको चुनावी चहलपहल भइरहेका बेला कुनै दलको मान्छेसँग जाँदा अर्को दलका मान्छेले हामीलाई शंकालु नजरले हेर्ने र हामीले खोजेको सत्यतथ्य पनि लुक्ने डर लागेर सुटुक्क हिड्यौँ । मोवायाल ब्याट्री सकिएर स्वीच अफ भएको थियो । मानेभञ्ज्याङ– गुराँसे  आसपास आहिलेसम्म विद्युत वितरण भएको रहेनछ । मेन लाइनसम्म टाँगिएको र वितरणका लागि भर्खरै पोलहरू गाडिदै गरेको देख्दा चाँडै विद्युतिकरण हुने अनुमान लगाउन सकिन्थ्यो । शिक्षक इश्वरमानसँग पछि गफ गर्ने विचार गरी खाना खाएर मानेभञ्ज्याङबाट बाटो लागियो ।
हामीलाई सहयोग गर्न जाने रहर पाल्ने दिपकजी पनि छक्क परे होला । हामी उनीसँग विदा नै नमागी मानेभञ्ज्याङको डाँडैडाँडा दक्षिण पश्चिम बैकुण्ठे जाने बाटोतिर लाग्यौ । सल्लाको जङ्गलबीच मानेभञ्ज्याङ तर्फबाट आएका एक मानिस भेटिए । उनले प्लाष्टिकको नेट झोलामा केही चाउचाउ र पिठ्युँमा मुरै (भुजा) को एक बोरा बोकी अर्को हातमा लौरो बोकेका थिए । उनैले संवाद शुरु गरे– 
‘हैन सरहरू कता जाने हाउ ? आफू त पाखे मान्छे ठाडै सोधेँ, गल्ति पो भयो कि ?’
‘ हामी राष्ट्रपतिको गाउँघर डुल्न आएका । मेरो घर .....उहाँको................।’
‘अनि विद्यासँग तपाईँहरूको के साइनो छ ?’
‘ हाम्रो नाता केही छैन, बरु तपाईँ छिमेकी हुनुहुँदो रहेछ, राष्ट्रपतिका बारेमा थाहा भएका केही कुरा भनिदिनुहोस् न ।’
‘डुलिसकेर के गर्ने ? डुल्नु नै मात्र त काम हैन होला ?’
‘डुलिसकेपछि जे देख्छौँ, त्यही लेख्छौँ । कसैले मन पराए छापिदिन्छ ।’
शुरुमा उनले हामी भण्डारीको नाताभित्रकै मान्छे हो भनेर शंका गरे । घर, थर र काम सुनेपछि बल्ल नाता नपर्ने भन्ने हाम्रो कुरा पत्याए । अनि आफ्नो परिचय दिँदै बोल्न थाले–
‘म केदार मगर हुँ । विद्या र म उहिले एउटै स्कूल पढ्थ्यौ । म अलिक सानो कक्षामा पढ्थेँ । उनी हामी सानालाई माया गरेर बोलाउँथिन् । पछि उनी अर्कै स्कूल पढ्न गइन् । २०३५ सालमा एकदिन हामीलाई डाँडाको चौरमा बोलाएर उनले बहुदलका पक्षमा लाग्न सचेत गराइन् । क्याम्पस पड्दैछु भन्थिन् । त्यो दिन हामी करिब बीस जना युवा भेला भएका थियौँ । उनले भाषण गरेको ठाउँ यही बाटोमा पर्छ, म एकछिनमा तपाईँरूलाई देखाइदिन्छु ।’
नभन्दै केदारले सल्लाघारी बीचमा लौरोले इशारा गरी हामीलाई विद्याले बहुदलको बारेमा युवालाई प्रशिक्षण गरेको ठाउँ देखाए । त्यो बेला यो सल्लाघारी नभएको र प्रहरी आएर पक्रन्छ भनेर अपनाइएको सुरक्षाबारे मीठो कथा सुनाए । केदारले आफ्नो गाउँकी चेली देसको सर्वोच्च पदमा पुगेकोमा ठूलो गर्व गरे । विद्याका पिताजीको अकस्मत भएको निधनको कथा सुनाउँदा आफ्नै बाबा खसेको सम्झेझैँ गरी आखाभरी आँशु पारेर गला अवरुद्ध पारे । पिताजी खसेपछिका विद्याहरूले भोगेका पीरहरूका केही गफ पनि उनले गरे । विद्याको जन्मघर जाने बाटो देखाइदिएर उनी तेर्सो लागे, हामी ओरालो ।
बाटो र घरमा भेटिएकाहरूसँग केही कुरा गर्दै हिँडिरह्यौँ । अव हामी आम्वोटे भनेर चिनिने भण्डारीको जन्मगाउँ नै पुगिसकेका थियौँ । ठूला ठूला मकैका थाङ्ग्रा आँगनमा ठड्याइका परंपरागत घरहरू प्राय खरले छाएका अनि रातोमाटो र चुनले पोतिएका थिए । केहीमात्र छाना जस्ताका देखिन्थे । सबैजसो घरमा सोलार प्यानल जडान गरेको देखिन्थ्यो । सानो नातिलाई खाना खुवाउँदै गरेकी ६४ वर्षिया सीता राईले भण्डारीका बारेमा हाँस्दै भनिन्–
‘ सनामा सिकटे थिइन् । स्कूल जाँदा आउँदा पानी मागेर खाने गर्थिन् । उनी राष्ट्रपति भएको सुनेर सारै खुशि लाग्यो । अब पनि पानी खान आउँछिन् कि भन्ने झझल्को लाग्छ । तर यतिवेला न उनी आउँछिन् न उबेला जसरी दिने पानी नै छ ।’ 
सीता राईको भनाइबाटै स्पष्ट हुन्छ कि त्यो ठाउँमा यतिबेला पानीको निक्कै हाहाकार भएको रहेछ । २०७२ को भूकम्प पछि त्यस क्षेत्रका पानीका मुहानहरू धमाधम सुकेका स्थानीयले बताए । अलिक तल पुग्दा सुकिसकेको कुवाको पानी बटुकाले मेहनतसँग उघाएर डोकाको गाग्रोमा हाल्दै गरेकी  मन माया पाण्डेसँग भेट भयो । उनी बिद्याकी काकी पर्दिरहिछिन् । हामीले सोधेका प्रश्नको उत्तर दिँदै उनले भनिन्–
‘हामी माइतिको आर्शिवाद, उनको मेहनत र सबैको सहयोगले उनी ठूली मान्छे भइन् । सानैमा बाबा गुमाएर कत्रो पीर खपेका थिए । पीरलाई झेल्न नडराएकैले उनी माथि पुगेकी । तलको रातो च्यादरको घरमा गएर हेर्नु, त्यहीँ हो उनी जन्मिएकी । पछि उनका बा छुट्टिएर अलिक पर सारै राम्रो घर बनाएका थिए तर बिचरा एक वर्ष पनि त्यस घरमा नबसी स्वर्ग गए । (विद्याका बालाई सम्झेपछि सुकेको कुवाभित्र बसेकी उनका आँखा भरिए, बोली अड्काउँदै) असल थिए उनका बा, कलिलैमा खसे ।’
मैले आमै कुवाभित्रै भएको फोटो खिचेँ । त्यसपछि ओरालो झरियो । पानीको अभाव भएकाले ठूला ठूला टारबारीमा पोथ्रे सिँबी छर्ने चलन रहेछ । कता कता तोरी पनि देखिन्थ्यो । कोही कोदो टिप्दै थिए । पहिलेका खेत अहिले पानीको अभावले बाँझिएका देखिए । हामी करिव १२ बजे बिद्यादेवीको जन्मघर पुग्यौँ । फराकिलो चप्लेटी ढुङ्को नजिकै दुई तले ठूलो घर रहेछ । घरको वरिपरी पाकेको फर्सी राखिएको थियो । भित्तामा भगवानका  चित्रहरू खोपेर बनाएको देखिन्थ्यो । दैलामा ठूलो ताला लगाइएको देखेपछि नजिक खरको छानो भएको घरमा गयौँ । सिकुवाको खाटमा बसेका ५० वर्ष नाघेका जस्ता लाग्ने व्यक्तिसँग परिचय र गफगाफ गरियो–
‘ नमस्कार, हामी राष्ट्रपतिको बारेमा केही तथ्य बुझ्न स्थलगत भ्रमणमा आएका । (आ–आफ्नो नाम र ठेगाना बतायौँ ।)’
‘ नमस्कार, म विद्याको काका गोविन्द बहादुर पाण्डे हुँ । मलाई गाउँमा रत्न बहादुर भनेर चिन्छन् । म यो घर हेरचाह गर्न भर्खरै मधेसवाट आएको । पल्लो घरमा बस्ने भाइ यहीँ भित्र खाना खाँदैछ ।’
गोविन्द काकाले बोलिसक्दा नसक्दा भित्रवाट चालिस वर्ष पनि नकटेका जस्ता देखिने सुरेन्द्र पाण्डे चुठेर हात–मुख पुस्दै आएर हामीसँग परिचय गरे । उनका परिवार धरान बस्दारहेछन् । उनी आफ्ना एकजना अपाङ्ग दाजुसँग विद्या जन्मेको घरको रेखदेख गरेर बसेका रहेछन् । उनीहरू दुवैले हामीले सोधेका प्रश्नहरूको बडो चाख मानेर उत्तर दिए ।
गोविन्द पाण्डेका अनुसार विद्या जुन समयमा बाम राजनीतिमा होमिइन् त्यो बेला उनका सबै काकाहरू काँग्रेस थिए । बाबा त पहिल्यै खसिसकेका थिए । राजनीतिक आस्था नमिले पछि क्याम्पसबाट घर आएका वेला उनी परिवारका कसैसँग पनि राजनीतिक कुरा गर्दिनथिन् । गाउँघरका युवाहरू बटुलेर घरवाहिर नै प्रशिक्षण गरेको अरुले सुनाउँथे । पाण्डेकी छोरी राजनीतिमा लागेर बिग्रिई भन्नेहरू पनि थिए । तर फरक–फरक राजनीतिक आस्था भएपनि दुवै सत्ता परिवर्तनको पक्षमा भएकाले घरका सदस्यले विद्यालाई रोकटोक गरेनन् । उनकी आमा मिथिला पाण्डे भने उहिल्यैदेखि आध्यात्मिक चिन्तन र धर्म–कर्ममा जोड दिने भएकीले छोरीको राजनीति मन पराउँदिनथिन् । मिथिला हाल स्वयंपाके भएर सुनसरीको चतारामा बसिरहेकी छिन् । विद्याका पिता राम बहादुर पाण्डे राजनीति गर्नु भनेको दु:खको बाटो रोज्नु हो भन्थे । पढेर राम्रो जागिर खानुपर्छ, खेतिपाती वैज्ञानिक तरिकाले गनुपर्छ, फलफूल र डालेघाँसका विरुवा रोप्नुपर्छ भनेर गोविन्द लगायत सबैलाई सिकाउँथे । तर उनको जागिर यहाँवाट धेरै टाढा दिङ्लामा थियो । कहिलेकाँही मात्र घर आउँथे । उनको विद्वाताको  गोबिन्दले खुव तारिफ गरे । राम बहादुरको मृत्यु अचानक भएको सम्झेर गोविन्द पनि रोए । कुरावाट विद्याका बाबासँगको उनको निकटता झल्किन्थ्यो । नजिकै बसेका सुरेन्द्रले राम बहादुरको मृत्यु एपेण्डिक्स फुटेर भएको अड्कल गरे । उनीहरूले राम बहादुरले छुट्टिएर बनाएको घर देखाउन लगे । मूल घरभन्दा थोरै पूर्वोत्तर जाँदा एउटा भग्नावशेष देखियो । नजिकै राम बहादूरले रोपेका लिचीका बोटहरू देखिन्थे । हाल त्यो जमिन पाण्डेहरूको नाममा रहेनछ । 
सुरेन्द्रले थप कुरा झिके । बिहेको प्रस्ताव गर्दै मदन भण्डारी बिराटनगरमा विद्याकी आमासँग जाँदा जात नमिलेको भनी इन्कार गरिछिन् । पछि विद्याले मदनलाई आफूले नै बोलाएको भनेपछि कर लागेर थोरै आफन्तलाई मात्र डाकी विराटनगरको कुनै मन्दिरमा विवाह गरिदिएछन् । पछि बहुदल आएर मदन भण्डारीको क्षमता प्रकाशमा आएपछि मात्र आमाले खुशि मानिछिन् ।
विद्या राष्ट्रपति भएपछि एकपटक आफ्नो जन्मघर गइछिन् । आफन्त र छरछिमेकीको घुइँचो लागेछ । उनले सवैसँग प्रेमपूर्वक कुरा गरेकी स्थानीयहरूले बताए । हामीले त्यही दिन गाउँको सिरानतिरको देवीस्थानमा पञ्चवली गरेर घरमा भोजको तयारी गरिहेका तामाङ परिवारसँग पनि भेट गऱ्यौँ । उनीहरूले विद्या राष्ट्रपति भएकोमा गर्व गरे । एकजना युवाले बोकाको भुत्ला स्टीलको गिलासले खुर्कदै भने– ‘ अहिले पो उनको पद केही बोल्न र गर्न नपाउने छ, यो कार्यकाल सकिएपछि हाम्रो गाउँको विकाशमा उनले ठूलो सहयोग गर्छिन् ।’ उनीहरूले हामीलाई पनि भोज खाएर जान आग्रह गरे तर समय थिएन । भण्डारीका काकाद्वय सुरेन्द्र र गोविन्द हामीलाई पुर्‍याउन निक्कै वरसम्म आए । विदाइको बेला उनीहरूले कोठेवारीका सुन्तला टिपेर दिए । हामी सुन्तला झोलामा बोकी उनीहरूले देखाइदिएको छोटो बाटो लाग्यौँ ।
गाउँको पुछारमा पुगेर तेर्सिदा हामीले बाटो भुलेर अलिक दु:ख पायौँ । त्यो दिन भोजपुर नपुगे भोलिपल्ट चैनपुर पुग्न नसकिने जस्ले गर्दा दुवैभाइको कार्यालय छुट्ने डरले कुदिरह्यौँ । बाटामा भेटिएका सवै खोल्सा सुकेका भेटिए । तिनीहरूमा थोपो पानी थिएन । त्यहाँवाट कुनै बेला खनिएका कुलामा पनि झार पलाइसकेको देखिन्थ्यो । अहिले बनमारोको झोडी भएका ठाउँमा पहिला खेत थियो भन्ने स्पष्ट गराहरू देखिन्थे । अलिक तल बेहेरे खोलाको पानी लाग्ने ठाउँमा धानको उत्त्पादन राम्रो भएको देखिन्थ्यो । भूकम्पले पानीका मूल सुकेर यो गाउँलाई मरुभूमि नै बनाएको रहेछ । नजिकै बेगसँग बगेको पिखुवा र बेहेरे खोलाको पानी मोटरले तानेर सिँचाइको व्यवस्था गर्नलाई पहिला विद्युतीकरणमा जोड दिनुपर्ने देखियो । शुक्रवारको दिन भएकाले सदरमुकामको विद्यालयमा उच्च शिक्षा लिन गएकाहरू भोलिको विदा सदुपयोग गर्न मानेभञ्ज्याङतिर फर्कदै गरेका पनि भेटिए । हालसम्म कक्षा १२ सम्मको पढाइ हुने माद्यमिक विद्यालय यत्रो ठूलो गाउँमा नहुनु अर्को समस्या देखियो । ज्वरो आएर जाति नभएपछि सदरमुकामको अस्पताल पुग्दा टाइफाइड भएको पत्तो पाएका एक स्थानीय युवकलाई बाटामा भेटेर हामीले मानेभञ्ज्याङ–बैकुण्ठे क्षेत्रमा स्वस्थ्य चौकी छैन भनी सोध्यौँ । उत्तरमा उनले भने–‘ छ तर सिटामोल मात्र पाइन्छ । त्यो पनि एच.ए. हुँदा !’ पिखुवा तरेपछि एउटा वालुवा बोक्ने ट्रयाक्टरमा भाडा तिर्ने कवुल गरी चड्न पाइयो । सडक बिस्तार राम्रैसँग हुँदै गरेको देख्दा अर्को पटक आउँदा सजिलै मानेभञ्ज्याङ पुग्ने गाडी भेटिने अनुमान गर्न सकिन्थ्यो । साँझमा भोजपुर आइपुगेर एउटा होटलमा बसियो ।
होटलमा मोवायल चार्ज गरेपछि भण्डारीलाई पढाएका शिक्षक ईश्वरमान राईसँग सम्पर्क गरेँ । उनले बि.सं. २०३१ मा श्री पञ्चकन्या जुनियर हाइस्कूल, भुल्के–भोजपुरमा विद्यालाई शिक्षण गरेका रहेछन् । मानेभञ्ज्याङको बेहेरेश्वर स्कूलको अध्ययन पछि भण्डारी कक्षा आठसम्मको उक्त स्कूल पढ्न गएकी रहिछिन् । ईश्वरमान सरका अनुसार घरवाट सधैँ धाउन टाढा पर्ने र बीचमा बेहेरे खोलो पनि तर्नुपर्ने भएकाले भण्डारी स्कूल नजिक कतै डेरा बसेर पढ्दी रहिछन् । मैले इश्वरमानलाई सोधेँ– ‘ उनी ठूलो पदमा पुगिन्, तपाईं  त नाउ तारिदिने माझी न पर्नुभयो , विद्याले तपाईँलाई सम्झिन्छिन् त ?’ फोनमै जङ्गिएर उनले भने – ‘ मजाले चिन्छिन् । उनी रक्षा मन्त्री भएका बेला म गाउँमा मोटरवाटोको प्रस्तावना बोकेर काठमाडौँ जाँदा जिल्लाका सांसदसँग भण्डारीको कार्यकक्षमा पनि गएँ । उनले मलाई चिनेर गुरु भनी सम्बोधन गरिन् । उनी मैले विद्यार्थी छँदा जस्तो भद्र र सहयोगी देखेको थिएँ, अहिले पनि उस्तै पाएँ । राष्ट्रपति भएपछि पनि भोजपुर क्याम्पसको वार्षिक उत्सवमा भेटघाट र गफगाफ भयो । आफ्नो जन्मभूमिमा विभिन्न विकाश भएको हेर्ने उनको चाहना छ । उनी त्यो विकाश कार्यक्रममा सहयोग गर्न उत्सुक छिन् ।’
मैले भण्डारीलाई भोजपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका प्रा. डा. टङ्क प्रसाद न्यौपानेलाई पनि फोन गरी केही जिज्ञासाहरू राखेँ । न्यौपानेले आफू त्यो बेला नेपाली काँग्रेसको राजनीति गरिरहेको भए पनि विद्यादेवी पाण्डेको कुसल बाम राजनीतिलाई विभिन्न तरिकाले सहयोग गरेको बताए । अतीत सम्झदै उनले विद्याको मूल विषय नेपाली भएको र आफू त्यही विषयको प्राध्यापक भएकाले पनि निकट सम्बन्ध भएको बताए । न्यौपानेले आफूले चिन्दैदेखि राजनीतिमा सकृय देखेको तर कतिपयले उनलाई मदन भण्डारीकी धर्मपत्नीका नाताले उनको निधनपछि राजनीतिक स्थान पाएकी भन्ने गरेकोमा दु:ख व्यक्त गर्दै भने–‘ बरु राजनीतिमा लागेकाले मदन भण्डारीसँग भेट भएको चाहिँ भन्न मिल्छ तर मदनकी श्रीमती भएकाले राजनीतिमा आएकी भन्नु वास्तविकता नबुझी बोल्नुमात्र हो । भ्रमको राजनीति गर्नेको कुतर्क मात्र हो ।’ मैले न्यौपानेलाई अहिले विद्यासँगको निकटता कस्तो छ भनेर सोधेपछि उनले भने– ‘ विद्या रक्षामन्त्री भएका बेला मैले उनको फोन नम्बर खोजेर बधाई दिएँ । उनले फोनमा चिनेँ त भनिन् तर पत्याएको थिइनँ । पछि मेरो  अभिनन्दन ग्रन्थमा शुभकामना लेखिदिन अनुरोध गर्दै म साहित्यकार अनिल पौडेलसँग उनका निवासमा गएँ । उनले हार्दिक स्वागत गरिन् । पहिले भोजपुरमा भएका एक एक घटना सम्झिएकी रहिछिन् । बल्ल उनले पहिले चिनेको छु भनेको साँच्चै हो रहेछ भन्ने लाग्यो । उनले शुभकामना मात्र हैन एउटा लेख नै तयार पनि पारेकी थिइन् तर अभिनन्दन ग्रन्थ प्रकाशित गर्ने वेला उनले सार्वजनिक पद धारण गरिसकेकी थिइन् । सबै लेख राख्न सकिएन । पछि सुकुना बहुमुखि क्याम्पसको रजत जयन्ती समारोहमा उनको हातबाट सम्मानित हुन जाँदा पनि मलाई सर भनेर बोलाइन् । देशकै ठूलो पदमा आसिन ब्यक्तिसँग यस्तो सम्बन्ध हुनु निकटता नै हैन र ?’
यात्राले थाकेपनि हामी होटलमा खाजा खाँदै तथ्यहरूको सार टिपोट गर्दै थियौँ । सदरमुकामदेखि पश्चिम उत्तरको दलगाउँ पुख्यौँली घर भएका हँसिला बुडामान्छे होटलमा आए । हेर्दा रिटायर्ड लाहुरे जस्ता देखिन्थे । हामीसँग परिचय गर्दा इलामको कुरा सुनेपछि त्यहाँका प्रत्येक गाउँ, बजार, हाट र मेलाहरूको नाम लिए । मैले सोधेँ– 
‘ हैन तपाईँ त म भन्दा धेरै इलाम घुम्नुभएको रहेछ, के काम गर्नुहुन्थ्यो ? ’
‘ महिला र तरुनीहरूको हात समाउने काम गर्थेँ । ’ 
बुढाले ठट्यौलो जवाफ दिए । पछि बुझ्दा उनी चुरौटे रहेछन् । माइबेनी मेलामा गाइने लोक गीत गाएर उनी बिदा भए । हामी लेखक भन्ने बुझेपछि जाने बेलामा भने– 
‘ पत्रिकाहरूमा खालि अरु ठूला मान्छेको मात्र कुरा पढ्नुपर्दा मलाई हाम्री भोजपुरे चेलीका कुरा किन छापिएन भन्ने लाग्थ्यो । अलिक विकट ठाउँ भएकाले सोध्ने खोज्ने आउन अल्छी गरेकैले विद्याको कुरा कम आएको भन्ने लागेको छ । विद्याको कुरा आउनु भनेको हाम्रो भोजपुरको कुरा आउनु हो । ल जे देख्नुभो त्यही लेखिदिनुहेस् । हाम्री चेली राष्ट्रपति भएकामा हामी खुशी छौँ ।’
यसपछि दिनभर भोट मागेर फर्किएको राजनीतिकर्मीको टोली हामी बसेकै टेवलमा आएर बस्यो । हाम्रो परिचय आदान प्रदान भयो । अल्लोको कोट र नयाँ ढाकाटोपी लगाएका नेता पार्टीका जिल्ला सचिव रहेछन् । उनले गफगाफ शुरु गरे–
‘ अनि सरहरू गुराँसे –मानेभञ्ज्याङ किन जानुभएको थियो ?’
‘राष्ट्रपति जन्मिएको गाउँ–ठाउँ र परिवेश बुझ्न गएका ।’
‘बुझेर के गर्नुहुन्छ ? कुन अफिसको हो तपाईँहरू ?’
‘हामी देखेका कुरा लेख्छौँ । लेखेर नागरिकलाई सुसुचित पार्छौं  । हामी अफिसको कामले आएका हैन , रहरले आएका ।’
‘ पत्रकार हो त ? कुन पत्रिकाको पत्रकार हो ?’
‘ पत्रकार हैन हामी स्वतन्त्र लेखकको हैसियतले आएका ।’
नेताले यतिन्जेलमा दुई ग्लास चडाइसकेका थिए । उनलाई हाम्रो कुरामा विश्वास लागेनछ । हामीलाई शंकालु भावले हेर्दै भने–
‘अहिलेको जमनामा पनि कोही स्वतन्त्र हुन्छ ? किन हुनु स्वतन्त्र ? के फाइदा छ स्वतन्त्र भएर ? तपाईँहरू कि विद्याको पार्टीलाई भोट जिताउन आउनुभएको हो वा ‘र’ को एजेन्ट हो । हामी बुझ्छौँ नि कुरा ।’
उनको कुरा सुनेर अनि जङ्गिएको देखेर हामी हाँस्यौ । उनी झन रिसाएर कराउन थाले । उनका कार्यकर्ताले थुमथुम्याएर लगे । आफूले खाएको खाजा–पानीको पैसा पछि तिर्ने कवुल गरी ती बरिष्ट बाहिर लागे । होटलवाला गनगनाउँदै बोले– 
‘हेर्नु त नेताका नाममा ठगीखाने चोरहरू । भक्कु घिचेर नतिरी हिँड्यो । अव कहिले आएर तिर्ने हो, आफ्नो भोलि सामन किन्ने पैसा हुँदैन । यही ठाउँकी नेता राष्ट्रपति बनेर तपाईँहरू उनको बारेमा बुझ्न आइरहनुभएको छ, यही ठाउँका जिल्ला नेताको यस्तो हालत छ । इज्जत नै लानेभए गतिछाडा नेताहरूले ।’
खाना खाएर सुतेपछि मनमा त्यही दिन दुईपटक तरेको पिखुवाको पानीमाजस्तै विचारका सङ्ला छालहरू आए । हाम्री राष्ट्रपति जन्मिएर हुर्की–बडी गरेको ठाउँ आजसम्म विकाशवाट बन्चित भएको कुरा माथि नै आइहाल्यो । अझ पहिला त्यो ठाउँ कति समस्याग्रस्त थियो होला ? अझै पनि महिलालाई अघि सर्न र राजनीति गर्न पुरुषलाई जति सहज स्थिती छैन, त्यो बेला कति कठिन थियो होला ? भीर भन्नाले धरातलीय अफ्ठेरो मात्र होइन । विद्याको लागि सामाजिक, पारिवारिक, ब्यहहारिक, राजनीतिक, धार्मिक लगायतका अनेकौँ भीरहरू रहेछन् त्यो बेला तर सबै भीर छिचोलेर उनी पुगिन् राष्ट्रकै शीरमा अनि आफ्नो कुशल नेतृत्त्वमा दिइन् नागरिकले खोजेजस्तो लोकतान्त्रिक संविधान । सार्वजनिक महत्त्वको ठूलो पदमा पुगेपछि मानिसहरू गुमनाम हुने पवृत्ति देखिन्छ तर भीरहरू छिचोल्न सिपालु विद्याले समाज सेवाको क्षेत्रलाई नेतृत्त्व गरेर अर्को सफलताको शिरमा पुगुन्  । भोजपुरको भीर काटेर देशको शिरमा पुग्ने सहासीलाई मेरो सलाम ।

Comments